
आज तपाईँहरुलाई म पुरानो दिनको स्मरण गराउन जाँदैछु। एक वर्षअगाडि आज कै दिन काठमाडौं निकै तनावग्रस्त थियो। सिङ्गो काठमाडौं जलेको थियो। इराकमा नेपाली दाजुभाइ मारिएका कारण आक्रोशित जनसाधारण सडकमा उत्रिएका थिए। त्यतिबेला मैले खिचेका केही तस्वीर र नेटबाट संकलन गरिएका तस्वीर र मेरो व्यक्तिगत डायरीबाट निकालिएका केही अंशहरु तपाईँ यो ब्लगमा पढ्नसक्नुहुनेछ।
[तस्वीरमा जल्दै गरेको ताहाचलको म्यानपावर कार्यालय। यो तस्वीर खिच्दा आगोको रापले मेरो अनुहार र हात नराम्रोसित पोलेको थियो। यो कार्यालय जलेको केही छिनपछि कर्फ्यु लागेको थियो]
इराकमा अमेरिकी आक्रमण हुँदा त्यसको प्रभाव म आफूलाई पनि पर्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ। तर भयो त्यस्तै नै। त्यतिबेला म कार्यरत स्पेसटाइम दैनिक बन्द हुनुमा प्रत्यक्ष अप्रत्यक्ष कारण इराकमा भएका घटना नै थिए। विश्वका एक भागमा भएको घटनाले अर्को भागमा बस्नेलाई कसरी प्रभाव पार्छ भन्ने कुराको उदाहरण हुनसक्छ यो घटना।
इराकको एक आतंककारी समूहले १२ नेपालीलाई अपहरण गरेको समाचार अगस्त २१ तारिखका दिन आएको थियो। दुई दिनपछि अपहरित नेपालीहरुको नामावली र तस्वीर पनि प्रकाशमा आयो। त्यतिबेला नेटमा निकै सर्च गरेर मैले अन्सार अल सुन्नाको वेबसाइट भेट्टाएर तस्वीर फेला पारेको थिएँ। त्यतिबेला म ब्लग चलाउँदिन थिएँ। नेपालभाषाको इन्टरनेट समाचार पत्रिका नेवाःपोस्टमा दैनिक समाचार अपडेट भने गर्थेँ। यही वेबसाइटमा मैले अपहरित नेपालीको तस्वीर प्रकाशन गरेँ। पछि कान्तिपुर दैनिकमा पनि ती फोटो पठाइदिएको थिएँ।

म्यानपावरका सबै सामान जलेर खरानी भए। फोटोः उमेश
अगस्त २३ मा फोटो प्रकाशमा आइसकेपछि सरकारले नेपाली नागरिक अपहरणमा परेको पुष्टि त गर्यो तर उध्दारका लागि भने कुनै हतार गरेन। अगस्त ३१ को दिन अचानक अपहरित नेपाली सबैको हत्या गरिएको समाचार आयो। त्यतिबेला म स्पेसटाइम दैनिकको परराष्ट्र पेजका लागि समाचार लेख्दै थिएँ। समाचार लेख्ने क्रममा नै दिउँसो अल जजिराको वेबसाइटबाट सबैभन्दा पहिले मैले यो खबर पाएको थिएँ। तत्काल त्यहाँ भएका सबै सहकर्मीहरुलाई जानकारी गराएँ। सबै बिचरा भन्दै थिए। तर कसैले पनि भोलिदेखि यो कार्यालयमा काम गर्न आउनु नपर्ने गरी घटनाको विकास हुन्छ भन्ने कल्पनासम्म गरेका थिएनन्।
अल जजिराको समाचारमा नेपालीहरुको हत्या गरिएको भिडियो पनि इन्टरनेटमा राखिएको छ भनी लेखिएको थियो। तर त्यसलाई खोज्न निकै गार्हो भयो। साँझतिर पेज ले आउट सकाएर, पास गराएर घर हिँड्ने बेलासम्ममा भने मैले त्यो भिडियो फेला पारेर डाउनलोड गरिसकेको थिएँ। तर विन्डोज ९८ मा त्यो भिडियो खुलिरहेको थिएन। म्याक कम्प्युटरमा सारेर हेर्यौं तर त्यसमा पनि खुलेन।
उता त्यो समाचार डढेलो सरह राजधानी भर फैलिसकेको रहेछ। विद्यार्थी र सर्वसाधारणहरु स्वस्फूर्त सडकमा उत्रिसकेका थिए। राति ११ बज्नुअघि रेडियो सगरमाथाले न्युरोडबाट लाइभ रिपोर्टिङ गरेको थियो। त्यति राति पनि मानिसहरु आक्रोशित मुद्रामा नाराबाजी गर्दै थिए। न्युरोडमा मात्र हैन, पुतलिसडक, रत्नपार्क लगायत राजधानीका विभिन्न ठाउँमा त्यस्तै विरोध प्रदर्शनहरु भइरहेका थिए। उनीहरु सरकार, आतंकवाद र म्यानपावरविरुध्द नाराबाजी गर्दै थिए।
राति बल्ल तल्ल एउटा अरबी फोरम साइटमा नेपालीको विभत्स हत्या गर्दै गरिएको तस्वीर भेट्टाएँ। पछि अोग्रिस डट कमबाट भिडियो पनि डाउनलोड गरेँ। तर त्यसलाई हेरपछि मेरो मनस्थिति कस्तो भयो, त्यो म यहाँ शब्दले वर्णन गर्न असमर्थ छु।

