यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

सपनामा निर्मला : पापमोचन

-राजु अधिकारी –

एक जना व्यापारीको घरमा अतिथि बनेर टन्न मार्सीको भात खाएर आएर मस्त सुतेका उनलाई राति सपनामा निर्मला पन्तले तर्साइन। च्यातिएका लुगा, रक्ताम्य शरीर अनि लथालिङ्ग कपालकी निर्मलाले सपनामा उनलाई भन्दै थिइन- ‘मलाइ न्याय चाहियो। मलाइ थाहा छ, तिमीले नै मेरो बलात्कारी र हत्यारालाई लुकाएर राखेका छौ। यदि तिमीले मलाइ न्याय दिएनौ भने म तिमीलाई यसरी नै भूत बनेर हरेक दिन तर्साउन आउनेछु।’ निर्मलाको त्यो भयाबह रूप देखेर उनलाई निकै डर लाग्यो। अनि त्यही डरले उनी असिनपसिन हुँदै ब्युँझिए।

‘धन्न सपना रहेछ।’ कस्तो डर लागेको भनेर मनमनै सोच्दै उनी निदाउन प्रयास गरे। तर त्यति सजिलै निद्रा किन आउँथ्यो र? घडी हेरे, रातिको २ बजेको रहेछ। उठेर पानी पिए अनि फेरि ओछ्यानमा पल्टे।

उनले सोचे- यत्रो देश बनाउने जिम्मेवारी छ आफ्नो काँधमा, जाबो एउटी केटीको बलात्कार र हत्याको सानो कुरालाई उठाएर काम नपाए झैँ आन्दोलन भनेका छन् उफ्रेका छन्। देशको विकास ठुलो कि निर्मलालाई न्याय ठुलो?
यदि सबै हत्याराहरूलाई सजाय दिने हो भने सबभन्दा पहिले मलाइ नै दिनु प-यो। झापामा मान्छे काटेकै हौँ हामीले पनि। अनि माओवादीलाई दिनु प-यो, त्यत्रा मान्छे मारेकै हुन उनीहरूले। एउटा सामान्य बलात्कारको घटनाको लागि देशको भविष्य नै अन्धकार हुने गरी शान्ति र विकास खल्बल्याउन ज्यान फालेर लागेका छन्। निर्मलाको लागि न्याय मागेर देशलाई अशान्त पार्न खोज्नेहरू देशको माया नभएका राष्ट्र विरोधी र विकास विरोधी तत्त्वहरू हुन।
त्यति सोच्दा सोच्दै कति बेला निदाएछन् उनलाई थाहा भएन।

सपनामा फेरि तिनै निर्मला आइन, त्यही भयाबह रूपमा। उनले भन्न थालिन- ‘शक्तिको भरमा मलाइ मार्ने बलात्कारीलाई जोगाउन खोज्यौ भने म तिम्रो विनाशको कारण बन्ने छु। तिम्रो दुई तिहाइको सरकार तासको घर ढले झैँ ढल्नेछ, तिम्रो अहङ्कार नै तिम्रो विनाशको कारण बन्नेछ। तिम्रो शरणबाट मेरो बलात्कारी र हत्यारालाई तुरुन्तै सार्वजनिक गर नत्र भने म तिमीलाई श्राप दिन्छु।’
निर्मलाको त्यो कुरालाई बेवास्ता गर्दै उनले भने- ‘यस्ती फुच्चीले श्राप दिएर मलाइ केही हुने छैन। म अब डराउने वाला छैन। यो त सपना मात्रै हो। जे गर्न सक्छौ तिमीहरू गर। मैले जे गर्न सक्छु म गर्दै जानेछु।’

त्यो सुने पछि निर्मला क्रुद्ध हुँदै भन्न थालिन- ‘उसो भए सुन मूर्ख- देशका नारीलाई इज्जत गर्न नजान्ने तेरो पनि एक दिन जनताले दिएको इज्जत तहसङ तहसनहस हुनेछ। दुर्बल देखेर म र म जस्ता हजारौँ पीडितहरूको आलो घाउमा नुन चुक हाल्ने तँ एक दिन यति दुर्बल हुनेछस् कि तेरै दलका, तेरै आफ्नै मान्छेले तँलाई छि छि दूर दुर्र गर्ने छन्।’

