पटक-पटक पद मोहमा परी लोकतान्त्रिक आन्दोलनलाई कमजोर पार्दै आएको राजनीतिक दलका नेताहरुलाई प्रधानमन्त्रीको लोभ त्यागेर राष्ट्रपतिका लागि तयार रहन आठ विद्यार्थी संगठनले आग्रह गरेका छन । प्रतिगमन विरुद्ध सञ्चालित आन्दोलनले राजासँग मिलन बिन्दु बन्द गरेको भन्दै विद्यार्थी नेताहरुले राजतन्त्रको अन्त्यका लागि विद्यार्थीहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा उत्रिइसकेको बताए ।
नगरकोट नरसंहारको विरोधमा आइतबार राजधानीमा आयोजित विरोध र्यालीलाई सम्बोधन गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष खिमलाल भट्टर्राईले राजतन्त्र राष्ट्रियताको मात्र नभई शान्ति, प्रजातन्त्र र अग्रगमनको समेत बाधक रहेको बताउदै नेताहरुलाई आग्रह गरे-’अब राष्ट्रपति बन्ने आँट गर्नुस, हामी राजतन्त्रको अन्त्यका लागि टाउकोमा कफन बाँधेर सडकमा उत्रिसकेका छौं ।’
दलहरुले ‘सेरेमोनियल किङ’को स्थान बाँकी भनिरहेको बेला भट्टर्राईले विद्यार्थीहरुलाई कुनै प्रकारको राजतन्त्र स्वीकार्य नहुने बताए । उनले सात दलका नेताहरुलाई संबैधानिक राजतन्त्रको रट नलगाउन आग्रह पनि गरे । ‘अब विद्यार्थीले गणतन्त्र बाहेक अन्य कुनै तन्त्र स्वीकार गर्ने छैनन’ उनले भने ।
अनेरास्ववियु एकिकृतका महासचिव प्रकाश पोखरेलले माओवादीद्धारा गरिएको एकतर्फी युद्धविरामलाई सम्बोधननै नगरी पुनः हतियार उठाउन राज्यले बाध्य बनाएको बताए । ‘शान्तिपूर्ण अवतरणको प्रयासमा रहेको माओवादीलाई भड्काएर राजा ओसामाबिन लादेनको पथमा हिडेका छन’ उनले भने ।
नगर चुनाव बिथोले सात राजनीतिक दललाई माओवादीको कित्तामा राखेर ब्यबहार गर्ने गृहमन्त्री कमल थापाको भनाईको प्रतिवाद गर्दै पोखरेलले भने-’ठीक छ, यसमा हाम्रो आपत्ति छैन । हामी पनि तपाई (मन्त्री) का महाराज र महाराजका भरौटेहरुलाई ओसामाबिन लादेनको कित्तामा राखेर कारवाही गर्नेछौं ।’
नेपाल विद्यार्थी संघका अध्यक्ष महेन्द्र शर्माले राजा र राजनीतिक दलको मिलनबिन्दुनै नरहेको बताए । शाही नेपाली सेनालाई विघटन गरी राष्ट्रिय सेनामा बदल्नु पर्ने तर्क गर्दै शर्माले १९ माघ पछि सेनालाई जनताको सुरक्षामा खटिने भन्दा पनि कसरी तारो बनाउने भनेर तालिम दिन थालिएकाले नगरकोट जस्ता हत्याकाण्ड अझै बढ्नसक्ने खतरा औल्याए ।
सभाअघि आठ विद्यार्थी संगठनले मिनभवनबाट विरोध र्याली निकालेका थिए । र्यालीमा राजतन्त्र विरोधी र शाही नेपाली सेनालाई तत्काल विघटन गरी राष्ट्रिय सेनाको गठन गर्न गर्नुपर्ने नारा लगाइएको थियो ।
प्रजातान्त्रिक कांग्रेस समर्थित नेविसंघ, माले समर्थित अनेरास्ववियु, नेपाल क्रान्तिकारी विद्यार्थी युनियन, नेपाल विद्यार्थी मञ्चलगायतका विद्यार्थी संगठनका नेताहरुले सभालाई सम्बोधन गर्दै अब मुलुक गणतन्त्रतिर लम्किसकेको बताए ।
स्रोतः स्वतन्त्र समाचार सेवा
No related posts.









Recent Comments