यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

रअका पूर्व अधिकारीको नेपाल किताब : हात्ती आयो फुस्सा ! काल्पनिक उपन्यासलाई लिएर मच्चाइएको कोकोहोलो


यो हप्ता एउटा समाचार अनलाइनहरुमा र छापामा समेत निकै चर्चामा आयो। ती समाचारहरुका अनुसार भारतीय खुफिया एजेन्सी रअका एक पूर्व पदाधिकारीले किताब लेखेर नेपालमा राजतन्त्र हटाउने काम आफूहरुले गरेको खुलासा गरे रे। अझ नागरिक दैनिकमा त ‘नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हातेमालो गरेको’समेत लेखिएको रहेछ। अहो, के रहेछ त त्यो किताबमा? पढ्नु त पर्‍यो भन्ने लाग्यो। काठमाडौका कुनै पनि किताब पसलमा यो किताब पाइएन। अनलाइनबाटै मगाएर शुक्रबार पढ्न सिध्याएँ। पढिसकेपछि यो ब्लग लेख्दैछु।

सबैभन्दा पहिला यो किताबको बारेमा आएको समाचार हेरौँ-

नागरिक दैनिकले भदौ १८ गतेको अङ्कमा लेखेको छ- ‘भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस  (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हातेमालो गरेको जनाएका छन्। रअका तत्कालीन विशेष निर्देशक अमर भुषणले हालै आफ्नो पुस्तक ‘इनसाइड नेपाल’मार्फत यसबारे खुलासा गरेका छन्। भूषणले आफ्नो पुस्तकमा दाहाललाई अन्य दलसँग मिलेर राजतन्त्रविरुद्ध आन्दोलनका लागि सहमत गराउन महत्वपूर्ण समय खर्चेको बताएका छन्।’

योबारेमा नेपाली भाषामा पहिलो समाचार देशसञ्चार अनलाइनले दिएको थियो। ‘एक पूर्व भारतीय जासुसको खुलासा, ‘रअले फ्याँकेको हो नेपालमा राजतन्त्र’ शीर्षकको भारतीय मिडिया डिएनएन्युजको अनुवादमा ‘नेपालमा गणतन्त्र ल्याउन भूमिगत सशस्त्र बिद्रोह गरिरहेका माओवादी नेता प्रचण्डलाई धेरै फकाउनु परेको’दावी गरिएको छ। यही समाचारको स्पष्टिकरणको क्रममा देशसञ्चारका सम्पादक युवराज घिमिरेले आफ्नो मिडियाले अटोबायोग्राफी कोट गरेको दावी गरेका थिए ट्विटरमा।

यही समाचारपछि सोसल मिडियामा तीखो प्रतिक्रिया आएका थिए। राजावादीहरुलाई आफ्नो स्वार्थ मिल्ने भएर यो खबर फैलाउन सहज भएको थियो।

के यो अटोबायोग्राफी हो? के त्यो किताबमा प्रचण्डसित मिलेर नेपालमा राजतन्त्र रअले फालेको लेखिएको छ? के छ त्यो किताबमा? त्यो लेख्ने लेखक को हुन्?

किताबको मुखपृष्ठमै लेखिएको छ- Inspired by a true story. अर्थात् यो अटोबायोग्राफी हैन। साँचो घटनाबाट प्रभावित हो।

भित्र किताबमा मज्जाले लेखिएको छ कि यो काल्पनिक कथा हो, यसमा बयान गरिएका पात्र र घटनाहरु लेखकको कल्पना हुन्।

अनि यत्रो लेख्दालेख्दै पनि किन यति विधि कोकोहोलो मच्चिएको त? नेपाली मिडिया कागले कान लग्यो भनेपछि कान छाम्ने कि कुद्‍ने हो? किताबै नपढी नागरिक जस्तो पत्रिकाले राजतन्त्र अन्त्य गर्न प्रचण्डसँग रअको हातेमालो भनेर समाचार लेख्न मिल्छ त? लेखेको हेरेपछि हामीले बुझ्ने  त उही हो- लेख्नेले किताब पढेकै रहेनछ। हचुवामा समाचार ठोक्दिएछन्। ध्रुवहरि अधिकारी जस्ता पत्रकारले पनि किताबै नपढी खोज/विशेष टिप्पणी ठोकिदिएछन्।

