मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    घोराही गोलीकान्ड सरकारी दमन नीतिको प्रतिफलः रिपोर्ट


    घटनास्थलः यही ठाउँमा माघ २६ गते गोली चलेको थियो।
    दाङको घोराहीमा माघ २६ गते चुनावका दिन भएको गोलीकान्ड अप्रत्याशित घटना नभई नगर निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई दमन गर्ने वर्तमान सरकारको नीतिको प्रतिफल भएको निश्कर्ष मानवअधिकार सन्धि अनुगमन समन्वय समिति (एचआरटिएमसीसी) सम्बद्ध मानवअधिकारकर्मीहरूको स्थलगत अध्ययन टोलीको प्रतिवेदनले निकालेको छ। प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार सुरक्षाकर्मीहरूलाई असीमित अधिकार प्रदान गर्ने कुनै पनि प्रावधान नभएको पृष्ठभूमिमा सनकको भरमा मौखिक आदेशमार्फत् गृहमन्त्री कमल थापाको २०६२ माघ २५ गतेको अभिव्यक्तिले उपर्युक्त गोली काण्ड गर्न सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनको घटना विवरणका केही अंशः
    “….सेनाको गाडीबाट कसैले “ठोक सालेहरूलाई” भनेको सुनियो । त्यसपछि अन्धाधुन्ध गोली वर्षिन थाल्यो । उमेशजी मेरो नजिकै लड्नुभयो । म ज्यान जोगाउन
    घिस्रिएर बाथरुमतिर लागेँ । मेरो बाथरुमको पर्खालमा समेत गोली वषिर्न थाल्यो । मेरी छोरी घरबाहिर घटनास्थल नजिकै खेलिरहेकोले उनको खोजीमा ज्यानको पर्वाह नगरी बाहिर निस्केँ । त्यत्तिकैमा सेनाले एउटा मरिसक्यो र अर्को जिउँदै छ भनेको सुनेँ । यो अत्याचार हो….”

    “……..सेनाको गाडी आएपछि उनीहरू बाटाबाट हटे । प्रदर्शनकारीहरूले पनि सेनालाई बाटो छाडिदिए । सेनाको गाडी रोकियो र “ठोक् सालेहरूलाई” भन्ने सुनियो । हांडीमा मकै पड्केको जस्तो आवाज आयो । तीनजना ढले………”

    “…….सेनाको गाडीभित्रबाट ठोक् भनेको आवाज आयो र उनीहरूले गोली पूर्व र दक्षिणतर्फबाट चलाए । गाडीले छेकेकोले गर्दा सबै घटना देख्न सकिएन । हामीलाई सबै मरेजस्तो लागेको थियो । हामीतर्फ पनि गोली चलाएकोले मर्ने आशंकामा भाग्न थाल्यौँ । मेरो दायां बायां रहेका उमेशजी र कृष्णजी गोली लागी ढलेपछि दौडन हात खुट्टा नलागेपछि म पनि हतास भएर ढलेँ…….”

    “……..”किन गोली चलायौ -” भन्दा जवाफमा “केटाहरू नारा लगाउँदै आएकाले गोली चलाएको” भने । मैले “नारा लगाउँदैमा गोली चलाउन पाइन्छ !” भनेँ । त्यत्तिकैमा चार-पाँचजना सुरक्षाकर्मीहरूले भूइँमा लडिरहेकामध्ये एकजनालाई फुत्त ट्रकमा फाले………..”

    “……प्रहरी निरीक्षक दीपक पाख्रेलले मलाई जानकारी गराए अनुसार उनले प्रदर्शनकारीलाई आफ्ना दुवै हात उठाई रोकिन आग्रह गर्दा कतैबाट उनको बुढी औलाको टुप्पामा लाग्नेगरी गोली चल्यो र सुरक्षाकर्मीले प्रतिकारस्वरूप गोली चलाएका हुन् ……”

    प्रतिवेदनको घटना विवरणको पूर्ण अं‍श र निश्कर्ष पढ्न भित्र आउनुस्-

    घटना विवरण

    नगर निर्वाचनको विरोध गर्दै दाङको घोराहीमा सात दलले शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । यसैक्रममा मध्याह्न १२ः०० बजे घोराहीको कटरबुटाबाट शान्तिपूर्ण जुलुस निकालिएको थियो । सो जुलुस अस्पताल रोड, गणेश मन्दिर रोड, पुरानो रोड, दामोदर चोक हुँदै तुल्सीपुर चोक पुग्ने बेला प्रहरी निरीक्षक दीपक पोख्रेलको नेतृत्वमा आएको सुरक्षाबलको भ्यानले जुलुसलाई रोक्ने प्रयास गरेपछि दुई पक्षबीच केही बेर तनाव भएको थियो । सोहीक्रममा सुरक्षाकर्मीले निर्ममतापूर्वक बन्दुकको नाल र लाठीले अन्धाधुन्ध प्रहार गरी ११ जना नेता-कार्यकर्ताहरूलाई घाइते तुल्याए । सो घटनामा पुरुष सुरक्षाकर्मीले महिला प्रदर्शनकारीहरूलाई अमानवीय तरिकाले कपालमा लुछेर लछारपछार गर्दै बुट समेतले हिर्काएर घाइते तुल्याए ।

    उक्त झडपपछि तितरबितर भएका नेता-कार्यकर्ताहरूले मध्याह्न करिब साढे बाह्र बजे जिविस चोकमा पुगी पुनः कोणसभा सुरु गरे । तितरबितर भएको समूहका करिब २०-२५ जना सम्मिलित प्रदर्शनकारीहरू सुपरलज रोडतर्फ लागे । यसैबीच ट्रक र जिपमा आएको संयुक्त सुरक्षा बलले एक्कासी गोली प्रहार गर्‍यो ।

    सुरक्षाफौजले झण्डै ५०-६० राउण्ड गोली सो स्थानमा अन्धाधुन्ध प्रहार गरेको कुरा प्रत्यक्षदर्शीबाट बुझिन आयो । सोही क्रममा हिँड्दै गरेका नेकपा (एमाले) कार्यकर्ता उमेशचन्द्र थापाको सुरक्षाकर्मीको गोलीबाट घटनास्थलमै मृत्यु भयो भने नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि दाङ जिल्लाको धर्ना गाविसका ५५ वर्षीय कृष्ण गिरी घाइते भए ।


