यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मदन भण्डारी स्वर्गबाट नेपाल फर्केर आएर हेर्ने हो भने…

-राजु अधिकारी-

नेपाल विकसित र सम्बृद्ध नभए सम्म हेर्न नजाने प्रण गरेर बसेका जननेता मदन भण्डारी आफ्नो देहावसान भएको पच्चीस वर्ष पछि अब त अवश्य पनि नेपाल विकसित भयो होला भनेर एक दिन आफूले कल्पना गरेको सुन्दर शान्त अनि विकसित नेपालको यात्रा गर्न निस्केछन्। आफूले देखेको सपना अनुसार पच्चीस वर्षमा त नेपाल संसारकै समृद्ध राष्ट्र मध्य एक हुनु पर्ने हो, जनताहरू सुखी र खुसी हुनु पर्ने हो, देश पराधिनता बाट मुक्त हुनु पर्ने हो। त्यो असम्भव पनि थिएन। चीनले उनको देहान्त हुँदा पन्ध्र वर्षमा नै देशको मुहार फेरीइ सकेको थियो अनि कम्युनिस्टहरू काम र विकासका लागि पक्का हुन्छन् भन्ने पनि प्रमाणित गरी सकेको थियो। त्यसैले नेपाल जस्तो सानो अनि असीमित स्रोत र साधनले भरिएको देशमा त झन् विकास भनेको २५ वर्षमा त पूर्ण हुनु पर्ने हो भन्नेमा उनलाई कुनै शङ्का थिएन। त्यसै पनि राजनीतिक स्थायित्व अनि विकासका दिशाहरू उनले पहिल्याइदिएर गएका थिए।

आफ्नो प्यारो देशको त्यो सुन्दर मुहार हेर्न उनलाई निकै उत्सुकता थियो। अनि नेपालको कामकाजको केन्द्र सिंहदरबार नजिकै उनी स्वर्गबाट ओर्ले। तर उनी त त्यहाँ आत्मा बनेर आएका थिए उनलाई कसैले पनि देख्न सक्दैनथ्यो तर उनले सबैलाई देख्न सक्थे। आफ्नो त्यही पुरानो कालो भादगाउँले टोपी, धर्के कमिज अनि मोटो चस्मा भिरेर पुरानो साइकल चढेर उनी सिंहदरबार तिर लागे। तर त्यो दिन सिंहदरबार सुनसान जस्तै थियो, उनलाई अचम्म लाग्यो. तर नजिकै कसैले कुरा गरेको सुनेर उनले थाहा पाए कि विशेष कार्यक्रम भएकोले सबै मन्त्रीहरू अनि उच्च सरकारी टोली सबै वीरेन्द्र सभागृह गएको रहेछ। अनि त्यतैतिर लाग्नु प-यो भनेर उनी साइकलमा त्यतातिर लागे। त्यसो त आत्मा भएकोले उनी सजिलै निमेष भर मै त्यहाँ पुग्न सक्थे तर पनि नेपालको विकास हेर्दै साइकल मै जाउन् भनेर उनी त्यही आफ्नो पुरानो साइकल चढेर उतातिर लागे।

माइतीघर नपुग्दै एउटा बस हुइकिदै आएर सडकको किनारामा बिस्तारै साइकल चलाइरहेका उनलाई छेउबाट धक्का दियो अनि उनी गर्लम्म ढले। पहिलो कुरा त उनले सोचेका थिए कि अहिले सम्म नेपालका सडकहरूमा साइकल गुडाउने छुट्टै बाटो होला भनेर, त्यो त भएन तर चालकहरू त अलि सभ्य हुनुपर्ने? तर उनले सोचे विपरीत अझै पनि जथाभाबी गाडी चलाउँदा रहेछन्। यस्तै दुर्घटनाले कतिपय नागरिकहरूको अकालमा निधन भयो होला भन्ने सोच्दै उनी मुर्मुरिदै उठे। उठे पछि मात्र थाहा भयो उनी त सडकको छेउको गन्हाउने नालीमा लडेका रहेछन् अनि उनका सबै लुगा त्यो नालीको फोहरले हिलै हिलो भएको रहेछ। अनि पुछापुछ पारेर फेरि साइकल चढेर उनी अगाडि बढ्दै गए।

