यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

थालमा खाना हैन विष : तरकारी र फलफूलमा विषादी कसरी आउँछ? कसरी पत्ता लगाइन्छ?


-डा. लेखनाथ काफ्ले
नेशनल पिङडोङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी, ताइवान

अहिलेभन्दा लगभग ५ वर्ष पहिले पनि काठमाण्डौलाई विषको लहरले यसरी नै पोलेको थियो । प्रमुख पत्रपत्रिका, टिभी र एफएम समाचारहरूमा कृषि मन्त्रालयको द्रुत विषादी अवशेष विश्लेषण इकाईको रिपोर्ट महत्वकासाथ प्रकाशन/प्रसारण भइरहेका थिए । त्यति बेला नेपाल भित्रका तरकारी र फलफूलहरुमा भेटिएका विषादीका मात्राहरूको बारेमा चर्चा चलेको थियो । अहिले भने भारत लगायत अन्य देशबाट आउने तरकारी, फलफुल र अन्य खाद्यसामाग्रीहरुको विषादीको परीक्षण गर्ने र नगर्ने सरकारका निर्णयहरूका कारण भइरहेको छ । द्रुत विषादी अवशेष विश्लेषण इकाईले त्यति बेला कालिमाटी र केही अन्य ठाउँका तरकारी र फलफूलहरुको नमुना लिएर गरेको परीक्षणमा गोलभेँडा, आलु, बोडी, भन्टा, भेडेखुर्सानी, पिरो खुर्सानी, हात्तीसुढे खुर्सानी, पालुङ्गो, काउली, गाँजर, गोलभेँडा, प्याज, साग जस्ता तरकारीहरू र केरा र लिची जस्ता फलहरूमा घातक विषहरू मानव उपभोगको लागि स्वीकार गर्न निर्धारित गरिएको मात्रा (Inhibition ratio वा रोकावट प्रतिशत: ३५%) भन्दा धेरै भेटिएका थिए । यो मात्रा ३५-४५% भयो भने त्यस्ता फलफुल-तरकारीहरूलाई तीन दिनसम्म फ्रिजमा (३-४°C) राखेर मात्र खाने र ४५% भन्दा धेरै भएमा त त्यस्ता उत्पादनहरू पूर्ण रूपमा नष्ट नै गर्नु पर्ने नेपाल सरकारको मापदण्ड छ । नेपालमा विषादीको अन्धाधुन्ध प्रयोग हुन्छ भन्ने त थाहा थियो तर त्यस्तो भयानक अवस्था छ भन्ने थाहा थिएन । नेपाली हामीहरू त छाकैपिच्छे खाना होइन थालमा विष पस्किरहेका छौँ ।

तरकारी फलफूल आदिमा विष कसरी आउँछ ?
प्लान्ट क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको यही असारमा अपडेट गरिएको वेबसाइटको जनाकारी अनुसार नेपालमा हालसम्म १३९ समूहका २५७६ प्रकारका विषादीहरू १२८८७ खुद्रा बिक्री केन्द्रबाट ११९०८ स्थानका भण्डारणहरूबाट बिक्री वितरण र प्रयोगको गर्नको लागि दर्ता गरिएका छन् । नेपाल सरकारले १६ थरी घातक विषादीहरूको बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाए पनि ती अहिले पनि बिक्री वितरण भइरहेका छन् । खुल्ला सिमानाका कारण भारतबाट दर्ता नभएका अनेक थरी विषादीहरू पनि नेपाल भित्रिन्छन् । जनस्वास्थ्यमा गम्भीर असर पार्ने क्लोरडेन, डाइलड्रिन, अलड्रिन, मिरेक्स, फोसफामिडन जस्ता प्रतिबन्धित विषादीहरू केही किसानहरूले प्रयोग गरिरहेछन् भन्ने आशङ्का छ । चाँडो रोग किरा नियन्त्रण गर्न, फलफूललाई आकर्षक बनाउन, छिट्टै र धेरै फलाउन किसानहरूले घातक र प्रतिबन्धित विषादीहरूको प्रयोग गर्दछन् । सिफारिस गरिएको भन्दा धेरै विष किसानहरूले माटो वा बोट बिरुवामा धुलो, दाना वा झोलका रूपमा हालेमा वा विषादी प्रयोग गरिसकेपछि तोकिएको अवधि नपर्खी बजार पुर्‍याउँदा फलफुल, तरकारीमा रहेको विषादीको अवशेष हाम्रो थालमा आइपुग्छ । त्यसबाहेक किसानहरूले सबै राम्रोसँग प्रयोग गरे पनि बिचौलियाहरूले भण्डारण वा ढुवानी गर्दा वा बिक्रेताले पनि लामो समय भण्डारण गर्न वा आकर्षक र ताजा देखाउन पनि विषादीको प्रयोग गर्दछन् । त्यो पनि उपभोक्ताहरू कै भान्सामा आइपुग्ने हो ।

