यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

कथा : जब स्वर्गका राजा बने यमराज


यमराजलाई मरेका मान्छेहरूसँग दिनदिनै व्यवहार गर्दा एक दिन दिक्क लागेछ। यस्तो पनि जिन्दगी हो? सायद तेत्तिस कोटि देवताहरू मध्य सबभन्दा व्यस्त उनी नै होलान् तर त्यत्रो काम गर्दा पनि कसैले पनि उनलाई राम्रो नजरले हेर्दैन। अझ मर्त्य लोकका जीवात्माहरुका लागि त उनी त शत्रु नै हुन्।

यस्तो काम पनि कसैले गर्छ? ठोक्दिन्छु राजीनामा भनेर दृढ निश्चय गरी उनी राजीनामा पात्र बोकेर भगवान् शिवलाई भेट्न कैलाशतर्फ लागेछन्।

“प्रभु, मलाई यो काम बाट मुक्ति दिनुस्, आज म राजीनामा दिन आएको छु।”

यमराजको त्यस्तो कुरा सुनेर भगवान् शिवले भनेछन्, “यो ब्रम्हाण्डमा सबैले आफ्नो आफ्नो काम गर्नु पर्छ यमराज। ब्रम्हाण्ड सञ्चालन गर्नको लागि तपाइको काम निकै नै महत्त्वपूर्ण छ। अनि, यो काम तपाईँ बाहेक अरू कसैले पनि गर्न पनि सक्दैन। त्यसैले तपाईँ जस्तो एक जिम्मेवार देवताले राजीनामा गर्ने कुरो नगर्नुस्। मन लगाएर आफ्नो काम खुरु खुरु गर्नुस्। त्यसै पनि तपाईँ त राजा हुनुहुन्छ। यस्तो इज्जत भएको, अधिकार भएको पदवी पाउँदा पनि तपाईँ किन खुसी हुनुहुन्न? कैयौँ देवताहरू यही पदवी प्राप्त गर्नको लागि बर्षौ देखि तपस्यामा लागेका छन्।”

“तर प्रभु मलाई यो यमलोकको राजा हैन, स्वर्गको राजा बन्न मन छ।”

यमराजको कुरो सुनेर अलिकति मुकाउँदै भगवान् शिवले भने, “त्यसो होइन राजन, यमलोक पनि स्वर्ग लोक जस्तै लोक नै हो। त्यहाँ पनि शाशन नै गर्नु पर्छ। फरक यत्ति हो कि, शासितहरू फरक हुन्छन्। फेरी स्वर्गको राजा हुन त्यही अनुसारको कर्म र तपस्या गर्नु पर्छ, अनि यमलोकको राजा हुन् त्यही अनुसारको कर्म र तपस्या गर्नु पर्छ। तपाइले गरेरको कर्म र तपस्या यमलोकमा शाशन गर्नको लागि हो। तपाइले सिकेको विधिले यमलोकमा नै शाशन हुन्छ, स्वर्गमा त्यो विधिले काम गर्दैन। कर्म एउटा गर्ने अनि फल अर्को चाहन्छु भन्नु तपाईँ जस्ता बुद्धिमानले गर्ने कुरो होइन राजन। त्यसैले जानुस्, आफ्नो काममा ध्यान दिएर लाग्नुस्। यदि तपाईँलाई साँचै नै देवराज इन्द्र नै बन्ने इच्छा छ भने, त्यसको लागि चाहिने तपस्यामा लाग्नुस् एक दिन तपाइको तपस्याको प्रतिफल अवश्य प्राप्त हुनेछ।” त्यति भनेर भगवान् शिव तपस्यामा लिन हुन् भनेर त्यहाँबाट अलप भए।

शिवको त्यो अर्ती सुनेर यमराजलाई अर्को कुरो गर्ने ठाउँ रहेन अनि चित्त नबुझे पनि फेरि त्यही यमलोकमा गएर जाँगर नलागी नलागी मर्त्यलोकका जिवात्माको बही खाता पल्टाउन थाले।