    घटनामा घाइते भएका कृष्ण गिरी नेपालगञ्जको अस्पतालमा उपचार गराउँदै।

    घाइते गिरीको छाति र खुट्टामा गोली लागेको पाइयो । घटनाको लगत्तै करिब १० मिनेटमा सुरक्षाकर्मीहरूले घटनास्थलबाट मृतक र घाइतेलाई उठाएर आफ्नै गाडीमा राखी महेन्द्र अस्पताल पुर्‍याएको बुझियो । घटनास्थलमा छरिएका गोलीका खोकाहरू सुरक्षाकर्मीहरूले उठाएर लगेको बताइएको छ । सुरक्षाकर्मीहरूको गोलीबाट र्सवसाधारणका घरहरूमा समेत क्षति पुगेको पाइयो ।

    सोही दिन साँझ जिल्ला प्रशासन कार्यालय दाङले एक विज्ञप्ति मार्फत् शान्ति सुरक्षाको स्थितिलाई सुदृढ तुल्याउने कार्यमा खटिएको संयुक्त सुरक्षाफौज र निर्वाचन विफल तुल्याउन निस्केको जुलुसबीच मुठभेडको स्थिति सृजना हुन गई स्थिति नियन्त्रण गर्ने क्रममा संयुक्त सुरक्षाफौजले प्रतिकार स्वरूप चलाएको गोलीबाट निज थापाको निधन भएको जनायो । साथै रक्षा मन्त्रालयले वडा नं. १० अन्तर्गत बालमन्दिर मतदान केन्द्रमा निर्वाचन बिथोल्ने उद्देश्यले करिब १ सय ५० जनाको संख्यामा उत्तेजित नारा लगाउँदै सुरक्षाकर्मीमाथि गोली प्रहार गरेपछिको कारबाहीमा दुईजना घाइते भएको र एकजनाको उपचारका क्रममा मृत्यु भएको तथा अर्का एकजना सैनिकपनि घटनामा घाइते भएको जनायो । घटना भएको लामो समयसम्मपनि मृतकका आफन्तलाई सेनाले लाश बुझाएनन् । मृतकका परिवारलाई लाश कहाँ छ भन्ने बारे सेनाबाट अबेलासम्म जानकारी दिइएन ।

    घटनाका सम्बन्धमा प्रत्यक्षदर्शी तथा स्थानीयबासीहरूको भनाइ

    टोपाराम पौडेल, ३७, नेपाल टेलिकम

    घटना करिब दिनको १.०० बजेतिर भएको थियो । घटनास्थल अगाडिको घरमा बसिरहेको अवस्थामा महिला प्रशिक्षण केन्द्र अगाडि सुरक्षाकर्मी चढेका दुईवटा गाडी आएपछि शान्तिपूर्ण प्रदर्शनका सहभागीहरू बाटो छोडेर छेउ लागे । एक्कासी गोली चलेको आवाज सुनियो । गोली चलेको हेर्दा कोही पनि नबाँच्नु पर्थ्यो । गाडीमा रहेका सुरक्षाकर्मीहरू सबैले गोली चलाएका थिए । गोली करिब एक मिनेट जति चल्यो । त्यसपछि मलाई घाइतेमध्ये एकजनाले इसारा गरेर बोलाए । तर मलाई त्यहाँ जान डर लाग्यो । केही समय पछि प्रहरी आइपुगे । गोली सुरक्षाकर्मीको गाडीबाट चलेको थियो । गोली चलाइसकेपछि मात्र सुरक्षाकर्मीहरू गाडीबाट ओर्लेका थिए ।

    रमेश कुमार पाण्डे, ३१, ने. वि. संघ जिल्ला कार्यसमिति सदस्य (त्रि.न.पा.- ११ का निवासी, प्रदर्शनका सहभागी)

    सात राजनीतिक दलहरूको कार्यक्रम अनुसार चुनाव बहिष्कारको क्रममा ट्राफिक चोकबाट
    जुलुस निकालेर गणेश मन्दिर हुँदै तुलसीपुर चोकमा गएर आमसभा गर्ने उद्देश्य रहेको थियो, जस्को वरिपरि मतदान केन्द्र थिएन । सभा गर्न रोक लगाई लाठीचार्ज गरेका कारण धेरै प्रदर्शनकारीहरू घाइते भए ।

    हामी त्यहाँबाट भागेर सानो गल्लीबाट निस्केर निकालेको जुलुसमा पाँच-सात जना युवा साथीहरू अगाडि र पाँच-सात जना पाका व्यक्तिहरू पछाडि थिए । सडक विभागको एउटा रातो पिकअप र सैनिकको ठूलो गाडी आयो । उनीहरूमध्ये युनिफाइड कमाण्डको युनिफर्ममा रहेका प्रहरी निरीक्षकले नारा नलगाउने आदेश दिए र हामी बाटाको छेउतिर लाग्यौं । हामीलाई एकजना सुरक्षाकर्मीले बोलाए । तर त्यहाँ पुग्न नपाउँदै पछाडिको ट्रकबाट “ठोक सालेहरूलाई” भन्ने आवाज आयो र तुरुन्तै गोली चल्न थालिहाल्यो ।

    मेरो छेउमा रहनुभएका उपेन्द्र खड्का, धुव्र आचार्य र म नजिकैको घरमा लुक्न पस्यौं । मचाहिँ पर्खालबाट नाघेर तरकारी बारीमा पसेँ, त्यहाँ पनि गोली आइरहेको थियो । नीलकाँडाको बार नाघेर चौधरीको घरमा पसेँ र बाँच्न सफल भएँ । पर्खाल नाघ्ने क्रममा मेरो हात काटिएको छ । सुरक्षाकर्मीका गाडीमा रहेका युनिफाइड कमाण्डका कमाण्डरले आदेश दिएको र गोली आन्दोलनकारीमाथि लक्षित गरेर स्वचालित बन्दुकबाट चलाइएको थियो ।

    विष्णु लामिछाने, स्व.वि.यु. सभापति, महेन्द्र बहुमुखी क्याम्पस, (त्रि.न.पा.- ३ निवासी)

    प्रकृति फर्निचरबाट सुपर लज रोडमा निस्केर जुलुस निकाल्यौं । गिरफ्तारी नदिने नीति भएकोले हामी बाटाको छेउ लाग्यौं । हामीले नारा लगाएको भएपनि पछाडि आउने साथीहरू केवल ताली बजाएर मात्र समर्थन गरिरहनुभएको थियो । हामीले चार-पाँचपटक मात्र के नारा लगाएका थियौँ, सेनाको गाडी आइहाल्यो । युनिफाइड कमाण्डमा रहेका एकजना सुरक्षाकर्मीले नजिक बोलाई “तपाईहरूले किन बबाल गरेको, आखिर चुनाव त भइनैहाल्यो” के मात्र भनेका थिए, सुरक्षाकर्मी रहेको अर्को ट्रक आइहाल्यो ।

