यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

एड्स र क्षयरोग भन्दा घातक हेपाटाइटिस !

डाक्टर राहुल पाठक

विभिन्न संक्रमणका कारण कलेजोमा सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमण नै हेपाटाइटिस हो ।

 हेपाटाइटिसलाई ए देखि इ सम्म गरी पाँच प्रकारमा वर्गीकरण गरिएको पाइन्छ। चिकित्सकका अनुसार तुलनात्मकरुपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन्। नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ।

 सामान्यतया वाकवाक लाग्ने, खानमा रुचि नहुने, आँखा र पिसाब पहेँलो हुने, दायाँ कोखामा अप्ठ्यारो हुनेलगायत लक्षण देखा पर्दा धेरैले ग्यास्ट्रिकको शंका गर्ने भएकाले पनि यसको उपचारमा नजाने चिकित्सकको भनाइ छ।

संसारमा हेपाटाइटिस बि र सीबाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदरभन्दा बढी रहेको चिकित्सकहरु बताउँछन्। कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन्।हजारभन्दा कम मूल्यमा पाइने खोप उपलब्ध भए तापनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन्।

चिकित्सकका अनुसार संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्नसक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सीको परीक्षण गराउनुपर्छ। रक्तसञ्चारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सीको परीक्षण गरेरमात्र रक्तदान गर्ने, मेडिकल उपकरण तथा औजारलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा अन्य मेडिकल प्रोसिजर गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ र असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ।

हेपाटाइटिस कस्तो रोग हो ?

हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ। हेपाटाइटिस ए देखि इ सम्म गरी जम्मा पाँच प्रकारका हुन्छन्। तुलनात्मक रुपमा बढी घातक मानिएको हेपाटाइटिस बी र हेपाटाइटिस सी रहेको छ । नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत करिब दुईलाख पचासहजार मानिसमा हेपाटाइटिस बी र झण्डै एकलाख तीस हजार मानिसमा हेपाटाइटिस सी रहेको अनुमान गरिएको छ।

नेपालमा करिब दुईलाख पचासहजार मानिसमा हेपाटाइटिस बी र करिब एकलाख तीस हजार मानिसमा हेपाटाइटिस सी भएको अनुमान गरिएको छ ।

यसले कस्तो असर गर्छ?

हेपाटाइटिस बी र हेपाटाइटिस सीले कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकाल मृत्यु हुन्छ। कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस बी र हेपाटाइटिस सी ले गराउने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन्। क्यान्सरबाट मृत्यु हुने १२ जनामध्ये एकजनामा कलेजोको क्यान्सर हुने गरेको देखिएको छ। पछिल्ला दिनहरुमा एचआइभी एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइएपनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्युदर बढ्दो क्रममा रहेको छ।

हेपाटाइटिस बी आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ। जसमा ८० देखि ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी दीर्घकालीन संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्युवरण गर्न बाध्य हुन्छन्।

भाइरल हेपाटाइटिसबारे धेरैलाई थाहा नभएका विश्वव्यापी तथ्यहरु छन्। हेपाटाइटिस बी र सी बाट हुने मृत्युदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्युदर भन्दा बढी छ। कलेजोको क्यान्सरबाट मृत्यु हुने तीनमध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन्। संसारभरका ३० करोड भन्दा बढी मानिसलाई आफू संक्रमित भएको थाहा नै छैन।

यसको लक्षण कस्तो हुन्छ ?

साधारणतया फिबर हुन्छ। ज्वरो आउने, जीउ दुख्ने, जण्डिस हुने, आँखा पहेंलो हुने, पिसाब पहेंलो हुने लक्षण देखिन्छ।

हेपाटाइटिस हुने कारण चाहिँ के हो ?

हेपाटाइटिस बीबाट संक्रमित आमाबाट बच्चामा सर्न सक्छ। हेपाटाइटिस सी भने यसरी कम सर्छ।

हेपाटाईटिस सी सिरिन्ज शेयर गर्दा धेरै सर्ने गरेको छ, जस्तै ट्याटु बनाउँदा।

रक्तसंचारको क्रममा साबधानी नअपनाउँदा पनि हेपाटाईटिस सर्न सक्छ।

मेडिकलका औजारहरुलाई स्टेरिलाइजेशन नगर्दा पनि सर्न सक्छ।

हेपाटाइटिस लागेपछि यस कस्तो खालको स्वास्थ्य समस्या निम्त्याउँछ?

लाग्ने बित्तिकै उपचार गर्यो भने त खासै असर गर्दैन। औषधीले ठीक हुन्छ। तर, पहिले ध्यान नदिने हो भने पछि क्यान्सर हुन्छ। र, अकाल मृत्यु हुन सक्छ।

उपचार सम्भव छ ?

छ। अहिले हेपाटाइटिस सीको १२ हप्तासम्म उपचार गरियो भने ९५ देखि १०० प्रतिशतसम्म उपचार हुन्छ। बी को पुरै ठिक नभए पनि क्यान्सर हुनबाट जोगाउन यसले सहयोग गर्छ। हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिहरुलाई र हेपाटाइटिस सी को संक्रमण भएका ८० प्रतिशत मानिसलाई यसबारे जानकारी नै नभएको हुनाले उनीहरुले आफन्त र साथीभाइलाई पनि संक्रमित बनाइरहेका छन्। त्यसैले आफू पनि सचेत हुनु पर्छ।

अरु रोग नलागोस भनेर भ्याक्सिन लगाउन सकिन्छ, हेपाटाइटिसको के छ ?

हेपाटाइटिस सी को त अहिलेसम्म भ्याक्सिन बनेको छैन। तर हेपाटाइटिस बी को चाहिँ सबै ठाउँमा उपलब्ध छ। हिजोआज त बच्चाहरुलाई पनि खोप  दिने चलन छ। यदि वयस्क छ भने पनि तीनवटा डोज लिँदा हुन्छ। पहिलोपटक लिँदा शून्य भयो भने एक महिनापछि अर्को र ६ महिनापछि अर्को लियो भने पूरा हुन्छ।

हेपाटाइटिसको उपचार गराइरहँदा के-के कुरामा ध्यान दिनु पर्छ?

सबैभन्दा पहिला त जाँडरक्सी पिउन हुँदैन।

चिल्लो खानेकुरा खान हुँदैन।

अनि औषधीको नियमित सेवन गर्नु पर्छ।

हेपाटाइटिस हुनै नदिनको लागि कस्तो सावधानी अपनाउन सकिन्छ त?

संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवती भएका बेलामा हेपाटाइटिस बी र सी को परीक्षण गर्नुपर्छ। सिरिन्ज शेयर गर्न हुँदैन।

रक्तसंचारका क्रममा सावधानी अपनाउनुपर्छ र हेपाटाइटिस बी र सी को परीक्षण गरेर मात्र रक्तदान गर्नुपर्छ। मेडिकल उपकरण तथा औजारहरुलाई स्टेरिलाइजेशन नगरी दाँतको उपचार तथा असुरक्षित यौन सम्पर्क राख्दा यो रोग सर्ने संभावना बढी हुन्छ। त्यसैले यसमा ध्यान दिनुपर्छ।

ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई स्टेरिलाइजेशन नगर्दा यो रोग सर्ने संभावना बढी हुन्छ। यस्तै व्यक्तिगत सरसफाइमा प्रयोग हुने औजार तथा उपकरण जस्तै टुथब्रस, रेजर आदि शेयर गर्दा पनि यो रोग सर्ने संभावना बढी हुन्छ। त्यसैले यी कुरामा विशेष ध्यान दिनुपर्छ।

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)