यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रामपुरमा हिजो प्राध्यापकलाई कालोमोसो र जुत्ताको मालाले सम्झाएको त्यो घटना


बिहीबार सोसल मिडियामा एउटा फोटो निकै भाइरल भयो। रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकायका एक प्राध्यापकलाई विद्यार्थीले ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा हचुवाको भरमा पढाएर सिद्दाएको आरोप लगाउँदै कालो मोसो दले र जुत्ताको माला लगाइदिए। यो घटनाले पुरानो कुरा सम्झाइदिएको भन्दै राम लोहनीले राखेको फेसबुक स्टायटस-

झन्डै पन्ध्र वर्षअघिको कुरा। भाषाविज्ञान विभागमा पढाउन थालेको दुई तीन वर्ष भएको थियो। अङ्ग्रेजी शिक्षा विभागमा भाषाविज्ञानका आधुनिक सिद्धान्तहरू पढाउने शिक्षकको अभाव भएको थियो। नोम चोम्स्की र उनका सिद्धान्तहरू पाठ्यक्रममा राखिएका रहेछन्। त्यो पढाउने शिक्षकको आवश्यकता थियो। हामीकहाँ त्यो सिद्धान्तमा विद्यावारिधी गरेको योगन्द्र यादव मात्र हुनुहुन्थ्यो। अङ्ग्रेजी शिक्षा विभागको जिम्मेवारी सम्हालेका डा. गोविन्दराज भट्टराईले उहाँलाई अनुरोध गरिरहनु भएको थियो। मौका पर्दा मैले पनि उहाँलाई आफूलाई मौका दिन अनुरोध गरेको थिएँ। तर उहाँले पत्याउनुभएन। उहाँले भन्नुभयो – “भाइ, कस्ता कस्ता त ढले क्लास रूमभित्रै। भर्खर करिअर बनाउन लाग्‍नुभएको भाइले कक्षा सम्हाल्न सक्नुभएन भने नराम्रो प्रभाव पर्छ।” उहाँको कुरा अनुपयुक्त पनि थिएन। नपत्याउनुलाई अस्वाभाविक मान्नु पनि मिलेन।

तर त्यही समयमा डा. यादव अमेरिका जानुभयो दुई महिनाको एउटा कार्यक्रममा। उहाँ फर्केर आउँदा पढाउने समय रहने थिएन। अनि एकदिन डा. भट्टराईले भन्नुभयो – “भाइ, आँट्ने हो त?” म तयार थिएँ। अनि एकदिन उहाँले परिचय गराइदिनुभयो कक्षाकोठामा। कक्षाकोठा ठूलो थियो, विद्यार्थीहरू नियमित रूपमै डेढ दुई सय रहन्थे। अन्तिम बेन्चसम्म बोली नसुन सक्ने अवस्थामा माइकको व्यवस्था गर्ने आश्वासन डा. भट्टराईले दिनुभयो। त्यो कक्षा लिनु पूर्व डा. भट्टराईलाई मैले एउटा शर्त राखेको थिएँ — केन्द्रीय विभागमा पढाइसकेपछि प्रश्नपत्र आफूले बनाउन पाउनु पर्ने वा पढाएका मध्येबाट प्रश्न सोधिनु पर्ने। उहाँले यो वर्ष चाहिँ प्रश्नपत्रहरू तयार भैसकेको, अर्को वर्षबाट मेरो कुरा स्वीकार्ने वचन दिनुभयो।

पहिलो वर्ष पढाइ भयो। प्रतिक्रिया राम्रै भयो। विद्यार्थीहरूको चाप उत्पातै थियो। महेन्द्ररत्‍न क्याम्पसबाट पनि केही विद्यार्थी “ग्रामर” पढ्न भनेर आउने गर्थे (यो पेपर “ग्रामर” को रूपमा परिचित थियो।) बेन्चमा नपुगेर विद्यार्थीहरू झ्याल झ्यालमा पनि बस्थे। त्यो मेरो लागि सन्तोषको कुरा थियो। डा. भट्टराई पनि प्रफुल्ल हुनुहुन्थ्यो। शैक्षिक वर्षको आधा समय गुज्रिसकेको थियो। त्यसैले म तीन घन्टा, चार घन्टा झन्डै नियमित पढाउँथे। त्यो सम्झेर अहिले पनि हाँसो पनि उठ्छ। र त्यो वर्षको पढाइ सकियो। परीक्षामा पुरानै ढर्रामा प्रश्न सोधियो। चोम्स्कीका कुराहरू खासै सोधिएन, जबकि पाठ्यभारमा राम्रै अंश ती सिद्धान्तका कुरा थिए। प्रति पिरियड स्‍नातकोत्तरको लागि पचहत्तर रुपैयाको प्रचलन थियो। डा. भट्टराईले एक सयका दरले पारिश्रमिक उपलब्ध गराउनुभयो। समग्रमा त्यो वर्ष मेरो लागि सफलताको वर्ष थियो। चोम्स्की “पढाउन सक्ने” भित्र परेको थिएँ म।

