यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’

८ महिना लगाएर #WhoKilledNirmala सिरिजको ३० औँ भाग लेख्न सकिएपछि पहिलोपोस्टबाट विदा लिएँ। केही समय आरामले बस्छु, मेडिटेसन गर्छु भन्ने सोचेको थिएँ, अनलाइनखबरका सम्पादक अरुण बरालको एउटा ट्विट देखेँ। ट्विटको लिङ्कले फेसबुकमा पुर्‍याउने रहेछ। नम्बर वान अनलाइनका सम्पादकले लेखेका शब्दहरुमा ध्यान गयो। उनको स्टायटसको सुरुको वाक्य छ- ‘निर्मला पन्तका हत्यारा पक्राउ नपर्नुको दोष मिडियामाथि लगाउन खोजिँदैछ।’

निर्मला सिरिजको समापनमा साथी सविन ढकाल र मैले यो गहन (डेप्थ) रिपोर्टिङ कसरी सुरु गर्‍यौँदेखि कसरी लेख्यौँ उल्लेख थियो। त्यसैमा हाम्रो निश्कर्ष पनि राखेका थियौँ। पढ्न छुटाउनु भएको भए ३० औँ भाग र सम्पूर्ण अङ्कको लिङ्क पढ्न यहाँ क्लिक गर्नुस्। त्यसमा किन पत्ता लागेन हत्यारा ? उपशीर्षकमा चार वटा कारण लेखेको थिएँ। त्यसमध्ये एक मिडियाको ‘मिसलिड’थियो।

रातको साढे १ बजेदेखि लेख्न थालेर बिहानको ७ बजे टुङ्ग्याएको त्यो रिपोर्टमा मैले लेखेको थिएँ-

सोसल मिडिया विशेष गरी युट्युब र मेनस्ट्रिम मिडियाले घटनालाई ‘मिसलिड’ गर्न प्रमुख भूमिका खेले, स्थानीय मिडियाको त कुरै छाडौँ। ‘क्राउड’लाई ‘र’ इन्फरमेसन भएका युट्युबका सनसनीपूर्ण शीर्षकसहितका भिडियोले दिग्भ्रमित गरे भने बौद्धिक खालका पाठकलाई मूलधारे मिडियाले। दुवैले पुष्टि नभएका हल्लालाई वैधता दिने काम गरे लगातार। यस प्रकरणमा आफ्नो भूमिकाबारे मिडियाको नेतृत्वले महसूसमात्रै गरे पनि धेरै राम्रो हुन्छ।

यो सिरिज लेख्ने क्रममा खोज्दा थुप्रै त्यस्ता समाचारहरु भेटिए। त्यसमा मैले दुई वटा प्रमुख उदाहरण उल्लेख गरेको थिएँ। त्यसमध्ये एक अनलाइनखबरको थियो।

यो किन पनि जरुरी थियो भने निर्मला प्रकरणमा एसपी विष्टका छोरा किरण विष्टलाई मुछ्ने काम सबैभन्दा पहिला कुनै मूलधारे अनलाइन मिडियाले गरेको थियो भने त्यो अनलाइनखबर नै थियो। कसैको बाइलाइन अर्थात् लेखेको कसले हो नखुलाई भदौ ८, २०७५ मा कहाँ लुके निर्मलाका हत्यारा ? ‘भीआइपी’माथि स्थानीयको शंका शीर्षकमा समाचार आएको थियो। पढ्नका लागि लिङ्क।

समाचारमा त्यो रहस्यमय घर उपशीर्षकमा यस्तो लेखिएको थियो-

निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन ।

स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

यो समाचारको विशेषता के थियो भने यसअघिसम्मका बजार हल्लालाई वैधता दिने काम यसले गरेको थियो। र, यही समाचारपछि यो केसमा एसपी विष्टका छोरा किरण विष्ट मुछिएका थिए। सुरुमा मेयरका छोरा भन्ने पनि हल्ला थियो। यो समाचारमा भने मेयरका भतिजा लेखिएको छ।

निर्मला प्रकरण बिस्तारै चर्कँदै थियो। अहिले विदा लिइसकेको पहिलोपोस्टमा कञ्चनपुरका रिपोर्टर कोही थिएनन्। सुदूरपश्चिम प्रदेशमा धनगढीमा मात्रै हाम्रा साथी महेन्द्र बम थिए। घटनाबारे मेरो ओपिनियन बनाउने काम यस्तै समाचारहरुले नै गरेका थिए। र, नढाँटी भन्छु- अनलाइनखबरको यो समाचार पढेपछि मैले बम दिदीबहिनीमाथि पनि शंका गरिसकेको थिएँ। एसपी विष्टको छोराको यस्तो रहेछ र पो विरोध भइरहेको जस्तो लागेको थियो। मलाई नम्बर वन अनलाइनखबर प्रति विश्वास थियो। र त, मेरो ओपिनियन बनाउन यसले योगदान गर्‍यो।

