यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

व्यङ्ग्य : मानार्थ पिएचडी अनि सुशासनको प्रमाणपत्र

—राजु अधिकारी-


बच्चा बेला उनलाई स्कूल जान र पढ्न पटक्कै रुचि हुँदैनथ्यो। त्यति बेला गाउँमा नजिकै स्कुल पनि थिएन अनि पढ्ने चलन पनि त्यति थिएन। शहरतिर उनका उमेरका अरूहरूले पढ्दै गर्दा उनको अधिकांश समय चाहिँ गाउँका भीरपाखाहरुमा घाँस दाउरा काटेर बित्यो। पढाइ भन्दा उनलाई त्यही रमाइलो लाग्थ्यो, त्यसो गर्दा स्कुल नजानको लागि बहाना पनि मिल्थ्यो। तैपनि बाबु आमाको करले ज्ञान हासिल गर्न भन्दा पनि बाबुआमालाई देखाउनको लागि भनेर उनले जसोतसो दश कक्षा सम्म त पढे तर त्यसपछि युवाको जोस अनि तातो रगतले उनलाई घाँस दाउरा मात्रै होइन मान्छेकै टाउको काट्न उत्प्रेरित गर्‍यो। कसैको लहलहैमा लागेर मान्छे काटेर जानेर या नजानेर उनी राजनीतिमा होमिए।

घाँस दाउरा होस् या मान्छेको टाउको होस्, काट्ने बानी लागेको मान्छे राजनीतिमा लागेपछि पनि केही न केही त काट्नै पर्‍यो, उनले आफ्नै सङ्गठनमा आफू भन्दा माथि पुगेका नेताहरूको खुट्टा काट्न सुरु गरे। खुट्टा काटेका नेताहरू तल ओर्लदा आफू केही पनि नगरी माथि भइयो। त्यही जे भेटायो त्यही काट्ने खुबीले गर्दा अरू सबै नेताहरूलाई काटेर लडाउँदै उ नि आफ्नो दलमा ठूलै नेता भए। ठूलो नेता भए पछि सायद त्यो काट्ने बानी सुधार हुन्छ कि भन्ने धेरैले सोचेका थिए तर पनि ‘धाइराको मानी लाइरा’को बानी’ भने जस्तै ठूलो नेता भए पनि उनको काट्ने बानी गएन। काट्ने चिज अरू केही नपाए पछि आजभोलि उनले अरूका कुरा काट्छन्। जसका कुरा पनि छ्याप्प छ्याप्प काट्छन्। उनको मुख छुरा भन्दा पनि धारिलो छ। विरोधीका कुरा त विरोधीहरूले बोल्न नपाउँदै उनले काटिसक्छन्।

आफ्ना विरोधीहरूलाई काटकुट पार्दै, गर्ल्यामगुर्लम ढलाउँदै एक दिन उनी देशको सर्वोच्च कार्यकारी पदमा पनि आसीन हुन पुगे। तर त्यहाँ पुगेपछि उनलाई एउटा कुराको निकै पश्चात्ताप भयो— बाल्यकालको बेलामा नपढेर उनले ठूलै गल्ती गरेका रहेछन्। आफू भन्दा अगाडिका त्यो पदमा आसीन धेरै जसो व्यक्तिहरू निकै बुद्धिमान थिए। कसैले विज्ञान पढेका थिए, कोही साहित्यकार थिए, कसैले विद्यावारिधि नै गरेर अगाडि डा. भन्ने फुर्को नै झुन्ड्याएका थिए। त्यो देखेर उनलाई अलिकति हीनताबोध भयो। तर उनी हार मानेर बस्ने व्यक्ति थिएनन् अनि उनलाई आफू पनि कोही भन्दा कम छैन भनेर देखाउन मन लाग्यो।

उनले सोचे— एउटा पढेलेखेको, विद्यावारिधि गरेको सल्लाहकार राख्नु पर्‍यो त्यसपछि उसले केही राम्रो जुक्ति पक्कै देला। त्यही सोचेर उनले धुइधुइति आफ्नो सल्लाहकार खोज्न थाले। आजभोलि देशमा विद्यावारिधि गरेको मान्छे त छ्याप्छ्याप्ती पाइन्छन् नै। तर अझै पनि आफ्नो नामको अगाडि डा. झुन्ड्याउनेहरु निकै कम भैसकेका छन् किनभने विद्यावारिधिको महत्त्व र शान पहिलेको जस्तो छैन। तैपनि उनलाई डा. फुर्को झुन्ड्याएकै मान्छे चाहिएको थियो ता कि सबैलाई थाहा होस् विद्यावारिधि गरेको मान्छे त उनको सल्लाहकार छ भने उनको ज्ञान र बुद्धि झन् कति होला भनेर।