    तत्कालै “ठोक् सालेहरूलाई” भनेको सुनिनासाथ अन्धाधुन्ध गोली वर्षिहाल्यो । म राजेन्द्र श्रेष्ठको तरकारी बारी हुँदै चौधरीको घरको छतमा गएर बसेँ । मैले ज्याकेट छोडेर चौधरीको घरबाट निक्लन खोज्दा उनले मानेनन् । त्यसपछि म स्वर्गद्वारी एफ.एम.को स्टेसनमा पुगेँ, तर म त्रसित अवस्थामा रहेको कारण केही बोल्न सकिनँ । त्यस रात साथीको घरमा गएर सुतेँ र भोलिपल्ट मात्र अन्य साथीहरूको सम्पर्कमा आएको
    थिएँ ।

    भक्तबहादुर गैरे, ४०, (तुलसीपुर घर भई त्रि.न.पा.-११ मा बस्ने)

    मेरो घरका सबै परिवार आज के होला भनी च्यानल गेट नजिक आएर बाहिरतर्फ हेरिरहेका थिए । मलाई खुल्दुली लागेकोले बाहिर-भित्र गरिरहेको थिएँ । त्यसक्रममा म गेटभित्र पस्नासाथ गोली चल्यो । मेरो विचारमा ७०-८० राउण्ड हानेको जस्तो लाग्छ । घरका अन्य सदस्यहरू डराएर भित्र लागेका थिए भने मचाहिँ निस्केर हेर्न थालेँ । सेनाको ट्रकमा बस्ने युनिफाइड कमाण्डको युनिफर्ममा रहेका प्रहरी निरीक्षक दीपक पोखेल थिए । मैले “किन गोली चलायौ -” भन्दा जवाफमा “केटाहरू नारा लगाउँदै आएकाले गोली चलाएको” भने । मैले “नारा लगाउँदैमा गोली चलाउन पाइन्छ !” भनेँ । त्यत्तिकैमा चार-पाँचजना सुरक्षाकर्मीहरूले भूइँमा लडिरहेकामध्ये एकजनालाई फुत्त ट्रकमा फाले । तर एकजना घाइतेलाई भने दुईजना सुरक्षाकर्मीले राम्रोसँग राखेका थिए । अर्कालाई सडक विभागको गाडीमा लिएर पछाडिको बाटोबाट भागेर गए । प्रहरी निरीक्षक पोख्रेल परिचित भए पनि घटनापछि मतिर नहेरिकन गए । तीन-चारजनाले हवाइ फायर गरेजस्तो लाग्यो । तर केहीले प्रदर्शनकारी विद्यार्थीमाथि समेत सुरक्षाकर्मीले ताकेर गोली प्रहार गरेका थिए । गोली प्रहारपश्चात् सुरक्षाकर्मीको उक्त टोली जिल्ला प्रहरी कार्यालय गएको र प्रहरीको अर्को टोली घटनास्थलमा आएको थियो । सो टोलीका प्रहरी निरीक्षकले मलाई “दोहोरो गोली चलेको हो -” भनी सोधेकोमा मैले होइन भनी जवाफ दिएँ । प्रहरी निरीक्षक दीपक पोख्रेललाई गोली लागेको छैन । यो कपोलकल्पित मात्र हो ।

    ध्रुव आचार्य, ने.वि.संघ (प्रजातान्त्रिक), जिल्ला कमिटीका कोषाध्यक्ष, (उरहरि गा.वि.स-९ नवलपुर निवासी)

    सुपर लज रोडमा नारा लगाइरहेका थियौँ । सेनाको गाडी देखेपछि डराएर कुना लाग्यौँ । १४-१५ जना मध्ये आठ-१० जना भागिसकेका थिए, हामी चार-पाँच जना बाँकी रहेका थियौँ । नजिकैको घरमा लुक्न गएको समयमा गोली मेरो टाउकामाथिबाट गयो । कुनै कुरा नगरी ठोक् भनेको सुनेँ र गोली चलेको आवाज आयो ।

    दामोदर अधिकारी, ५२, ने.क.पा. (एमाले) नगर कमिटी इन्चार्ज

    दामोदर चोकबाट दक्षिण लाग्यौँ । म पछाडि थिएँ । एकजना अपरिचित मान्छे केही साथीहरूलाई इंगित गरेको देखेँ । हामी भाग्यौं । म नेपाली कांग्रेसका जिल्ला सभापति वीरकेशरी गौतमसँग उत्तरतिर लागेँ । त्यहाँ कोणसभा गर्ने प्रयास गर्‍यौं । सोही समयमा उत्तरतिरबाट सेनाको रातो गाडी आयो । मैले ठोक् भनेको सुनेँ । तत्कालै सेनाको रातो गाडी पछाडितर्फ सर्‍यो । सेनाको अर्को ट्रक अगाडितर्फ बढ्यो । भीड युगबोध पत्रिकाको कार्यालयतिर लाग्यो । हामीले बाहिर निस्केर हेर्दा त्यहाँबाट हामीले दुईजना घाइते लडिरहेको देख्यौँ । गोली स्वचालित हतियारबाट चलेको हुनुपर्दछ र सुनियोजित रूपमा प्रहार गरिएको थियो।

    कृष्णप्रसाद सुवेदी, ४७, औषधी व्यवसायी

    मेरो साथमा वासुदेव जंगली हुनुहुन्थ्यो । पहिलो फायर अगाडिको समूहलाई लक्षित गरेको थियो । हवाई फायर हुन्छ भन्ने ठानी हामी पहिले भागेनौं । पछाडि फर्केर सेनाले गोली चलाउन थालेपछि हामी भाग्यौं । जमीनमा गोली वर्षेर धुलो उडेको देखिन्थ्यो । छेउछाउका घरका भित्ताहरूमा पनि गोली लागेको थियो । हामी फलामका किला भएको पर्खाल नाघी भाग्न सफल भयौँ । उमेशजीलाई गोली लागेको मैले देखेको थिएँ । हाम्रो बीचमा उहाँलाई उठाउन जाने कुरा पनि भयो । तर उठाउन जाँदा फेरि अरु पनि मरिएला भन्ने डरले हामी गएनौं । उमेशजीलाई गोली दाया खुटामा लागेजस्तो लाग्छ ।

    गणेश शाह, ५६, ने.क.पा. (एमाले) का कार्यकर्ता, (त्रि.न.पा. १० शिवमन्दिर टोल निवासी)

