यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

‘अनुमानकारिता’ गर्दै राज्यकोषबाट वर्षमा तीन लाख १५ हजार बुझ्दै, वरिष्ठ पत्रकारलाई क्या हाइसञ्चो!

नेपालको पत्रकारिताको बेथितिको त के कुरा गर्नु। मूलधारको पत्रकारिताबाहेक यहाँ अर्को खालको पत्रकारिता पनि हुन्छ जसलाई ‘अनुमानकारिता’ भने फरक पर्दैन। कसैले फ्याट्ट के भन्दियो, पत्याइहाल्यो। फ्याक्ट चेक कसले गरिरहोस्, भेरिफिकेसनको दुःख कसले गरिरहोस्। कुर्सीमा बस्यो, अनुमान गर्दै लेख्न थाल्यो, शब्दजाल घुमायो- छापिदियो। पत्रकारिताको नाममा ‘अनुमानकारिता’ गर्ने यस्तो साप्ताहिक पत्रकारिता अझैसम्म कसरी टिकिरहेको छ भन्ने तपाईँलाई लाग्ला। किनभने विज्ञापनको भरमा बाँच्नु पर्ने व्यवसायिक पत्रकारिता त ओरालो लाग्ने क्रम सुरु भइरहेको संकेत देखिएको छ। यस्ता जेपिटी लेखेर अनुमानकारिता गर्ने पत्रिकाहरु टिक्नुको एउटा प्रमुख कारण हो- यसले सरकारबाट पाउने वार्षिक लाखौँ रकमको सहयोग। तपाईँलाई अचम्म लाग्छ होला, तपाईँले तिरेको करबाट उठेको रकमबाट बनेको राज्यकोषबाट यस्ता ‘अनुमानकारिता’ गर्नेलाई वार्षिक लाखौँको सहयोग हुन्छ भन्दा। तर कुरा साँचो हो।

सिद्धान्त त राम्रो हो हेर्नुस्। व्यवसायीहरुको विज्ञापन लियो भने उनीहरुबाट प्रभावित हुन्छन् मिडिया। त्यसैले सरकारले निष्पक्ष रुपमा पत्रकारिता गर्ने स्वतन्त्र मिडियालाई सहयोग गर्नुपर्छ।

सिद्धान्त यस्तो तर व्यवहारमा कस्तो भइरहेको छ हेर्नुस् त। यस्तो रकम लाने अधिकांश पत्रिकाहरु बजारमा देखा नै पर्दैनन्। अर्काबाट हुबहु सारेर पत्रिका निकाल्छन्। अहिले त अनलाइनबाट सर्लक्कै कपिपेस्ट गरेर पनि पत्रिका निकाल्छन्। दुःख केही गर्नु नपर्ने, कपिपेस्ट गर्‍यो, पत्रिका निकाल्यो, प्रेस काउन्सिलमा पठाएर वर्गीकरणमा पार्छन्। वर्गीकरणमा पार्नु भनेको के हो भन्ने लाग्ला तपाईँलाई। प्रेस काउन्सिलले कुन पत्रिका कस्तो हो भनेर छुट्याउने गर्छ। जस्तै क+, क, ख, ग, घ।

‘क’मा पर्‍यो भने सरकारले धेरै पैसा दिन्छ, ‘घ’ मा पर्‍यो भने थोरै।

कति पाउँछन् त पैसा सरकारबाट?

