नेपालमा दीर्घकालीन शान्ति स्थापना गर्न एक दशकभन्दा लामो द्वन्द्वपछिको शान्तिप्रक्रिया अन्तर्गतको संविधान सभाको निर्वाचन हिंसात्मक हुने डरबीच सबैलाई छक्क पार्ने गरी छिटपुट घटनालाई छाडेर एकदमै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ।
मतदान सकिएपछि अब के हुँदैछ त ?
अहिले देशका विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिकाहरु धमाधम जिल्ला सदरमुकाम ल्याइँदैछ। उनीहरुले ती मतपेटिकालाई निर्वाचन अधिकृतलाई बुझाउने छन्। त्यसपछि मतगणनाको प्रक्रिया सुरु हुनेछ। मत गन्ने ठाउँमा पर्याप्त ठाउँ छ भने प्रत्यक्ष र समानुपातिक अर्थात् हल्का नीलो र हल्का रातो दुवै मतपत्रहरु सँगसँगै गन्न थालिनेछ। मत गन्ने ठाउँमा दल र उम्मेदवारका प्रतिनिधिहरु हुन्छन्।
सबैभन्दा पहिला कुन उम्मेदवार जिते, त्यसको घोषणा गरिनेछ। अनि त्यसपछि समानुपातिक अन्तर्गत कुन दलले कति मत पाए, त्यसको घोषणा गरिनेछ र त्यसलाई निर्वाचन आयोगमा पठाइनेछ।
२४० क्षेत्रमा जित्ने उम्मेदवारको घोषणा सुरुमा हुनेछ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जित्ने उम्मेदवारको घोषणा हुन भने तीन हप्तासम्म लाग्न सक्नेछ। जिल्ला जिल्लाबाट कुन पार्टीले कति मत पायो भन्ने तथ्याङ्क निर्वाचन आयोगलाई जानेछ। त्यसपछि ७५ वटै जिल्लाबाट आएका तथ्याङ्क मिलान गरी कुन दलले कूल कति मत प्राप्त गर्यो भनी हिसाब गरिनेछ। यस अनुसार सेन्ट लग विधि अपनाई कुन दलको भागमा ३३५ सिट मध्ये कति सिट पर्यो भनी घोषणा गरिनेछ।
ती सिटमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने दलहरुले गर्नेछन्। ती दलहरुले पठाएको नामलाई निर्वाचन आयोगले छानबिन गरी कानुन अनुसार मापदण्ड पूरा गरेको भए विजयी घोषणा गर्नेछ। यो सब प्रक्रिया पूरा हुन तीन हप्तासम्म समय लाग्न सक्ने बताइएको छ।
बाँकी २६ सिटमा प्रधानमन्त्रीले उम्मेदवार मनोनयन गरेपछि संविधान लेख्नका लागि ६०१ सिटको कोटा पूरा हुनेछ र संविधान सभाको पहिलो बैठकको आह्वान हुनेछ। त्यो पहिलो बैठकले राजतन्त्रको अन्त्य गर्दै गणतन्त्रको घोषणालाई कार्यान्वयन गर्नेछ।
विस्तृत प्रक्रिया यस्तो रहेको छ-
१. मतदान कार्य सम्पन्न भएपछि मतदान अधिकृतहरूले आ-आफ्नो मतदान केन्द्रका मतपेटिका जिल्ला
सदरमुकाममा ल्याई निर्वाचन अधिकृतलाई बुझाउने छन् ।
२. आफ्नो निर्वाचन क्षेत्रका सबै मतदान केन्द्रका मतपेटिकाहरू प्राप्त भइकेपछि निर्वाचन अधिकृतले सूचना प्रकाशित गरी मतगणनास्थान, मिति र समयबारे राजनीतिक दल, उम्मेदवारहरू तथा र्सवसाधारणलाई जानकारी दिन्छन् ।
३. कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चाहेमा मतगणनास्थलमा आफ्नो प्रतिनिधि नियुक्त गरी खटाउन सक्छन् ।
४. निर्वाचन अधिकृतले प्रकाशन गरेको सूचनामा तोकिएको स्थान, मिति र समयमा मतगणना सुरु हुन्छ ।
