यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

पाँच दिनमा दुई पटक पशुपति आर्यघाट पुग्दाको पीडा, नबुझी ‘साहित्य’ लेख्‍ने पत्रकारहरु उस्तै


सन् २०१८ को अन्तिम दिन इन्जिनीयर दम्पतिको मृत्युको खबर मिडियामा छायो। मलाई हनहनी ज्वरो आउँदा पानीपट्टी लगाइदिने र चोट लाग्दा अस्पताल पुर्‍याउने बहिनीको फोटो र समाचार मिडियामा यसरी दुःखद समाचारको रुपमा आउँछ भन्ने कहिल्यै लाग्दै लागेन। त्यसैले फेसबुकबाट कपी गरेर टाँसिएका त्यस्ता समाचारका फोटोहरु अविश्वसनीय लागिरह्यो। कान्ति बाल अस्पतालको गेट नजिकै रहेको त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम गर्ने ठाउँ बाहिर बसेर मोबाइलमा त्यस्ता समाचारहरु हेरिरहँदा समाचार पढिरहेको हो कि काल्पनिक साहित्य, छुट्याउनै गाह्रो भइरहेको थियो। कसैलाई थाहा नभएको कुरासमेत प्रत्यक्षदर्शीसरह बयान गरिएको थियो। एउटाले रेको आधारमा सुनेको कुरा लेख्दा अरु थप बुझ्न तिर नलागी सबै त्यही कपिपेस्टमा पो लाग्दा रहेछन्। आफैलाई परेपछि झन् बढी थाहा भयो यो कुरा।

१० दिनसम्म भेन्टिलेटरमा जीवनसित संघर्ष गरिरहेकी बहिनी अप्सरा सोमबार एकाबिहानै पराजित भइन्। चार दिनअगाडि त्यस्तै समयमा श्रीमान् पुष्करराज जोशी यसरी नै पराजित भएका थिए।

सुदूरपश्चिमबाट आएका वृद्ध बुबाले पाँच दिनको अन्तरमा पहिले कान्छो छोरालाई र त्यसपछि बुहारीलाई दागबत्ती दिए। पशुपतिमा छोराको किरिया बस्दाबस्दैको अवस्थामा आएर बुहारीलाई चितामा राख्दाको पीडा शब्दमा बयान गर्न सकिन्न। अस्पतालमा उपचार भइरहेको १६ महिनाको छोराले बारम्बार आमा खोज्दै ढोकातिर हेरिरहेको देख्नेहरुलाई कस्तो हुन्छ, त्यो झन् कसरी बयान गर्न सक्नु!

यो अवर्णनीय पीडामा फ्याक्ट हैन ‘साहित्य’ लेख्ने पत्रकारहरु पनि अचम्मका। एउटाले लेख्यो-

समाचारको शीर्षक राख्नेले थप तड्पाउन खोजेको कुरा बेग्लै, यसमा त फ्याक्टमा समेत गल्ती गरिएको छ। आफ्नै अनुमानमा जे पायो त्यही लेखिदिने ! लेखिएको छ-

घटना पुस ७ को हो । पुसको ठिहि¥याउने काठमाडौं अनि साँझ ६ बजे । जाइकामा कन्सल्टेन्ट रहेका इञ्जिनियर पुष्कर जोशी र सडक विभागमा कार्यरत इञ्जिनियर अप्सरा श्रेष्ठ कार्यालयबाट काम सकेर कोठामा आए ।

पुस ७ गते शनिबार हो र शनिबार कार्यालय लाग्दैन भन्ने सामान्य तथ्यसमेत थाहा भएनछ।

लेखिएको छ-

‘समयमा कीर्तिपुर अस्पताल त पुर्‍याउन सकिएन नै, स्लाइन पनि चढाइएन, उल्टो त्यहाँबाट कीर्तिपुर अस्पताल लैजान पनि बिलिङ र अरु कागज मिलाउँदा ४ घण्टा ढिलो भयो ।’

