यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।
eXTReMe Tracker

नेपाली भाषामा बढ्दै गएको दरिद्रता

• उनलाई मन पर्ने एउटा फिचर उसले आफ्नो नयाँ उत्पादनमा राख्न शुरु गर्‍यो ।

• त्यस्तो परिस्थितिमा यात्रुको अवस्थाका बारेमा क्रु मेम्बरलाई जानकारी गराइन्छ ।

म्यासेजहरु डिलिट गर्दा होश पुर्‍याउनुपर्छ ।

• त्यति भनेर ऊ आफ्नो रुमतिर लागी ।

माथिका उदाहरणमा रहेका वाक्यांशहरु नाम चलेका पत्रिकाहरुका समाचार, लेख र साहित्यिक रचनाहरुबाट लिइएको हो । पहिलो पंक्तिको वाक्यांश एउटा लेखबाट लिइएको हो जसमा लेखिएको ‘फिचर’ शब्दको साटो ‘बिशेषता’ लेख्न त्यो लेख लेख्नेलाई कति गाह्रो लाग्यो त्यो कुरा लेख लेख्नेलाई नै थाहा होला । हाम्रो जस्तो धेरै जसो जनता अझै पनि साक्षर मात्र भएको देशमा ‘फिचर’ शब्दको वास्तविक अर्थ बुझ्ने कति होलान् ?

दोश्रो पंक्तिको वाक्यांश एउटा समाचारबाट लिएको हो । यसमा पनि ‘क्रु मेम्बर’ बुझ्न सक्नेले ‘चालक दल’ लेखेमा नबुझ्ला र ? ‘क्रु मेम्बर’ लेख्नै पर्ने आवश्यकता देखिदैन ।

त्यस्तै तेस्रो पंक्तिको वाक्यांश पनि एउटा समाचारबाट लिइएको हो । ‘डिलिट गर्दा’ लेख्दा स्तरीय सुनिएला या ‘मेटाउँदा’ लेख्दा स्तरीय लाग्ला सबैले छुट्टाउन सकिने कुरो हो ।

अनि अन्तिम पंक्तिको वाक्यांश चाहिँ चर्चित पत्रिकाले छापेको एउटा कथाबाट लिइएको हो । यसमा त झन् अनावश्यक रुपमा कोठाको साटो ‘रुम’ प्रयोग गरिएको छ जसले कथाको स्तर बढाएको नभई घटाएको छ ।

माथिका उदाहरणका वाक्यांशहरु पढ्दा यस्तो लाग्छ, नेपाली भाषामा मनग्गे शब्दहरु नै छैनन् र हामीले बाह्य भाषाबाट शब्दहरु मागेर चलाउनु परेको छ । के नेपाली भाषा त्यति दरिद्र भैसक्यो कि हामीले अन्य भाषाबाट शब्दहरु सापटी लिनुपर्ने भयो ? या हामी आफ्नो माग्ने बानीलाई भाषामा पनि प्रयोग गरेर आफ्नो दारिद्र्यता आफै देखाउँदै छौ ?

आजभोलि पत्रिकामा छापिएको समाचार होस्, साहित्यिक लेख होस् या अन्य कुनै पनि नेपालीमा लेखिएका लेखहरु हुन्, तिनमा बाह्य भाषाका शब्दहरु अनि बिशेष गरी अंग्रेजी भाषाका शब्दहरु जस्ताको तस्तै रुपमा नेपालीकरण गरेर लेखेको पाइन्छ । लेखनमा मात्र होइन टेलिभिजन या रेडियोमा बोल्ने भाषामा पनि त्यही स्थिति छ । अहिले बर्षाका च्याउ सरी उम्रेका एफ एम रेडियो र तिनका अधिकांश युवा प्रस्तोताहरुले प्रयोग गर्ने भाषाको स्थिति त झन् दयनीय छ ।