५. मतगणना केन्द्रमा पर्याप्त ठाँउ भए पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणाली दुवैका मतपत्रहरूको गणना एकै समयमा गरिनेछ । पर्याप्त ठाँउ नभएमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका मतपत्रहरूको गणना पहिले गरिन्छ र सो गणना सकिएपछि समानुपातिक प्रणालीका मतपत्रहरूको गणना गरिनेछ ।
६. निर्वाचन अधिकृतले राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरूका सामु मतपेटिकामा भएको मतदान केन्द्रको नाम, सङ्केत नम्बर तथा क्रमसङ्ख्या दुरुस्त भएको/नभएको, मतपेटिका खोलिएको वा टुटफुट भएको/नभएको र मतपेटिकामा टाँसिएको सुरक्षा सिल हेरफेर गरिएको वा चुँडिएको/नचुँडिएको जाँच्छन् ।
७. पहिलो हुने निर्वाचित हुने वा समानुपातिक प्रणालीमध्ये जसको मतगणना सुरु गर्ने हो, त्यसको एउटा मतपेटिकाको सुरक्षा सिल नम्बर राजनीतिक दलहरू तथा उम्मेदवारहरूका प्रतिनिधिलाई पढेर सुनाई सिल काटी वा तोडी मतपेटिकाको बिर्को खोलेर मतपत्र खन्याई मतगणना सुरु गरिन्छ ।
८. यसरी मतपेटिकाहरू जाँच्दा अनियमितता भएको पाइएमा निर्वाचन अधिकृतले मुचुल्का तयार गर्छन्, जसमा राजनीतिक दलहरू, उम्मेदवारहरू वा तिनका प्रतिनिधिहरूले दस्तखत गर्छन्। अनियमितता देखिएका मतपेटिकाको समस्या समाधान नभएमा निर्वाचन अधिकृतले निर्वाचन आयोगलाई जानकारी दिई त्यस्ता मतपेटिकालाई सुरक्षित ठाउँमा राख्न लगाउने छन् र निर्वाचन आयोगको निर्णय अनुसार उल्लिखित समस्या समाधान भएपछि सो मतपेटिकाको मतगणना हुनेछ ।
९. मतदान केन्द्रमा खसाइएका कुल मत सङ्ख्यासँग मतपेटिकाबाट प्राप्त मतपत्रहरूको सङ्ख्या रूजु गर्न सर्वप्रथम मतपेटिकामा भएका सबै मतपत्रहरू मतसङ्केत नदेखिने गरी गणना गरिन्छ ।
१०. एकभन्दा बढी मतदान केन्द्रका मतपेटिकाको मतपत्र रूजु गर्ने काम पूरा भएपछि मतदाताको गोप्यता सुनिश्चित गर्न एकभन्दा बढी मतदान केन्द्रका मतपत्रहरू एकै ठाउँमा मिसाई उम्मेदवार वा दलअनुसार मतगणना गरिनेछ ।
११. कुन अवस्थामा मतपत्र बदर हुन्छ भन्ने कुराको निर्क्यौल गर्न पहिले नै नीति तय गरिएको हुन्छ ।
१२. मतगणना गर्दा बदर ठहरिएका मतपत्रहरू अलगै एक ठाउँमा राखिनेछ ।
१३. पहिले बदर मतपत्रहरूको गणना गरिन्छ । सो गणना सकिएपछि मात्र प्रत्येक उम्मेदवार/दलका सदर मतपत्रहरूको गणना गरिन्छ ।
१४. मतगणना गर्दा मतगणना गर्ने कर्मचारीले राजनीतिक दलका प्रतिनिधिहरूलाई सदर र बदर मतपत्रहरू देखाउँछन् तर उनीहरूलाई सो मतपत्र छुन वा चिन्ह लाउन दिइँदैन ।
१५. मतगणना प्रक्रियाको समयमा मतपत्रहरू सिल गर्नुअघि राजनीतिक दलहरू वा तिनका प्रतिनिधिहरूले
पुनः मतगणना गर्न कारण खुलाई निर्वाचन अधिकृतलाई लिखित अनुरोध गर्न सक्छन् । पुनः मतगणना गर्ने/नगर्ने सम्पूर्ण अधिकार निर्वाचन अधिकृतमा रहन्छ ।
१६. मतपत्रहरूको गणना भइसकेपछि निर्वाचन अधिकृतले बदर र सदर मतपत्रहरू अलग-अलग खाममा राखी सिलबन्दी गरी सकेपछि सो खाममा राजनीतिक दलका तथा उम्मेदवारका प्रतिनिधिहरूले हस्ताक्षर गर्ने छन् ।