हाम्रो क्राइम बिट हेर्ने साथी सविन ढकालले प्रहरी स्रोतबाट कुरा ल्याएर सुनाउँथे। तर म विश्वस्त थिइनँ। क्राइम बिटकै अनुभवी पत्रकार केपी ढुंगानाले पनि यो सब हल्ला हो, हल्लाका भरमा अनुसन्धान गरिनु हुन्न भन्दा हामीले फेसबुकको एउटा ग्रुप च्याटमा उनको खिल्ली उडाएको अझै याद छ।

हल्लाका भरमा मिडिया कति कुदेका रहेछन् र त्यसले मान्छेको दिमाग कसरी भुटेको रहेछ भनेर थाहा पाउन मलाई महेन्द्रनगर नै पुग्नु पर्‍यो। निकै डरलाग्दो असहज परिस्थितिका बीच मैले यो सिरिज सुरु गरेको हुँ र मानिसको धारणा थोरै भए पनि परिवर्तन पक्कै गर्न सकेँ जस्तो महसूस भएको छ। धेरैको परेन, एक जनाको मात्र धारणा यो सिरिज पढेर परिवर्तन भएको हो भने पनि मलाई यसमा गर्व हुनेछ। मिडिया कति घातक हुनसक्छ भन्ने पनि मैले देखेँ। त्यसैले यो ‘विषकुण्ड’बाट हाललाई विदा लिएर बसेको छु।

हल्लाको कस्तो घातक असर पर्ने रहेछ भने सिम्पल लजिक पनि हराउँदो रहेछ। मानौँ एसपी विष्टका छोरा किरण विष्ट आवारा, गुण्डा, केटी देख्नै नहुने बोका थियो रे। बम दिदी बहिनी पनि हल्ला चले अनुसार खराब चरित्रकै थिए रे।

अब उसले बम दिदीबहिनीको घरमा हल्ला चले अनुसार गृहमन्त्रीका छोरासहित त्यो एउटी फुच्ची १३ वर्षकी यौन अंगसमेत विकास भइनसकेकी किशोरीको बलात्कार गर्छ होला त? बलात्कार त गर्‍यो रे ल, अनि मार्‍यो पनि होला त?

मार्‍यो पनि रे लौ, अब गृहमन्त्रीको छोराले बाउलाई फोन गरेर बा, बा, मैले त कञ्चनपुरमा एउटी फुच्चीलाई रेप गरेर मारिदिएँ, प्रमाण लुकाइदिनुस् है भनेर भन्छ होला?

गृहमन्त्रीको छोरोले गरेन रे ल, एसपीको छोराले बा, बा मैले त निर्मलालाई रेप गरिदिएँ। लाश उखुबारी तिर फालेको छु, प्रमाण लुकाइदिनुस् है भन्छ होला?

अनि एसपी दिल्ली विष्टले मेरो छोराले बलात्कार गरेको छ, प्रमाण चाहिँ सबै मेटाउनुस् है भन्छ होला फिल्डमा खटिएका प्रहरी अनुसन्धान अधिकृतलाई? सम्भव छ?

कुन चरणमा गएर योमध्ये कुनै अनुमान सम्भव होला त?

मैले त्यतिबेला हल्ला चलेका बेला यो कोणले सोच्दै सोचिनँ। किन सोचिनँ, म आफैलाई थाहा छैन।

हल्ला र मिडियाको पावर मलाई थाहा थिएन भनेर स्वीकार्नुपर्‍यो त्यसो भए।

शायद् मैले जसरी अरुले फिल गरेका छैनन् होला। त्यही भएर व्यक्तिगत रुपमा राम्रो सम्बन्ध भएका, अस्तिसम्म समाचारको खेती गर्ने एकै पेशामा रहेका अनलाइनखबरका सम्पादकको यस्तो स्टायटस आयो फेसबुकमा

कस्तो असर पर्‍यो यो समाचारले?

हिजो अनलाइनखबरका सम्पादकको स्टायटस आएपछि मिडिया दोषी छैन भन्ने लाइन देखियो।

लेख्नेले त लेख्दियो समाचार। समाचारको अङ्ग पुगेको छ भनिदियो, भयो। किनभने समाचारमा कोट गरिएको छ। ‘स्थानीयका अनुसार’ त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे लेखियो। ‘पछि पत्ता लागेअनुसार’ ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् लेखियो।

जसलाई मुछियो उसलाई कस्तो असर पर्‍यो त? एसपीका छोरा- फाइँफुइँ गर्ने भन्ठानेका थियौँ, भेट्दा त लुरे, अग्ले अनि ल्याङफ्याङे रहेछ। फोटोग्राफीमा एकदम रुचि। बिस्तारै फोटोग्राफीमा जमिरहेका रहेछन्। सिरिजका क्रममा हामीले पटक पटक भेट्यौँ, कुरा गर्‍यौँ, उनले गरेका कुरालाई भेरिफाइ गर्‍यौँ।

