यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

डम्बर डुबाउने समाचार गलत रहेको ‘रिपब्लिका’द्वारा स्वीकार, सम्पादकले मागे माफी


त्रिभुवन विश्वविद्यालय मानवशास्त्र विभागका प्रमुख डम्बर चेम्जोङको नियुक्ति नियमविपरीत रहेको समाचार गलत रहेको अङ्ग्रेजी राष्ट्रिय दैनिक रिपब्लिकाले प्रकाशित गरेको तीन दिनपछि स्वीकार गरेको छ। यसका सम्पादक सुभाष घिमिरेले माफी माग्दै न्युज भेरिफिकेसन प्रोसेस अझ प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

रिपब्लिकाले बुधबार (५ जुन, २०१९) मा पहिलो पेजमै छापेको समाचार ‘TU appointed lecturer against age bar’ शीर्षकको समाचार तथ्यगत रुपमै गलत रहेको बारे बिहीबार राति माइसंसारले ब्लग लेखेपछि शुक्रबार मौन रही शनिबारको पत्रिकामा गल्ती स्वीकार गरिएको हो। रिपब्लिकाको अनलाइनमा शुक्रबार गुपचुप डिलिट गरिएको समाचार लिङ्कमा पनि शनिबार बिहान गल्ती स्वीकार गरिएको समाचार अपडेट गरिएको छ।

तर नेपाली भाषाको वेबपोर्टल नागरिकन्युजमा भने न भूल सुधार छापिएको छ, न माफी मागिएको छ। बिहीबार नागरिकन्युजमा ‘उमेरहद नाघेका व्यक्तिलाई त्रिविमा स्थायी नियुक्ति !’ शीर्षकमा सोही अङ्ग्रेजीमा छापिएको समाचारको नेपाली अनुवाद डकुमेन्टसहित प्रकाशित थियो। अहिले त्यो समाचार अनलाइनबाट गुपचुप गायब गरिएको छ।

गुगलको क्यास सर्भरमा भने यो समाचार अझै भेटिन्छ-

नागरिकको अनलाइनमै काम गर्दाताका एक पटक प्रकाशित समाचार हटाउन नहुने, हटाउनै परे कारणसहित राख्नुपर्ने अन्तर्राष्ट्रिय अभ्याससमेत बारे तथ्यसहित बुझाउँदा एमडी विनोदराज ज्ञवालीसमेत सहमत भएको हिजोजस्तै लाग्छ। त्यसपछि अनलाइनमा कुनै समाचार डिलिट गर्न कसैले दबाब दिएको थाहा पाइएको थिएन। अहिले शायद् अनलाइनमा त्यस्तो दबाब थेग्न सक्ने कोही भएनन्।

खोज पत्रकारिता हैन
ट्विटरमा मैले प्रमाणहरुसहित राखेर लेखेको ब्लगलाई कसैकसैले खोज पत्रकारिता भनेर प्रशंसा गरेको पनि देखेँ। अहँ मेरो नाक फुलेको छैन। त्यो खोज पत्रकारिता थिएन भनेर मलाई राम्रैसँग थाहा छ। यो एउटा सामान्य फ्याक्ट चेकिङ मात्रै थियो।

डम्बर सरलाई त मैले अहिलेसम्म भेटेको पनि थिइनँ। बरु रिपब्लिकाका सम्पादक सुभाष घिमिरेसित बेलाबखत कुरा हुन्थ्यो। नेपालको पत्रकारिताको एक किसिमको सिन्डिकेट तोडेर सम्पादक भएकोमा उनलाई उनकै मिडिया हाउसभित्रका सहकर्मी र बाहिरकाले के कसरी पेल्थे, हेप्न खोज्थे- त्यो मलाई राम्रैसित थाहा छ। उनको चरित्र हत्या हुने गरी उनकै सहकर्मीहरुले साप्ताहिक पत्रिकाहरुमा के कस्तासम्म समाचार लेखाए, त्यो पनि मैले हेरेको, पढेको हुँ। त्यसैले मलाई लागेको थियो- सुभाषले गल्ती गरेका छैनन्।