मर्त्यलोकमा गरेका कर्मको आधारमा कसलाई स्वर्ग पठाउने अनि कसलाई नर्क पठाउने भनेर उनले आफ्नो काम सुरु गरे। ‘स्वर्ग’ शब्दले उनलाई स्वर्गको राजा बन्ने इच्छा पुन: जागृत भयो। इन्द्रले देवताको बैठक बोलाउँदा उनले पनि बैठकमा भाग लिन जाँदा धेरै पटक स्वर्गको यात्रा गरेका छन् तर त्यहाँ उनको सम्मान हुँदैन। सबै देवताले उनलाई हेयको दृष्टिले हेर्छन। त्यो सम्झँदा उनलाई झन् रिस उठ्यो। जसरी भए पनि स्वर्गको राजा हुन्छु हुन्छु अनि मलाई नराम्रो दृष्टिले हेर्ने ती देवताहरूलाई मा पनि देखाइदिन्छु भनेर उनले आँट गरे। यस्ता दुष्ट, पापी अरबौँ जीवात्मा हरूलाई शाशन गरेको मान्छेले जाबो ३३ करोड देवता शाशन गर्न के गाह्रो होला र भनेर उनले तपस्या गर्ने बिचार गर्न थाले।

इन्द्रलाई उनको पदबाट हटाउन कसैले घोर तपस्या गर्न थालेको छ रे भन्ने सुनेर दैत्य गुरु शुक्राचार्य यमराजलाई भेट्न उनले तपस्या गरिरहेको ठाउँमा पुगे। शुक्राचार्य आएको देखेर यमराजले सोधे, “कति कामले पाल्नु भयो गुरुदेव?”

“यमराज, तिमीले इन्द्रलाई हटाउन तपस्या गर्न लागेको सुनेर मा यहाँ तिमीलाई केही सुझाव दिन आएको हुँ। सायद तिमीलाई थाहा छैन, इन्द्रको पदको लागि तिमी जस्तो तपस्या गर्ने देवताहरू कति छन् कति। तपस्याबाट यो पद पाउन त हजारौँ वर्ष लाग्छ। त्यसैले यस्तो मूर्ख काम नगर। बरु मा तिमीलाई एउटा सजिलो र छिटो परिणाम आउने उपाय सुझाउँछु।”

“आज्ञा होस् गुरुदेव।”

“यमराज, इन्द्रलोकका वैधानिक राजा इन्द्र नै हुन्। तपस्या या अरू कुनै पनि विधान सम्मत काम गरेर तिमी आफ्नो यो जुनीमा इन्द्रलोक सम्हाल्न पाउँछौ भन्ने सोच्दौ भने तिमी भन्दा ठुलो मूर्ख अरू कोही हुने छैन। त्यसैले एउटा मात्र उपाय भनेको बल प्रयोग गरेर उनलाई हटाउनु हो।“

“तर गुरुदेव मसँग त सेना छैन। असुर सेनाको सहयोगको लागि गुरुदेवले असुर सम्राटसंग भनिदिनुप-यो।”

“त्यो हुन सक्दैन वत्स, यदि सुर सेनाको बलमा तिमीले इन्द्र लोक मा कब्जा जमायौ भने त्यहाँको राजा को हुने, असुर सम्राट या, तिमी? त्यहाँ फेरि अर्को युद्ध हुन सक्छ त्यसैले तिमी आफैले देवताहरूलाई नै हातमा लिएर उनीहरूलाई विद्रोह गर्न लगाएर इन्द्रलाई हटाउन सक्छौ। पाताल लोकको तिमीलाई हमेशा नैतिक सहयोग रहनेछ।”

त्यति सुझाव दिएर शुक्राचार्य पातालतिर लागे। यमराजलाई उनको कुरो निकै ठिक लाग्यो। यसै पनि महादेव ध्यान गर्न गएका छन्, यही बेला देवताहरूलाई इन्द्रको विरुद्धमा उक्साएर एक पटक गद्दी कब्जा गर्न पाइयो भने त फेरि कसले पो हटाउने आँट गर्ला र?

त्यसै पनि स्वर्गमा आज भलो पहिले जस्तो सन्तुष्टि छैन भन्ने उनले सुनेका थिए। इन्द्र रात दिन सोम रसमा डुबेर अप्सरासँग मात्र बस्छन् अनि लोकको काम केही गर्दैनन् भन्ने गुनासो उनले केही देवताहरूले गरिरहन्थे।

त्यसपछि उनी तुरुन्तै इन्द्रको शासनको बारेमा गुनासो गर्ने देवताहरूसँग कुरो बुझ्न स्वर्ग गए। तर उनीहरू मात्र होइन, भित्र भित्र इन्द्रको राजकाजको पारा देखेर लगभग सबै देवी देवताहरू दिक्क भैसकेका रहेछन्। त्यो उनको लागि सुखद समाचार थियो।