‘जबसम्म हत्यारा पत्ता लाग्दैनन्, तबसम्म शंकाको घेरामा तानिएका कसैलाई पनि अदालत बाहिरबाट पत्रकारले निर्दोषिताको प्रमाणपत्र दिन मिल्दैन’ भनेर अनलाइनखबरका सम्पादकले लेखेका छन्।

यो हामीले लेखेको सिरिजमा भएको हाम्रो निश्कर्ष प्रति नै लक्षित हो भन्ने मैले बुझेको छु। अब मेरो प्रश्न छ- त्यसो भए के शंकाको घेरामा तानिँदैमा पत्रकारले दोषीको प्रमाणपत्र चाहिँ दिन मिल्छ त?

दोषी नभए पनि तपाईँको समाचारले गर्दा कुनै व्यक्तिको जीवनमा कति असर पर्‍यो, उसले र उसको परिवारले के भन्दैछ? तपाईँ सुन्नु चाहनु हुन्छ?

सुन्नुस अडियो –

आज बिहान कुरा गर्दा मैले अनलाइनखबरका सम्पादकलाई के सोध्न चाहन्छौँ भनेँ। एसपी विष्टका छोरा किरणले भने, न्युज केको लागि लेखिन्छ? मान्छेहरुलाई भ्रममा पार्न?

बम दिदीबहिनीहरुको घरमा जान्छु भनेर तपाईँले लेख्नुभएको छ, तपाईँसँग के आधार छ? के सबुत छ? त्यसरी लेख्न पाइन्छ?

गल्ती लेख्नुभएको छ भने माफी माग्नु पर्दैन? म त्यतिबेला मेयरका भतिजलाई चिन्दा पनि चिन्दिनँ थिएँ।

भक्कानिएको स्वरमा उनले सोधेका छन्- तपाईँले यस्तो जेपिटी न्युज लेख्नुभएको छ, त्यसले हाम्रो जीवनमा के असर पार्‍यो तपाईँले फिल गर्नुभाछ?

माथिको अडियोमा उनले अरु धेरै कुरा पनि गरेका छन् सुन्नुहोला, ‘मेरो अवस्था धेरै नाजुक थियो, मैले आफूलाई कन्ट्रोल गर्न नसक्ने अवस्थामा पुगिसक्या थिएँ। बौलाइसकेको थिएँ एक हप्ता त।’

मिडियासँग सर्वसाधारण कतिसम्म डराएका रहेछन् भन्ने उनको यो भनाईले पनि पुष्टि हुन्छ- केस हाल्न सकिनँ। उनीहरुले अझै न्युज लेखे भने मेरो अझै बदनामी हुन्छ। म भन्दा धेरै पावरफूल हुनुहुन्छ उहाँहरु। न्युज जेपिटी लेखे पनि उनीहरुसँग अधिकार छ। उनीहरु धेरै ठूलो मान्छे, म कहाँ तलको भूइँको मान्छेले त सक्दैन।

त्यसैगरी त्यसमा उनकी दिदी पार्वती विष्टले समाचार छापिएपछि अनलाइनखबरको ल्यान्डलाइन नम्बरमा फोन गरेर हामी साथी बोलेको के आधारमा त्यस्तो समाचार छाप्नुभयो? हाम्रो पक्षको पनि कुरा लेखिदिए हुन्थ्यो भन्दा त्यहाँबाट कस्तो जवाफ आएको थियो, त्यो भनेकी छिन्।

‘तिमीले जे गरे पनि गर। मलाई लाग्दैन केही पनि कानुन भने। तपाईँहरुको पत्रकारहरुको के हुँदो रहेछ नि ठूलो महासंघ। त्यसमा जान्छ रे। अनि तिमीहरुको निवेदन पनि कसैले लिँदैन भने। हामीले अपराध महाशाखामा पनि उजुरी दिन खोजेको, कञ्चनपुर पुगेर निवेदन देऊ भने। त्यसले हामीलाई पूरै थर्कायो। हामीसँग स्रोत छ। त्यही भएर लेखेको रे। पत्रकार महासंघसँग हो तपाईँले डिल गर्ने रे।’

‘त्यो बेला त एकदम प्रतिकूल स्थिति थियो। भाइलाई त हामीले घरबाट निस्कन पनि दिएका थिएनौँ।’

महासंघले डिल गर्छ भने पछि उनले जसले डिल गर्ने भए पनि हाम्रो पक्षसँग कुरा सोध्नु पर्दैन भनेर याचना गर्दा हामीसँग प्रमाण छ त्यही भएर लेखेको भनेछन् फोनमा। ‘त्यो प्रुफ के हो देखाउनु न त भन्दा सम्बन्धित व्यक्ति आयो भने देखाइदिन्छौँ रे। अनि उसलाई मैले कसरी पठाउने त्यस्तो अवस्थामा?’

