यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

बर्ड फ्लु लागेर युवकको मृत्युपछि मच्चिएको ‘कुखुरे आतंक’, हल्लाको पछि नलागौँ- कुरा बुझौँ

कार्टुन साभारः Flu Wiki

कार्टुन साभारः Flu Wiki

नेपालमा पनि बर्ड फ्लु लागेर एक २१ वर्षीय युवकको मृत्यु भएको सरकारले पुष्टि गरेपछि अहिले कुखुरे आतंक मच्चिएको छ। नेपालमा पहिलो पटक बर्ड फ्लु लागेर मान्छे मरेको पुष्टि भएपछि मानिसहरुमा कतै यो रोग आफूलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको हुनसक्छ। फेरि गएको चैत महिनामा मात्रै काठमाडौँको तारकेश्वर र टोखामा बर्ड फ्लु संक्रमण भेटिएको समाचार आएको थियो। मान्छे नै मरेको पुष्टि भएपछि यस्तो चिन्ता लाग्नु अस्वाभाविक पनि होइन। मर्नेको नाम सार्वजनिक नगरिए पनि अनेकन हल्ला गरिए। हल्लाहरुको पछि लाग्नु अगाडि बर्ड फ्लुको बारेमा जानकार रहेर ढुक्क हुनु राम्रो हुन्छ। त्यसैले सन् २०१३ मा प्रकाशित यो जानकारीमूलक ब्लग पुनः प्रकाशित गरिएको छ। यसलाई पशु चिकित्सकसमेत रहेका र त्यतिबेला Texas University मा अध्ययन गरिरहेका सुरेन्द्र कार्कीले लेखेका हुन्।

आखिर के हो त बर्ड फ्लु?

मुख्यगरी चराचुरुन्गीहरुमा देखिने रुघाखोकी जस्तै यौटा रोग हो। यो रोग इन्फ्लुएन्जा जातिको भाइरसको कारण लाग्दछ। यो रोग कम संक्रामक र उच्च संक्रामक गरी दुई प्रकारको हुन्छ। प्राय: हामीले सुन्ने र चर्चा गर्ने बर्ड फ्लु उच्च संक्रामक खालको हो ।

पन्छीमा मुख्य लक्षणहरू के देखिन्छन ?

– एकैपटक ठुलो संख्यामा पन्छीहरू मर्ने
– टाउको सुन्निने, सीऊर र लोती सुन्निने र निलो कालो (cyanotic) हुने

तर रानीखेत जस्ता रोगमा समेत यस्तै लक्षण देखिने हुदा बर्ड फ्लु यकिन भने प्रयोगशालामा मात्रै गरिन्छ ।

अझ थाहा पाउनुपर्ने कुरा के छ भने धेरैजसो अवस्थामा हाँसहरुमा भित्र रोग लागेको छ भने पनि लक्षण देखाउँदैन र स्वस्थ नै देखिन्छ । तर दिसामा भाइरस फालिरहन्छ । जसले गर्दा यदि कुखुरा त्यो दिसाको सम्पर्कमा आयो भने कुखुरालाई सर्छ र लक्षण देखिन्छ।

मानिसमा यो रोग कसरी सर्छ ?

मानिसमा मुख्यगरी यो रोग संक्रमित जीउदॊ पन्छी, सुलीसँगको लसपसबाट सर्छ। मासु खाएर यो रोग सर्ने सम्भावना अत्यन्तै कम हुन्छ। खासमा यो रोग मान्छेमा सजिलै सर्दैन।

त्यसो हो भने किन डराउने त ?

