यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

गत अप्रिल ९ मा भारतीय सेनाको एक समूहले मकालु आधार शिविरमा यति (हिममानव) को पाइला भेटिएको फोटो ट्विटरमा राख्ने बित्तिकै भाइरल बन्यो। विश्वका चर्चित बीबीसी, एबीसी, न्युयोर्क टाइम्स, नेसनल जिओग्राफिक लगायतले प्राथमिकताका साथ समाचार बनाए। नेपालमा समाचार नबन्ने कुरै थिएन। तर, तत्कालै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले कान्तिपुर दैनिकलाई भारतीय सेनाले आधार बिना नै यतिको पाइला भनेर होहल्ला गरेको बताए।

सोही विषयमा हाकाहाकीले लेख्यो ‘तीन वर्षअघि फ्रान्सेली टोलीले पनि उक्त क्षेत्रमा यस्तै पाइला देखेर ‘यति’को हुन सक्ने दाबी गरेका थिए तर पछि हिमाली कालो भालुको पुष्टि भएको थियो।’

धेरै हिमाली भूभागको अध्ययन पछि यतिको बारेमा पुस्तक लेखेका डेनिअल सी टेलरले पनि सो पाइला यतिको नभएको बताए। ‘भारतीय सेनाले बताएको आकार केवल डाइनासोरको मात्र हुन सक्छ’।

भारतीय सेनाले पाइलाको लम्बाई ३२ इन्च बताएको थियो।

यतिका कुरा गफै हुन् त?

करिब २५ वर्ष अघि प्रा. करनबहादुर शाह वन्यजन्तु अनुसन्धान टोलीसँग पश्चिम नेपाल गएका थिए। एक दिन उनी बिरामी परे। उनका सहकर्मीले बिहानै क्याम्पको जिम्मा लगाएर अनुसन्धानको लागि हिँडे। उनी पालमा एक्लै थिए। दिउँसो पालभित्र गर्मी भएपछि बाहिर निस्केर आराम गर्न थाले। उनले क्याम्पमाथि अजङको जीव देखे। त्यो जीव गाउँलेले भने जस्तै थियो। यति हो भन्ने कुरामा उनी ढुक्क थिए। यतिको तस्बिर खिच्न हतारिए। दगुर्दै क्यामरा लिएर तस्बिर खिचे। तर पछि क्यामरामा रिल हाल्न बिर्सिएका रहेछन्। यसबारे उनले त्यतिबेलाको चर्चित म्यागेजिन साधनामा लेख लेखेका थिए। लेख पढेपछि उनलाई भेट्न मन लागेको थियो। लेख निस्केको ७ वर्षपछि भेट भयो। लेखकसँगको भेटमा उनले सो घटना काल्पनिक मात्र भएको बताए।

सन् २००० मा उपल्लो मुस्ताङको छोजुंग क्षेत्रमा स्थानीयले हिमाली रातो भालुको तस्बिरलाई नै यति भनेका थिए। शाहको नेतृत्वमा गएको अनुसन्धान टोलीले उपल्लो मुस्ताङको चरांग गुम्बामा राखिएको भनिएको यतिको हात पनि सोही भालुको भनेर निर्क्यौल गरेको थियो। शाह भन्छन्, ‘नेपालमा यति हुने सम्भावना असाध्यै न्यून छ। लगभग छैन जस्तो लाग्छ।’

प्रकृतिमा रुचि राख्ने फोटोग्राफर विशाल गौतम भन्छन् ‘यतिको चर्चा सोलुखुम्बु क्षेत्रमा बढी हुने गरेको छ। बर्सेनि क्यामेरासहित पर्यटकहरू सो ठाउँमा घुमी रहन्छन्। कसै न कसैले त खिच्नु पर्ने नि ? मलाई छ भन्ने कुरामा विश्वासै लाग्दैन।’

वन्यजन्तु अनुसन्धानकर्मी यादव घिमिरे भन्छन्, ‘यदि यति भएको भए अहिलेसम्म हिमाली क्षेत्रमा गरिएको क्यामेरा ट्रयापमा पर्नुपर्थ्यो। र अर्को कुरा यो जीवले खानको लागि जङ्गल तथा बस्ती क्षेत्रमा आउनु पर्ने, देखिनु पर्ने खै त देखिएको! सधैँ हिउँ भएको क्षेत्रमा मात्रै बस्न सम्भव हुँदैन।’

हालै ‘भ्वाइस अफ नेचर’ फेसबुक समूहमा गरिएको सर्वेक्षणको क्रममा ५१ प्रतिशतले नेपालमा यति नपाइने बताएका थिए। सो सर्वेक्षणमा वन्यजन्तु र प्रकृतिमा रुचि राख्ने २२४ जनाले सहभागिता जनाएका थिए। सोही सर्वेक्षणमा २० प्रतिशतले भने यति पाइने कुरामा विश्वास गर्ने बताएका थिए।


