यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

…अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो

-राजु-

लामो समयको अन्तराल पछि आफूले पढेको स्कुलको वार्षिकोत्सव समारोहमा कविता वाचन गर्ने अवसर पाउँदा आज मलाइ निकै खुशी लागिरहेको छ । तर आज म सामान्य व्यक्तिको रुपमा हैन, प्रख्यात कविको रुपमा यहाँ उभिएको छु । कविता लेख्न त्यति सजिलो कहाँ छ र ? मैले पनि निकै दु:ख गरेर अहिलेको यो प्रख्याति कमाएको हुँ ।

मलाई सानै देखि साहित्यमा निकै रुची थियो । तर रुची भएर मात्र के गर्नु, लेखनलाई कलम फिटिक्कै चल्दैनथ्यो । रुची हुनु र सृजना शक्ति हुनुमा धेरै भिन्नता रहेछ । स्कुलमा ज्ञवाली सरले छन्दमा कविता भन्दा म मात्रै होइन सारा स्कुल नै मन्त्र मुग्ध हुन्थ्यो । स्कुलको वार्षिकोत्सवमा ज्ञवाली सरको कविता सुन्न विद्यार्थीहरु मात्र होइन अभिभावकहरु पनि लालायित हुन्थे । बैसाखको अन्तिम सातामा धौलु बगियाको किनारमा रहेको आँपको बोट मुनि बार्षिकोत्सबमा सरसर चलेको चिसो हावा अनि आँपको फुल चुस्न आएका भमरा र मौरिहरुको सुमधुर धुनसँगै जब ज्ञवाली सरको त्यो कविता गुन्जन्थ्यो हामी सबै लठ्ठ हुन्थ्यौं ।

वार्षिकोत्सवमा बाहेक कहिलेकाहिँ अरु समारोह, जस्तै सरस्वती पूजा, शिक्षा दिवसमा पनि उहाँले त्यस्तै कविताहरु सुनाउनुहुन्थ्यो । उहाँको त्यो कला, गला अनि सृजन शक्ति देखेर म अचम्म मान्थे अनि कुनै दिन मैले पनि उहाँ जस्तै त्यसै गरी सबैलाई लठ्ठ पार्दै त्यही आँपको बोटको छहारी मुनि कविताहरु सुनाउन पाए कस्तो हुँदो हो भनेर कल्पना गर्थें।

आफ्नो त्यहि चाहना पुरा गर्ने उदेश्यले मैले सानै देखि कविता लेखनमा हात हालें । छन्दहरुको बारेमा अनि तिनको नियमको बारेमा मैले केही अध्ययन पनि गरें । अब त केही अबश्य गर्न सकिन्छ भन्ने आँट लिएर लेख्न बस्थें तर अहँ पटक्कै फुर्दैनथ्यो । जबर्जस्ती दुई चार पंक्ति लेख्थें तैपनि छन्दको न वर्ण मिल्थ्यो न मात्रा मिल्थ्यो । अलि अलि बुझे जस्तो गरेर त्यति सजिलै छन्दमा लेख्न सक्ने भए सबै कालिदाश बन्थे होलान् । वर्ण र मात्रा मात्रै होइन, न त संख्या र क्रमको ज्ञान थियो न त लघु र गुरु नै बुझ्न सकियो, दिक्क मानेर लेखेका कविताहरु च्यातेर फ्याक्थें अनि चुप लाग्थें । दुई चार दिन त अब कविता लेख्दैन भनेर थन्किन्थें तर मनले कहाँ मान्नु र ? फेरि शुरु गर्थें तर परिणाम उही ।

