मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    नागरिक देखेर राजा डराए

    २०६२ साउन ३२ मंगलबार

    बसन्तपुरमा आयोजित नागरिक धर्नामा सहभागी विशाल जनसमुदाय। तस्वीरः उमेश

    (आजको कार्यक्रमका बारेमा थप जानकारी र तस्वीर अपडेट भइसक्यो। भिडियोको लागि यहाँ क्लिक गर्नुहोला। अडियो छिट्टै नै अपडेट हुनेछ) बाँकी
    आखिर नागरिक शक्ति देखेर राजा डराउनु नै पर्‍यो। त्यसैले आज आयोजित नागरिक समाजको धर्ना कार्यक्रम बीचमै बिथोल्न सरकारले प्रहरी पठायो र एकछिन तनाव पनि उत्पन्न गरायो। तर अहँ, नागरिकहरुको विशाल समूहले बिथोलिन दिएन कार्यक्रमलाई। कार्यक्रम हुँदाहुँदै राजा र राजतन्त्रविरोधी नारा लेखिएका प्लेकार्ड खोस्न आक्रामक मुद्रामा प्रहरी सभास्थल प्रवेश गरेको थियो। उनीहरु नागरिक समाजका श्याम श्रेष्ठ, देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, मथुराप्रसाद श्रेष्ठ भएका ठाउँतिर लाग्दा होहल्ला भयो र प्रतिकार गरियो। एकछिन तनाव भए पनि शान्तिका लागि आयोजकहरुले गरेको आह्वान सबैले सुने। प्रहरीलाई सभास्थल परै प्रवेश निषेध गरियो र कार्यक्रम सुचारु भयो। साँच्चै नागरिक समाजले गरेको तेस्रो कार्यक्रममा नै यसको शक्ति र प्रभावकारिता देखी राजा र राजाको सरकार डराएको यस प्रहरी हस्तक्षेपले प्रमाणित हुन्छ।

    बसन्तपुरको डबलीमा दिउँसो ठीक साढे ३ बजे नागरिक धर्ना कार्यक्रम सुरु भएको थियो। पहिलेको नागरिक समाजको कार्यक्रममा जस्तै आज पनि जनसहभागिता उत्साहजनक नै थियो। कार्यक्रमको सञ्चालन खगेन्द्र संग्रौलाले गरेका थिए भने सभापतित्त्व बुध्द सायमिले। सभापतिको आसनबाट सम्बोधन गर्दै उनले यसो भने,

    ढुंगालाई पुज्यो भने देउता बन्छ, मान्छेलाई पुज्यो भने ढुंगा बन्छ।

    आयोजकहरुको यो नौलो प्रयास थियो उपत्यकाका आदिवासी जनतालाई पनि लोकतन्त्रको आन्दोलनमा उतार्ने। त्यसैले यस पटकको नागरिक सभाको कार्यक्रममा नेपालभाषामा पनि कविता पाठ गरिएका थिए।

    दिउँसै लालटिन बालेर लोकतन्त्र खोजी।

    लोकतन्त्रको खोजीमा दिउँसै महिलाहरुले लाल्टिन बाले सबैभन्दा सुरुमा। लाल्टिन बाल्नेहरुमा गायिका, नायिका, कलाकार, ब्युटिसियन सबै क्षेत्रका महिला थिए। करिब ५ मिनेटसम्म लाल्टिन बाल्ने कार्यक्रम सकिएपछि निधारदेखि नाकको टुप्पोसम्म नै लाऽऽऽमो टीका लगाउने कलालकार अस्मिना रञ्जितको प्रतिस्थापन कला प्रस्तुत भयो।

    अस्मिना रञ्जितको प्रतिस्थापन कलामा युध्दका रेखा कोरिँदै।

    कोलाहल, रोदन, चिच्याहट, सेतो लुगा लगाएका महिलाहरु- उनीहरु २१ अ‍ौं शताब्दीको देखिने र सुनिने राजालाई देशको अवस्था देखाउन खोज्दै थिए।

    “राजा तिमी रिटायर भइदेउ”

