यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

प्रधानमन्त्रीको एउटा त्यस्तो गल्ती जसलाई न विज्ञहरुले सच्याउन सके, न सल्लाहकारहरुले सम्झाउन सके

-राजु आचार्य-


अस्ति भदौ २ गते काठमाडौँको सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी गैँडाको प्रसंग निकाले। वन्यजन्तुसम्बन्धी वा वातावरणसम्बन्धी कुनै कार्यक्रम थिएन त्यो। एसिया प्रशान्त क्षेत्रको हवाई नियामक क्षेत्रका महानिर्देशकहरूको सम्मेलन थियो। भने, ‘एक सिङ्गे गैँडा नेपालमा मात्र पाइन्छ। यो राइनो हैन, गैँडा हो गैँडा।’ प्रधानमन्त्री ओलीले थपे, ‘यसको मौलिक नाम नबिगारौं। यो राइनो होइन।’

उनले यसअघि पनि दुई पटक यस्तै भनिसकेका छन्। भूकम्प गएर पुननिर्माणको काम भइरहेको बेला उतिबेलाको पार्टी कार्यालय बल्खुको पत्रकार सम्मेलनमा उनले एक्कासी भनेका थिए, ‘गैँडा हेर्न नेपालै आउनु पर्छ। जसले आफ्नो जीवनमा गैँडा देखेन, त्यसको त आधा जिन्दगी खेर गयो’ उनले थपेका थिए ‘गैँडा अमेरिकामा जन्मिन्न, युरोपमा जन्मिन्न, नेपाल नआई सुखै छैन।’

२०७२ फागुन ३ मा पनि राष्ट्रिय पर्यटन परिषद्को बैठकमा ओलीले भने, ‘बायोलोजिकल र साइन्टिफिक भनेर गैँडाको नाम राइनोसरस भन्देका छन्, तर यो हाम्रो गैँडा हो। हाम्रो देशमा उत्पादन हुन्छ, अमेरिकाले देख्नु न सुन्नु, कहाँबाट राइनो नाम राख्ने ?

सामाजिक सञ्जालको प्रतिक्रिया

प्रधानमन्त्री ओलीले गलत सूचना पस्किरहँदा सँगै बस्ने विज्ञहरूले सच्याउनु पर्ने हो। पटक-पटक एकै खालको जानकारी आउनु भनेको कसैले पनि साँचो कुरा सुनाउन आँटै नगरेको प्रस्ट हुन्छ। तर सामाजिक सञ्जालले यसपटक भने आलोचना प्रशस्त भएको छ।

नवीनले ट्विट (@nvngtm) गरे, ‘रैथाने नाम राख्ने भए ‘केपी’ होइन ‘खप्र’ राख्नु परो क्या प्रधानमन्त्री ज्युले । भाषणमा मात्र होइन व्यवहारमा लागू गर्नु परो।’

सुमन भट्टराईले फेसबुकमा प्रतिक्रिया जनाए ‘एउटै गल्ती पटक-पटक ! प्रमका सल्लाहकार नै प्रमको भाषण सुन्दैनन् कि के हो? छिमेकी प्रमुखहरू के सोच्दै होलान्…।’
शिव तिमिल्सिनाले पोस्ट गरे ’कमरेड राख्दिम न त! कसो होला?’

डा रविन्द्र रोयले भने, ‘गैँडा is Rhino! कठै बरा, हामी नेपाली।’

तर मनवीर गिर (@Heartbravemanu)ले ट्विट गर्दै भने ‘नेपालको ठाउँको नाम नेपाली नै हुनुपर्छ । नेपाली शब्दलाई सारा विश्वले चिनून्।

‘एक सिङ्गे गैँडा’ नेपालमा मात्र पाइन्छ त ?

संसारभरि पाँच प्रजातिका गैँडाहरू अभिलेख गरिएका छन् । त्यसमध्ये एक सिङ्गे गैँडा नेपाल र भारत दुवै देशमा अभिलेख छ। नेपालमा भन्दा भारतमा यिनको सङ्ख्या अत्यधिक धेरै छ। सन् २०१५ को गणना अनुसार नेपालको चितवन, बर्दिया, पर्सा र शुक्लाफाँटमा ६४५ वटा रहेका छन्।

कुनै समयमा भारत, नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटानमा अभिलेख गरिएको गैँडा अहिले भने नेपाल र भारतमा मात्र सीमित भएको छ । अहिले पनि प्रधानमन्त्री केपी ओलीले भने जस्तो नेपालमा मात्र पाइने होइन ! दुई सिङ्गे गैँडा भने अफ्रिकामा अभिलेख गरिएको छ ।

प्रजातिहरूको नाम कसरी राखिन्छ ?

