अलर्क
पृथ्वीमा भएका जिवित वस्तुहरूमा मान्छेको स्थिति नितान्त भिन्दै छ। तर के कति कारणले मान्छे अरू प्राणीभन्दा बेग्लै छ, त्यो चाहिँ तर्कको विषय हुन सक्छ। वनस्पतिहरूभन्दा त यो प्रष्टसँग छुट्टै देखिन्छ। तर अरू प्राणीहरूको दाँजोमा? साना र साधारण प्राणीहरूको कुरा छोडौँ। मान्छे दुई खुट्टे प्राणी हो। चराहरू पनि दुई खुट्टे नै हुन्। त्यस्तै मान्छेमा पाइने जैविक गुणहरू अन्य स्तनधारी (mammal) हरूमा पनि पाइन्छन्। त्यसैले मान्छेलाई वैज्ञानिकहरूले स्तनधारी वर्गमा राखेका हुन्। प्राणीसंसारको ठूलो रहस्य मैथुनिक प्रजनन (sexual reproduction) हो। तर यो मान्छेमा मात्र होइन अन्य जन्तु र वनस्पतिमा पनि पाइन्छ। मैथुनिक प्रजननको रहस्य के हो भने एउटा सन्तान पैदा गर्न दुईवटा प्राणीको संलग्नता हुनुपर्दछ। क्रमविकासको यो चुनौतिपूर्ण प्रश्नको सम्भावित उत्तरहरू छन्। यो चर्चाको छुट्टै विषय हुन सक्छ। जिन (gene) मा फरक छ त? जिन संरचनाको दृष्टिले हेर्ने हो भने मान्छेको सबभन्दा नजिकको आफन्त चिम्पान्जी हो। त्यसपछिको अर्को नातेदार हो गोरिल्ला। चिम्पान्जीसँग मान्छेको ९८.४% जिन मिल्दछ। बाह्य स्वरूपलाई हेर्दा मान्छे र चिम्पान्जीमा एउटा मुख्य फरक देखिन्छ। त्यो हो चिम्पान्जीको शरीर रौँले ढाकिएको हुन्छ, मान्छे चाहिँ रौँले नढाकिएको नाङ्गै हुन्छ (देसमन्ड मोरिसको किताब Naked Ape भन्ने शीर्षकबाट)। आन्तरिक दृष्टिले हामी चिम्पान्जीभन्दा १.६% मात्र फरक छौँ। त्यो १.६% मा मान्छे हुनुको पन रहेको हुनुपर्दछ।
मान्छेको पहिचानको लागि समाज, परिवार, विवाह, यौन आदि कुराहरूको विशिष्टता औँल्याइन्छ। तर सामाजिक संगठन त कमिलामा पनि छ। त्यो मान्छेको मौलिकता होइन। त्यस्तै पारिवारिक संरचना, सन्तान प्रेम त ब्वाँसोमा पनि हुन्छ, गोरिल्लामा पनि हुन्छ र विवाह चराचुरुङ्गीमा पनि हुन्छ, अरू धेरै प्राणीमा हुन्छ। यद्यपि एकल विवाह (monogamous marriage) र त्यसप्रतिको आजीवन निष्ठा निश्चित हदसम्म मानवीय गुण हो। तर पनि त्यो मान्छेमा मात्र सीमित छैन। यसको साथै यौन व्यवहार (sexual behaviour) मा पनि निश्चित हदसम्म छुट्टै मानवीयपन पाइन्छ। स्तनधारी प्राणीहरूको पोथी जातिको यौनिक क्रियाशिल अवधि (oestrus period) को खास सिजन हुन्छ। यिनीहरूमा बाह्रै महिना यौन क्रियाशीलता पाइँदैन। मान्छेको स्त्री जाति यो मामिलामा अलग छन्। तर पनि यो गुण मान्छे हुनुको पूरै गुण भने होइन किनभने यसले पुरुष जातिलाई समेट्न सक्दैन। अरू प्रजातिहरूमा पनि यसको भाले जातिमा यौन सक्रियताको कुनै विशेष याम हुँदैन। बुद्धि, विवेक, माया, प्रेम जस्ता कुराहरू पनि मानिसलगायत कैयौँ प्राणीहरूमा यथेष्ट पाइन्छ। मात्रात्मक रूपमा धेरै र थोरै वा सरल र जटिल भन्ने कुरा मात्र हो। रह्यो भाषा। भाषा निश्चितै रूपमा मान्छेमा मात्र पाइने एउटा अनौठो क्षमता हो।
भाषा किन र कसरी बेग्लै हो भन्ने चर्चा गर्नुअगाडि केही कुरामा प्रष्ट हुनु आवश्यक हुन्छ। त्यसो किनभने भाषाका विभिन्न खालका परिभाषाहरू लोकमा प्रचलित छन्। भाषाको मुख्य उद्देश्य सञ्चार हो भन्ने कुरा सर्वमान्य छ। भाषा र सञ्चारलाई पर्यायवाची शब्दको रूपमा प्रयोग गर्ने गरेको पनि पाइन्छ। त्यसैले भाषाको सामान्य र विशिष्टीकृत गरेर दुई प्रकारको परिभाषा गर्नु उपयुक्त हुन्छ। सामान्य परिचयमा भाषा भनेको सञ्चार हो – सन्देश आदान-प्रदान गर्ने माध्यम; र विशिष्टीकृत रूपमा मान्छेको भाषा। मान्छेको भाषाको उद्देश्य पनि सारमा सञ्चार नै हो तर यसको संरचनागत विशिष्टता सञ्चारका अरू तरिकाहरूमा पाइँदैन। यसको चर्चा पछि हुने नै छ। यो प्रसङ्गमा उठ्न सक्ने एउटा महत्वपूर्ण प्रश्न हो – त्यसो भए (मान्छेको) भाषा क्रमविकासबाट आएको हो कि होइन? यसमा एउटा मतले क्रमविकासलाई समर्थन गर्छ र भन्छ – भाषा र मस्तिष्क क्रमिक रूपले सँगसँगै विकास हुँदै आजको स्थितिमा आइपुगेको हो। अर्को मतले भन्छ भाषा मस्तिष्कको विकासको क्रममा आएको आकस्मिक परिवर्तनको परिणाम हो। यसमाथिको प्राविधिक तर्क वितर्क लेखको उद्देश्य होइन। तर एउटा कुरा के भने मान्छेइतर अन्य प्राणीमा पाइने सञ्चार विनिमयको तरिकालाई प्राकभाषा (protolanguage) र मान्छेले अहिले प्रयोग गर्ने भाषालाई विकसित भाषा मान्ने हो भने पनि यी दुईलाई जोड्ने सेतु मध्यभाषा (interlanguage) पत्ता नलागेको अवस्थामा मान्छेको भाषालाई छुट्टै कोटीमा राख्नु पक्कै पनि अन्यथा हुँदैन।
