दोहोरो भिडन्त, चार प्रहरीको मृत्यु, सात घाइते
२०६२ साउन २३ आइतबार
माघ १९ पछि देशको शान्ति सुरक्षामा सुधार आएको भनी सञ्चारमन्त्री तथा सरकारका प्रवक्ताले पत्रकार सम्मेलनमा बताएको केही घण्टा पनि नबित्दै माअोवादीहरुले काठमाडौंनजिकै रहेको बनेपा बजारमा सम्साँझै आक्रमण गरी चार प्रहरीको ज्यान लिएका छन्।
साँझ सवा छ बजे माअोवादीहरुले बनेपा बजारमा रहेको प्रहरी बिटमा ग्रिनेड विस्फोट गराएका थिए। यस क्रममा दुई पक्षबीच केही बेर भिडन्त पनि भएको थियो। सरकारी समाचार समिति राससले पनि यस विषयमा समाचार दिएको छ। तर प्रहरीको मृत्युको बारेमा केही बताएको छैन। राससले प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालालाई उद्धृत गर्दै करिब ३० जनाको सङ्ख्यामा रहेका माअोवादीहरूले आक्रमण गरेको र घटनामा घाइते सात प्रहरीलाई काठमाडौंमा उपचारका लागि लगिएको उल्लेख गरेको छ।
माअोवादीहरुले दूर सञ्चार कार्यालय अगाडि पनि एक शक्तिशाली विस्फोट गराएका थिए। त्यसबाहेक ठाउँठाउँमा उनीहरुले सानाठूला विस्फोट गराएका थिए। यो समाचार तयार पारुञ्जेलसम्म पनि त्यहाँ सुरक्षा फौजको खोजतलास र कारबाही जारी रहेको बताइएको छ।
उता, कालिकोटको दाहा गाविसमा पनि अहिले राति अबेरसम्म माअोवादी र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको थाहा भएको छ।
अपडेटः चार प्रहरीको मृत्यु भनी सुरुमा समाचार स्रोतले बताए पनि अन्य स्रोतहरुमा ती चार सिकिस्त घाइते मात्र भएको उल्लेख छ। मृत्युको समाचार पुष्टि हुन बाँकी छ।
अपडेटः यो आक्रमणमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।
No related posts.









Recent Comments