यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

हैट यो के देख्नुपर्‍यो : कान्तिपुरको समाचारको तथ्यगत चुनौति विज्ञापनमा छापियो तर छाप्‍ने मिडिया मौन


आज चैत २० गतेको कान्तिपुरमा एउटा गजबको विषय देख्न पाइयो। कान्तिपुरले ‘तारागाउँ रिजेन्सीमा अनियमितता : व्यवसायीका पोल्टामा सरकारी सेयर‘ शीर्षकमा चैत ९ गते र तारागाउँ रिजेन्सीमा ‘नक्कली कारोबार’ शीर्षकमा चैत १६ गते समाचार छापेको थियो। त्यो समाचारका तथ्यहरुमा नै चुनौति दिँदै कान्तिपुरका तीन वटा पेजमा विज्ञापन छापिएको छ। एउटा पूरै पेज, एउटा आधा पेज र एउटामा एक चौथाइ जति पेज। आफ्नो समाचारलाई नै खण्डन गर्ने गरी दिइएको चुनौतिको विज्ञापन छापे पनि कान्तिपुरले आफ्नो समाचार यसकारण सही छ भनेर कतै सम्पादकीय टिप्पणी लेखेको देखिएन। न त्यसमा दिइएका तथ्यगत त्रुटिको दावीलाई यसकारण सही हो भनेर नै लेखिएको छ।

पत्रकार आचार संहिता २०७३ विपरीत पनि छ यो विज्ञापनरुपी खण्डन। किनभने आचार संहिताको पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने दफाको ८ नम्बरमा स्पष्ट लेखिएको छ-

विज्ञापन मार्फत् समाचारको खण्डन गर्नुहुँदैन भन्ने प्रावधान विपरीत तारा गाउँ रिजेन्सी होटलले तीन तीन पेजमा विज्ञापन दिएर गर्न खोजेको एउटै काम प्रकाशित समाचारको खण्डन नै हो। विज्ञापन कान्तिपुरमा मात्र हैन, सबैजसो राष्ट्रिय दैनिकहरुमा प्रकाशित छ।

आचार संहिता विपरीतको भए पनि ध्यान दिएर यो विज्ञापन पढ्दा रोचक लाग्यो। समाचारका वाक्य वाक्यलाई उद्‍धृत गर्दै गलत भनिएको छ। कतिपय कुरा कम्पनीका भित्री होलान्, अरुलाई थाहा नहुने। तर कतिपय कुरा त पब्लिक डोमेनमा नै रहेका र हामीले पनि खोजेर पुष्टि गर्न सक्ने खालका छन्।

उदाहरणका लागि केही नमूना हेरौँ-

कम्पनीको ४२ बूँदे स्पष्टिकरणमा सबभन्दा रमाइलो मलाई यो लाग्यो।

कान्तिपुरमा छापिएको कुरा हेरौँ पहिला-

कम्पनीले यसको जवाफमा लेखेको छ- ‘हायात इन्टरनेशनल भारतको चेन होटल नभई अमेरीकाको चेन होटल हो।’

निश्चय नै हायातको वेबसाइटमा गएर हेर्‍यो भने यो अमेरिकाको चेन होटल रहेको प्रष्ट हुन्छ। यति सजिलो तथ्यमा पनि स्रोत प्रयोग गरेपछि कम्पनीले विज्ञापन छापेर मिडियालाई कुरीकुरी त गर्ने नै भयो।

कान्तिपुरले रोयल्टी भुक्तानीको कुरा गरेकोमा कम्पनीले लेखेको छ- यस कम्पनीले हायातको ब्राण्ड प्रयोग गरे वापत हायात सँग भएको व्यवस्थापन सम्झौता (जुन सरकारको सम्बन्धित निकायहरूबाट स्वीकृत भए अनुसार हायात समूहलाई रोयल्टी भुक्तानी नगरी व्यवस्थापन शुल्क भुक्तानी गर्दछ । अन्तराष्ट्रिय चेन होटलहरूले विभिन्न मोडलहरू अनुसार लाग्ने व्यवस्थापन शुल्क व्यवस्थापनको स्तर हेरेर फरक फरक हुन्छ । जस अन्तर्गत Franchise Model मा रोयल्टी हुन्छ र Management Model मा व्यवस्थापन शुल्क हुन्छ । Franchise Model मा भन्दा व्यवस्थापकीय मोडलमा गरिने व्यवस्थापकिय कार्य बढी भएको हुनाले व्यवस्थापन शुल्क पनि बढि हुन्छ । व्यवस्थापन शुल्क वापत भुक्तानी गरेको रकम विगत चार वर्षको औसतमा वार्षिक रु. ६ करोड ५९ लाख मात्र रहेको छ जुन नियमअनुसार नेपाल राष्ट्र बैंकबाट स्विकृति लिएर मात्र भुक्तानी गर्ने गरिएको छ । हायातलाई गरिएको भुक्तानी समाचारमा भने जस्तो नाफा वा लगानी नभई होटल व्यवस्थापन गरे वापत भुक्तानी गरेको व्यवस्थापकिय शुल्क हो जुन यस कम्पनीको नाफा नोक्सान हिसाबमा खर्च देखिन्छ।