सञ्चार प्रक्रिया पूरा हुनको लागि तीनवटा तत्वको आवश्यकता पर्दछ – श्रोत (producer), माध्यम (medium) र लक्ष्य (recipient)। श्रोत र लक्ष्यलाई जोड्ने माध्यम नै भाषा हो र यसले श्रोतबाट कुनै सन्देश लक्ष्यसम्म सञ्चार गर्दछ। माध्यमको सामान्य चरित्र यसको साङ्केतिकता (symbolism) हो। मतलब कि भाषा सङ्केत हो। सङ्केत र यसले बोकेको अर्थको संयोजन नै भाषाको प्राथमिक रहस्य हो। यो कार्यव्यापार सम्पन्न हुनको लागि श्रोत र लक्ष्यमा साझा चेतनशीलता हुनु जरुरी हुन्छ – श्रोतले व्यक्त गरेको सङ्केतमा विद्यमान अर्थ सोही रूपमा लक्ष्यले ग्रहण गर्न सक्ने क्षमता; र यसको पारस्परिकता।
यहाँ एउटा प्रश्न सोध्न सकिन्छ – भाषाको जरुरी किन भयो? अर्थात भाषाको प्रयोग के कस्ता प्रयोजनहरूमा गरिन्छ? सञ्चारको क्रममा भाषाले वक्ता (सङ्केत कर्ता) को स्थिति बताउँछ – को र कहाँ भनेर। मान्छेइतर प्राणीहरूले भेला हुन, शत्रुको सूचना दिन, बचाउको लागि र यौन सन्देश दिन सञ्चार गर्ने गरेको पाइन्छ। यसमा पनि यौन र प्रजनन प्राथमिक उद्देश्यमा पर्दछ। मान्छेहरूमा भाषाको प्रयोग धेरै जटिल छ – चिन्तन गर्न, विचार सूत्रण (formulation) गर्न र त्यसको आदानप्रदान गर्न आदि। भाषाको एउटा रमाइलो पक्ष के हो भने भाषाको प्रयोग गरेर ढाँट्न सकिन्छ। झन् भाषाको लिखित रूपले त भए नभएका जे कुरा पनि व्यक्त गर्न एकदम सजिलो बनाइदिएको छ। मानिसबाहेक अन्य प्राणीहरूले पनि सीमित रूपमा यस्तो कला प्रयोग गर्ने गरेको पाइन्छ।
सञ्चारका माध्यमहरू
(क) रसायनिक पदार्थको माध्यमबाट हुने सञ्चार। प्राणीको शरीरभित्रको अन्तरकोषीय (intercellular) सञ्चारको माध्यम नै रसायनिक पदार्थ हो। त्यस्तै परस्परको सञ्चारको लागि वनस्पतिलगायतका विभिन्न प्राणीहरूले एक प्रकारको वाष्पशील (volatile) रसायनिक पदार्थ श्रवित गर्दछन्। यसको गन्ध ग्रहण गरेर त्यसको आधारमा नजिकका लक्षित प्राणीहरूले प्रतिक्रिया जनाउँदछन्। त्यस्तै पानीमा बस्ने प्राणीहरूले यस्ता पदार्थहरू पानीमा छोड्दछन्। माहुरीहरू कुनै माहुरी आफ्नै घारको हो कि होइन गन्धबाट चिन्छन्। मान्छेमा गन्ध ग्रहण क्षमता एकदमै सीमित छ।
(ख) प्रकाशको माध्यमबाट हुने सञ्चार। जूनकिरी यसको उदाहरण हो। जूनकिरीको धेरै प्रजातिमा उज्यालो छोड्न सक्ने तत्व पोथीमा मात्र पाइन्छ। भाले पोथी दुबैमा यस्तो क्षमता छ भने तिनीहरूले छोड्ने प्रकाशको तरङ्ग लम्बाइ, तीव्रता (intensity) फरक फरक हुन्छ। भिन्नाभिन्नै प्रजातिका जूनकिरीले भिन्नाभिन्नै प्रकृतिका प्रकाश छाड्दछन्। पोथी जूनकिरीले विशेष गरेर भालेलाई आकर्षित गर्न यस्तो उज्यालो छोडेका हुन्छन्। केही जातका पोथी जूनकिरीमा अरू जातका जूनकिरीको नक्कल गर्न सक्ने क्षमता हुन्छ र त्यसो गरेर अरू जातका भालेलाई आफूतिर आकर्षित गरेर त्यसलाई आहारा तुल्याउँदछन्।
(ग) शारीरिक हाउभाउ (body language)। आम्ने-साम्ने वा नजिक रहँदा गर्ने शारीरिक हाउभाउ र अङ्गहरूको चालले धेरै कुरा बताइरहेको हुन्छ। मान्छेले जानी जानी वा अवचेतन रूपमा हाउभाउद्वारा धेरै कुरा व्यक्त गरिरहेको हुन्छ। अरू प्राणीमा पनि यो त्यत्तिकै महत्वपूर्ण देखिन्छ। यदी कुनै स्याल स्याल्नीको बगलमा अलिकति पछि पछि भलादमी पाराले हिँडिरहेको छ भने स्याल्नीले बुझ्छे – ‘यो स्याल मलाई फकाइरहेको छ’। पशुहरूले सिङौरी खेलेको द्वन्दको लागि कसैलाई ललकारेको हो। कुनै माहुरीले फूलको बगैँचा कतै देख्यो भने अङ्ग्रेजी आठ अङ्कको आकारमा नाचेर फूल रहेको ठाउँको सूचना अरू माहुरीलाई दिन्छ।
(घ) ध्वनी सञ्चार। सञ्चारमा यो सबभन्दा सशक्त माध्यम हो किनभने यसको लागि वक्ता र श्रोता आम्ने-साम्ने हुनु पर्दैन। र ढाँट्ने कला पनि यसबाट प्रचूर मात्रामा प्रयोग गर्न पाइन्छ। फरक फरक प्रकारको ध्वनी निकालेर फरक फरक सन्देश दिन सकिने सुविधा यसमा रहेको हुन्छ। ध्वनी सञ्चारको सर्वोच्च विकास मानवीय भाषामा भएको छ।
यसबाहेक परस्परमा स्पर्श गरेर पनि सञ्चार हुन सक्छ। देख्ने क्षमता नभएका मानिसहरूले यसको प्रयोग गर्दछन्। जस्तो हेलेन केलरलाई बोल्ने मान्छेको ओठ छुन लगाएर अक्षरहरू पढाइएको थियो। ब्रेल लिपीमा लेखिएको कुरा छोएर नै पढिने हो। केही माछाहरूले एक प्रकारको विद्युतीय तरङ्ग छाड्दछन् सञ्चारको लागि। त्यस्तै चमेरोले मानिसले सुन्न सक्नेभन्दा उच्च तरङ्गको ध्वनीको प्रयोग गर्दछ। मुसाको सञ्चारमा पनि मानिसले सुन्न नसक्ने ध्वनीको प्रयोग हुने पत्ता लागेको छ।
मानवीय भाषा
भाषाको उद्देश्य सञ्चार हो भनिरहँदा पनि हामी ‘भाषा’ शब्दद्वारा प्रायः मानवीय भाषालाई सङ्केत गरिरहेका हुन्छौँ। यसको मूल माध्यम ध्वनी हो। अहिले संसारमा छ हजारभन्दा बढी भाषा बोलिन्छन्। कति भाषा बिलाएर गए, त्यसको लेखाजोखा छैन। कति विलय हुँदैछन्। बोल्न नजान्नेहरूले प्रयोग गर्ने साङ्केतिक भाषा शारीरिक हाउभाउ होइन, बोलिने भाषा जस्तै एउटा भाषा हो। त्यस्तै भाषाको बेग्लै लिखित रूप पनि हुन्छ। ब्रेल लिपी एक प्रकारको लिखित भाषा हो, कुनै बेग्लै प्रकारको सञ्चार प्रणाली होइन। यी सबै अभिव्यक्तिका विविध रूप मात्र हुन्। वास्तवमा भाषाको खास स्वरूप मस्तिष्कमा कुनै प्रकारले कुटीकरण (encode) भएर रहेको हुन्छ। यसको स्नायुरसायनशास्त्र (neurochemistry) स्नायुविज्ञान र भाषाविज्ञानको साझा चुनौति हो।
