यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

मिटुलाई मात दिने गरी कुन्ता शर्माले आमाको मुख हेर्ने दिन देखाइदिएको बाउको मुख


पश्चिममा सुरु भएको मिटु मुभमेन्टले छिमेकी देश भारतमा समेत असर पारिसक्दा नेपालमा भने केही पनि भएन। फाट्टफुट्ट आएका आरोपहरुले केही पनि असर गरेन। लेक्चरर कृष्ण भट्टचनको बारेमा काठमान्डु पोस्टमा त्यत्रो खुलासा भयो। तर असर केही पनि भएन। रंगमञ्चमा हुने गरेका यौन दुर्व्यवहारका विषयमा कुरा उठ्नु एउटा नाटकको प्रचारका लागि गरेको आरोप लगाइयो। मिटुका कुरा फास्सफुस्स भइरहेका बेला शनिबार अन्नपूर्ण पोस्टमा छापिएको एउटा लेखको भने निकै चर्चा भइरहेको छ। आज आमाको मुख हेर्ने दिन, म भने बाबुको मुख देखाउन बाध्य भएँ भन्दै कुन्ता शर्माले लेखेको ‘मेरो छोराका बाबुहरू !’ शीर्षकको शक्तिशाली लेखले निकैको ध्यान तान्यो।

७२ वर्षकी कुन्ता शर्मा शिक्षण र लेखन पेशामा थिइन्। पुरुषद्वारा नारीहरूप्रति गरिएका थिचोमिचो माथि कविताका माध्यमबाट कडा व्यङ्ग्यप्रहार गर्नेका रुपमा उनको छवि बनेको छ।

अन्नपूर्णमा प्रकाशित त्यो लेखमा अहिले सम्बन्ध विच्छेद भइसकेका पति मञ्जुल उर्फ मेघराज शर्मा नेपालले गरेको दुर्व्यवहारको विवरण छ।

मञ्जुल नेपाली साहित्यकार तथा गायक। राल्फा आन्दोलन पनि उनको परिचय हो। राल्फामा रामेश, रायन र मञ्जुल थिए। नेपाली साहित्यको कविता तथा निबन्ध विधामा उनको योगदान छ।

मञ्जुल र कुन्ताको प्रेम विवाह भएको थियो। कुन्ताले त्यसलाई मञ्जुलको एकतर्फी प्रेमको रुपमा व्याख्या गर्छिन्।

लेखमा एक पटक मदन भण्डारी छोडपत्र दिए भयो त भनेर आफूलाई सम्झाउन आएको प्रसंग उनले लेखेकी छिन्।

‘छोडपत्र दिए पनि भइगयो त।’

‘मैले उसलाई छोडपत्र किन दिनुपर्ने ?’ मैले रिसाउँदै प्रश्न गरेँ, ‘मेरो के गल्ती छ ? उसले चाहे बिहे गर्ने, चाहे छोडपत्र दिने त्यस्तो हुन सक्दैन।’

‘कान्छो छोरा मेरो होइन भन्ने उहाँको भनाइ छ।’

‘अनि कान्छो छोरा कसको त, बाउ देखाउनुपर्‍यो नि। ऊ त साँढे भएर घुमिरहेको छ। छोडपत्र बराबरै छ। अब किन उसलाई छोडपत्र चाहियो? मैले नमान्दा नमान्दै उसकै जबर्जस्तीले बिहे भएको हो। अब छोड्नु पनि उसकै जबर्जस्तीमा ? कुनै हालतमा छोडपत्र दिन्नँ। कि भने मेरो दोष प्रमाणित गर्नुपर्‍यो। छोराको बाबु पत्ता लगाउनुपर्‍यो।’

‘खोइ त्यो त भनेको छैन’, मदन शान्तिपूर्वक कुरा गरिरहेका थिए। तर मेरो शरीर त बलेजस्तो भएको थियो। उसकै बलजफ्तीले बिहे गर्नु, उसको एकतर्फी व्याकुलतामा बिहे गरियो। त्यसपछि पनि उसको ‘स्तर’ उकास्न सहयोग गर्नु, बालमन्दिरमा पढाइरहेको प्राथमिक शिक्षकलाई मावि शिक्षकसम्म उकास्नु, अनेकन दु :खकष्ट सहेर उसको व्यक्तित्वको विकास गर्नु अनि जब ऊ अलिकति आफ्नो खुट्टामा उभिन सक्ने हुन्छ, आफू त्योबाट बिनागल्ती प्रताडित हुनु।