    सुपरलज नजिक पुग्दा साथीहरूले नारा लगाउन सुरु गरे । हामी के कसो गर्ने भनी छलफल गरिरहेका थियौँ । यत्तिकैमा सेनाका गाडीहरू आए । सेनाको गाडीभित्रबाट ठोक् भनेको आवाज आयो र उनीहरूले गोली पूर्व र दक्षिणतर्फबाट चलाए । गाडीले छेकेकोले गर्दा सबै घटना देख्न सकिएन । हामीलाई सबै मरेजस्तो लागेको थियो । हामीतर्फ पनि गोली चलाएकोले मर्ने आशंकामा भाग्न थाल्यौँ । मेरो दायां बायां रहेका उमेशजी र कृष्णजी गोली लागी ढलेपछि दौडन हात खुट्टा नलागेपछि म पनि हतास भएर ढलेँ ।

    सबैले गोली मलाई लागेको भन्ने ठानेका थिए । म चार पाउ टेकेर त्यहाँबाट भाग्न सफल भएँ । पर्खाल नाघ्न सकिनँ । पर्खालको आडैआड गएर झ्यालतिरबाट भागेँ र अलिक टाढा गएर हेरेँ । उहाँहरू ढलिरहनुभएको थियो । उमेशजीलाई कोखामा गोली लागेको हुनुपर्छ । सेनाको गाडी फर्किसकेको थियो । अहिले रक्षा मन्त्रालयको झुठो विज्ञप्ति सुन्दा अत्यन्त दुःख लागेको छ ।

    शरद बस्नेत, ने.वि.संघ जिल्ला सचिव

    निर्वाचन बहिष्कार गरौं भन्ने ब्यानर लिएर महिलाहरू तुलसीपुर चोकमा कोणसभा गर्ने उद्देश्यका साथ अग्रपंक्तिमा थिए । सुरक्षाकर्मीहरूले महिलाहरूमाथि अभद्र व्यवहार गरे । लछार पछार समेत पारे । ब्यानर तानातान भयो । कमाण्डरबाट सीटी फुकेको आवाज आयो र पुरुष सुरक्षाकर्मीहरूले महिलाहरूमाथि निर्मम रूपमा लाठीले कुटपीट गरे । त्यहाँबाट बच्न सफल भएपछि सुपर लज रोडतिर लाग्यौं । त्यत्तिकैमा करिब १२.३० बजेतिर सेनाको गाडी आएपछि हामी साइड लाग्यौं । यत्तिकैमा “ठोक् सालेहरूलाई” भन्ने आवाज आयो र तत्काल गोली चल्न थालेपछि हामी त्यहाँबाट भाग्यौं ।

    ताराप्रसाद श्रेष्ठ, त्रि.न.पा.- ११, व्यापारी

    घटनास्थल भन्दा म करिब १५ मिटर जति टाढा थिएँ । एउटा सेनाको गाडी आयो । गाडीमा एकजना उम्मेदवार पनि थिए । उक्त समयमा बाटोमा केटाकेटीहरू क्रिकेट खेलिरहेका थिए । सेनाको गाडी आएपछि उनीहरू बाटाबाट हटे । प्रदर्शनकारीहरूले पनि सेनालाई बाटो छाडिदिए । सेनाको गाडी रोकियो र “ठोक् सालेहरूलाई” भन्ने सुनियो । हांडीमा मकै पड्केको जस्तो आवाज आयो । तीनजना ढले । म जान सकिंन र दोकानतर्फलागेँ । चारजना सुरक्षाकर्मीले दुईजना घाइते व्यक्तिलाई झुण्ड्याएर गाडीमा
    हाले । प्रदर्शनकारीहरूले पहिला सुरक्षाकर्मीमाथि जाइलागेको भन्ने रक्षा मन्त्रालयको भनाइ सरासर झुठो हो ।

    सुदीप गौतम, सञ्चारकर्मी तथा सल्लाहकार, मानव अधिकार तथा शान्ति समाज

    माघ १७ गते महिला र्‍यालीमा महिलाको अत्यधिक सहभागिता र १८ गतेको युवाहरूको मोटरसाइकल र्‍यालीमा अत्यधिक सहभागिता भएपछि दलका कार्यक्रमहरू रोक लगाउने कुरा सुरक्षाकर्मीबाट भएको थियो । पापडको जुलुसमा पनि हस्तक्षेप गरी पापड बाहेकका अन्य सहभागीहरूलाई पक्राउ गरेका थिए । त्यसदिन पनि जुलुस बाल मन्दिरबाट तुलसीपुर चोकमा आएपछि सुरक्षाकर्मीले रोकेका थिए । माघ २६ गते सुरक्षाकर्मीहरूले जहाँ रोक्छन् त्यहीँ कोणसभा गर्ने कार्यक्रम बनाएका थिए । तुलसीपुर चोकमा जुलुस आएपछि सुरक्षाकर्मीहरूले रोके र लाठीचार्ज गरे । म त्यहीँ बसेर हेरिरहेको थिएँ । गोली चल्नु अगाडि सुरक्षाकर्मीहरूले घरको छतमा बसिरहेका ६४ वर्षसम्मका महिलाहरूमाथि समेत ढुंगा प्रहार गरेँ । पर्यवेक्षकको हैसियतले मैले ढुंगा नहान्न आग्रह गरेपछि स्वयं आफूलाई मार्ने धम्की दिए । त्यस बीचमा प्रहरी निरीक्षकले भने आफ्ना जवानहरूलाई जथाभावी नगर्न अह्राएका थिए । तर सुरक्षाफौज कमाण्डभन्दा बाहिर गएको देखिन्थ्यो । गोली चलेपश्चात् म, विपुल पोख्रेल र कृष्ण गिरीको छोरा सैनिक व्यारेकमा गएको र नाम नखुलेका मेजरले ६ बजे टेलिफोन खुलेपछि भेट्न सकिने बताएपनि घाइते गिरीलाई भेट्न नदिई उपचारका लागि सेनाले हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।