मान्छेमा भाषा उच्चारण गर्न सक्ने शारीरिक पूर्वाधारको रूपमा मुखको आकार, घाँटीको बनोट र मस्तिष्कको परिमाणलाई लिइन्छ। मान्छेको मुख र पशुहरूको थुतुनोको तुलना गर्ने वित्तिकै थाहा हुन्छ कि किन पशुहरूले मान्छेले जस्तो विविध खालका ध्वनी निकाल्न नसकेका होलान् भन्ने। मस्तिष्कको विकास र यसको विशिष्टीकरणले भाषालाई यो स्वरूप प्राप्त गर्न मद्दत गरेको हो। मान्छेको टाउकोभित्रको गिदी देब्रे र दाहिने गरेर दुई गोलार्द्धमा विभाजित भएको हुन्छ। देब्रे गोलार्द्धमा उच्चारण नियन्त्रण गर्ने र भाषा बुझ्ने दुईवटा छुट्टाछुट्टै केन्द्र रहेका हुन्छन्। रमाइलो कुरा के छ भने मान्छेले जन्मदा नै यी दुई केन्द्र रहेको देब्रे गोलार्द्धको यो भाग दाहिने गोलार्द्धको आनुषङ्गिक (corresponding) भागभन्दा केही ठूलो लिएर जन्मेको हुन्छ।
भाषाविद् नोम चोम्स्कीले मान्छेमा जन्मजात भाषा ग्रहण गर्न सक्ने क्षमता हुन्छ भनेर भनेका छन्। उनको तर्क छ यदि जन्मजात यस्तो क्षमता नहुँदो हो त सानो बच्चाले कसैले नसिकाईकन र बौद्धिकलगायत अरू कैयौँ क्षमता विकास हुनुभन्दा धेरै अगाडि भाषामा दक्षता हासिल गर्न सक्दैनथ्यो। हामी कसैलाई पनि थाहा छैन हामीले आफ्नो भाषा कहिले सिक्यौँ भनेर। चोम्स्कीको यही सिद्धान्तलाई पछ्याउँदै स्टिभन पिङ्करले एउटा पुस्तक लेखे ल्याङ्वेज इन्स्टिङ्ट। यसमा पिङ्करको तर्क छ भाषा भन्ने कुरा भोक, प्यास, यौन आदि जस्तै जन्मजात प्रवृत्ति हो। र यदि यसो हो भने निश्चितै रूपमा भाषा मानव मात्रको पहिचान हो। यो किन पनि साँचो लाग्दछ भने मान्छेको बच्चा जुन वातावरणमा हुर्क्यो त्यो वातावरणमा प्रयोग हुने भाषा सजिलैसँग ग्रहण गर्दछ। बाबुआमाको भाषासँग त्यसको कुनै मतलब हुँदैन। जस्तो नेपाली जोडीको एउटा बच्चालाई एक वर्षकै उमेरदेखि अफ्रिकाको कुनै समुदायमा हुर्काउने हो भने त्यो बच्चाले आफू नेपाली हो भन्ने कुरा कसैले नभनेसम्म पत्तो नै पाउँदैन। त्यहीँको भाषामा ऊ दक्ष हुन्छ।
मान्छे शारीरिक रूपमा विकसित भएकोले मात्र होइन भाषा स्वयंमा मौलिक पनि छ। मानवीय भाषा नियमसङ्गत छ र यसको व्याकरण छ। मानवेतर कुनै भाषाको पनि आफ्नो व्याकरण छैन। मानवेतर सञ्चार प्रणालीमा एउटा सङ्केतको एउटा पूर्ण अर्थ हुन्छ र यो अर्थ सोझो हुन्छ। जस्तो कि ठूलो स्वरले चिच्याउँदा ‘शत्रु आयो’ भन्ने अर्थ लाग्ला, तिखो स्वरले चिच्याउँदा ‘भोक लाग्यो’ भन्ने अर्थ लाग्ला। तर मानवीय भाषाको प्रकृति नै बेग्लै हुन्छ। यसमा दुई तहको साङ्केतीकरण हुन्छ। उच्चारण त हामी विभिन्न तर सीमित ध्वनीहरूको मात्र गर्छौँ। यी ध्वनीहरू स्वयंमा अर्थहीन हुन्छन्। पहिलो तहको साङ्केतीकरणमा ध्वनीहरू मिलेर शब्द बन्दछन् र अर्को तहमा यी शब्दहरू मिलेर वाक्य बन्दछन्। जस्तो अङ्ग्रेजी ध्वनीहरू ‘ग्’, ‘अ’ र ‘ड्’ लाई दुई प्रकारले मिलाउन सकिन्छ – ‘गड’ र ‘डग’ को रूपमा। (ध्वनीहरूको यस्तो गुँथाइ पनि निश्चित नियमको अधिनमा रहेको हुन्छ।) त्यस्तै ‘गड इज डग’ र ‘डग इज गड’ बेग्लाबेग्लै वाक्य हुन्। वाक्य संरचना (syntax) मानवीय भाषाको मौलिक गुण हो। यी वाक्यहरू पनि सन्दर्भअनुसार फरक फरक अर्थ लाग्ने खालका हुन सक्छन्।
स्टिभन पिङ्करकै अर्को किताब छ वर्ड्ज एन्ड रुल्ज। यसमा लेखक भन्छन् – कुनै पनि भाषामा आधारभूत शब्दहरूको सूची हुन्छ र ती शब्दहरूलाई गाँस्ने नियम हुन्छ। अनि चोम्स्कीको भनाइअनुसार भाषाका नियमहरू कस्ता कस्ता हुन सक्छन् भन्ने ज्ञान चाहिँ मान्छेले जन्मजात लिएर आएको हुन्छ। यो उसको जिनमै लेखिएको हुन्छ। बच्चाले आफ्नो वातावरणमा सिलसिला नमिलेका टुक्राटाक्री कुराकानी सुनेको हुन्छ। यसैको भरमा प्राप्त विकल्पमध्ये कुनै एउटा र त्योसँग सम्बन्धित नियमहरू पहिचान गर्नु नै बच्चाको प्राथमिक समस्या हो। अनि निश्चित आधारभूत शब्दहरू याद गरेर यी शब्दहरूलाई वाक्यको रूपमा मालामा उन्ने काम भाषाग्रहण (language acquisition) गर्ने क्रममा बच्चाले गर्ने कर्म हुन्। थप शब्दहरू त आवश्यकताअनुसार जान्दै गरे भइहाल्यो। विचार गर्नुस् त हामीले एकचोटी व्यक्त गरेको वाक्य फेरि फेरि कतिपटक व्यक्त गर्छौँ होला! अपवाद र विशेष कारणबाहेक प्रत्येक क्षण हामी नयाँ नयाँ वाक्य निर्माण गरिरहेका हुन्छौँ। भाषिक दक्षतामा मान्छे असाधारण रूपले सिर्जनशील छ। एकचोटी सुनेको कथा कसैलाई सुनाउँदा आफूले सुनेको कुनै पनि वाक्य सामान्यतया दोहोरिएर आउँदैन! तर कथा भने जस्ताको तस्तै भन्न सकिन्छ। अचम्म होइन त?