यतिको काल्पनिक चित्र : करुण देवान

यति छ भन्नेबारे प्रकाशित तथ्यहरू

यिनको बारेमा सबैभन्दा पहिला सन् ३२६ मा इन्दस उपत्यकामा सुनिएको अलेकजन्दरले उल्लेख गरेका थिए।

सन् १९५०को दशकमा नेपाल सरकारले यतिबारे चर्चा चुलिएपछि यति खोज्न विशेष लाइसेन्स खोलेको थियो। सो समयमा प्रति लाइसेन्स ५ हजार भारु दस्तुर तोकिएको थियो। तर अहिलेसम्म कसैले पनि समात्न सकेको अभिलेख छैन।

थप पढ्नुस्- यति खोज्न जाने अमेरिकीलाई दूतावासले स्मरण गराएको तीन नियम, ५८ वर्ष पुरानो कागजात

सन् १९२१ मा ब्रिटिस चार्ल्स हवार्ड बरीले सगरमाथा क्षेत्रमा पाइला भेटिएको प्रसङ्ग उल्लेख गरेका छन्। सन् १९३८मा पहिलो पटक यति खोजको लागि प्रयास भयो। जर्मनका प्राध्यापक अर्न्सट स्यफर यति बेग्लै प्रजाति नभएर हिमाली रातो भालु भएको निष्कर्षमा पुगेका थिए।

सन् १९५१ मा इरिक सीप्टन र माइकल वार्डले सगरमाथा क्षेत्रमा १३ इन्च लामो पाइला भेटिएको उल्लेख गरेका छन्।

सन् १९६७ मा अमेरिकाको क्यालिफोर्नियामा यति जस्तै ठुलो खुट्टा भएको जनावरको तस्बिर खिचिएको थियो। रोजर प्याटरसन र बोब गिम्लिनले खिचेको सो तस्बिर नक्कली हो वा सक्कली हो भनेर अहले सम्म आशङ्का गरिन्छ। नेपाल, चीन, भारत, भुटान बाहेक पश्चिमा मुलुक पनि यसको बारेमा विश्वास गर्छन्।

वैज्ञानिक रूपमा यिनको सम्बन्ध हिमाली भालुसँग देखिए पनि बेग्लै प्रजाति हो भन्ने प्रमाणहरू अहिलेसम्म भेटिएका छैनन्।

यतिबारे मानिसहरू के भन्छन् ?

नेपालको हिमाली भेगमा यिनको बारेमा चर्चा हुने गरेको छ। लेखकसहितको अनुसन्धान टोलीले सन् २०१३ मा हुम्ला जिल्लाको लिमी क्षेत्रमा यति बारे चर्चा सुनेका थिए। स्थानीय नागरिक वैज्ञानिक पासाङ लामाले हिमाली रातो भालु र यति फरक हुने बताएका थिए। तर ५३ दिनको खोजमा यति कतै भेटिएन।

‘चार्ल्स स्टुनर’ द्वारा लेखिएको पुस्तक ‘शेर्पा र हिममानव’ मा भूमिका लेख्ने जोन हन्टले यतिमा विश्वास गर्ने बताएका थिए। सो पुस्तकमा थ्याँग्बोचे नजिकैको गुम्बामा सन् १९५१ को हिउँद महिनामा लामाहरूले यति भेटेको उल्लेख छ।

शेर्पा समुदाय भन्छन्, जसले यसको विश्वास गर्छन् तिनले मात्र देख्न सक्छन्।

आजभन्दा ठीक २४ वर्ष अघि कास्कीको पर्क्यु र नागिधार बनको सिमानामा मनिता गुरुङको वन मान्छेसँग भेट भयो। गुरुङको आँखा मिल्ने बित्तिकै वन मान्छेको शक्तिले उनी बाटोदेखि करिब १० मिटर पर पछारिन्। उनी जस्तै केही मानिसहरूले वन मान्छेले तर्साएको कथाहरू कास्की, लमजुङ, म्याग्दीका दुर्गम गाउँहरूमा सुन्न सकिन्छ। हिमाली क्षेत्रमा यति भने जस्तै तल्लो भूभागतिर वन मान्छेको चर्चा हुने गरेको छ। जानकारहरू यी दुवै फरक प्रजाति भएको बताउँछन्।

यति कस्तो हुन्छ ?
नेपाल, भारत, भुटानमा यसलाई विभिन्न नाम दिइन्छ। ती नामहरूलाई नेपालीमा रूपान्तर गर्ने हो भने ‘हिम मानव’ ‘वन मान्छे’
‘गाईवस्तुको भालु’ ‘यति’ ‘मान्छे जस्तो भालु’ ‘मेथी’ आदि हुन्छ। हिमाली भेगतिर भालेलाई मेथे र पोथीलाई इथे भनेर समेत भन्ने गरिन्छ। सोह्रौं शताब्दीतिर तिब्बतबाट नेपाल छिरेकाहरूले यतिको जानकारी नेपाल भित्र्याएको विश्वास गरिन्छ।