खोजे पछि देउता त पाइन्छ भन्छन् जाबो डा. फुर्को झुन्ड्याएको मान्छे नपाइने कुरै भएन। उनले त्यही फुर्केलाई आफ्नो सल्लाहकार राखे अनि एक दिन उसलाई सोधे— “डाक्टर साब, मलाइ लाग्छ मेरो यो देश बनाउने लक्ष्य, योजना अनि दूरदर्शिता सायद जनताले अझै राम्ररी बुझ्न सकेको जस्तो लाग्दैन । अब चुनावको बेला जस्तो ठाउँ ठाउँमा गएर बुझाउन पनि सकिँदैन त्यसैले सजिलो तरिकाले यो कुरो जनतालाई र देश विदेशका मान्छेलाई देखाउनु पर्‍यो । देश विदेशकाले थाहा पाए भने मेरो यो देश निर्माणको सपनामा उनीहरूले पनि सहयोग पुर्‍याउँछ्न्। एउटा राम्रो उपाय सोच्नुस् त।”

सल्लाहकार त पढेलेखेका परे, अरू कुनै काम नगरे पनि उपाय सोच्न र अरूलाई उपदेश दिन त खप्पिस नै थिए उनी। उनलाई तुरुन्तै एउटा उपाय आइहाल्यो— “तपाइले देश विदेशमा गरेका दमदार भाषणहरू अनि देश विकासको लागि देखेका सपनाहरू र त्यसलाई पूरा गर्न देखाएका मार्गदर्शनहरूको एउटा पुस्तक निकालौँ त्यो पनि अङ्ग्रेजीमा अनि सबैलाई बाडौं। सञ्चार माध्यमहरूमा पनि प्रचार प्रसार गराऔँ अनि देशकाले पनि थाहा पाउँछन्, विदेशकाले पनि थाहा पाउँछन्।”

“निकै राम्रो कुरो गर्नु भयो डाक्टर सा’ब । ल यो काम तुरुन्तै गर्नु पर्‍यो” उनले स्वीकृति दिए।

केही दिनमै उनको त्यो पुस्तक बाहिर आयो। उनी निकै खुसी भए, आफ्ना ती भाषणहरूको सँगालो दोहोर्‍याइ तेहेर्‍याइ पढे। जति जति पढ्थे उनलाई उति उति आफू कति महान् रहेछु जस्तो लाग्थ्यो। त्यो पदमा पहिले आसीन भएका शिक्षित अनि विद्वान भनाउँदाभनाउँदै भन्दा आफ्नो बुद्धि अनि ज्ञान निकै धेरै रहेछ भनेर मख्ख पर्थे। स्कूले ज्ञान भन्दा आफै आर्जन गरेको ज्ञान धेरै महत्त्वपूर्ण हुँदो रहेछ भनेर आफूले मेहेनेत गरेर आर्जन गरेको त्यो ज्ञानमा आफै आफै उनले गर्व गरे।

जति पनि विदेशी पाहुनाहरू आउँथे उनीहरूलाई नेपालको उपहार भनेर त्यही किताब ठम्याइन्थ्यो । उनीहरूले आफैसँग लिएर गए या रद्दीको टोकरीमा फालेर फर्के त्यो त थाहा भएन तर केही दिन पछि उनलाई शङ्का लाग्यो सायदै कसैले त्यो पुस्तक पढे होलान् अनि पढे पनि सायदै कसैले पत्याए होलान् कि उनको ज्ञान कति छ भनेर । त्यसैले उनलाई त्यसले धेरै दिन सम्म शान्ति दिन सकेन ।

एक दिन फेरि उनै फुर्के सल्लाहकारलाई बोलाएर सोधे— “मैले पनि एउटा डा. को फुर्को नझुन्ड्याउँदै मान्छेले पत्याउँदैनन् जस्तो लाग्यो । जसरी भए पनि मलाई त्यो फुर्के उपाधिको लागि जुक्ति लगाउनुस् त।”

फेरि ती सल्लाहकारले बेजोड उपाय निकाले— “कुनै एउटा विश्वविद्यालयको मानार्थ विद्यावारिधि लिने। उनीहरूलाई पनि विदेशको सरकार प्रमुखले समेत यहाँबाट मानार्थ विद्यावारिधि लिएका छन् भनेर प्रचार गर्ने सामग्री मिल्ने, हामीलाई पनि फुर्को मिल्ने— दुबैलाई फाइदा।”

“बढिया उपाय निकाल्नु भयो । ल तुरुन्तै सोधी खोजी गर्नुस् त । अलि नाम चलेको विश्वविद्यालय खोज्नुस् है ।”