किताबमा प्रचण्ड हैन कि कमल अर्याल नामका एक नेतालाई भेटेको भनिएको छ। त्यस्तै अर्का नेपाली नेतामा उनले नेपाली कांग्रेसका नेता गोविन्दलाई भेटेको लेखेका छन्। पैसा दिएको लेखेका छन्। रमाइलो कुरा के भने कांग्रेसका नेता भेटेको भन्ने चाहिँ समाचार आएनछ। यो कल्पनामा आधारित किताब भनेर किन पनि प्रष्ट हुन्छ भने यसका लेखक अमर भूषणले मुख्य पात्र अर्थात् आफ्नै नाम अर्कै (जीवनाथन) लेखेका छन्।

थ्रिलर हैन कमेडी !

नेपालको राजनीतिक घटनाक्रम र इतिहासबारे जानकारी भएकोले विशाल भारद्वाजले फिल्म बनाउन लागेको यो उपन्यास पढ्दै गर्दा मलाई स्पाइ थ्रिलर हैन कमेडी जस्तो लाग्यो।  केही कुरा यस्ता छन्, जुन पत्यारलाग्दो हैन हाँसउठ्दो लाग्छ।

किताब सुरु हुन्छ १९८९-९० मा लखनउको सेटिङमा। अर्थात् यो २०४५ सालको भारतीय नाकाबन्दी र २०४६ सालको जनआन्दोलन अगाडिको अवस्था। जीवनाथन रअको इस्टर्न स्पेसल ब्युरोका प्रमुख थिए। भनेको नेपाल लगायतका देशहरु हेर्ने जिम्मा पाएको ब्युरो। यो ब्युरो कामै नलाग्ने पत्रु भयो भनेर बन्द गर्ने निर्णय भएको हुन्छ।

राजतन्त्र हटाउने काम रअको हैन, एक जना कर्मचारीको?

हामी नेपालीहरुले बुझेको त राजतन्त्र हटाउन पूरै भारत, त्यसका एजेन्सीहरु लागेको भन्ने थियो नि हैन? तर किताबमा त्यस्तो छैन। राजतन्त्रविरोधी आन्दोलन चर्काउन माओवादीलाई उचाल्ने काम गरेको रअका प्रमुखलाई थाहै हुन्न। त्यहाँका प्रधानमन्त्रीको त झन् नामै आउँदैन। एउटा सुपर हिरोले गर्छ सब काम, त्यो उनै जीवनाथन हुन्छन्। रअका प्रमुखको अनुमतिसमेत नलिई ऋण गरी गरी कमल अर्याल नामको माओवादी नेतालाई ७५ हजार रुपैयाँ दिने काम गर्छन् उनले, जुन पढ्दा हास्यास्पद लाग्छ। यत्रो ठूलो निर्णय रअका प्रमुख र देशका कार्यकारी प्रमुखलाई थाहै नदिई नाथे एक जना ब्युरोका प्रमुखले एकल निर्णय गरेर गर्न सक्छन्? अनि त्यत्रो रुपैयाँ उनका आफन्तले एक शब्द नसोधी खुरुक्क ल्याएर दिन्छन्। रअका चिफले त्यो अपरेसन बन्दीकुट मान्दैनन्।

राजा वीरेन्द्रलाई हचुवा आरोप

किताबमा २०४५ सालमा भारतले आर्थिक नाकाबन्दी गर्नुका कारणमा एउटा कारण उनले भारत र नेपालबीचको शान्ति तथा मैत्री सन्धि नवीकरण गर्न अस्वीकार गर्नु हो भनिएको छ। यो हचुवा आरोप हो। यो सन्धिको धारा १० मा एक वर्षको अवधि दिएर सूचना नदिएसम्म सन्धि कायम हुने उल्लेख छ। त्यतिबेला बरु भारतले व्यापार तथा पारवाहन सन्धि नवीकरण गर्न अस्वीकार गरेको हो। किताबको एउटा पानामा त राजाले नै व्यापार तथा पारवाहन सन्धि नवीकरण गर्न अस्वीकार गरेको लेखिएको छ। आफ्नै देशलाई गाह्रो हुने गरी आफैले सन्धि नवीकरण गर्न अस्वीकार गर्छ र भन्या। यति कमनसेन्स पनि नभएको र इतिहासको ज्ञानै नभएको लेखकले लेखेको किताब पढेर मिडिया र सोसल मिडिया कति सिरियस भएका !