१७. मतगणना कार्य समाप्त नहुन्जेल निरन्तर रूपमा जारी रहनेछ । बीचमा कुनै बाधा-अडचन आएमा सो बाधा-अडचन समाधानका लागि निर्वाचन अधिकृतले अस्थायी रूपमा केही समयका लागि मतगणना स्थगित गर्ने निर्णय गर्न सक्छन् ।
१८. मतगणना केन्द्रमा सर्वसाधारणको जानकारीका लागि मतगणना प्रगति विवरणको नियमित रूपमा घोषणा गर्नुपर्छ र सोको विवरण निर्वाचन आयोगलाई तत्काल जानकारी दिनुपर्छ । निर्वाचन अधिकृतले मतगणना केन्द्रमा नै पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको अन्तिम परिणामको घोषणा गर्नुपर्छ र सोसम्बन्धी विवरण तत्कालै निर्वाचन आयोगमा पठाउनुपर्छ ।
१९. दुई वा सोभन्दा बढी उम्मेदवारले बराबर सङ्ख्यामा मत प्राप्त गरेमा निर्वाचन अधिकृतले गोला प्रथाबाट निर्णय गर्नेछन् ।
२०. मतगणना परिणाम घोषणापछि निर्वाचन अधिकृतले निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्ने छन्।
२१. यी विधि पूरा भएपछि निर्वाचन अधिकृतले समानुपातिक प्रणालीका मतपत्रहरूको गणना सुरु गर्ने छन् ।
२२. मत गणनाको क्रममा निर्वाचन अधिकृतले समानुपातिक प्रणालीको आवधिक गणना प्रगति विवरण सर्वसाधारणको जानकारीका लागि मतगणना केन्द्रमा प्रकाशित गर्ने छन् । यस्ता प्रगति विवरणहरू मतगणनासम्बन्धी राष्ट्रव्यापी जानकारीका लागि निर्वाचन आयोगमा पठाउनु पर्छ ।
२३. मतगणना कार्य पूरा भएपछि निर्वाचन अधिकृतले मुचुल्का तयार गरी हस्ताक्षर गर्ने छन् र यस मुचुल्कामा राजनीतिक दलका प्रतिनिधिहरूले पनि हस्ताक्षर गर्ने छन् ।
२४. राजनीतिक दलका प्रतिनिधिहरूले मतगणना समाप्ति मुचुल्कामा हस्ताक्षर नगरेमा निर्वाचन अधिकृतले सोही व्यहोरा मुचुल्कामा उल्लेख गरी मतदान केन्द्रमा उपस्थित अन्य कुनै दुई व्यक्तिको हस्ताक्षर लिने छन् ।
२५. निर्वाचन अधिकृतले मतगणना अन्तिम रूजु-सिट तोकिएको अनुसूचीमा निर्वाचन आयोगमा पठाउँछन् ।
२६. सबै २४० निर्वाचन अधिकृतबाट अन्तिम मत गणना रूजु-सिट प्राप्त भएपछि निर्वाचन आयोगले प्रत्येक राजनीतिक दलले पाएको कुल सदर मतको रूजु-सिट तयार पार्छ ।
२७. प्रत्येक दलले पाएको कूल मतका आधारमा निर्वाचन आयोगले समानुपातिक तर्फको कुल ३३५ स्थान वितरणसम्बन्धी हिसाब गर्छ र सम्बन्धित राजनीतिक दलहरूको केन्द्रीय कार्य समितिद्वारा विजयी उम्मेदवारहरूको नाम चयन गरी सात दिनभित्र आयोगमा पेस गर्न राजनितिक दलहरूलाई लेख्छ ।
२८. राजनीतिक दलको केन्द्रीय कार्य समितिद्वारा विजयी घोषणाको लागि चयन गरिएका उम्मेदवारहरू कानुनअनुसार समानुपातिक भएको/नभएको निर्वाचन आयोगले हेरी कानुनबमोजिम भएको नदेखिएमा सच्याई पेस गर्न दललाई पुनः तीन दिनको समय दिन्छ ।