छन्दमा लेख्न नसके पनि झ्याउरे भए पनि लेख्नु पर्‍यो भनेर म कनिकुथी लाग्थें । म सोच्थे— झ्याउरे कविता लेख्न त कति गाह्रो भयो र भनेर म मक्ख पर्दै कलम र कापी निकालेर बस्थें । झ्याउरे कविता पनि त आखिर कवितै त हो नि । महाकविले त झ्याउरेमा लेख्छन् भने हामीले किन लेख्न नहुने ? आज भोलि छन्द कसलाई पो थाहा छ र ? अन्तिमका शब्दहरुको लय र स्वर मिल्यो भने त कविता भैहाल्यो । महाकविको मुना मदन पनि त झ्याउरे मै लेखिएको थियो अहिले सबैको मुखमा त्यही झुन्डिएको छ । त्यो सोचले मेरो मन शान्त हुन्थ्यो. म परालको गुन्द्रीमा रापिलो घाममा पलेटी कसेर बस्दै लेख्न शुरु गर्थें ।

दुई चार हरफहरु राम्रैसँग जान्थे तर त्यो भन्दा माथि म कहिल्यै उक्लिन सकेन । के लेख्ने ? कहाँबाट आउछ त्यत्रो सिर्जना ? सजिलो थियो र ?

नसके पछि म फेरि थत्मरीन्थें । कविता लेख्नु मेरो लागि असम्भव नै जस्तो भएको थियो । म कविताको लागि बनेको रहेनछु भनेर म चुप लागें ।

ज्ञवाली सरले माध्यमिक तहमा नेपाली पढाउनु हुन्थ्यो । म आठ कक्षामा पुगेपछि मात्रै मैले पहिलो पटक उहाँले पढाएको नेपाली पढ्न पाएँ । शिरमा ढाका टोपी, अनि बाहुला फर्काएको धर्के कालो सर्ट माथि खैरो इस्टकोट, खुट्टामा गोल्डस्टार जुत्ता उहाँका पहिचान थिए । उहाँको वर्ण अलि कालो थियो तर त्यो कालो वर्णको मुखबाट निस्कने बोलि चाहिँ कोइलीको भन्दा पनि सुरिलो र मिठो थियो । म पहिलो कक्षामै उहाँको बोलि देखि मोहित भएको थिएँ । उहाँका हरेक कक्षाहरु मेरो लागि साहित्यका कक्षाहरु हुन्थे ।

ज्ञवाली सरले नेपाली पढाउन थाले पछि मेरो मरिसकेको साहित्यिक चाहना फेरि जागृत भएर आएको थियो । मैले आफ्नो कलमलाई रोक्न सकेन । अनि फेरि अब त जसरी भए पनि लेख्छु भनेर मैले लेख्न शुरु गरें ।

बर्खे बिदामा जसरी भए पनि एउटा खण्ड काब्य पुरा गर्छु भनेर ‘बर्षा याम’ भन्ने कविता को पुस्तक लेख्न तम्सिएँ । शरीरमा उर्जा थियो अनि बर्खामा स्कुल बिदा भएको ले फुर्सद पनि थियो त्यसैले मैले दश बाह्र पृष्ठको कविता मज्जासँग एकदिनमै लेखी भ्याएँ । मलाइ लाग्यो अब त पक्कै पनि लेख्न सकिन्छ होला । मैले निकै उत्साहका साथ दाइलाई आफूले लेखेको त्यो कविता देखाएँ ।

दाइले पढे जस्तो गर्‍यो तर मलाइ थाहा थियो उसले पुरै पढेन । अनि ‘ठिकै छ’ तर आज भोलि कसले पढ्छ र यस्ता कविता, बरु पद्द्यमा लेख्नु भन्दा गद्यमा लेख् न । कि छन्दमा लेख्न सक्नु पर्‍यो तर आजभोलि छन्दको कुरा त कसलाई पो थाहा होला र ? त्यसैले लेख्न पनि सजिलो, गद्यमा लेख् ।”

मलाइ गद्यको बारेमा केही थाहा थिएन “के हो गद्य भनेको ?” मैले दाइलाई सोधें ।

“गद्य भनेको, न छन्द चाहिन्छ, न लय चाहिन्छ, जे मन लाग्यो त्यही लेख्यो एउटा पंक्ति लामो बनायो, अर्को पंक्ति छोटो बनायो कविता भैहाल्यो नि” दाइले अर्थ्यायो ।

