यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

क्षणिक आवेगको प्रतिफल होइन सुसाइड : कसरी जोगाउन सकिन्छ? यस्तो छ विज्ञको सुझाव

-डा.विजय ज्ञवाली/क्लिनिकल मनोविद्-

एउटा खुट्टा दुर्घटनामा गुमाए पनि साइकल कम्युनिटीमा राम्रै पहिचान बनाएका प्रेरणादायी किशोर युवक लामा
सीधा कुरा जनतासँगमा काम गरिसकेका पत्रकार शालिकराम पुडासैनी

यो साता आत्महत्या गरेका चर्चित नामहरु हुन् यी। केही दिनदेखि लगातार आत्महत्याका समाचारहरू पत्रपत्रिका र न्युजपोर्टलहरूमा देखिएका छन्। नेपाल आत्महत्या बढी हुने मुलुक भित्र पर्छ। नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने लगभग दिनको १५ जनाले आत्महत्या गर्छन्। यो संख्या यस अर्थमा अझ बढी डरलाग्दो छ कि गत वर्ष नेपालीमा २५० जना बालबालिकाले आफ्नो जीवन आफैले लिए। मानिसले किन आत्महत्या गर्छ भन्ने बारेमा मैले यसै माइसंसारमा धेरै पटक विभिन्न प्रसङ्गमा लेखेको छु। आज यो ब्लगको सुरुवात किन सबै व्यक्तिले आत्महत्या गर्दैनन् भन्ने प्रसङ्गबाट सुरु गर्छु। आत्महत्या गर्ने व्यक्तिको जीवनमा कुनै न कुनै प्रकारको ट्राजिडी हुन्छ। तर सोच्ने हो भने दुःख, पीडा वा कुनै-कुनै प्रकारको ट्राजिडी सबैको जीवनमा हुन्छ। तर सबै व्यक्ति आत्महत्या गर्दैनन्।

मानसिक रेजिलेन्स (Mental Resilience)

किन सबै व्यक्ति आत्महत्या गर्दैनन् भन्ने प्रश्नको उत्तर खोज्न मानसिक रेजिलेन्स बुझ्नु पर्छ। म यसको नेपालीकरण मानसिक लचकता भन्ने गर्छु। यो सबै व्यक्तिमा हुन्छ। साधारण रूपमा जस्तोसुकै प्रतिकूल अवस्थामा पनि सामान्य हुन मद्दत गर्ने मनको गुण वा क्षमतालाई मानसिक लचकता भनिन्छ।

यसै गुण वा क्षमताका कारण व्यक्तिले, जीवनमा आइपर्ने असामान्य परिस्थिति, पीडा, दुःख आदिको सजिलै सामना गर्न सक्दछ। संवेदनामाथि नियन्त्रण गर्न सक्दछ। यस्ता व्यक्तिको जीवनमा नकारात्मक प्रभाव हुँदा हुँदै पनि त्यस्ता प्रभावलाई सजिलै सामान्यीकरण गर्ने क्षमता राख्दछ। यस्तो क्षमता अभिवृद्धिमा बाल्यकाल, परिवार, सम्बन्ध, शिक्षा, समाज, देश, परिस्थिति, आर्थिक पक्ष आदिको प्रभाव रहन्छ।

हामी नेपालीको हकमा भने हाम्रो कूल देवता सम्बन्धी धारणा, चाडपर्व ,धर्म ,जातीय विश्वास र प्रभाव जस्ता कुराले पनि हाम्रो मानसिक लचकता निर्माणमा भूमिका खेल्छ। यिनै पक्षको प्रतिकूलताको प्रभाव स्वरूप कहिलेकाहीँ व्यक्तिको क्षमतामा कमी आउँदछ। त्यस्तो कमी भएको व्यक्तिले अरूलाई अत्यन्त सामान्य लाग्ने घटनामा पनि आत्महत्या जस्तो अप्रिय बाटो रोज्न सक्दछ र यो गुण राम्रो भएको व्यक्तिले चाहीँ जस्तोसुकै अवस्थामा पनि आत्महत्या रोज्दैनन्।