उनले सोचेका थिएनन् कि निर्मलाले त्यस्तो श्राप देलिन् भनेर। उनलाई लागेको थियो उनले सायद मर्ने श्राप देलिन् अनि मर्नबाट उनलाई खासै डर थिएन। तर निर्मलाको त्यो अप्रत्याशित श्राप सुनेर उनलाई डर लाग्यो। उनको त्यो शान, इज्जत अनि शक्ति उनी गुमाउन चाहन्नथे। त्यही डरले फेरि असिन पसिन हुँदै उनी ब्युँझिए। त्यसपछि जति प्रयास गर्दा पनि उनलाई पटक्कै निद्रा लागेन।

अर्को दिन दिनभरि उनलाई चैन भएन। त्यही निर्मलाको तस्बिर अनि उनले दिएको श्राप आँखा र दिमाग वरिपरि घुमिरह्यो। उनले कार्यालयमा कुनै काम गर्न सकेनन् अनि देवताको आराधना गर्नु बाहेक अर्को उपाय देखेनन्।
अलि सबेरै घर गएर पूजा कोठामा भगवान् शिवको मुर्ति अगाडि आरती गर्न थाले। आरती सकेर उनलाई अलि शान्ति भयो अनि खाना खाएर सुते।

राति सपनामा महादेव प्रकट भए। उनले निकै आदर पूर्वक महादेवलाई प्रणाम गरे।

उनलाई उठाउँदै महादेवले भन्न थाले- ‘उठ वत्स, म तिमीलाई आज केही सुझाव दिन प्रकट भएको हुँ।’

‘जो आज्ञा प्रभु, प्रभुको आज्ञा सधैँ शिरोपर गरेर म अगाडी बढ्ने छु।’

‘सुन वत्स, तिमीले पाप गरेका छौ। तर पनि ढिलो भएको छैन, निर्मलाका बलात्कारी र हत्यारा तिमीलाई थाहा हुँदाहुँदै पनि तिनलाई बचाउने दुस्प्रयास नगर। यो महा पाप हो। एउटी अबोध बालिकालाई न्याय दिन नचाहनेले
देशलाई न्याय दिन सक्ला भनेर जनताले विश्वास गर्ने छैनन्। यदि मैले भनेको मानेनौ भने यही तिम्रो मूर्खता नै तिम्रो पतनको कारण बन्ने छ। तिम्रो पाप मोचन भनेको हत्यारालाई सार्वजनिक गरेर निर्मलाका परिवार र सम्पूर्ण नेपालीसङ माफी माग्नु हो।’ त्यति भनेर महादेव अलप भए। उनले महादेव महादेव भनेर चिच्याउदै थिए, त्यही बेला श्रीमतीले सुनिन।

‘हैन यो राति राति के को महादेव महादेव भनेर चिच्याएको निद्रा खलबल पार्ने गरी?’

‘केही हैन, सपना देखेछु। ल सुत।’

श्रीमती त फेरि निदाइन तर उनलाई निद्रा लागेन। उनलाई महादेव प्रति रिस पनि उठ्यो। उनले सोचे- अलि राम्रो उपाय सुझाउलान् बुढाले भनेको त माफी माग्ने कुरा पो गर्छन्। म कुनै हालतमा त्यो अभियुक्त सार्वजनिक गर्ने वाला छैन। माफीको कुरा त सोच्दै नसोचे हुन्छ। बुढा धतुरो खाएर आएका थिए कि क्या हो? केही कामका रहेनछन्। त्यसैले त राजाहरूले दुई सय वर्ष देखि ‘श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन्’ भन्दा पनि न त नेपाली को कल्याण भयो न त राजाको नै। तिनै पशुपतिनाथको पछि लागेर राजतन्त्र नै गयो। अहँ यिनको पछि लाग्नु हुँदैन। हाम्रा आफ्नै मौलिक भगवान् छन् नि यही जन्मेका- बुद्ध। अब उनीसँग गएर केही पुकारा गर्नु पर्ला। आफ्नै देशको मान्छे भने पछि अलि राम्रो र सजिलो उपाय निकाल्लान् नि।

त्यही सोच्दा सोच्दै बिहान भएछ, झट्टपट्ट उठेर बौद्ध गएर भगवान् बुद्धको निकै दत्त चित्तले आराधना गरे।