    भगवती आचार्य, ३२, त्रि.न.पा.- ११, सुपरलज रोड
    उमेशजीले मलाई चुनाव बहिष्कारका केही पर्चा दिनुभयो । घटनास्थल नजिक १०-१५ जना प्रदर्शनकारीको समूह आयो । त्यत्तिकैमा सेनाका गाडीहरू आए । अगाडि रहेको गाडीमा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरू र त्रिभुवननगर नगरपालिकाका रा.प्र.पा. (थापा) का मेयरका उम्मेदवार बसेका थिए । उनका पछाडि सेनाको अर्को गाडी आयो । हामी जुलुस हेर्न जान लागेका थियौं । सेनाको गाडी देखेपछि प्रदर्शनकारीहरू त्यहीँ रोकिए र चौरतर्फ लागे । सेनाको गाडीबाट कसैले “ठोक सालेहरूलाई” भनेको सुनियो । त्यसपछि अन्धाधुन्ध गोली वर्षिन थाल्यो । उमेशजी मेरो नजिकै लड्नुभयो । म ज्यान जोगाउन
    घिस्रिएर बाथरुमतिर लागेँ । मेरो बाथरुमको पर्खालमा समेत गोली वषिर्न थाल्यो । मेरी छोरी घरबाहिर घटनास्थल नजिकै खेलिरहेकोले उनको खोजीमा ज्यानको पर्वाह नगरी बाहिर निस्केँ । त्यत्तिकैमा सेनाले एउटा मरिसक्यो र अर्को जिउँदै छ भनेको सुनेँ । यो अत्याचार हो । मलाईसमेत सुरक्षा फौजले विभिन्न बहानामा घर खानतलासी गरी पटक-पटक हैरान पार्ने गर्छन् ।

    शारदा शर्मा, केन्द्रीय सदस्य, मानव अधिकार सञ्चार प्रतिष्ठान

    मतदान केन्द्रमा आक्रमण गर्न प्रदर्शनकारीहरू आएको भन्ने झुठा हो । मेरो घर बाल मन्दिर मतदान केन्द्र नजिकै रहेको छ । उक्त केन्द्रमा जुलुसको आवाजसम्म पनि आएको छैन ।

    शिवशंकर देवकोटा, क्षेत्रीय सदस्य, नेपाली कांग्रेस दाङ क्षेत्र नं. २, (मृतक उमेशचन्द्र थापाका छिमेकी)

    निर्वाचनका दिन सक्रिय बहिष्कारको कार्यक्रम भएकोले कार्यक्रममा जाने नजाने सम्बन्धमा उमेशजीसँग छलफल गरेको थिएँ । जाने निर्णय भएपछि बाबा होटेलबाट अगाडि बढ्दै म उमेशजीसँगै तुलसीपुर चोकतर्फ आएँ । अन्धाधुन्ध लाठी प्रहारका कारण महिला नेतृहरू अम्बिका पोख्रेल, सुषमा घिमिरे, अनिता देवकोटा आदिलाई पुरुष प्रहरीले निर्ममतापूर्वक लाठी र बन्दुकको कुन्दाले पिटेका थिए । गोली हान्नुपर्ने अवस्था कदापि थिएन । अन्धाधुन्ध गोली प्रहारपश्चात् सुरक्षाकर्मीले घटनास्थलमा प्रमाण मेटाई गोलीका खोकाहरू समेत उठाएर लगे । छिमेकी भएका कारण पनि उमेशजीलाई राम्ररी चिन्दछु र उहाँ अत्यन्त भद्र स्वभावको व्यक्ति हुनुहुन्थ्यो ।

    सुषमा शर्मा घिमिरे, केन्द्रीय आन्दोलन परिचालन कमिटी सदस्य, ने.क.पा. (एमाले)

    प्रदर्शनका क्रममा तुलसीपुर चोकमा आइपुगेपछि सुरक्षाकर्मीहरूले हाम्रो व्यानर मागेपनि हाम्रा पछाडि जनताका सागर भएकाले जनताको चिनो उक्त व्यानर दिन नसक्ने जवाफ दिएँ । “अस्ति भाषण गर्ने यही हो” भन्दै मलाई यहाँ बोल्नै असजिलो हुने खालका तथानाम अपशब्द प्रयोग गर्दै पुरुष सुरक्षाकर्मीहरूले लछारपछार गरेका थिए । मेरो टाउको भुइँमा बजारियो तर साथीहरूको सहयोगले म सुरक्षाकर्मीबाट उम्कन सफल भएँ । त्यसपछि सुपर लज चोकमा पक्डेर कपाल समातेर भूइँमा लडाए र मैले प्रतिवाद गर्न सकिनँ । सुरक्षाकर्मीहरूले मलाई बन्दुकको कुन्दा लगायत लाठीले निर्ममतापूर्वक कुटपिट गरेका थिए । कुटपिटका कारण टाउको, तल्लो पेट र कम्मरको तल्लो भाग सुन्निएको छ । यसरी कुटपिटमा पर्नेहरूमा पुष्पा श्रेष्ठ, रिमा नेपाली, सरस्वती गौतम, लीला शाह, अनिता देवकोटा, अम्बिका पोख्रेल लगायतका हुनुहुन्छ ।
    (यसै प्रकारको अभिव्यक्ति नेपाली कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य अनिता देवकोटा र ने.क.पा. ढएमाले) का देवी पोख्रेल तथा लीला शाह समेतले दिनुभएको थियो ।)

    माया जी.सी., मृतककी भाञ्जी

    गोली प्रहारबाट मामा मारिएको सुनेपछि म आत्तिँदै अस्पतालमा उहाँको अनुहार हेर्न पुगे पनि सुरक्षाकर्मीले दिएनन् । मेरो श्रीमानले एकजना प्रहरीमार्फत् मामाको काठमाण्डौंको घरमा फोन गर्न अनुरोध गर्दा फोन नम्बर टिपे पनि फोन गरेनछन् । लास पनि हेर्न दिइएन । सोही दिन हेलिकप्टरमा राखेर काठमाण्डौं लगेको जानकारी प्रहरीले दिएको थियो । मामाको अन्तिम मुहार हेर्ने मेरो धोको अधुरै रह्यो ।

    लब्ली थापा, मृतकका आफन्त

    उमेश थापा मरेको थाहा पाएपछि अस्पतालमा लास हेर्न गएँ । तर प्रहरीले अस्पतालभित्र गरेपछि प्रहरीले खाली कागजमा सहीछाप गरी लास बुझेपछि मात्र अनुहार हेर्न पाउने जवाफ दिएका थिए । साथै सुरक्षाकर्मीहरूले लास बुझेर दाह संस्कार गर्न भनेका थिए ।

    प्रतापकुमार पाठक, प्रमुख जिल्ला अधिकारी, दाङ

    गृहमन्त्रीज्यूको माघ २५ गतेको सुरक्षाकर्मीलाई असीमित अधिकार प्रदान गरिएको भनाइले अन्यौल एवं अस्पष्टता अनुभव भएको छ । नगर निर्वाचन सम्पन्न गराउने सिलसिलामा सुरक्षाकर्मीहरूलाई अत्यधिक कार्यबोझका कारण उनीहरूमाथि चर्को मानसिक तथा शारिरीक दवाव परिरहेको परिस्थिती विद्यमान छ ।