२९. मनोनयन प्रक्रियामा कुनै राजनीतिक दलले १०० भन्दा कम अथवा ३३५ स्थानको ३० प्रतिशत भन्दा कम उम्मेदवारको बन्दसूची पेस गरेको भए सो राजनीतिक दलले महिला-पुरुषको अनुपात बरोबर हुने गरी अन्य समूह यथाशक्य मिलाएर विजयी उम्मेदवार चयन गर्न सक्छ । तर ३० प्रतिशतभन्दा बढी उम्मेदवार दिने दलले भने कानुनमा तोकिएको प्रतिशतअनुसार नै मिलाई विजयी उम्मेदवार छनौट गर्नुपर्छ ।
३०. आयोगको निर्देशनअनुसार नसच्याई पेस भएमा कानुनी कोटाको पालनालाई सुनिश्चित गर्न राजनीतिक दलद्वारा पेस गरिएको उम्मेदवारहरूको विजयी चयन सूचीलाई कानुनी मापदण्ड पूरा हुने हदसम्म सो दलको अधिकतम उम्मेदवारहरूलाई आयोगले विजयी भएको धोषणा गर्नेछ ।
३१. निर्वाचन परिणाम घोषणा गरेपछि निर्वाचन आयोगले निर्वाचित उम्मेदवारहरूलाई प्रमाणपत्र प्रदान गर्नेछ ।
३२. मतदान सम्पन्न भएदेखि समानुपातिक निर्वाचन प्रणालीको सम्पूर्ण प्रक्रिया पूरा गरी निर्वाचित उम्मेदवारहरू घोषणा गर्न तीन हप्तासम्म समय लाग्न सक्छ ।
३३. दुई निर्वाचन प्रणालीको गणना गर्न लाग्ने समय तथा समानुपातिक तर्फो कानुनी प्रक्रिया पूरा गरी विजयी उम्मेदवार घोषणा गर्न विगतको तुलनामा केही बढी समय लाग्ने भएकाले वास्तविकतालाई मनन गरी धैर्य धारणा गरिदिन आयोग सबैमा विनम्रतापूर्वक आग्रह गर्छ । (स्रोतः निर्वाचन आयोग)
No related posts.









Dear Umesh and Mero Sansar blogers,
Thank you so much for your all great Efforts for the News update so quick It is so nice especially whoever living out of Country I loved your blog pretty much but I am so sad I haven’t any fund help yet to your great blog.I wish I could do very soon I am thinking about this very much.It is big successfull days in our country ever first time in our Neplease History. we are so glad having success this CA Election!
Hopefully it will becomes soon Election result.
Thank you again!
Megh Singh Adhikari
USA!
मन परे हरियो, नपरे रातो
0
0
THANK YOU FOR YOUR VALUABLE INFIRMATION. I REALLY LOVED TO READ IT. HOPE FOR OTHER UPDATES. KEEP IT UP.
मन परे हरियो, नपरे रातो
0
0
thanks for such a clear information. thanks again.
मन परे हरियो, नपरे रातो
0
0
thanks a lot for your detailed information to let the reader know all the minute information.
मन परे हरियो, नपरे रातो
0
0
Thank you for information and update reports. We all Nepali do hope that this election will write the future of Nepali people.Thanx.
मन परे हरियो, नपरे रातो
0
0
Thank you so much for this information to mysansar blog. I hope you will put the election result while counting so that we will able to know who is wining the election. Once again thank you so much!
Rajendra Timilsina (usa )
मन परे हरियो, नपरे रातो
0
0
very informative. Thanks
मन परे हरियो, नपरे रातो
0
0