कुनै पनि प्रजाति विज्ञानको लागि पहिलो पटक भेटियो भने त्यसको नाम राख्ने प्रक्रियाको अन्तर्राष्ट्रिय मापदण्ड हुन्छ। सोही अनुसार सबै प्रजातिको वैज्ञानिक नामहरू राखिन्छन्। वैज्ञानिक नाम राख्दा ल्याटिन भाषाको प्रयोग हुन्छ। यो भाषा बोलीचालीमा छैन त्यसैले यसलाई मृत भाषा मानिन्छ। बोलीमा नरहेको भाषा अपभ्रंश हुने सम्भावना न्यून हुन्छl संसारको जुनसुकै कुनामा गए पनि वैज्ञानिक भाषा समान हुन्छ ।

सन् १५९६ मा स्विडिस वनस्पतिशास्त्री गासपार्ड बाउहिनले वैज्ञानिक विधिको सुरुवात गरे जसलाई पछि गएर सन् १७५३ मा कर्लस लिनेयसले व्यवस्थित गरेl यसलाई ‘बाइनोमियल नोमेन्केल्चर (Binomial Nomenclature) विधि भनिन्छ।

वैज्ञानिक नाम प्रयोगमा अप्ठ्यारो हुने भएकोले अङ्ग्रेजीमा चलनचल्तीको नाम (साधारण नाम) (Common name) राखिन्छ। अङ्ग्रेजी नाम राख्दा सो प्रजातिको शारीरिक बनावट, रङ्ग, बानीब्यहोरा, पाइने स्थान, यिनको प्रयोग, आवाज, पत्ता लगाउने वैज्ञानिक आदिको आधारमा राखिन्छ। यो प्रक्रिया वैज्ञानिक नाममा समेत लागू हुन्छ।

यो नाम कसैलाई मन नपरेर परिवर्तन हुँदैन। हाम्रा प्रधानमन्त्रीले भने जस्तो ‘के को राइनो, गैँडा हो, गैँडा भन्नु पर्छ’ भन्ने हो भने भोलि अन्य वन्यजन्तुहरूको नाम पनि माग आउला। अनुसन्धानले थपेका जानकारीका आधारमा वैज्ञानिक नाम र साधारण नाम पनि कहिलेकाहीँ परिवर्तन भएका छन् तर भाषण गरेर भएका छैनन्।

वरिष्ठ वन्यजन्तु अनुसन्धानकर्मी तथा संरक्षणकर्मी प्राध्यापक करनबहादुर शाह भन्नु हुन्छ ‘गैँडा नाम राख्नको लागि पहिलो चोटी भेटेर नामकरण गर्दा राखेको भए हुन्थ्यो, अब सम्भव छैन।’
स्मरण रहोस् नेपालीमा गैँडा भनिए पनि पूर्वी नेपालमा गेण्डा, चितवन/नवलपरासीका थारुहरूले खगाहा, पश्चिम नेपालमा विशेष गरी डोटेली भाषामा गैडो आदि नामले चिनिन्छ।

गैँडालाई चुनौती ?

भाले पोथी दुबैमा हुने सिङ्गको कारणले यिनको संरक्षणमा चुनौती थपिएको छ। भारतमा मात्रै सन् १९८० देखि १९९३को अवधिमा ६९२ वटा गैँडाहरू मारिएका थिए। नेपालको चितवनमा पनि सन् १९६० को दशकमा करिब ९५ वटा जति गैंडामात्र बाँकी भैसकेका थिएl यिनलाई गोली हानेर, खाल्टोको पासो थापेर, विषादीको प्रयोग गरेर, विद्युतीय झट्का लगाएर मार्ने गरिएको छ। यो प्रजातिको सिङ (खाग) चीनमा परम्परागत औषधिको लागि प्रयोग गरिन्छl नेपालमा पनि यसको खाग वा सो नभए छाला तर्पण दिन प्रयोग गरिन्छ ।