मान्छेमा भाषाको यस्तो अदभूत क्षमता भएकै कारणले गर्दा मान्छेको विकास यहाँसम्म आइपुगेको हो। अमूर्त विचारहरूको सिर्जना र त्यसको आदानप्रदान विकासको लागि अपरिहार्य कुरा हो। त्यसमाथि जब लेखन परम्पराको आविष्कार भयो, त्यसपछि त विचार आदानप्रदानको लागि नजिकै हुन पनि परेन र समयको पाबन्दी पनि रहेन। हजारौँ वर्षअघिका मान्छेले चिन्तन गरेका कुराको जानकारी आज सजिलै पाइन्छ। हिजोका मान्छेको काँधमा उभिएर आजका मान्छेले चिन्तन गर्न पाएको छ। यो सञ्चित चिन्तन (cumulative thinking) को मेरुदण्ड भाषा हो। कम्प्युटर र विद्युतीय सञ्चारको यो सञ्जाल भाषाकै खेल हो। मानवेतर कुनै प्राणीको सञ्चार प्रणालीमा यो क्षमता हुँदो हो त त्यो प्राणी नै आजको मान्छेको ठाउँमा रहेको हुन्थ्यो होला!
निष्कर्ष के हो भने भूमण्डलमा रहेका प्राणीहरूमा मानिसलाई चिन्ने आधार भाषा हो। परिमाणात्मक (quantitative) मात्र होइन गुणात्मक (qualitative) रूपमा नै मानवीय भाषा अन्य प्राणीको सञ्चार प्रणालीभन्दा बेग्लै छ। कदाचित् ब्रह्माण्डको कुनै ग्रहमा बुद्धिमान जीव फेला परे र उनीहरूलाई पृथ्वी र पृथ्वीका प्राणीको परिचय दिनु पर्यो भने भाषा नै मानव जातिको भिजिटिङ कार्ड हुनेछ।
No related posts.









फेरि अर्को एक उच्च सूचनात्मक एवं चिन्तनोत्तेजक लेखको लागि साधुवाद, अलर्कजी ।
सामान्य विज्ञानको पठनपाठनमा भाषालाई यसरी मानव प्रजातीकै “पहिचान-पत्र” (visiting card) को रुपमा चर्चा नगरिएकोले होला यस विषयमा यसरी घोत्लिनै पर्ने अवसरबाट गुज्रेकै थिईन म । त्यसैले तपाईको यो लेख मेरा लागि एक विशेष पठन हुन पुगेको छ । धन्यवाद साथी ।
मानव भाषा मानवोतेर प्रजातीका भाषा (वा संचारविधी) संग गुणात्मक रुपले भिन्न, परिष्कृत र जटील रहेकोमा कुनै संदेह छैन । परन्तु तीनमा क्रमविकासिय क्रमिकता (continuum) थियो कि थिएन भन्ने प्रश्नको उत्तर विवादास्पद नै रहेको reference कतै देखेको छु है मैले । प्राकमानव र आदिमानवहरु बारेमा जतिजति जानकारीहरु थपिदै जान्छन्, त्यतित्यति यस विषयमा थप प्रकाश पर्नेछ भन्छु ।
जे होस्, उपलब्ध सूचनाहरु र तपाईको तर्कहरु सहितको एक चिन्तनोत्तेजक बहस पेश गर्नु भएकोमा बधाई, साधुवाद र धन्यवाद !
एउटा किञ्चित सम्बन्धित टिप्पणीमा, उच्चविज्ञानका विषयहरु उपर लोकप्रिय पत्रिकामा राय/सम्पादकिय लेख्ने केही लेखकहरुले, खास गरेर प्राचिन पूर्वेली दर्शनको मानप्रवर्धन गर्ने लोभ/प्रयोजनमा परेकाहरु, फाट्टफुट्ट वैज्ञानिक सूचनाका अपव्याख्या वा फटाहा-विज्ञान (pseudoscience) पनि घुसाउने गरेको देखेको छु मैले । अझ अर्को सिमान्तमा जाने हो भने, आजकलका खास गरेर पठित धार्मिक गुरुहरु फटाहा-विज्ञानलाई आफ्नो जीविकाधार नै बनाउँदछन् ।
यस्तोमा वैज्ञानिक सूचनाहरुलाई accurately प्रस्तुत गरेर आफ्ना तर्कलाई तथ्यको रुपमा होईन तर्ककै रुपमा प्रस्तुत गरेर प्राज्ञिक शुद्धता (rigor) देखाउनु ठूलै कर्म हो । यस पक्षमा पनि तपाई धन्यवाद र प्रशंसाको पात्र हुनुहुन्छ ।
दुदुपापा aka प्रेमेकालव्य
मन परे हरियो, नपरे रातो
0
0
अलर्कजी,
लेख अलि लामो भएको र बेफुर्सदीका कारण पूरै पढ्न सकिएन । तरपनि लेखको शीर्षकले लेखको मर्म बोकेको हुनुपर्छ भन्ने ठम्याइ छ । हो, भाषा साधनमात्र हैन, मानव सभ्यताको पहिचान हो । भाषामात्र हैन, भेषभूषा, कला-संस्कृति आदिको पनि मानव सभ्यतालाई अहिलेको स्थितिमा ल्याइपुर्याउन महत्वपूर्ण योगदान रहेको कुरामा शंका छैन । तर विस्तारै मानवजाति यी सब कुराबाट विमुख भइरहेको अवस्था छ, सँगसँगै मानव हुनुको पहिचान पनि गुमाइरहेको कुरामा दुइमत नहोला ।
मन परे हरियो, नपरे रातो
0
0
one of the best article and comments(specialy) in My Sansar
मन परे हरियो, नपरे रातो
0
0
very nice thnks
मन परे हरियो, नपरे रातो
0
0
रबिन्द्र नाथ टाइगौर र Noam Chomsky ??