त्यो दिन दिउसो उनको मन निकै चङ्गा भयो। उनलाई लाग्यो बुद्धले उनलाई क्षमा दिएछन्। अब सबै कुरो मिल्यो भनेर उनी निकै खुसी भए, दिनभरि काम पनि राम्रोसँग गरे। घरमा राति खाना खाएर पुन: बुद्धलाई मनन गर्दै सिरकमा गुटुमुटु परे।

राति सपनामा बुद्ध देखा परे। बुद्धलाई देखेर उनी निकै खुसी भए भगवानले उनको पुकार सुनेछन् भनेर। अब त पक्कै पनि पापबाट मुक्ति पाइयो भनेर उनले भने- ‘हजुरको दर्शनले मेरो जीवन धन्य भयो प्रभु, अब मैले के गर्नु पर्छ मार्गदर्शन होस्।’

‘वत्स, म तिम्रो मूर्खता देखेर तिमीलाई सम्झाउन आएको हुँ। तिमीले सोच्न पनि कसरी सक्यौ कि गरेको गल्तीको सजाय नपाएर, त्यसको प्रायश्चित नगरेर तिमीले त्यो पापबाट उन्मुक्ति पाउँछौ भनेर? बुद्ध दर्शन कर्म र प्रतिफलको नियमबाट चलेको छ। अर्थात् जस्तो काम गर्छौ त्यस्तै फल भोग्छौ। त्यसैले म तिमीलाई यही कुरा भन्न आएको हुँ। तिमीले हत्यारा सार्वजनिक गर्ने र माफी माग्ने बाहेक दोस्रो उपाय छैन।’ त्यति भनेर बुद्ध अलप भए।
बुद्धको त्यो आदेश पछि उनी फेरि छटपटीदै निद्राबाट ब्युँझिए।

बुद्धबाट निकै आशा राखेका उनले बुद्धले पनि केही लछारोपाटो लगाउन नसके पछि बुद्धप्रति पनि उनलाई रिस उठ्यो। दिनभरि ध्यान गरेर केही काम नगरी बस्ने यिनको बुद्धिमा के आओस्? मैले काम नगरे पनि कमसे कम उखान टुक्का भनेर जनतालाई मनोरञ्जन त दिएको छु नि। यिनको पछि लागेर पार लागिन्न, अब अर्को केही उपाय त सोच्नु प-यो भनेर उनी सोंचमग्न भए।
यशुले सबैको प्रार्थना सुन्छन् रे भन्ने उनले सुनेका थिए। एक पटक कोसिस गरे के बिग्रेला त भन्ने सोचेर उनले अर्को दिन बिहानै यशको एउटा ठुलो तस्बिर छापेर त्यसलाई भित्तामा टाँसे अनि उनको अगाडी घुडा टेकेर प्रार्थना गर्न थाले।

अचानक उनलाई अचम्मको अनुभव भयो, मन निकै प्रफुल्ल भयो। अनि प्रार्थना सकेर आँखा खोल्ने बित्तिकै भित्तामा टाँसेको यशको त्यो सजिब जस्तो लाग्ने चित्रले उनलाई नै हेरिरहेको जस्तो लाग्यो। यशुले उनको प्रार्थना सुनेछन् जस्तो मानेर मख्ख पर्दै उनी कार्यालय गए।

कार्यालयमा पनि उनलाई निकै रमाइलो अनुभव भइरह्यो। उनलाई लाग्यो- त्यसैले त इसाई धर्मको यत्रो लोकप्रियता रहेछ संसारमा। यशुले यति छिटो प्रार्थना सुन्ने रहेछन् अनि भक्तलाई तुरुन्तै पापमुक्त पनि गर्ने रहेछन्। यति राम्रो धर्म भएकोले नै नेपालमा पनि द्रुत गतिमा यसको बिस्तार भइरहेको रहेछ।

राति घर फर्केर यशको त्यही तस्बिर अगाडी पुन घुँडा टेकेर प्रार्थना गरेर उनी राति सुते।

उनको सपनामा यशु प्रकट भए। काला लामा दाह्री पालेका, एकसरो लुगा लगाएका अपरिचित व्यक्तिलाई देखे पछि उनले सोधे- ‘कसलाई खोज्नु भयो?’

