यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

राजा,रानीसहित राजपरिवारै गोली लागेर सखाप भएको घटनाको समाचार कसरी आयो? लेख्यौँ कसरी?

नारायणहिटी राजदरबारभित्र जेठ १९ गते शुक्रबार राति हत्याकान्ड भएको थियो। तर भोलिपल्ट दुई वटा ब्रोडसिट दैनिकमा मात्र दरबारभित्रको घटनाबारे समाचार छापिएको थियो- समाचारपत्र र स्पेसटाइम। कान्तिपुर लगायत अरु पत्रिकाहरु चुके। स्पेसटाइमको अनुभव त्यतिबेला त्यहाँ संवाददाताका रुपमा कार्यरत सूर्य खड्काले बाँडेका छन्।

राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायतलाई गोली प्रहार भएको पनि थाहा भैसकेको थियो तर त्यो पुष्टी भने गर्न ज्यादै कठिन थियो। लगभग ४ बजेतिर तरुण दाइले सो घटनाको समाचार लेख्न थाल्नुभयो। त्यो समाचार उहाँले कयौ पटक आफैले रिराइट गरिरहनुभएको थियो। त्यो दिन प्रधानसम्पादक योगेश सर पनि ज्यादै एक्टिभ भइरहनुभएको थियो। समाचार सय पटक भन्दा बढी त स्वयं तरुण दाइले नै लेख्दै सच्चाउदै गर्नुभयो। पत्रिका छापिँदा बिहान करिब ६ बजिसकेको थियो। पत्रिका बजारसम्म पुग्दा त एक पिस पनि नपाइने गरी बिक्री भएको थियो। सबै पत्रिका फोटोकपीका रुपमा बजारमा बाँडिएको थियो। 


St_Dainik_Logo

दरबार हत्याकान्डको समाचार कसरी आयो र कसरी छापियो ‘स्पेसटाइम’मा ?
सूर्य खडका
स्पेसटाइम दैनिकमा संवाददाताका रुपमा पत्रिका प्रकाशन सुरु हुनु पूर्व नै हामीहरुलाई काम गर्ने अवसर संस्थापक प्रधान सम्पादक श्री आचार्यले दिनुभएको थियो। धेरै सिनियर अनुभवी अग्रजहरु र नयाँ ठिटा पत्रकारहरुको बेजोड संगम थियो त्यतिबेला स्पेसटाइम दैनिक। जिवेन्द्र सिम्खडा जस्ता दक्ष सम्पादकको सुरुवाती नेतृत्वले जनमानसमा छोटै समयमा स्थापित स्पेसटाइममा, अशोक श्रेष्ठ (बितिसक्नुभो), केदार कोइराला, विष्णु निष्ठुरी, प्रशान्त अर्याल, मोहन दाहाल , देवप्रकाश त्रिपाठी, राजन शर्मा प्रज्ज्वल चापागाईँ जस्ता एक से एक हस्ती पत्रकारहरुले समय समयमा निकै समाचार पौरख देखाउनुभएको थियो।

स्वर्गीय पत्रकार पुस्कर थापा, रामप्रसाद दाहाल, बिन्दुकान्त घिमिरे, दीपक भटटराई, गणेश बस्नेत जस्ता कैयनको बाइलाइनले सनसनी मच्चाउँदथ्यो समाचारको बजारमा। नयाँ र पुरानाको मिलेको टीमका कारण र सफल सम्पादकीय नेतृत्वका कारण कारण स्पेसटाइम निकै पढिने र बजारमा गनिने पत्रिका बनेको थियो। दर्जँनौ दर्जन पत्रकारहरु स्पेसटाइम थिए जसले समाचारको दुनियामा एउटा पृथक पहिचान बनाएका थिए। पत्रिका प्रकाशनले एउटा ठूलै तरंग पनि सृजना गरेकै थियो। तर व्यवस्थापनको खास खास कमजोरीका कारण सिनियर पत्रकारहरुले छोडदै जाने र नयाँ पुराना बजारका हस्ती हस्ती पत्रकारहरु आउने क्रम पनि एक वर्ष नपुग्दैमा सुरु भएको थियो।