    उदाहरणका लागि माघ २६ गते खटिएको टोलीलाई अघिल्लो रातदेखि नै निरन्तर गस्तीमा खटाइएको थियो। निर्वाचन शान्ति सुरक्षाको मात्र विषय नभई मूलभुत रूपमा राजनीतिक प्रक्रिया भएकोले यस जिल्लाको प्रशासन तथा सुरक्षा निकायको तर्फबाट हामीले सम्बन्धित माथिल्लो निकायमा सोही बमोजिमको व्यहोरा समेत जाहेर गरेका थियौँ ।

    निर्वाचनका दृष्टिकोणले तुलनात्मक रूपमा सुरक्षित ठानिएको स्थानमा गोली चलेको आवाज हामी बसेको ठाउँसम्म सुनिएको थियो। केही समयपछि सुरक्षाको निम्ति खटिएका युनिफाइड कमाण्डका प्रहरी निरीक्षक दीपक पोख्रेलले उनको बुढी औलाको टुप्पामा समेत गोली लागेको जानकारी गराएका थिए । सोही क्रममा सुरक्षाका लागि गोली चलाउँदा एकजना व्यक्तिको मृत्यु भएको तथा अर्का व्यक्ति घाइते भई अस्पताल लगिएको पनि जानकारी दिएका थिए । मृतकको शवलाई निजको परिवार समक्ष बुझाउन हेलिकप्टरबाट स्थलगत अध्ययन टोली दाङ जिल्ला प्रशासन कार्यालयमा काठमाण्डौं लैजाने क्रममा मौसमको प्रतिकूलताका कारण पोखरामा अवतरण गरि भोलिपल्ट मात्र काठमाण्डौं पुर्‍याउन सकिएको हो । घाइतेलाई तत्काल हेलिकप्टरमा उपचार्रार्थ नेपालगञ्ज पठाइएको थियो । यस दुःखद घटनाको सर्न्दर्भमा निष्पक्ष छानबिन गरी जनतालाई आश्वस्त बनाउनु जरुरी छ । यस घटनाले स्थानीय मात्र नभई राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको अवस्था विद्यमान छ ।

    घनश्याम भट्ट, प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालय, दाङ

    यस घटनामा धेरै निकायहरू छानबिनमा संलग्न भइसकेका छन् । यो एउटा अत्यन्त संवेदनशील घटना हो। यर्सथ जनतालाई आश्वस्त पार्ने खालको छानबिन होस् र हामी पनि त्यहीं चाहन्छौं । मानव अधिकारवादीहरूले पनि यसलाई छानबिन गरिरहनुभएको कुरामा मेरा आपत्ति छैन । यो घटनामा मलाई जे रिपोर्टिङ भयो । त्यसैको आधारमा म बोलिरहेको छु । प्रहरी निरीक्षक दीपक पाख्रेलले मलाई जानकारी गराए अनुसार उनले प्रदर्शनकारीलाई आफ्ना दुवै हात उठाई रोकिन आग्रह गर्दा कतैबाट उनको बुढी औलाको टुप्पामा लाग्नेगरी गोली चल्यो र सुरक्षाकर्मीले प्रतिकारस्वरूप गोली चलाएका हुन् । त्यसैक्रममा ज्यानमालको नोक्सानी हुन गयो । कस्तो अवस्थामा गोली चल्यो, गोली चलाउने सुरक्षाकर्मीहरू कहाँ र कस्तो अवस्थामा थिए, रिपोर्ट गर्ने प्रहरी निरीक्षक कुन अवस्थामा थिए भन्ने कुराको तपाईहरूको प्रश्न महत्वपूर्ण छ । यी सबैको हकमा स्वतन्त्र र भरपर्दो छानबिन होस् भन्ने म पनि चाहन्छु । प्रहरी निरीक्षकलाई ३.५२ एम.एम. को गोली लागेको कुरा अस्पतालबाट जारी प्रतिवेदनमा उल्लेख छ ।

    निष्कर्षः

    घोराही गोलीकाण्डको पृष्ठभूमिको अनुगमनले सो घटना अप्रत्याशित घटना नभई नगर निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई दमन गर्ने वर्तमान सरकारको नीतिको प्रतिफल भएको देखाएको छ । गोलीकाण्ड केही दिनपूर्व त्यस क्षेत्रमा सात राजनीतिक दलहरूबाट आयोजना गरिएका कार्यक्रमहरूमा जनसहभागिता अत्यधिक हुनु, नगर निर्वाचन बहिष्कार सशक्त देखिनु, दुई दिनसम्म त्यस क्षेत्रको टेलिफोन लाइनविच्छेद गरिनु, शान्तिपूर्ण प्रदर्शनमा संलग्न व्यक्तिहरूउपर ज्यादतीपूर्ण रूपमा अत्यधिक शक्ति प्रयोग गरिनुले यो गोलीकाण्ड सुनियोजित भएको स्पष्ट देखिन्छ ।

    प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकको अभिव्यक्ति अनुसार गृहमन्त्री कमल थापाले माघ २५ गते पत्रकार सम्मेलनमार्फत् निर्वाचन विथोल्न खोज्नेलाई गोली हान्ने लगायतको असीमित अधिकार उद्घोष गरिंदा एकातिर सुरक्षा निकाय अनावश्यक दवाव र अन्यौलमा परेको पाइएको छ भने अर्कोतिर निर्वाचन विरोधी कुनै पनि कार्यक्रमलाई जसरी भएपनि दमन गर्नुपर्ने माथिको आदेश पालना गर्ने क्रममा गोली चलाउनेसम्मको कार्य भएको खुलासा हुन आएको छ ।
    गोली काण्ड भएको घटनास्थल सबैभन्दा नजिक रहेको मतदान केन्द्र (बालमन्दिर) बाट झण्डै एक किलोमिटर टाढा रहेको, निषेधित क्षेत्र नभएको, कर्फ्यु आदेश जारी नभएको तथा २०-२५ जनाको शान्तिपूर्ण प्रदर्शनमा संलग्न वरिष्ठनागरिकको समूहमाथि बिना पूर्व जनाउ अनायशै गाडीभित्रबाट स्वचालित बन्दुकबाट सुरक्षाकर्मीहरूले अन्धाधुन्ध गोली चलाई ज्यान मार्ने कार्य गरेको पाइएको छ । गोली चलाउने क्रममा पर्खाल, तरकारी बारी, घरका भित्ताहरू, पसलका शटर, ट्वाइलेट, बोटविरुवा लगायत सतहदेखि दुइतल्लामाथिसम्म घरका भित्ताहरू छेडिनेगरी जथाभावी गोली वर्षाइएको देखिएको छ ।

