यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

अनलाइन पत्रकारितामा अन्तर्क्रिया : मेरो थेसिस पढ्नुस् अथवा डाउनलोड गर्नुस्

सामाजिक सञ्जालमा मेरो मास्टर्स डिग्रीको थेसिसबारे कुरा उठाइएको पाएपछि आफ्नो थेसिस ५ वर्षपछि पल्टाएर हेरेँ। यो थेसिस गर्न निकै गाह्रो भएको थियो मलाई। अरुले कति छिट्टै थेसिस सकाउँथे। मलाई भने एकदम समय लाग्यो। थेसिस अहिले आएर पढ्दा निकै रोचक लाग्यो। अनलाइन पत्रकारितामा अहिले निकै परिवर्तन भइसक्यो। तर पनि त्यतिबेलाको अवस्था थाहा पाउनका लागि यो उपयोगी छ। आज आएर थेसिस पढ्दा यो आफू र विश्वविद्यालयमा मात्र सीमित नराखी सबैलाई सजिलै पढ्न दिँदा राम्रै हुने देखेँ। त्यसो त थेसिस गरिरहेका अरु विद्यार्थीहरुले यो माग्थे, मैले डिजिटल प्रति दिएर पठाउँथेँ। अब यही माइसंसारको लिङ्क पठाउँदा हुने। मलाई पनि सजिलो। धन्यवाद, मैले बिर्सिसकेको थेसिसबारे स्मरण गराइदिने महानुभावलाई। के थियो मेरो डिग्रीको थेसिसबारे उठाइएको प्रश्न पढ्न यो पुरानो ब्लगको लिङ्कमा क्लिक गरी अन्तिममा हेर्नुस्।

थेसिसको पिडिएफ भित्र राखेको छु। डेस्कटपमा हेरिरहनुभएको छ भने पेज नै खुल्नेछ। मोबाइलमा हो भने नखुल्न सक्छ। अर्को लिङ्कमा क्लिक गर्नुहोला।


माथिको पेजमा खुलेन भने यहाँ क्लिक गरी पिडिएफ डाउनलोड गर्नुस्।

एउटा सानो रोचक अंश भने यहाँ उद्धृत गर्न मन लाग्यो

अन्तर्क्रियाको नेपाली पाटो

सन् १९९३ मा नेपालमा निजी क्षेत्रबाट पहिलो पटक ब्रोडसिट दैनिक निस्कियो। त्यसको एक वर्षपछि अमेरिकामा भर्खर भर्खर इन्टरनेट लोकप्रिय हुँदै गर्दा नै नेपालमा मर्कन्टायल कम्युनिकेसन्स र तत्कालीन नेपाल राजकीय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (रोनास्ट) को सहकार्यमा इन्टरनेट भित्रिएको थियो (आचार्य, २००५)। यद्यपि त्यसको पहुँच सर्वसाधारणमाझ सहज रुपमा पुग्न भने अझै निकै समय लाग्यो। इन्टरनेट भौगोलिक सीमामा नबाँधिने भएकोले देश बाहिर रहेका नेपालीले सबैभन्दा पहिला अनलाइन मिडिया चलाए र अन्तर्क्रिया थाले।

अमेरिकाको युनिभर्सिटी अफ इलिनोयमा अध्ययनपछि त्यहीँको कम्प्युटर विभागमा काम गरिरहेका राजपाल जे सिंहले सन् १९९२ को अगस्तमा नेपालको पहिलो अनलाइन मिडिया द नेपाल डाइजेस्ट सुरु गरेका हुन् (सिंह, २०१३)। इन्टरनेटलाई व्यापक र सहज बनाउने डब्ल्युडब्ल्युडब्ल्युको विस्तार हुनुअघि नै सुरु भएको नेपाल डाइजेस्टमा नेपालसम्बन्धी समाचार, विचार संकलन र सम्पादन गरिएका हुन्थे। सूचिमा रहेका विश्वका विभिन्न कुनामा रहेका विशेषतः नेपाली विद्यार्थीहरुलाई इमेलबाट त्यो वितरण गरिन्थ्यो (तिवारी, २०१३)। सिंह अध्ययनरत युनिभर्सिटी अफ इलिनोय कै विद्यार्थीहरुले इन्टरनेटबाट अक्षर र ग्राफिक्स सरल रुपमा हेर्न सकिने विश्वकै पहिलो ब्राउजर मोजेक (Mosaic) बनाए। इन्टरनेटको द्रुततर विकासमा यसलाई कोशेढुङ्गा मानिन्छ। डब्ल्युडब्ल्युडब्ल्युको लोकप्रियतापछि नेपाल डाइजेस्ट इमेलबाहेक यसमा पनि उपलब्ध हुन थाल्यो nepal.org ठेगानामा।