‘मैले तिमीलाई नै खोजेको हुँ पुत्र। म यशु हुँ। म तिमीलाई एउटा सल्लाह दिन आएको हुँ।’

‘आदेश होस् प्रभु।’

‘मलाइ थाहा छैन तिमीले बाइबल पढेका छौ कि छैनौ, मैले बाइबलमा दुईवटा महत्त्वपूर्ण कुरा भनेको छु। एउटा कुरा- यदि तिमीलाई अटल विश्वास छ भने तिमीले जे चाह्यो त्यही गर्न सक्छौ, अनि अर्को कुरो- तिमीले जे रोप्छौ त्यसैको फल प्राप्त गर्छौ।’

‘मैले कुरो बुझिन प्रभु।’

‘ल सुन पुत्र- पहिलो कुरो त सत्यको उजागर हुनबाट कसैले पनि छेकेर छेकीदैन त्यसैले निर्मलाको बलात्कार र हत्याको जुन सत्य तिमीले लुकाउन खोजेका छौ, तिमी आफैलाई विश्वास छैन कि तिमीले त्यसलाई सधैँ लुकाएर राख्न सक्नेछौ अर्थात् तिमी आफैमा विश्वास नभएकोले यो कुरा अवश्य बाहिर आउनेछ। दोस्रो कुरो तिमीले गरेको कर्मको फल तिमीले भोग्नै पर्छ। हत्यारालाई लुकाएर तिमीले पाप गरिसक्यौ त्यसैले ती नाबालकको बलात्कारी र हत्यारा सार्वजनिक नगरे सम्म तिमी पापबाट मुक्त हुँदैनौ’

‘तर प्रभु मैले त सुनेको थिए, भक्तका सबै पापहरू हजुरले लिनु हुन्छ रे, अनि प्रार्थना गरे पछि जति पाप गरे पनि मुक्त भइन्छ रे।’

‘त्यो गलत कुरो हो पुत्र। आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न मेरो भक्त जस्तो भएर पापीहरूले फैलाएको अन्धविश्वास हो। तिमी आफै सोच त- तिमी बिरामी भयौ भने तिमीलाई औषधि खुवाएर तिमी निको हुन्छौ कि तिम्रा पिताजीले औषधि खाए पछि तिमी निको हुन्छौ? त्यस्तै तिमीले गरेको पाप पखाल्न तिमीले नै प्रायश्चित गर्नु पर्छ, तिम्रो पाप मैले कसरी पखाल्न सक्छु? अनि प्रार्थना गरेर सबै ठिक हुन्छ भन्ने पनि गलत हो। प्रार्थनाले तिम्रो मन शान्त पार्ने मात्रै
हो। प्रार्थना गर्दैमा तिमी आफ्नो कर्मको फल भोग्नबाट भाग्न सक्दैनौ।’

बिचरा उनी यशको त्यो कुराबाट निकै निराश भए अनि टोलाएर केही सोच्दै थिए कति बेला यशु अलप भएछन् थाहै पाएनन्।

केही उपाय लागेन, जुन भगवान् पुकारे पनि एउटै कुरा गर्छन्, तर भगवानले दिएको सल्लाह मान्न उनलाई मनै छैन। यदि भगवानले भने जस्तो गर्ने हो भने त उनी आफैले धेरै पहिले नै गरिसक्थे किन भगवान् गुहार्नु पर्थ्यो र?

अनि त्यस्तै निराश मुद्रामा अर्को दिन बिहान कार्यालयमा गएर बसेका उनलाई दिउसो एक जना युवा भेट्न आए।

‘आजभोलि किन निराश देखिनु हुन्छ?’ उनको त्यो निराश मुद्रा देखेर ती युवाले सोधे।

‘हेर्नुस् न, यो निर्मलाको भुतले मलाइ निकै सतायो। मलाइ यसबाट मुक्त हुनु छ। तर मैले केही उपाय देखेको छैन। यही कुराले मलाइ आजभोलि निकै सताइराखेको छ।’

‘यति सानो कुरोमा चिन्ता नलिनुस्। देशका यत्रा यत्रा कुराहरू गर्न बाँकी छ, तपाईँ जस्तो मान्छे यस्ता झिना मसिना कुरा सोचेर बस्यो भने देश कसरी बन्छ? तपाईँको चिन्ता दूर गर्ने सजिलो उपाय छ मसँग- हाम्रो सङ्गठन यशुकी सच्चा छोरीले आफै चलाएको सङ्गठन हो। म उहाँसंग कुरा गर्छ, उहाँले तपाइँलाई यो सबै बाट मुक्ति दिलाउनु हुनेछ।’

‘कसरी विश्वास गर्नु?’