सडकमा जताततै खाल्डाखुल्डीहरु थिए, सडक पेटी भत्किएको थियो, न त ट्राफिक बत्ती थियो न त गाडी र पैदल यात्रुहरूले सडक नियम पालना गरेका थिए। सडकमा खाल्डा नपरेका ठाउँमा धुलै धुलो मात्रै थियो नै खाल्डा परेका ठाउँमा पानी जमेको या हिलो थियो। सडक दिउसो पनि बाक्लो कुहिरो लागेको जस्तो कुइरिमंडल थियो, अधिकांश यात्रुहरूले त्यो धुलोबाट बच्न मुखमा मुकुण्डो लगाएर हिँडेका थिए। सडक पेटीमा पहिले भएका फलामका बारहरू र रुखहरू पनि सबै उखेलिएका थिए, सडक निकै उराठ लाग्दो मरुभूमि जस्तो देखिन्थ्यो. छेउछाउका घरका भित्तामा जथाभाबी राजनीतिक नाराहरू र पोस्टरहरू टाँसिएका थिए। बिजुलीका तारहरू र तारका खम्बाहरू अहिले नै लडेर सडकमा हिँडिरहेका बटुवाहरूलाई करेन्ट लागेर मार्ने हुन कि जस्ता देखिन्थे। टेलिफोनका तारहरू पनि गुजुमुजु राजधानीको कुरुपतालाई बढावा दिई रहेका थिए। सडकका दुबैतिर जताततै फोहरका गन्हाउने डुंगुरहरु थिए। भुस्याहा कुकुरहरू त्यही डुंगुरमा रमाई रमाई खाना खोज्दै थिए। काठमाडौँको मुटुमै रहेको त्यो ठाउँको त्यो हालत देखेर एकै छिनमा उनले थाहा पाइहाले- उनको देहान्त पछि देशमा विकास होइन विनाश भएछ। राजधानी त यस्तो छ भने देशका गरिब अनि विकट ठाउँहरूको हालत के होला भनेर उनले सजिलै अनुमान लगाउन सक्थे।

माइतीघर पुगेपछि बानेश्वरतिर जाने बाटोमा निकै जाम थियो। पहिले पहिले राजाको अथवा विदेशी सरकार प्रमुखको सवारी हुँदा त्यस्तो जाम हुने गर्थ्यो. पक्कै आज पनि राजाकै सवारी होला भन्ने उनले सोचे।

प्रचण्ड गर्मीको महिना थियो, मानिसहरू पसिनै पसिना भएर कोही बसमा, कोही टेम्पुमा, कोही मोटर साइकलमा अनि कोही चाहिँ पैदल हिँडेका थिए। कसैलाई अफिस जान ढिलो भएको थियो, कसैको बच्चा बिरामी भएर अस्पताल लान लागेका थिए, भने कसैलाई स्कुल जान ढिलो भइरहेको थियो। तर सवारी साधनहरू टस को मस थिएनन्। त्यत्तिकैमा कसैले केटी साथीलाई समय दिएको त्यहाँ पुग्न ढिलो भयो भनेर गुनासो गर्दै थियो।

केटी साथीको कुरा सुने पछि उनलाई पनि आफ्नो प्रिय पत्नीको याद आयो, ती पुतली जस्ता छोरीहरूको याद आयो। छोरीहरू सानै हुँदा आफू परलोक भएकोले पत्नी विचारीले कसरी दु:ख गरेर ती छोरीहरू हुर्काएकी होलिन् भन्ने भावनाले उनलाई दुखी बनायो। राजनीतिमा लागेर उनीहरूलाई आफूले समय दिन नसकेकोमा अलि अलि पछुतो पनि लाग्यो। पछि देश सम्बृद्ध भए पछि परिवार सँग समय बिताउला भन्दा भन्दै असमयमै धर्ती छोडेर जानु प-यो। छोरीहरू कस्ता भए होला, के गर्दै होलान् भनेर उनलाई खुल्दुली लाग्यो।