विषादीका अवशेषहरू कसरी पत्ता लगाइन्छ ?
विषादीका अवशेषहरू पत्ता लगाउने धेरै विधिहरू छन् जस्तै Gas Chromatography (GC), High Performance Liquid Chromatography (HPLC), GC-MS, LC-MS आदि । तथापि ती सबैमा अति संवेदनशील औजार, मिसनरी र प्रशिक्षित जनशक्तिको आवश्यकता हुने, नतिजा पाप्त हुन लामो समय लाग्ने र महँगो पनि हुने हुनाले ती विधिहरू रासायनिक अनुसन्धानहरूमा मात्रै प्रयोग गरिन्छन् । दैनिक प्रयोग हुने तरकारी, फलफूलमा भएका विषादीका अवशेषहरू छोटो समयमा, थोरै लागतमा र सजिलै पत्ता लगाउन प्रयोग गरिने हालसम्मकै सबैभन्दा भरपर्दो विधि नै द्रुत विषादी अवशेष विश्लेषण (Rapid Bioassay of Pesticide Residue – RBPR) हो, जुन कृषि मन्त्रालयले देशका केही स्थानहरूमा प्रयोगशाला स्थापना गरी विषादी परीक्षणको लागि प्रयोगमा ल्याएको छ तर केही प्रयोगशालाहरू भने आवश्यक बजेट, प्राविधिक र सुविधाको अभावमा निष्क्रिय छन् ।

द्रुत विषादी अवशेष विश्लेषण के हो ?
यो विधिमा प्रयोग हुने एक किसिमको इन्जाइम (Acetylcholinesterase, AChE) झिँगाको (Musca domestica) मस्तिष्कबाट सङ्कलन गरिन्छ । ताइवानको सरकारी संस्था ताइवान कृषि अनुसन्धान प्रतिष्ठानले उक्त इन्जाइम (AChE) लाई सन् १९८२ सफलतापूर्वक प्रशोधन गर्‍यो । त्यसपछि अर्गानो फोस्फेट र कार्बामेट समूहका विषादीहरूको अवशेष पत्ता लगाउन उक्त प्रतिष्ठानले आफ्नो प्रयोगशालामा थप २ वर्ष अनुसन्धान र प्रविधि परिमार्जन गरिसकेपछि १९८५ मा पहिलो पटक शिलो तरकारी होलसेल बजारमा द्रुत विषादी अवशेष विश्लेषण केन्द्र स्थापना गर्‍यो । उक्त केन्द्रमा विषादी अवशेष विश्लेषण गर्ने क्रममा आएका समस्याहरूलाई समाधान गर्दै जाँदा थप प्रविधिहरू पनि थपिँदै गए । तर पनि त्यसबेलासम्म बालिबिरुवामा लाग्ने रोगको नियन्त्रण गर्ने प्रयोग गरिने ढुशिनासक र एन्टिबायोटिकहरु RBPR ले छुट्टाउन सक्ने भैसकेको थिएन । सात वर्षको लगातार प्रयास पश्चात् Bacillus thuringiensis (Bt) ब्याक्टेरियामा पाइने एक किसिमको रसायन प्रयोग गरी गरिएको परीक्षणले तरकारी, फलफूलमा रहेका ढुशिनासकहरू र एन्टीबायोटिक्सहरूको अवशेषलाई पनि सजिलै पत्ता लगाउन सक्यो । त्यसपश्चात् सन् १८८९ मा RBPR लाई कीटनाशक मात्रै नभई ढुशिनासक र एन्टीबायोटिक्सहरूको अवशेष पनि पत्ता लगाउन सक्ने गरी ताइवान कृषि अनुसन्धान प्रतिष्ठानले परिमार्जन गर्‍यो । RBPR प्रविधि ताइवानले आफै खोज र विकास गरेको प्रविधि हो । अन्य प्रविधिहरूमा जस्तै बायोटेक्नोलोजीमा पनि ताइवानले प्रविधि विकास र प्रसारमा ठुलो सफलता प्राप्त गरिरहेको छ ।