त्यसैगरी अर्को पनि हेरौँ-

समाचारमा लेखिएको छ-

एशियाली विकास बैंकको प्रति कित्ता रु. १०० अंकित अग्राधिकार शेयर सराफ तथा श्रेष्ठ समूहले रु. ६१ का दरले खरिद गरेको कारण राज्य कोषमा झण्डै
१ अर्व ३२ करोड घाटा लागेको श्रोतले बतायो जबकी तेतीबेला त्यही शेयर झण्डै ३०० रुपैयाका दरले विक्रि भइरहेको थियो। यस कार्यमा राज्यको एउटा
महत्वपूर्ण हिस्सेदारलाई कुनै थाहा नदिई एशियाली विकास बैंकले शेयर बेच्यो।

कम्पनीको जवाफ छ-

एसियाली विकास बैंकको विशेष अनुरोधमा उक्त बैंक र आइसिटिसि होल्डीङ्ग कम्पनी प्रा.लि. तथा डोमिनियन इन्भेष्टमेण्ट लिमिटेड बिच मिति २०६९।१२।०८ तदनुसार सन् २१ मार्च २०१३ मा ADB सँग भएको Share Purchase Agreement अनुसार प्रति कित्ता रु. ६७.२० को दरमा ADB सँग शेयर खरिद गर्ने सहमति भएकोमा नेपाल सरकार उद्योग विभागको च.नं. ८७३ मिति २०७०।०६।१७ तदनुसार सन् ३ अक्टुवर २०१३ को सैद्धान्तिक सहमती पत्र प्राप्त भएपछि खरिद गरिएको हो । मिति २०६९।१२।०८ तदनुसार सन् २१ मार्च २०१३ का दिन तारागाउँ रिजेन्सी होटलको शेयरको बजार भाउ ३०० रुपैयाँ नभई १०१ रुपैयाँ मात्र भएको तथ्य नेपाल स्टक एक्स्चेञ्च लि. सँग रुजु (Verifv) गर्न सकिन्छ । ADB ले शेयर बेच्दा कर नलाग्ने र रु १०१ मुल्यको शेयरलाई रु. ६७.२० मा खरिद गर्दा देशलाई उल्टै अमेरिकी डलर १६,८६,०३० बराबर (४३,५४,७४५ कित्ता प्रति कित्ता रु ३३.८० को दरले हुने रकम रु १४७१,९०,३८१ लाई सो दिनको बिनिमय दर रु. ८७३० को आधारमा) विदेशी मुद्रा फाइदा भएको छ । यस प्रकारका गलत समाचारबाट पाठक वर्ग आफैले समाचारको विश्वसनियता विश्लेषण गर्न सकिन्छ ।

यो पनि कडा तथ्यगत चुनौति हो। त्यतिबेला ३ सय रुपैयाँको दरले सेयर बिक्री भइरहेङ्को भनिएकोमा १०१ हो, जाऊ नेपाल स्टक एक्सचेन्जमा भेरिफाइ गर्न भनिएको छ। एडिबीको सेयर सस्तोमा किन्दा देशलाई फाइदा पो भयो भन्ने तर्क गरिएको छ।

अर्को एउटा पनि हेरौँ-

समाचारमा लेखिएको छ- होटल रंग रोगनको नाममा १८ करोड रुपैया खर्च देखाएका छन्।

कम्पनीको जवाफ छ- आवश्यकता अनुसार होटल संरचनाहरू रंग रोगन गर्ने गरेतापनि १८ करोड रुपैयाँ खर्च हुने गरी हालसम्म यस कम्पनीबाट कुनै रंग रोगन भएको छैन।

अब यसरी चुनौति दिएपछि मिडियाले कि त गल्ती लेखेका हौँ भनेर सच्याउनु पर्‍यो। कि हैन भने होटलको रंगरोगनको नाममा १८ करोड रुपैयाँ खर्च भएकै हो भनी देखाउनु पर्‍यो कागजात। यहाँ त विज्ञापनमा खण्डन छापेर विज्ञापन वापतको रकम नाफा पो भएको छ त।

