यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

यात्रा अनुभव: इन्द्रको उद्यान

-राजु अधिकारी-

केही समय अगाडि निकै चर्चित र बिबादास्पद बनेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा ..’ को ‘स्वर्ग जस्तो देशमा यमराजको शासन’ भन्ने वाक्यांशबाट प्रेरित भएर यही ब्लगमा मैले ‘जब स्वर्गका राजा बने यमराज’ भन्ने कथा लेखेको थिएँ । स्वर्ग कसैले पनि देखेको छैन, हरेक मानिसको लागि स्वर्गको ‘चित्र’ सायद अलग अलग होला । तर बाल्यकाल देखि नै घर, स्कुल अनि समाजबाट प्राप्त गरेको ज्ञानको आधारमा मैले पनि आफ्नो मनको स्वर्गको चित्र बनाएको थिएँ अनि अलि ठुलो भए पछि मानिसहरूले भने सुनेको, टिभी, पत्रिकाहरूमा देखेको आधारमा मैले नेपालको भौगोलिक बनावटसँग मिल्ने गरी ‘स्वर्ग’ जस्तो एउटा चित्र कोरेँ अनि त्यही चित्रलाई शब्दजालहरुमा बेरेर त्यो कथा पाठकहरूलाई पस्केको थिएँ । तर मलाइ अलिकति शङ्का नै थियो- के नेपाल साँच्चै नै स्वर्ग जस्तै छ त ?

नेताहरूले र बुद्धिजीवी\हरूले ‘नेपाल स्वर्गको टुक्रा हो’ भनेको सुन्दा मलाइ बकवास जस्तो लाग्थ्यो । जनतालाई भ्रमित बनाउने ‘नारा’ जस्तो लाग्थ्यो । कहाँको स्वर्ग? कहाँको अस्तव्यस्त नेपाल ? भन्दैमा हुने हो र ? पञ्चायतको पालामा सुन्दर, शान्त, विशाल नेपाल भनेर घोकाएर न त नेपाल सुन्दर बन्यो न त शान्त अनि न त विशाल । यदि साच्चिकै स्वर्ग जस्तै राम्रो भए पनि नेपालको राजनीतिले यसलाई बिगारेर नर्क बनाइसकेका छन् भन्ने मलाइ लाग्थ्यो । तैपनि म पनि अरूहरूको ‘हो’ मा ‘हाँ’ मिलाएर स्वर्ग जस्तो मुलुकलाई नेताहरूले नर्क बनाए भनेर गालीमाथि गाली थप्थें ।

कामको सिलसिलामा यस पटक मलाइ पहिलो पटक भारत जाने मौका मिल्यो । भारतसँग सीमा जोडिएको तराइको जिल्लामा मै जन्मी हुर्केको भए पनि म आजसम्म भारत गएको थिएन । त्यसैले पहिलो पटक भारत जाँदा मलाइ निकै उत्सुकता थियो ।

यदि भारतीय नेताहरूको नेपाल प्रतिको हेपाहा प्रवृत्ति अनि नेपाली नेताहरूको भारत प्रतिको चाकडीलाई एकातिर पन्छ्याउने हो भने अधिकांश नेपालीहरू सायद भारत र भारतीय नागरिकहरू प्रति त्यति पूर्वाग्रही हुने छैनन् होला । मलाइ पनि भारतीय जनता प्रति कुनै पूर्वाग्रह छैन, वास्तवमा भन्नुपर्दा मलाइ भारतीय संकृति प्रति निकै रुचि पनि छ । त्यसैले पनि मलाइ भारतको यात्राले निकै रोमान्चित बनाएको थियो । म विशेष गरी त्यहाँको धर्म, संकृति अनि इतिहासबाट निकै प्रभावित छु । त्यसैले यस पटकको भेटमा कामको साथसाथै त्यहाँका सामान्य मानिसहरूको दैनिकीलाई निकै नजिकबाट नियालेर भारतको बारेमा अझ गहिरो रूपमा बुझ्ने मेरो उद्देश्य थियो ।

नजानेरै मैले जहाजको दाहिने तिरको झ्यालको सिट लिएको रहेछु । जहाजमा तिन चौथाइ जति यात्रुहरू हामीले भन्ने गरेका ‘खैरे’* हरू थिए । यति धेरै ‘खैरे’ हरू नेपालमा के हेर्न आउँदो हुन् भनेर मलाइ सोच्न बाध्य बनाएको थियो हाम्रो देशको परिस्थितिले । फोहर र अव्यवस्थित एक मात्र अन्तर्राष्टिय विमानस्थल, अभद्र कर्मचारीहरू, धुलो र हिलो अनि फोहरको डुङ्गुर हुँदा हुँदै पनि त्यति धेरै पर्यटकहरू नेपाल घुम्न आउनु आफैमा अचम्मको विषय थियो ।