———————————————————————————————————————-
इंडियन कबी, दार्शनिक रबिन्द्र नाथ टैगौर र अर्का इंडियन दार्शनिक केशवको बिचमा एकदिन प्रतिश्पर्धा भएको थियो रे ! टैगौरले केशवलाई आफु अग्रेजीमा उतिकै बादबिबाद गर्न सकने र अग्रेजी बोल्दा अग्रेजकै लवजमा बोल्न सकने घमंड गरे छन रे ! दुई बिचमा अग्रेजीमा घंटौ बादबिबाद भइसक्दापनि टैगौरले बिर्सेरपनि एक शब्द हिन्दी निकालेनन रे – पुरा ब्रिटिश जस्तै बादबिबाद गरेछन रे ! अनि, केशवलाई अति भये छ रे, कोठामा भरेंग थियो रे बार्दलीमा जानकोलागी ! केशवले बार्दालीमा गएर बादबिबाद गर्ने भने छन रे र पहिला टैगौरलाइ जान भनेछन रे ! टैगौर पहिला भरेंग चढ़ेछरे ! त्येही मौकामा केशवले भरेंग तानी दियेछ रे …. टैगौर भरेंगबाट लधडै गर्दा बल्ल मातृभाषा हिन्दीमा “माँ” भन्ने उच्चारण गरे छन रे ! दुःख र कष्ट परेको बेलामा अचेतनरुपमा मातृभाषा नै उच्चारण हुनेपनि शायेद biological program नै होला !
———————————————————————————————————————-
अमेरिकी भाषाबिद तथा दार्शनिक Noam Chomsky जति भाषाबिदको रुपमा प्रसिद छन त्येतिनै प्रगतिशील राजनितिक बिचारकको रुपमा चिनिन्छन ! उनी बिषेसगरी अमेरिकी बिदेश नीतिको कट्टर आलोचककोरुपमा प्रख्यात छन ! भाषाबिदको रुपमा उनको शोधमा उनले के पाएका थिए भने ४ बर्षको उमेर सम्ममा एउटा बच्चाले पहिले कहिले नसुनेको र नसिकाइएको लामो लामो sentences हरु बुझ्न र बोल्न जानी सकेको हुन्छ ! उनको भनाइमा त्येस्तो भाषा सिकने सामर्थ्य बच्चाले जन्मजात लिएर आएको हुन्छ र त्यों प्राकृतिक खूबी मान्छेमा मात्र हुन्छ !
तर माथिको लेखको conclusion मा भने जस्तै Chomsky को aasertion यो होइन की भाषा सिकने जन्म-जात खूबी भएकै कारण मान्छे अरु प्राणी भन्दा भिन्न र बिशेष छ ! त्यों twisted-generalization ग़लत ब्याख्या हो !
मान्छे अरु प्राणी भन्दा गुणात्मकरुपमा के कुरामा भिन्न छ भन्ने बहसको शुरुवात आज्भन्दा २४०० बर्ष अघि पश्चिमी दर्शनका पिता प्लेटो (Plato ) को समय देखि नै शुरू भएको पाइन्छ ! प्लेटोको भनाइमा तार्किक गुण (Rational Ability) को कारण मान्छे अरु भन्दा भिन्न र फरक छ ! १८ शताब्दी सम्म आइपुग्दा David Hume ले मान्छेको जिज्ञाषा र सम्बेदंशिलातालाइ मान्छे अरु प्राणी भन्दा भिन्न हुनुको जोड़ दिएको पाइन्छ !
मन परे हरियो, नपरे रातो
0
0
अलर्क जि ,
सार्है राम्रो लेख्नु भयो । निकै गहिराइमा पुगेर मानब जिबनमा भाषाको महत्व देखाउनु भयो । एउटा सानो कुरा चित्त बुझेन । “यद्यपि एकल विवाह (monogamous marriage) र त्यसप्रतिको आजीवन निष्ठा निश्चित हदसम्म मानवीय गुण हो” । के एकल विवाह मनबिय गुण हो र । बहुबिबाह गर्नेहरु मानब होइनन र ? अझै पनि मानब समाजमा बहुबिबाह ( Monogamy ) को प्रचलन रहेको छ । एक मनिसले एक भन्दा बढी महिला विवाह गर्ने ( polygamy ) अझै पनि धेरै अफ्रिकन र एसियाली मुलुक हरु मा छ । एक महिलाले धेरै पुरुष सग विवाह गर्ने चलन ( polyandry ) हाम्रै देशको हिमालपारी का जिल्ला हरु र तिब्बतमा प्रचलित छ । यसकारण विवाहको प्रकार मानबिय गुण नभएर सन्स्क्रिती, सामाजिक आर्थिक तथा भौगोलिक अवस्थाले निर्धारण गर्छ जस्तो मलाई लाग्दछ । दुई विवाह गर्ने प्रचलान नेपालमा केही दशक अघी सम्मा थियो । जुन त्यो समयको आर्थिक अनी सामाजिक पेरिसथिको माग थियो।
धन्यवाद
मन परे हरियो, नपरे रातो
0
0
अलर्क जि
मुरिमुरी धन्यबाद मनिसको पहिचान भाषा हो भनेर जानकारी गराउनु भयकोमा |हुन त मनिसको जातै असन्तोसी हुन्छ भन्छन |केही कुरा मनिसको चेतनाको बारेमा पनि बाताइ दिनु भयको भए भाषा र चेतना बिचको सम्बन्धन पनि जानकारी हुने थियो |मानब जातिको पहिलो परिचय कार्ड चेतना कि भाषा भन्ने कन्फुज हुने थियन कि ?माफ गर्नुस् है नसोध्नु पर्ने त सोधिन कतै यो मेरो आफ्नो नितान्त ब्यक्तिगत कन्फुजन हो है
मन परे हरियो, नपरे रातो
0
0
Dear Alark jee !
Lot of thanks !
( difficult to understand BUT still very interesting ! )
thank U again .
मन परे हरियो, नपरे रातो
0
0
Thanks U have Great mind.Shree
मन परे हरियो, नपरे रातो
0
0
Thats why we human beings are still lingiring and there are ways out that humanity can still be different. the time passes and we all create a better sense. I hope we can still make a way out and make this earth a better place.
Baldev Bhatta
Singapore
मन परे हरियो, नपरे रातो
0
0
Yes article laai sarboccha adaalat ma bichaaraadhin nepalko uparaastrspati baneko nepali/sambaidhaanik padko maanish le sanchaar wa byakta garne bhaasaa k hune ? K nahune ? bibaad ko misilmaa samlagna garna sake baadi,pretibaadi le maanishlaai chinne aadhaar “bhaasaa”baare bujhi adaalatlaai faisalaa garna pani saghaau pugthyo ki?