    मूल सडकबाट करिब ३ सय मीटर टाढा रहेको घना मानव आबादी क्षेत्रमा केटाकेटीहरू समेत चौरमा खेलिरहेको समयमा मध्य दिनमा शाखा सडकबाट समेत करीव ५० फीट टाढा हटिसकेका निहत्था व्यक्ति उमेश थापा र त्यति नै दूरीमा रहेका कृष्ण गिरीलाई मेयरका उम्मेदवार बलभद्र राना समेत चढेको सुरक्षाकर्मीको गाडीभित्रैबाट ताकेरसमेत गोली हान्नुले यो घटना आन्दोलनरत सात राजनीतिक दलका कार्यकर्ताहरूलाई हत्या गर्ने योजनाबद्ध घटना भएको बुझिएको छ ।

    सो घटनाका क्रममा संयुक्त सुरक्षा बलका कमाण्डरको हैसियतमा खटिएका भनिएका प्रहरी निरीक्षक दीपक पोख्रेलको भनाइलाई उद्धृत गर्दै प्रहरी प्रशासनद्वारा “प्रदर्शनकारीहरूलाई प्रदर्शन रोक्न हात उठाएको बेला अचानक कसैले गोली हानी बुढी औलाको टुप्पोमा लागेकोले फायरिङ गर्नुपरेको” भन्ने भनाइको कहिँ कतैबाट पुष्टी हुन सकेन । निज प्रहरी निरीक्षकले गोली हान्ने आदेश दिई एकजना प्रदर्शनकारीको मृत्यु र अन्य एकजना घाइते भइसकेपछि निज स्वयंले दुवैजनालाई अस्पताल पुर्‍याएको सबै प्रत्यक्षदर्शीहरूको भनाइ छ । निज प्रहरी निरीक्षक अस्पतालमा घाइते छोडी केही समय पछि पुनः अस्पताल फर्केर ड्रेसिङ रुममा चुकुल लगाई अहेव जनक चपाईसँग करिब १५-२० मिनेट बिताएर औंलामा ब्याण्डेज बाँधी बाहिर निस्कँदा “मलाई पनि आतंककारीले गोली हाने नि” भन्ने अभिव्यक्ति दिन थालेपछि त्यहाँ उपस्थित अन्य घाइते आन्दोलनकारी महिलाहरूले निज प्रहरी निरीक्षकको सरासर बनावटी भनाइको प्रतिवाद गरेपछि उनी कुनै प्रतिक्रिया नदिई अस्पताल परिसरबाट छोडी हिँडेको भन्ने सम्पूर्ण प्रत्यक्षदर्शीहरूको भनाइ छ ।

    घटनाको पृष्ठभूमि र प्रकृतिको अनुगमन गर्दा निज प्रहरी निरीक्षक पोख्रेलले आफ्नो औलामा कसैले गोली हानेको भन्ने भनाई पुष्टी गर्ने कुनै पनि पत्यारिलो आधार पाइएन । यस सम्बन्धमा प्रहरी निरीक्षक दीपक पोख्ररेलसगँ सर्म्पर्क गर्दा सो टोलीमा शाही नेपाली सेनाका सह-सेनानी (मेजर) समेत रहेको र आफूले गोली हान्ने आदेश भने नदिएको बताएका छन् । घटनास्थलमा निज प्रहरी निरीक्षकलाई प्रदर्शनकारीहरूले गोली चलाएको भन्ने विषयमा सम्बन्धित अधिकारीहरूले समेत निज प्रहरी निरीक्षकको भनाइको समर्थनमा स्पष्ट अडान लिएको पाइएन । समग्रमा प्रहरी निरीक्षकलाई गोली लागेको भन्ने विषयमा सम्बन्धित पक्षबाट विरोधाभाषपूर्ण सूचनाहरू प्रवाह गरिएको पाइयो ।

    प्रचलित कानुन र अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार सुरक्षाकर्मीहरूलाई असीमित अधिकार प्रदान गर्ने कुनै पनि प्रावधान नभएको पृष्ठभूमिमा सनकको भरमा मौखिक आदेशमार्फत् गृहमन्त्री कमल थापाको २०६२ माघ २५ गतेको अभिव्यक्तिले उपर्युक्त गोली काण्ड गर्न सुरक्षाकर्मीहरूलाई प्रोत्साहन गरेको पाइएको छ । सरकारले सन् २००५ को अप्रिल ११ मा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालयसँग सम्पन्न समझदारीपत्र तथा मानव अधिकार आयोगको ६१ औं बैठकबाट पारित एजेण्डा आइटम- १९ अर्न्तगत मानव अधिकारको प्रत्याभूत गर्ने लिखित वचनबद्धतालाई यस घटनाले सोझै उल्लंघन गरेको छ । साथै उपर्युक्त समझदारीपत्र तथा एजेण्डा आइटम १९ अर्न्तगत मानव अधिकार रक्षकहरूलाई निर्वाध अनुगमन गर्न दिइने वचनबद्धताको वर्खिलाप यस घटनासँग प्रत्यक्ष सरोकार राख्ने शाही नेपाली सेनाको गण ….. समक्ष भेटघाट गर्ने अनुगमन टोलीको आग्रहलाई माथिको आदेशानुसार भेट्न दिन नमिल्ने भन्ने मौखिक जानकारी प्राप्त हुनुले समेत यस घटनामा राज्यको बदनियत स्पष्ट भएको छ ।

    मृतक थापाका आफन्तलाई अस्पतालमा शव हेर्न समेतबाट वञ्चित गरिनु तथा शवलाई विलम्व गरी काठमाण्डौं लगिनु, मृतक थापा आबद्ध हुनुभएको राजनीतिक दललाई श्रद्धाञ्जली सभा गर्न नदिनु तथा एकैचोटी आर्यघाटमा पुर्‍याई सुरक्षा घेराभित्र दाहसंस्कार गर्न लगाइनुले स्थापित सांस्कृतिक अधिकारको समेत उल्लंघन भएको छ ।