भाषा भनेको नियमित परिवर्तन हुने चिज हो, त्यसलाई रोकेर रोक्न पनि सकिदैन तर भाषाका आफ्ना बिशेषता पनि हुन्छन् । ती विशेषतालाई नाघे पछि त्यो भाषाको अपमान गरेको ठहर्छ । नेपाली भाषामा हुँदै नभएका केही नयाँ शब्दहरुलाई अन्य भाषाबाट ल्याएर त्यसलाई जस्ताको तस्तै रुपमा राख्नु ठूलो कुरो होइन । जस्तो कि ‘टिकट’ शब्द अंग्रेजीबाट जस्ताको तस्तै नेपालीमा आएको छ किनभने नेपालीमा त्यो अर्थ व्यक्त गर्ने अन्य कुनै शब्द नै थिएन । त्यो बाहेक, अर्काथरि शब्दहरु जो नेपालीमा उल्था भएका हुनसक्छन् तर ती शब्दहरु नेपालीमा बोल्दा अलि अप्ठ्यारो पनि लाग्ने अथवा अनौठो सुनिने हुन्छ, त्यस्ता शब्दहरुलाई जस्ता को तस्तै रुपमा प्रयोग गरिन्छ र गरिएको छ, त्यसमा कसैको आपत्ति हुदैन । त्यसको एउटा उदाहरण हो— रेडियो ।

रेडियोलाई नेपालीमा उल्था गरेर आकाशबाणी भन्न सकिन्थ्यो तर रेडियो भन्दा सजिलो हुने हुनाले त्यही नै नेपाली शब्द हुन पुग्यो । त्यसैले त्यस्ता शब्दहरुलाई स्विकार्नु बाहेक अर्को उपाय पनि छैन । तर नेपालीमा नै प्रसस्त भएका, जनामानसको जिब्रोमा झुन्डिएका शब्दलाई पनि प्रयोग नगरेर जबर्जस्ती आगन्तुक शब्दहरु प्रयोग गर्ने अहिले होडबाजी नै चलेको देखिन्छ ।

त्यसो भनेर बाह्य भाषाका शब्दहरु प्रयोग नै गर्नु हुदैन भनेको पनि होइन । अंझ अंग्रेजी त विश्वब्यापी भाषा नै भैसक्यो, कतिपय ठाउँमा अंग्रेजी भाषाका शब्दहरु प्रयोग नगरेर सुखै पाइदैन जस्तो कि विज्ञान र प्रविधि क्षेत्रका कतिपय शब्दहरु अंग्रेजी नै प्रयोग गर्नुपर्छ । तर सामान्य प्रयोजनको लागि जनमानसले सजिलै पचाउन सक्ने शब्दहरु हुँदाहुँदै पनि अर्को भाषाका शब्दहरु प्रयोग गर्नु भनेको भाषाको अपमान मात्र होइन विकृति पनि हो ।

साहित्य लेखनमा कुनै पात्रका संवादको लागि उसको मौलिकता देखाउन बाह्य भाषाहरु जस्ताको तस्तै अलि बढि नै प्रयोग हुन्छन् । जस्तो कि ‘नाइस टू मिट यु, उसले हात मिलाउँदै भन्यो’ भनेर कुनै कथा या उपन्यासमा लेख्न सकिन्छ । तर त्यस्ता बाह्य भाषाका शब्द या वाक्यहरु प्रयोग गर्दा मोटो अक्षर या टेढो अक्षर या उल्टो कमा (“_”) या अन्य कुनै विधिले त्यो शब्द नेपाली हैन है भन्ने कुरा पाठकलाई जानकारी गराउन सकिन्छ । त्यस्तो परिप्रेक्षमा बाह्य भाषाको शब्द या वाक्य प्रयोग गर्दा सायद अधिकांश पाठकहरुलाई पाच्य पनि होला । तर त्यसैलाई अर्को तरिकाले पनि पाठक समक्ष राख्न सकिन्छ जस्तो कि ‘उसले उनलाई भेट्दा आफूलाई खुशी लागेको कुरा अंग्रेजीमा बतायो’ भनेर लेख्न सकिन्छ ।

तर सोझै कुनै सन्दर्भ बिना नै अंग्रेजी शब्दलाई टपक्क उठाएर नेपाली लेखमा राख्नु आफैमा लाज मर्दो हो, जस्तो कि माथिको चौथो पंक्तिको वाक्यांशको उदाहरणमा ‘रुम’ शब्द यस्तै कुनै आवश्यकता बिना प्रयोग गरिएको छ ।