    लामा भाषण नागरिक सुन्न चाहँदैनन् भन्दै छोटोछोटो मन्तव्य राख्नका लागि सञ्चालकले वक्ताहरु बोलाउन थाले। सुरुमा आइन् धनकुमारी सुनार। उनले राजाले अस्ति गाउँमा गएर जनताका हात सुम्सुम्याएको नाटक गरेको प्रति कटाक्ष गर्दै भनिन्, साँच्चै जनताको दुःख समाधान गर्ने भए राजा तिमी रिटायर भइदेउ। अनि उनले त्यसो भन्दा त्यहाँ तालीको कस्तो गडगडाहट आयो, त्यो चाहिँ तपाईँ कल्पना गर्नुस्।

    सभामा नो मोनार्की, यस डेमोक्रेसी, राजाको तस्वीर राखी मोस्ट वान्टेड क्रिमिनल लेखिएका प्लेकार्डहरु प्रशस्तै थिए। त्यही प्लेकार्डहरु प्रहरीले खोस्न आउँदा झन्डै नागरिक सभा बिथोलिएको थियो।

    जेललाई थुन्ने प्रयत्न

    जेललाई थुन्ने प्रयत्न गर्ने कवि सुरेश किरण

    सुनारपछि नेपालभाषाका नयाँ पुस्ताका सशक्त कवि सुरेश किरणले आफ्नो कविता वाचन गरे नेपालभाषा र नेपाली दुवैमा।

    छगू जमाना दुगु खः
    जेल जेलय् जक सीमित जुइगु
    थौं जेल स्वयं थःगु सीमा तछ्याना पिहांवःगु दु
    व मुक्कं शहरयात जेल दयेकातःगु दु

    कुनै जमाना थियो
    जेलहरु मलाई थुन्ने प्रयत्न गर्थे
    आज म जेललाई थुन्ने प्रयत्न गरिरहेको छु

    सुरेश किरणको कवितापछि जनजातिविज्ञ केशवमान शाक्यले काठमाडौंका जनताको चित्त दुखाई प्रस्तुत गर्नुभयो। ४७ सालको संविधानले स्थानीय निकायमा मातृभाषाको प्रयोग गर्न खोज्दा रोक लगाएको कुरा उल्लेख गर्दै उहाँले अब सम्पूर्ण जनजातिको समावेशी लोकतन्त्र, धर्म निरपेक्ष राज्यको निर्माण गरिनु पर्नेमा जोड दिनुभयो। केन्द्रदेखि गाउँसम्म समानुपातिक प्रतिनिधित्व र स्वायत्तता लोकतन्त्रमा मात्र संभव छ राजतन्त्रमा हैन, उहाँले भन्नुभयो।

    प्रजातन्त्र शब्द अहिले राजाको प्रिय शब्द भइरहेकोले उनले बुझ्ने प्रजातन्त्रमा हामीले बुझ्नेमा फरक देखाउन लोकतन्त्र शब्दको प्रयोग गरेको शाक्यले खुलाए। उहाँले राजालाई अन्तिम मौका दिनुपर्ने भन्दै संविधान सभा घोषणा गर, सेनालाई जनताको मातहतमा राख, माअ‍ोवादीसित शान्तिवार्ता गर, समावेशी लोकतन्त्र निर्माण गर, धर्म निरपेक्ष राष्ट्र घोषणा गर जस्ता माग मञ्चबाट घन्काउनुभयो।

    त्यसपछि वीरप्रसाद धन्सारीले दुर्गालाल श्रेष्ठको गीत सुनाए

    घाः जुया जक ख्वइगु खः जि
    स्याःगुलिं सः तइगु खः
    झी मसिनी, झी मसिनी
    धैगु चिं जक ब्वइगु खः

    (घाउ भएकोले मात्र रोएको हुँ म, दुखेकोले मात्र कराएको हुँ, हामी मरेका छैनौं भन्ने संकेतमात्र देखाएका हौं)
    जनताका अधिकारमाथि भएको प्रहारको प्रतिक थियो यो घाउ, यो चित्कार….