कुनै बेला तराईमा प्रशस्त पाइने यो स्तनधारी वन्यजन्तु अहिले केही संरक्षित क्षेत्रहरूमा मात्र पाइन्छन् । चितवनमा यिनको सङ्ख्या बढेर स्थानीयसँग द्वन्द्व हुने र प्राकृतिक वा अन्य कारणले एकै पटक मासिन सक्ने भन्दै यिनलाई चितवनबाट बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुन्जन्म स्थानान्तरण गरिएको छ । यो प्रक्रिया सन् १९८६ देखि सुरु गरिएको थियो ।

यो प्रजातिलाई संवेदनशील प्रजाति मानिएको छ । औसतमा भाले २२०० केजी र पोथी १६०० केजी सम्मको हुने यिनीहरू तराईका घाँसे मैदान र खोला छेउको वनमा बस्न रुचाउने गर्छन् । यिनीहरू राम्रो पौडी खेल्न सक्छन् र छोटो समयको लागि करिब ५५ किमी प्रतिघण्टा सम्म दौडन सक्छन् ।

अन्तमा

‘देशको प्रधानमन्त्री जस्तो मानिसले पटक पटक यो प्रजातिको बारेमा बोल्नु भनेको गैँडालाई महत्व दिएको प्रष्ट हुन्छl नाममा विवाद गरिरहनु आवश्यक छैन,’ कतिपय संरक्षणकर्मीहरु यसो पनि भन्छन्।

5 comments to प्रधानमन्त्रीको एउटा त्यस्तो गल्ती जसलाई न विज्ञहरुले सच्याउन सके, न सल्लाहकारहरुले सम्झाउन सके

  • madan bajracharya

    तेमालज्यु
    ओलिज्युले देस हाक्न सक्ला भन्ने कुरामा प्रश्न चिन्ह लागेको छ/ तर यसको जवाफ ओलिज्युले मात्रै होईन अहिले का कुनै..ले पनि देस हाक्न सक्दैन’ कारण प्रस्ट छ इनिहरु कोहि देस हाक्न आयकै होईन आफ्नै मपाईबादको रथ गाडी होईन “ठेला” मात्रै हाक्न आयका हुन्; त्यो पनि ठेल्लामठेल गर्दै यकले अर्कोलाई धक्का धोका दिंदै/ उनीहरु यस्ता भयकोमा पनि दोषी इनिहरु होइनन हामि नै हौँ/ बिना नागरिक कोहि नेता मात्रै नबन्ने होईन देसनै बन्दैन/ भन्नुको अर्थ नेता बनाउने पनि हामि नै हौँ देस बनाउने पनि हामी अर्थात नागरिक नै हो/ तर हामि कस्ता नागरिक बनेका छौं यहि प्रश्नको जवाफ भित्र बिग्रेका; बिकेका,असछ्यम र यकले अर्कोलाई चोर मात्रै भन्न बाकि राखेकाको कोठे स्वार्थ बोकाईने …बनेको किन भन्ने कुराको जवाफ लुकेको छ/

    नागरिक बनौं, नेता भनेको नागरिकको नोकर हुन्छ मालिक होईन त्यो बुझौं बुझाउँ; यस्ता कोहि आफुलाई हाक्न नसक्ने र कोहि पारिकाले हाक्नेहरु तेतिकै पाखा लाग्छ/

    मित्र देस नहुनेको नागरिकता हुँदैन र नागरिक नभय देस हुँदैन/ नेता भनेको नागरिकले अर्हायाको जिम्मेवारी पुरा गर्ने “केटा” मात्रै हो/ तर तेस्तो केटा छाडा बने बा बन्न दिय मालिकलाई घोडा बनायर लगाम कस्ने पनि बन्न सक्छ/ छिमेकीको “तृत” खायर मालिकलाई नै तोक्ने पनि बन्न सक्छ/ के तेस्तै त् बनेका छैनन् हाम्रा केटाहरु? यदि कोहि बनेको छ बा बन्न खोजेको छ भने दोष कसको?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • madan bajracharya