जो अस्पतालमा पुगेकै छैन, उसैले सबै कुरा थाहा पाए जसरी बयान। जो कलंकीको सहिद मेमोरियल अस्पतालमा पुगेकै छैन, उसले सलाइन पानी चढायो कि चढाएन कसरी थाहा पाउँछ। जसले बिल क्लियर अहिले एकछिनमा गरौँला भनी हतार हतार एम्बुलेन्समा राखेर कीर्तिपुर अस्पतालतिर दौडायो, उसलाई थाहा नभएको चार घण्टा ढिला भएको कुरा ‘रे’कै भरमा बयान गरिने रहेछ।

अर्को खबर यस्तो शीर्षकमा देखियो

हिटरमै जल्ने शीर्षक जति खराब छ, भित्रका तथ्यहरु झन् बढी गलत छन्। लेखिएको छ-

दुवैलाई बेहोशी अवस्थामा उद्दार गरिएकाले कसरी आगो सल्कियो भन्ने यथार्थ विवरण आउन सकेको छैन। प्रहरी आएर तीनै जनालाई नजिकै रहेको सहिद मेमोरियल अस्पताल पुर्‍याए । तर, त्यहाँ उनीहरुको सही ढंगले उपचार भएन । चिकित्सकहरुका अनुसार आगोमा जलेका बिरामीलाई तत्काल स्लाइन दिनुपर्ने हुन्छ किनकी आगोले शरीरको सबै पानी सोसेको हुन्छ । तर, अस्पतालले दुई घन्टासम्म राख्दा स्लाइन दिएन र दुवै बिरामीको अवस्था जटिल भएपछि किर्तिपुर अस्पताल रिफर गरिदियो । जलेका बिरामीका लागि किर्तिपुर अस्पताल सबैभन्दा राम्रो मानिन्छ।

हाम्रो पत्रकारितामा कति कल्पना हुन्छ अनि कति फ्याक्ट? यो अब अनुसन्धान गर्नुपर्ने विषय भएको छ। थाहै नभएको कुरामा किन कल्पना घुसाएर समाचार लेख्नु? समाचारमा जस्तो दुवैलाई बेहोसी अवस्थामा उद्दार गरिएको भए अस्पतालबाट अप्सराले आफन्तको नम्बर भनी हाम्रो मोबाइल नम्बर दिएको पनि कल्पनै हुनुपर्ने। कलंकीको शहिद मेमोरियल अस्पतालमा ज्वाइँ पीडाले चिच्याएको आफ्नै कानले सुनेको पनि कल्पनै हुनुपर्ने। ‘हामीलाई आगोले हैन, रापले पोलेको’ भनेर अप्सराले भनेको पनि कल्पनै हुनुपर्ने। एम्बुलेन्समा राख्दा अक्सिजनको पाइप छुट्यो भनी ज्वाइँ कराएको पनि कल्पनै हुनुपर्ने।

शहिद मेमोरियल अस्पताल मलाई पनि चित्त बुझ्दैन। तर त्यो दिन सक्दो उपचार चाहिँ गरेकै हो त्यो अस्पतालका नर्स र डाक्टरहरुले। दुई घण्टासम्म राख्दा सलाइन नदिएको भन्ने कुरा गलत हो। दुई ठाउँबाट सलाइन दिएको मैले आफ्नै आँखाले देखेको थिएँ। एम्बुलेन्समा भने नमिलेर एक ठाउँबाट मात्र दिइएको थियो। आगलागीमा परेका बिरामीलाई पहिलो ६ घण्टा क्रिटिकल हुने रहेछ र सक्दो बढी सलाइन दिनुपर्ने रहेछ। यो कुरा अहिले आएर थाहा भयो। पर्याप्त दिन नसकिएको हो, तर दिँदै नदिएको भनेर कल्पनाका भरमा समाचार लेख्ने पाप त गर्नुहुन्न भो। र, यो अस्पतालले अवस्था जटिल भएपछि कीर्तिपुर अस्पताल रिफर गरेको हैन। अस्पतालले त आफ्नै आइसियुमा राख्न खोजेको थियो। यसअघि यहाँको आइसियु भोगिसकेकोले र साथीहरुको सल्लाह अनुसार साथीहरुसँगको सल्लाहमा मैले कीर्तिपुर अस्पताल लैजाने निर्णय गरेको हुँ। कीर्तिपुर अस्पतालका डाक्टरले समेत जहाँ लगिएको छ, त्यहाँबाट तुरुन्त यता ल्याउनू भनेका हुन्।