क्याम्पसका विद्यार्थीहरु चक्काजाम गर्दै। फोटोः उमेश
भोलिपल्ट अर्थात् सेप्टेम्बर १ वा भदौ १६ गते बिहान उठ्नेबित्तिकै काठमाडौं तनावग्रस्त रहेको खबर सुन्नुपर्यो। हाम्रै टोलमा कयौं टायर जलाइएका रहेछन्। क्याम्पसका विद्यार्थीहरु विरोधमा अग्रपंक्तिमा थिए। राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिनेहरु पनि कम थिएनन्। बिहान ७-८ बजे नै काठमाडौं खाल्डो जलिसकेको थियो, तनावग्रस्त बनिसकेको थियो। सडकमा कहीँ कतै प्रहरी देखिँदैन थिए। खै, कहाँ गएका हुन् ? चिनेजानेका ठाउँमा फोन गर्दा जहाँ पनि त्यस्तै भइरहेको बताइन्थ्यो।

कालिमाटीको मस्जिदमा आक्रमण गर्न खोजिरहेको आक्रोशित भीड। फोटोः उमेश
११ बजेतिर रत्नपार्कतिर एकदमै तनाव छ भन्ने सुनेकोले त्यता जान लागेको थिएँ तर गइनँ। केही पछि घरछेउ कै मस्जिदमा आक्रमण गर्न आक्रोशित भीड त्यतातिर लागेको थाहा पाएँ। त्यतिबेलासम्म कर्फ्युको घोषणा भइसकेको थियो। यत्तिकैमा ताहाचलमा रहेको म्यानपावर जलाइएको थाहा पाएर त्यता गएँ। आगो दन्किएको थियो, कार्यालयमा केही बाँकी थिएन। आगो छेउछाउका घरतिर सल्किएला भनेर चिन्तित हुनेहरुले दमकल बोलाउन भन्दैथिए। तर सिङ्गो काठमाडौं जलेको बेला कहाँ आउनु भन्ने बित्तिकै दमकल। कालिमाटीको मूल सडकमा देखिएको प्रहरी भ्यानलाई ताहाचलमा ठूलो आगलागी भइरहेको छ भनी आफैले जानकारी दिएँ।

कुरानका पानाहरुको गति। फोटोः उमेश
उता मस्जिदमा आक्रमण गर्न जानेहरुले तोडफोडमात्र गरेनन्, उनीहरुका पवित्र ग्रन्थ कुरानलाई पनि च्यातेर अपमान गरे। प्रहरी सम्झाईबुझाई गर्दै थिए, कर्फ्यु लाग्न लागेको छ, घर गइदिनुस् तर भीड मान्न तयार भइरहेको थिएन।
अहिले आएर सम्झन्छु, त्यो आक्रोशित भीडमा स्थानीय बासिन्दा वा मैले चिनेजानेका छिमेकीहरु कोही थिएनन्। खै कहाँबाट आएको थियो त्यो भीड। स्थानीय बासिन्दा रमिते मात्र थिए र हो, अत्याचारै गरे नेपालीलाई भनी सहानुभूति दिनेहरुमात्र थिए।

