यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’?


“थुतुनो धेरै नचलाउनुस् है, अहिले कालोमोसो दल्नुपर्ला, विचार गर्नुस्”

बिरामी भएर रिङ्गटा लागेकोले केही दिनदेखि आराम गर्दै घरै बसिरहेको छु। घर बसे पनि ट्विटर, फेसबुक चलाइरहन मन लाग्ने। एउटा विषय अहिले निकै चर्चामा छ। ‘रिपब्लिका’ र ‘नागरिक’मा त्रिभुवन विश्वविद्यालय मानवशास्त्रका प्रमुख डम्बर चेम्जोङबारे शृङ्खलावद्ध समाचार आइरहेको छ। ‘रिपब्लिका’ सम्पादक सुभाष घिमिरे अमेरिकाको हार्वर्ड पढेका अनि डम्बर सर अमेरिकाकै कोर्नल युनिभर्सिटी। हार्वर्ड Vs कोर्नेलको हकी राइभलरीको त चर्चा धेरै सुनिन्छ तर यहाँ अर्कै विषयमा बहस चर्को भइरहेको। ‘गल्ती भयो समाचारमा’ भनेर डम्बर सर औँल्याउने, सुवास चाहिँ हामी हाम्रो रिपोर्टमा विश्वस्त छौँ, डकुमेन्ट हेरेर लेखेको, अरु डकुमेन्ट छ भने हाम्रो अफिसमा लिएर आउनुस् भन्ने। कोर्नेलका विद्यार्थी हार्वर्डको विद्यार्थीकोमा किन डकुमेन्ट लिएर जाओस्! खास कुरो के हो? हामी सामान्य जनता नबुझेर वाल्ल किन पर्ने भनेर टियुमा पत्रकारिता पढेको म बबुरो विद्यार्थीलाई जोश जाग्यो। कीर्तिपुरको घडीघर पछाडि रहेको एन्थ्रोपोलोजी डिपार्टमेन्टमा पुग्दा पूर्व नयाँ शक्ति पार्टीका विद्यार्थी नेता बलबहादुर रम्तेल र प्रमुख डम्बर चेम्जोङबीच चर्काचर्की चल्दै थियो। भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउँदै डम्बर सरको राजीनामा माग्दै कालोमोसो दल्ने चेतावनी दिँदै नेताजीले बोलेका वाक्य हुन् माथिका।

विषय के हो?
कुरा नयाँबाट पुरानो गर्दै जाउँ है त। रिपब्लिकाले बुधबार पहिलो पेजमै एउटा समाचार छाप्यो। विष्णुप्रसाद अर्यालको बाइलाइन रहेको समाचारको शीर्षक थियो- TU appointed lecturer against age bar. सब हेडलाइनमा थियो CIAA looking into appointments

डम्बर सरले त्यसको प्रतिक्रिया ट्विटरमा यसरी दिए-

रिपब्लिका सम्पादक सुभाष घिमिरेले उनलाई हाम्रा रिपोर्टरले टियुबाट डकुमेन्ट पाएको हो, डकुमेन्ट हामीले रिभ्यु गरेका हौँ, तपाईँको डकुमेन्ट छ भने हाम्रो अफिसमा लिएर आउनु स्वागत छ भनेर ट्विट गरे।

उनको ट्विटमा कडा प्रतिक्रियाहरु आए जस्तै

त्यसपछि रिपब्लिकाले अनलाइनमा पत्रिकामा प्रकाशित समाचारबाहेक केही डकुमेन्टमा स्क्रिनसट पनि राखेर (with documents) भन्दै अपडेट गर्‍यो। हेर्नुस्- This is how TU Service Commission violated age bar while appointing a permanent lecturer (with documents)

त्यसमा थप जुहारी यसरी चल्यो-

डम्बर सरले समाचार लेख्ने रिपोर्टरलाई म कहाँ पठाइदिनु, म सबै डकुमेन्ट देखाइदिन्छु भनेर ट्विट लेखे-

जवाफमा सम्पादक सुभाष घिमिरेले आफ्नो रिपोर्टिङ सही रहेको दावी गर्दै आफूहरुले डकुमेन्ट भएपछि मात्र समाचार लेख्ने बताए।