सल्लाहकारले हार्वर्ड, स्टानफोर्ड, अक्सफोर्ड, क्याम्ब्रिज सबैमा सम्पर्क गरे तर उनको त्यो प्रस्ताव कसैले मानेनन् अनि अन्तमा केही उपाय नलागे पछि एउटा कुन देशको विश्वविद्यालय हो भन्ने पनि यकिन नभएको अनि नामै नसुनिएको र अरू कुनै देशको विश्वविद्यालयले पनि मान्यता नदिएको एउटा विश्वविद्यालयले उनको प्रस्ताव स्वीकार गर्‍यो। अनि तामझामका साथ विद्यावारिधि गर्दा लगाउँदा लगाउने लुगा र टोपी लगाए दिएर उनलाई त्यो विश्वविद्यालयले विद्यावारिधिको प्रमाणपत्र टक्रयायो। अनि त्यो प्रमाणपत्र र प्रमाणपत्र पकडेको तस्बिर धुलाएर ल्याएर आफ्नो कार्यालयमा ठुलो फ्रेममा जडान गरी सबैले देख्ने गरी उनले भित्तामा टाँसे। उनको फुर्को झुन्ड्याउनु सपना पनि पूरा भयो। अब त कसैले अनपढ भनेर खिल्ली उडाउन नपाउने भए भन्ने सोच्दै भित्तामा टाँसेको फोटो र प्रमाणपत्र हेरेर मुसुक्क मुस्काए।

तर एउटा विद्यावारिधिको प्रमाणपत्र त आजभोलि जसले पनि पाएको छ, कति ठुलो कुरो भयो र? उनलाई एउटाले मात्र चित्त बुझेन अनि उनले दुईवटा होइन, तिन वटा होइन, चार वटा विद्यावारिधिका प्रमाणपत्र विभिन्न विश्वविद्यालयहरूबाट लिए । त्यसपछि अब त म भन्दा पढेलेखेको, विद्वान नेता अब को नै हुन सक्ला र भनेर सन्तोष माने ।

उनी देशको सर्वोच्च कार्यकारी पदमा नियुक्त भएको पनि निकै समय भैसकेको थियो । विपक्षीहरूले जे भने पनि, जस्ता मनगढन्ते हल्ला फिँजाए पनि आफूले सत्ता सम्हालेपछि देशमा निकै प्रगति भएका छन् भन्नेमा उनी निकै विश्वस्त थिए । देशले नयाँ दिशा लिएको थियो, राष्ट्रपतिलाई उच्च सुरक्षा प्रदान गरिएको थियो, मन्त्रीहरू देश विदेश घुमेर नेपाललाई विश्व सामु चिनाएका थिए अनि त्यो क्रम जारी नै थियो, हत्या, बलात्कार, तस्करी, भ्रष्टाचार जस्ता सानातिना गल्ती गरे पनि देशलाई काम लाग्ने व्यापारी, उद्योगी, दलमा लागेका गुण्डाहरुलाई सरकारले आफ्नै सुरक्षामा राखेको थियो किनभने देश विकास गर्नको लागि चाहिने आखिर उनीहरू नै हुन् । तथाकथित न्यायको माग गर्नेहरूलाई गोली हानेरै भए पनि देशमा शान्ति सुरक्षा कायम गरिएको थियो । त्यसैले आफ्नो र सरकारको कामप्रति उनलाई निकै सन्तोष थियो ।

तर पनि विरोधीहरूको आवाज पुरै मत्थर भएको थिएन । त्यति मात्रै हैन आफ्नै दलका मान्छेहरूले पनि सरकारले काम गर्न सकेन, सुशासन भएन, सरकारको उपस्थित देखिएन भनेर आलोचना गर्न थालेका थिए । त्यो समस्या कसरी समाधान गर्ने भनेर उनलाई केही उपाय सुझेन अनि फेरि उनै फुर्के सल्लाहकारलाई बोलाएर उनले सुझाव मागे ।

सल्लाहकार पनि के कम थिए र सल्लाह दिनुमा ? त्यसै पनि उनको कामै सल्लाह दिनु नै थियो । उनले एउटा अचुक उपाय निकाले— राजधानीका हरेक गल्लीमा, हरेक टोलमा अनि बिजुलीको हरेक खम्बामा सरकारको उपस्थिति जनाउने पोस्टर टाँस्ने । अनि त भइहाल्यो नि सरकारको उपस्थिति देखिएन भन्नेहरूलाई मुखभरि बुझो— टोल टोलमा, पोल पोलमा सरकार देखे पछि त सरकारको उपस्थिति छैन भनेर कराउन छोड्लान् नि ।

क्या गजबको उपाय ! उनले तुरुन्तै त्यो काम गर्न सल्लाहकारलाई आदेश दिए । दुई चार दिनमै टोल टोल, गल्लीगल्लीहरुमा सरकारको बाक्लै उपस्थिति देखियो ।