पख्नुस् न नआत्तिनुस्, म भन्छु नि।

अर्थात् क वर्गमा पर्ने दैनिकले महिनामा ३० हजार ६२५ पाउँछ भने घ वर्गकोले १३ हजार १२५। साप्ताहिकमा कवालाले २६ हजार २५० पाउँछन् भने घवालाले ६ हजार ५६२।

यस्तो रकम वीपी काेइराला प्रधानमन्त्री भएका बेला विक्रम संवत् २०१६ सालदेखि दिन थालिएको हो। यसलाई पन्चायत कालमा जारी राखियाे। त्यतिबेला आफ्नो पक्षमा लेख्नेलाई रकम बाँडिएको थियो। इतर पक्षका पत्रिका भने प्रकाशनै गर्न दिइन्न थियाे। बहुदल आएपछि, त्यसपछि लोकतन्त्र आइसकेपछि पनि पाएको रकम किन छाड्ने भन्ने मानसिकताले होला, हटेन। माथिको रकमको विवरण भर्खरैको लोककल्याणकारी विज्ञापन प्रकाशन, प्रसारण र रकम भुक्तानी गर्ने कार्यविधि (पहिलो संशोधन) २०७५ बाट लिइएको हो। पूरा कार्यविधि पढ्न यहाँ क्लिक गर्नुस्।

अलिकति आइडिया लगायो भने प्रशस्त पैसा कमाउन सकिन्छ। एउटा प्रेससित सम्पर्क राख्यो, धेरै पत्रिका पनि छाप्न परेन। कम्प्युटर सेटिङ मिलायो, चार पानाको पत्रिका छाप्यो, बुझाउनु पर्ने सरकारी निकायमा बुझायो, भइहाल्यो। वर्गीकरण अनुसारको पैसा पाइहालिन्छ। पोहोर भेटिएका एक महानुभावले आफूले चार वटासम्म पत्रिका निकालेर पैसा बुझेको बताएका थिए।

‘अनुमानकारिताको हद’

साँघु साप्ताहिक यस्तै एउटा ‘क’ वर्गमा पर्ने पत्रिका हो। अर्थात् यसले मासिक तपाईँ हामीले तिरेको करबाट बनेको राज्यकोषबाट २६ हजार २५० रुपैयाँ पाउँछ। एक वर्षको हिसाब गर्ने हो भने ३ लाख १५ हजार रुपैयाँ। यसका सम्पादक गोपाल बुढाथोकीलाई ‘वरिष्ठ पत्रकार’ भन्ने गरिन्छ। अनि उनी मिडियाले कतै फट्याइँ गर्‍यो कि गरेन? गरेको भए खबरदार भनी सचेत गराउने वा कारबाही गर्ने जिम्मा बोकेको नियमन गर्ने निकाय प्रेस काउन्सिलका सदस्य पनि हुन्।

सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले साँघु साप्ताहिकका सम्पादक प्रकाशकसमेत रहेका बुढाथोकीलाई मन्त्रीस्तरीय निर्णय गर्दै चार वर्षका लागि पोहोर सदस्य नियुक्त गर्दा अर्को साप्ताहिक पत्रिका घटना र विचारले लेखेको थियो– ‘उहाँको नियुक्तिलाई ‘राइट म्यान राइट प्लेस’ भनी स्वागत गर्दै मन्त्री बास्कोटाको समेत प्रशंसा गरिएको छ । पछिल्लो समय विभिन्न कारणले सुस्त रहेको ठानिएको काउन्सिलमा बुढाथोकीको नियुक्तिपछि सो निकायले चुस्त गति पक्रिने अपेक्षा गरिएको छ ।’

यो पत्रिका खासै पढिँदैन। हिजोको अंकमा आफ्नै बारे समाचार आएपछि भने हेरियो। अनि थाहा भयो- कति हचुवा अनुमानकारिता गरिँदो रहेछ वरिष्ठ पत्रकारको पत्रिकामा।

समाचार यस्तो छ हेर्नुस्-

उमेशले छाडे, अनिल तनावमा उपशीर्षकमा समाचारमा लेखिएको छ- अनलाइनखबर डट कममा आएको बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको समाचारको चिरफार गरी गलत समाचारले कसरी सामान्य नागरिक पीडित बन्छन् भन्ने कुरा पहिलो पोस्ट डटकमका सम्पादक उमेश श्रेष्ठले आफनो ब्लग माइसंसारमा चिरफार गरी अनलाइन खबरलाई गलत ठहर्‍याएपछि उनले जागिरबाट हात धोएका छन्।