    हेर्नुस ओलिज्युलाई र बुझ्नुस उहाको कुरा/ ओलिज्युले बोल्र्को कुरामा बारम्बार ..गरेकोमा ओलिज्युले अस्ति यकदम शालीन जवाफ दिइसक्यो “उहाको पुर्खा बुद्धिमान विद्वान..” भनेर/

    यति भने पछि ओलिज्युको कुरामा किचकिच गर्नेले बुझ्नु पर्छ कि उहा श्रिस्तिकर्ता ब्रम्हाको उत्क्रिस्ततम श्रिस्ति र समस्त बेद ब्रम्हाण्डको ज्ञाता र श्रोतपुरुष ब्रम्हश्रि बशिस्थको खलकको हुनु हुन्छ/ उहाहरुको नसामै पुर्खाको ज्ञान बहन्छ/उहाहरुको जे भन्नु हुन्छ तेही अन्तिम सत्य अर्थात ब्रम्हबाक्य हो/ उहाहरुको कोहि बिकल्प हुने सक्दैन/ उहाहरुको समानान्तरमा कोहि उभिनै सक्दैन/ नमानेर केहि लछार्दैन; सम्झनुस बिस्वामित्रको प्रयत्न कसरि असफल भयको थियो/

    तेसैले उहाले राईनो भनेको गैंडा होईन भने पछि गैंडा भनेको राईनो हुनै सक्दैन/ उहाले नेपालमा बिकाश भयो भने ” नेपाल बिकाश भयो”/ उहाले न्याय भयो भने “न्याय पायौं” भनेर दंग भयर घर गय हुन्छ अदालत धाई रहनु पर्दैन/

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

  • ghanshyam

    मार्क्स र लेनिन को कट्टु सुँघेर समाजबाद भन्ने हरु येत्ति भनिदिनुस को कमरेड किन भन्नु हुन्छ के कमरेडको नेपाली शब्दकोश मा कुनै शब्द छैन?

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • Ani

    I completely agree with the article and people should not follow wrong information. But I have realized that in most foreign countries especially in museum and zoo, greater onehorned rhino is mentioned as Indian rhino. It is wrong. Although its population is more in India, it should not be called Indian rhino. So it would be logical if PM would advocate for it being called as greater one horned rhino rather than for ‘gaida’.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • तेमाल

    अहिले आएर धेरैले भन्ने गरेका छन् कि यो क्रिष्टल क्लियर भएको छ, ओलीज्यूमा देश हाँक्ने योग्यता छैन रहेछ| दुई तिहाईको वहुमतमा पनि उनको नेतृत्व धेरै लर्खराएको छ| चाइने नचाइने बोल्छन, गर्छु भनेको काम गर्दैनन्| बर्ष दिन एकता एकता भन्दै पार्टिगत विषयमा ट्याम फाले|
    भ्रष्टचार झन् बढेको छ| देशको अर्थ व्यवस्थामा अति अनुत्पादकीय अरिंगालको जमातले कुनै सहयोग गरिरहेको छैन|
    राजदुत नियुक्ति र समय थप पार्टी र पार्टीको जागिर खाने चाप्लुसीवालको र आफन्त चिनाजानाको जागिर भएको छ| लक्की शेर्पा एउटा प्रतिनिधि पात्र मात्र हुन्, बिचरी सिधा कुरा जनता संगको घानमा परिन तर अरु थुप्रै त्यो भन्दा बदनामीहरु मुस्कुराई रहेकै छन्|

    सम्माननीय प्रधान मन्त्रिज्यु, केही कठोर र सख्त कदम उठाउनुस र त्यसलाई लागु कार्यान्वयन गराउनुस| नेपाली जनताले तपाईलाई साथ् दिनेछन| केहि नमुना यहा उल्लेख गर्न चाहन्छु:
    १) कर्मचारीतन्त्रमा ट्रेड युनियनमा तुरन्त प्रतिबन्ध लगाउने, केहि पदहरुलाई छाडेर (जस्तै चालक, कार्यालय सहयोगी, इत्यादि| तर उनीहरुलाई पनि राजनैतिक पार्टीको आधारमा गर्न नपाईने|
    एउटा छुट्टै त्रिब्युनल स्थापना गरेर कर्मचारीको गुनासो सुनवाई र मुद्दा हेर्ने|