संसारमा कहाँकहाँ प्रयोग गरिन्छ यो प्रविधि ?
नेपाल भन्दा चार गुणा सानो क्षेत्रफ़ल र १.३ गुणा थोरै जनसङ्ख्या भएको ताइवान टापुभरि अहिले ३०० वटा RBPR केन्द्रहरू स्थापना गरिएका छन् । ती केन्द्रहरू तरकारी, फलफुल उत्पादक किसानका समूह, सहकारी, सुपर मार्केट, होलसेल बजार, सुरक्षा निकाय, बिदद्यालय र अन्य निजी कम्पनीहरूमा स्थापना गरिएका छन् । तिनीहरू तिनै निकायले आफ्नै खर्चमा चलाएका छन् । सरकारले त्यसमा लगानी वा अनुदान दिँदैन । सुपर मार्केटहरूमा RBPR परीक्षण पास भएका तरकारी, फलफूल मात्रै बेच्ने ताइवान पहिलो देश हो । एक वर्षमा ताइवानमा कम्तीमा पनि ५ लाख नमुनाहरू परीक्षण गर्ने गरिएको छ ।

यो प्रविधिलाई सन् १९९४ देखि कोरिया, भियतनाम, थाइल्याण्ड, लाओस्, फिलिपिन्सका कृषि प्राविधिकहरूलाई तालिम दिएर अन्तर्राष्ट्रिय स्तरमा लैजान थालिएको हो । कोरियाले सन् १९९६ मा औपचारिकरुपमा यो प्रविधिलाई भित्र्यायो भने सन् १९९८ बाट कोरियाका हुन्डाई, शिन्सगे, सामसुङ आदि कम्पनीहरू आफ्ना सुपर मार्केट चेनहरूमा यो प्रविधि प्रयोग गरी ताइवानपछि सबैभन्दा धेरै RBPR परीक्षण पास भएका तरकारी, फलफुल मात्रै बेच्ने दोस्रो देश बन्यो । भियतनामले सन् १९९७ मा यो प्रविधि भित्र्याए पनि ताइवान र कोरियामा जस्तो व्यापक प्रयोग भने गरेको छैन । सन् २००४ मा दक्षिण अमेरिकी राष्ट्र पानामाले पनि यो प्रविधि भित्र्याएको छ । त्यसबाहेक भारतले पनि आफ्ना कृषि प्राविधिकहरूलाई तालिमको लागि ताइवान पठाएर यो प्रविधि प्रयोग गरेको छ तर व्यापकरुपमा तरकारी र फलफूलहरु बजारमा विषादीको परीक्षण गरेको छैन । उनीहरू पनि प्रक्रियामा छन् भन्ने सुनिएको छ । नेपालमा सन् २०१४ बाट यो प्रविधि सिमितरुपमा प्रयोग गरिएको छ । त्यस्तै सन् १९९८ मा चीनले ताइवानका RBPR प्रविधि वैज्ञानिकलाई लगेर यो प्रविधिको बारेमा आफ्ना वैज्ञानिकहरूलाई प्रशिक्षण दिन लगायो । अनि चीनले त्यस्तै किसिमको आफ्नै संस्करणको विकास गरी सन् २००३ बाट विभिन्न स्थानहरूमा परीक्षण केन्द्र स्थापना गरी विषादी अवशेषहरूको परीक्षण गर्ने कार्य गरिरहेको छ ।

यो प्रविधि कत्तिको भरपर्दो र कुशल छ ?