भारतीय तस्करलाई नेपालको मन्त्री बनाइदिन्छु भनेको

राजीव गान्धी प्रधानमन्त्री हुँदा भारतले २०४५ सालमा नाकाबन्दी लगाउँछ। नेपालमा गाह्रो पर्छ। तर भारतले सोचे जस्तो नेपालले घुँडा टेक्दैन। किन त? नेपालको इन्धन र खाद्यान्नको स्टक कति छ? जासुसको काम त्यो पत्ता लगाउने हुन्छ। खोज्दै जाँदा भारतीय नाकाबाट तस्करी गरेर इन्धन र खाद्यान्न आउँदै गरेको पत्ता लाग्छ। अनि हाँसउठ्दो अर्को कुरा आउँछ- देशका लागि भन्दै यी जासुस भारतीय सीमा क्षेत्रका तस्करलाई भेट्न जान्छन्- लौ न हजुर, नेपाल जाने सामानहरु एक हप्ताका लागि रोकिदिनु पर्‍यो। तस्कर प्रमुख रघुपतिले मान्छन् पनि। कुराकानीका क्रममा रघुपतिले आफूलाई मन्त्री बन्न मन लागेको कुरा बताउँछन्। जवाफमा जीवले भन्छन्, म तपाईँलाई नेपालको मन्त्री बनाउन सक्छु। तर यहाँको हैन। कति हाँसउठ्दो। अनि रोचक त के भने किताबको अन्त्यसम्म आइपुग्दा चाहिँ उनी भारतकै त्यो राज्यको मन्त्री बनिसकेका हुन्छन्। उनलाई निम्तो पनि गर्छन् शपथ ग्रहणमा।

संविधान बनाए लगत्तै भारतले गरेको नाकाबन्दी पनि यसैगरी तस्करीकै कारण धेरै प्रभावकारी हुन सकेको थिएन। कुनै एउटा तस्कर प्रमुखले भनेर रोकेर रोकिने हैन तस्करी। पैसा आउने भएपछि आफै हुन्छ तस्करी। त्यहाँको सरकारले रोकेर रोक्न सकिने हैन तस्करी।

११ दिनमा नाकाबन्दी खुलेको झुटो विवरण

किताबमा जीवले तस्करसँग कुरा गरेपछि तस्करीका सामान नेपाल जानबाट रोकेको अनि नेपालमा हाहाकार भएर राजाले ११ औँ दिनमा वार्ताको प्रस्ताव राखेपछि भारतले नाकाबन्दी खोलेको उल्लेख छ। ई खोल्छ ११ दिनमा नाकाबन्दी ! झुटो कुरा लेख्ने ? त्यतिबेला १३ महिनासम्म भारतले नाकाबन्दी लगाएको थियो।

२०४६ सालमै माओवादी- प्रहरी भिडन्त?

किताबमा अर्को एउटा हास्यास्पद कुरा छ। नेपालको इतिहासबारे थोरै ज्ञान पनि नभएकोले किताब लेखेको भन्ने कुरा यसले प्रष्ट पार्छ। नाकाबन्दी खुलेको केही दिनपछि नेपालमा माओवादी र प्रहरी भिडन्तका खबर आएको किताबमा उल्लेख छ। ए बाबा, माओवादी त त्यतिबेला जन्मिएकै थिएन नि। कहाँको सशस्त्र संघर्ष गर्नु र भिडन्त हुनु। २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि भएको पहिलो चुनावमा त संयुक्त जनमोर्चाको तर्फबाट माओवादीले भाग लिएर सिटै जितेको थियो नि। २०५२ सालमा  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बूँदे माग बुझाएपछि पो माओवादी सशस्त्र संघर्ष सुरु भएको।