    अधिनायक बन्न खोज्ने राजा

    अनि फेरि नेपालभाषाका अर्का कवयित्री रजनी मिलाले देशलाई कतिमा लिलाम गर्‍यौ १०० रुपैयाँमा, ५० रुपैयामा १० रुपैयामा १ रुपैयामा कि १ पैसामा भनी प्रश्न राख्नुभयो।

    साहित्यकार वैरागी काइँलाले २१ अ‍ौं शताब्दीको राजा अवास्तविक संसारमा बाँचिरहेको बताए। देख्ने र सुन्ने राजा भइदिएको भए उनले सडकमा अ‍ोर्लँदा रोदन, क्रन्दन सुन्ने थिए। कान भएको भए बोल्थे राजा। राम्रो नाटकको नायकभन्दा माथि अधिनायक बन्न खोज्दैछन् राजा, वैरागी काइँलाको लोकतन्त्रप्रतिको आन्दोलनमा वैराग पटक्कै थिएन।

    जनताले कस्ताकस्ता ताज ढलायो


    कार्यक्रमस्थलमा कार्टुनहरु पनि टाँगिएका थिए। रमेश विष्टको कार्टुन।

    धिरेन्द्र प्रेमर्षिले मैथिली र नेपाली भाषामा कविता सुनाएर जमे। प्रेमर्षिले असभ्य पाराको भाषामा भनिएको भन्दै मैथिली कविताको नेपाली अनुवाद यसरी सुनाए, (अस्तिको नागरिक भेलामा कवि अर्जुन पराजुलीका कविता टिपेर यहाँ राख्दा जस्ताको तस्तै विदेशको अर्को साइटमा कपी पेस्ट गरी आफैले टिपेर टाइप गरेको भनी फूँइ देखाउनेलाई यो कविता पनि त्यसैगरी कपि- पेस्ट गर्न छुट छ)

    दण्डभेद नै गर वा अपनाउ साम-दाम‌
    तर मेरी सीता नै यदि वनमा छिन् भने
    तिमी के भुत्राको राम ?

    अनि अर्को नेपाली कविता

    जबदेखि उसले आफ्नो हातपाउ चलायो
    सबै भन्छन् कमिलाको प्वाँख पलायो

    कस्तो माली
    माला जति सबै आफै पहिरी
    बारीभरी मात्र काँडे झार फलायो
    जबदेखि उसले आफ्नो हातपाउ चलायो

    इतिहास साक्षी छ नि
    यही जनताले कस्ता कस्ता तख्ता अनि ताज ढलायो
    जबदेखि उसले आफ्नो हातपाउ चलायो
    सबै भन्छन् कमिलाको प्वाँख पलायो

    अनि अझ अर्को

    मूलै खाम्बो मक्केको यो काठेघर फाल्नु पर्‍यो
    इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्‍यो

    झुल टाँगेर हुन्न अब
    लामखुट्टे धपाउन
    कसिङ्गर थुपारेर झट्ट धुलो बाल्नुपर्‍यो
    इँटैइँटको नयाँ घर बनाउन लौ थाल्नुपर्‍यो

    मान्छे खाने जनावरको बानी जान्दाजान्दै
    चिडियाखाना नपठाई घरमा किन पाल्नुपर्‍यो ?

    उनले कवि अर्जुन पराजुलीको यो कविता पनि वाचन गरिदिए,

    (तिरिरि मुरली बज्यो वनैमा….गीतको लयमा)
    भटटट बन्दूक चल्यो गगनमा
    गगनमा क्यासिनो भवनमा
    सबैको साथ बन्दूक बाजा गतिलो हुनाले
    होटलको भित्तो पारेछ प्वाल सुरिलो धुनले
    भटटट बन्दूक बज्यो चोकैमा
    चोकैमा रक्सीको झोंकैमा

    सहरमाझ बन्दूक बाजा बजाउने को होला ?
    बजाएपछि बजाएँ भन्न लजाउने को होला ?
    त्यही होला त्यही होला भन्छ लेख्नेले
    लेख्नेले भन्दैन देख्नेले