हामी भनौंला बाह्य भाषाका शब्दहरु नलिंदा भाषा कहाँ बलियो हुन्छ र ? एकलकाँटे भएर कसरी भाषा धनी हुन्छ? सबै भाषाबाट शब्दहरु लिएको हुनाले नै अंग्रेजी अहिले संसारको सबभन्दा लोकप्रिय भाषा भएको छ । तर अंग्रेजी र नेपालीको कुरो अर्कै हो । अंग्रेजी भाषाले आफ्नो अस्तित्वको बारेमा सोच्नु पर्दैन, अनि अंग्रेजी भाषा एउटा निश्चित समुदाय या देशमा मात्रै बोलिदैन त्यसैले यसलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि छैन र नियन्त्रण गर्न सम्भव पनि छैन । तर भाषामा तीव्र विदेशिकरण भयो भने नेपाली भाषाले आफ्नो अस्तित्व नै गुमाउनु पर्ने समय आउन पनि सक्छ । बाह्य भाषाका शब्दहरु अनियन्त्रितरुपमा अन्धाधुन्ध आयात गर्दा नेपाली भाषा धनि त होला तर त्यो भनेको मागेर धनी भएको जस्तै हो ।

त्यसो त नेपाली भाषा पहिले देखि नै धनी छ । नेपाली शब्दकोशमा ६० हजारको हाराहारीमा शब्दहरु होलान, तिनलाई क्रिया, लिंग र काल अनुसार प्रयोग गर्दा लगभग एक लाख भन्दा बढि शब्दहरु सजिलै बनाउन सकिन्छ । नेपालीमा हुँदै नभएका, उल्था गर्दा पनि अलि अनौठो लाग्ने अनि जनमानसले पचाइसकेका केही आगन्तुक शब्दहरु र शुद्ध नेपाली भाषाका शब्दहरु मात्रै प्रयोग गरेर साहित्य, समाचार या अन्य कुनै लेख लेख्दा अनि रेडियो र टेलिभिजनमा बोल्दा शब्दहरु काफि नहोलान् जस्तो लाग्दैन ।

कुनै पनि भाषाको साहित्य या लेखमा जनजिब्रोका भाषा र शब्दहरु प्रतिबिम्बित हुनु पर्छ भनेर भन्ने कुरो ठिकै हो तर अहिले जस्तो संचारको युगमा साहित्य, लेख, अखबारहरु, टिभीले भाषालाई शुद्धिकरणतर्फ डोर्‍याउन पनि निर्देशनात्मक भूमिका निर्वाह गर्नुपर्छ । जनजिब्रोलाई हामीले नियन्त्रण गर्न सक्दैनौ तर उनीहरुले सुन्ने समाचार र पढ्ने लेखहरुबाट नै उनीहरुले आफ्नो भाषा बनाउँछन् । त्यसैले अवश्य पूर्णरुपमा दिशा निर्देश गर्न नसके पनि उनीहरुलाई एउटा सही दिशातिर डोर्‍याउन चाहिँ सकिन्छ । त्यसो गर्दा भाषा धनी पनि हुन्छ अनि भाषाको मैलिकता पनि जोगिन्छ ।

नेपाली भाषाको पछाडि बिशाल शब्दकोश भएको सुमधुर र सुसभ्य संस्कृत भाषा छ । संस्कृत भाषामा २० लाख भन्दा बढि शब्दहरु छन् भनिन्छ र हामीले जति पनि शब्दहरु संस्कृत भाषाबाट ल्याउन स्वतन्त्र छौं । संस्कृतबाट ल्याईएका शब्दहरु जस्ताको तस्तै या परिमार्जन गरेर नेपालीकरण गरेर प्रयोग गर्न सकिन्छ । त्यतिले पनि पुगेन भने हाम्रा भगिनी भाषाहरु जस्तै मैथिली, भोजपुरी, थारु, तामाङ, लिम्बु भाषाहरुबाट पनि नेपालीमा शब्दहरु आयात गर्न सकिन्छ । त्यसो गर्दा नेपाली भाषा को मात्र नभएर हाम्रा अन्य राष्ट्रिय भाषाको पनि विकास हुन्छ ।

त्यसैले नेपाली भाषाको नियमन गर्ने संस्थाले नेपाली भाषाका लेखहरु, समाचार, साहित्य अनि रेडियो र टेलिभिजनमा प्रयोग हुने भाषाको अनिवार्य शुध्दिकरणको लागि कदम चाल्ने बेला आएको छ ।