अहिले सम्म संसारभरी प्रमाणित रूपमा यो रोगको कारण जम्मा ४०७ जनाको मात्रै मृत्यु भएको छ । यति थोरै मानिस मरेको रोगले यति धेरै प्राथमिकता किन पायो होला भन्ने लाग्न सक्छ । यो रोगको महत्पूर्ण पक्ष भनेको रोग लागेको मध्ये उच्च मृत्युदर (करिब ६० प्रतिशत) हो। अनि अर्को कुरा मानिसमा लाग्ने रुघाखोकीको भाइरस र पन्छीको रुघाखोकीको भाइरस मिसिएर नया भाइरस बन्छ सक्छ र यस्तो भाइरस मानिस बाट मानिस सर्ने खालको बन्यो भने महामारीको रुप लिएर लाखौ मानिस मर्न सक्छ भन्ने बैज्ञानिकहरुको अनुमानको कारण बर्ड फ्लु यति चर्चित भएको हो । अझ बंगुरको रुघाखोकीको भाइरस समेत मिसियो भने त खतरनाक नया भाइरस बन्ने सम्भावना लाई नकार्न सकिँदैन। यदि साच्चिकै त्यो स्थिति आयो भने नियन्त्रण गर्न निकै गारो हुने हुदा पन्छी कै लेभलमा रोग नियन्त्रण गर्नुपर्छ भन्ने बिश्वब्यापी मान्यता छ । त्यही कारणले रोग देखिएको क्षेत्रमा पन्छी स्वस्थ नै छ भने पनि मार्ने गरिएको हो।

सबैभन्दा जोखिममा को हुन्छ त ?

 कुखुरा खोरमा काम गर्ने किसान र श्रमिक
 जिउदो पन्छी बजार (live bird market) मा पन्छी बेच्ने ब्यबसायीहरु
 कुखुराको काटमार र बिक्रिवितरणमा संलग्न मानिसहरु
 र अन्त्यमा सर्वसाधारण उपभोक्ताहरु (एकदमै न्यून सम्भावना)

[अपडेट : नेपालमा माथिका मध्ये कुन क्षेत्रको मान्छेलाई बर्ड फ्लु लागेर मृत्यु भएको हो भनेर खुलाइएको छैन।]

यसबाट बच्न के गर्ने ?

 नगरी नहुने मानिसले बाहेक अन्य मानिसले पन्छीहरु नचलाउने
 बच्चाहरुलाई जिउदो पन्छीहरुसँग खेल्न नदिने
 किसानहरुले पन्छीको खोरभित्र काम गरेर आएपछि व्यक्तिगत सरसफाईमा ध्यान दिने जस्तै साबुन पानी, खरानी पानीले हात खुट्टा धुने
 पन्छीको खोरभित्र नसुत्ने र खोरभित्र काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 जिउदो पन्छी बेचबिखन गर्दा र मासु काट्ने मानिसले काम गर्दा सफा मास्क, पन्जाको प्रयोग गर्ने
 कुखुरा काटे पछि उत्पन्न हुने भुत्लाहरुको ब्यबस्थापन राम्रोसंग गर्ने जस्तै जलाउने, खाडलमा गाड्ने
 मरेका कुखुराहरु जथाभावी नफाल्ने
 हांस, कुखुरा र बंगुर एकै ठाउमा नपाल्ने र सकभर सम्पर्क हुन नदिने
 उपभोक्ताले बिस्वाशिलो र सफा मासु पसलबाट मात्र मासु किन्ने
 उपभोक्ताले जिउदो कुखुराहरु घरमा लगेर काट्ने बानी हटाउने
 धेरै संख्यामा पन्छीहरु मरेको देखेमा वा थाहा पाएमा तुरुन्तै नजिकको भेटनरीमा खबर गर्दिने

सरकारले चाहिँ के गर्ने ?

सरकारको दुई वटा दायित्व छ। एक जनस्वास्थ्यको सुरक्षा गर्ने र अर्को पंक्षी व्यवसायलाई बचाउने। पहिलो नम्बरमा पक्कै पनि जनस्वास्थ्यको सुरक्षा हुनुपर्दछ।

अहिले तत्काल के गर्ने ?