आफूले देश र जनताको लागि यत्रो बलिदान गरियो। उनले सोचे- परिवारलाई समय नदिएर, बाबु आमालाई समय नदिएर, आफ्नो स्वास्थ्य र सुरक्षाको प्रवाह नगरेर देशको लागि भनेर हिँडियो, तर यी राजा महाराजाहरू अझै पनि देशलाई यस्तो अवस्थामा पु-याएर, जनतालाई दुख दिएर आफ्नो सवारी चलाउँछन्? देशको त्यो बेहाल देखेर उनलाई निकै रिस उठ्यो- यो राजतन्त्रले देशलाई डुबाउने नै भयो। मैले त त्यति बेला पुरै फालौँ भनेकै हुँ, पान बुढाले मानेनन्, अहिले यो हात्ती पाल्नु न फाल्नु भएको रहेछ।

त्यही सोच्दै उनी साइकलमा अगाडि बढ्दै गए। जाम त्यत्तिकै थियो तर उनको साइकल कुनै अवरोध बिना तिनै जामको बीचबाट हिँडिरहेको थियो।

बानेश्वर आइपुग्नै लाग्दा प्रहरीले त्यहाँ सबैलाई रोकेर राखेको थियो। अरूहरूले गरेको कुराकानीबाट उनले बुझ्न सक्थे कि केही छिनमै त्यहाँ सवारी हुने वाला थियो त्यसैले अब त्यहाँ जे जस्तो ठुलो घटना भए पनि, कसैको ज्यानै जाने स्थिति आए पनि जनताले सहेर बस्नु बाहेक अरू उपाय थिएन।

त्यहाँ रोकिएका यात्रुहरूले त्यो सवारीमा आउनेलाई सराप्दै थिए। त्यो सुनेर उनको रिसको पारो अंझ चढ्यो। आज जसरी भए पनि म वीरेन्द्रको झाँकी झार्छु नै भनेर उनले निर्क्यौल गरे। जनताको करबाट आएको पैसा खर्च गरी राजदरबारमा बस्ने अनि जनतालाई नै दुख दिने? जमाना कहाँ पुगी सक्यो अहिले आएर पनि यो सामन्तवाद? त्यति बेला त टुँडिखेलबाट मात्र थर्काएको थिएँ, आज तिमीलाई सामुन्ने आएर नै थर्काउँछु भन्ने सोचले उनी भिड छिचोल्दै अगाडि बढे।

उताबाट सवारीको गाडी आयो, अगाडि दुई तिनवाट प्रहरीका गाडी अनि पछाडि पनि अरू दुई तीन वटा प्रहरीका गाडी अनि दुवै छेउमा मोटरसाइकलमा चढेका प्रहरीको गस्ती। उनलाई त्यो देखेर अझ रिस उठ्यो। पहिले त यति बिघ्न सवारी हुँदैनथ्यो अहिले त अझ फुर्तीका साथ हिँड्न थालेछन्। देशको हालत यस्तो राखेर नचाहिने कुरामा चाहिँ यत्रो खर्च? यत्रो तडकभडक? यिनलाई किन यत्रो सुरक्षा चाहियो? के यिनी मरे पछि देशै डुब्छ र? कि प्रधानमन्त्री भएको भए देशको सर्वोच्च कार्यकारी मान्छे हो, उसको निधन भयो भने देशको प्रशासनिक काममा असर पर्ला त्यसैले अलि बढी सुरक्षा दिनु पर्छ भन्नु। तर यिनी मरे पछि यिनको ठाउँमा ढुङ्गो ल्याएर राखे पनि काम चल्छ देशमा फेरि यत्रो खर्च, यत्रो रवाफ किन?