मैले रूखो अनि खरो स्वरमा मदनसँग भनेकी थिएँ, ‘ठीक छ, मलाई कान्छा छोराको बाबुसँग पार्टीले जिम्मा लगाओस्। तपाईंहरू यत्रो शक्तिशाली पार्टी चलाउने मानिस, त्यति त गर्न सक्नुपर्‍यो। म मेरो हातले त्यो गुन्डालाई छोडपत्र त मरिगए पनि दिन्नँ। अनि पार्टीले मलाई यो विषयमा न्याय दिन नसके पनि अन्याय गर्न मिल्दैन। आइन्दा छोडपत्रको कुरा लिएर तपाईं मकहाँ नआउनुहोला। म त्यो ढोंगी बाहुनको मुखुन्डो उघारेर छाड्छु। त्यसको नियत छर्लंग पारेर छाड्छु।’

कान्छो छोरा आफ्नो हैन भन्ने मञ्जुलको दावी। त्यसो भए बाउ को हो देखाइदेऊ भन्ने कुन्ताको चुनौति।

लेखमा उनले आफ्नो मनस्थिति यसरी पोखेकी छिन्-

न मेरो कुनै पुरुषसँग मित्रता थियो, न घनिष्ठ सम्बन्ध। मेरो मनमा समेत पनि त्यस्ता नराम्रा विचार आएका थिएनन्। घरको कामसहित तीन तीनजना बच्चा सम्हालेर बस्ने चरम शारीरिक श्रममा रहने महिलाको मन कसरी बरालिन सक्छ र त्यसरी !

त्यति खेर महिला हुनुको चरम पीडा भोगिरहेकी थिएँ मैले। हुँदाहुँदा त्यो कृतघ्न बाहुनले मेरो मूल्य पनि तोकेछ, ऊ राजधानीमा भुक्दै हिँड्दो रहेछ, ‘दस रुपैयाँ पाई भने त्यो जोसँग पनि सुत्छे।’

यस्ता अभद्र आरोप सुन्दा रगत भलभल उम्लिएजस्तो हुन्थ्यो। ‘त्यसलाई छप्काउन पाए पनि हुन्थ्यो’ जस्तो लाग्थ्यो। तर मेरो स्वभाव र परिस्थिति यी सब काम गर्न सक्ने खालको थिएन। त्यसकारण पनि छोराहरू सम्हाल्दै, कार्यक्रमहरूमा भाग लिँदै धैर्य धारण गर्नुबाहेक केही उपाय थिएन।

त्यस बेला मेरो मनमा बारम्बार एउटै प्रश्न उब्जिरहन्थ्यो— मजस्तो पढेलखेको अनि महिला आन्दोलन मात्र नभएर वर्गीय मुक्ति आन्दोलनमा समेत संघर्षरत महिलाको त यो हालत हुन्छ भने गाउँघरमा रहेका, खटाइएको मानो खान बाध्य अशिक्षित महिलाहरूको के हालत होला ? उनीहरूको जीवन कति कष्टकर होला ?

उनको कान्छो छोराको बाउ भनेर मञ्जुलले एक पटक राजेश बान्तवाको नाम जोडेको लेखमा छ। ‘अब भने मलाई त्यो हावादारी मान्छेसँग उसले मर्छु भनेर धम्क्याएका भरमा बिहे गरेकामा एकदमै पश्चात्ताप लागिरहेको थियो’, त्यसपछि उनलाई लाग्छ।

हुँदाहुँदा पछि उनले आफ्नै दाजु प्रदीप नेपाललाई समेत छोराको बाबु हो भनेका रहेछन्। उनले लेखेकी छिन्-

पछि अन्तिम पटक उसले आफ्नै सहोदर भाइ एमाले नेता तथा लेखक प्रदीप नेपाललाई बाबु हो पनि भन्यो। सधैँ मञ्जुल र सुन्दरीको पक्ष लिने प्रदीप नेपाललाई यस्तो जघन्य अभियोग सुन्दा कस्तो लाग्यो होला, म भन्न सक्तिनँ। तर, मलाई भने के कुरामा खुसी लाग्यो भने प्रदीपले आफ्ना दाजुलाई राम्ररी चिन्नुभयो होला।

त्यो लेखमा नभए पनि नयाँपेजमा उनले अर्को कुरा खोलेकी थिइन्-

‘कतिसम्म भने उनैलाई लिएर एक पटक यातायात संस्थानको हाकिम भेट्न म गएँ। विज्ञापनको पैसा उठाउनु थियो। उनलाई तल्लो तलामा छोडेर लामो लाइन कुरेर ‘जिएम’ भेट्न गएँ। विज्ञापन ‘कन्भिन्स’ गर्न र लाइनमा बस्दा तीन घण्टा बितेको थियो। यी सबै काम सकेर घर फर्कँदा उनले शङ्का पोखे। यत्रो समयमा तिम्रो ‘जिएम’सँग यौन सम्पर्क त भएन?’