“त्यस्तो पनि हुन्छ र ? एउटा भन त गद्यको कविता” मलाइ गद्यको कविता बारेमा जान्न उत्सुकता बढ्यो ।

“आजभोलिका कविता यस्तै त हुन्छन नि, ल सुन्,

‘चरो उड्यो,
तर किन उड्यो ?
चरो उड्यो किन भने पखेटा भएको हुनाले उड्यो ।’
भैहाल्यो नि कविता यस्तै लेख् न ।”

“मान्छेलाई मुर्ख बनाउछस् ? यस्तो पनि कविता हुन्छ ?” म झोक्किएँ ।

“तँलाई बिश्वाश लाग्दैन ? ल हेर” भनेर आफ्नो नौ कक्षाको पुस्तक निकालेर एउटा कविता देखायो ।

मैले मनमनै त्यो कविता पढे । हो त उसले भनेको जस्तै कविता थियो त्यो । तर कसरी कविता भन्ने त्यसलाई ? न छन्द छ न लय छ, कथा पढेको हो कि कविता ? मलाइ चित्त बुझेन ।

“यस्ता सुर न तालका कविता लेख्नु भन्दा त बरु कविता नलेख्नु नै जाति” मैले टिप्पणी गरें ।

“तँलाई अझ बिश्वाश लागेन, पख म आफै लेखेर ज्ञवाली सरलाई देखाउछु अनि त बिश्वाश गर्लास नि” भनेर अर्को दिन एउटा कविता लेखेर
उसले ज्ञवाली सरलाई देखाएछ ।

ज्ञवाली सरले ‘यस्तो पनि कविता हुन्छ ? न छन्द छ ? न सुर छ ? न लय छ ? लघुकथा लेखेको हो कि कविता ? कमसे कम कविताको इज्जत त गर, कविता लेख्न सक्दैनौ भने लघु कथा लेख’ भनेर कक्षामा बेइज्जत नै हुने गरी थर्काउनु भएछ । त्यो थाहा पाएर मैले उसलाई खुच्चिंग गरें तर त्यसको प्रभाव मलाइ पनि पर्‍यो— ज्ञवाली सरले मलाइ पनि थर्काउनु हुन्छ कि भन्ने डरले मेरो मनबाट पनि कविता लेख्ने भूत भागेर गयो ।

ज्ञवाली सरसँग मैले धेरै समय पढ्ने सौभाग्य पाएन । उहाँ बाहिरबाट आउनु भएको थियो, त्यहीं एकजनाको घरमा डेरा गरेर बस्नुहुन्थ्यो, उहाँ सायद स्थानियहरु सँग त्यति मिल्न सक्नु भएन होला अनि अलि अली राजनैतिक विचारधारामा पनि बिमति भएकोले होला स्थानीयहरुले उहाँलाई निकाल्नको लागि ‘कालो मास्टर निकाल्ने’ ठुलै योजना नै बनाएका थिए । अन्तमा स्कुलको संचालक समितिले मैले आठ कक्षा पनि पास नगर्दै उहाँलाई सरुवा गरेर अन्तै पठाईदियो । उहाँसँग अलि धेरै समय बिताउन पाएको भए म त्यहीबेला नै सायद केहि लेख्न सक्ने हुन्थें होला तर उहाँ सरुवा भएर गएपछि मेरो फेरि उहाँसँग भेट भएन, मैले पनि आफ्नो साहित्य यात्रामा शुरु नहुँदै पूर्ण बिराम लगाएँ ।

तर मन भित्र लुकेको कुरो त्यत्तिकै किन सधै दबेर बस्थ्यो र ? मेरो बिहे भए पछि श्रीमतीसँग केही साहित्यिक बार्ता हुन थाल्यो । उनलाई पनि साहित्यमा रुची रहेछ । मेरो जस्तो रुची मात्र होइन, उनले लेख्ने पनि गर्दिरहिछिन् ।