यो लाइन ठीक छैन। निर्मला सिरिजको अन्तिम अंकमा  ‘पहिलोपोस्टबाट विदा लिएको छु’ लेखेर विदा भइसकेपछि मात्र माइसंसारमा अनलाइनखबरको समाचारको चिरफार गरिएको हो। त्यो पनि त्यहाँका सम्पादकले फेसबुकमा समाचारप्रति र व्यक्तिगत रुपमै लक्षित गरी लेख्न थालेपछि। माइसंसारमा लेखेका कारण पहिलोपोस्टको जागिरबाट हात धोएको भन्नु चाहिँ तथ्यभन्दा परको अनुमानकारिता मात्रै हो।

समाचारको अर्को लाइन पनि पूरै अनुमानकारिता हो-

त्यही समाचारलाई लिएर बिजमान्डू प्रालिका प्रमुख कार्यकारी अधिकृत ओम थापाले सातो लिएपछि उमेशले जागिरबाट हात धोएका हुन्।

सातो लिएको कुरा कि ओम थापालाई थाहा हुनुपर्छ कि मलाई। कि मैले उनको सातो लिएँ कि उनले मेरो सातो लिए। कसले कसको सातो लियौँ भनेर ओम थापा र म वरिष्ठ पत्रकारको समाचार पढेर चकित खाएका छौँ। सातो लिने र सातो खाने भनिएका दुवैलाई थाहा नभएको कुरामा कसले अनुमानकारिता गर्‍यो अचम्मै छ।

समाचारलाई लिएर ओम थापाले मेरो सातो लिएको चाहिँ होइन, समाचार पढेर चैँ सातो गएको हुनसक्छ। किनकि कसैलाई थाहै नदिई मैले निर्मला सिरिजको अन्तिम अंकको अन्त्यमा ‘योसँगै पहिलोपोस्टबाट विदा लिएको छु’ लेखेको थिएँ।

साँघुको यो अर्को लाइनले यो समाचार कसले लेख्न लगायो भन्ने हल्का अनुमान गर्न सकिन्छ-

त्यसो त पहिलो पोस्टमा बम बनाउने तरिका सिकाएको भनेर केही समयअघि पत्रकारिता क्षेत्रकै बदनाम तिनै उमेशले गराएको आरोप पनि उनीमाथि लागेको हो । 

नयाँ पत्रिका दैनिकले एएम पिएम सेटिङ नजान्दा विप्लव कार्यकर्ता आफै मर्ने गरी बम पड्किएको भनेर समाचार लेखेको थियो। हामीले सेनाका प्रवक्ता, माओवादी सशस्त्र द्व्न्द्वमा रहँदा बम बनाउनेहरु आदिलाई बुझ्दा त्यसो नभएको थाहा पायौँ। अनि समाचार लेख्यौँ- विप्लवको ‘सेना’ कमान्डरसहित चार जनाको विस्फोटमा कसरी मृत्यु भयो? के ‘टाइम बम’को टाइम मिलाउन नजानेकै हुन्?

त्यही समाचारको एउटा उपशीर्षक थियो- कसरी गरिन्छ प्रेसर कुकरबाट विस्फोट? त्यसमा क्यानडाको सिबिसी न्युजको एउटा ग्राफिक्स पनि हामीले हालेका थियौँ। त्यसमा बम बनाउने तरिका कतै थिएन।  यति लेखिएको थियो- प्रेसर कुकर बम बनाउँदा त्यसभित्र विस्फोटक पदार्थ राखिन्छ। प्रेसर कुकरको माथि ब्लास्टिङ क्याप राखिन्छ। अमेरिकाको होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टमा राखिएको जानकारी अनुसार घडी, मोबाइल आदिबाट विस्फोट ‘ट्रिगर’ गर्न सकिन्छ।

तर आफ्नो समाचार गलत देखिन गयो भनेर रिसाएकाहरुले समाचारको लिङ्क हैन स्क्रिनसट मात्र राखेर बम बनाउने तरिका सिकायो भन्दै हल्ला गर्न थाले।