अर्को वर्ष स्वाभाविक रूपमा मेरो कक्षाहरू बेलैमा सुरु भए। म स्थापित भैसकेको थिएँ। त्यो वर्ष शर्तबमोजिम प्रश्न मैले बनाउनु पर्ने थियो। डा. भट्टराईको अनुरोध बमोजिम मैले तीन प्रति प्रश्न तयार पारेँ। त्यो पत्रमा भाषाविज्ञानका सिद्धान्तबाहेक व्याकरणका अभ्यासहरू भएको चालिस प्रतिशत अंश थियो। सिङ्गै प्रश्न मैले तयार पारेँ। त्यो प्रश्न एक प्रकारले बहुतै सन्तुलित थियो भन्ने मलाई लाग्छ। कुनै पाठ नछुटेको र कुनै नदोहोरिएको, राम्रो मिहिनेतको परिणाम थियो त्यो। डा. भट्टराई मैले प्रश्न निर्माण गरेको कुरालाई गोप्य राख्‍न चाहनुहुन्थ्यो विभागका वरिष्ठहरूबाट। त्यसैले उहाँले मलाई प्रश्न लिएर आफ्नै निवासमा बोलाउनुभयो। उहाँ त्यो बेला कलङ्कीको भित्र एउटा घरमा बस्‍नुहुन्थ्यो। उहाँले तीन प्रति होइन, दुई प्रति प्रश्न लिनुभयो र त्यो प्रश्न परीक्षा नियन्त्रण कार्यालयमा कसैको (शायद आफ्नै) नाममा दर्ता गराउने विचारले मलाई आफ्नै खल्तीबाट दुई प्रश्नपत्रको पाँच सय दिएर बिदा गर्नुभयो। मलाई त्यो कुरा मन परेको थिएन। तर मेरो सोच अनुसार काम भएको र उहाँका केही बाध्यता होलान् भनेर म मौन रहेँ। रमाइलो के भने फर्किँदा त्यो पाँच सयको नोट बसमा कतै खसेछ!

त्यो वर्ष प्रश्न मेरैआयो। त्यसले सारा विभाग र विद्यार्थीहरू माझ हाहाकार पैदा गर्‍यो। विद्यार्थीहरूलाई पुरानै ढर्राबाट प्रश्न सोधिने बताइएको रहेछ। मैले कक्षामा नयाँ ढङ्गबाट र सन्तुलित प्रश्न आउन, कुनै पनि अंश छनौट गरेर पढ्न नमिल्ने गरी प्रश्न सोधिने बताएको थिएँ। मेरो कुरा पत्याइएन। पत्याउने कुरा पनि भएन। नियमित मिहिनेत गर्ने विद्यार्थीहरूले राम्रै गरे। तर धेरै त्यो प्रश्न पत्रको शिकार भए। त्यो सुनेर मलाई दु:ख पनि लाग्यो। परिणामस्वरूप अर्को वर्ष मलाई कक्षा दिइएन। त्यो अध्याय त्यहीँ समाप्त‍ भयो। मलाई पनि “चोम्स्की पढाउन सक्ने” ट्याग लागिसकेको थियो। म त्यतिमै सन्तुष्ट थिएँ।

ती दुई वर्षमा विद्यार्थीहरू मसँग सन्तुष्ट थिए भन्ने मेरो धारणा छ। उनीहरू विभागमा केही वरिष्ठ प्राध्यापकहरूको मिचाहा प्रवृत्तिको मसँग गुनासो पनि गर्थे। उनीहरूले पढाएका कुराहरू नबुझेको र कक्षामा सोध्‍न निरुत्साहन गर्ने प्रवृत्तिको विरोध गर्थे। तर मसँग मात्र। म उनीहरूलाई खुलेर आफ्नो कुरा राख्‍न प्रोत्साहन गर्थेँ। तर त्यो आँट कसैमा थिएन। त्यसमा मैले दु:ख व्यक्त गर्नुबाहेक केही गर्न सक्दैन थिएँ। अर्को वर्ष पढाउन नपरेपछि शिक्षा विभागसँग मेरो खासै सम्पर्क पनि भएन। उत्तरपुस्तिका परीक्षण गर्न मलाई आएन। कसले गर्‍यो, मलाई चासोको कुरा पनि भएन। र एक दिन नतिजा प्रकाशित भयो। त्यो दिन म काठमाडौँमा थिइनँ। परीक्षाको नतिजामा धेरै विद्यार्थीहरू त्यो पेपरमा फेल भएको भन्ने सुनेँ मैले। पास हुनेमध्ये पनि धेरैको चालिस मात्र अङ्क आयो रे! राम्रो अङ्क ल्याउने “केही” मात्र भए भन्ने पनि सुनेँ। सुनेर मलाई दु:ख लाग्यो, तर मैले गर्न सक्ने केही थिएन।