जब जहाज काठमाडौँबाट दिल्ली तर्फ प्रस्थान गर्‍यो, मैले झ्यालबाट बाहिर हेरिरहेको थिएँ । एकैछिनको उडान पछि जहाजले काठमाडौँ छोड्यो अनि बिस्तारै उचाइ लिँदै बादलको माथि पुगेर सोझै पश्चिमतिर हानियो । बादलका धब्बाहरू यत्रतत्र देखिए पनि मौसम समग्रमा सफा थियो । काठमाडौँबाट अलिअलि देखिने उत्तरतिरका हिमालहरू हामी बादल माथि पुगेपछि हाम्रो स्वागतको लागि उभिएका जस्ता देखिन्थे । दक्षिण दिशा तर्फबाट ती हिमालका चुचुरामा ठोकिएका सूर्यका किरणहरूले सफेद ती टाकुराहरूलाई अझ चम्किलो र मनमोहक बनाएका थिए ।
त्यति सुन्दर दृश्य मैले सायद पहिले कहिले देखेको थिएन । मैले पहिले हिम पहाडहरू नदेखेको त होइन तर जब मैले अपेक्षा नै नगरेको त्यति सुन्दर दृश्यसँगै ती सुन्दर हिमालहरू हामीलाई हेर्दै मस्काए, म साँच्चै नै मोहित भए । मेरो मनको त्यो रोमान्चकता शब्दमा सायदै कुनै कविले पनि व्यक्त गर्न सक्ला ।

मैले आँखा झिमिक्क पनि नपारी त्यो मनोरम दृश्यलाई धेरै बेर नियालिरहेँ । जति हेरे पनि मेरो मन त्यो दृश्यले लोभिन छोडेन । मैले सोचेको थिएँ, केही क्षण मै त्यो दृश्य सकिने छ तर अहँ ती अटल हिमालहरूले हामीलाई स्वागत गर्न छोडेनन् । जहाज पश्चिम तिर हुइकिदै गयो, एक पछि अर्को गर्दै आएका ती मनोरम हिमचुलीहरूले मेरो मन तानिरहे । मैले केही तस्बिरहरू पनि खिचेँ तर जहाजको पखेटाले गर्दा ती तस्बिरहरू त्यहाँ देखिएको जस्ता सुन्दर थिएनन् । त्यो सुन्दरतालाई सायद जस्तो सुकै उच्च प्रविधिको क्यामेराले पनि कैद गर्न सक्थ्यो होला । त्यो त खालि मनले मात्र अनुभव गर्न सकिने अद्भुत सुन्दरता थियो अव्यक्त अनि अलिखित ।

धेरै बेर ती हिमाल का टाकुराहरूसँग रमाए पछि मैले अनि हिमालका फेदी तर्फ नजर लगाएँ ।

अग्ला अग्ला हिम चुचुरोका अगाडि होचा देखिने निला पहाडहरू अनि तिनका खोँचमा नागबेली पर्दै बगेका नदीहरू पनि कम सुन्दर थिएनन्। एउटा ठुलो फ्रेममा कुनै पारङ्गत कलाकारले निकै मेहनत गरेर बनाएको निकै मुल्यवान चित्र जस्तो लाग्थ्यो हिमाल अनि त्यसको मुनि नागबेली नदीहरूले बारेका ती निला पहाडहरू ।

लगभग १ घण्टाको त्यो हिमाल र पहाडको सुन्दरतामा डुबेर हाम्रो जहाज अलि अलि दक्षिण तर्फ लाग्दै गयो । पुरै नहराए पनि हिमाल र पहाडहरूको दृश्य बिस्तारै सूक्ष्म हुँदै गयो अनि त्यो दृश्य तराइका हरिया फाँटहरूले लियो । हिमाल र पहाडलाई छेड्दै द्रुतगतिमा तराइमा आएर केही सुस्ताएका विशाल नदीहरूले सिंचित गरेका ती उर्वर हरिया फाँटहरू मैले आफ्नो त्यो कथामा वर्णन गरेको भन्दा पनि सुन्दर थिए ।