त्यतिबेलै मैले फेसबुकमा लेखेको थिएँ- एएम पिएम बनाउन नजानेर विस्फोट भयो भन्ने कुरा आइरहँदा त्यो हुनसक्छ कि सक्दैन भनी विश्लेषण गर्ने क्रममा प्रेसर कुकर बम कस्तो हुन्छ र टाइमर कसरी फिट गरिन्छ लेखिएको हो। बम बनाउने प्रक्रिया लेख्यो भनी आलोचना गर्नेहरुले कि समाचार पढेका छैनन् कि पूर्वाग्रहग्रसित छन्। बम बनाउने जस्तो ज्यान जोखिममा राख्नुपर्ने कुरा पहिलोपोस्टको अनलाइन समाचार पढेर, सिकेर प्रयोग गर्छन् भनेर कोकोहोलो मच्चाउनुको नियत प्रष्टै देखिन्छ। उनीहरुलाई थाहा छैन भने पनि अब बुझ्नुपर्छ सैद्धान्तिक ज्ञान र त्यसको व्यवहारिक प्रयोगको अन्तर के हो भन्ने कुरा।

वरिष्ठ पत्रकारज्युलाई यो सब ब्याकग्राउन्ड किन चाहियो र, ठोक्दिए- पहिलोपोस्टमा बम बनाउने तरिका सिकाएको भनेर केही समयअघि पत्रकारिता क्षेत्रकै बदनाम तिनै उमेशले गराएको आरोप पनि उनीमाथि लागेको हो।

पत्रकारिता क्षेत्रकै बदनाम गराएँ रे मैले ! हजुर वरिष्ठ, हस्त नमस्ते बाहेक के भन्न सकिन्छ र !

अब अर्को वाक्य हेरौँ समाचारको-

बिजमान्डूका थापाको कनेक्सन अनलाईन खबरका धर्म भुसाल र नयाँ पत्रिकासँग विशेष प्रकारको रहेको चर्चा पत्रकारहरू गर्ने गर्दछन्। बिजमान्डू, अनलाईन खबर र नयाँ पत्रिकाबीच अघोषित कार्यगत एकता पनि देखिन्छ। त्यही एकतामा उमेशले कैंची चलाएपछि उमेशले पहिलोपोस्टबाट हात धुनु परेको हो। यतिबेला उमेश फुर्सदिला बनेर मिडिया हाउस घुमिरहेकाले पनि उक्त कुराको पुष्टि गरेको छ।

यो अघोषित कार्यगत एकताको कुरा चैँ बडा रमाइलो लाग्यो। बिजमान्डुका थापाको कनेक्सन अनलाइनखबरका धर्म भुसाल र नयाँ पत्रिकासँग विशेष प्रकारको रहेको पनि लेखिएको रहेछ। हामी चाहिँ यसरी हाँस्ने गर्थ्यौँ न्युजरुममा- बिजमान्डु र अनलाइनखबरको एकले अर्काको मान्छे नतान्ने नीति नेपाल र भारतको समानताको सन्धि जस्तो रहेछ। भारतले जति तोडे पनि हुने, नेपालले नतोड्ने। अनि म फुसर्दिला भएर मिडिया हाउसमा घुम्दा उनीहरुको अनुमानकारिता पुष्टि हुन्छ रे। गजब छ !