मानसिक लचकता मानिसका निम्न गुणहरूसँग सम्बन्धित रहन्छ-

➢क्षमता अनुसारको योजना बनाई त्यसलाई पूरा गर्ने दृढता।

➢सकारात्मक सोचका साथ आफ्नो क्षमता र सीप प्रति विश्वस्त हुनसक्ने।

➢प्रभावकारी सञ्चार गर्न सक्ने, जस्तोसुकै समस्या समाधान गर्न सक्ने।

➢विभिन्न विचार र त्यसका कारण आइरहने उतारचढाव नियन्त्रण गर्न सक्ने।

➢प्रतिकूल अवस्थाबाट बाहिर निस्कनका लागी धैर्यधारण गर्न सक्ने।

अरूको निम्ति आदर्श तर परिणाम चाहीँ आत्महत्या ?

आत्महत्याको घटना पछि आउने प्रभावित व्यक्तिहरूको प्रतिक्रिया भनेको ‘यो हुनै सक्दैन’ भन्ने हुन्छ। अरूको निम्ति प्रेरणा बनेको व्यक्तिले आफ्नो जीवन आफैले लिँदा स्वाभाविक रूपमा पत्यार लाग्दैन। प्रेरणादायी व्यक्तिहरू किन आफै आफ्नो जीवन लिने अवस्थामा पुग्छन्, यसको उत्तर सजिलो छैन। तर यो सम्बन्धी मेरो बुझाइलाई केही बुँदामा राख्न चाहन्छु।

१) पीडाहरू सधैँ व्यक्तिगत हुन्छन्।

२) व्यक्ति सजिलै बाहिरी जीवन र भित्री जीवन गरी २ प्रकारको जीवन जिउन सक्छ।

३) व्यक्तिको संग्यात्मक लक्षणहरू (Cognitive symptoms) बाहिर नदेखिन नि सक्छ।

४) सिक्नु ,बुझ्नु र गर्नु यी बीच तालमेल नहुनु सामान्य कुरा हो।

यति हुँदाहुँदै पनि हामीले बुझ्नु पर्ने कुरा के हो भने आत्महत्या क्षणिक आवेगको प्रतिफल होइन। सामान्य जीवनयापन गरेको देखिएता पनि आत्महत्या नै गर्ने स्थित आउनु भनेको व्यक्ति मानसिक रूपमा एक्लो भएको परिस्थिति हो। उसले कहीँ कतै आफ्नो एक्लोपनलाई कुनै माध्यमबाट व्यक्ति गरेको हुन्छ। पछिल्लो आत्महत्याका घटनामा सोसल मिडियामा निराशा व्यक्त गरिएको स्टाटस आउनु पनि त्यही एक्लोपनको अभिव्यक्ति हो।

के आत्महत्या आवेगको प्रतिफल हो?

यो मानसिक स्वास्थ्यसित सम्बन्धित कार्यक्रमहरूमा मैले धेरैलाई बुझाउन प्रयास गर्ने प्रश्न हो। यो प्रश्नको उत्तर खोज्न सर्वप्रथम आत्महत्या विचार र क्रियाको बारेमा बुझ्न जरुरी छ। कुनै पनि व्यक्तिले बारम्बार मर्ने कुरा गर्छ, त्यस्तो विचार बारम्बार मनमा ल्याउँछ, आफ्नो जीवन अन्त्य गर्ने विभिन्न प्रयोगात्मक शैलीको अभ्यास गर्दछ भने त्यसलाई हामी Suicidal thought अथवा Suicidal ideation भन्न सक्छौँ। यस्तो विचार राख्ने सबैले आत्महत्या गर्छन् भन्ने छैन। त्यस्तो प्रकारको विचार र आत्महत्या क्रिया (Suicidal Action) बीच अत्यन्त सानो दुरी हुन्छ। त्यही दुरीको कारण अधिकांश आत्महत्या आवेगमा गरेको जस्तो देखिन्छ, किनकि त्यहाँ क्रिया देखिन्छ तर उसमा पहिलेदेखि रहेको आत्महत्या विचार देखिँदैन। त्यसैले धेरै मानिसमा आत्महत्या आवेगको प्रतिफल भन्ने मिथ्या धारणा रहेको हुन्छ।

तपाईँले कसरी सहयोग गर्न सक्नु हुन्छ ?