यमराज धेरै समय पछि स्वर्ग गएका थिए। आफूले भविष्यमा राज्य गर्ने सोच बनाएको स्वर्ग कस्तो रहेछ त अलि बिस्तारमा नियाल्नु प-यो भनेर उनले यताउता हेर्न थाले।

उनलाई त्यहाँको सौन्दर्यले निकै मोहित बनायो। उत्तर तर्फ हेरे, माता पार्वतीका पिता हिमालय पर्वतको अजङको सुन्दर दरबारका सफेद हिउँ बिहानीको सूर्यको किरणसँगै टल्केर वातावरण मनोरम बनेको थियो। उनको दरबारका ठुला र अग्ला हिम शिखरहरूले आकाश नै चुम्न लागेका छन् कि जस्ता देखिन्थे। त्यस्तो मोहित पार्ने दृश्य यमलोकमा या ब्रम्हाण्डको अन्य ठाउँमा कहाँ देख्न पाउनु र?

त्यहाँबाट उनले दक्षिणतिर नजर लगाए। त्यहाँ सुन्दर नागबेली परेका निला पहाडहरूमा बाह्रै महिना फुल्ने थरिथरिका रङ्गिन पुष्पहरू अनि थरिथरिका रसिला फलहरू लटरम्म फलेका थिए। हरिण, खरायो, हात्ती जस्ता सयौँ थरी सुन्दर जनावरहरू आफ्नै पहाडका पखेराहरूमा स्वच्छन्द क्रिडा गर्दै थिए। सयौँ थरी रनिबिरंगी पंक्षीहरु र पुतलीहरू आफ्ना पखेटाहरू फर्फराउँदै सफेद बादलको मुन्तिर आफ्नो यात्रा भर्दै थिए। कुनै पक्षीले सुमधुर स्वरमा गीत गाई रहेको सुनिन्थ्यो। त्यो देखेर उनी मन्त्रमुग्ध नैने कुरै भएन।

त्यो भन्दा अझ दक्षिणतिर नजर लगाउँदा उनले हरिया फाँटहरू विभिन्न थरी अन्नहरू, साग सब्जिहरु मौलाई रहेको देखे। उनलाई लाग्यो सायद स्वर्गमा चाहिने प्रसाद र नैबेध्य त्यहीँ उब्जने अन्नबाट बन्छ होला। त्यसको अतिरिक्त त्यहाँ सुन्दर ताल तलैयाहरू थिए। स्वर्गका अप्सराहरू तिनै नदी र तालहरूमा आफ्ना सुन्दर अवयवहरूलाई छोप्ने प्रयास गर्दै स्नान गर्दै थिए। त्यो देखेर उनलाई सह्य भएन। जसरी भए पनि स्वर्गको राजा म नै हुनु पर्छ भनेर उनले त्यो दिन देखि नै आफ्ना सहयोगीहरूलाई जम्मा गरेर इन्द्रलाई स्वर्गको राजगद्दी बाट पद्च्युत गर्ने योजना बुन्न थाले।

इन्द्रको भोग विलास अनि अकर्मण्यताबाट आजित भएका देवताहरू पनि यमराजको कुरामा तुरुन्तै आए। अनि आन्दोलन सुरु भयो। केही समय सम्म त इन्द्रलाई वास्ता थिएन तर एक दिन दुई दिन गर्दै आन्दोलनले ठुलै रूप लियो। इन्द्र आफ्नो पदबाट नहट्दा सम्म अब कुनै काम नगर्ने भनेर स्वर्ग लोक नै बन्द गरे देवताहरूले सबै काम काज ठप्प पारे। अनि त्यतिले नपुगेर आन्दोलनकारीहरू सबै मिलेर इन्द्रको दरबारमै गएर त्यहाँ विध्वंस मच्चाउन थाले। उनको दरबारको पर्खाल तोडे, सडक भत्काए, द्वारपालहरूलाई उनीहरूका हतियार खोसेर उल्टै उनीहरू प्रति जाइलागे, अनि दरबारमै पस्न लागेको बेला अप्सरासँग रमाई रहेका इन्द्रले चाल पाएर त्यहाँबाट भागेर आफ्ना गुरु वृहस्पतिकहाँ शरण लिन पुगे।

गुरु वृहस्पतिलाई पहिले नै थाहा थियो एक दिन यो दृश्य अवश्य देख्नु पर्नेछ भनेर। उनले त्यसको लागि इन्द्रलाई पटक पटक सचेत पनि गराएका हुन् तर भोग विलासमा लागेका इन्द्रले आफू जस्तो वैधानिक राजालाई कसले स्वर्गबाट हटाउन सक्ला भनेर गुरुको सुझावको वास्ता गरेनन्।