समाचारमा आरोप लगाइएको रहेछ- संचालक मध्येका एक अरुण सराफको छोरीको बिहे खर्च होटलले व्योहोरेका छन् यस सम्बन्धि निर्णयमा कानून मन्त्रालयबाट तत्कालिन प्रतिनिधि सहसचिव
साधुराम सापकोटाले हस्ताक्षर गरेका छन्।

कम्पनीले लेखेको छ- यस तारागाउँ रिजेन्सी होटलका प्रबन्ध संचालक अरुण कुमार सराफज्यूको छोरीको विवाहमा यस कम्पनीबाट कुनै पनि आर्थिक भार नब्योहोरेको र उक्त विवाह व्यवस्थापनमा होटललाई भुक्तानी गर्नुपर्ने रकम रु ९५,९८,९४३।२० सन् २३ फेब्रुवरी २०१६ मा भुक्तान गरेको हो । साधुराम सापकोटाको सम्बन्धमा लगाइएको आरोप निराधार रहेको छ।

अझ रमाइलो यो हेरौँ, समाचारमा छ-

लिजको जग्गामा समेत नक्सा पास नगरी भवन बनाउने प्रयाससम्म भएकोमा पछि तारा गाउँ विकास समितिको लालपूर्जा नै झिकेर लैजाने योजनासमेत बनेको स्रोतले बतायो।

कम्पनी लेख्छ- नक्सा पास नगरी यस्ता परियोजनाहरू बनाउने कुरा यस कम्पनीले कल्पनासमेत गर्न नसक्ने हुँदा नक्सा पास नगरी भवन बनाउने प्रयास गर्नु र लालपूर्जा झिकेर लैजाने योजना रहेको भन्नु कपोकल्पित एवं झुठा हो । लालपूर्जा झिकेर लग्दैमा जग्गाधनीको सहमती बिना कसरी नक्सा पास हुन्छ र निर्माण गर्न सकिन्छ ? यस किसिमको लाञ्छना तथा आरोपले पाठक वर्गलाई भ्रमित पार्ने र कम्पनीको साख गिराउने उद्देश्य स्पष्ट हुन आउँछ।

यी त केही नमूना मात्रै हुन्। पूरा पढ्नु भयो भने अझ रोचक धेरै भेटिन्छ। समाचारमा स्रोतहरु हावी छन्, कम्पनीले फ्याक्टको चुनौति दिएको छ। तेरो समाचारको फ्याक्टै गलत छ भनेर कम्पनीले चुनौति दिँदा मिडियाले खण्डन विज्ञापन मात्र छापेर बस्ने कि चुनौति स्वीकार गरेर आफ्नो समाचार यस कारण सही छ भनेर पाठकलाई आफ्नो विश्वसनीयता देखाउने? यो प्रश्नको जवाफ खोज्नुपर्ने भएको छ।

अझ रमाइलो सामाजिक सञ्जालमा भयो।

हाल अन्नपूर्णसित आवद्ध रहेका पत्रकार विजयकुमारले ट्विट गरे-

यसको क्रुद्ध प्रतिक्रिया जनाए कान्तिपुरसित आवद्ध तथा यो विषयमा बाइलाइन छापिरहेका पत्रकार कृष्ण ज्ञवालीले

विजयकुमार प्रति प्रहार गर्नेहरु सामाजिक सञ्जालमा निकै देखिए

पत्रकारहरुले सामाजिक सञ्जालमा लेखेका कुरालाई जञ्जालमा नल्याउँ। तर तारागाउँ रिजेन्सीले तथ्यगत रुपमा समाचारमा जुन जुन कुरा गलत छ भनेर औँल्याएको छ, ती तथ्यहरु गल्ती हो भने गल्ती भएको भनी स्वीकार्ने नभए तिमीहरु आफै गलत छौ, हामी यसकारण सही छौँ भनेर मिडियाले कम्पनीको चुनौतिलाई उल्टो चुनौति दिने हो कि हैन? चुप बस्यो भने पाठकले के बुझ्ने?

सत्य त मान्छे र वातावरण र परिवेश पिच्छे फरक होला। तर फ्याक्ट अर्थात् तथ्य त सही हुनुपर्‍यो नि। कि कसो?

