२०६२ भदौ १८ शनिबार
शान्तिको कुरा गरेर नथाक्ने वर्तमान सरकारले आफ्नो नियन्त्रणमा रहेको सञ्चारमाध्यममा शान्तिको ढोका खुल्ने गरी माअोवादीले गरेको एकपक्षीय युध्दविरामको समाचार ब्ल्याकआउट गरेको छ। यो भन्दा हाँसउठ्दो कुरा अरु के हुनसक्छ ? म युध्दविरामप्रति सरकारको आधिकारिक प्रतिक्रियाका लागि नेपाल टेलिभिजन हेर्दै थिएँ। तर राति ८ बजेको प्राइम टाइम बुलेटिनमा मुख्य समाचार यस्ता थिए….. बाँकी
१ राजाले जर्ज बुसलाई अमेरिकामा क्याट्रिना आँधीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
२ अमेरिकामा क्याट्रिना आँधीले विध्वंश मच्चायो
३ नेपाली काँग्रेसका भूपू केन्द्रीय कोषाध्यक्षले पार्टी त्याग गरेको…..
ल भैगो, सरकारको विचारमा त्यो मुख्य समाचार बनाउन लायक समाचार थिएन रे। तैपनि विस्तृत समाचारमा केही त भनिएला भनी हेरेर बसेँ, कमर्सियल ब्रेकमा पनि च्यानल चेञ्ज नगरिकन। अझै हाँसउठ्दा समाचार आए-
अमेरिकालाई श्री ५ को सरकारले २५ हजार अमेरिकी डलर सहयोग गर्ने रे। अनि राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ रे, सबै नेपालीलाई त्यहाँ सहयोग जम्मा गर्न आह्वान रे।
अहँ, छैन त केही पनि युध्दविरामको बारेमा। किन प्रतिक्रियाविहीन बनेको सरकार ? शान्तितिर अग्रसर यति ठूलो पाइलाका बारेमा पनि एउटा शब्द समाचार बन्न लायक भएन। हे भगवान, विगत १४ वर्षको प्रजातन्त्रले निजी सञ्चारमाध्यमको विकास नगरेको भए हाम्रो हालत के हुन्थ्यो होला ? मलाई त डर पो लाग्यो त।
निजी टेलिभिजनमा हेरिए अनुसार पत्रकारहरुले सरकारको प्रतिक्रिया माग्दा बद्रीप्रसाद मण्डल झोंक्किनु भो, अरे भाई हेर्दैछौं, बुझ्दैछौं, सोच्दैछौं भनेको, त्योभन्दा बढी के भन्ने मैले तपाईँहरुलाई ? अनि हाम्रा महान माइक मन्त्री (सरकारका प्रवक्ता) टंक ढकाल भने बत्तीस वटा नै दाँत देखाउँदै भन्दै थिए, हेर्दै जानुस् न, सरकारले आगामी दिनमा के-के गर्छ। पत्रकारले सोधे, क्याबिनेट कहिले बस्छ त मन्त्री ज्यु ? उनले भने, अब अगाडि हेर्दै जानुस्। फेरि अर्का पत्रकारले सोधे, सरकारले पनि युध्दविराम गर्छ कि गर्दैन ? हेर्दै जानुस्, उनको भनाई। अोठमा हाँसो।
उनको हाँसो देखेर मलाई जगजित सिंहको एउटा गजल याद आयो,
तुम इतना जो मुस्कुरा रहे हो
क्या गम है जिसको छुपा रहे हो….आँखों मे नमी हँसी लबों पर
क्या हाल है, क्या दिखा रहे हो….
क्या गम है जिसको छुपा रहे हो….
अब मलाई गोर्खापत्र हेर्न मन लागेको छ। कान्तिपुर, समाचारपत्र, राजधानी त के हेर्नु, त्यसमा त पक्कै पनि छ कोलममा बक्समा माअोवादीको एकपक्षीय युध्दविरामको घोषणाको समाचार हुनेछन्, घोषणाप्रति दलहरु र सर्वसाधारण अनि नागरिक समाजका प्रतिक्रिया छापिनेछन्। हेर्नु पर्ने त महान पत्रिका गोर्खापत्र हो।
युध्दविरामको समाचार नेपाल टेलिभिजनबाट दिउँसो भने बजेको थियो। शायद माथिको आदेश नै नआई नेटिभीमा कसैले बढी जान्ने भएर त्यो समाचार प्रसार गरेका थिए। त्यसैले त प्राइम टाइममा माथिको निर्देशन आयो होला र समाचार ब्ल्याकआउट भयो।
No related posts.









Recent Comments