इन्द्र रुँदै आफ्नो चरणमा परेको देखेर उनले सम्झाउँदै भने, “मैले तिमीलाई भनेकै थिएँ वत्स, तर तिमीले सुनेनौ। अब पछुतो गरेर केही हुने वाला छैन। सबैले आफूले गरेको कर्मको फल ढिलो चाँडो भोग्नै पर्छ। तिमीले पनि आफ्नो भोग विलास र अकर्मण्यताको फल भोगेका हौ। अब गएर महादेवको तपस्या गर। तिम्रो तपस्या पूर्ण भयो भने सायद अर्को जुनीमा पुन: इन्द्र भएर यहाँ राज गर्न पाउनेछौ। यो जुनीमा अब तिम्रो काम भनेको आफूले गरेको कर्मको फल भोग्नु मात्रै हो।”

गुरुको आज्ञा शिरोपर गर्दै इन्द्र महादेवको तपस्या गर्न हिँडे। उता स्वर्गको दरबार यमराजको कब्जामा गइसकेको थियो। जताततै विजय जुलुस थियो, सबै प्रफुल्ल थिए। अब नयाँ महाराजले अवश्य पनि स्वर्गलाई पहिले भन्दा राम्रो बनाउने छन् भनेर सबैमा उल्लास थियो। त्यसपछि आधिकारिक रूपमा यमराजले इन्द्रको राज गद्दी सम्हाले।

राज गद्दी त सम्हाले तर के गर्ने उनलाई थाहा थिएन। त्यसैले गुरु वृहस्पति आफै आएर उनलाई सुझाउन थाले, “वत्स आज देखि तिमी यो गद्दीको राजा हौ। सम्पूर्ण स्वर्ग लोक तिम्रो आधिपत्यमा छ। अनि म तिम्रो गुरु हुँ। एउटा गुरु भएको नाताले मैले तिमीलाई सुझाव दिनु मेरो कर्तव्य हो। हुन त मलाई थाहा छ, तिमीले शुक्राचार्यको सुझावमा यो राज गद्दी कब्जा गरेका हौ तर पनि अब तिमी यहाँको राजा हौ र यहाँको गुरु हुँ। त्यसैले तिमीले मैले भनेको सुन्नु नै सबैको लागि कल्याण हुने छ।”

“जो आज्ञा गुरुदेव, आदेश होस्, अब मैले के गर्नु पर्छ।”

“ल सुन वत्स, स्वर्गलोकमा शाशन गर्नु यमलोकमा शाशन गरे जस्तो सजिलो छैन। यहाँ देवाताहरुमाथि शाशन गर्ने हो, यमलोकमा जस्तो मरेका जीवात्मामा शाशन गर्ने होइन। यहाँका देवताहरूको आशा धेरै छ, उनीहरू बुद्धिमान पनि छन्। उनीहरू आफैले पनि के ठिक हो के बेठिक हो भनेर पहिल्याउन सक्छन्। त्यसैले निकै विचार गरेर, सबैलाई साथ लिएर शाशन गर्नु। यदि शुशानको प्रत्याभूति दिन सकेनौ भने, पहिले जस्तै अकर्मण्यताको सिकार भयौ भने, भोग विलासमा लाग्यौ भने तिम्रो यो पद पनि धेरै दिन टिक्ने छैन।”

यमराजलाई लाग्यो- के के नै ठुलो उपदेश दिन लागेका होलान् भनेको त उल्टै चेतावनी पो दिन आएका रहेछन् बुढा त। यमराजले उनका कुरा वास्ता गरेनन्। सारा ब्रम्हाण्डका जीवात्मालाई शाशन गरेकोले जाबो यति सानो स्वर्गलाई पनि शाशन गर्न नसकू ला र भन्ने घमण्डका साथ उनले आफ्नो राजकाज सुरु गरे।

