२०६२ साउन ३१ सोमबार
नेपाल विद्यार्थी संघको पोखरामा भइरहेको महाधिवेशनमा घमासान भएछ। विवाद बढेकोले आज बस्नुपर्ने बन्द सत्र बस्नै सकेनछ। भोलि बिहानसम्मका लागि महाधिवेशन नै स्थगित भएछ।
विवादको मूल चुरो महाधिवेशन प्रतिनिधि छनौट र राजनीतिक नीति तथा कार्यक्रम रहेछ। त्यसो त म कुनै पार्टी विशेषसित नजिक छैन। क्याम्पसमा चुनाव हुँदा मैले प्यानललाई भोट नदिई आफ्ना साथीहरुलाई भोट दिएको थिएँ। त्यसरी भोट दिँदा नेविसंघ र अखिल दुवैलाई भोट परेको थियो। अहिले नेविसंघको महाधिवेशन हेर्दा लाग्छ आफै निरंकुश चरित्रको अनि प्रजातन्त्रको आदर्शको कुरा गर्ने ? स्वच्छ निर्वाचनका हिसाबले नभई टिके प्रथा चलाउन माउ पार्टी काँग्रेसको नेतृत्व इच्छुक देखिएको छ। त्यसैले ११ सय प्रतिनिधिले भाग लिने भनिए पनि हाल १५०० भन्दा बढी पुगिसकेको छ रे प्रतिनिधि। यसो गर्न सुजाताकी छोरी सबैभन्दा बढी सक्रिय छिन् रे।
गगन थापाले त आज पत्रकार सम्मेलन गरेरै भनेका छन्, हुँदै नभएको क्याम्पसको नाम राखेर फर्जी विद्यार्थी मतदाता बनाइएका छन्। प्रक्रियागत ढंगले महाधिवेशन जान नदिन मान्छेहरु सक्रिय रहेको उनले आरोप लगाए। उनले लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रस्तावमा छलफल नगरिए महाधिवेशनमा भाग नलिने घोषणासमेत गरे। टिके प्रथाबाट चुनिएका नेतृत्वको कुनै अर्थ नहुने उनले बताए। वर्तमान अध्यक्षले प्रस्तुत गरेको राजनीतिक नीतिमा राजतन्त्रलाई हेर्ने दृष्टिकोणका बारेमा मौन रहेको थाहा भएपछि गगन पक्षधर अझ उत्तेजित भएका हुन्।
काँग्रेसले अहिले नेविसंघको महाधिवेशनमा कस्तो प्रकारको हस्तक्षेप गर्छ, त्यसलाई देशले नियालिरहेको छ। शाही कूका विरुध्द संघर्ष गरिरहँदा पार्टी आफैले नेविसंघ नेतृत्वलाई कू गर्दै तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र महामन्त्री गगन थापालाई पाखा लगाउन खोजेर सबैतिरबाट आलोचित भएको कुरा गिरिजाप्रसाद कोइराला र उनका निकट भनाउँदाहरुले भुल्नु हुँदैन। नत्र कुन मुखले उनीहरुले जनतालाई आफूसितै सडकमा आउन भन्न सक्छन्?
हिजै पनि गिरिजाले महाधिवेशनको उद्घाटनका क्रममा गगनको नामसमेत उच्चारण नगरेपछि उनीसमर्थित विद्यार्थीहरुले गगन हाईहाई, गिरिजा बाईबाई भनी नारासमेत लाएका थिए।
हेरौं, अब भोलि के हुनेछ। नेविसंघको नयाँ नेतृत्व कसरी चुनिनेछ। त्यसपछि मात्रै बाँकी कुरा गरौंला। तर यसपटक काँग्रेसले निरंकुशता लादन खोज्यो भने त्यो उसकै लागि प्रत्युत्पादक साबित हुनेछ।
No related posts.









Recent Comments