यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

फागुन ७ स्मृति : यसरी भारतीय सेना उतारेर लगिएको थियो राजा त्रिभुवनलाई भारत


२००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्-

राजा भगाउन विमानस्थल निर्माण
त्यतिबेला नेपालमा जहाज चलेको थिएन। राजालाई कसरी भारत पठाउने भन्ने विषयमा छलफल गर्न एकदिन भारतीय राजदूत चण्डेश्वरप्रसादले मलाई बोलाए। राजालाई जसरी पनि इन्डिया भगाउनुपर्छ, मोटर बाटोबाट संभव छैन, राणाहरूले यो कुरा थाहा पाए भने योजना पूरा हुँदैन भन्ने निष्कर्षपछि हवाइजहाजमै इन्डिया भगाउने निर्णय भयो। तर, हवाइजहाजका लागि एयरपोर्ट थिएन।

श्री ३ मोहन शमशेरका छोरा विजयसँग मेरो राम्रो दोस्ती थियो। उनलाई प्रभावमा पारेर पहिले एयरपोर्ट बनाउने सल्लाह भयो र त्यो काम गर्ने जिम्मा राजदूत चण्डेश्वरप्रसादले मलाई नै दिए। त्यतिबेला मिठाई बनाउने धेरै सामग्री भारतबाट ल्याउनुपथ्र्यो। त्यसैले ‘एयरपोर्ट बनाउनुपर्यो’भन्न मलाई सजिलो हुनेभयो। मैले विजय शमशेरसँग बिन्ती बिसाएँ, ‘सरकार, मलाई सामान ल्याउन गाह्रो भयो। एयरपोर्ट बनाइदिनुपर्यो।’

मेरो अनुरोधलाई विजय समशेरले सजिलै स्वीकारे। मैले चिनेको ज्यानबहादुर प्रधान इन्जिनियर थिए। उनको सहयोग लिएँ। गौचरनलाई एयरपोर्ट बनाउन स्वीकृति पाएको २२ दिनमा मैले काम सकेँ। एयरपोर्ट बनाउने सम्पूर्ण खर्च मैले नै बेहोरेँ। पाँच सय गज लम्बाइ र अढाइ सय गज चौडाइको एयरपोर्ट तयार भयो। रामदल गणबाट पनि सुरक्षाको लागि खटाइदिए।

सिभिलियन भेषमा भारतीय सैनिक उतारियो
एयरपोर्ट बनाउन सुरु गरेको २३औँ दिनमा दिल्लीबाट जहाज आयो। १५/१६ जना मानिस जहाजमा आएका थिए। ती मान्छेलाई चण्डेश्वरले सरासर शीतलनिवास लगे। भारतीय राजदूतावास लैनचौर भए पनि त्यहाँ बस्ने ठाउँ नपाएर राजदूत चण्डेश्वर त्यतिबेला अहिले राष्ट्रपति भवन रहेको शीतलनिवासमा बस्थे। दिल्लीबाट भर्खरै जहाजमा आएका उनीहरू ‘पञ्जावी आद्मी’ को रूपमा आएका थिए। खास परिचय खुलेको थिएन। राजदूतको सुसारे भनेर चिनाइएको थियो।

एयरपोर्ट बनाउनुको मुख्य उद्देश्य राजालाई इन्डिया भगाउनु नै थियो।

भारत भगाउने पहिलो योजना असफल
हामीले त्यो बीचमा साउनतिरै राजालाई भारत पठाउन कोशिस गर्यौँ। तर, सफल भएनौँ। राणाहरूले राजालाई चारैतिर आर्मीको घेरा लगाएर राखे। जहाज‘टेकअप’ लिन जाँदा पछाडिबाट महाराजलाई चढाएर दिल्ली पठाउने हाम्रो योजना सफल भएन।

एकदिन भारतीय दूतावासबाट मलाई चिठी आयो, ‘बिहान सात बजे दूतावास आउनू।’ म पुगेको आधाघन्टा भएको थियो। ठीक साढे सात बजे पाँचवटा गाडी हुँइकिएर आए र दूतावासभित्र छिरे। गाडीहरू नारायणहिटी दरबारबाट आएका थिए। बीचको गाडीमा त्रिभुवन सरकार हुनुहुन्थ्यो।

तिहारको रमझममा राजा टाप
देशभरी सबै तिहारको रमाइलो मनाइरहेका थिए। राणाहरू जुवा घरमा जुवा खेलिरहेको बेला पारेर महाराज त्रिभुवन भागेर दूतावास आउनुभएको थियो। नगरा बजाएर जुवा नफुकाएसम्म जुवा खेल्न पनि नपाइने र फेरि नगरा बजाएर जुवा बन्द गराएपछि बन्द गर्नुपर्थ्यो। त्यसैमा अल्झेका राणाहरूले राजा दूतावास गएको पत्तो पाएनन्। नारायण नरसिंह नाम गरेका एक जनालाई विश्वास गरेर राणाहरूले त्रिभुवनको एडिसी राखेका थिए।

राजदरबारको बाहिर रामदल गण प्रहरी तैनाथ थियो। त्यसलाई पनि छक्याएर राजा दूतावास गएपछि उनीहरूलाई पछि राणाहरूले नोकरीबाटै निकालेका थिए। राणाहरूको विश्वास पात्र भनिएका त्रिभुवनका एडिसी नारायण नरसिंहसहित १७ जना राजासँगै दिल्ली गएका थिए।

