यो हाम्रो विजय होः र्याली आयोजक
२०६२ भदौ २२ बुधबार
राजाले आफ्नो न्युयोर्क भ्रमण रद्द गरे पनि अमेरिकामा बस्ने नेपालीहरुले त्यहाँ गर्न लागिएको प्रदर्शन नरोक्ने बताएका छन्। र्यालीका आयोजकमध्येका एक शैलेश श्रेष्ठले मसितको इमेल कुराकानीमा र्यालीको कार्यक्रम पूर्व निर्धारित कार्यक्रम अनुसार नै जारी रहने जानकारी दिँदै राजा त्यहाँ आउन नसक्ने परिस्थितिको सिर्जना हुनुलाई आफूहरुको “विजयको पहिलो चरण” भएको दाबी गरेका छन्।
र्याली संयोजन समितिको बैठक बसिरहँदा नै राजाको भ्रमण रद्द भएको सूचना आफूहरुले पाएको बताउँदै आफूहरुले न्युयोर्कमा प्रदर्शन गर्ने तयारी सुरु गरेदेखि नै राजाको कदम लड्खडाउन सुरु भएको बताए। “जस्तोसुकै भए पनि हामी हाम्रो देशमा लोकतन्त्र र बहुदलीय व्यवस्थाप्रति ऐक्यवध्दता जनाउन संयुक्त राष्ट्रसंघको मुख्य कार्यालय अगाडि विरोध र्याली जारी राख्नेछौं। र, राजा ज्ञानेन्द्रको तानाशाही कदमका बारेमा विश्वका नेताहरुलाई जानकारी दिनेछौं”, उनले बताए। [मैले र्यालीका आयोजकहरुलाई अरु पनि प्रश्न सोधिपठाएको छु, जवाफ पाउनेबित्तिकै प्रस्तुत गर्नेछु]
यसैबीच विश्वभरका प्रमुख सञ्चारमाध्यमहरुले राजाको भ्रमण रद्द भएको समाचारलाई प्रमुखताका साथ प्रकाशन-प्रसारण गरेका छन्। नेपालसम्बन्धी समाचारले विरलै प्राथमिकता पाउने जर्मनीको डीडब्लु टिभीले समेत आज बिहान नेपालमा भइरहेको विरोध प्रदर्शनको भिजुअलसहित यो समाचार प्रसारण गरेको थियो।
No related posts.









Recent Comments