समाचारका गल्तीहरु

यो त भयो समाचारको एक अंशले पारेको असर बारे। अनलाइनखबरको यो समाचारमा अरु गल्ती छैन त?

छ।

के के छ?

पख्नुस् म देखाउँछु नि !

तल भएका बूँदाहरु मध्ये बोल्ड गरिएका वाक्य अनलाइनखबरले छापेको समाचार हो। मुनि हामीले यो सिरिज गर्ने क्रममा फेला पारेका तथ्य।

१.उनी आफ्नी आमालाई जानकारी गराएर साथी आँचल भनिने रोशनी बमको घरमा गएकी थिइन्।

-आमा बिहान ८ बजेतिर नै बनबासा गएकी थिइन् र दिदी मनिषा पन्त पनि साथी हेमन्ती भट्ट कहाँ गएकी थिईन । कान्छी बहिनी मात्र घरमा थिइन् निर्मला घर छोड्ने बेलामा।

२.जघन्य अपराधको घटना भएको तीन हप्तासम्म कञ्चनपुर जिल्ला प्रहरीले अपराधी पत्ता लगाउन तदरुकता देखाएन।

– कसरी तदारुकता देखाएन भन्ने? सामान्यतया सिआईबी भनेको स्थानीय प्रहरीले घटना समाधान गर्न नसकेपछि दुई तीन महिना पछि जाने गर्थ्यो र गएमा समेत प्राविधिक सहयोगको लागि बढीमा प्रहरी निरीक्षक खटाउँथ्यो। यसमा पिल्लर इन्चार्ज नै १३ गते खटाई अनुसन्धान गर्दै थियो । त्यसैले प्रहरी संगठन र सरकारले अत्यन्त गम्भीर ढंगले लिएको देखिन्छ यो केसलाई।

३. (दिलिपसिंह विष्टलाई अभियुक्त भनी सार्वजनिक गर्दा) निर्मलाकै परिवारले पनि पत्याएनन् । र, स्वतःस्फूर्त आन्दोलन चर्कियो।
-अहिले त आमाले पत्याइन् नि त ?? आमाको भिडियोहरु हेर्नुभयो होला।

४. निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन्। उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन।

-निर्मलाको कक्षा साथी निर्मला १३ वर्ष हुने  अनि रोशनी १८ ?? रोशनी केवल १४ वर्षकी थिइन् र त्यो घर भाडामा लगाउने गरी बनाइएको छैन। घटना हुनुको ५४ दिन अघिसम्म त्यो घरमा उनीहरुको दाजु भाउजु पनि बस्थे र त्यति बेला वरपर बसोबास गर्ने नातेदारको निगरानीमा बसेका थिए।

५. स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे ।

-न कोही घर वरपरका छिमेकीले त्यो कुरा भन्छन न अन्य स्थानीयले। बम दिदीबहिनीको मोबाइलको प्राविधिक अनुसन्धानबाट ती दुबै जना केटाहरुसँग सम्पर्क नभएको पुष्टि गरेको छ र त्यो दुई जना केटाहरु समेत एक अर्का लाई चिन्दैनन्।

६. स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रकरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४/२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ।

-शुरुमा प्रहरीले बम दिदीबहिनीलाई २ दिन प्रहरी हिरासतमा नै राख्यो (इस्यु उठने भए गैरकानुनी थुनिएको भन्ने सवाल उठनु पर्थ्यो। किनकि २४ घण्टा भन्दा राख्न नपाउनेमा ४८ घण्टा राखिएको थियो)। पछि प्रत्येक दिन बिहान ७ बजे प्रहरी कार्यालय आउने र बेलुका ८ बजेतिर घर छोड्ने गरेको थियो। पछि गएका प्रहरीले  थप १८ दिन प्रहरी हिरासतमा राखेरै अनुसन्धान गर्दा के निस्कियो त ??  उनीहरुको प्राविधिक अनुसन्धान (CDR, call wise location, i2, mobile digital forensic परीक्षण, दिदीको पोलिग्राफ टेष्ट र घर वरपर कहिले पत्रकार कहिले मानवअधिकारवादी कहिले के कहिले केको भेषमा ह्युमन इन्टेलिजेन्सद्वारा सूचना संकलन लगायतको पूर्ण अनुसन्धान सिआइबीको पहिलो टोलीले नै गरेको थियो।

७. त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो- घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।
-यो हल्ला मात्र थियो। किनकि कापी जति भिज्न पर्ने हो त्यो स्वभाविक रुपमा भिजेको पाइएको थियो। लेमिनेसन कभर भएको अनि रुखका हाङ्गाले छेलिएको भएर पनि लेमिनेसन भएको कभर भित्रसम्मका पाना सबै भिज्नु पर्ने जरुरी हुन्न।

८. निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् ।

-बम दिदी बहिनी निर्मला हाम्रो घरमा आएकै हैन भनेकी भए घटनास्थलमा भेटिएको अम्बा र बमको घरमा फलेको अम्बाको परिक्षण गरी त्यो भेटिएको अम्बा त्यही रुखको थियो कि थिएन भनी पुष्टि गर्न र यसरी अम्बा बम कै घरको भएको पुष्टि भएमा निर्मला त्यो घरमा आएको प्रमाणित गर्नु पर्थ्यो। तर यहाँ त्यो अवस्था थिएन। किनकी बम दिदी बहिनीले निर्मला घरमा आएको पहिल्यै स्वीकारेका थिए ।अम्बाको रुखमा झुन्ड्याएको भए घाँटीमा लिगाचर मार्क हुन्थ्यो जुन थिएन। रंग लगाएको भन्ने कुरा रवि लामिछानेले घरको भिडियो नै खिचेर देखाई प्रमाणित गरिदिएका थिए। रंग लगाइएको थिएन।

९. छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई ‘अब भोलि खोजौंला’ भन्ने जवाफ दियो । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्‍यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आर्तनादलाई खासै ध्यान दिएन ।

-छोरी नभेटेपछि लक्ष्मण भट्ट(रा.अ.को स्टाफ)छिमेकीले वडाको प्रहरी निरीक्षक जगदिश भट्ट लाई २ पटक जानकारी गराएको भनेका छन् र सालघारी चौकीमा राति करिब १२ बजे निर्मलाको आमा र लक्ष्मण भट्टसहित गएकोमा पानी परेको कारण १५/२० मिनेट रोकिएर अहिले राति भयो कहाँ खोज्न जाने हो र बरु भोलि बिहान चारै बजे खोज्न जानु पर्छ। तपाईँहरु पनि जानु पर्छ भनी प्रहरीलाई भनेको भनी लक्ष्मणले प्रहरी अनुसन्धानको क्रममा बताएका थिए। प्रहरी राति युनिफर्म लगाई तयार भएको थियो तर हामीले नै त्यस्तो सल्लाह गरी हामी पनि सुत्न गयौँ र प्रहरीलाई पनि रोक्यौँ भनी त्यति बेला लक्ष्मणले सिआईबी समेतको टोलीलाई बताएका थिए।

१०. निर्मलाकी आमा भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीका घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दाखेरि त्यहीबेलामा कसैले उखुबारीमा साइकल फेला परेको जानकारी दियो । प्रहरीको भनाइ अनुसार घाँस काट्न जानेले निर्मलाको साइकल र शव फेला पारेका हुन् ।

-घाँस काट्न जानेले हराएकै दिन १० गते साइकल देखेको कुरा पछि अनुसन्धानमा खुलेको हो । घाँसेले लाश भेटेको होइन।

११. त्यतिबेला बबिता बमले ‘उसोभए लास पनि त्यहीँ होला’ भनेको निर्मलाका परिवारको दाबी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरेको पीडित परिवारको भनाइ छ ।

-निर्मलाको छिमेकी रुपा कार्की (ब्युटी पार्लर संचालिका)ले त्यो दावी गरेको र सिआइबीले दुबै जनालाई सँगै राखी सोध्दा बबिताले इन्कार गरेको। सिआइबीसँग पनि स्वीकार गरेको भन्ने झुट हो।

१२. प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई पक्रेको थिएन ।
-शुरुमा दुई दिन हिरासतमा लिई पछि प्रत्येक दिन प्रहरी कार्यालयमा बिहान ७ देखि बेलुकी ८ बजेसम्म राखी अनुसन्धान गरेको थियो।

१३. केटीका बुबाआमासँग एसपी डिल्लीराज विष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ। बबिताकी आमासँग यसबारे कुरा गर्दा उनी ‘एसपी डिल्लीराज हाम्रा लागि भगवानसरह हुन्’ भन्छिन्।

-यो सब झुट हो । विष्ट र बमकी आमाको पूर्व चिनजान थिएन र उनले भगवान भनेकी पनि छैन। एसपीले सँधै थुन्न खोजे तर अनुसन्धान गर्ने टोलीले उनीहरुको विरुद्द कुनै तथ्य प्रमाण नभएकोले थुन्न सल्लाह नदिएका हुन्।

१४. तर, स्थानीयवासीहरु रुष्ट हुनुको कारण के छ भने यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका हुन सक्छ कि भन्ने आशंकाले काम गरेको देखिन्छ । तर, यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मेवारी उनैका काँधमा थियो, जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरवासी समक्ष प्रस्तुत गरे । न्याय माग्ने स्थानीयवासीमाथि गोली र लाठी बर्साए ।

