२०६२ असोज २६, बुधबार
आज विजयादशमी। हजुरबुबा बित्नुभएकोले आफ्नो निधार खाली भए पनि सबैको निधारमा रातो टीका देखिन्थ्यो। दरबारमा पनि दसैंको कम रमझम थिएन। मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु र सर्वसाधारणको पनि ठूलो भीड सँधै झैं दरबारमा थियो। अरु समाचारहरु नहुने हुनाले टेलिभिजन च्यानलहरुमा पनि झण्डै १५ मिनेट समाचार यही राजदरबारको टीका रमझमले ढाकिएको थियो। ध्यानपूर्वक नै हेरेँ, रुचिपूर्वक नै हेरेँ। शाही कम्युनिस्ट राधाकृष्ण मैनाली बडेमानको भुँडी हल्लाउँदै लाइन बसिरहेकोदेखि पूर्वप्रधानमन्त्री मरिचमान सिंहले स्वस्ति गरेकोसम्मका दृश्य टेलिभिजनको पर्दामा देखियो तर मैले त्यो भीडमा एक जनालाई भने फेला पार्न नै सकिनँ- मन्त्रिपरिषदका उपाध्यक्ष डा. तुलसी गिरी। टिभी च्यानलहरुले एडिट गर्दा गिरीको दृश्य काटिएको त हैन जस्तो पनि लाग्यो र राससको आधिकारिक समाचार पर्खने निधो गरेँ। राससले रातिको बुलेटिनमा पठाएको समाचार यस्तो थियो- बाँकी
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहबाट विजयादशमीका उपलक्ष्यमा बुधबार साँझ नारायणहिटी राजदरबारमा प्रधान न्यायाधीश दिलीपकुमार पौडेल, सभामुख तारानाथ रानाभाट, राजपरिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरी र मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि विष्टलाई टीका तथा जमरा बक्स भयो ।
श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव तथा श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट पनि उहाँहरूलाई टीका तथा जमरा बक्स्यो ।
त्यस अवसरमा मौसुफहरूबाट मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख र उपप्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक अङ्गका सदस्यहरू, श्री ५ को सरकारका स्थायी आयोगका वर्तमान तथा पूर्व पदाधिकारीहरू, संवैधानिक अङ्गका पूर्वप्रमख, पूर्व उपप्रमुख तथा सदस्यहरू, श्री ५ को सरकारका जङ्गी, निजामती, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीतर्फका समेत विशिष्ट श्रेणीका पदाधिकारी, विश्वविद्यालय तथा प्रज्ञाप्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरूलाई पनि टीका तथा जमरा बक्स्यो।
तपाईँले देख्नुभयो त उहाँको नाम ? यो सूचिमा मन्त्रिपरिषद्का जुनियर उपाध्यक्ष कीर्तिनिधि विष्ट त थिए तर सिनियर उपाध्यक्ष गिरी भने देखिन्नन्। के गिरीले राजाको हातको टीका बहिस्कार नै गरेका हुन् त ?
गिरीले धर्म परिवर्तन गरी इसाई धर्म केही वर्षअघि ग्रहण गरिएको सुनिएको थियो। उहाँको त नामसमेत पिटर गिरी भइसकेको थियो रे। धर्म कुनै पनि व्यक्तिको निजी मामिला हो, त्यसमा हामीले टिप्पणी गर्नु नैतिकताको आधारले पनि मिल्दैन। उहाँले आफ्नो धर्मविरुध्दको काम गर्नुभएन। कम से कम यो मामलामा उहाँ पदमा नरहँदासम्म दसैँको चर्को विरोध गर्ने र मनोनीत मन्त्री भएपछि राजाको हातबाट टीका थाप्ने कथित जनजाती नेता गोरेबहादुर खपाङ्गीभन्दा फरक हुनुभयो। तर उहाँले बहालवाला मन्त्री भएर राजाको हातबाट टीका नथाप्ने रेकर्ड पो बनाउनु भयो कि- इतिहास थाहा हुनेहरुले खोजी गरौँ है !
No related posts.









Recent Comments