कतिपय अवस्थामा तपाईँका साथी वा परिवारका सदस्यले आत्महत्याको लागि सङ्केत गरेको हुनसक्छ। त्यो अवस्थामा तुरुन्त मनोविज्ञको सहयोग लिनु आवश्यक हुन्छ। तर कतिपय अवस्थामा मनोविज्ञसंग तुरुन्त सम्पर्कमा पुग्न सकिँदैन, त्यो अवस्थामा तपाईँले साथीलाई यसरी सहयोग गर्न सक्नुहुन्छ-

➢स्थिर र सन्तुलित हुनुहोस् ।

➢आत्महत्या गर्ने विचार मनमा आएको छ कि? भनी सिधा रूपमा सोध्नुहोस् ।

➢समस्या सुन्नु होस् तर गलत र सहीको निदान नगर्नुहोस् ।

➢निरन्तर निगरानी राख्नुहोस् । एक्लै नछोडी दिनुहोस् ।

➢घरमा आत्महत्यालाई सहज पर्ने कुराहरू छन् भने तिनलाई हटाउनुहोस्

➢तुरुन्त मानसिक रोग विशेषज्ञ अथवा परामर्शदाताकोमा लानुहोस् ।

➢एक पटक आत्महत्याको प्रयास गरेको मान्छेले फेरि प्रयास गर्ने सम्भावना बढी हुन्छ । तसर्थ एकपल्ट आत्महत्या टर्‍यो भनेर त्यो कुरालाई सामान्य रूपमा नलिएर समस्याको निराकरणको लागि विज्ञको सहयोग लिनुहोस् ।

➢आत्महत्याबाट रक्षा गर्ने सबैभन्दा ठूलो अस्त्र माया प्रेम हो । आफ्ना नजिकका मानिसको सधैँ प्रशंसा गर्नुहोस्। उनीहरूलाई सुन्नुहोस्।

➢त्यस्तो अवस्थामा गाली गर्ने, उसको कुरा सुन्न छोडेर अर्ती उपदेश दिने नगर्नुहोस्। धैर्य गरेर उसको कुरा सुन्नुहोस्। सल्लाह मागेको खण्डमा उसको विचारलाई सम्मान दिएर सकारात्मक रूपमा आशाको कुरा गर्नुहोस्।

➢आफूलाई लागेका कुरा अरूलाई खुलस्त भन्न प्रेरित गर्ने, एक्लो अवस्थामा सोसिअल साइटहरूको सहारा लिने, बाहिर घुम्न जाने खुला वातावरणमा बस्न सुझाव दिन सकिन्छ ।

➢प्रेम र अध्यात्मले आत्महत्याको विचार त्याग गर्न सहयोग गर्दछ ।

➢सम्भव भए सम्म छिटो मनोविज्ञको सम्पर्कमा जाने । अधिकांश मुलुकमा फ्री टेलिफोन परामर्श केन्द्र हुन्छन् त्यहाँबाट पनि सल्लाह लिन सकिन्छ, नभएको खण्डमा प्रत्येक हस्पिटलमा मनोविज्ञ वा परामर्शदाताको व्यवस्था गरिएको हुन्छ उक्त ठाउँमा सम्पर्क गरेर सल्लाह लिन सकिन्छ।

अन्त्यमा

विगतमा लामो लामो सुसाइड नोट लेखिएको भेटिएता पनि आजकल आत्महत्याका धेरै घटनामा सोसल साइटमा स्टाटस लेखेको देखिन्छ। अधिकांश यस्तो स्टाटस लेखेको पाइएको छ-