5 comments to नेपाली भाषामा बढ्दै गएको दरिद्रता

  • sagar

    म दावा गरेर भन्न सक्छु, १००% नेपालीलाई नेपाली लेख्न पनि आउँदैन, बोल्न पनि आउँदैन । विश्वास लाग्दैन भने, कान्तिपुर पत्रिकाको कुनै पनि एक अनुच्छेद (paragraph) आफ्नो परिवारको सदस्यलाई पढ्न भन्नु र त्यो सुनेर लेख्नुस् , कसैले पनि १००% शुध्द लेख्नै सक्दैन र त्यो पढ्नेले पनि शुध्द पढ्दैन । यही लेखको कुरा गरौं । यसमा पनि धेरै गल्ती छ। जस्तै, बिशेषता होइन विशेषता हो । नेपाली वर्णमालामा व र ब फरक फरक अक्षर हुन् । आकाशबाणी होइन, आकाशवाणी हो । यस्तै धेरै गल्तीहरु छन् यो लेखमा । नेपालीहरु श र ष को उच्चारण गर्न जान्दैनन् । श, ष र व नेपाली वर्णमालाबाट हटाइदिए नै हुन्छ, किनकि यसको उच्चारण पनि गरिन्न, नेपालीहरु जान्दा पनि जान्दैनन् । केही समय अगाडि रवि लामिछानेको कान्डमा ९९.९९% नेपालीहरुले उनको नाम गलत लेखेर फेसबुकमा समर्थन गरे । उनको नाम रबि, रबी होइन, रवि हो । यो विषयमा सोच्न लाग्यो भने सारा नेपालीहरु अनपढ जस्तो लाग्छ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 1 Thumb down 1

  • madan bajracharya

    मलाई लाग्छ मानिसले जन्मँदै जानेको भाषा र बोलि त् मात्र यक सब्द हो त्यो हो “उईया” हो/ बच्चा जन्मँदा साथ् बोल्ने सब्द त्न यहि हो/ मात्र त्यो सब्द जानेको बच्चाले पछि उसलाई पाल्ने; उ सिट खेल्ने बस्ने बात अरु सब्दहरु सिक्छ/ तेसैले सबै भाषाको श्रोतको आधार मात्र संगति र संस्कार हो/ तेसैले त् हो नि यकि भाषा पनि फरक फरक स्थान र समुदायमा फरक किसिमले नै बोलिन्छ/ त् कुन सुद्ध कुन असुद्ध?

    भासाकको जननी संगति सब्दाले बच्चालाई जन्माउने आमा बाउ, परिबार साथि गुरु मात्रै समेट्दैन पुरै समाज समेत समेट्छ/ तेस्तै संगति सब्दाले संगै खेल्ने बस्ने मात्रै समेट्दैन मानिने धर्म र त्यो धर्म अनुसार गरिने संस्कार र गाईने गित देखि छिमेकी(मुलुक पनि हुन् सक्छ व्यक्ति पनि हुन् सक्छ) समेट्छ/ फेरी कुन भाषा को उत्पति कहा कुन समाजमा भयको भन्ने कुरामा त्यो भाषाको लिपि नै निर्णायक हुन्छ/

    नेपालमा सयौं भाषा बोलिन्छ/ त्यो हिसावले नेपालमा नेपालि समुदायहरुले बोल्ने सबै भाषा नेपालि हो/देसमा सबैले सबैको भाषा प्रयोग गर्न सक्दैन/ तेसैले जुन भाषा धेरैले प्रयोग गर्न जानेको हुन्छ तेसैलाई देसैको भाषा मानिन्छ/ खस भाषा अरु भाषा बोल्ने नेपाली बिचको पनि सम्पर्क भाषा बनेकोले “खस भाषा” देसैको भाषा बने; औपचारिक तवरले रास्ट्र भाषाको दर्जा पनि पाय/ तर कसैले पायको दर्जा नै उसको नाम हुँदैन/ यस्तो हुने भय बिद्या भण्डारीको नाम नै “रास्ट्रपति हुन्थ्यो होला”/

    अब “रास्ट्र भाषा” को मान पायको नेपालि भासा पनि भनिने खस भासा कसरि बोले सुद्ध हुन्छ भन्ने कुरा/ नेपालमा फरक फरक स्थान र फरक फरक समुदायमा खस भाषानै मातृ भाषा भयकाहरुले खस भाषा फरक फरक किसिमले बोल्छ/ खस भाषाले देव नागरि अर्थात हिन्दि लिपि प्रयोग गर्छ/ देव नागरि लिपि हिन्दि लिपि भयको कुरा नेपालले संयुक्त रास्ट्र संघमा लिखित रुपमै मानेको छ र नेपाली भाषा मानिने खस भाषाको लिपि नेवारी लिपि “भाषाको रन्जनालिपि” हो भनेर रास्ट्र संघमै दर्ता गरेको छ/

