२०६२ साउन २१ शुक्रबार

नागरिक सभामा सडक समाचार वाचन हुँदै।
झमझम पानी परेर निथुक्क्रै पारे पनि तितरबितर नभएका नागरिकहरुले आज अपराह्न आयोजित सभालाई सफल मात्र पारेनन्, निरकुंशतालाई ढाल्न जस्तोसुकै बाधाव्यवधानलाई पनि पार गर्ने गहकिलो सन्देश दिए। यससम्बन्धी अडियो ब्लग केही घण्टामा नै प्रस्तुत हुनेछ। अहिलेका लागि फोटो फिचरसहितको यो शब्द ब्लग। सबै फोटो म आफैले खिचेको हुँ। बाँकी
सुरिलो स्वरका धनी रुविन गन्धर्वको राजा राखेर के काम भन्ने गीतबाट सुरु भएको भेलामा कार्यक्रम सञ्चालक श्याम श्रेष्ठले ३ बजेको सडक समाचार सुनाउन मञ्चमा एफएम पत्रकारलाई बोलाएपछि पहिलो समाचार वाचन भएको थियो। कवि रामप्रसाद ज्ञवालीले कविता पढ्दै गर्दा पानी पर्न सुरु गर्यो। तर नागरिकहरु कति पनि विचलित भएनन्। पानीले निथुक्क्रै भिजे पनि उनीहरु त्यहीँ रहेर सभालाई सफल बनाए।
पानी पर्न थालेपछि क्यामेरा पनि भिज्न थालेपछि मैले त्यहाँबाट हट्ने विचार गरेको थिएँ। तर कोही पनि नहटेकाले अर्काको छातामा अोत लागेर क्यामेरालाई बचाएर आफू भने पानीमा भिजेरै भए पनि त्यहाँ बसेँ।
नेताहरुलाई कार्यकर्ताले छाता अोढाइदिए। आन्दोलनरत सातै दलका शीर्ष नेताहरुको त्यहाँ उपस्थिति थियो। वक्ताहरुले छाता अोढेर सम्बोधन गरे।

बोल्नलाई हैन, सुन्नलाई आएका सात दलका शीर्षस्थ नेताहरु।
भेलालाई सम्बोधन गर्दै कनकमणि दीक्षितले सुरु मै भन्नुभयो,
“म यहाँ राजा ज्ञानेन्द्रको कटु आलोचना गर्न गइरहेको छैन। जति गाली गरे पनि केही नहुनेलाई गाली गरेर के गर्ने ?”
उहाँले गाली हैन, राजदरबारप्रति लक्षित शान्तिपूर्ण दबाब दिनुपर्ने बताउनु भयो। अलिकति चिच्याउँदैमा दबाब दिएको मानिँदैन भन्दै उहाँले दबाब दिन नपुगेको प्रष्ट्याउनु भयो। दबाब नदिई नारामात्र कडा पार्नु भनेको मूतको न्यानोमात्र हुने उहाँले बताउनु भयो। दबाबका लागि सत्याग्रह अथवा भद्र अवज्ञा गर्नुपर्ने उहाँको सुझाव थियो।
भेलामा शामेल ३०- ४० हजारको संख्यालाई इंगित गर्दै उहाँले भन्नुभयो,
“यो संख्याको डबल भयो भने निरंकुशतन्त्र ढाल्न काफी हुन्छ। तर त्यो संख्या भेला हुने मात्र हैन, कतै जानु पनि पर्छ। तपाईँले बुझिहाल्नुभयो होला यो कतै भनेको कहाँ हो भनी”
अर्का मानवाधिकारवादी चर्चित नेता कृष्ण पहाडी पनि राजाको विरोधमा चर्को रुपमा खनिनुभयो। उहाँले शाही सेनालाई राष्ट्रिय सेना नबनाएसम्म आपराधिक गिरोहको रुपमा बद्नामी हुने भन्दै अहिले राजाको सरकारको सत्ताको आधार जनताको इच्छा हैन भन्दै राज्य अपराधिकरणतर्फ उन्मुख भइरहेको बताउनुभयो।
यसअघिको नागरिक समाजको कार्यक्रममा सहभागी भएकै आरोपमा राजद्रोहको मुद्दा लगाइएका विद्यार्थी नेता गगन थापाको प्रसङ्ग निकाल्दै उहाँले लोकतान्त्रिक गणतन्त्रका लागि राजद्रोहको त के मृत्युवरण गर्न पनि साहस र समर्थ हामीमा छ भन्नुभयो।
उहाँले राजालाई खुल्लमखुल्ला अपराधिकरणका नाइके भनी घोषणा गर्नुभयो। उहाँले राजतन्त्रलाई राष्ट्रिय एकताको प्रतीक हैन राष्ट्रिय एकताका बाधक हुन् भनी आरोप लगाउनु भयो।