यो प्रविधिले ५-६ घण्टामा ५० वटा नमुना परीक्षण गर्न सक्छ त्यो पनि मात्रै दुई जना प्राविधिकहरूको संलग्नतामा । सबैभन्दा छिटो १० मिनेटमै यस प्रविधिद्वारा विषादीको अवशेष परीक्षण गर्न सकिन्छ । तर पनि यस प्रविधिका केही सिमितताहरु पनि छन् । जस्तो कि अर्गानो फोस्फेट वा कार्बामेट समूहभित्र धेरै प्रकारका विषादीहरू हुन्छन् तर यसले अवशेष पत्ता लगाउँदा अर्गानो फोस्फेट वा कार्बामेट समूहभित्रको कुन विषादीको मात्रा कति छ भनेर भन्न सक्दैन । तर ती दुवै समूहभित्र पर्ने जुनसुकै विषादीहरूको पनि अवशेषको मात्रा भने ठ्याक्कै पत्ता लगाउँछ । उदाहरणको लागि मालाथिओन र फोरेट दुवै अर्गानो फोस्फेट समूहका कीटनाशक विषादी हुन् । दुवै मानिस र अन्य जीवहरूको लागि निकै घातक हुन्छन् र नेपालमा प्रयोग भइरहेका छन् । तरकारी, फलफूलमा तिनीहरूको अवशेष परीक्षण गर्दा मालाथिओन वा फोरेटको अवशेष यति भनेर आउँदैन तर ती दुवै एउटै समूहभित्र पर्ने भएकोले दुवैको संयुक्तरुपमा अर्गानो फोस्फेट समूहका विषादीहरूको अवशेष यति भनेर आउँछ । अर्को समूह वा रोगनाशक विषादीको पनि कुरा त्यही नै हो । अनुसन्धानकर्ताहरूलाई विषादी र मात्रा चाहिए पनि उपभोक्ताहरूको स्वास्थ्यको हिसाबले कुन उत्पादन स्वस्थ छ र कुन विषालु छ भन्ने थाहा पाए पुग्ने र प्रविधिलाई सजिलो र छरितो बनाई १० मिनेटमै खान हुने र नहुने पत्ता लगाई जनताको स्वास्थ्यको हेरविचार गर्ने मूल उदेश्यकासाथ प्रविधिको विकास गरिएकोले यो पक्ष पनि सिमितता भन्दा सबल पक्ष नै मान्नु पर्दछ । यो प्रविधि आजसम्म उपलब्ध यस्तै प्रविधिहरू मध्ये सबैभन्दा सस्तो, छिटो, सजिलो र प्रभावकारी प्रविधि हो ।

RBPR परीक्षणले अर्गानो फोस्फेट र कार्बामेट समूहका विषादीहरू, Bacillus thuringiensis, Antibiotics, Captan, Folpet, TPTA (Triphenyltin acetate), Chlorothalonil लगायतका विषादीहरूको अवशेष पत्ता लगाउन प्रयोग गरिन्छ । यसरी RBPR परीक्षण मार्फत हाम्रो बजारमा आउने तरकारी र फलफूलहरुमा प्रयोग गरिने अनुमानित लगभग ८०-९०% विषादीहरूको अवशेष पत्ता लगाउन सकिन्छ । त्यस्तै Dimethomorph र Tebuconazole जस्ता ढुशिनाशक तथा Chlorfenapyr, Fipronyl र Acetamiprid जस्ता कीटनाशकहरूको परीक्षण गर्ने सरल विधि पनि ताइवान मै विकास र प्रयोग भइरहेका छन्, जुन RBPR परीक्षणले गर्न सक्दैन । तिनीहरूको परीक्षण गर्ने हो भने छुट्टै परीक्षण सामाग्रीहरू चाहन्छ तर तिनीहरू पनि RBPR जस्तै सजिला, छिटा र सस्ता छन् ।

आर्थिक पक्ष र व्यवस्थापन
यो प्रविधिको सबल पक्ष भनेकै सस्तो, छरितो र भरपर्दो हुनु हो । एउटा कृषि प्राविधिकले एक साताको तालिमले RBPR प्रविधि सिक्न सक्दछ । त्यो त्यस्तो कठिन प्रविधि होइन । एउटा नमुनाको लागि मात्र १० मिनेट समय र १ अमेरिकन डलर खर्च पर्न आउँछ । यो प्रविधि GC, HPLC, GC-MS, LC-MS आदि प्रविधि भन्दा धेरै गुणा सस्तो पर्दछ । यो प्रविधि प्रयोग गर्दा ताइवानलाई कुनै पनि रोयल्टी वा शुल्क तिर्नु पर्दैन तर यसमा प्रयोग हुने इन्जाइम आफैले उत्पादन गर्न नसकेमा भने इन्जाइम उनीहरूबाट नै किन्नु पर्ने हुनसक्छ किनभने अरू कुनै पनि देश वा कम्पनीले उनीहरूको जत्तिको गुणस्तरीय इन्जाइम उत्पादन गर्न सकेका छैनन् । ताइवानमा यो प्रविधिको खर्च किसानहरूले नै तिर्नुपर्ने भएकोले सरकारलाई थप भार पनि पर्दैन । किसानहरूले आफ्नो उत्पादन टिप्नुभन्दा पहिले नै परीक्षण गरेर कति दिनपछि टिप्दा विषादीहरूको अवशेष ठिक ठाउँमा आउँछ त्यसको योजना बनाउँछन् । टिपी सकेपछि पनि कुनै उत्पादनमा विषादीको मात्रा तोकिएको भन्दा धेरै पाइएमा त्यसलाई नष्ट गर्दछन् । त्यसो गर्दा सरकारले उनीहरूलाई गर्ने ठुलो दण्ड-जरिवानाबाट बच्न सक्छन् । नेपालमा पनि कृषकहरूले सहकारी वा समूह बनाएर परीक्षण केन्द्र स्थापना गरेमा आफ्नो व्यवसायलाई नै फाइदा हुन सक्दछ । व्यवशायिक खेती गर्ने किसानहरूलाई सरकारले तालिम, सामाग्रीमा कर छुट, अनुदान, सहुलियत आदि दिनु पर्दछ ।