मन परे हरियो, नपरे रातो
0
0
Therefore, look at the content file of the Indo-Nepal Kiranti Bhasharu: Bigat, Samakalin Paribes ra Bholika Chunautiharu (2008).
Its PDF file has separately been sent or attached to the concerned person.
मन परे हरियो, नपरे रातो
0
0
Alarkjee,
It is really nice aricle. Let’s not talk about dirty politics for some time. Talking about academic matter is far better than dirty politics.
Hom
मन परे हरियो, नपरे रातो
0
0
great article alarka ji,
keep it up
मन परे हरियो, नपरे रातो
0
0
sarai ramro lagyo
मन परे हरियो, नपरे रातो
0
0
………brilliant way to educate people. marvellous!!…..
मन परे हरियो, नपरे रातो
0
0
माइ संसारमा राम्रो लेख पाउनु बिरलै हुन्छ, तपाईंको लेख तथा कमेन्ट सधैं स्तरिय हुन्छ । लामो समय पछी यो फोरममा राम्रो लेखको पढ्न पाउदा खुशी लाग्यो ।
मन परे हरियो, नपरे रातो
0
0
यहाँको जिज्ञासा मनासिव छ। जहाँसम्म चेतनाको कुरा छ, मेरो आसय के हो भने चेतना भन्ने कुरा त वनस्पतीलगायत अरू प्राणीहरूमा पनि हुन्छ। चेतनाकै कारणले मात्र मानिसलाई अरू प्राणीबाट अलग गर्न सकिदैन। र जुन विषयको बारेमा मैले चर्चा गर्न खोजेको, अर्थात भाषा, त्यो मान्छेमा मात्र पाइन्छ। जुन कुरा अरूमा पनि पाइन्छ, त्यो त परिचयको आधार भयो र?
मन परे हरियो, नपरे रातो
0
0
यहाँको कुरा सही हो। यो लेख लेख्दै गर्दा मैले यसमा अलि व्याख्या गर्न पनि खोजेको थिएँ। फेरि विषयान्तर हुने जस्तो लागेर लेखिन। यो टिप्पणी नआएको भए मलाई चित्त पनि बुझ्दैनथ्यो वास्तवमा। धन्यवाद।
मेरो तर्क statistical आधारमा हो। निश्चितै बहुपति र बहुपत्नी प्रथा समाजमा पाइन्छन्। तर त्यो सीमान्त मात्र हो। यसमा सांस्कृतिक कुराहरू पनि ख्याल गर्नु पर्छ। प्रश्न जैविक हो। गोरिल्लामा बहुपत्नी व्यवहार हुन्छ। क्रमविकासको एउटा रमाइलो कुरा के हो भने भालेहरू बहुविवाहको र पोथीहरू एकल विवाहको पक्षमा रहँदै अगाडि बढ्दै आएको देखिन्छ। तर एउटा यथार्थ यहाँ उल्लेख गर्नु पर्ने के हो भने पुरुष र स्त्रीको सङ्ख्या बराबर हुनुको अर्थ के हो? यदि प्रकृतिले बहुविवाहको लागि जोड दिन खोजेको भए त सङ्ख्यामा असन्तुलन हुन्थ्यो होला नि। प्राकृतिक छनोटको क्रममा बाँकी रहेका र अवशेषको रूपमा रहेका केही कुरालाई छोडेर साधारीकरण गरेर हेर्दा के देखिन्छ भन्ने कुरा महत्वपूर्ण हो। एउटा अर्को उदाहरण लिऊँ तेश्रोलिङ्गीको। प्रकृतिले दुई लिङ्ग मात्र निर्माण गर्न खोजेको हो। तर यो प्रयोग र व्यवहारमा केही त्रुटिहरू त रहिरहन्छन् नि पूर्ण भन्ने कुरा केही हुँदैन। प्रश्न के हो भने के बहुविवाह प्राकृतिक हो? अर्थात् प्रकृतिले बहुविवाहलाई जोड दिएको छ? हाम्रो पहिलो उत्तर छैन भन्ने हुन्छ लाग्छ मलाई। अनि यस्तो एकलविवाह अरू प्राणीहरूमा पाइने नै हुन्छ। त्यसकारणले विनाअपवादको नभएको हुनाले एकलविवाह मानवजातिको पहिचान होइन भन्ने मेरो तर्क हो। यहाँले उठाउनुभएको कुरामा मतभेद छैन।
मन परे हरियो, नपरे रातो
0
0
शाक्यजी! यहाँको उत्कृष्ट टिप्पणीको लागि धन्यवाद। सबभन्दा पहिला पछिल्लो कुराबाट। प्लेटोले rational ability लाई पहिला उठाएको कुराको बारेमा। हो प्लेटोले भनेको कुरा लिखित रूपमा प्रशस्त छ। तर प्लेटोभन्दा अगाडिका दार्शनिकहरूले भनिसकेका कुरा हुन् ती। प्लेटोको कुरामा कति मौलिक छ भन्ने कुरा नै वहशको विषय हो। आयोनियन दार्शनिकहरू, जो पश्चिमी समाजका वास्तविक पहिलो दार्शनिक थिए, उनीहरूले पनि भनेका छन्। पाइथागोरसले भनेका छन्। कसले पहिला भन्यो भन्ने कुरा महत्वपूर्ण होइन।
यहाँले भन्नुभएको तर्क गर्न सक्ने क्षमता, जिज्ञासा र सम्वेदनशीलता निश्चितै रूपमा मान्छेमा छन् र यो विशिष्ट रूपमा छ। यो ‘विशिष्ट’ मात्र हो नि, अलग्गै त होइन नि। मेरो तर्क यसमा हो। अब डेभिड ह्युम वा प्लेटोले भनेको कुराभन्दा समय र विज्ञान धेरै अगाडि बढी सक्यो, विज्ञानले उनीहरूले थाहा नपाएको र उल्टो गरी बुझेको कुराहरू नयाँ ढङ्गले पत्ता लागिरहेको छ। यो कुरा अहिलेलाई छोडौँ। मलाई प्रश्न गर्न मन लागेको र लेखमा उठाउन खोजेको कुरा के हो भने यो मान्छेले तर्क केको आधारमा गर्छ भन्ने हो। तर्कको आधार सङ्केत हो। र सङ्केत भाषा हो। प्लेटोले यो तर्कको क्षमता केको कारणले मानिसमा प्राप्त भएको हो भनेका थिए। प्लेटोको Idea को बारेमा यहाँलाई थाहा नै होला। मानिसमा यो क्षमता एउटा पारलौकिक हो भन्ने भनाइ प्लेटोको थियो। प्लेटोको पूर्ण आदर्शको बारेमा छुट्टै वहस हुन सक्छ। र भइराखेको छ। र एउटा महत्वपूर्ण कुरा प्लेटोको ‘समस्या’ को उत्तर प्लेटोले दिएका थिएनन्। यसको जिम्मा ईश्वरलाई दिइएको थियो। चोम्सकीको knowledge of language (1986) मा यसको वृहत चर्चा गरिएको छ। यसमा धेरै कुरा गर्नु पर्दैन। तर्क, जिज्ञासा गर्ने क्षमता, सम्वेदनशीलता जस्ता ‘थोक’ कुराले प्रश्नको उत्तर आउँदैन, मात्र subjective वहस हुन्छ। त्यसको वस्तुगत धरातल के हो भन्ने अहम् प्रश्न हो। म फेरि पनि दोहोर्याउँछु यस्को आधार साङ्केतिक क्षमता हो मान्छेमा निहित, र यो साड्केतिक क्षमता भनेको भाषा हो। मेरो तर्क यो हो। यसमा यहाँको जवाफको अपेक्षामा छु म।