• सबैसँग अथवा निश्चित व्यक्ति विशेषसँग बिदा मागेर लेखिएको।

• आफ्नो कर्तव्य पूरा गर्न नसकेकोमा पश्चात्ताप अथवा माफी।

• आफू गएपछि आफ्नो कर्तव्य अरूलाई सुम्पिएको भाव।

• आफूले प्रयास गरेको तर नसकेको, थाकेको भाव।

• केही निराशाजनक गीतका टुक्रा।

• कसैको लागि अहिले सम्मको सहयोगको लागि विशेष धन्यवाद सहित बिदा मागेको भाव।

• चरम निराशा देखिने भाव जस्तै जिन्दगी भारी भो, मलाई जिन्दगी पुग्यो, मैले धोका पाएँ, यो पीडा सहन गारो भो जस्ता शब्दको प्रयोग।

तसर्थ यस्ता प्रकारका स्टाटस लेखेको देखियो भने त्यो व्यक्ति ,उनका साथी अथवा परिवारलाई सम्पर्क गरी हाल्नुस् है। यसरी सम्पर्क गर्दा कहिलेकाहीँ गाली पनि खानु पर्ने हुन्छ तर कतिपय अवस्थामा कसैको जीवन बचाउन पनि सकिन्छ। हामीले बिर्सनु हुँदैन आत्महत्या रोकथाम हामी सबैको साझा विषयवस्तु हो। सबैको सहकार्यमा यसलाई रोक्न सकिन्छ।

2 comments to क्षणिक आवेगको प्रतिफल होइन सुसाइड : कसरी जोगाउन सकिन्छ? यस्तो छ विज्ञको सुझाव

  • Rupace Karki

    मनोबिद ज्यु,

    पहिलो बिरामी फेला पर्या जस्तो लग्यो.. तपाई को कन्ट्याक्ट नम्बर नि अपडेट गरिदिनु त !!!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • श्रीकृष्ण अधिकारी

    मनोविदज्यू,

    १. कुनै रोजगारी या जागिरमा रहेको मान्छेले स्वेच्छिक अवकाश लिन्छु भन्यो भने पाउने कि नपाउनै ?
    २. बैवाहिक सम्बन्धमा रहेका जोडीले हामी संगै बस्दैनौ छुट्टिन्छौ भन्यो भने पाउने कि नपाउने ?
    ३. १८ बर्ष नाघेको तर पढ्दै गरेको कुनै बिद्यारथीले म पढ्दिन पढाई छोडिदिन्छु भन्यो भने पाउने कि नपाउने ?
    ४. खड्क प्रसाद ओलीज्यूले म प्रधानमन्त्रीको पद खाँदिन राजिनामा दिन्छु भन्यो भने पाउने कि नपाउने ?
    ५. म सँग गोजीमा भएको ७८ रुपिंया मलाई चाँहिदैन फ्याकिदिन्छु भन्दा मैले पाउने कि नपाउने ?
    यदि कसैले केहि चिजको चाहना राख्‍दैन र त्यसलाई त्याग गर्न चाहन्छ भने अस शुभचिन्तक भएको नाताले उस्लाई सहयोग गर्नु पर्छ । मेरो बिचारमा आत्महत्या जस्तो केशमा पनि उमेर १८ नाघेको हुनु पर्छ र उसले आफ्नो जीवन समाप्त गर्न चाहन्छ भने पाउनु पर्छ । हो अरु कसैले जबरजस्ती मार्न चाँही हुँदैन किनभने अर्को अधिकार हनन् गर्न पाईदैन ।
    मानिसले बाँच्नको लागि धेरै संघर्ष गर्नु पर्छ । संसारमा जटिलभन्दा जटिल रोग लागेका र कहिले निको हुँदैन भनेर जान्दा जान्दै पनि केहि बर्ष, महिना, दिन वा घण्टा बढि बाँच्नको लागि सारा सम्पत्ति सकेका उदाहरणहरु धेरै छन् । कसैले ईच्छा मृत्यु माग्छ भने उसको व्यक्तिगत कुरा हो दिनु पर्छ तर हामीले मार्न चाँही हुँदैन ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)