तत्कालै नेपालमा किसान र सरकारले के के गर्ने ?
किसानले सकेसम्म विषादीको प्रयोग नै नगर्ने र यदि प्रयोग नै गर्नु नै पर्ने भएमा घातक र प्रतिबन्धित विषादीहरूको प्रयोग गर्नु हुँदैन । प्रयोग गर्दा पनि किसानले चाहिने मात्रा भन्दा बढी कुनै पनि विषादीको प्रयोग गर्दै नगर्ने र विषादीलाई औषधि हैन की विष भनेर बुझ्नुपर्छ । हरेक विषादी प्रयोग गरेपछि टिप्नु भन्दा पहिले कति दिन पर्खनु पर्ने हो, त्यसको एकदमै विचार गर्नु पर्दछ । हाम्रा कतिपय किसानहरूले भोलि बजार लैजाने तरकारीहरूमा आजसम्म पनि विषादी हालिरहेका हुन्छन् । त्यो त पैसाको नाश र उपभोक्ताको स्वास्थ्यको क्षति मात्रै हो । अहिले अर्गानो फोस्फेट वा कार्बामेट समूहका भन्दा सुरक्षित र कम घातक विषादीहरू बजारमा पाइन्छन् । कतिपय विषादीहरू त यति सुरक्षित हुन्छन् कि मान्छेलाई पर्ने नकारात्मक असर ज्यादै नै न्यून हुन्छन्, तिनीहरूको प्रयोग गर्ने । गाउँघरमा पाइने खुर्सानी, टिमुर, लसुन अदुवा, निम, तीतेपाती, खरानी, गाईबस्तुको मूत्र, मेवाको चोप जस्ता घरेलु र प्राङ्गारिक बस्तुहरूको प्रयोग गर्ने हो भने रोग किरा पनि नियन्त्रण हुने, पैसा जोगिने, उपभोक्ताको स्वास्थ्य बच्ने र वातावरण पनि जोगिने हुन्छ । विषादीको अधिक प्रयोगले मानव स्वास्थ्य मात्रै होइन वातावरणलाई पनि निकै नकारात्मक असर गरेको हुन्छ ।

सरकारले पनि अर्ग्यानिक खेतीलाई उचित सहयोग गर्नु पर्दछ । सरकारले पनि प्रतिबन्ध भई सकेका विषादी र घातक विषादीहरूको प्रयोगलाई कानुनी बाटोबाट नियन्त्रण गर्नु पर्दछ । विषादी बिक्रेताहरूको नियमित अनुगमन गरी प्रतिबन्धित र घातक विषादीहरूको बिक्रिबितरण बन्द गर्नु पर्दछ । त्यसो गर्न नमान्नेलाई कडाइकासाथ कानुनी कारबाही गर्नु पर्दछ । त्यसबाहेक अन्य मुलुकबाट आउने खाद्य सामाग्रीहरूको आवश्यक परीक्षण र जाँचपडताल गर्नु, गराउनु सरकारको कर्तव्य हो । कुनै पनि किसिमको दबाबले यो बन्द हुनु हुँदैन । स्वस्थ खानेकुराले जनताको आयुमा वृद्धि हुने, नागरिक स्वास्थ्य र सबल हुने हुँदा सरकारले देश भरी नै थप यस्ता RBPR परीक्षण केन्द्रहरूको स्थापना गर्नु पर्दछ र उचित बजेट, प्राविधिक, सुविधा र वातावरणको व्यवस्था गरिदिनु पर्दछ । उपभोक्ताहरूले पनि विषालु तरकारी, फलफूलको उपयोग बन्द गर्नु पर्दछ ।