फेरि अर्को अनुमानकारिता लाइन यता रहेछ-

यद्यपि उनी कान्तिपुर अनलाइनमा जाने चर्चा पनि सुरु भएको छ ।

म आफैलाई थाहा नभएको चर्चा अनुमानकारिता गर्नेलाई हुने रहेछ।

समाचारको अर्को लाइन छ-
उता, नेपाल लाइभ, स्वास्थ्य खबर पत्रिकाका सम्पादक नारायण अमृतका कारण त्यसका अध्यक्ष अनिल न्यौपाने पनि तनाबमा रहेको बुझिएको छ।

के हो भनेर सोध्दा नारायण अमृतले जवाफ दिए- फिक्सन समाचारको पात्र भइयो यार।

सुधीर शर्माबारे भ्रम
समाचारको माथिल्लो अंशमा कान्तिपुरको सम्पादकबाट राजीनामा दिई बसेका सुधीर शर्माबारे पनि भ्रम छर्न खोजिएको छ। गएको हप्ता सुधीर शर्मासित कुराकानी गरेको थिएँ। त्यतिबेला म धेरै कुरामा प्रष्ट भइसकेको थिएँ।

समाचारमा लेखिएको छ-

सुधीर शर्माले ३५/४० करोडकोलगानीमा नयाँ अनलाइन खोल्न लागेको र त्यो टिममा शिव गाउँले र गोविन्द परियार रहने चर्चा छ भनेर अनुमानकारिता गरिएछ। गोविन्द परियार kathmandupress.com कसमस विश्वकर्मालाई प्रधान सम्पादक राखेर चलाइरहेका छन् भने त्यहाँ किन उनी जालान्?

अनि सुधीर शर्माको अनलाइनमा हिमाल साप्ताहिकका रामेश्वर बोहोराले कार्यकारी सम्पादकको जिम्मेवारी लिनेछन् भनेर पनि अर्को अनुमानकारिता गरिएछ।

सुधीर दाइले अस्तिको भेटमा भनेका थिए- अति भयो भने म त्यो अनलाइनमा संलग्न छैन भनेर सोसल मिडियामा नै लेखिदिन्छु भनेर उनीहरुलाई भनेको छु।

रामेश्वर बोहरा सम्पादक भएर जान लागेको मनोज पाण्डे (प्रधानमन्त्रीसँग लाइभ टक शो चलाउने) को अनलाइनमा हो। त्यसमा सुधीर शर्मा आवद्ध छैनन्। मैले अस्तिको कुराकानीमा बुझे अनुसार सुधीर शर्मा केही त गर्नुपर्छ भन्ने सोचमा छन्, तर अनलाइनै चलाउने वा यसरी नै चलाउने भन्ने टुङ्गो लागिसकेको छैन। अथवा मैले थाहा नपाएको पनि हुनसक्छु। तर रामेश्वर बोहोरा सम्पादक भएको अनलाइनमा सुधीर शर्मा संलग्न छैनन्, त्यो भने पक्का हो।

यति धेरै गल्ती भएको, अनुमानकारिता गरिएको समाचारको तथ्यबारे कसले खोज्ने? यसले फैलाउन खोजेका भ्रमबारे कसले चासो राख्ने? चासो राख्नुपर्ने नियामक निकाय प्रेस काउन्सिलकै बोर्डमा यसै पत्रिकाका सम्पादक तथा प्रकाशक सदस्य छन्। हामीले भन्न सक्ने एउटै वाक्य छ- जय होस् नेपाली पत्रकारिताको ! श्री पशुपतिनाथ*ले पत्रकारिताको रक्षा गरुन् !!

(*पशुपतिनाथको ठाउँमा धर्म निरपेक्ष देश भएकोले आफ्नो आफ्नो आस्थाको भगवानको नाम रिप्लेस गर्दा पनि हुन्छ)

अपडेट : यो ब्लग प्रकाशित भएपछि साँघु साप्ताहिकका सम्पादकले फेसबुकमा राखेका दुई प्रतिक्रिया-

15 comments to ‘अनुमानकारिता’ गर्दै राज्यकोषबाट वर्षमा तीन लाख १५ हजार बुझ्दै, वरिष्ठ पत्रकारलाई क्या हाइसञ्चो!