अहो, यहाँ त दुई पक्ष नै आफू सही भएको दावी पो गरिरहेका छन्। एक जना त गलत हुनुपर्‍यो नि। दुवै सही त मिल्दै नमिल्ने कुरा हो।

कुन पक्ष सही हो थाहा पाउन के गर्ने त? यी कुरा निर्क्यौल गर्नुपर्‍यो-

१) डम्बर चेम्जोङलाई उप-प्राध्यापकमा स्थायी नियुक्ति दिने गरी त्रिभुवन विश्वविद्यालय सेवा आयोगले निकालेको विज्ञापनमा उमेर हद तोकिएको थियो कि थिएन?

२) उक्त विज्ञापन निस्केको बेला बहाल रहेको ‘शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम’ र ‘सेवा आयोग उपप्राध्यापक पदको नियुक्तिका आधार एवं सिफारिश सम्बन्धी प्रक्रिया’ मा उमेर हद तोकिएको थियो कि थिएन?

विज्ञापनमा उमेर हद थिएन
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले गोरखापत्र दैनिकमा २०६६ पुस २२ गते छापेको रहेछ।

हेर्नुस् विज्ञापन छापिएको गोरखापत्रको पेज

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालय विज्ञापन नं. ३/२०६६-०६७ (खुल्ला प्रतियोगिता) को ६ बूँदे कागजात सूची, आवश्यक न्यूनतम योग्यता र तीन बूँदे द्रष्टव्य कतै पनि उमेर हद तोकिएको छैन।

तर विज्ञापनमा उमेर हद लेख्‍न छुटेको पनि हुनसक्छ।

खासमा हेर्नुपर्ने त त्यतिबेलाको नियम र प्रक्रिया हो। त्यसमा चाहिँ के छ त?

रिपब्लिकाले छापेको समाचार र राखेको डकुमेन्टमा ‘त्रिभुवन विश्वविद्यालय सेवा आयोग उपप्राध्यापक पदको नियुक्तिका आधार एवं सिफारिश सम्बन्धी प्रक्रिया २०६६’ मा यो प्रक्रिया २०६६ पुस २० गतेपछि हुने विज्ञापनमा लागू हुनेछ भनिएको छ र त्यसको बूँदा नम्बर ५ मा रहेको उम्मेदवार हुन नपाउने व्यवस्था अन्तर्गतको उपबूँदा (घ)मा विज्ञापन प्रकाशित भएको मितिसम्म ४५ वर्ष नाघेको व्यक्ति। तर त्रिविको स्थायी/अस्थायी/करार सेवाका बहालवाला व्यक्तिलाई उमेरको हद लाग्ने छैन’ लेखिएको छ।

विज्ञापन २०६६ पुस २२ गते छापिएको, त्यतिबेला डम्बर चेम्जोङ ४५ वर्ष नाघिसकेको (४८ वर्ष रहेको), त्यतिबेला उनी करारमा नरहेको रिपब्लिकाका समाचार लेखक विष्णु अर्यालको दावी रहेको छ।

तर के उनले पाएको डकुमेन्टमा गल्ती भएको हुन सक्दैन?

विष्णु भन्छन्- उनको नियुक्तिलाई समर्थन हुने कुनै डकुमेन्ट हामीले भेट्टाएका छैनौँ।

के आफूले देखेको वा अरुद्वारा देखाइएको कुरा मात्रै ध्रुवसत्य हुन्छ त? अर्को सत्य पनि पो छ कि?

रिपब्लिका सम्पादक सुभाषले भने, हामीले सबै डकुमेन्ट चेक गरेका हौँ। हामीसित डकुमेन्ट छ।

डकुमेन्टले देखाउँछ- रिपब्लिका गलत, उमेर हद थिएन

विज्ञापन छापिएको बखत (२०६६ साल पुस २२ गते) बहाल रहेको ‘शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम’ र ‘सेवा आयोग उपप्राध्यापक पदको नियुक्तिका आधार एवं सिफारिश सम्बन्धी प्रक्रिया’ मा उमेर हद थिएन।