बिरामी भएर घरमै आराम गरिबसेको हुनाले मलाई यो विषयमा धेरै थाहा पनि थिएन। तर ट्विटरमा डम्बर सर र रिपब्लिका सम्पादकको जुहारी चलेको र अरुले पनि त्यसमा बोलिरहेको देखेर मलाई चासो लाग्यो यो विषय। खास कुरा के हो त? डम्बर सर यो यो गल्ती भयो है भनेर औँल्याउन खोजिरहेका थिए, पत्रकार चाहिँ आफूले सही समाचार छापेकोमा विश्वस्त थिए।

कुरा कहाँनिर बिग्रियो त?

डम्बर सर डकुमेन्ट हेर्न आउन बोलाउँदै थिए, पत्रकार हामी हाम्रै समाचारमा विश्वस्त छौँ, तपाईँको कागजात भए हाम्रो अफिसमा ल्याउनुस् भन्दै थिए।

मलाई लाग्यो, के रहेछ त्यो कागजात? हेरौँ न त।

ट्विटरकै डिएममा डम्बर सरसित कुरा भयो। मोबाइल नम्बर लिएँ। सरले डकुमेन्ट हेर्न उहाँकै अफिसमा डाक्नुभो। गएँ। हेरेँ, बुझेँ।

गरेको यत्ति हो। यो खोज पत्रकारिता हैन, स्रोतलाई एक पटक भेटेर कुरा बुझेको मात्र हो। भेटेर मात्र के कुरा बुझिन्थ्यो- पटक पटक फोन पनि गरियो। एक पटक त डम्बर सरलाई दिक्क लागिसकेको जस्तै सुनिएको थियो- यसलाई के भन्छ भाइ खोज पत्रकारिता हो? उहाँले हाँसेर सोध्नुभएको थियो। मैले हाहा गरेर हाँसेर टारेँ।

त्यसपछि मैले सुभाषलाई तपाईँहरुले सबै फ्याक्ट चेक गर्नुभएको हो भनेर सोधेँ। उनले आफूहरुसित सबै डकुमेन्ट रहेको र त्यसलाई चेक गरेको बताए। मैले ब्लग लेख्न लागेको जानकारी दिएपछि उनले समाचार लेखक विष्णु अर्यालसित कुरा गर्नुस् भनेर मोबाइल नम्बर पनि दिए। उनीसित पनि कुरा भयो। दुई पक्षको कुरा सुनेपछि कहाँनिर के चुकेको प्रष्टै भएँ।

त्यसपछि लेखियो ब्लग – डम्बरलाई डुबाउन खोज्दा यसरी चुके ‘रिपब्लिका’ र ‘नागरिक’ : एक लेक्चररलाई नगरेको ‘अपराध’को ‘सजाय’?

सामाजिक सञ्जालमा धेरै सेयर भयो।

अन्ततः शनिबार गल्ती स्वीकार गरेर माफी पनि मागे सुभाषले। याद गर्नुहोला, डाक्टर भक्तमानको अपहरण माओवादीले गरेको झुटो समाचार लेखिएकोमा पत्रकार र सम्पादकले अहिलेसम्म माफी मागेका छैनन्, रस्सेन्द्र भट्टराईको बारेमा ठूलै गफ लगाएर छापिएको एङ्कर न्युज गलत भएको ठहर भइसक्दा पनि लेख्ने र छाप्नेले अहिलेसम्म माफी मागेका छैनन्।

अग्रजहरुको यस्तो विगतका बीच गल्ती स्वीकार गर्ने आँट गर्ने रिपब्लिका सम्पादकको समर्थनमा छु म। काम गर्दै जाँदा गल्ती हुन्छ। गल्ती स्वीकार्नु र त्यसबाट सिकेर आइन्दा गल्ती हुन नदिने प्रतिवद्धता ठूलो हो। माफी माग्ने र माफी दिने दुई जना सहमत भइसकेपछि अरु तमासेहरु उफ्रिएर केही हुन्न।

यस्तो छ माफीनामा

Chemjong’s appointment lawful

June 8: Republica published a news item about Dambar Chemjong, head of the anthropology department of Tribhuvan University, on June 5, headlined: “TU appointed lecturer against age bar.”