  • मुकेश यादव

    यो गोपाल बुढा ठोकी भनने ससुरो मधेसी जगत मा बहुत परिचित छ / मधेसी लाइ सिङ्गो नेपाल विरुद्ध भड काएर फेक न्युज संचालन करने सपना देखने यो ससुरो ले बारा पर्सा र जनकपुर समेत मा भडकाउन खोजेको थियो मानौं कि सबै मधेसी सिङ्गो नेपाल का विरोधी छन /

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Samsu

    साँघु साप्ताहिक वन्ने पत्रिका पनि छ र !!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • प्रविण

    मिडिया विधेयकको बिरोध त्यसै भएको होईन रहेछ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • तपाई बाहेक यो मुद्दाको उठान अरु कसैले गर्न सक्छ जस्तो लाग्दैन मलाई ! तपाईंका शत्रुहरु बढ्नेछन् l तपाई डराउनु हुन्न भन्ने पनि थाहा छ l शुभकामना छ l

    मन परे हरियो नपरे रातो ! Thumb up 2 Thumb down 0

  • Dhiraj

    पत्रकार र पत्रकारितालाइ ऐनामा उभ्याउन पर्छ/ तब मात्र ठीक हुन्छ /
    कमल थापाले १५ करोड रुपिया पत्रकारहरुलाइ ज्ञानेन्द्रको शासनकालमा दिए/ को हुन् ती पत्रकार हरु? नाउ खुलाउन थाले पछि नाङ्गो हुन्छ/ तर मूल कुरो के भने कोहि होला त्य्स्स्तो जसले खोजी गरेर ल्याउने ? माई संसारले नै यो गर्न सक्ला/
    ??

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Gyanendra Sharma

    यही गोपाल बुढाथोकीले एक पटक बिहे नै नभएका पत्रकारलाई डिभोर्स भएको भनेर फोटो छापेको थियो ।
    त्यसपछि उनको झाँको कसरी झारियो, थप कुरा थाहा पाउन हाल नेपालन्युजका सम्पादक सुन्दर खनालसित सम्पर्क राख्न सक्नुहुन्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Nabindra sharma

    साँघु कुन स्तरको पत्रिका भन्ने कुरा अचेलको पुस्ताले राम्रैसँग भेउ पाएका छन् । स्रोतका अनुसार भन्दै आफ्नो मनको कुरा लेख्‍न यिनीहरुलाई भन्दा बढी कसलाई आउँछ र । पत्रकारिताको बेसिक नर्म्स एन्ड भ्यालु समेत थाहा नभएकाहरु वरिष्ठ भइटोपलिन्छन् । हेरिरहनुस् यिनीहरुले पत्रकारलाई पेन्सन दिनु पर्ने प्लान लागू गराउन खोज्छन । एक नम्बरमा पाउने यिनी हरु नै हुन्ेवाला छ

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Prem

    I have been reading your blog since the Jana Andolan and I admire your objectivity and dedication for truth in disseminating the news. I wish Nepali media houses hired more people like you in their top positions. You have the writing style and the ability to present an unbiased, thorough analysis on any topic whether it is political, social, or cultural.

    You have helped us with the timely and true information during such times as the jana andolan and earthquake. I wish you all the best and we will continue to support you.

    (Sorry couldn’t type in Nepali on the phone)

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • रमन सुब्बा

    आज का अनुमान कारी फेक न्युज का सीर्जकहरु र नाङ्गो नाच गर्न माहिर धमला समेत का हजुरबाबु थिए कुनै जमानामा एक इन्दु कान्त नामक “पत्रकार” /

    पीत पत्रकारिता मा पी एच डी गरेका तर दस कक्ष्या फेल यिनी इन्दु जी आफुलाई पिएचडी डक्टर र वकिल समेत भएको धमास दिन्थे सबै लाइ र अनेक देश का दुतावास मा आफ्नो पहुँच भएको र विदेश पढ्ने छात्रवृत्ति मिलाई दिन्छु भनी अनेकन विद्यार्थी हरुका बाबु आमा संग लाखौं रकम ठग्ने गर्थे /

    के गरुन इ इन्दु जी / श्रीमती लाइ समेत छकाएर अर्की स्वास्नी राखेका थिए / बाहिर र होटेल मा मोजमस्ती गर्ने महँगो आदत र दुइटी श्रीमती पाल्ने खर्च ठगी बाहेक अरु के ले बेहोरुन त यी शर्मा जी ?