एक्लै राजतन्त्र ढाल्ने

बनारसमा जीवले गोविन्द नामका कांग्रेसी नेतालाई भेट्छन्। अनि रअको हेडक्वार्टरले नै नमानेको मिसन अर्थात् राजा हटाउनलाई आर्थिक, राजनीतिक, नैतिक र अपरेसनल सहयोग गर्ने आश्वासन दिन्छन्। हैट। भनेसि नेपालको गणतन्त्रका पिता त यही एक जना मान्छे पो रहेछ। रअको हेडक्वार्टर र भारतीय प्रधानमन्त्री लगायतका नेताहरु त मूकदर्शकमात्र रहेछन्। उनीहरुको केही हात रहेनछ। क्या सुपर हिरो रहेछन् त एक्लैले नेपालको राजतन्त्र नै ढाल्दिने। अनि नेपाली कांग्रेसका नेतालाई पनि पैसा दिन्छन् आन्दोलनका लागि। तर त्यसको सोधभर्ना भने हेडक्वार्टर नमान्ने भएर बोगस अपरेसन गरेर त्यसको खर्चबाट कटाउने रे। हैट !

साप्ताहिक पत्रिका निकालेको

किताबमा अर्को एउटा हाँसउठ्दो प्रसंग छ। रअले जीवलाई राजतन्त्रको बारेमा नराम्रा कुराहरु लेखेर एउटा साप्ताहिक पत्रिका निकाल्न अह्राउँछ। नेपाली भाषाको साप्ताहिक पत्रिका ‘बिहानी’ भारतमा छापेर नेपालमा बाँडिन्छ। कति हाँसउठ्दो। नेपालमा नेपाली पत्रिकालाई नै भारतले भन्या जस्तो लेख्न सकिहाल्छ नि। भारतबाट पत्रिका छापेर बाँडेको चाहिँ हाँसउठ्दो नै भयो। अझ त्यो पत्रिकाका लागि उनले सहयोग लिएका मान्छे शंकर थापा चैँ काठमान्डु पोस्ट र जनआस्थामा काम गरिसकेका मान्छे रे। गण्डकी अञ्चलका पूर्व प्रशासक थापा भारत निर्वासनमा आएको रे।

किताबमा दुई भाग छ। एउटा भाग नेपालको हो भने अर्को बंगलादेशको। बंगलादेशको पढिभ्याएको छैन। नेपालको सकिँदासम्म यसमा रअले कसरी राजतन्त्र ढाल्यो भन्ने कुरा केही पनि छैन। हावा गफहरु मात्र लगाइएको छ। एक जना माओवादी (त्यो पनि दोस्रो तहका भनिएको छ) र एक जना नेपाली कांग्रेसका नेतालाई भेटेर पैसा र गफ दिँदैमा राजतन्त्र ढल्छ?

किताबको नेपाल भागको अन्त्यमा जीवलाई अर्कै मिसनका लागि खटाइएको हुन्छ। प्लेनमा बस्दै गर्दा उनले रोल्पा, रुकुम र जाजरकोटमा हिंसा बढेको र माओवादी र प्रहरी द्वन्द्व भएको समाचार टाइम्स अफ इन्डियामा पढ्छन्। रघुपति तस्कर उत्तर प्रदेशका दुई कार्यकालका लागि मन्त्री हुन्छन्। नेपालमा प्रजातन्त्रको पुनर्स्थापना हुन्छ र राजा संवैधानिक प्रमुख हुन्छन्।

यही कुरा मिल्दैन। प्रजातन्त्र पुनर्स्थापना हुँदा अर्थात् २०४६ सालसम्म माओवादी भन्ने नै थिएन भन्ने कुरा लेखकलाई थाहै रहेनछ।

मेरो सुझाव
चर्चा सुनेर तपाईँलाई पनि यो किताब पढ्न मन लागेको छ कि? मेरो सुझाव छ नपढ्नुस्। त्यो पैसा अरु नै केही काममा लगाउनुस्। एउटा काल्पनिक उपन्यास बिकाउन एउटा भारतीय मिडियाले के के लेखिदियो, त्यसैको पछि हुल बाँधेर नेपालका अनलाइन र राष्ट्रिय दैनिकसमेत पछि लागे। सोसल मिडियामा हङ्गामा मच्चाइयो। वाहियात ! यो किताब यति चर्चा गरेर ब्लग लेख्न लायक पनि रहेनछ भन्ने यो किताब पढिसक्दा लाग्यो। धन्न काठमाडौँ पोस्टले भने बेलैमा यसबारे समाचार लेखेर सचेत चाहिँ गराएको थियो।