उनको रिसले सीमा नाघ्यो। आज मैले तिमी वीरेन्द्र र पुरै राजसंस्थालाई नै एउटा राम्रो शिक्षा सिकाउँछु, तिमी जस्तो सुकै सुरक्षा घेरा भित्र बसे पनि मेरो पहुँचबाट भाग्न सक्दैनौ भन्ने सोच्दै उनी त्यो सवारीको गाडीको अगाडि पुगे।
त्यो निकै सुन्दर, सुविधा सम्पन्न देख्दै लोभ लाग्ने गाडीलाई छुँदा पनि मैलो लाग्ने जस्तो थियो। जनताहरू खोले पनि खान नपाएर मरिराखेका छन्, तिनैको पैसा लुटेर अहिले तिमी यत्रो गाडी चढ्ने? मेरा छोरीहरू कहाँ टुहुरा भएर दुख पाएर बसिराखेका होलान्, तिमीलाई चाहिँ यत्रो मस्ती? अलिकति लाज लाग्छ कि लाग्दैन? अनि उनी दौडिएर गाडीको अगाडि गएर गाडीलाई रोक्न खोजे अनि औलो ठड्याएर थर्काउन मात्रै के लागेका थिए, तर गाडीभित्र उनले जे देखे त्यो देखेर उनी एक छिन त अवाक् भए। उनको त्यो औलो त्यही हावामै लुत्रुक्क प-यो।

गाडीको पछाडिको सिटमा आफ्नै पत्नी गजधम्म परेर विराजमान थिइन। पत्नीको गाडी त रोक्नु भएन, उनी छेउ लागे अनि के भएको रहेछ त भनेर आफ्नो देहावसान भए देखि आजसम्मको इतिहास नियाल्न थाले।
बिचरा वीरेन्द्रको त वंश नाशै हुने गरी हत्या भएको रहेछ। उनी आफ्नैको हत्याराको पत्ता नलागे जस्तै वीरेन्द्र र उनको परिवारको हत्यारा पनि पत्ता नलागेको रहेछ। वीरेन्द्र त बरु राजा भएर पनि पैदल हिँड्दै काठमाडौँका सडक चहार्थे रे, सर्वसाधारणलाई कुनै दुख नदिई। तर राजतन्त्र नै गएछ। उनले आफ्नो शङ्काको लागि मनमनै वीरेन्द्र सँग माफी मागे।

राजतन्त्र गए पछि उनकी पत्नीलाई पो चिट्ठा परेको रहेछ- नेपालको राष्ट्रपति बन्ने। त्यसैले उनी त्यहाँ त्यो महँगो विलासी गाडीमा सवारी गर्दै रहिछन्। निकै ठुलो मान्छे भैसकिछिन- आफू भन्दा पनि निकै ठुलो।

श्रीमतीको त्यो प्रगति देखेर उनलाई खुसी त लाग्यो तर पनि जनताकी छोरीको यत्रो रवाफ किन? उनलाई त्यो रवाफ अनि त्यसले गर्दा जनताले पाएको दुख कत्ति पनि मन परेन। आखिर कसले त्यो कुबुद्धि दियो उनलाई? उनले फेरि इतिहासका परिघटनाहरू विस्तृतमा नियाल्न थाले।

अहिले आफैले स्थापना गरेको र आफ्नै सिद्धान्तलाई अङ्गालेर हिँडेको पार्टीको दुई तिहाइ बहुमतको सरकार रहेछ। अनि आफ्नो पछि लागेर नेता भएको आफ्नै शिष्य प्रधानमन्त्री रहेछ। देश युद्धबाट भर्खर तंग्रिन लागेको रहेछ, केही स्थायित्व आउन लागेको रहेछ तर देशका जल्दाबल्दा समस्याहरूलाई थाति राखेर अहिले राष्ट्रपतिलाई किन यति विलासी गाडी चाहियो?