विधि विज्ञान प्रयोगशालामा डिएनए टेस्ट गरेपछि बल्ल यो विवादको टुङ्गो लागेको रहेछ। उनले लेखेकी छिन्-

२०३९ देखि २०६३ सम्म विधिविज्ञान प्रयोगशालामा भएको डीएनए टेस्टबाट आफ्नो छोराको बाबु आफैँ हो भन्ने प्रमाणित नहुन्जेलसम्म उसले अनेकनलाई बाबुको बात लगायो।

पढ्नुस् अन्नपूर्ण पोस्टमा छापिएको लेख।

दुईको भेट भने काठमाडौँमा भएको थियो। २०३० सालमा आँफै प्रकाशक र सम्पादक भएको ‘संकल्प’ साहित्यिक पत्रिका छपाउने चाँजोपाँजो मिलाउन उनी काठमाडौँ आएकी थिइन्। गोविन्द वियोगीको मातृभूमि प्रेसमा राल्फा आन्दोलनका अभियन्ता कवि मन्जुल भेट भएका थिए। नयाँपेजलाई उनले भने अनुसार मञ्जुलले डोरी बोकेर आएर कि मेरो प्रेम, कि तिम्रो घरमा झुण्डिएको मेरो लास स्वीकार भनेका थिए। मञ्जुलको पागलपनले गर्दा बाध्यतामा विवाह गरेको उनको दावी छ।

२०५६ सालमा धरानबाट एमालेको टिकटमा सांसद जितेकी थिइन् उनले। संसदमा उनले कविता पनि पढेकी थिइन्। उनको सर्वाधिक चर्चित कविता पोथी बास्नु हुँदैन यस्तो छ-

“पोथी बास्नु हुँदैन”

सधैं सधैं घरका धुरीहरूमा
आँगनहरूमा, बार्दलीहरूमा…
घाँटी तन्काउँदै, सिउर हल्लाउँदै
बस्ने काम भालेको हो
आवाज उकास्ने काम भालेको हो ।
पोथीले मात्र कुर्कुराउनु पर्छ
आक्रोसका घुड्काहरू चुपचाप निल्नु पर्छ
अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ
चल्ला काढ्नु अनि
तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।
तौलीतौली बोल्नु पर्छ
शब्दमा आदरभाव घोल्नु पर्छ
पाउमा निहुरिनु पर्छ
दासताको फूल सिउरिनु पर्छ
लक्ष्मण रेखा नाघ्नु हुँदैन
अधिकार माग्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

आँसु हतियार हो
मुस्कान हतियार हो
स्थिति अनुसार प्रयोग गर्नु पर्छ
परिस्थिति अनुसार उपयोग गर्नु पर्छ
साँचो कुरा बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

टेक गर्नु हुँदैन
थुनछेक गर्नु हुँदैन
मालिक मालिक रट्नु पर्छ
यन्त्र जस्तो भएर खट्नु पर्छ
नयाँ परिवेशमा टेक्नु हुँदैन
नयाँ विचार राख्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

बासेमा के हुन्छ ?
साह्रै अनिष्ट हुन्छ
नीति नियम रुष्ट हुन्छ
ठूलो अवरोध सहनु पर्छ
आँसुको नदीमा बग्नु पर्छ
सपना तुहिन सक्छ
जीवन चुँडिन सक्छ
ओथारोको अण्डा
त्यसै त्यसै कुहिन सक्छ
चल्लाको कलिलो जीवन
नफुल्दै झर्न सक्छ
प्रहार हुन सक्छ
संहार हुन सक्छ
त्यसैले चेतनाको डाक बोल्नु हुँदैन
अन्धकारको पर्दा खोल्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

अवरुद्घ चेतना
कहिलेकाँही प्रवाहित हुन खोज्दा
जडताको विरुद्घ
गतिशीलताको पाइला चाल्न खोज्दा
उज्यालोले कुत्कुत्याए पछि
आँटिला मुटुहरूले मुख खोल्दा
साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू
एकैपल्ट ब्यूँझिएर
जीवनको विरुद्घ
मृत्युघण्ट ठोक्न सक्छन्
एकोहोरो शंख फुक्न सक्छन्
त्यसैले ठूलो आँट नलिइ
दरिलो साथ नलिइ
काँडाघारीमा पस्नु हुँदैन
उन्मुक्त हाँसो हाँस्नु हुँदैन
पोथी बास्नु हुँदैन ।

2 comments to मिटुलाई मात दिने गरी कुन्ता शर्माले आमाको मुख हेर्ने दिन देखाइदिएको बाउको मुख

  • Singh

    पोथी बास्नु हुँदैन भन्ने नारा लाउने मान्छेले महिला लाइ यसरी नै दमन गर्छन र म ठुलो भए भन्ने सोच राख्छ जुन अहिलेको युगमा लागु हुँदैन । यस्ताे सोचकाे ब्यक्तिले महिलालाइ कहिले अादर गर्दैन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    प्राय कविहरु , कलाकार हरु , नेता हरु एक आपस मा झगडा गरे भने तगडा व्यंग गर्छन , लेख्छन | भट्टी मा झगडा पर्यो भने मात्र २-४ वोटा दात लाइ खल्तीमा राखेर घर जानुपर्ने हुन्छ |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)