तर पनि दुईचार दिन पछि कता कता फेरि उनलाई छटपटी हुन थाल्यो । सरकारको उपस्थिति देखाउने पोस्टरहरू च्यातिन थाले— कतै पानीले भिजायो, कतै हावाले उडायो, अनि कति पोस्टर त विद्यार्थीहरूले किताबको जिल्ला हाल्नु हुन्छ भनेर निकालेर लगे ।

तर सरकारको त्यत्रो उपस्थिति देख्दादेख्दै अनि सरकारले गरेको त्यत्रो काम देख्दादेख्दै पनि उनकै दल भित्रका र विपक्षीहरूले पनि सरकारको आलोचना गर्न छोडेनन् । सरकारले काम गर्न सकेन, सुशासन दिन सकेन भनेर ठुलो रडाको मच्चाउन थाले ।

के गर्दा यी विरोधीहरूलाई चुप लगाउन सकिएला भनेर एक दिन उनी आफ्नो कार्यालयमा बसेर टोलाउँदै सोचिरहेका थिए ।

उनको कार्यालयमा उनकै पार्टीका वरिष्ठ नेताहरूको तस्बिर टाँगिएको थियो । ती तस्बिरहरू मध्यमा एक जना सेता फ्रेन्च कट दाह्री पालेका बुढा पनि थिए— उनकै नाममा थियो नेपालको पहिलो वामपन्थी प्रधानमन्त्री । हुन त नौ महिना मात्रै अल्पमतको सरकार चलाउन पाएका थिए उनले तर त्यो नौ महिनामा उनले अरू कुनै सरकारले सायद धेरै वर्षमा पनि गर्न नसक्ने काम गरेर देखाई दिएका थिए, सबैको वाह वाह पाएका थिए । राज्य कसरी सञ्चालन गर्नु पर्छ, विकास कसरी हुनु पर्छ, जनताका समस्यालाई दिर्घ कालीन रूपमा कसरी समाधान गर्नु पर्छ भनेर उनले उदाहरण नै बनेर देखाएका थिए ।

पहिले पहिले उनलाई निकै आदरणीय लाग्ने ती वृद्ध नेताको तस्बिरले त्यो दिन ‘तिमीले सुशासन दिलाउन सकेनौ’ भन्दै उनलाई गिज्याए जस्तो भान भयो । अनि त्यो तस्बिर देखेर उनलाई रिस उठ्यो । उनले मनमनै सोचे— बुढा हामीसँग मिल्न नआएको भए के हबिगत हुने थियो, भाग्यले हामीसँग मिल्न आए अनि प्रधानमन्त्रीको चिट्ठा पर्योह, अहिले मलाइ नै गिज्याउँछौ ? म पनि देखाइदिन्छु सुशासन भनेको के हो भनेर । तर के गर्ने त ? अनि कसरी गर्ने ? कसरी विरोधीहरू र जनतालाई देखाउने देशमा सुशासन छ भनेर ?
उनका सबै समस्याहरूको समाधान थिए उनै फुर्के सल्लाहकार ।

उनले सोचे जस्तै सल्लाहकारले फेरि अर्को अनुपम उपाय सुझाए— एउटा ठुलै अन्तर्राष्ट्रिय सम्मेलन गरेर त्यसमा सुशासनको पुरस्कार र प्रमाणपत्र प्राप्त गर्ने । त्यसपछि त विरोधी पनि चुप जनता पनि चुप । सुशासन प्रमाणपत्र नै हातमा भए पछि सुशासन भएन भनेर विरोध गर्ने कसको हिम्मत ?
फुर्के सल्लाहकारको त्यो बुद्धि देखेर उनी निकै प्रभावित भए । उनले सोचे— सल्लाहकार हुनु त यस्तो ।
उनले तामझामका साथ निकै नाम अनि चलेको विश्वव्यापी उपस्थिति भएको एउटा ठुलो अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग मिलेर सरकारको तर्फबाट धेरै विदेशी पाहुनाहरूलाई निम्त्याएर ठुलै सम्मेलनको आयोजना गरे ।

पहिले नै योजना बनाए जस्तै त्यही संस्थाले उनलाई मोटो रकम सहितको सुशासन पुरस्कार अनि प्रमाणपत्र दियो ।

त्यही सुशासन प्रमाणपत्र लगेर ठुलो प्रेममा राखेर उनले आफ्नो कार्यालयको भित्तामा लगाए अनि मनमनै खुसी हुँदै त्यही प्रमाणपत्र हेर्दै सोचे— देशको स्थायित्व र विकास देख्न नचाहने यी राष्ट्र विरोधी तत्त्वहरू अब त चुप लाग्लान् की ?

Comments