युजनेट न्युजग्रुपमा अन्तर्क्रिया

मिडियाबाट अन्तर्क्रियाको सुरुवात नेपाल डाइजेस्टबाट भएको भए पनि नेपालीले कम्प्युटरको मद्धतबाट समाचार, विचार लगायतका विषयमा अन्तर्क्रिया त्योभन्दा अघि नै थालिसकेको देखिन्छ। इन्टरनेट लोकप्रिय हुनुअघि नै सन् १९८९ मा अमेरिकामा बस्ने केही नेपालीहरुले युजनेट मा नेपालसम्बन्धी छलफल गर्न soc.culture.nepal (एससिएन) न्युजग्रुप बनाएका थिए (मानन्धर, १९९६)। एससिएन एउटा अनमोडरेट न्युजग्रुप थियो, जसमा पठाइने सन्देश कसैले हेर्ने, सेन्सर गर्ने गरिँदैन थियो। यही न्युजग्रुपबाटै विदेशमा रहेका नेपालीहरुबीच नेपालको विषयमा पहिलो पटक सार्वजनिक अन्तर्क्रिया भएको हो। युजनेटका बढी प्रयोगमा आउने नौ श्रेणी मा soc पनि एक हो। सामाजिक छलफलका लागि यो श्रेणी विभाजन गरिएको हो। त्यसभित्र culture स‍ंस्कृतिसम्बन्धी छलफलका लागि गरिएको श्रेणी विभाजन हो भने योभित्र विभिन्न देशका नाम राखी त्यो देशसँग सम्बन्धित छलफल गरिन्छ। नेपाल सम्बन्धी छलफलका लागि soc. culture श्रेणीभित्र नेपाल कसले राखेको थियो भन्नेबारे कुनै जानकारी उपलब्ध छैन।

यस अध्ययनका लागि खोज गर्ने क्रममा सन् १९९० देखिका केही पोस्ट हरु भेटिए। तर त्यसमा सीमित अन्तर्क्रियामात्रै भएको देखिन्छ। यसैलाई लक्षित गर्दै एक विदेशीले लेखेका छन्-

यो जस्तो खाली न्युजग्रुप मैले अहिलेसम्म देखेको छैन। मलाई अचम्म लाग्छ, यो कसरी स्थापना भयो होला ! के नेपालको बारेमा थाहा पाउने नेपालीहरु नै प्रशस्त छैनन् ?? भएका केहीमा पनि नेपाल भ्रमणमा जान चाहने पश्चिमीहरु जानकारी मागिरहेका देखिन्छन् ! यो न्युजग्रुप बनाउने मान्छेले सुरु गर्दा यस्तो दिमागमा पक्कै सोचेका थिएनन् होला। यो न्युजग्रुपमा केही थप नेपाली लेखहरु हेर्न पाउँ साथीहरु। (विश्वनाथ, १९९१ को मे ७ मा एससिएनमा पोस्ट गरिएको)

त्यही पोस्टमा एक विदेशी र एक नेपालीले प्रतिक्रिया दिएका छन्। आफूलाई ‘हार्डकोर अलास्कन’ को रुपमा चिनाउने स्याँ पी. र्‍यानले नयाँ समूह बनिरहेका बेला भए सबैलाई ‘हुन्छ’ भनेर मत दिने लहर चलेको बेला यो समूह पनि बनेको हुनसक्ने अनुमान लगाएका छन्। सबैले आ-आफ्नो देशको नामबाट न्युजग्रुप चलाउन चाहेको भन्दै उनले यो समूहमा समष्टिमा दक्षिण एसियाको चासोका विषय पोस्ट हुने गरेको बताएका छन्। यो जस्तो कम ट्राफिक (गतिविधि कम हुने) समूहलाई एउटै दक्षिण एसियाको समूहमा गाभ्नुपर्ने सुझाव उनले दिएका छन्।

सोही पोस्टमा प्रतिक्रिया दिँदै सञ्जय मानन्धर लेख्छन्- ‘नेटको पहुँच भएका नेपाली पाउन गाह्रो छ। त्यसैले धेरै सहभागिता पश्चिमेलीहरुको छ।’ १९९१ को एउटा पोस्टमा मानन्धरले इलेक्ट्रोनिक ठेगाना (इमेल) भएका नेपाली विद्यार्थीको संख्या तीन दर्जनभन्दा बढी नरहेको बताएका छन्। त्यतिबेला अमेरिका मै पनि व्यक्तिगत प्रयोजनका लागि निजी इमेल सुरु भइसकेको थिएन। युनिभर्सिटीले उपलब्ध गराएको .edu ठेगाना भएको इमेलमा यो सर्कुलर हुन्थ्यो (तिवारी, २०१३)।