    अनि भयो प्रहरी हस्तक्षेप

    प्रहरीलाई सम्झाईबुझाई गरिरहेका नागरिक समाजका श्याम श्रेष्ठ।

    त्यसपछि विप्लव ढकालको कविता सुरु भयो। त्यो मलाई त्यति उल्लेख्य लागेन। अनि त्यसपछि डा. महेश मास्केको कविता वाचन हुँदै गर्दा आक्रामक रुपमा प्रहरीले हस्तक्षेप गर्न खोज्यो। राजाको विरोधमा लेखिएका प्लेकार्ड खोस्यो। नागरिक प्रतिकारमा अ‍ोर्लिए। ठूलै भिडन्त हुने संकेत देखापर्‍यो। सबै उत्तेजित भएका थिए। मलाई पनि एकचोटी त नारा लगाएर पिटुँ जस्तो रिस उठिसकेको थियो। अरुलाई झन् कस्तो भयो होला।

    यत्रो जनसमुदाय देखेपछि किन थर्कँदैन त निरकुंशता ?
    तर बिचरा पुलिसहरुको पनि के दोष र। उनीहरु त आदेश पालन गर्ने न हुन्। नागरिक समाजका अगुवाहरुले भीडलाई र प्रहरीलाई दुवैलाई नियन्त्रणमा राख्न र संयम नगुमाइ बसाउन सफल भए। अहिंसात्मक आन्दोलन थालेको नागरिक समाजका लागि यो सफलता थियो। पछि नागरिक समाजका अगुवाहरुले सभास्थल परै प्रहरीलाई राखी हातेसाङ्लो बनाएर उनीहरुलाई भित्र आउन निषेध गरे। माइकबाट लगातार नागरिक र प्रहरीलाई शान्त हुन अनुरोध गरियो।

    प्रहरी निषेधित क्षेत्रः अरु ठाउँमा भए प्रहरी नागरिकलाई रोक्थे। तर आज यसरी नागरिक समाजका अगुवाहरुले प्रहरीलाई रोके।

    जसले प्रहरीलाई हस्तक्षेप गर्न आदेश दिएको थियो, उसले पक्कै पनि नागरिक धर्ना बिथोल्ने प्रयास गरेको थियो। शायद् त्यही ठाउँमा इन्द्रजात्राको दिन राजा आउने बेलामा पनि जम्मा नहुने भीड देखेर त्यो डराएको थियो। त्यसैले बिथोल्ने प्रयास गरेको होला। तर प्रहरी पनि संयमित भइदियो, नागरिक पनि। त्यो बिचराको योजना भताभुङ्ग नै भयो।

    बन्दूकबाट जन्मेको विष्णु

    भीडलाई शान्त बनाउन रामेश र रायनको आउ मिलाउ हाम्रा हातहरु र एक दिनमा एक जुग अवश्य आउँछ गीतले पनि राम्रो काम गर्‍यो। त्यसपछि मनोज गजुरेल हसाउँन आए।
    गजुरेल पनि राजालाई प्रहार गर्न किन चुक्थे र ! आज कान्तिपुरमा छापिएको राजाले एउटा बालिकासित कुरा गर्दै गरेको तस्वीरको प्रसङ्ग झिक्दै उनले सुनाए, “मैले ती नानीलाई तिमीले आखिर भन्यौ के भनेर सोधेको थिएँ, उनले भनिन्, अङ्कल मैले भन्नलाई मुखमात्र के खोल्न लागेकी थिएँ, अँ अँ बुझेँ भनेर भनिबक्स्यो” भन्दा सभास्थल हाँसोले गुञ्जायमान भयो।

    ….तर गलत रहेछ रामायण, नत्र यहाँ रावण कहाँबाट आयो ? भनी उनले अर्को व्यङ्ग्य वाण प्रहार गरे। अनि बन्दूकबाट जन्मेको विष्णु भनी उनले कसलाई भन्न खोजेका हुन् त्यो त तपाईँलाई भनिरहनु नपर्ला।

    राजतन्त्र हो एउटै बाधक लोकतन्त्रको बाटोमा


    लोकतन्त्रको बाटोमा राजतन्त्र बाधकः कवि दुर्गालाल श्रेष्ठ

    नेपालभाषा र नेपाली भाषाका अति नै प्रभावशाली कविता लेखन र वाचन गर्नुहुने वरिष्ठ कवि दुर्गालाल श्रेष्ठले समेत “हेर्दै हलल फेरि पलायो राजतन्त्रको बर्बरता” भन्दै राजतन्त्रलाई प्रहार गर्न चुकेनन्। अनि अझ यो सुन्नुस्