We have since learned that the documents we based ourselves on while preparing the news item about Chemjong’s age at the time of his appointment with permanent status were not up to date. We realized that the story was incomplete and did not represent the full circumstances surrounding his appointment at TU.

When we studied other documents including the rules on joining TU service (amended until 2066 BS) and TU Service Commission procedures 2066 BS, we found that his appointment was in accordance with the rules.

We were led to a wrong conclusion as we prepared the news based on the TU service rules (amended until 2069/9/29 BS) and TU service commission procedures (amended until 2069-12-20 BS). It was only on October 15, 2012, that the TU senate endorsed the provision on an age bar of 45 years for entering the TU teaching service through open competition, whereas Chemjong entered the service with permanent status through a vacancy notice published on January 6, 2010.

Republica offers its sincere apologies to Chemjong for misrepresenting his appointment at the TU. We vow to make our news verification process more rigorous.

–Editor

के छ विदेशमा चलन?

जब वासिङटन पोस्टले गल्ती गर्‍यो
सन् १९८१ को कुरा हो, अमेरिकाको प्रतिष्ठित दैनिक द वासिङटन पोस्टको पहिलो पेजमा एउटा समाचार छापियो- ‘जिम्मीको विश्व’ शीर्षकमा। ८ वर्षका एक बालक कसरी लागू औषधी हिरोइनको लतमा लागे भन्ने विषयमा थियो समाचार। पत्रकारिता जगतको प्रतिष्ठित पुरस्कार पुलित्जर प्राइज सन् १९८१ मा यो समाचार लेख्‍ने ज्यानेट कूकलाई दिने घोषणा भयो। समाचार छापिएपछि वासिङटन सहरका तत्कालीन मेयर म्यारिअन ब्यारीले जिम्मी नामको त्यो केटोलाई खोज्ने आदेश दिए तर पत्ता लगाउन सकेनन्। तर ब्यारीले जिम्मीलाई उद्धार गरी उपचार गराइरहेको दावी गरे। सहायक प्रबन्ध सम्पादक बब उडवर्डले यो समाचारलाई पत्याए, छापे र पुलित्जर प्राइजका लागि सिफारिश गरे। उनले पुरस्कार पनि जिते। तर पुरस्कार जितेपछि पोस्ट कै पत्रकारहरुले उनले उदधृत गरेका अज्ञात स्रोतहरुका बारे प्रश्न उठाए।

पोस्टका कार्यकारी सम्पादक बेन्जामिन ब्राडलीलाई भास्सार कलेजबाट फोन आयो- तिम्रा रिपोर्टरले हाम्रो कलेजमा पढेका छैनन् है। झस्किए सम्पादक। किनभने समाचार लेखिका कूकले आफ्नो बायोग्राफी पुलित्जरका जजहरुलाई पठाउँदा त्यो कलेजमा ग्राजुएट गरेको भनेर लेखेकी थिइन्। फेरि थाहा भयो युनिभर्सिटी अफ टोलेडोमा पनि उनले मास्टर्स डिग्री लिएकी हैन रहिछिन्। भास्सारमा एक वर्ष पढेको र टोलेडोबाट बीए मात्र गरेकी रहिछिन्। अनि समाचारका पात्र जिम्मीको खोजी थालियो। अहँ, भेटिएन। अन्त्यमा कूक आफैले स्वीकार गरिन्, त्यो केटो त छँदै थिएन, समाचारका अधिकांश अंश काल्पनिक थिए। अन्ततः कूकले राजीनामा दिए।
भोलिपल्ट पोस्टले पुलित्जर प्राइज फिर्ता गर्‍यो र आफ्नो सम्पादकीयमा यस्तो लेखेर क्षमा याचना गर्‍यो “This newspaper . . . was itself the victim of a hoax—which we then passed along in a prominent page-one story . . . How could this have happened?” समाचार लेखिकाको राजीनामा र पोस्टले इमान्दार भएर गरेको क्षमा याचनापछि यो कान्ड सकियो। तर पत्रकारिता क्षेत्रलाई सँधैका लागि एउटा उदाहरण भने छाडेर गयो। पछि यही कथामा हलिउडमा एउटा फिल्म पनि बन्यो The Hoax, जसमा रिचर्ड गेरले अभिनय गरेका थिए।
थप पढ्नुस्