नतिजा प्रकाशन भएको दिन विद्यार्थीहरूले जुलुस गरेछन्। त्यही दिन हो, अङ्ग्रेजी शिक्षा विभागमा आगो लगाइएको। कुर्सीहरू बाहिर ल्याएर जलाइएछ। विद्यार्थीहरू जुलुस लिएर मेरो विभाग (भाषाविज्ञान केन्द्रीय विभाग) मा पनि आएछन्। त्यो दिन म थिइनँ। पछि एक मित्रले बताएअनुसार विद्यार्थीहरू मसँग पनि आगो भएका थिए। मलाई फेला पारेका भए दुर्व्यवहार हुन सक्थ्यो भन्ने मित्रले सुनाए। दुर्व्यवहार भनेको कालो मोसो नै थियो। विद्यार्थीहरूलाई प्रष्ट थियो कि त्यो प्रश्नपत्र मैले नै बनाएको हो। किनभने उनीहरूको सोचाइअनुसार त्यसखालको प्रश्न “अरूले बनाउनै सक्दैनथियो”! र, उनीहरूलाई मैले नै फेल पारेको उनीहरूको निष्कर्ष हुनु अस्वाभाविक पनि थिएन। तर उत्तर पुस्तिका मैले जाँचेको थिइनँ। मैले जाँचेको भए पनि सबैलाई पास गराउन सक्ने क्षमता मसँग थिएन। कतिपयको गुनासो चाहिँ “बरु फेल गराइदिएको भए हुन्थ्यो, चालिस मात्र किन दिएको” भन्ने थियो।

दश पन्ध्रदिनपछि म पुग्दा सबै कुरा साम्य भैसकेको थियो। केही विद्यार्थीहरूले मसँग गुनासो पनि गरे “जिन्दगीमा पहिलो पटक फेल भइयो” भनेर। डा. भट्टराई पनि मसँग सन्तुष्ट नहुनुभएको खबर पाएँ मैले। मेरा विभागकै कर्मचारीहरूसँग मैले विद्यार्थीहरूलाई उक्साएर आगो लगाउन लगाएँ भनेर गुनासो गर्नुभयो रे! धन्न म त्यो समय नेपालमै थिइनँ। नत्र कारवाहीमै पो पर्थेँ कि? त्यो दिन म भेटिएको भए चाहिँ कालो मोसोको सौभाग्य मलाई त्यही दिन प्राप्त हुने रहेछ भनेर पछि डर पनि लाग्यो। अहिले सम्झिँदा चाहिँ अलि अलि रोमाञ्चक अनुभूति हुन्छ। अग्‍नीकाण्डका सहभागीहरूको बारेमा त म जान्दिनँ। तर त्यो ब्याचका कतिपय विद्यार्थीहरूसँग अहिले पनि राम्रै सम्बन्ध छ। कतिपयलाई चिन्दिनँ पनि। तर उहाँहरूले चिन्नुहुन्छ। कम्तीमा मसँग रिसाएको, असुन्तुष्ट भएको कोही पनि भेटिएका छैनन्।

2 comments to रामपुरमा हिजो प्राध्यापकलाई कालोमोसो र जुत्ताको मालाले सम्झाएको त्यो घटना

  • जनक

    शैक्षिक क्षेत्रमा म कालो मोसोको पक्षमा छैन|
    तर पाइरेसी गरेको प्रमाणित भैसक्दा पनि राजनैतिक सोर्स फोर्सले पदमै अढिरहने अनैतिक भीसी र त्यस्ता प्रोफेसरहरु जसले प्रश्नपत्रहरु लिक गर्छन, उत्तर पुस्तिका सच्याउन दिन्छन, आफन्त र सोर्सवालाहरु अनि श्रोतको लागि, त्यस्तालाई काला मोसो दले हुन्छ|
    राम लोहनी सरले दुईचार साविकका प्राध्यापकहरु छाडेर आफु मात्र चोम्स्की बारे पढाउने क्षमता राख्ने आत्मा रति पोखेको देखियो| मपाई भन्न अलिकति भएपनि लाज मान्नापरने| करहीले अरु कालो देख्ने कस्तो प्रबित्ति हो?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • minenapl

    मलाई यो समाचारले निकै दुखि गरायो, हो येदि ३० दिनमा सकाउनुपर्ने कोर्ष ४ दिनमा सकाएको शिक्षाकलाई कारबाई हुनु नै पर्छ तर कारबाईगर्ने विद्यार्थीहरूले होइन सम्बन्धित निकाएले हो | येसो हेर्दा सही लाग्दा तर हाम्रो जब सम्म येस्तै चलन रहन्छ देश बन्ना निकै garo हुन्छ.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)