    लुट्न सम्म लुटे इ इन्दु कान्त जी ले / अब त बुढा पनि भए होला कि खुस्कि सके कुन्नि / बीच बीच मा ठगिएका हरुको राम चुटाइ पनि खाए र जेल पनि चलन गरिए इनी तर ठगी गर्ने बानि भने अजि पनि गएको छैन होला इ बुढा को

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • देबेन्द्र बश्नेत

    उमेशजी , अब मिडियाको गलत समाचार चिरफार गर्ने एउटा अनलाइन साइट चलाउन पर्यो तपाईंले। दैनिक विभिन्न पत्रपत्रिका तथा रेडियो टिभीको गलत समाचारको चिरफार गरे कसो होला ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 1

  • Sujit Shakya

    शंकर मित्र ले भन्नु भएको कुरा मा केहि सत्यता छ / हुन पनि पंचायत काल मा गर्नु पांडे पजनी हुने गर्दथ्यो / हुन् पनि एउटा पच्चीस बर्स को पांडे लाइ देश को सबैभन्दा ठुलो सिमेन्ट कारखाना को महाप्रबन्धक बनाइयो यस्तै पांडे पजनी बाट / पादरी को चाकडी गरेर अनुदान प्राप्त गरेर भर्खरै अमेरिका बाट पढाई सिद्धयाएर आएका र एक हप्ता को समेत अनुभव नभएका र चिरन थापा को आशिर्वाद पाएका इ टुप्पो बाट पलाएका घोर घमण्डी पांडे को पंचायत को अवसान पछि के हविगत भयो त्यो त जानिफकार गरु लाइ थाहै छ /

    शायद शंकर ज्यु ले यसै लाइ “बिज बोये बिस का तो फल काहे का होए” को reference दिनु भएको होला

    आज प्रचण्ड र ओली को आशिर्वाद चल्छ / चिरन थापा त उहिले का मानिस खुइली सके / भोलि प्रचण्ड र ओली को आशिर्वाद खुइलिन्छ र नया छोटा राजा अउने छन /

    यसतै रहेछ यहाँ को चलन …….यादव खरेल रचित पुरानो गित को पो याद आयो

    अब सितार बजाउने बस्ने , किन टाउको दुखाउने

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Gyan

    करिब नौ दश बर्ष देखि समयले भ्याए सम्म माइ संसार को हरेक अंक हेर्दै पढ्दै आइरहेको छु / पत्रकारिता क्षेत्रमा उहाले गर्ने मेहेनतको तारिफ जति गरेपनि कम नै हुन्छ / नेपाली पत्रकारिता जगतले भविस्यमा मुल्यांकन गर्ला नै / समग्रमा: उमेश जी हिम्मतिलो मान्छे हो /

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • ashok sharma

    यस्तै अन्टसन्ट लेखेर लुट्ने झोलेहरु पत्रकारिता आफ्नो बाउको बिर्ता मान्छन् । अरुको उतार्नी लतार्नी गरेर भुँडी भर्ने बज्र स्वाँठहरुको रजगज छ पत्रकारितामा । यस्ताहरुको अब यसरी नै चिरफार गर्नुपर्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    यो गलत समाचार दिने , भ्रम छर्ने , अरुलाई बद्नाम गराउने पंचायत काल देखिकै अझ भनौ नेपालि राजनीतिको पुरानो चलनै हो |
    भण्डाफोर भन्ने पुस्तिका निकालेर बिरेन्द्र, धिरेन्द्र, पम्फादेबी भन्दै जथाभाबी गलत र भ्रामक प्रचार गरेका थे यी आज बरिस्ट हुने हरु सायद तिनै होलान कि | बिज बोये बिस का तो फल काहे का होए |

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Sonu

    Nice

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1