नागरिक समाजको भेलामा सहभागिता उत्साहजनक थियो।
अर्का बुध्दिजीवी सीके लालले प्रजा, रैती हैन नागरिक भई बोल्ने, सोच्ने स्वतन्त्रता प्रयोग गर्न सबैलाई आह्वान गर्नुभयो। मञ्च मुन्तिर जनतासँगै बसेर नागरिकका कुरा सुनिरहनुभएका नेताहरुप्रति कटाक्ष गर्दै उहाँले भन्नुभयो, नेताजीहरु आन्दोलनमा हामीसित बुसर्ट लगाएर आउनुहुन्छ तर घरमा कामदारलाई लबेदा सुरुवालमा इस्त्री लगाएर तयार पारिराख्न अह्राउनु हुन्छ। यस्ता दोधारे चरित्र र व्यवहारले आन्दोलन चल्दैन।
पत्रकारहरुको प्रतिनिधित्व गर्दै नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले जनताको खोसिएको सूचनाको अधिकार बहालीका लागि आफूहरुले आन्दोलन गर्दै आएको प्रष्ट पार्दै यस क्रममा रत्नपार्कका निषेधित क्षेत्र तोडिएको बताउनु भयो। उहाँले भन्नुभयो,
राजाले संविधान तोड्न हुन्छ भने संविधान तोडेर घोषणा गरिएको निषेधाज्ञा किन तोड्न नहुने ? उहाँले जसले पत्रकारको खप्परमा गोली दागेको छ, उही आज मन्त्री भएको छ
भन्दै वर्तमान मन्त्रिमण्डलको पनि खोइरो खन्नुभयो।

पानी पर्न थाल्यो तर निरंकुशताका विरुध्द भेला भएका हामी किन हच्किने ?
कार्यक्रममा अत्यन्तै प्रभावकारी कविताहरु र घण्टाघण्टामा गरी ३-४ र ५ बजे सडक समाचार वाचन गरिएको थियो। समाचार वाचनका लागि एफएमका समाचार वाचकहरु आएका थिए। समाचार वाचन हुँदा सभास्थल एफएम सुन्ने बेलामा झैं शान्त देखिन्थ्यो। ५ बजेको समाचारमा युवराज पारसको स्वदेश फिर्ती सवारीको समाचार वाचन हुँदाहुँदै दर्शकहरुले हुटिङ गरेर पूरा गर्नै दिएनन्।
कविताले पनि एकतन्त्रलाई कम्ता प्रहार गरेनन्। हरिगोविन्द लुँइटेलको भृकुटीमण्डपको बाल रेल शीर्षकको कविता लोकतन्त्रका लागि चालिने आन्दोलन सँधै भृकुटीमण्डपको चौघेरामा घुमिरहेकोमा गुनासो थियो।
श्यामलको किचकन्या शीर्षकको लाक्षणिक कवितामा किचकन्याको उल्टो पैताला नारायणहिटीतर्फ फर्किएको थियो। आहुतिले त झन् मरेको घोडा चढेर सहर जित्न हिँड्ने बाद्शाहलाई चारपाटे मुडेर चारभञ्जाङ कटाइदिए हुन्थ्यो भनी कवितामार्फत् प्रतीकात्मक विरोध पोख्नुभयो।

अहो, पानी त साह्रै पर्न थालेछ। केहीले अोत पाए, केही भने निथुक्क्रै भए, म पनि पूरै भिजेँ।
श्रवण मुकारुङको बहुचर्चित बिसे नगर्चीको बयानले पनि सँधै झै वाहवाही पायो। अर्जुन पराजुलीको सबैभन्दा हिट कविता डिजिटल क्यामेराबाट रेकर्ड गर्दैगर्दा नै ब्याट्री सकिएको हुनाले थप फोटो र अडियो लिन पाइनँ।
कृष्ण पहाडीले सम्बोधन गर्दैगर्दा नै फेरि पानीको छिटा हल्का रुपमा वर्षन थालेकोले म त्यहाँबाट हिँडेँ। त्यसअघि सबै भीडलाई नियाल्दै गएँ। समय साप्ताहिकका सम्पादक युवराज घिमिरेदेखि लिएर विद्यार्थी नेताहरु, नेताहरुको राजनीतिबाट दिक्क मानेका सर्वसाधारण र युवायुवतीहरुको पनि सभामा उत्साहजनक सहभागिता थियो। यहाँसम्म कि चार भ्यान प्रहरी पनि सभामा बोलिएका कुरा ध्यानपूर्वक सुन्दै थिए।

लोकतन्त्रका लागि आयोजित यो भेलामा अरु बेलामा जस्तै पार्टीका कार्यकर्तामात्र हैन, सर्वसाधारण युवाहरुको पनि उत्तिकै सहभागिता थियो। (सबै फोटो म आफैले खिचेको)
Related posts:












Recent Comments