    उक्त घटनाबाट राज्यले अनुमोदन गरेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अनुबन्ध, १९६६ मा उल्लेखित नागरिकको बाँच्न पाउने अधिकार लगायत प्रचलित संविधान तथा कानुनमा उल्लेखित मौलिक हकको सुनियोजित अपहरण भएको छ ।

    यसै सन्दर्भमा माघ २९ गते मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीले यस्ता गोलीकाण्डका घटना अरू पनि हुनसक्ने भन्ने आपत्तिजनक अभिव्यक्ति दिएबाट वर्तमान सरकार सुनियोजित रूपमा नागरिकको जीवनको अधिकारमाथि धावा बोल्ने खतरनाक प्रवृत्तितर्फ अग्रसर भएको संकेत देखिएको छ। [सबै फोटो प्रतिवेदनबाट साभार]

    घोराही गोलीकान्ड मानवअधिकार अनुगमन प्रतिवेदन
    मानवअधिकार सन्धि अनुगमन समन्वय समिति

    [प्रतिवेदनलाई युनिकोड अक्षरमा रुपान्तर गरी शुध्दाशुध्दी हेरी यहाँ प्रस्तुत गर्दा झण्डै दुई घण्टाको समय लाग्यो। आशा छ, पाठकहरुले यो प्रतिवेदनको अध्ययनबाट तथ्थ बुझ्ने मौका पाउनेछन्। प्रतिवेदनको पूर्ण अंश पीडीएफमा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्- मेरो संसार]

    यो पनि हेर्नुस्
    १) गोली चल्ने अवस्था सिर्जना गरियो भने गोली फेरि चल्छः उपाध्यक्ष गिरीको प्रतिक्रिया, २०६२ माघ २८ शुक्रबार
    सुन्नका लागि यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।

    २)सञ्चारकर्मी र मानवअधिकारकर्मी संलग्न अर्को टोलिले घटनाको स्थलगत अध्ययनपछि माघ २९ मा सार्वजनिक गरेको प्रतिवेदनसम्बन्धी समाचार

    ३) के भएको थियो दाङमा ? प्रारम्भिक छानबिन प्रतिवेदन

    ४) भिडियो ब्लगः हत्याको विरोधमा तातेको सडक

    ५) हत्याको विरोधमा राजधानीमा विशाल जुलुस

    No related posts.

    8 comments to घोराही गोलीकान्ड सरकारी दमन नीतिको प्रतिफलः रिपोर्ट

    • Raj

      umesh ji

      Tapai ko you site ak dam ramro chha. Bidesh ma bhayeko sathi haru ko lagi ta aghai sajelo bhayeko chha. Hemi sab milera tapai lie sakdo sahayog garnay choue. So sometimes take a picture of Maoist and soldier fighting and keep it on video block. Hope to see it very soon.

      your wellwisher

      Raj

      Finland

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Raj

      Thanks for such a report. It so rediculous that AULA KO TUPPO MA GOLI LAGYO for that police officer. It cheating how can they make nepali people such a fool?
      It all becouse of this stipid gyane.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बिहानी भाई

      दाङको घटनाले म र इटहरी बासी मर्माहीत भएका छौ । जनताको राजनैतिक अधिकार कुन्ठित गरेर निर्दोस नागरिकको हत्याले अव राजा ज्ञानेन्द्र निभ्ने बेलाको बत्ती धिपिक्क गरेर एक पटक बले झै आफुलई चम्काउने कोशिश गरीरहेका छन् । फ्रान्सको इतिहाँस पढेर राजा ज्ञानेन्द्रले अव बुझ्नु पर्छ र आफु र आफ‍नो परिवारको बचावको लागि बंकर तयारी गर्न थाले हुन्छ । अथवा साह बंसको २६७ बर्ष लामो इतिहाँसमा सबै भन्दा नालायक राजाको सबै भन्दा बिभत्स अन्त्यको भविस्य बाणि सिवाय केहि पनि गर्न सकिदैन । राजा जानेन्द्रको अन्त्य र चिता पखाल्न शहिद उमेश थापाको रगत काम लागोस् ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ramharikoirala

      धन्यवाद उमेश जी

      तपाईंको मिहिनेतले गर्दा हामीहरुले सही जानकारी पाउन्छौ ।

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • ajad

      Aja Emale ka karyakarta shahid bhachha bhanchha,janta lai sunau chhan akrosit paarchhan bholi falano sahid bhayore bhanchhan ra emale aja samma janta ko pratinidhi bhanda darbar ko nigha ma sashan garne naam ma sarba loot machahi raheka ek jhund matra hun.Emale le janta ko shakti bhanda Raja ko nigha lai manyeta didai aayeko bhayera aja nirankush rajtantra tiki rakheko chha.yes ko samadhan pratakchhya rup ma sabaile bujheka pani chhan,purna sangarsha bina nigaha ko prajatantra naam ko matra hudoraichha bhanne.Aba desh ra janta le paune rahat bhaneko sabai barga ka rajnitik dal, bidrohi, nagarik samaj, ani sampurna naye premi janta sangathit bhayera makkeko rajtantra ma mukka na bajare samma yethaisthiti rahanchha.Ahile ko jasto sabai aafno swartha matra herera satta prapti ko lagi raja bata feri nigaha hunchha ki bhanera parkhane ho bhane neta haru bhanda sarbasadharanlai aatmaghati hunchha Umesh jasto ko arthahin mrityu ko srinkhala jari rahanchha.chetana bhaya.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • kati rajniti rajniti…aaa…jhyau lagyo
      yoy geet herum baru

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • R. P. N.

      *****
      yi parti haru gorumute bhayar katinjel baschhan aba ta kehi garnu paryo ni
      sabai bidesiko mukha taker baseka holan hoina
      mero bichar ma aba sabai parti bhumigat hunuparchha ra jo sena police prajatantra ma aastha rakhchhan tiniharulai bolaunu paryo 30% aaya pani pugchha yadi hatiyar sahit jagir chhoder aaya ma yo gyane ta dhalihalchha ni

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • Jaba samma Gyane haruko nirankush rajtantra hawi rahan6a taba samma umesh thapa jasta hajaraun nirdosh haru goli ko sikar hunu kunai anautho hoina.Yesta hatya himsa sada ka lagi anta garna aba ek patak nepali janatale thulai balidani purna sangharsa garera samjhauta hin antim sangharsa garera nepalko pilo rajtantra lai dhosta gari itihansko raschyan ma milkaunu parcha.Ani nirdhaka sanga swastha pratisparda garera nepali janatale afno sashan afai garnu par6a.Tesko lagi nirankushta birudha ko mahan sashid umesh lai salam 6a.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    eXTReMe Tracker