भारतीय सैनिकले दिए त्रिभुवनलाई पहरा
दरबारबाट भागेर दूतावास आउँदा त्रिभुवन सिकार खेल्ने पोसाकमा हुनुहुन्थ्यो। राजा दूतावास आएपछि चण्डेश्वरप्रसादले भित्रबाट गेट ड्याम्डुम लगाए। म पनि दूतावासको चौरमा थिएँ। यसअघि जहाजमा भारतबाट ‘पञ्जाबी आद्मी’ भनी ल्याइएका मानिसहरू त एकाएक भारतीय मिलिटरी पोसाकमा पो देखा परे ! एकैछिन अघि उनीहरू राजदूतको सुसारे थिए। अब उनीहरू त्रिभुवनलाई पहरा दिन खटिए।

आपकी महाराज हमारी शरणमेँ है
राजा दूतावासमा शरण लिन आइपुगेको खबरले राणाहरूको ओठतालु सुक्यो। एकैछिनमा बाहिर सैनिकले घेरा हाल्यो। यता, राजदूतले मलाई ‘तिमी इन्द्रचोकमा गएर महाराजधिराज दिल्ली भागे’ भनेर हल्ला पिटाइदेउ’ भनी अह्राए। अनि उनले श्री ३ मोहन शमशेरलाई फोन गरे, ‘आपकी महाराज हमारी शरणमेँ हैँ।’ उनले नेहरूलाई पनि टेलिफोन गरे, ‘राजा हमारी शरणमे हँ। हम क्या करेँ ?’ उताबाट नेहरूले ‘नआत्तिनु, भारत ल्याउने बन्दोबस्त गरौँला’भनेर जवाफ दिए।

भारतीय दूतावास घेराउ
महाराज दूतावास छिरेपछि राणाहरूले पानी बन्द गरिदिए, खानेकुरा ल्याउन रोके। हामीलाई पहिल्यै त्यस्तो गर्छन् भन्ने थाहा थियो। त्यसैले मैले नै आवश्यक खाद्यान्नको व्यवस्था गरेको थिएँ। खानेकुरा भए पनि त्यति मान्छेलाई सुत्न पुग्ने ठाउँ भने थिएन। त्रिभुवनले ‘शर्माजी ओढ्ने ओच्छ्याउने पुगेन, २०/२० थान ओढ्ने ओच्छ्याउनेको व्यवस्था गर’ भन्नुभयो। मसँग पैसा थिएन। ‘हस्’ भनेर त निस्किएँ, तर कसरी व्यवस्था गर्न सकुँला जस्तो लाग्यो।

चार दिनसम्म महाराज दूतावासको शरणमा बस्नुभयो। पाँचौ दिन नेहरूको फोन आयो। भन्नुभयो, ‘भोलि महाराजलाई लिन एयरफोर्स आउँदै छ।’ उता मोहन शमशेरलाई फोन गरेर ‘केही खतरा भए तपाईंहरू जिम्मेवार हुनुहुनेछ’ भन्नुभएछ, नेहरूले। भोलिपल्ट, मेरोसहित ६ वटा गाडी व्यवस्था गरेर महाराजलाई एयरपोर्ट पुर्याउन गयौँ। महाराजलाई भारत पठाउने बेला कांग्रेसको पनि समर्थन थियो।

यसरी फर्किए त्रिभुवन
त्रिभुवन नेपाल आउने बेला एयरपोर्टमा ३५ हजारको हाराहारीमा जनता थिए। मोहन शमशेर पनि एयरपोर्ट पुगेका थिए। भीडभाडमा मोहन शमशेरको चस्मा फुटेको थियो। त्रिभुवन जहाजबाट एकदमै सामान्य रूपमा ओर्लिंदै थिए। रक्सौलका मदन गुप्ता भन्ने पत्रकारले ‘हात उठाइबक्स्योस् महाराज’ भने। त्यही बेला उनले र अरू पत्रकारहरूले पनि तस्बिर खिचे। महाराजको हात उठाएको त्यही फोटो अहिलेसम्म पनि अखबारहरूमा देख्छु।

व्यवसायी तथा उद्योगी बिएल शर्माको यो अनुभव सौर्य दैनिकमा प्रकाशित भएको थियो। उनको निधन २०७१ पुस २७ गते भएको थियो।

2 comments to फागुन ७ स्मृति : यसरी भारतीय सेना उतारेर लगिएको थियो राजा त्रिभुवनलाई भारत

  • Bashanta Raj Bhandari

    One Question come in my mind. As per my knowledge of Indian independent movement once in 1947 August 15 India get it’s freedom by partisan of United India in to two part Pakistan for Muslim and Hindu for India. First home minister of India Mr. Patel able to United 562 states in one India. But why he let remain kingdom of Nepal independent during that time. It’s like something hidden at that time between Indian Government and king of Nepal…. ?????? Can anybody have answers on it…????

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • देबेन्द्र बस्नेत

    भारत र नेपाली काङ्ग्रेसको मिलेमतोमा देशको शार्भमोउम्ता भारतलाई सुम्पिएको कालो दिन भनौं या राणाहरुको अत्यास लाग्दो निरंकुश शाशनको जग भत्किएको दिन भनौं ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)