समाचार लेखिएको छ-

उनीहरुले चिच्याएर गुहार नमागेका पनि होइनन् । छरछिमेकीले नसुनेका पनि होइनन् । तर, कोही घटनास्थलमा आएनन् ।

‘उनीहरुले गुहार गुहार भनेर कराउँदा छिमेकका मान्छेहरु ढोका थुनेर बसेछन्,’ उनले भने । निकै बेरपछि सो घरका घरपट्टलिे प्रहरीलाई फोन गरेर बोलाएका थिए ।

प्रहरी आएर ढोका खोल्दा तीनै जना बेहोस अवस्थामा थिए । अप्सराले बच्चालाई कभर गरेकी थिइन् भने पुष्करले अप्सरालाई कभर गरेका थिए । त्यसैले सबैभन्दा बढी पुष्कर जलेका थिए । उनको हात सबैभन्दा बेसी जलेको थियो ।

यहाँ पनि तथ्यभन्दा कल्पना हावी छ। छरछिमेकीलाई बित्थामा आरोप लगाइएको छ। उनीहरुले गुहार भनेर कराउँदा छिमेकका मान्छे ढोका थुनेर बसेका हैनन्। यही समाचार नै पत्याएर सामाजिक सञ्जालमा छिमेकीलाई गाली गरी स्टायटस लेख्नेहरुसमेत देखिए। छिमेकीलाई दोष लगाउनु व्यर्थ छ। किनभने ब्ल्यांकेट पानीमा भिजाएर ढोका फोरी तीनै जनालाई कोठाबाट बाहिर ल्याउने साहसी व्यक्ति छिमेकी मगर दाजु नै थिए।

उनीहरुको फ्ल्याटमुनि बसेकी एक महिलाले भने ‘गुहार गुहार’को आवाजलाई ‘चोर चोर’ सुनेकी थिइन् र डराएर ढोका बन्द गरेर माथिल्लो फ्ल्याटमा बस्ने दाइभाउजुलाई नै बोलाइरहेकी थिइन्। छरछिमेकीहरुले ढोका बन्द गरेर बसेका हैनन्। पुगेका थिए तर इमर्जेन्सी अवस्थामा क्विक डिसिजन गर्न चुकेका हुन्। मानवीय कमजोरी। सँगैको पसलमा रहेको फायर एक्सटिङगुइसर ल्याएर चलाउन सके हुन्थ्यो। ढोका पनि समयमा फोर्न सकेनन्।

यी त भए दुई वटा समाचारका नमूना। अरु कपिपेस्ट अनलाइनहरुले के केसम्म लेखे, त्यो यहाँ बयान नगरौँ होला।

राति हिमालखबरले पनि यस्तै लेखेको देखेपछि मनै बसेन। ट्विट गरेँ।

लगत्तै समाचार सच्चिएको जानकारी पाएँ।

नहुनु पर्ने कुरा भयो। जसरी यस्तो घटना हुन नदिन हामी सबैले पूर्व सावधानी अपनाउनु पर्छ, त्यसरी नै पत्रकारितामा फ्याक्ट भन्दा फिक्सन बढी मिसाउने प्रवृत्तिमा पनि हामी पत्रकारहरुले नै सावधानी अपनाउनु पर्छ भन्ने लागेको भएर यति लेखेँ।

पृष्ठभूमि बुझ्न घटनाबारे लेखेको यो पुरानो ब्लग
जाडो भयो भनेर ग्यास हिटर चलाउनुअघि लाख पटक सोच्‍नुहोला है !

4 comments to पाँच दिनमा दुई पटक पशुपति आर्यघाट पुग्दाको पीडा, नबुझी ‘साहित्य’ लेख्‍ने पत्रकारहरु उस्तै

  • Shankar

    मदन ज्यु
    देश पाकिस्तान र बंगला देश जस्तै भ्रास्ताचारको गहिराइ मा चुर्लुम्म डुबेको छ | उनीहरु हामि भन्दा धेरै पहिले नै प्रजातन्त्र पाएका देश परे , फेरिपनि उनीहरु आजकाल इन्डियन भन्दा बढी भ्रस्ट भैसकेको छ | नेपाल को प्रजातन्त्र को पथ पति तेतैतिर बा त्यो भन्दा खतरनाक बाटोमा गएर भोलि के हुने भन्न सकिन्न | एस्तो अबस्था मा सरकार खाएङ्कुरा मा बिसादी मिलावट , ग्यास सिलिन्डर को गुणस्तर , नाप तौल मा अनियमितता आदि कुरामा ध्यान देला बा कुनै कदम चाल्ला?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • नेपाली हृदय