जाँदाजाँदै राम लोहनीको टिप्पणी पनि पढ्नुस्-

6 comments to रअका पूर्व अधिकारीको नेपाल किताब : हात्ती आयो फुस्सा ! काल्पनिक उपन्यासलाई लिएर मच्चाइएको कोकोहोलो

  • sanumaya odari

    किताब पढ्नु भन्दा पहिले माईसंसारको यो लेख पढ्न भ्याएकी थिएँ । आफ्नी छोरी र आफ्नै नाम समेत अर्कै राखेको पुस्तकमा नेपाली नेताको सक्कली नाम हुने कुरै भएन । र का एजेन्ट पो हुन त, सबै मिलाएर भविष्यका कामकारवाहीमा असर पुग्ने गरी किन लेख्थे । नाकाबन्दीको प्रसङ्ग ०४५ सालको जस्तो देखिन्छ । व्यापार बाणिज्य सन्धि नवीकरण नभएको अत्तो थापेको प्रसङ्ग सही हो । मुक्तेश्वर भने चन्द्रशेखर जस्ता लाग्छन् । ०४५ सालको नाकाबन्दी देखि ७२ सालको नाकाबन्दी सम्म ईण्डियाको एउटै उद्धेश्य नेपाललाई बेलानकुबेला घुँडा टेकाउनुमात्र रहेकाेले बीचमा लेखकले फास्ट फरवार्ड गरेछन् क्यारे । त्यै भएर पिक्चर मिलेन।
    सिद्धान्त भन्दा साहित्यले प्रभावित भएर क्रान्ति हुने देशमा ईनसाईड नेपालले पनि मच्चाउने नै भयो । खै कुरा बुझेको ।

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • madan bajracharya

    किताव झुठो होला/ तर नेपाल प्रति भारतको कूनिति र ब्यबहार अनि नेपालको जलश्रोत उसको बपौति जस्तै ठान्ने गरेको र नेपालको उच्च पदस्थलाई तुच्छ ठान्ने गरेको चाहि कटु सत्य नै हो/

    यो भन्दा पहिलाको “र” को पुर्व अधिकारिले इन्दिरा गान्धीले तराई नेपाल बात अलग्याउन खोजे चाहेको थियो भनेको; अस्ति भर्खरै भाजपाको सांसदले तराईको २२ जिल्लाहरु नेपाल बात खोसेर लिनु पर्छ भनेको र भाजपाकै सांसद मोदीले भूकम्पले कहालिरहेको नेपाललाई उसले भने जस्तै संबिधान दिन अनैतिक दवाव नाकाबन्दी गरेकोले पनि संकेत गर्छ नेपाल प्रति भारतको नियत फोहर छ/

    नेपालीले नेपालमा राजनैतिक परिबर्तन चाहेको थियो/ तर जत्ति चोटी परिबर्तन भयो नेपालीले चाहेकै जस्तो परिबर्तन भयन भारतले चाहेकै जस्तो परिबर्तन भयो र जत्ति चोटी तेस्तो परिबर्तन भयो तेस्मा मह काट्ने चाट्ने त् भारतनै भयो/ तेस्तो हरायक परिबर्तन पछी सडक बात …पुग्ने पनि “दिल्लीका राम है हम उनका भरत भाई भरत है” नै भयो/ यो कुरामा अपबाद बन्ने मनमोहन जस्तै सबै घोक्रेथ्याङ्क खाने मात्रै बने/ यो कुरालाई अलि स्पस्ट सितै भन्ने हो भने ” नेपालमा भारतको स्वार्थमा अलिकति मात्रै बाधक बन्ने चाहे त्यो राजा होस् शासन ब्यबस्था होस् बा कलकारखाना संस्था सबै यक पछि अर्को ……हुँदै गयको छ; के ई कुराहरु मात्र संयोग हो?