यो गाडीको दोष अघोषित चक्काजाम उल्लंघन गर्नु मात्र थियो। साभार फोटो
म्यानपावरमाथिको रिस चाहिँ केही अघि अपहरित नेपालीहरुले अन्तिम भिडियो सन्देशमा आफूलाई जोर्डन भनी इराक पठाइएको, प्रल्हाद गिरी नामका एजेन्टले आफूलाई फँसाएको भनी ज्यान बचाइदिन गरेको करुण पुकारको असर थियो। सडकमा प्रल्हाद गिरीलाई फाँसी दिनुपर्नेसम्म माग उठेका थिए। आज एक वर्षपछि मलाई थाहा छैन, प्रल्हाद गिरीले सजाय पाए कि पाएनन्। बरु इराक र अफगानिस्तान जस्तो सरकारले अनुमति नदिएका जोखिमयुक्त देशमा कामदार पठाउने एजेन्टहरुले हाकाहाकी काम गरिरहेको र त्यहाँ जान लालायित युवाहरुको भीड देखेको छु।

रत्नपार्कको जामे मस्जिदको स्थिति। साभार फोटो
तर त्यो दिन काठमाडौंका एउटै म्यानपावर पनि बचेनन्, सबैमा तोडफोड भयो। १२-१ बजेतिर कान्तिपुरमा तोडफोड भयो भन्ने समाचार सुनेँ तर आफ्नै कार्यालय स्पेसटाइम र च्यानल नेपालमा भएको तोडफोडको बारेमा भने मलाई केही थाहा थिएन। पछि सहकर्मी बालचन्द्र मिश्रले फोन गर्दा पो थाहा पाएँ। तत्काल हाम्रा तत्कालीन बोस गोविन्द पोखरेललाई फोन गरेर अफिस आउनु पर्छ कि पर्दैन भनेर सोध्दा अफिस भए पो आउनु भनेर भन्नुभयो। सबै तोडफोड भएको जानकारी दिनुभयो। पत्रिका निस्कन्छ कि निस्कँदैन त निस्कने हो भने जसरी पनि आएर काम गरिदिन तयार छु भनेर भन्दा कम्प्युटरदेखि लिएर सबै क्षति भएकोले निस्कने स्थिति नै छैन भनेर भन्नुभयो।
एकछिन पछि अर्थात २ बजेदेखि राजधानीमा अनिश्तितकालीन कर्फ्यु लाग्यो र मेरो काम नेटबाट समाचार हेर्नुमा सीमित रह्यो। त्यसो त कर्फ्यु लाग्दा प्रहरीको आँखा छलेर शुन्य सडकमा हिँड्नुको मज्जा नै फेरि बेग्लै हुन्छ।

कर्फ्यु लाग्दा मेरो घर अगाडिको शू्न्य सडक।
कर्फ्यु त लाग्यो तर कर्फ्यु लाग्नु अघि नै नहुनुपर्ने नोक्सान भइसकेको थियो। रत्नपार्कका दुई मस्जिदमा तोडफोड भइसकेका थिए। भएभरका म्यानपावर जलिसकेका थिए। खाडी मुलुकको दूतावासमा आक्रमण गर्न खोज्दा प्रहरीको गोलीले दुई प्रदर्शनकारीले ज्यान गुमाइसकेका थिए।

मस्जिदमा आक्रमण गरिरहेकाहरु। साभार फोटो
राति आएर सरकारले भोलि राष्ट्रिय शोक र पीडित परिवारलाई एक लाख क्षतिपूर्ति दिने र शव नेपाल फर्काउन पहल गर्ने घोषणा गर्यो। तर खै, एक वर्षसम्म पनि ती शव नेपाल फर्किएको समाचार हामीले सुन्न पाएका छैनौं।

मस्जिदमा लागेको आगो नियन्त्रण गर्ने प्रयास। साभार फोटो

मस्जिदमा दन्किएको आगो। साभार फोटो
No related posts.









Recent Comments