बिहे भएको केहि समय मै उनले एउटा कविताको पुस्तक पनि छपाइन् । उनको पुस्तक छापिए पछि मेरो डाह र आत्मसम्मानले मलाइ त्यत्तिकै बस्न दिएन । श्रीमती भन्दा म किन कम हुन चाहन्थें र ? म पनि के कम भनेर मैले फेरि बर्षौं सम्म सुसुप्त भएर बसेको कलम निकालें । तर आज भोलि कलम नै किन चाहिन्थ्यो र ? कम्प्युटर खोलेर लेख्न थालेँ ।

तर फेरि उही स्थिती, कहाँबाट फुर्नु ? भित्र भए पो बाहिर निस्कने हो, भित्र त खोक्रो थियो । तर जे भए पनि लेख्छु भनेर मैले मनमा जे
आयो त्यही लेख्दै कम्प्युटरमा राख्न थालें ।

अधिकांश ती लेखहरु ठेलो न टुप्पोका थिए । न कुनै अर्थ थियो न कुनै संदेश । तैपनि मैले लेख्न छोडेन । श्रीमतीले ठट्टा गरेर “तिमीले त लघुकथा लेखेछौ, लघुमानवले लघुकथा नै लेख्ने भयौ” भनेर मेरो होचो कदको खिल्ली उडाउँथिन् । उनको त्यो खिल्लिले मलाइ मेरो आत्मसम्मान लुकेको ठाउँमा गएर चसक्क घोच्थ्यो तर केही उपाय थिएन । जति जति श्रीमतीले खिल्ली उडाउँथिन् उति उति म मा ‘जसरी भए पनि कवि हुन्छु’ भन्ने भावना बढ्दै जान्थ्यो । म झन् अन्धाधुन्ध लेख्थें । एकदिन श्रीमतीले मलाइ थाहा नदिई मेरा तिनै ‘लघुकथा’हरु मध्यको एउटालाई कविताको रुपमा ढालेर आफ्नो सानिमाको छोरोलाई पठाइदिइछिन् । ऊ एउटा अनलाइन पत्रिकाको सम्पादक थियो, दिदीले पठाएपछि नछाप्ने कुरो भएन । मेरो कविता प्रकाशित भए पछि मात्रै मलाइ थाहा भयो ।

त्यो कविता पढेपछि मेरो मामाको छोरोले “दादा हजुरले त निकै राम्रो कविता लेख्नु हुँदो रहेछ, यस्तै कविताहरु अरु दुईचारवटा लेखेर पुस्तक निकाल्नुस् न” भन्यो ।

“पुस्तक निकाल्न त कविताको स्तर पनि त हुनु पर्‍यो नि” मलाइ आफ्नै कवितामा बिश्वाश थिएन ।

“स्तर हैन, पैसा र मान्छे चाहिन्छ दादा, दुई चार हजार खर्च गर्नुहुन्छ भने प्रकाशन गर्ने जिम्मा मेरो भयो ।” उसले फुर्ति लगायो ।

“हुन्छ, के भो र त्यति सजिलो छ भने ।” मैले पनि आफू कवि बन्ने ध्याउन्नमा दुई चार हजारलाई पैसै देखिन । उसको फुर्तिले मलाइ पनि मेरा लघुकथाहरुलाई कविता बनाउन प्रेरित गर्‍यो । म आफै त के सक्थेँ र ? श्रीमतीले त्यसको जिम्मा लिइन् ।

लघुमानवले लेखेका लघुकथालाई, मेरो दाइले भने जस्तै कतै अलि लामो वाक्य कतै अलि छोटो वाक्य, अनि अलि अलि केही अन्तिमका लयहरु मिलाएर उनले सबैलाई कविता बनाइदिइन् । तर पुस्तक निकाल्न दुईचार हजारले मात्रै किन पुग्थ्यो र ? लाख नै भेट्यो, तै पनि आफ्नो पुस्तक छापिएकोमा म निकै खुशी थिएँ ।