 ब्यबसायिक फर्महरूले जैविक सुरक्षाको स्तर बढाउने
 बिगतको अनुभव हेर्ने हो भने काठमाडौँका ठुला कोल्ड स्टोरेजहरुले यस्तो बेलामा अत्यन्तै सस्तो मुल्यमा साना किसानहरुबाट कुखुरा उठाई पछि अवस्था अलिक सामान्य भएपछि महंगोमा बिक्रि गर्छन् । मासु निरीक्षकको व्यवस्था नभएको हाम्रो देशमा यसो गर्दा रोग लागेका कुखुरा समेत त्यसमा नपर्ला भन्न सकिन्न । त्यसतर्फ पनि चनाखो रहनु पर्छ सरकार र त्यहाबाट पनि नमुनाहरु लगेर जाच्नुपर्छ ।
 जनचेतनाको लागि सुचनाहरु प्रसारण गर्ने । यसो गर्दा अनावस्यक त्रास उत्पन्न नहुने किसिमले सूचनाहरु बनाउनुपर्छ ।
 सरकारले चालेका नियन्त्रणका कदमहरुबारे जनतालाई सहि सूचनाहरु दिई आस्वस्त तुल्याउने।

दीर्घकालीन रूपमा के गर्ने ?

 ब्यबसायिक पन्छी पालनमा बिमाको व्यवस्था तत्काल गर्ने र कार्यन्वयन समेत गराउने
 रोग नियन्त्रणमा लिने क्रममा मारिने पन्छीको क्षतिपुर्ती बजार मूल्य वरिपरि दिने जसले गर्दा किसानहरुलाई रोगको छिटो सूचना दिन प्रोत्साहन हुन्छ ( साना र ग्रामीण पन्छीमा यस्तो गर्ने, ठुला फर्ममा चाही बिमाले बेहोर्ने)
 घना बस्ति वरिपरि ब्यबसायिक पन्छी फर्म खोल्न नदिने
 सहर भित्र जताजतै जिउदो कुखुरा काट्ने अहिलेको परिपाटीमा सुधार गर्न जरुरी छ । निश्चित क्षेत्रमा मात्रै पन्छी मार्ने र तयारी कुखुरा मात्रै सफा तरिकाले चिसोमा राखेर बेच्ने व्यवस्था मिलाउनु पर्छ । यसो गर्दा साना butcher हरुको रोजीरोटीमा असर पर्नसक्छ । त्यसलाई सम्बोधन कसरि गर्ने भनेर योजना बनाउने ।
 भेटनरीको सरकारी संरचनालाई अझ बलियो पार्ने र फिल्ड स्तरमा विस्तार गर्ने
 पन्छी फर्महरुमा पालना गर्नुपर्ने जैविक सुरक्षा सम्बंदी नीति बनाउने र कार्यन्वयन गराउने
 बर्ड फ्लु खोप (Vaccine) सम्बन्धी नीतिको लागि technical level मा व्यापक छलफल गर्ने । अहिलेसम्म केही देशले विभिन्न थरिका खोपको प्रयोग गरेका छन् तर कुनै कुनै देशमा त खोपकै कारण झन् धेरै रोग फैलिएको उदाहरण पनि छन् । नेपाल जस्तो technical capability मा अत्यन्तै कम्जोर मुलुकमा खोप घातक पनि साबित हुन सक्छ । तेही भएर निकै विचार पुर्‍याउनु पर्छ।

1 comment to बर्ड फ्लु लागेर युवकको मृत्युपछि मच्चिएको ‘कुखुरे आतंक’, हल्लाको पछि नलागौँ- कुरा बुझौँ

  • Shankar

    रोग को के चिन्ता नेपालीलाई ?
    पहिला देखि खसी , हास , कुखुरा मोर्न लाग्यो भने ल काटेर खाइ हाल्न पर्छ , मोरं लाग्यो भन्ने चलन छ | कति ले मरेको सिनो , र मारेर गाडिसकेको सिनो समेत खाएको देखिन्छ | १-२ बर्स अगि बर्ड फ्लु को महामारी मा एउटा साथि ले यहि हो हामि गरिब ले कुखुरा खाने बेला , सस्तो यहि बेला छ भनेर झन् दिन दिने कुखुरा खायो |

    लेखक ले सहि औल्याउनु भएको छ , पहिला कन्फर्म हुनुपर्यो |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)