उचाइबाट देखिने सेता हिमाल, निला पहाड, हरिया फाँटहरू, नागबेली परेका नदीहरू मात्र नभई हजारौँ तरिका वनस्पति र जीवजन्तुहरूको सहअस्तित्वको सुन्दर भूमि थियो त्यो. प्रकृतिले यति सुन्दरसँग सजाएको यो भूमिले ईश्वरीय वरदान पनि पाएको थियो- मन्दिरको राजधानी अनि संसारलाई शान्ति सन्देश दिने शान्तिदूतको पुण्य भूमि पनि यही अवस्थित थिए. यति सानो देशमा प्रकृति र अध्यात्मको यस्तो अनुपम मिलन अनि उत्कृष्ट सुन्दरता सायद धर्तीका अन्य कुनै देशमा होला । मलाइ अचानक याद आयो बच्चाको बेलामा हामीले कुनै प्रकृतिको चित्र कोर्दा पहिले सेता हिमाल बनाउथ्यौं अनि त्यसको तल केही पहाडहरू, तिनको माथि बादलका धब्बाहरू नै त्यहाँबाट कल कल गरेर बग्ने तल झरेका नदी नालाहरू अनि तिनै नदीहरूको किनारमा रमणीय हरिया फाँटहरू अनि नजिकै एउटा मन्दिर जस्तो देखिने सानो घर । जहाजको झ्यालबाट त्यो सुन्दरतालाई नियालिरहँदा त्यही चित्र मेरो अगाडि सजीव हुँदै आएर मसँग केही बोल्न खोजिरहेको जस्तो लाग्यो ।

मैले मेरो मानसपटलमा कोरिएको चित्रलाई आधार बनाएर लेखेको त्यो कथा भन्दा त मैले जहाजको झ्यालबाट चियाएको नेपाल कति हो कति गुणा सुन्दर पाएँ मैले । सधैँ झुटो बोलेर जनताको नजरमा गिरेका राजनीतिज्ञहरूले एउटा कुरा चाहिँ सत्य बोलेका रहेछन्- नेपाल साँच्चै स्वर्गको टुक्रा जस्तै रहेछ ।

मलाइ लाग्यो सायद देवराज इन्द्रले आफू धर्तीमा विचरण गर्न आउँदा आफूलाई मन बहलाउन स्वर्गको जस्तै उद्यान बनाउने विचार गरे होलान् अनि आफ्नै हातले एउटा सुन्दर उद्यान निर्माण गरेर गएका होलान् । मलाइ बल्ल थाहा भयो, किन त्यति धेरै पर्यटकहरू नेपाल घुम्न आउँदा रहेछन् भन्ने ।

शुक्लाफाँटा राष्ट्रिय निकुन्जको माथि माथि हुँदै चाँदनी र दोधाराको सिमानाबाट हाम्रो जहाज त्यो सुन्दर ‘उद्यान’लाई बिदा गरेर भारतीय सिमानामा पस्यो । एकै छिन् पछि हामी दिल्ली विमानस्थलमा ओर्ल्यौ । मैले दिल्ली विमानस्थलमा अशिष्ट कर्मचारी, लथालिङ्ग यत्रतत्र छरिएका सामानहरू, गन्हाउने शौचालय, पानको थुकले रङ्गिएका भित्ताहरू अनि ठुलो स्वरले कुरा गर्दै हिँड्ने असभ्य र फोहरी ‘धोतीहरू’* देखिनेछन् भन्ने सोच बनाएको थिएँ । तर मेरो त्यो सोचको ठ्याक्कै विपरीत मैले दिल्लीको त्यो विमानस्थल निकै नै सफा र व्यवस्थित पाएँ । कर्मचारीहरू पनि निकै शिष्ट र सहयोगी थिए । मैले सोचेको थिएँ उनीहरूले विकास र सभ्यतामा त्यति ठुलो फड्को मारिसकेका रहेछन् ।
मलाइ लाग्यो भारत अनि भारत जस्तै संसारका अधिकांश देशहरूले आफ्नो देशलाई विकासको माध्यमबाट स्वर्ग जस्तो बनाउन उद्दत भइरहँदा हामी चाहिँ अझै पनि पहिले नै स्वर्ग जस्तो देशलाई बिगारेर नर्कतिर डो-याउन तँछाडमछाड गर्दै थियौँ ।


*’खैरे’ र ’धोती’ शब्दहरू कसैलाई होच्याउने रूपमा नभई जनजिब्रोमा शब्दहरूलाई जस्ताको तस्तै प्रयोग गर्ने हेतुले प्रयोग गरिएका हुन् । पाठकहरूलाई यी शब्दहरूको प्रयोग आपत्तिजनक लागेमा क्षमा प्रार्थी छु ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)