यमलोकका आफ्ना विश्वासपात्र हरूलाई मन्त्री बनाए। यमलोकमा उनलाई सहयोग गर्ने चण्ड, मुण्डहरु त्यहाँका नयाँ हर्ताकर्ता भए। कहिले धन दौलत नदेखेका उनीहरूले स्वर्गको अपार धन देखेर त्यसलाई आफ्नो व्यक्तिगत ढुकुटीमा सार्न थाले। कहिले सुन्दर युवतीहरू नदेखेका उनीहरूले स्वर्गका अप्सराहरू देखेर आफ्नो कामोत्तेजना नियन्त्रण गर्न सकेनन् अनि उनीहरूलाई जबर्जस्ति र बलात्कार गर्न थाले। तर उनीहरूलाई रोक्ने, कारबाही गर्ने कोही थिएन।

मरेका जीवात्मालाइ शाशन गररेका उनीहरूको लागि मर्नु र मार्नु ठुलो कुरो थिएन। यमलोकमा शाशन गर्दा उनीहरूले बन्दुकले हानेर हुन्छ कि, घाँटी रेटेर हुन्छ कि अथवा रुखमा बाँधेर पिटेर हुन्छ कि पाशविक तरिकाले मर्त्यलोकका जीवात्माहरुलाई मार्ने गर्थे। त्यही संस्कृतिमा शाशन गरेका हुनाले उनीहरूले स्वर्गमा पनि हत्या र हिंसाका घटनाहरू गराउन थाले। उनीहरूले राज्य सम्हालेको केही महिना मै स्वर्गमा फोहर, कोलाहल, झगडा, चोरीचकारी, हत्या, बलात्कार, भ्रष्टाचार हुन थाल्यो। देवताहरूले असन्तुष्टि व्यक्त गर्न थाले। तर यमराज आफ्नो शासनबाट निकै सन्तुष्ट थिए। आफू स्वर्गको राजा भए देखि यो गरेँ, त्यो गरेँ भनेर उनले बारम्बार देवताहरूलाई बुझाउन खोज्थे। यमलोकमा शाशन गरेको मान्छेलाई जतिसुकै कुशाशन भए पनि स्वर्गको शाशन निकै राम्रो लग्नु स्वाभाविकै पनि थियो। सायद उनले बाहेक सबैले अनुभूति गरेका थिए, उनी गद्दीमा बसे पछि स्वर्ग उँभो हैन उँधो गति तिर धकेलियो तर मन परे पनि नपरे पनि देवताहरू उनलाई गद्दीबाट हटाउन असमर्थ भैसकेका थिए। आफ्नो गल्तीको पश्चात्ताप गर्नु बाहेक उनीहरू सँग दोस्रो उपाय पनि थिएन।

5 comments to कथा : जब स्वर्गका राजा बने यमराज

  • Bashanta Raj Bhandari

    Pasupati Sharma’s song and this story…..?.?.?.?.?.?.?
    शासन गर्ने यमराज?
    सत्ता समर्थकलाई आक्रोशित बनाउने अर्को लाइन यस्तो छ-
    गर्ने काम केही हैन
    ठूला ठूला भाषण
    स्वर्ग जस्तो देशमा
    यमराजको शासन

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • prithvi

    स्वर्ग का राजा ज्ञानेन्द्र र पारस हुन् र यमराज चै प्रचण्ड बाबुराम हुन्, प्रस्ट नै छ . अरु कुरा भन्ने पर्दैन ! कति राम्रो कथा !

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Prashant

    रुद्रजी यो लेखलाइ कथा भन्नु को साटो सन्दर्भ लेख भनौ| कसो
    संधर्भिक छ हैन र | चट्ट मिलेको |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • madan bajracharya

    माथि कथामा यमराजलाई लोभ्यायको स्वर्गको बर्णन नेपाल सिट मिल्छ/ अप्सराहरु सिट लस्पसिन्दै रक्सि पिउनमै मस्त भयको स्वर्गको राजा इन्द्र नेपालको राजा त्रिभुवन सिट मिल्छ/ मरेकामाथि मात्रै शासन हुने यमलोकको बर्णन अंग्रेजले दास बनायको भारत सिट मिल्छ/ यमराजलाई कसरि स्वर्गको राजा हुन् सकिन्छ भनेर सिकाउने जवाहरलाल सिट मिल्छ/ स्वर्गको राजा बने सके पछि स्वर्गको गुरु वृहस्पतिको सल्लाह नसुन्ने, स्वर्गको योग्य कुनैलाई वास्तै नगर्ने यमलोककैलाई सबै … सुम्पेर स्वर्गमा अराजक राज चलाउने को को को सिट मिल्छ होला तपाईहरुनै अन्दाज लगाउनुस/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Rudra

    कथा : जब स्वर्गका राजा बने यमराज
    अलि अपुरो भयो katha

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 1