समाचारदेखि प्रमाणसम्म सबै झुटा !
एउटा अर्को उदाहरण सन् १९९५ देखि १९९८ सम्म तीन वर्ष स्टेफन ग्लास नामका रिपोर्टरले दुनियाँलाई उल्लु बनाएको घटनालाई लिन सकिन्छ। यसको शिकार बनेको थियो द न्यु रिपब्लिक नामको म्यागेजिन। घटना, पात्र, उनीहरुका भनाई, स्रोत र प्रमाण सबै नक्कली जुटाएर समाचार लेख्‍ने उनको शैलिबाट कायल भएका द न्यु रिपब्लिकका सम्पादक मार्टिन परेजले पछि एउटा अन्तर्वार्तामा भनेका थिए- अब त म उसले बाहिर घाम लागेको छ भनेर भने पनि पत्याउँदिन।

उनले गरेका कयौँ फ्रड यत्तिकै रहे तर सन् १९९८ को मे महिनामा पाप धुरीबाट करायो। ह्याक हेभन शीर्षकमा उनले एक १५ वर्षका ह्याकरको बारेमा समाचार लेखे। ती ह्याकरणले जुक्ट माइक्रोनिक्स नामको कम्पनीलाई ह्याक गरेको अनि पछि त्यही कम्पनीले उसलाई सूचना सुरक्षा सल्लाहकारका रुपमा काम दिएको समाचारमा थियो। समाचार काल्पनिक भए पनि आफैले देखेजस्तो गरी यसरी लेखिएको थियो-

Ian Restil, a 15-year-old computer hacker who looks like an even more adolescent version of Bill Gates, is throwing a tantrum. “I want more money. I want a Miata. I want a trip to Disney World. I want X-Men comic [book] number one. I want a lifetime subscription to Playboy – and throw in Penthouse. Show me the money! Show me the money!. . . .”
Across the table, executives from a California software firm called Jukt Micronics are listening and trying ever so delicately to oblige. “Excuse me, sir”, one of the suits says tentatively to the pimply teenager. “Excuse me. Pardon me for interrupting you, sir. We can arrange more money for you.”

यो समाचार छापिएपछि फोर्ब्स म्यागेजिनका पत्रकार एडम पेनेनबर्गलाई शंका लाग्यो। उसले समाचारमा दिइएका तथ्यहरुलाई क्रस चेक गर्न खोजे। जुक्ट माइक्रोनिक्स नामको कुनै कम्पनी र समाचारमा उल्लेख गरिएका मानिस फेला परेनन्। यसको पर्दाफास गरी फोर्ब्सले अनलाइनमा समाचार छापेपछि पत्रिकाले आन्तरिक अनुसन्धान थाल्यो। समाचारमा वर्णन गरिएका घटना नक्कली र पात्र नक्कली रुपमा खडा गरिएको पाइएपछि सम्पादकले ग्लासलाई तत्काल बर्खास्त गरे। विस्तृत आन्तरिक छानबिन भयो र उनले लेखेका ४१ समाचारमध्ये कम्तिमा २७ वटा काल्पनिक वा बढाइचढाइ गरिएको फेला पर्‍यो। सन् २००५ मा दिइएको अन्तर्वार्तामा ग्लासले बाँकी १४ वटा समाचारमा पनि काल्पनिक कुरा भएको बताएका थिए। उनी यति खुँखार थिए कि ह्याकरसम्बन्धी त्यो समाचारका लागि उनले आफै वेबसाइट बनाएका थिए, हुँदै नभएको जुक्ट माइक्रोनिक्स कम्पनीको भ्वाइस मेल अकाउन्ट बनाएका थिए, नक्कली बिजनेस कार्ड छपाएका थिए र ह्याकर कम्युनिटीको नक्कली न्युजलेटर छापेका थिए।