    भारतलाई “ठुल्दाई” मान्ने नीति र नेताहरु नेपालीलाई मन पर्दैन/ यो कुरा नेपालीलाई भन्दा भारतलाई “हेक्का” छ/ नेपालीले नचुने भारतलाई कोशी गण्डकी महाकाली को भेटि बलि चढाउँन सक्ने पदमा कोहि पुग्ने सक्दैन/ तेसैले त् हो नि चुनावको अघि सबै … बन्छन; भारतलाई विस्तारवादी आदि के के भन्छन; भरत सिट भय गरेका के के सन्धि ….पनि भन्छन र भारतले जवर्जस्ती अर्को कास्मिर बनायको कालापानी पनि पुग्छन/ अनि नेपाली दंग भयर तेस्तालाई भोट दिन्छन/ तेस्पछि के हुछ त्यो त् भनि रहनु पर्दै पर्दैन/

    हामि नेपालि र हाम्रो नेपाल यस्तो अवस्था बात अलिकति मात्रै मुक्ति पायको छ बा तेस्तै अबस्थामा अझ बढी जाकियको छ भन्ने कुरा “सप्त कोडी उच्च बाँध” को बारेमा जे हुन्छ तेस्ले स्पस्ट गर्छ/ किनभने नेपालमा भारतको स्वार्थको अन्तिक मन्जिल नेपालको भूमिमा सप्तकोशी उच्च बाँध बनाउनुनै हो/

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

  • सत्य

    अब नेपालीले पनि लेख्नपर्यो आफ्नो अनुभवको आधारमा काल्पनिक कथा त्रिभुवन राजपथ जस्तो बंगाई लम्ब्याई|
    पहिले कुरो, अटोबैओग्राफी होइन ‘रे| त्यसमाथि पनि डिस्क्लेमर हालेपछि कामै सक्यो|
    रामे संग बसे पछि उसैको जीवनी संग मिल्दो जुल्दो थप मरमसाला हालेर किताब लेख्ने तर नाउ चै च्यामे राखिदिने|
    यो कि बलुन टेस्ट गरेको हुनसक्छ, कति सम्म तरङ्ग फ़ैलाउछ भनेर हेर्न| ध्रुबहरिजीको के कुरा गर्नु, विचरा जानेमाने पत्रकार युवराज घिमिरे सर पनि यो भुंवरीमा किन फंसेको होला|
    पहिले देखि घिउ हराउने गरेको हो, हर्पे अन्तै तिर पनि देखे पछि शंका भएको हो, हर्पेमा रंग लगाएको हो वा हर्पे सारेर गंगु धोबी बनेको हो?
    अटोबाइओग्राफी शब्दकै अवमुल्यन हो यो पुस्तक जेस्कै डिस्क्लेमर हाले पनि| अमर भुषणको शैली कटुवालले सेलेक्टिभ भएर अरुलाई लेखाएर आत्मारतिमा रमाउदा भन्दा बढी अवमुल्यन भएन र भन्या?

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Shankar

    हैन फत्यान्ग्रो ले पहाड नाग्यो भनेर कसरि पत्याउने ? प्रश्न त् उठिहाल्छ कसको बुइ चढेर ?
    यी मुलाको साग हरु तेत्रो हिरो भैदिएको भए , आज मेलाम्ची तुहिने , भ्रास्टाचार व्याप्त हुने , देश भर अथिति , अनाचार हुने त् हुदैन नि ?पुलिस , प्रसासन सब निकम्मा
    हेर्नुस देश को बजेट मा दाइ खेलेर सिन्गापुत उडेका ?
    एस्तो पनि हुन्छ |
    अब तेसो भए मुख मा मावो को तस्बिर टासेर माउत्सेतुङ्ग हुने , गाउको तुले ले आइन्साटाइन लाइ चुनौती दिने सब पत्याउ | हृशी धमला लाइ पहिलो नेपालि पदम श्री बिभुसन दिएर सम्मान गरम |

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • गजेन्द्र

    सालोक्य,
    अझ ०४५ सालका नाकाबन्दी १३ पनि हैन, १५ महिनासम्म लम्बिएको थियो । यो २०४५ चैत १० गतेबाट सुरू भएको थियो ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • pradeep

    धन्यवाद उमेश जी.

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)