    खस भाषानै मातृ भाषा भयकाहरुले नेपालकै अन्य भाषाको सब्दहरु बिरलै मात्र; बिरलै मात्र पनि होईन सायद केहि सब्दहरु मात्रै अङ्गीकार गरेको छ र बाकि अधिकाश सब्दहरु हिन्दि सब्द भन्दा अलिकति फरक पारेर बा जस्ताको तस्तै बोलिन्छ लेखिन्छ/आज भोलि हिन्दि बोल्नेहरु हिन्दि बोल्दा सके जत्तिको अंग्रेजी सब्द घुसायर मिसायर बोल्छ/ खस भाषा बोल्नेहरु पनि उनीहरुकै नक्कल गर्न थालेको छ/ यस्तो अवस्थामा “सुद्ध असुद्ध” को कुरा गर्नु भन्दा “ठुला र धेरैले जसरि बोल्छ लेख्छ तेही सुद्ध” मान्नुको बिकल्प कमसेकम अन्य भाषा बोल्ने नेपाली सिट छैन/.

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • Pratik Pradhan

    नेपाली भाषा केहि बर्ष पछि हराएर जान्छ! त्येसको जिम्मेवार हामीहरु हुनेछौं!

    नेपालीहरु धेरै हिन्दि शब्दहरुको प्रयोग गर्न रुचाउनु हुञ्छ!

    केहि उदाहरण प्रस्तुत गर्न चाहन्छु

    फूल = अन्दा
    बन्दि = कैदी
    फागुन पुर्णिमा = होलि
    दीपावली = दिवाली

    मलाई नेपाली भाषामा अंग्रेजी शब्दहरु भित्रिएकोमा दुख लाग्दैन तर आफ्नै भाषा जस्तो गरेर व्यापक हिन्दि शब्द हरुको प्रयोग भएको धेरै मन दुख्छ!

    मन परे हरियो नपरे रातो ! Thumb up 0 Thumb down 0

  • तेमाले तामांग

    कमेन्ट लेख्नु खासै मन थिएन तर औंलाहरू बढिहाले| बिषयको उठान सही छ तर
    नेपाली भाषामा बढदो दरिद्रताको सट्टा पत्रकारिताको स्तरमा देखिन आएको ह्रास भने कसो होला? नेपाली भाषा तलमाथि लेख्न जान्ने जो पनि पत्रकार! ब्यवासासियताको कमी|
    दुई चार पंक्ति समाचार कोर्ने बित्तिकै पत्रकार ‘रे| सबै संवाददातालाई कसरि पत्रकार भन्ने?
    अन्लाईन र टीभी युट्युबले जो कोही पनि पत्रकार| एउटा गतिलो लेख विश्लेषण नलेखी कब्जियत भए जस्तो गरेर टीभी अन्तर्वार्ता लिंदा चिच्याउने पनि पत्रकार, त्यतिले नगुपेर बरिष्ट पत्रकार ‘रे| के हो मापदण्ड पत्रकारको? प्रेस काउन्सिल र पत्रकार संघको ब्याज पाएपछि पत्रकार भैहाल्ने? त्यै भएर इटहरीका मेयर चौधरीले लोप्पा खुवाएका हुन् कि? उनैले पत्रुकार र पत्रकार पनि छुट्टाए|
    गत साता सम्प्रसारित दुइवटा शब्दहरुमा केहि पत्रकारहरुले ध्यान दिएको देखिएन|
    १) चिनिया ह्याकरहरु माया मनोहर होटलमा बसेका भन्ने लेखे| यस घानमा जाने माने खाने भनिएका पत्र पत्रिकाहरु पनि परेका छन्| हुनपर्ने थियो मेनोर (manor) तर कसरि हो मनोहर भनेर लेखे| यो त केशवराज पिंडालीज्युले भने अनुसार उबेला परराष्ट्र मन्त्रलायका कारिन्दाले Duke of London को सट्टा डुकुलनठन लेखे भनेका थिए, त्यस्तै भयो|

