
माघ ७ गतेको प्रदर्शनको प्रचारमा यस्ता पोस्टर काठमाडौं भर टाँसिएका छन्। यो फोटो चाहिँ मैले शनिबार नयाँ बानेश्वरमा खिचेको हुँ।
अब माघ ७ गते हुने भनिएको सात दलको शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रम के होला त ? सरकारले त चक्रपथ क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरी हाल्यो। बिचरा दलहरु पहिले रत्नपार्क, शहीद मञ्चबाट लखेटिए। अब भर्खरै न्वारन गरेको नयाँ बानेश्वरको लोकतन्त्र चोकबाट पनि लखेटिने भए। यो शान्तिपूर्ण प्रदर्शन धेरै किसिमले महत्त्वपूर्ण हुने थियो। जनकपुरको आमसभाले देखाइसकेको थियो विशाल जनउपस्थिति। धेरै तयारी पनि भइरहेको थियो सातै दलबाट, तयारी जुलुस भइरहेका थिए, ह्वीप जारी गरिएको थियो। निर्वाचनमा भाग नलिन माअोवादीले धम्क्याए जस्तै सरकारले सर्वसाधारणलाई शान्तिपूर्ण प्रदर्शनबाट टाढै रहन धम्कीको शैलीमा प्रचार गरिएको छ।
यो शान्तिपूर्ण प्रदर्शनलाई सफल पारिनु पर्थ्यो। तर माअोवादीले एक्कासी अस्ति शनिबार थानकोट लगायत विभिन्न ठाउँमा शृङ्खलावध्द आक्रमण गरी शान्तिपूर्ण आन्दोलनलाई दबाउने बहाना सरकारलाई दिएको छ। त्यसो त त्यो आक्रमण नभएको भए पनि राज्यले केही बाधा व्यवधान खडा गर्दैन भन्ने निश्चित थिएन। तर माअोवादीहरुले पक्कै पनि सरकारलाई गतिलो बहाना दिएको छ। अब त्यही कारण केही क्षेत्रमा सीमित रहेको निषेधित क्षेत्र चक्रपथको चौघेरामा फैलिएको छ। त्यो अब छिट्टै नै अधिराज्यभर फैलने निश्चित छ।
त्यसो त ईकान्तिपुरमा सात दलका केही नेताहरुले सरकारी प्रतिबन्धको उल्लंघन गरी विरोध प्रदर्शन जारी राख्ने बताएका छन्। तर मलाई यी नेताहरुको भरै लाग्दैन। अलि गार्हो हुने केही गर्नु परेमा उनीहरु कि आउँदै आउँदैनन् कि आए पनि लुसुक्क एकातिर लागिदिन्छन्। निषेधाज्ञा तोड्ने क्रममा नभएको पूच्छर लुसुक्क लुकाएर भागेका नेताहरुको अनुहार म आफैले देखेको छु। यदि साँच्चै नै उनीहरुले यो प्रतिबन्धको शान्तिपूर्ण रुपमा उल्लंघन गरेर प्रदर्शन गर्न सकेमा यसले नेपालको राजनीतिलाई पक्कै एउटा नयाँ मोड दिनेछ।
तर राज्यले प्रयोग गरेको धम्कीको भाषा हेर्दा अब यसको सहभागितामा कमी आउने महसूस मैले गरेको छु। त्यसो नहोस्। दलहरुले भने जस्तै पाँच लाख जनता सडकमा उतार्न सकून्- लोकतन्त्रवादीहरुको कामना यही हो। हेरौं अबको केही घण्टामा त दलका शीर्ष नेताहरुको पनि विचार सुन्न पाइएला नि। के थाहा, उनीहरुले कार्यक्रम भक्तपुर तिर पो सिफ्ट गर्ने हुन् कि !
सरकारी सञ्चार माध्यम राससमा दिइएको सूचना
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ललितपुरले सोमबार छुट्टाछुट्टै विशेष सूचना प्रकाशित गरी काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाको चक्रपथभित्रको सम्पूर्ण क्षेत्रमा सभा, जुलुस, धर्नाजस्ता शान्ति सुरक्षा भङ्ग हुने कुनै पनि कार्यहरू यही माघ ४ गतेदेखि अर्को सूचना नभएसम्मका लागि निषेध गरिएको जनाएका छन् ।
काठमाडौँ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा विगत केही दिनयतादेखि आतङ्ककारी कार्यका साथै विभिन्न उच्छृङ्खल र अवाञ्छित क्रियाकलापहरू भई धनजनको क्षति समेत भएकाले दुवै नगरक्षेत्रका चक्रपथभित्रको क्षेत्रमा कसैले सभा, जुलुस, धर्नासम्बन्धी कार्य गर्दा हुलदङ्गा भई शान्तिसुरक्षा भङ्ग हुने, कसैलाई बाधा विरोध पर्ने तथा जनस्वास्थ्यलाई खराब असर पर्नेसमेतको सम्भावना भएकाले सो कार्य रोक्न र शान्ति सुव्यवस्था र सुरक्षा कायम राख्न जरुरी भएकाले स्थानीय प्रशासन ऐनअनुसार ती कार्य गर्न निषेध गरिएको विशेष सूचनामा जनाइएको छ ।
No related posts.









Recent Comments