‘शत प्रतिसत विश्वास गर्नु भए हुन्छ। कस्ता कस्ता कठिन समस्या त उहाँले चुड्काको भरमा समाधान गर्नु भएको छ, तपाईँको यो समस्या त उहाँको लागि समस्या नै होइन। तर अलिकति खर्च चाहिँ हुन्छ।’

‘ल उसो भए छिटो गर्नुस्। म यसबाट जतिसक्यो चाँडो मुक्त हुन चाहन्छु। खर्चको चिन्ता नगर्नुस्। सरकारी कोष छँदै छ नि। यस्तो बेला पनि खर्च नगेर कहिले गर्नु?’

केही दिनमै ती यशु पुत्री सरकारी खर्चमा निकै तामझामका साथ सम्मेलन गर्न नेपाल आइन। ठुलै प्रचार गरियो, देश विदेशका गण्यमान्य नेताहरूलाई निम्त्याइयो। त्यही सम्मेलनमा अनि उनलाई ठुलो धनराशिको ‘सुशासन पुरस्कार’ पनि यशु पुत्रीले प्रदान गरिन। सरकारले राम्रो काम गरेन भनेर विरोध जनाउनेहरूको मुखमा बुझो लाग्यो- नाम चलेको त्यत्रो ठुलो विश्वव्यापी अन्तर्राष्ट्रिय संस्थाले ‘सुशासन पुरस्कार’ दिएको देख्दा देख्दै पनि राम्रो काम गरेन भन्नु विरोधीको मूर्खता मात्रै हो भनेर ठुलै प्रचार गरियो।

तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा त पाप मोचन गर्नु थियो, निर्मलाको भूतबाट मुक्ति पाउनु थियो। कसैले थाहा नपाउने गरी अनि कसैलाई शङ्का नहुने गरी एक दिन साँझ एउटा ठुलो होटेलमा उनको पाप मोचन गर्नको लागि यशुकी पुत्री त्यहाँ पुगिन।

उनले लम्पसार परेर यशुकी सच्चा सुपुत्री लाई ढोगे अनि यशुले आफूलाई सपनामा भनेको कुरो पनि उनले यशुकी पुत्रीलाई भने।

यशुकी पुत्रीले भनिन- ‘पिताजी बुढो भइसक्नु भयो। २००० वर्ष अगाडिको सोच लिएर बस्नु भएको छ। संसार कति धेरै परिवर्तन भइसक्यो उहाँलाई थाहा छैन। त्यसैले उहाँको कुरामा नलाग्नुस्। हामी अहिलेको जमाना अनुसार चल्नु पर्छ त्यसैले त मैले यो धर्तीमा उहाँको पुत्रीको रूपमा उहाँको प्रतिनिधि बनेर जन्म लिएकी हुँ। तपाईँले पाप त गर्नु भएकै रहेछ तर ढुक्क हुनु होस, तपाईँको पाप मोचन गर्ने जिम्मा मेरो भयो।’

यशु पुत्रीको त्यो आश्वासन पाए पछि उनको मन निकै शान्त भयो।

यशु पुत्रीले एक बोतल पवित्र रक्सी निकालेर पहिले उनको ठाउँकोमा सिंचित गरिन अनि बाँकी रक्सी आफ्नै हातले उनलाई बोतलैबाट घटघट पिलाइन। उनले पनि स्वादिलो पवित्र रक्सी एकैछिनमा सिनित्तै सकाए। एकैछिन पछि उनलाई निकै रमाइलो महशुश हुन थाल्यो। धेरै दिन देखि निराश त्यो अनुहारमा मुस्कान देखियो। त्यो रात धेरै दिन पछि उनी मस्त निद्रामा सुते। सपनामा उनलाई न त निर्मला तर्साउन आइन, न त भगवानहरु नै उपदेश दिन आए।

3 comments to सपनामा निर्मला : पापमोचन

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)