    नौलो चेत सुवास छरेर
    फूल फुल्यो है माटोमा
    राजतन्त्र हो एउटै बाधक
    लोकतन्त्रको बाटोमा

    सनननन बिझ्ने यो सन्नाटा
    हेरी मलाई यो भन्छ
    हुन्छ भने यदि युध्द यहाँ
    त्यो अब निर्णायक नै हुन्छ

    शब्दको यस्तो संयोजन उनीबाहेक अरु कसले गर्न सक्छ र। तर उनले सुरु मै यो मैले लेखेको कविता हैन भनी भने। किन होला त्यसो भनेको ?

    बार अध्यक्ष शम्भु थापाले सुरक्षाकर्मी मित्रहरुलाई पनि सम्बोधन गर्दै आफ्नो मन्तव्य सुरु गरे। प्रधानमन्त्रीको पदमा बस्ने राजालाई महाराज सिंहासनमा बस्न सक्दैनन् भन्ने हाम्रो हक छ, उनले अझ थपे, वर्तमान राजा हिजो मान्छे नै थिए। राजामा दैवी शक्ति हुने हुँदो हो त राजा वीरेन्द्रको सर्वनाश हुने थिएन। उनले गैरकानुनी सरकारको आदेश सुरक्षाकर्मीले मान्नु हुँदैन भनी प्रहरीलाई विद्रोहका निम्ति उक्साए।

    महाराज सिंहासनमा बस्न सक्दैनन् भन्ने हाम्रो हक छः बार अध्यक्ष शम्भु थापा

    नागरिकलाई कसैले शासन गर्न सक्दैन, संविधानले मात्र शासन गर्न सक्छ भन्ने थापाले यति धेरै जनजाति भएको देशमा एउटै भाषा एउटै भेष भनेर नारा लगाउने गरेको भन्दै समावेशी लोकतन्त्रको पक्षमा अडान दोहोर्‍याए। राजनीतिक दलले कहीँ गएर सम्झौता गरे भने त्यो स्वीकार्य नहुने चेतावनी पनि उनले दिए।

    उनका दुई कुरामा मलाई सार्‍है चित्त बुझ्यो। अब नागरिक सभा दिनभर बस्नुपर्छ, रातभर बस्नु पर्छ। हो, भिक्टर युस्चेन्कोले अरेञ्ज रेभोल्युसन यसरी नै गरेका थिए। त्यसैगरी उनले राजनीतिक दलमा अब नयाँ नेतृत्व आउनुपर्छ, पुरानै अनुहारले देशको मुहार फेर्छु भनेर भन्दैमा जनताले पत्याउनेवाला छैनन् भनी भने। यदि हुतिहारा राजनीतिक पार्टीका सत्तालोलुप नेताहरुले नयाँ नेतृत्वलाई ठाउँ दिँदैनन् भने बरु नयाँ पार्टी खोल्नु पर्छ जसमा शम्भु थापा, कृष्ण पहाडी, देवेन्द्रराज पान्डे, श्याम श्रेष्ठ, गगन थापा, नरहरि आचार्य आदिले नेतृत्व सम्हाल्नु पर्छ।

    सभाको अन्त्य हुन लाग्दा कृष्ण पहाडीलाई बोल्न दिनुपर्ने माग चर्को रुपमा भीडले उठाएपछि पहाडीले राजतन्त्रको अन्त्य नभएसम्म यस्ता सभा धेरै भइ नै रहने बताउँदै छोटो मन्तव्य टुंग्याए।

    त्यसपछि पुनः रामेश रायनको गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ गीतमा के बूढा के तन्नेरी सबै झुमे। अनि इन्कलाब जिन्दाबाद भन्दै सबै आफ्नो बाटो लागे। बिहान ८३० मा खाना खाएपछि दिनभर पानीसम्म खान नपाएको म पनि लखतरान हुँदै सात बजे घर पुगेँ। (सबै तस्वीर म आफैले खिचेको)

    No related posts.

    Comments are closed.

    eXTReMe Tracker