एउटा मूर्ख राजनीतिज्ञको मूर्खताले गर्दा विकास, सुशासन, समानतालाई लत्याएर देशमा मनपरी तन्त्र शासन गरेकोले अहिले देशमा प्रजातन्त्र प्रति वितृष्णा जागेको, गृहयुद्ध भएर रक्तपात भएको, जनतामा विभाजन आएको अनि देशकै सार्वभौमिकतामा आँच आएको देख्दा देख्दै फेरि अर्को मूर्खले त्यही गल्ती दोहो-याउदै रहेछ। त्यो सोचले उनलाई छटपटी भयो अनि जसरी भए पनि यो सन्देश आफ्नी पत्नी कहाँ पु-याउनु प-यो भनेर त्यो दिन राति उनी पत्नी भेट्न गए।

उच्च सुरक्षा सहित निकै शानदार कोठाको न्यानो मखमली ओछ्यानमा निदाएकी पत्नीलाई बिस्तारै उनले सोधे- ‘प्रिय?’

धेरै वर्ष पछि अचानक पतिलाई सपनामा आएको देखेर उनलाई निकै खुसी लाग्यो।

उनी खुसी हुँदै भनिन- ‘स्वामी?’

‘प्रिय तिमी त निकै ठुलो मान्छे भएछौ, बधाई छ। तर जनतालाई दुख दिएर उनीहरूले तिरेको करको पैसाले तिमीले मोज गरेको मलाइ चित्त बुझेन। जननेताकी श्रीमतीले त्यसो गर्दा कत्ति पनि सुहाएन।’

‘के गर्नु स्वामी, म त यहाँ कठपुतली बनाइएकी छु। मेरो यहाँ के लाग्छ र? उनीहरूले जे भन्छन् त्यही गर्छु।’

‘तर तिमी त राष्ट्रपति हौ प्रिय, यो देशको सर्वोच्च व्यक्ति। गलत र ठिक तिमीले पनि छुट्ट्याउनु पर्छ। देश र जनता दुवै गरिब देख्दा देख्दै अरूको कुरामा लागेर यत्रो विलासितामा बस्दा तिमीलाई कसरी निद्रा लाग्छ? देश र जनता धनी भए पछि मात्र तिमीले आफ्नो बारेमा सोच्नु पर्छ। ल हेर त देशको स्थिति। मैले छोडेर गएको भन्दा देश अंझ बिग्रेको रहेछ, अराजक बढेको छ, हत्या हिंसा बढेको छ, अत्याचार बढेको छ, देशको अर्थतन्त्र झन् पछि झन् नाजुक हुँदै छ। राजा त गएछन्, तर तिमी त महाराज भन्दा पनि खर्चिली र विलासी भैछ्यौ।’

‘हो स्वामी, तर म उनीहरूले जे भन्छन् त्यही गर्न बाध्य छु।’

‘त्यसो होइन, तिमी अब बोल्नु पर्छ, तिमी यदि साच्चिकै जनताकी राष्ट्रपति हुन चाहन्छ्यौ भने, विलासिता लाई लत्याउनु पर्छ, तिम्रो नाममा जनतालाई दुख दिने काममा तिमीले सरकारलाई साथ दिनु हुँदैन. जनताका जीवनसँग र राष्ट्रको विकाससँग जोडिएका सवालमा तिमीले सरकारको ध्यान आकर्षण गर्नु पर्छ. तिमी जति जति उनीहरूको कुरा सुन्दै विलासितामा डुब्दै जान्छ्यौ तिमी प्रति जनताको वितृष्णा उति उति बढ्दै जान्छ। यस्तै गर्नु छ भने राजतन्त्र र लोकतन्त्रमा के फरक भयो र? तिमीलाई याद छ मैले एक पटक भनेको थिए- राजतन्त्रको राजा हात्ती हो, गणतन्त्रको राष्ट्रपति बाख्रा हो। हात्तीलाई पालन निकै खर्च लाग्छ तर बाख्रालाई सामान्य खर्चमा पालन सकिन्छ। तर अहिलेको तिम्रो खर्च देख्दा हात्ती मात्र होइन तिमी त सेतो हात्ती भएकी रहेछौ। त्यसैले यो कार्यलाई तुरुन्तै रोकेर तिमीले जनता सामु भिजेर जनताको सुखदुख मा साथसाथै हिँड्नु पर्छ, देशका जल्दाबल्दा समस्या समाधान गर्न सरकारलाई दबाब दिनु पर्छ अनि मात्र तिमी जनताकी सच्चा राष्ट्रपति कहलाइने छौ।’