    सालोक्य जी,
    एस्तो अकल्पनीय दु:खको बर्णन कुनै शब्दमा गर्न सकिंदैन, त्यो भोग्ने हरुलाई मात्र थाहा हुन्छ l भगवानले तपाइलाई सम्हालिन सक्ने शक्ति दियुन भनि प्रार्थना गर्दछु l
    यस्ता अत्यन्त दुखपुर्ण समाचार सम्प्रेषण गर्नुपरेको अवस्थामा पत्रकार साथीहरुले सर्बप्रथम परिवारको पिडा तथा मानबिय संबेदनालाइ ख्याल राखेर अलि संबेदनशील भई कृपया तथ्यपरक हरफहरु मात्र लेखिदिनुहुन अनुरोध गर्दछु l अन्यथा, आफुलाई गहिराइमा थाहा नभएको कुराहरु हचुवामा स्कुप हान्ने भनेको बाँचेका आफन्तहरुको घाउमा थप नुन चुक छर्किने कार्य मात्रै हो, यसलाई समाचार लेखिएको भनिंदैन l

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • sundip

    घटना ले सारै मर्माहत तुलायो|
    वहाहरुको आत्माको चीर शान्तिको कामना गर्दछु|

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    सलोक्यज्यु
    घटना दुखद हो/ दुई व्यक्तिको ज्यान अचानक व्यर्थैमा गयो/ सहानुभूति दिने औपचारिकता कुरा गर्नु भन्दा केहि दिन नसक्ने भय दुखमा परेको परिबार र मित्रहरुलाई लाई लागेको निकोंई हुन् नसक्ने पिडा सहने धैर्य राख्ने सल्लाह दिनु उपयुक्त लाग्यो; तेही दिन्छु/ यस्तो दुख्दाई घटनामा समेत पत्रकारिता मात्र उक्साउने र पत्रिका बिकाउने नियतले गर्ने देखि त् घिन पनि लाग्यो/

    ग्याशाको शिलिंदरको कारणले यस्तो दुखद घटनाहरु पटक पटक हुँदै आयको छ/ तापनि सम्भंदित निकायले ग्याश शिलिंदरको गुण स्तर बिस्वसनिय हुने कुनै कार्य गरेकै छैन मात्र होईन गैरकानुनी तरिकाले कामै नलाग्ने ग्याश शिलिंदरको पिंध समेत गैरकानुनी तरिकाले गर्दै आउनेलाई समेत कुनै सजाय गरिंदैन/ नागरिकको घर घरमा प्रयोग हुने तर केहि तृती भयमा बम जत्तिकै विस्फोटक र प्राण लिने ग्याश शिलिंदर कस्तो हुनु पर्ने हो, कति सम्म प्रयोग गर्न सकिने हो मर्मत गर्न सकिने भय कस्तो कस्तोले मात्रै मर्मत गरिनु पर्ने हो भन्ने कुनै नियमनै छैन/

    सालोक्य ज्यु तपाईं बात हुन् सक्छ भने कृपया नागरिकको घर कोठामा प्रयोग हुने ग्याश शिलिंदरहरुको प्रयोग गर्न सकिने समय र प्रयोग योग्य भयको प्रमाण अनिवार्य हुनु पर्ने र सो शिलिंदर को बिमा हुनु पर्ने र शिलिन्दरको गुणस्तर निम्न भयकोले दुर्घताना भयमा शिलिंदर सप्लाई गर्ने जिम्मेवार हुनु पर्ने कानुनि ब्यबस्था गराउन केहि अवाज उथाईदिनु हुन्छ कि/ यो बाहेक तपाइंको ब्लग मार्फत शिलिंदर प्रयोग गर्ने घरमा अनिवार्य तवरले फायर एक्स्तिन्ग्विषर राख्ने सलाह पनि दिनु भय यस्तो दुर्घताना केहि कम हुन्छ जस्तो लाग्छ/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1