अब अर्को कुरा। “त्येस्तो भाषा सिकने सामर्थ्य बच्चाले जन्मजात लिएर आएको हुन्छ र त्यों प्राकृतिक खूबी मान्छेमा मात्र हुन्छ !” भन्ने यहाँको कुरा नै काफी छ यहाँको प्रश्नको लागि। मैले थप्नुपर्ने केही नै छैन। त्यसै कारणले मान्छे बेग्लै हो भन्ने मेरो कुरा हो। मैले भनेको छैन कि चोम्स्कीले सामान्यीकरण गरेको हो भनेर लेखमा त। मैले चोम्सकीको assertion हो भनेर भनेको छैन। भनेँ र? तर यसमा म के कुरा जोड दिन चाहन्छु भने यो कुरा मेरो नितान्त मौलिक पनि होइन। मान्छेको वैज्ञानिक नाम homo sapience sapience लाई नै परिवर्तन गर्नुपर्छ भन्ने तर्क यहाँलाई सम्झाउन चाहन्छु म। वैज्ञानिकहरूले मान्छेलाई homo linguas वा homo grammaticus भन्नु पर्छ भनेर तर्क गरेका छन्। सबै कुरा चोम्स्कीले नै भनेको भनेर भन्नु जरुरी छैन। यद्यपि चोम्स्कीले syntax लाई specific to human language भनेका छन्न भन्ने कुरा यहाँलाई स्मरण गराउन चाहन्छु। थाहा छैन चोम्सकीको बारेमा यहाँको विशेषज्ञता पनि हुन सक्छ र मेरो भनाइ एकदमै सामान्य लाग्न सक्छ यहाँलाई।
मन परे हरियो, नपरे रातो
0
0
१) (तार्किक गुण ) वा rational ability प्लेटो भन्दा अगाडिका दार्शनिकहरुले भनिसकेका कुराहरु हुन !
=> पश्चिमी दर्शनको सस्थापकको रुपमामात्र प्लेटोको नाम लीइएको हो ! पाईथागोरसको “आधिकारिक लेखहरु” बाहिर “भेटाइएको” छैन !
२) प्लेटो र डेविड ह्यूमले भनेका कुरा भन्दा समय र बिज्ञान धेरै अगाडी बढ़ी सक्यो !
=> पश्चिममा दर्शनलाई बिज्ञानको जननीको रुपमा लीइन्छ त्येसैले बिज्ञान दर्शन भन्दा अगाडी जान सक्दैन ! बिज्ञान अझैपनि इलेक्त्रोंनको रहस्यमय Euclidian नाचको वरीपरी भौतारी रहेको छ ! Euclidian ज्यामितिले भन्छ बिन्दु रेखा हुन सक्दैन ( A line is a connection between two points) तर इलेक्त्रोंनहरु बिन्दु र रेखा दुबैको behave एकै पल्ट गरि रहेको छ अथवा इलेक्त्रोंन particle र wave को एकै पल्ट behave गरि रहेको छ ! ७० बर्ष देखि भौतिक शास्त्र येही अडकी रहेको छ ! फेरी quarks को कुरा उठला – quark आफैमा भौतिक entity भएको चीज होइन ! Noam chomosky जो आफैमा एक बैज्ञानिक हुन कै शब्दहरुलाई उधारो लिएर भन्दा बिज्ञान येस्तो अवस्था मा छ – ” जब भौतिक शास्त्रीहरु hilliam को अणूको जटिलतालाइ समाधान गर्न सक्दैन , त्यों समस्यालाई रसायेनशास्त्रीकोमा पठाउछ रे, अनि रसायेनशास्त्रीको केही नलागेपछि रसायेनशास्त्रीले जीवशास्त्रीकोमा पठाउछ रे, अनि जीवशास्त्रीबाट पनि पार नलागेपछि, जीवशास्त्रीले समाजशास्त्रीको पठाउछ रे, अनि त्यान्हा पनि न सुल्झियेपछि अंतमा इतिहासकारकोमा पुग्छ रे ” ! अब, हामीले पढेको यूनिवर्सिटीको दूइ-तिन वटा फिजिक्स र केमेस्ट्रीको क्लासले Technician भएर काम गर्न अवस्य सजिलो गर्छ तर ब्रमांडको रहस्य dymistify गराउन सक्ने अवस्था छैन !
३) तर्कगर्ने क्षमता, जिज्ञासा, सम्बेदनशीलता जस्ता थोक कुराले उत्तर आउदैन मात्र subjective बहस हुन्छ !
=> दुनियाका नामूद भौतिकशास्त्रीहरु एक्दमै “थोक” मानिने matter (पदार्थ)को जति – जति भित्र छिरे त्येती नै पदार्थलाइ illusory (माया) पाये ! पदार्थको भित्र energy मात्र भेत्ताये ! बस्तुगत धरातल energy मा बद्लिसकेको अवस्थामा तार्किकता, जिज्ञासा, र सम्बेदनशीलता जस्ता कुराहरु human-conciousness को by-product नहोला भन्न सक्किन !
४) तर्कको आधार संकेत हो र संकेत भाषा हो !
=> तर्कको आधार संकेत होइन ! संकेत (भाषा) मान्छेमामात्र अन्तर्निहित तार्किकता, जिज्ञासा र सम्बेदंशिलाता जस्ता कुराहरुका उपजहरु हुन ! तर्कको आधार human-conciousness हो ! पैथागोरोसलाई जीबन र जगतका phenomenon हरुलाई अंकमा ब्यक्त गर्ने सकिन्छ भन्ने conciousness भयेपछि तब बल्ल a^2 + b^2 = c^2 जन्म भयो होला !
५) कदाचित ब्रह्मंद्को कुनै ग्रहमा बुद्धिमानी जीव फेलापरे र उनीहरुलाई पृथ्वीको प्राणीको परिचय दिनु पर्यो भने भाषा नै मानिस जातिको भिजीटिंग कार्ड हुनेछ !