Stp_logo२०५८ मा यो घटना हुँदा प्रधान सम्पादकमा हुनुहुन्थ्यो कान्तिपुर दैनिकका पूर्व संस्थापक सम्पादक योगेश उपाध्याय। प्रमुख संवाददाता तथा समाचार संयोजकको जिम्मेवारीमा हुनुहुन्थ्यो त्यतिबेलाका हस्ती अग्रज पत्रकार तरुण पौडेल। रात्रीकालीन डेस्कको जिम्मेवारीमा रञ्जन झा लगायत हुनुहुन्थ्यो। खेल संयोजकमा पत्रकार गजेन्द्र थापा र रोशन राउत हुनुहुन्थ्यो।

जेठ १९, २०५८ को त्यो शुक्रबार करिब ८/९ बजेतिर स्पेसटाइमका एमडी जमिम शाह अफिसमा आउनु भयो। प्रायः अलि ढिलो उहाँ अफिसमा आउने नै गर्नुहुन्थ्यो। त्यसदिन उहाँ निकै हतास र आत्तिएको मुडमा हुनुहुन्थ्यो। उहाँले नारायणहिटी राजदरवारमा गोली पडकिएको ब्रेकिंग समाचार लिएर न्युज रुममा आउनु भएको थियो। त्यो समाचार पुष्टि गर्न उहाँले समाचार संयोजक तरुण दाइलाई अह्राउनु भयो। तर त्यो असामान्य समाचारको पुष्टि गर्न ज्यादै कठिन थियो। तरुण दाइले सबलाई फोन घुमाउनु भयो। शायद त्यो समय तरुण दाइले सामना गर्नुपरेको प्रेसर जीवनमा कहिल्यै नभुल्ने क्षण होला।

उहाँले त्यस बीचमा रञ्जन झा सरलाई सैनिक अस्पतालमा रिर्पोटिङका लागि पठाउनुभयो। जमिम सर पनि एक खोज पत्रकार झैँ अनवरत रुपमा समाचारको पुष्टि गर्न लागिरहनु भयो। तर समाचारको पुष्टि गर्नु कम चुनौति थिएन।
समाचारको पुष्टि गर्दैमा लगभग रातको .३ बजिसकेको थियो। त्यतिबेलासम्म नारायणहिटीमा गोली चलेको र राजा रानी लगायत धेरै जना घाइते भएको भने पुष्टि गर्न सक्नुभयो स्वयं जमिम सरले। साथमा हुनुहुन्थ्यो सम्पादक योगेश उपाध्याय र समाचार संयोजक तरुण पौडेल।

अनि थप के कति धनजनको क्षति भयो भन्ने पुष्टि गर्न अर्को चुनौती थियो। रञ्जन सरहरुको टीमले पनि अस्पतालबाट घटनाको पुष्टि गर्नुभएको थियो।

राजा वीरेन्द्र , रानी ऐश्वर्यलगायतमाथि गोली प्रहार भएको पनि थाहा भैसकेको थियो। तर त्यो पुष्टि भने गर्न ज्यादै कठिन थियो। लगभग ४ बजेतिर तरुण दाइले सो घटनाको समाचार लेख्न थाल्नुभयो। त्यो समाचार उहाँले कयौँ पटक आफैले रिराइट गरिरहनु भएको थियो।

त्यो दिन भने प्रधान सम्पादक योगेश सर पनि ज्यादै एक्टिभ भइरहनुभएको थियो। समाचार सय पटकभन्दा बढी त स्वंय तरुण दाइले नै लेख्दै सच्चाउँदै गर्नुभयो। साथमा योगेश सर पनि निकै सक्रिय भएर रहनुभयो। कम्प्युटरमा अरु दिन संयोजन मात्रै गर्ने मनोज वर्मा दाइ सो दिन आफै टाइपमा बस्नुभएको थियो। शायद उहाँले पनि सो दिन जस्तो एउटै समाचार रिटाइप गर्नुपरेको एउटा दुर्लभ घटना थियो।

करिब ५ बजेतिर समाचारको फाइनल ड्राफट तरुण दाइ र योगेश सरले गर्नुभयो जसमा राजारानी लगायत राजपरिवारका धेरैलाई गोली लागेको र सबैको उपचार छाउनीस्थित सैनिक अस्पतालमा भैरहेको समाचार थियो। समाचारमा राजा रानीमाथि गोली प्रहार भएकोसम्म पुष्टि भएको थियो। तर समाचारमा स्रोतको ज्यादै अभाव थियो उल्लेख गर्नका लागि। तैपनि समाचार प्रवाह भयो स्पेसटाइममा। तर घाइते राजारानी र राजपरिवारका अन्य सदस्यको थप अवस्थाको बारेमा भने कुनै जानकारी पस्किन निकै गाह्रो भएको थियो।