‘मैले गल्ती गरे स्वामी मलाइ माफ गर्नुस्। तर अब म बोल्नेछु अवश्य बोल्नेछु, म खोपीको मूर्ती र सेतो हात्ती भएर बस्ने छैन। म अवश्य जननेताको सच्चा श्रीमती हुनेछु, जनताकी सच्चा राष्ट्रपति हुनेछु।’

3 comments to मदन भण्डारी स्वर्गबाट नेपाल फर्केर आएर हेर्ने हो भने…

  • madan bajracharya

    यो ब्रम्हाण्ड पृथ्बी र सबै प्राणीहरु हिन्दु देवताकै श्रिजना हो भन्छन हिन्दुहरु/ यसो भने पछि उनीहरुले किन बुद्धिस्ट क्रिस्चियन र मुस्लिमलाई पनि हिन्दु देवताकै श्रिजना भयो/ हिन्दु धर्म मान्नेहरुमा आफुलाई जिउँदो भगवान र भगवानको अवतार भयको भन्दै आयकै छ त् क्रिस्चियनको कसैले आफुलाई जिजसको छोरी हुन् भने त् केको हल्ला केको आपति?

    पढ्ने पढाउने बेला क्रिस्चियनहरुको “गद” माने भगवान भनेर घोक्ने घोकाउने बुझाउने लेख्ने लेखाउने फेरी गद र भगवान उही नभयको भनि फलाक्ने/ क्रिस्चियनको देसमा कोहि क्रिस्चियन हिन्दु बनेमा र त्याहा क्रिस्चियनहरुलाई हिन्दु बनाउन प्रचार प्रशार गरेमा “दंग” हुन्छन/ नेपालमा कोहि क्रिस्चियन बनेमा बा क्रिस्चियन धर्मको प्रचार को कुरै छाडौं कुरा मात्रै उठायामा भेला गरेमा मानौ कि धर्म माथि बलात्कार नै गरे जस्ती चिचाउञ्छन/

    हिन्दु धर्म मान्नेलाई हिन्दु धर्म मान्नेले नै कुजात छुन नहुने, बोक्सी आदि आरोपलगायर पिडित बनाउंदै आयकै छ;आपत बिपत पर्दा सहयोग गर्न कन्जुसी गर्दै आयकै छ;हिन्दु बाटै पिडित भयकोलाई हिन्दुलाई सुको सहयोग नदिने मात्रै होईन “तँ पिडित भयको तराई पुर्व जन्मको फल हो” भनेर उल्टै दोष पनि दिंदै आयकैछ/ त् आज कोहि हिन्दु क्रिस्चियन बनेकोमा बास्तविक दोषी को हो?

    फरक फरक धर्म मान्ने नेपालीको नेपालको प्रधान मन्त्रि भय पछि उ चाहे महा कट्टर हिन्दु नै भय पनि नेपालीले पनि मान्ने कुनै पनि धार्मिक कार्यक्रममा उ बोलाय पछि फरक धर्म मान्ने नेपालीको मानको सम्मान गर्न जानु उसको नैतिक र व्यक्तिगत दाईत्व पनि हो/ उ त्याहा जानुको अर्थ उसले हिन्दु धर्म त्यागेको होईन अरु धर्म मान्ने नेपालीको आत्मियता स्विकारेको मात्रै हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 1

  • Shankar

    ज्युदा मदन भण्डारी हरुको चाल देखियो , पन्चे , बहुदले भन्दा १० गुणा भ्रस्ट र बिदेशी खुफिया जस्ता | येस्तै हावादारी कल्पना गर्नु |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Sudip

    प्रिथिभी नारयण साह आए भने नि !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)