परापूर्व कालदेखि यसको चर्चा हुँदै आयको छ। यद्यपि सन् १८३२ मा ब्राइन हडसनले यति जस्तै जीवको बारेमा जर्नलमा उल्लेख गरेका थिए।
हिमाल तथा उच्च पहाडी भेगको दुर्गम क्षेत्रमा बस्ने यो जीव असाध्यै कम रहेको मानिन्छ। धेरैले यसलाई ठूलो बाँदर जस्तो हुने बताएका छन्। तर आकारमा मानिस भन्दा ठूलो। कसैले भालु जस्तो पनि बताएका छन्। यसले ४ वा २ खुट्टा दुवैको प्रयोग गर्न सक्छ। यो पारदर्शीसमेत बन्न सक्छ। शरीर भरी भुत्ला, ठूलो खुट्टा, सानो शरीर भनेर यसको बयान गरिन्छ। यिनका दाह्रा ठूला हुन्छन्।

हिमालमा मात्र नभई नेपालको वन क्षेत्र र बस्ती बढी भएको क्षेत्रमा समेत यिनको चर्चा वनमान्छेको रूपमा हुने गरेको छ। यसलाई देखियो भने मात्रै पनि बिरामी परिने विश्वास गरिन्छ। यिनीहरूको पाइला पछाडि फर्किएको हुन्छ भनेर समेत मानिसहरू बताउने गर्छन्।

यति नभएकै हो त ?
८ वर्ष अघि रसियामा भएको गोष्ठीमा साइबेरिया क्षेत्रमा यति भेटिएको भनेर केही वैज्ञानिकले ठोकुवा गरे। यो प्रचारको लागि मात्रै थियो भनेर तिनै मध्येका एकले पछि नकारे। के त्यसो भए हुँदै नभएको जीवलाई छ भनेर हल्ला मात्रै भएको छ त?

भुटानमा स्थापित साक्तेंग वन्यजन्तु संरक्षण क्षेत्र यतिको लागि भनेर छुट्ट्याइएको छ।

अमेरिकन टिभी कार्यक्रम प्रस्तोताले सन् २००९ मा एभरेस्ट क्षेत्रमा पाइला देखिन्। उनले सङ्कलन गरेको यतिको रौँको अनुसन्धान गर्दा अन्य जीवसँग मिलेको थिएन। कतै यो जीव हिमालका कोखहरूमा लुकेर बसेको त छैन?

तेन्जिङ नोर्गे सेर्पाका बुबाले देखेको र थुप्रै मानिसले चर्चा गर्ने यो जीव देखिन अझै कति वर्ष कुर्नु पर्ने हो! नभेटिए पनि यति छ भन्ने आशामा रोमान्चित हुने समय भने हामीले पाइरहने नै छौँ। मानिसहरूको मनमा बसेको यो यतिको छाप वास्तविकतामा भेटिने यतिभन्दा निकै फरक खालको हुनेछ।

प्राध्यापक शाह भन्छन्, ‘भेटिए त गज्जब हुन्थ्यो नि । तर छ जस्तो लाग्दैन मलाई’

2 comments to रहस्यमय जीव ‘यति’, नेपालमा हुने सम्भावना कति?

  • Deep Sharma

    देवता, डैनासौर, ड्रगोन, आलिअन्स, यति

    काल्पनिक कि यथार्थ उनैलाई थाह छैन

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Shankar

    यति पाउरोटी र यति चिज खाएर हुर्केका जेनरेसन लाइ अहिले आएर येति हुन्छ र हुदैन बहस गर्दा राम्रो लाग्ला ?
    भए , पनि न भएपनि छ | भए छदै छ , न भए पनि जसरि हनुमान छ , राम कृष्ण छन् , सिबजी छन् भनेर सोच्छा तेसैगरी यति छ भनेर सोच्छ |
    जहा भीमसेन लाइ पसिना आउछ , गणेस को मुर्ति ले दुध खान्छ , इन्डिया बात आएर फुस्रा धोति बाबा हरु ले धेरै अनुयायी बनाएर जान्छ | त्याँ यति छ , छ १०० पर्सेन्ट छ | न भएपनि छ |
    यो बि पिको सपना मा हिडेको , गिरिजा पथ मा अन्योलमा परेको , प्रचण्ड पथ ले लग बाग घाट
    को बाटो देखाएको नेपालि लाइ माता पनि छ , देउता पनि छ , बाबा पनि छ | ओली ले बिकासको लोरी सुनाउदा भुसुक्क निदाएको जनता |

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 1