    २) अर्को समाचारमा मिटर ब्याज भनेर निकै घोडा दौडाए| तर पाठक/दर्शकलाई “मिटर ब्याज” भनेको के हो कसैले पनि खुलाउने धृष्टता गरेनन|
    (भन्नै पर्दा, स्थापित मेडिया हाउस द्वारा संचालित केहि मेडियामा भन्दा माई संसारले केहि समय देखि लेख्दै आएको ब्लगहरु खोजीपूर्ण छ र भाषा र तथ्यांकहरुले पनि पत्रकारिताको दिशा पहिल्याएका छन्|)
    अन्तमा, message कसरि म्यासेज भयो? मेसेज वा मेस्सेज हुनपर्ने हो|
    वहुभाषी र वहुजाती समुदायमा नेपाली भाषा पर्फेक्ट भनेको संस्कृतिकरण हुनपर्छ भन्ने होइन| जसरि “यावत” र “येन केन प्रकारेण” लाई स्वीकारेका छौ, आजका युगमा अंग्रेजीका शब्दहरुलाई सही रुपमा स्वीकारेर प्रयोग गरे केहि फरक पर्दैन| छोराछोरीलाई ऋणम र घुसम कृत्वा अंग्रेजी स्कुलमा पढाउ भन्ने सबैको मानसिकता छ, यस्तो अवस्थामा तत्सम र तद्भव शब्दहरु प्रति ध्यान दिन पर्छ तर मुखले एउटा बोलेर गर्ने अर्कोलाई हिपोक्रेसी वा आडम्बरी भनिन्छ क्यारे|
    कपि एडिटर चाहियो हजुर!
    टिभी अन्तर्वार्तामा चलनचल्तिको भाकामा भन्नुपर्दा —थ्यांक यु, धन्यवाद, थ्याङ्क यु सो मच!

    मन परे हरियो नपरे रातो ! Thumb up 5 Thumb down 0

  • Mahendra Gorkhali

    लेख राम्रो छ । अंग्रेजी नमिसाइपढ्नु सुक्ख छैन हिजोआज । मोबाइल फोन प्रयोगमा आए पछि र विशेष गरी फेसबुक जस्तो सामाजिक संजाल प्रविधि आए पछि जस्तो अनपढले पनि कीबोर्ड थिची रहेकै हुन्छ र छिट्टो अंग्रेजी शब्दहरु सिकेर अरुलाई देखाउन पनि नेपालीमा मिसाउँछ ।
    दुर्गति त नेपाली भाषाको एकरुपतामा छ । युनिकोडमा टाइप गर्ने, प्रीतिबाट युनिकोडमा सार्ने आदि कामहरु गर्दा हिज्जेको सर्वनाश भएको छ । पीरलाइ पिर, जीरालाइ जिरा, फूललाई फुल, विकाशलाइ विकास, मूललाइ मुल, मूलालाई मुला, भूललाइ भुल…..कति कति। ..

    नेपालीमा छापिएको बाईबल पढ्नु भएको छ ? म हिन्दू हूँ न कि हिन्दु हुँ । तर पनि त्यो बाईबल पढेर सकेको छु । जसले शुरुमा बाईबललाइ नेपालीमा अनुवाद गर्यो, उसलाई मान्नु पर्छ । नेपाली भाषाको उत्कृष्ट लेखाइ र नमूना त्यो हो । अहिलेका ब्लग, समाचार पत्र पत्रिकाहरु, अनलाइन सामाग्रीहरु सब खिचडी छन ।

    वास्तवमा थोरै पैसामा सस्तो टाइपिष्ट (टंकक) प्रयोग गरेपछि त्यस्तो हुन्छ जस्तो लाग्छ । नेपाली भाषामा कुनै ज्ञान नभएकोले टाइप गर्छ हतार हतार, सम्पादक भनाउँदोले राम्रो सित हेर्ने होइन किनभने ऊ पनि त्यस्तै सस्तोखाले सम्पादक हुन्छ । कसैलाई मतलब छैन ।

    हुँदा हुँदा त्यही पढ्ने बानी परिसक्यो, अब त मेरै पनि खिचडी लेखाई हुनु थालेको छ ।

    कोही राम्रो भानुभक्त, मोतीराम, देवकोटा वा पारसमणि प्रधान निस्केलान फेरी र सुधार्लान भन्ने आशा गरौँ ।

    मन परे हरियो नपरे रातो ! Thumb up 3 Thumb down 0

Leave a Reply

  

  

  

Enable Google Transliteration.(To type in English, press Ctrl+g)