    २) सरकारी तलब भत्ता दुवै वा भत्ता मात्र पनि खाने पीए सचिव आदिलाई राख्दा राख्ने व्यक्तिका नजिकका नातेदार वा पारिवारिक सम्बन्ध भएको व्यक्ति अनिवार्य रुपमा हुन् नपाइने|
    भ्रष्टचारको एउटा ठुलो हाँगो यही पीए नियुक्ति हो| यसो गरे पारदर्शितालाई पनि बल मिल्छ|

    ३) ठेकेदार कम्पनीलाई खरिद वा निर्माण कनट्राक्ट दिंदा निश्चित मापदण्ड तोकिने र समयमा काम नसके र क्वालिटी नमिले ठुलै जरिमाना गर्ने| किस्ता किस्ता काममा अनुगमन हुनपर्ने र सार्बजनिक रुपमा कट्राक्ट दिंदा र अनुगमन गर्दा सुचना प्रवाह सार्बजनिक रुपमी गरिन पर्ने| ठेकेदार कमपनीलाई मात्र होइन, लापरवाही बर्ताउने कर्मचारीलाई पनि सजाय हुनपर्ने|
    ४) वाचा गरेर अनुसार कुनै पनि प्रकारको सिण्डिकेटको अन्त्य गराउने, कठोर कदम उठाएर पनि सबै क्षेत्र र विषयका सिण्डिकेट बन्द गरेर जनतालाई राहत दिने
    ५) मुख्य भ्रष्टाचार केन्द्रहरुमा अनुगमन बढाउने| ती केन्द्रहरु हुन्, अख्तियार दुरुपयोग आयोग, एयरपोर्ट भन्सार र अध्यागमन, नाकाहरु, मालपोत, कर, राजस्व र सीदीओ कार्यालय|
    उक्त केन्द्रहरुमा भ्रष्टाचार घटाउन र हटाउन सके करिब ७०% भ्रष्टाचार कम हुन् सक्छ|

    ६) राजधानीको खाल्डा खुल्डी पुर्न, सरसफाई राख्न, ट्राफिक व्यवस्था र सार्बजनिक टोइलेट संधै सफा राख्नका लागि समन्वय गर्न र द्रुततर गतिमा काम गर्न एकजना अधिकार सम्पन्न आयुक्त र उनले रोजेका टीम नियुक्त गरिने| उक्त आयुक्त र टीम प्रधान मन्त्रि सचिवालय अन्तर्गत रहने|
    निकम्मा का.म. न. पा. का मेयर र उपमेयरबाट सरसफाई र खाल्डा खुल्डॆ पुरने काम हुन सक्दैन| उनीहरु दुवैलाई रानीपोखरी बनाउने काम दिनुस| सम्भवत दुवैजना चिनिया सहयोग द्वारा दरवार हाईस्कुलको हाल पुननिर्माण द्रुत गतिमा बढेको हेर्दै समापन वा उदघाटन समारोहमा सामेल हुन् कुरेर बसेका छन्|
    भोलिकै मितिदेखि लागु हुने गरेर निर्णय लिएर काम लगाउनुहोला| जनताले सोझै अनुभूति गर्नेछन|
    साँचै उक्त निर्णय अनुरुप काम भए अहिले खस्केर फेदमा पुगेको सरकार प्रति जनताको प्रतिक्रिया लोकप्रियतामा बदलिनेछ|
    प्रधान मन्त्रिज्युले दिएको सल्लाह लिनुहुँदैन भन्ने चर्चा छ, तर गम्भीर भएर उक्त सुझावलाई ध्यान दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु|
    आगामी दिनहरुमा प्राडा सुरेन्द्र केसी, भिम रावल, डा. सुन्दरमणि दीक्षित जस्ता झकझकाउने , सकारात्मक दृष्टिकोण राख्ने, देशलाई माया गर्दै त्रुटि ओउल्याउने, समय अनुसारको सुझाव दिने ती प्रबुद्ध व्यक्तिहरु समेतले वाह.. भन्न सकून|

    प्रधान मन्त्रीज्यूको शीघ्र स्वास्थ्यलाभको प्रार्थना र कामना सहित|

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)