२०६२ मंसिर १, बुधबार
२००७ सालको क्रान्तिका निर्णायक क्षणहरु नेपालका सहर र पहाडमा हैन, दिल्लीको टेबलमा लडिएको थियो रे। अब अहिलेको लोकतान्त्रिक आन्दोलनको नियति पनि त्यस्तै हुने लक्षण देखिँदैछ। दिल्लीबाट फर्किएको एक हप्ता पनि नबित्दै नेकपा एमालेका महासचिव माधवकुमार नेपाल आज फेरि दिल्ली पुग्नुभएको छ। उहाँसितै एमालेका अर्का नेता केपी शर्मा अोली पनि हुनुहुन्छ। काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला त त्यहाँ छँदै थिए, संयुक्त जनमोर्चाका अमिक शेरचन, नेपाल सदभावना पार्टीका महासचिव हृदयेश त्रिपाठी, नेकपा एकता केन्द्रका प्रकाश पनि दिल्लीमा नै हुनुहुन्छ। अनि त्यतिमात्र हो र, अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी र भारतीय राजदूत शिवशंकर मुखर्जी पनि कहाँ हुनुहुन्छ त ? दिल्लीमा नै। आखिर दिल्लीमा के हुँदैछ त ? बाँकी
हामी नागरिकको भविष्य निर्धारण गर्ने कुरा हामीलाई थाहा हुनुपर्ने हो कि हैन ? नेताहरु किन चुप छन् ? उनीहरु किन हाम्रो सुसूचित हुने अधिकार खोस्दैछन् ? किन दिल्ली स्वास्थ्य उपचारका लागि गएको मात्र भन्छन् ?
भएभरका सबै दिल्लीमा भएपछि सबैले सहजै अनुमान गर्न सक्ने कुरा हो कि त्यहाँ कुनै ठूलै खिचडी पाक्दैछ। तर त्यो खिचडी त्यस्तो देशको भूमिमा पाक्दैछ, जसले सदा आफूलाई मात्र बढी खिचडीको भाग खोजेको छ, आफ्नै स्वार्थलाई बढी ध्यान दिएको छ। जनता हार्ने वा अन्ततः नेपाल हार्ने दिन नआअोस्, हामीले नेताहरुलाई भन्ने कुरा त्यही नै हो।
कतै २००७ सालमा वीपी कोइरालाको आत्मकथामा उल्लेख भए जस्तो अचानक “तय हो गया” भनेर नेताहरुले सुन्नु पर्ने त हैन ?
वीपीले लेखेका छन्-
दिल्ली सम्झौताका बारेमा जो भन्दछन्, त्यो सम्झौता यही हो। हामीहरुको मोहन समसेरको ग्रुपसँग कुनै कुरा भएन सम्झौता गर्ने प्रक्रियामा। कुराहरु जवाहरलालजी मार्फत् भए। जवाहरलाल नेहरुले पनि कुनै ठोस कुरा गरेका होइनन्। राजाले त्यसमा कुनै भाग लिएका हैनन। अरुहरुसँग कुरा गरेको भए मलाई थाहा छैन। एउटा काल्पनिक कुरा हो दिल्ली सम्झौता भनेको।
म प्रतीक्षा गरिरहेको छु राउन्ड टेबल कन्फरेन्सको लागि, सबै पक्षहरु सम्मिलित भई वार्ता गर्नका लागि। तर त्यो हुँदैन। छुट्टाछुट्टै हामीहरुसँग कुरा गर्छन् जवाहरलालजी, मिलेर काम गर्नुपर्छ भन्दछन्। त्यही एउटा राग। “उपाय तो आप लोगोंको तय करना है” भन्दछन् उनी। तर राणाहरुसँग हाम्रो कुरै हुँदैन। उनीहरुसँग पनि अलग्ग कुरा गर्दा रहेछन्।
अहिले पनि यस्तै भइरहेको त छैन ?
यो पनि हेर्नुस्
१) ओली र नेपाल फेरि भारतमा (ब्लगर नेपाल)
२) दिल्लीमा दल र माओवादीबीच एघार सहमति(महानगर/कलमवीरहरुका कलम)
3) Top UML leader leaves for New Delhi (Nepalnews)
No related posts.









Recent Comments