प्रेस पनि अफिसमै लाजिम्पाटमा रहेकोले फाइनल समाचार प्रेसमा पुग्नासाथ छापिएको थियो। पत्रिका छापिँदा करिब ६ बजिसकेको थियो। पत्रिका बजारसम्म पुग्दा त एक पिस पनि नपाइने गरी बिक्री भएको थियो। सबै पत्रिका फोटोकपिका रुपमा बजारमा बाँडिएको थियो। हामी रातभर अफिसमै थियौ। भोलिपल्ट पनि स्पेसटाइमले विशेष संस्करणका रुपमा पत्रिका निकाल्यो। ती सबै प्रकाशनहरु यति धेरै छिटो बजारमा सकिए कि त्यस्तो त मैले कहिल्यै देखेको थिइनँ।

स्पेसटाइम दैनिककै समाचार सार झै नेपाल समाचारपत्रले पनि दरवार हत्याकाण्डको समाचार प्रकाशन गर्यो। समाचारपत्रले पनि घटना भएको बाहेकका नयां सूचना पस्कन सकेको थिएन आफना समाचारमा। त्यो स्पेसटाइम भन्दा वास्तविक सूचना पस्कनमा ढिला नै थियो। स्पेसटाइम दैनिकको त्यो दुर्लभ स्कुप न्यूजकै आधारमा त्यतिबेलाको पाक्षिक हिमाल खबरपत्रिकाले पनि दिउँसो एक विशेषांक प्रकाशन गर्योस। त्यो पनि जम्माजम्मीमा स्पेसटाइमले पस्केको समाचार भन्दा ज्यादा सूचना तथ्यले भरिएको समाचार भने थिएन।

भोलिपल्ट दिउँसो सम्ममा त समाचार धेरै भयंकर रुपमा, ठूलो, दुःखद र असामान्य भैसकेको थियो। प्रिय राजारानी सबैको देहान्तको समाचार धेरै मुस्किलले बनेको थियो। रोशन दाइले जेठ १९ गते शुक्रबार युवराज दीपेन्द्र सातदोबाटोस्थित स्विमिङ पुलमा गएको समाचार लेख्नुभएको थियो। तर दुर्भाग्य त्यो समाचार प्रकाशन हुँदासम्म प्रिय युवराज दिपेन्द्रको नाममा आमाबुबासहितको हत्याको कलंक नै लागिसकेको थियो।

पछि त देशै रोयो , देशैले शोक मनायो ती सबै समाचारहरु भिन्न र फरक शैलीमा स्पेसटाइम दैनिकले पस्कियो। अहिले पनि प्रेस काउन्सिलमा स्पेसटाइमका समाचार पाताहरु जिउँदै होलान्। कसैले पनि त्यहाँ गएर हेर्न पढ्न सक्ला नै।
मेरो पत्रकारिता करिअरमा त्यो साँझको, त्यो रातको अनुभव स्पेसटाइमको लाजिम्पाटको अफिसमा ज्यादै स्मरणीय र शिक्षाप्रद अनि ठूलो र दुःखद रहयो। एउटा सम्पादक कतिसम्म प्रेसरमा पर्न सक्छ भन्ने कुरा मैले तरुण दाइ, रञ्जन सर र सम्पादक योगेश सरको प्रेसर एउटै समाचार टेबलमा बसेर बटुल्न पाएँ। योगेश सरलाई धेरैले अल्छे सम्पादक भनी उहाँको पछाडि कुरा काट्थे। अनि सामुन्नेमा भने सर त धेरै ठूलो, राम्रो भन्थे। तर त्यो रातको योगेश सरको क्रियासिलताको प्रत्यक्षदर्शीका रुपमा मलाई योगेश सर पर्दा खेरीको अब्बल सम्पादक हुनुहुँदो रहेछ भन्ने अनुभूति भएको थियो। वास्तवमा बूढोपाको र खारिएको मान्छे नै किन सम्पादक हुनुपर्दो रहेछ भन्ने मलाई गहिरो अनुभूति उहाँको हार्ड एण्ड फास्ट डिसिजन पावरले गराएको थियो।