द न्यु रिपब्लिकले गल्तीबारे जानकारी दिँदै आफ्ना पाठकहरुसमक्ष क्षमा माग्यो। यसबारे पनि हलिउडमा Shattered Glass शीर्षकमा एउटा फिल्म बनेको छ।

जब न्युयोर्क टाइम्सले गल्ती गर्‍यो
सन् २००६ को अप्रिल ९ मा अमेरिकाको अर्को एउटा प्रतिष्ठित पत्रिका न्युयोर्क टाइम्सले ज्याक हिटको एउटा लेख छाप्यो जसमा गर्भपात गराएको अभियोगमा एल साल्भाडोरमा एक महिलालाई जेलमा राखिएको दावी गरिएको थियो। ८ महिनापछि पत्रिकाले क्षमा माग्दै गल्ती सच्यायो। वास्तवमा ती महिलालाई बच्चा जन्मिएपछि हत्या गरेको आरोपमा जेलमा राखिएको रहेछ। लेखक गर्भपात गराउन पाउनु पर्छ भन्ने समूहमा काम गर्ने एक अनुवादकको अनुवादमा भर परेका रहेछन्।

सन् २००६ कै मार्च महिनामा न्युयोर्क टाइम्सको पहिलो पेजमा हस्सन एम फताह नामका एक रिपोर्टरले एक इराकीसँग लिएको अन्तर्वार्ता छापियो। त्यसमा ती इराकी अबु घारिब जेलमा रहेको बेलाको भनी फोटो पनि छापिएको थियो। इन्टरनेट म्यागेजिन सालोनले त्यो फोटोमाथि तुरुन्त प्रश्न उठायो र अमेरिकी सेनाले पनि। टाइम्सले त्यही फोटो वास्तविक नामसहित धेरै वर्षअगाडि नै छापिसकेको रहेछ। टाइम्सका सम्पादकले यसप्रति क्षमा मागे र त्यो मान्छेको परिचय खोज्न पर्याप्त छानबिन नगरेको स्वीकारे।

जब सीएनएन र टाइमले गल्ती गर्‍यो
सन् १९९८ को जुन ७ मा सीएनएनले एउटा समाचार दियो- भियतनाम युद्धका क्रममा युद्ध छाडेर भाग्ने अमेरिकी सैनिकहरुलाई अमेरिकाले लाओसमा नर्भ ग्यास प्रयोग गरी मारेको थियो। जुलाई ७ तारिखमा सीएनएनले यो समाचार गलत रहेको स्वीकार्दै आफ्ना दर्शकसमक्ष यसरी क्षमा माग्यो-

We acknowledge serious faults in the use of sources who provided NewsStand with the original reports and therefore retract the Tailwind story.

We apologize to our viewers and to our colleagues at Time for this mistake.

We have learned a lot from the mistakes made, and we will try to avoid them in the future भन्दै टाइम म्यागेजिनले पनि यही विषयमा छापिएको आफ्नो कभर स्टोरीप्रति क्षमा माग्यो।

माथिका केही त उदाहरण मात्र हुन्, जसले देखाउँछ पत्रकारितामा गल्ती हुन्छ। तर त्यो गल्तीलाई लुकाउन खोज्नु अर्को महागल्ती हुन्छ। गल्ती भएपछि त्यसलाई स्वीकार गर्नु आगामी दिनमा गल्ती हुन नदिन गरिएको संकल्प हुन्छ। गम्भीर गल्ती गरेका मिडियाहरु गल्ती स्वीकार गरेपछि अघि बढेका छन्। गल्ती स्वीकार्दा मिडियाप्रतिको विश्वास घट्दैन, दीर्घकालीन रुपमा बढ्छ। दुर्भाग्यवश नेपाली मिडियाले यस्तो चलन पछ्याउन अप्ठेरो मान्छ।

3 comments to डम्बर डुबाउने समाचार गलत रहेको ‘रिपब्लिका’द्वारा स्वीकार, सम्पादकले मागे माफी

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)