पुस्तक त निस्क्यो तर बिक्नु पर्‍यो, पाठकले पढ्नु पर्‍यो, मन पराइदिनु पर्‍यो । सजिलो थिएन । तर त्यसको जिम्मा पनि मामाको छोरो भाइले नै लियो अरु दुईचार हजार खर्च गर्नु पर्ने सर्तमा । दुईचार हजारको लोभले हात्ती छिर्‍यो पुच्छर अड्क्यो त गर्नु भएन भनेर मन अमिलो पार्दै भए पनि मैले ‘हुन्छ’ भनिदिएँ ।

पैसाले गर्न नसकिने काम सायद निकै कम होलान्, मेरो त्यो जाबो पुस्तक बिकाउने काम त झन कति ठूलो कुरो भयो र ? उसले मलाइ सबै किताब ल्याएर उसको सालाको पुस्तक पसलमा थन्काउन भन्यो । खै उसले के जादु गर्‍यो, केही दिन पछि मेरो पुस्तकको बारेमा पत्रिकाहरुमा छ्यापछ्याप्ती समाचारहरु आउन थाले, मेरा कविताहरुको बखान हुन थाल्यो । मेरा अन्तर्वार्ताहरु छापिन थाले, कहिल्यै नाम नसुनेका सानातिना पुरस्कार पनि मैले हात पारें । बजारमा मेरो पुस्तकको माग बढ्यो तर सबै पुस्तक त उसले सालाको पसलमा राखेको थियो अनि पुस्तक सबै बिकीसकेको जस्तो गरेर अलि अलि गर्दै बाहिर निकाल्न थाल्यो । जति कृत्रिम अभाव उसले सृजना गर्थ्यो मेरो पुस्तक किन्ने पाठकहरुको भिड त्यति बढ्थ्यो । आखिर उसले ति सबै किताब बेचेरै छोड्यो अनि अर्को संस्करण पनि छपायो ।

गर्न खोजे पछि के नहुँदो रहेछ र ? उसले जबर्जस्ती मेरो पुस्तकलाई ‘बेस्ट सेलर’ बनाएरै छोड्यो । खालि ‘दुई चार हजार’ भन्दा भन्दै जोसिएर अलि बढि नै खर्च गरिएछ, सबै किताब बिक्दा पनि त्यो खर्च उठाउन चाहिँ सकिएन । तर पैसा खर्च भएको पिडा भन्दा राता रात ‘सेलिब्रिटी’ बनेकोमा मलाइ बढि सन्तोष थियो । मैले आफै पनि बुझ्न नसकेका ती कविताहरुलाई समालोचकहरुले थरि थरिका अर्थ लगाएर तिनलाई निकै साहित्यिक र उच्चस्तरका बनाइदिए ।

मलाइ पहिले कहिले नसम्झेको स्कुलले म प्रख्यात ‘कवि’ भएपछि आफ्नो वार्षिकोत्सवमा मलाइ पनि कविताहरु वाचन गर्न बोलायो ।

त्यही धौलु बगिया, त्यही आँपको रुख, त्यही बैसाखको अन्तिम साता । फरक यत्ति थियो कि पहिले कोइली कण्ठ जस्तो स्वर भएका ज्ञवाली सरका कविताहरुले त्यो वाताबरण गुन्जिन्थ्यो, आज भने मेरा अर्थ न बर्थ का ‘प्रसिद्ध’ कविताहरुले त्यहाँ हल्ला मचाई रहेका थिए ।

आफूलाई हिनता बोध हुँदाहुँदै पनि म निकै फुर्ति र रवाफका साथ घोक्रो फुलाएर चिच्याई चिच्याई आफ्ना ती कविताहरु वाचन गर्दै थिएँ । खालि एउटा डर थियो— कतै ज्ञवाली सरले आफूले पढाएको विद्यार्थीले त्यस्ता स्तरहिन कविता वाचन गरेको थाहा पाउनु भयो भने त्यो बेला दाइलाई थर्काए जस्तै मलाइ पनि थर्काउनु पो हुन्छ कि?

(राष्ट्रिय कविता महोत्सवसम्बन्धी ब्लगमा आएको कमेन्ट)

1 comment to …अनि मेरो कविताको किताब ‘बेस्ट सेलर’ बनिछाड्यो

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)