म सबैभन्दा प्रभावित भने स्वर्गीय जमिम सरबाट नै भएँ। उहांको दरवारसँग साँच्चिकै सूचना पहुँच मात्र थिएन, उहाँले त्यो समाचार लेख्ने बाहेक सबै काम आफै सम्पादकको टेवलमा बसेर गर्नुभएको थियो। शायद जमिम सर त्यो रात स्पेसटाइमको समाचार कक्षको कुर्सीमा नबसेको भए त्यो समाचार पस्कन स्पेसटाइम चुक्न पनि सक्दथ्यो। र त्यो रातको स्पेसटाइम क्र्युको एकता र जाँगर अनि कामप्रतिको समपर्ण पनि शायदै फेरि कतै देख्न, अनुभव गर्न पाइएला। त्यो बेला धेरै साथीहरु आआफना काम सकेर हिँडनु भएकोले त्यो रातको तितो, तातो र दुःखद क्षणको सामना हामी रात्रीकालीन डेस्कका सीमितले मात्र अनुभवका रुपमा गर्न पाएका थियौं। भोलिपल्ट त सबै स्पेसटाइम क्युा ले आआफना ढंगमा समाचारहरु पस्कनुभएको थियो। अब्बल कभरेज भने सबैभन्दा अगाडि र सही रुपमा स्पेसटाइम दैनिकले नै दिएको थियो।

मेरो छापा पत्रकारिता करिअरको त्यो दुखान्त रात झन बढी यसकारण दुख्छ की युवराज दिपेन्द्र सरकारले मलाई व्यक्तीगत रुपमा नै चिनिबक्सन्थ्यो। मैले मौसुफ सरकारका दर्जनौ अनौपचारिक गन्तव्यमा एकजना सम्माननीयको सहयोगले कैयौं पटक पत्रकारको रुपमा नभएर एक शुभेच्छुकका रुपमा भाग लिने अवसर पाएको थिए। आफुलाई व्यक्तिगत रुपमा नै चिन्ने युवराजको त्यस्तो अवस्था कती दुखदायी हो भन्ने मलाई मात्र हेक्का छ। लोक नै साक्षी छ कि युवराज दिपेन्द्रमा कुनै दरवारिया ठांटबाट थिएन उहां ज्यादै सरल , सामान्य र नागरिक स्तरको जीवनशैलीमा अभ्यस्त होईबक्सन्थ्यो। उहाका धेरै साथीहरु अझ भनौ अन्तरंग मित्रहरु सबै जनताका छोराछोरीहरु नै थिए। मलाई अझ दुखद त किन लाग्छ भने हाल न राजा वीरेन्द्र न रानी एैश्वर्य , न युवराज दिपेन्द्र , नत अन्य वीरेन्द्र राजवंश वा स्पेसटाइम नै ज्युँदो रहयो। झन कहालिलाग्दो कुरा त न जमिम सरलाई नै बाँच्न दिए बैरीहरुले। सबलाई मारे सबलाई सके। तर न राजाका सिंगो वंश विनासको हत्याराको टुंगो लाग्यो न त जमीम सरका हत्याराको पहिचान हुँदा नै कुनै कारवाही भयो। यस्तो लाग्छ यहाँ राम्रा, असल राजा र मान्छेलाई जसरी पनि सिध्याउने एउटा देशकै बैरी छ। त्यसले हैकम चलाउन्जेल यहाँ कसैको पनि खैरियत छैन।

सो हत्याकाण्डको बारेमा धेरै खालका धेरै मानिसहरुका आआफना मतहरु छन्। मैले त्यसबारे यहाँ कुनै उठान गर्न चाहिन। तर मेरो मनले यति चाहिँ सँधै भन्छ कि सो हत्याकाण्डमा युवराज दीपेन्द्रमाथि लागेको आरोप एउटा बनिबनाउ आरोप मात्र हो। यो प्रसंगलाई मैले मात्र स्पेसटाइमको त्यो समाचार रातसँग मात्र जोडेर सम्झेको हुँ। यस्ता प्रसंगका अनुभूतिहरु सबै दाजुहरु, सरहरुले, साथीहरुले लेखे झन राम्रो हुने थियो। (June 2nd, 2014 मा पहिलो पटक प्रकाशित)

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)