सम्बन्धित लिङ्क
मलाई थाहा छ, धेरैलाई यो जुम गरी गरी पढ्नु पर्ने ससाना अक्षरको डकुमेन्ट पढ्न रुचि हुने छैन। तर पनि कसैलाई चासो भए कान्तिपुरमा छापिएको विज्ञापनका लिङ्कहरु
विज्ञापन पेज नम्बर ५
विज्ञापन पेज नम्बर ११
विज्ञापन पेज नम्बर १२

जाँदाजाँदै एउटा अर्को फ्याक्ट पनि,

यो सब हुँदा पनि आखिरमा जनतालाई नै घाटा भएको छ। यति धेरै मिडियामा एक साथ दुई दुई पेज विज्ञापन छाप्नु पर्दा अनुमानित ५०/६० लाख जति खर्च भयो होला। त्यो रकम कम्पनीकै नाफाबाट खर्च हुने हो। कम्पनी भनेको सरकारको स्वामित्वमा पनि भएको हो, सर्वसाधारण सेयरधनीको पनि स्वामित्वमा भएको हो। सरकार र सर्वसाधारण सेयरधनीले पाउने लाभांश यही विज्ञापन छाप्ने खर्चका कारण कटौति हुने भो। हैन त?

7 comments to हैट यो के देख्नुपर्‍यो : कान्तिपुरको समाचारको तथ्यगत चुनौति विज्ञापनमा छापियो तर छाप्‍ने मिडिया मौन

  • हायात होटल घोटालामा एक वर्षदेखि निरन्तर समाचार प्रकाशित गरेको नेपालखबर अनलाइनले हो। यसअघि अन्नपूर्ण पोष्टले केही समय प्राथमिकताका साथ समाचार प्रकाशित गरेर बीचैमा रोकेको थियो। नागरिक दैनिकमा एक दिन समाचार छापियो। त्यसपछि त्यहाँ पनि रोकियो। यो बीचमा नयाँ पत्रिकाले हायात होटल र त्यसका सञ्चालक सराफलाइ सफल व्यक्ति र सफल भेन्चरको कथा बनाएर प्रकाशित गर्यो। अनलाइनखबरले कहिले कहीँ यो विषय छोए पनि पछि डिल मिलेर होला केही लेखेनँ। नेपालमा भ्रष्ट समाज निर्माण गर्न मिडियाकाे भूमिका कुन हदसम्म छ भन्ने विषय यो प्रकरणले पुष्टि गरिदिएको छ। कान्तिपुरले अब यो प्रकरणका फर्मल बाहेक खोजी सामग्री प्रकाशित गरेन भने निश्चय नै तपाइँको शंका पुष्टि हुनेछ। नारायण वाग्ले, कैलाश सिराेहिया अर्बमा बिक्छन् ( ४० अर्बभन्दा बढीको घोटाला नै हो) कि अथवा सुशासनको पक्षमा उभिन्छन् त्यो भविष्यले देखाउनेछ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • SUN

    पैसा भएसी सबको मुख बन्ध|

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Abhi

    बिकुपा नै गलत होलान रे तर उनको कमेन्ट मा कथित पत्रकार को त त र म म को जवाफ घिन लाग्दो देखियो | व्यक्तिले पेशा इतर प्रयोग गरेको भाषा ले उसको पेशा प्रति को इमान्दारिता मा पनि शंका गर्ने ठाउँ खडा गरिदिन सक्छ | सत्य लाइ मै ठुलो, मै जान्ने, मै सत्य भन्दै कुर्लेर र अरुलाई तुच्छा गाली गरेर प्रमाणित गर्नु पर्दैन |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Madhab Basnet

    हायात होटलबारे पुस ८ गते नेपाल साप्ताहिकमा पहिलो विस्तृत स्टोरी लेखेको थिए । त्यसैको निरन्तरतामा @krishnaktmले अरु स्टोरी खोज्नु भयो, चैत ४ गते थप प्रमाण पस्केको थिए ।पैसा तिरेर विज्ञापन के छापे ? तर, प्रमाण लिएर रिर्पोटरका सामु उभिन चुनौती, चुनौती दिन्छु ।http://nepal.ekantipur.com/news/2019-03-18/20190318201259.html

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Rashmi Pokharel

    तारागाउले आजसम्म (साधारण सेयर जारि भएको मिती देखी) एक रुपैयाँ पनि डिभिडेन्ट दिएको थाहा छैन। नाफा घट्नेभो भन्ने चिन्ता किन र ?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • […] रिजेन्सीका विज्ञापन छापिएको थियो। (हेर्नुस् पुरानो ब्लग यहाँ क्लिक गरी) आफ्नो समाचारलाई नै खण्डन गर्ने गरी […]

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)