-विष्ट दोषी भए उनलाई तानेको १० महिना बित्दा समेत किन हत्यारा पत्ता लागेन त अरु इमान्दार प्रहरीबाट ? प्रमाण नभएर अनुसन्धान नै नहुने भन्ने गलत हो। प्रमाण नभएको घटनामा समेत दोषी पत्ता लागेको अवस्था छ। प्रमाणले अनुसन्धानलाई पुष्टि मात्र गर्ने हो न कि प्रमाणले अनुसन्धान गर्ने।

१५. प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको ‘पागल’ मान्छे भनिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले के भनेको थियो भने विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्थ्यो, घरकै सदस्यलाई बलात्कार गर्न खोज्थ्यो । तर, यस्तो अभिव्यक्तिले प्रहरी झनै नैतिक संकटमा पर्‍यो । स्थानीयले प्रहरीको यो कार्यलाई ‘नाटकको संज्ञा’ दिए ।

-दिलिप कस्तो चरित्रको थिए भन्ने कुरा उसको भाउजु र भतिजी बुहारीसँग प्रहरीले लिएको गोप्य भिडियो हेरेमा प्रष्ट हुन्छ।

१६. पक्राउ परेका विष्टको घर रहेको वडा नं १८ खन्ना चाैराहमै पुगेर हामीले स्थानीयसँग बुझ्दाखेरि ती मानसिक सन्तुलन गुमाएका विष्ट त महिलामाथि आक्रमण गर्ने होइन कि महिलाहरु देख्दा बाटो छाडिदिने स्वाभावका रहेछन् । उनी महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने गर्दारहेछन् ।

-ऊ पागल हैन चलाख छ भन्ने स्थानीय छिमेकीले भनेको भिडियो समेत छ प्रहरी संग ।

१७. पक्राउ परेका विष्टले पहिले पनि भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाइ छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको स्थानीयले सुनाए । त्यसरी करिब ९ वर्ष जेल परेपछि उनको मानसिक सन्तुलन गसमेको स्थानीयले अनलाइनखबरकर्मीलाई सुनाए ।
-भिनाजु पर्ने नभई सहोदर कान्छो भिनाजु मारेका थिए। तीनै तहका अदालतमा उनले हत्या गरेको नै फैसला भएको छ। उनले हत्या गरेको साबिती बयानसमेत दिएका छन्। जेलबाट छुटेर आए पछि घरमा समेत हो मैले मारेको हुँ भनेर भनेको कुरा भाउजुले प्रहरीको गोप्य भिडियोमा खुलाएकी छिन्।

१८. तर, दिलिपसिंहका बुबाको भनाइ चाहिँ अलि बेग्लै छ । उनले हामीसँग गरेको दाबी के छ भने ८ कक्षामा पढ्दाखेरि उनलाई शिक्षकले निर्घात पिटेका थिए । त्यसपछि उपचारका लागि भारतको बरेलीमा लगिएको थियो । धेरै खर्च गरेर उपचार गर्दा पनि आफ्नो छोरो सञ्चो नभएको पिताको भनाइ छ ।

-ललिता भन्ने केटीलाई मन पराएको र बाटो छेकी समाउन जान थाले पछी उनका आफन्तले निर्घात कुटी प्रहरी केस समेत भएको र भारतमा बसी होटलमा भाँडा माझी केही बर्ष बिताएका थिए । घरको मानिसले हेला गर्ने खान नदिने र स्कुलजान समेत लाज हुने भएकोले समाजबाट बहिस्कृत भएर घर छोडी भौँतारिन बाध्य भएका थिए।

१९. भिडियो खिचेको छ भन्दै जाहेरी दिन परिवारलाई दबाव
भिडियो खिचेको भनेको कुरा सत्य हो । सबुत प्रमाण पेश गर्ने कानुनत अदालतमा हो भनेर प्रहरीले मिडियालाई समेत भिडियो देखाएनन् जुन कुरा प्रहरीलाई अभिशाप सिद्ध भो। भिडियो हेरे पछि निर्मलाकी आमाले आफूलाई दिलिप माथि शंका लाग्यो भनेर मुख खोलिन् तर अधिकारकर्मी र मिडियाले निर्मलाकी आमालाई १८ लाखमा छोरी बेची भन्ने निकृष्ट आरोप समेत लगाए। उनलाई टोलबाट निकाला गर्ने समेत भनियो। पीडितलाई उल्टै पीडा दिइयो।