१९९० मा नारायण गोपालको मृत्यु भएको, अमेरिकाको बोस्टनमा नेपालीहरुले स्मृति सभा गरेको, नयाँ संविधान जारी भएको, भुटानमा नेपालीले आन्दोलन गरेको जस्ता सामाग्री पोस्ट भएका छन्, तर तिनमा अन्तर्क्रिया भएको देखिन्न।

१९९१ मा आम निर्वाचनमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई पराजित भएको र उनले राजीनामा दिएकोदेखि नेपालका विभिन्न निर्वाचन क्षेत्रमा कसले कति मत ल्याएकोसम्मका विवरण राखेको पाइन्छ। काँग्रेस नेतृत्वमा नयाँ सरकार बनेको, दशैँ कहिले ? लस एन्जलसमा नेपाली प्रतिनिधि मण्डल आउँदै गरेको, काठमाडौँ र पाटन जोड्ने बाग्मती पुल भत्किएको आदि विषयमा पोस्टहरु देखिएका छन् र यसमा सीमित अन्तर्क्रिया देखिन्छ।

एससिएनमा समाचार, विचारमात्र नभई हल्ला र अपुष्ट खबरहरुमा पनि अन्तर्क्रिया भएको देखिन्छ। १९९२ को अप्रिल १३ मा सुरेश ओझा सोध्छन्- ‘नेपाल सरकारले पश्चिम नेपालको एक भाग भारतलाई दिन लागेको सुनियो। यो जानकारी पुष्टि हुने वा खण्डन हुने कुनै जानकारी मैले भेटिनँ। कसैले यसबारे प्रकाश पार्न सक्नुहुन्छ कि?’

जवाफमा राजेन्द्र पी. श्रेष्ठले टनकपुर सन्धिलाई लिएर यस्तो भनिएको भन्दै राणा काल र पञ्चायत कालमा समेत त्यो ठाउँमा विवाद भएको ऐतिहासिक पृष्ठभूमि सम्झाएका छन्।

१९९२ मा नै तत्कालीन सरकारविरुद्ध विपक्षीहरुले चर्काएको आन्दोलन, नेपालको प्रजातन्त्रबारे पनि अन्तर्क्रिया भएका छन्। यही वर्षदेखि एससिएनको पहुँच धेरै नेपालीसम्म पुगेको अनुमान गर्न सकिने पोस्ट मुकुन्द एम अर्यालको पोस्टबाट देखिन्छ-

यो न्युजग्रुप आजभोलि धेरै उपयोगी हुँदैछ। अहिले धेरै पोस्टिङहरु देखिन्छ। तर पोस्टिङको संख्या भन्दा गुणस्तर बढी महत्त्वपूर्ण हुन्छ। अरु न्युजग्रुपभन्दा यो न्युजग्रुपका पोस्टिङको गुणस्तर धेरै राम्रो देखिन्छ। अर्को महत्त्वपूर्ण कुरा हामी बिना कुनै सेन्सरसिप आफ्ना विचारहरु स्वतन्त्र ढंगले राख्न सक्छौँ। सेन्सरसिप बिना सञ्चार नेपालमा एक दशकअघिसम्म चिताउन नसकिने कुरा थियो।…र यो सञ्चारको निःशुल्क साधन पनि हो। हामीले यसलाई दुरुपयोग गर्नु हुँदैन।… हामीले सेल्फ सेन्सरसिप गरेर हाम्रो मातृभूमिलाई चोट पर्ने कुनै पोस्टिङ गर्नु हुँदैन। (मुकुन्द एम अर्याल, १९९२, मार्च १० को पोस्टिङबाट)

यही वर्ष प्रयोगकर्ताहरुले विभिन्न समाचार एजेन्सीका समाचारलाई यो न्युजग्रुपमा पोस्ट गरेको देखिन्छ। एससिएन समाचार र विचारका लागि यति लोकप्रिय भयो कि द नेपाल डाइजेस्टले यसमा आएका सामाग्री संकलन गर्न एससिएन संवाददातासमेत घोषणा गरेको देखिन्छ।

2 comments to अनलाइन पत्रकारितामा अन्तर्क्रिया : मेरो थेसिस पढ्नुस् अथवा डाउनलोड गर्नुस्

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)