विज्ञापन छापिएको बखत लागू रहेको कार्यविधि (‘सेवा आयोग उपप्राध्यापक पदको नियुक्तिका आधार एवं सिफारिश सम्बन्धी प्रक्रिया) मा उम्मेदवार हुन नपाउने व्यवस्था यस्तो थियो-

उमेर हदको नियम विज्ञापन छापिएको तीन वर्षपछि २०६९ साल असोज २९ गते त्रिभुवन विश्वविद्यालय सभाको बैठकबाट पारित गरिएको निर्णय थियो। त्यही निर्णय अनुसार ‘उम्मेदवार हुनका लागि अयोग्यता’ विषयमा (ग) बूँदा थपिएको थियो, जसमा लेखिएको छ- शिक्षणतर्फको पदमा ४५ र कर्मचारीको तर्फको पदमा ४० वर्ष उमेर पूरा भइसकेका।

हेर्नुस् कागजात –

यो २०६९/६/२९ सम्मको संशोधनसहितको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम हो। यसको ७ क मा उम्मेदवार हुनको लागि अयोग्यता तोकिएका छन्।

यसमा स्पष्टसँग ४५ वर्षको उमेर हद २०६९ असोज २९ गते बसेको त्रिवि सभाको बैठकबाट संशोधन गरिएको उल्लेख छ।

विज्ञापन २०६६ साल पुस २२ गते भएको हो, २०६८ मंसिर ७ गते उनले स्थायी नियुक्ति पाएका हुन् भने गलत तथ्यको आधारमा एउटा राष्ट्रिय दैनिकको प्रथम पेजमा उमेर हदको नियम मिचेर स्थायी नियुक्ति गरियो भनी कुनै व्यक्तिको इज्जत र मानप्रतिष्ठामा असर पर्ने गरी समाचार छापिनु हुन्थ्यो त? तपाईँ आफै विचार गर्नुस्।

अब पत्रिकाले गल्ती भएको हो कि हैन भनेर थाहा पाउन त्यतिबेलाको सेवा आयोगका पदाधिकारीलाई सोध्दा भयो, २०६९ असोज २९ गते त्रिवि सभाको बैठकबाट के के संशोधन गर्ने निर्णय भएको थियो, निर्णय मगाएर अध्ययन गर्दा भयो, पुराना नियमहरु मगाएर अध्ययन गर्दा भयो।

‘फुटनोट’ नराख्दाको सास्ती

त्रिभुवन विश्वविद्यालयको पुरातन पाराको त के कुरा गर्नु र। यसका बेथितिहरुको कुरा गरी साध्य हुन्न। त्यस्तै मध्येको एक नियम छाप्दा ‘फुटनोट’ नराख्दाको नतिजा अहिले देखिएको हो।

अहिले शिक्षक कर्मचारी सेवासम्बन्धी नियम खोज्नुभो भने यो डकुमेन्ट सेवा आयोगबाट पाइन्छ। यसमा २०७३/९/२० सम्मको संशोधन छ। यो नियमको पेज नम्बर १८ मा यस्तो छ-

यसमा ‘उम्मेदवार हुनको लागि अयोग्यता’ शीर्षकमा ‘(ग) शिक्षणतर्फको पदमा ४५ र कर्मचारीको तर्फको पदमा ४० वर्ष उमेर पूरा भइसकेका’ बूँदामा © राखिएको छ फुटनोटका लागि। तर मुन्तिर त्यो संकेत चिह्न र फुटनोट छैन। त्यो नभएपछि त्यो बूँदा कहिलेदेखि लागू भएको भनेर नै बुझ्न सकिन्न नयाँ नियम मात्र पढ्नेले।

भनेपछि रिपब्लिकाको पहिलो पेजमा छापिएको समाचार मूल तथ्यमै चुकेको प्रष्ट देखियो। नगरेको अपराधको सजाय भोग्नुपर्ने हो डम्बर चेम्जोङले? योमात्र हैन, उनको बारेमा पछिल्लो पटक सिरिजमा रिपब्लिका र नागरिकमा र अन्य पत्रिकाहरुमा पनि समाचार छापिएका छन्। के हो यसको चुरो कुरो? यसबारे तपाईँहरुलाई रुचि लाग्छ भने अर्को ब्लगमा खोतल्न खोजौँला।

8 comments to डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’?