समाचार त्यतिबेला पढ्दा र डेप्थ रिपोर्टिङका क्रममा भेटेका र भेरिफाइ गरेका तथ्यहरुबीच म आफूले यति धेरै अन्तर भेट्टाएँ। सामान्य रुपमा सल्टिन सक्ने यो केसलाई यति विधि गिजोलेर अनसल्भ्ड मिस्ट्री बनाउने काममा मैले मिडियाको पनि दोष देखेकै हुँ। त्यही अनुसार लेखेकै हुँ। यसलाई तथ्यगत रुपमा कसैले खण्डन गरे हुन्छ। मैले देखेको सत्य र अरुले देखेको सत्य फरक हुनसक्छ। अरुले लेखेको सत्यलाई म आफ्नो तथ्यसँग भिडाएर हेर्छु र म गलत रहे आफूलाई सच्याउनेछु।

अपडेट :
ब्लग प्रकाशित भएपछि अनलाइनखबरका सम्पादकको फेसबुक स्टायटस

11 comments to अनलाइनखबरका सम्पादकलाई पीडितको प्रश्न – ‘तपाईँले लेखेको जेपिटी न्युजले हाम्रो जीवनमा के असर पार्‍यो, फिल गर्नुभा छ?’

  • Dinesh Bhat

    उमेशजी ,तपाईको लेखाई र साहास को साथै निष्पक्षताको मनै देखी प्रशंसा गर्न चाहन्छु । तपाई को लेखले मिडिया पिडितहरु धेरैको उद्दार भएको छ जस्तो लाग्छ । यी नेपालका ठुला मिडिया भनौदाहरु खाली पैसो कमाउनको लागि नाना थरी समाचार लेख्छन । समाचार बाट त मानिसले धारणा बनाउछन तर यहाँ त समाचार आयो भने कई कति प्रतिशत सत्य होला यो समाचार भनेर पैला सोच्नु पर्छ । पत्रकारितामा तपाईको रिपोर्टिङ उत्कृष्ट छ किनकी तपाईको लेखमा तथ्य सहित प्रमाणित गरिएको हुन्छ । Please यस्तै सहि चमाचार बाट हामिलाई सुसुचित गराई राख्नु होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    मलाई पत्रकारिताको बारेमा केहि थाह छैन/ तापनि पत्रकारिताको अर्थ प्रमाणित सत्यलाई सार्वजनिक गर्नुनै पत्रकारिता हो जस्तो लाग्छ/ घटना समाजमै घट्छ र समाजको सबै कुना हाम्रो दुई आखाले देख्न सक्दैन/ हामि सिट कोहि बोलेको चिच्यायाको सुन्ने कान त् छ तर संगै बस्नेले सानो स्वरमा बोलेको त् सुन्न नसक्ने सुने पनि मस्तिस्कलाई बुझाउन सक्दैन/ सहि पत्रकारिता सबिअले सुन्न सक्ने आवाज बुलन्द गर्ने hearing aid पनि हो; तर मात्र कसैले माइकमा जे बोले तेसैलाई समाजको सबै कुना ठुलो स्वरमा गुञ्जाउने sound system होईन/

    हिजो को अवस्था अर्कै थियो/ तर आज नागरिक समाजनै अन्तिम अदालत हो पत्रकार त्यो अदालत मा पिडितको तरफ बात निशुल्क वकालत गर्ने अधिबक्ता हो; पीडकको तरफ शुल्क लियर अदालतमा आफ्नो जिव्रो को चटक देखायर प्रमाण धमिलो बनायर न्याय मुर्तिको आँखा पट्टि लगायर “के गर्ने मेरो पेसा यस्तो हो” भनेर पिडक बा अन्याईलाई उन्मुक्ति दिलाउने होईन/ तर पत्रकारिताको नाममा र सत्य्दर्पण हुनु पर्ने पत्र पत्रिका अनेकौं प्रश्न चिन्न लाग्दै आयको छ/ यहा बिडम्बना त् के हो भने हामि नेता फाल्न सक्छौं तर पत्रकार फाल्न सक्दैनौ; विकृत नै भय पनि असत्यको अवतार नै भय पनि/ त् पतुर पत्रकारिता र पतुर पत्रकार लाई के भन्ने “क्यान्सर लागेको काटेर मिल्काउन नसकिने ट्युमर?

    क्यान्सरको ट्युमर अनियन्त्रित ग्रन्थि हो/ यो जत्ति जत्ति फैलँदै जान्छ पिडा बढ्दै जान्छ/ सुरु सुरुमा पिडा नासक दवाई ले पिडा कम गराउन सक्छ तर पछि सक्दैन र क्यान्सरको रोगि अत्यन्त पिडा भोगेर ..हुन् बाध्य हुन्छ/ यहा निर क्यान्सरको ट्युमर जस्तै बन्ने कोहि कोहि पत्रकारले यो बुझ्नु पर्छ कि उसको कारणले जो मर्छ त्यो संगै उ पनि मर्छ/