(लेखक ताइवानमा विषादी सम्बन्धी अनुसन्धान कार्य गरिरहेका RBPR को तालिमप्राप्त, किट तथा विषादीविज्ञ उपप्राध्यापक हुन्)0

*यो लेख “तरकारीमा विष छ कि छैन प्राविधिकहरूले कसरी पत्ता लगाउँछन् भनेर अचम्म लागेको छ? यो पढ्नुस्” शीर्षकमा mysansar.com मा July 25th, 2014 प्रकाशित लेखलाई अद्यावधिक र परिमार्जन गरिएको हो- लेखक

3 comments to थालमा खाना हैन विष : तरकारी र फलफूलमा विषादी कसरी आउँछ? कसरी पत्ता लगाइन्छ?

  • श्रीकृष्ण अधिकारी

    यो प्रविधि नेपाल भारतका सिमामा लागु गर्न सरकारको धेरै पैसा खर्च हुन्छ रे अनि पुर्वाधार बनाउन पनि बर्षौ लाग्छ भन्थे त कृषि मन्त्री । कति लाग्ने रैछ एउटा ल्याब बनाउनु ?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    भरत बात ल्यायको तरकारिनै नखाउँ/ भारतीय प्रभाव नामको अफ़िमचिहरुको सरकारले भर पर्दो परिछ्यन गर्ला भनेर आस गर्नुनै बेकार को कुरा हो/फेरी सिमा नजिकै कुनै नागरिक र कर्मचारीहरु भारतीय स्वार्थ को बिपरित जान सक्ने अबस्थामै छैन/ उनीहरुले भनेको नमाने के सम्म गर्छ भन्ने कुरा सबैलाई थाह छ/ भारतको सिमाना जोडेको नेपालको भू भागमा नेपालको सरकार मात्र कागज र होर्दिंग बोर्डमा हुन्छ/ तेसैले सके सम्म भारतीय तरकारी मात्रै होईन भारत बात आउने कुनै (!!! २/४ खुट्टे बा पाङ्ग्रे पनि) सके सम्म प्रयोग गर्दै नगरौं/ उनीहरुको सामन र उनिहरुलाई ..गर्नुको मोल रास्त्रले नै चुकाउनु परेको कुरा सबैको अगाडिनै छ/मैले त् तेस्तै गर्दै आयको थिय/ मेरो घरमा भारत बात आउने फलफुल माछा तरकारी निषेध!!!/ घर बनाउँदा महंगो परे पनि नेपालमै बनेको कुरा प्रयोग गरेर नेपाली कामदारहरु मात्रै बात घर बनाय/ कुनै बिहारीलाई काममा लगाईन/ पत्याउनुस नपत्याउनुस घर मा जमिन मुनि पानि ट्यांकी ढलान गर्दै गरेको बेला म कार्यालयमा थिय/ फर्केर आउँदा नेपालि सिमेन्ट नपायकोले भारतको सबै भन्दा राम्रो मानिने रेमण्ड ब्रायंद को सिम्मेंट प्रयोग गरेर पानि ट्यांकी धालन गरेको रहेछ/ मैले ट्यांकी नै भत्काउन लागाय पुरै खोतलेर/ नेपाली सिमेन्ट पाय पछि फेरी बनाय/ मैले घर बनाउंदै गर्दा मेरो साथिले मेरो घर नजिकै उसको घर बनायको थियो/ उसले मैले घरको जग संगै राखेको थिय/ उसको घर र मेरो घरको साइज झन्डै उस्तै/ उसले आफ्नो घर “साँचो बुझाउने” अर्थात घरको निर्माण देखि घर भित्रको सबै कुराहरु समेत तयार गर्ने गरि भारतीय ठेक्केदार र कामदार बात बनायो/ उसको घर छिटो र मेरो घरको लागत भन्दा कम लागतमा बन्यो/ तर मलाई सन्तोष छ अलि बढी पर्यो त् तर त्यो नेपालीकै पेटमा पर्यो; अहिले सस्तोमा दियर भोलि रास्ट्रनै लुट्ने भारतीयको पेटमा परेन/

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • ramesh sharma

    एकदम उपयोगी लेख। धन्यवाद ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)