२०६२ साउन ३ गते, सोमबार
हिजो राष्ट्रिय चलचित्र महोत्सवको समापन समारोहको प्रत्यक्ष प्रसारण टेलिभिजनमा हेरियो। रहरले हेरेको हैन, बाध्यताले हेरेको। कस्तो बाध्यता भन्नुहोला, अब रिमोट आफ्नो हातमा नभएपछि अरुले जुन च्यानल राख्यो त्यही बाध्य भएर हेर्नु बाहेक अरु के विकल्प हुनसक्छ त? महोत्सवका क्रममा श्री ५ बाट भारतीय चलचित्रकर्मी देव आनन्दलाई सम्मान गरिबक्सेको थियो। तर देव आनन्दले हाम्रा राजाप्रति सार्वजनिक समारोहमा देखाएको व्यवहार भने मलाई चित्त बुझेन। बाँकी
देव आनन्दको नेपालको राजपरिवारसित निकटको सम्बन्ध छ भनेर भारतीय पत्रिकाहरुले छापेकै हुन्। तर त्यस्तो सम्बन्ध व्यक्तिगत तवरमा मात्र हुनु ठीक हुन्छ। सार्वजनिक समारोहमा यस्तो व्यवहार ? अहँ, मलाई त चित्त बुझेन!
भएको के थियो भने समारोहको लगभग अन्त्यतिर देव आनन्दलाई सम्मानपत्र राजाको हातबाट प्राप्त भएपछि यी बूढा कलाकारले माइकमा आएर केही शब्द बोले। यसक्रममा श्री ५ बाट नेपाली जनताका लागि चालिबक्सेको कदमको उनले समर्थन पनि गरे। बोल्न सकेपछि उनी फेरि मञ्चको मध्य भागमा आए जहाँ राजा र रानी थिए। साथमा सामूहिक फोटो खिचाउनका लागि सम्मान र अवार्ड पाउने अरु नेपाली कलाकारहरु पनि थिए।
देव आनन्दले हाम्रा राजासित कुरा गरे। साथीलाई झैँ राजाको दायाँ छातीमा बारम्बार हात लगाउँदै कुरा गरे। एकछिन पछि राजाको दायाँ हातलाई आफ्नो बायाँ हातमा बेरे र फोटोका लागि पोज दिए।
राजा नेपालको सर्वोच्च पद हो। सम्मान लिनेले सम्मान दिन पनि जान्नुपर्छ। देव आनन्दले हाम्रा राजाप्रति जस्तो व्यवहार देखाए, के उनले भारतका राष्ट्रपतिलाई त्यस्तो व्वयहार देखाउन सक्छन् ? सक्दैनन्। उनको राजपरिवारसित जस्तो सम्बन्ध भए पनि त्यसलाई सार्वजनिक समारोहमा त्यसरी देखाउनु उपयुक्त थिएन। राजामात्र किन प्रधानमन्त्रीलाई पनि त्यसरी छातीमा पिट्ने व्यवहार देखाउन हुने थिएन चाहे त्यो प्रधानमन्त्री आफ्नै साथी किन नहोस्। सार्वजनिक समारोह र पदको सम्मानको पनि ख्याल गर्नुपर्छ।
सम्मान भन्नाले मैले फेरि अस्ति नायक शिव श्रेष्ठले देखाएको जस्तो साष्टाङ्ग दण्डवत होस् भन्न चाहेको हैन। त्यो पनि अति नै थियो। सार्वजनिक समारोहमा एउटा हदमा रहनुपर्छ। यहाँ निर मलाई नेपाली र भारतीय कलाकारको राजपरिवारप्रतिको दूरी पनि उल्लेखनीय नै लाग्यो। नेपाली कलाकारले चार खुट्टा टेकेर सम्मान जनाउनु पर्ने, भारतीय कलाकारले भने छातीमा पिट्न पाउने!
अनि अर्को एउटा पनि कुरा, मैले त हैन अरुले याद गरेका (हिजो घरमा भोज थियो, त्यसैले परिवारका थुप्रै त्यहाँ थिए) उनीहरुका अनुसार राजालाई पिठ्युँ देखाउन हुँदैन भन्ने पुरानो चलन छ रे। तर हिजो त केहीले मात्र (दुई प्रतिशतले होला) त्यो चलन पालन गरे। राजेश हमाल र अरु केहीले पुरस्कार थापेपछि पाइलापछाडि सार्दै फर्किए तर भुवन केसी लगायत थुप्रैले भने राजाको हातबाट पुरस्कार थाप्ने बित्तिकै अवार्ड दर्शकतर्फ देखाउँदै राजालाई भने पिठ्युँ मजाले देखाइदिए।
जुत्ताको माला लाउन राजा तयार हुने कि नहुनेः रामचन्द्र पौडेल
त्यसो त यो केही दिन अगाडिको कुरा हो तर त्यतिबेला खै किन हो ब्लग गर्न मन लागेन। आज राजाप्रतिको सम्मान घट्दै गएको हो त भनेर लेख्न थालेपछि यो कुरा पनि सान्दर्भिक लागेर प्रस्तुत गरेको हुँ। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले अस्ति बसन्तपुरमा आयोजित सात दलको आमसभामा गरेको भाषणको झलक हो यो। यसलाई तपाईँ यहाँ क्लिक गरेर सुन्न सक्नुहुन्छ। (फाइल आकारः 170 kb)त्यो आमसभामा सबैले यसरी नै राजाको चर्को आलोचना गरेका थिए। तर मैले भने यही आवाजमात्र आफ्नो क्यामेराबाट रेकर्ड गरेको थिएँ। यस्ता चर्का भाषण न कुनै पत्रिकामा प्रकाशन हुन्छन् न कुनै रेडियो टेलिभिजनमा नै। त्यसैले पुरानै भएपनि पाठकलाई वर्तमान नेपालको राजनीतिक स्थिति बुझ्न सहायक हुनसक्छ यो अडियो क्लिप।
यो पनि हेर्नुस्
-नेताहरु चिच्याउँदै, जनता व्यङ्ग्य गर्दै
No related posts.









Recent Comments