    अन्तमा पतुरकारिता गैरजिम्मेवारी आदि सबै बात मुक्ति पिडितले हदै सम्मको छ्यतिपूर्ति पाउने कानुनले मात्रै दिलाउन सक्छ/ तर अफसोच यस्तो कानुन त् नेपालमा बन्दै बन्दैन किनभने बने अहिले का कोहि रहँदै रहँदैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shisir Sayami

    उमेशजी, अगाडी बढ्नुस सच्चा पत्रकारिताको ज्योति बालेर |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Anonymous

    म पत्रकार त हैन, तरपनि सानो हुदा देखिनै जन आस्था, ब्लग आएपछि तपाइको (ब्लगस्पोट* जनान्दोलन) देखिनै तपाइको समाचार हरु पढ्दै आइरहेको छु | (गार्हो भयो नेपालीम लेख्न 🙂 )

    aruna baral prati mero pani samman cha, uhako bichar haru pahile ma pani jana astha (Kishor Shrestha le samet bishwas garnu bhayeko byakti haru) mai ho kya re padhne, uhale onlinekhabara ma kaam garna thalnu bhaye dekhi onlinekhabar maile khubai padhna thale, uhale gangamaya ko barema garnu bhayeko reporting khubai achamma lagdo bhayeko thiyo (Gangamaya ko ghar mai gayera euta ekdamai ramro reporting garnu bhayeko thiyo, euta chuttai perception bata herna ko lagi), lageko thiyo uhale naya NGO, INGO haru ko paisa bagne bato banda garna lagnu bhayecha (tyo samachar maile 3 din pachi kahile bhetina, kasai sanga cha bhane malai LINK pathaidinu hola), testai gari Annapurna ma chhapiyeko Ambulance haruko biramai mathi ko dhanda pani delete bhayo. Tara aja samma pani maile kasaile kunai samchar bhanda kheri Mysansar ko kunai pani reporting haru banda bhayeko chaina, na ta kunai deleta nai bhayeko cha.

    Tapaile bhannu bhayeko jastai maile mero ghar ma sabai janalaia Bam did bahini ko ghar ma yesto bhako raicha ni ani tini haru ta yesto raicha ni bhanera samet sunako yaad cha malai. Tara aaja aayera (dherai pahile dekhi nai*) maile yesari patrakarita mathi biswas garnu nai galti ho ta jasto bhairaheko cha. Tyi andolan ko kram ma 1 jana balak ko jyan, ek jana talent bhai ahile samma paralyzed bhayera Tesaching hispital ma chhan, uniharu sabai jana Bam did bahini ko ghar mai gayera dhunga mudha garne bela ghaita ra mrityubaran gareka huun, tesko jimma line ki naline?? Onlinekhabar matra haina, tyo arko sampadak (PM ko Press kun chai k*****) lai pani yesko bhagidar banaunu parcha. Onlinekhabar jasto naam ma aaune kunai pani news authoritative huncha bhanera hamilai lageko huncha. Ma TV herera matra aaja samma news mathi biswas garne manche, tapai harule malai samet murga banako ho. Yo bishaya ma Onlinekhabar le jimmewarpan linai parcha jasto lagcha malai pani.

    Ahile ko lagi naam lukayera nai post garchu (email ID publish nagardinu hola).

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Sagar subedi (Austria)

    उमेश जी, तपाईंको पत्रकारिता गर्ने सैली बाट प्रभाबित छु , तपाईं भित्र नेपालको सच्चा पत्रकार भएको बुझेको छु , लागि पर्नुहोस् , नेपाली पत्रकारिता लाई सही दिशा तपाईंहरु जस्ताले नै दिन सक्छन , अन्लाइनखबर ब्यबसाहिक मेडिया हाउस बनेको छ , अहिले पैसा दिनुहोस् भोली समाचार तपाईंले भने जस्तै आउछ । नमस्कार

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • देबेन्द्र बश्नेत

    सालोक्यजी तपाई जति मेहनत र निस्पक्ष् भएर कुनै पनि कुराको गहिराईमा पुगेर समाचार लेख्ने र रिपोर्टिङ गर्ने कोहि पनि पत्रकार छैन जस्तो लाग्छ नेपालमा। ठुला भनिएका मिडिया ब्यापारी भैइसके। आफ्नो फाइदा हेरेर समाचार बनाउने र प्रकाशन गर्ने हुन यिनिहरुले। अनलाइन खबर को त के कुरा गर्नु , नकारात्मक र भड्काउ समाचार बाहेक केहि पनि पाउदिन म त। तेसैले हिम्मत नहार्नुस। आउने दिनमा पनि एस्तै एस्तै रिपोर्टिङ गर्दै जानुहोला। शुभकामना छ।

    मन परे हरियो नपरे रातो ! Thumb up 9 Thumb down 1

  • मैले पनि नेपाली मिडियाका कमजोरीबारे केही लेख्ने कोसिस गरेको छु । हेर्नुस् यो लिन्क
    https://sancharkendra.com/archives/44868

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 4

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)