=> येदी पृथ्वीको मान्छेको परिचय दिन LCD ( Lowest Common Denominator) खोजने हो भने मान्छे नै पृथ्वीमा एउटा मात्र येस्तो प्राणी हो जो “हिडनको लागी हात टेकदैन” र तार्किक छ, जिज्ञासु छ, सम्बेदंशील र प्राज्ञिक छ !
1) जांदा जांदा यो Harvard University को “Art and Science डिपार्टमेन्ट” को “Humaniqueness” को बारेमा एउटा लिंक पनि
http://www.fas.harvard.edu/home/news-and-notices/news/press-releases/hauserCognition.shtml
2) २) अर्को एउटा पनि : http://khuram.wordpress.com/2006/12/29/some-differences-of-human-animal-mind/
सबैलाई दीपावली को शुभकामना !
मन परे हरियो, नपरे रातो
0
0
शाक्यजी, धन्यवाद लिङ्कको लागि र लामो उत्तरको लागि। मेरो केही जिज्ञासा अझै यथावत रहेको छ।
प्लेटोलाई सम्पादककै रूपमा मात्रै लिइएको भन्ने जस्तो कुरा बुझियो। आधा जति उनी सम्पादक नै जस्तो पनि देखिन्छ। अनि पाइथागोरसको बारेमा -
“पैथागोरोसलाई जीबन र जगतका phenomenon हरुलाई अंकमा ब्यक्त गर्ने सकिन्छ भन्ने conciousness भयेपछि तब बल्ल a^2 + b^2 = c^2 जन्म भयो होला !”
त्यसो भन्दा पनि यो analogy बाट आएको हो जस्तो लाग्छ मलाई। जीवन र जगतलाई अङ्कको रूपमा व्यक्त गर्न सकिन्छ भनेर प्राककल्पना गरेर पाइथागोरसले सुरु गरेका होइनन् मेरो बुझाइमा।
“बिज्ञान अझैपनि इलेक्त्रोंनको रहस्यमय Euclidian नाचको वरीपरी भौतारी रहेको छ ! Euclidian ज्यामितिले भन्छ बिन्दु रेखा हुन सक्दैन”
“७० बर्ष देखि भौतिक शास्त्र येही अडकी रहेको छ !”
विज्ञान अघि बढ्न सकेन भनेर विज्ञानको उपादेयता सकियो, यसको अर्थ सकियो भन्ने अर्थ निकाल्न मिल्दैन होला। अनि अहिले युक्लिडियन ज्यामितीको वरिपरि विज्ञान रङमङिएर घुमिराखेको छैन। यो चौँथो आयामको कुरा युक्लिडले भनेका थिएनन्। uncertainty को जुन कुरा छ, त्यो युक्लिडको ज्यामितीले व्याख्या गर्न सकेको छ र?
“तर इलेक्त्रोंनहरु बिन्दु र रेखा दुबैको behave एकै पल्ट गरि रहेको छ अथवा इलेक्त्रोंन particle र wave को एकै पल्ट behave गरि रहेको छ !”
यही कुराले यहाँको प्रश्नको उत्तर दिइसक्यो होइन र?
“फेरी quarks को कुरा उठला – quark आफैमा भौतिक entity भएको चीज होइन !”
त्यही त क्वार्क आफैमा भौतिक चिज होइन ल मानियो। के हो त यो? भौतिक प्रयोगहरूबाट पुष्टि भएको तत्व हो। पहिचान भएको तत्व हो। यो रहस्यमय छ भन्नुको अर्थ विज्ञान असफल भो भन्ने तर्क मनासिब होला र? विज्ञानको विकाको क्रममा खोज त्यहाँ सम्म पुग्यो। भोलि के पत्ता लाग्छ, थाहा छैन। त्यो नै विज्ञानको धर्म हो।
विज्ञान अन्तत इतिहासकारहरूको हातमा पुग्छ “रे”। यसले वैज्ञानिक समस्याको समाधान गर्दैन। यो एउटा state of affairs मात्र हो। कुनै तथ्य देखियो भने त्यसलाई व्याख्या गर्ने भनेको विद्यमान ज्ञानको आधारमा त्यसलाई एउटा स्थानमा सुरक्षित राख्ने मात्र हो। त्यो अन्तिम होइन। त्यसै ठाउँमा उभिएर त्यसलाई falsify गर्ने प्रयास नै विज्ञान होइन र? यहाँको भनाइबाट त विज्ञानले अन्तिम उत्तर दिन सक्दैन। तर विज्ञान भनेको history of errors and mistakes हो भन्ने रूपमा अगाडि बढिराखेको हुन्छ। रोकिँदैन। ७० वर्ष मात्र होइन अर्को १०० वर्षसम्म पनि अनवरत प्रयास गरिरहन्छ नि होइन र? यो एउटा विधि हो। विधिमा निख्खारता ल्याउँदै नयाँ खोजी र नयाँ व्याख्या त आइरहन्छ नि होइन र? आज समाजशास्त्रीलाई र इतिहासकारलाई जिम्मा लगाइएको कुरा भोलि भौतिक विज्ञानले व्याख्या गर्छ र त्यो यथार्थ समाजशास्त्री र इतिहासकारहरूको subjective व्याख्याबाट मुक्ति प्राप्त गर्दछ। यो त अनवरत प्रयास हो नि होइन र?
तार्किकता जिज्ञासा जस्ता कुराहरू by-product नै भए पनि त यसको वस्तुगत आधार वा functional principle खोज्नुमै त विज्ञान अडिएको छ नि। अब यो उप-उत्पादन (by-product) हो भनेर चुप लागेर त बस्दैनन्। मेरो सामान्य लेखाइको अर्थ चाहिँ यसको आधार मान्छेको दिमागमा भएको symbolism हुन सक्दछ भन्ने हो। ‘तर्कको आधार सङ्केत होइन” रे ल। त्यसो भए मान्छेले तर्क वितर्क केको आधारमा गर्छ त? कुनै अमूर्त तत्व त होला नि होइन र? त्यतिकै बतासे हो भनेर त भन्न मिल्दैन। तपाईले कुनै वस्तुउपर चिन्तन गर्ने आधार सङ्केत नै होइन? विज्ञानमा thought experiement को महत्व हुन्छ। प्रश्न यो कसरी सम्भव छ। दिमागमा त्यस्तो के छ छ, जसले यसलाई सम्भव बनायो र यो प्रक्रियाको दौरान दिमागमा के कस्ता रसायनिक क्रियाप्रतिक्रिया हुन्छन् र त्यसको physics के हो भन्ने प्रश्न सोधिनु स्वाभाविक हो जस्तो लाग्छ मलाई।
“मान्छेको परिचय दिन LCD ( Lowest Common Denominator) खोजने हो भने मान्छे नै पृथ्वीमा एउटा मात्र येस्तो प्राणी हो जो “हिडनको लागी हात टेकदैन” र तार्किक छ, जिज्ञासु छ, सम्बेदंशील र प्राज्ञिक छ !”
यो त whole-sale (थोक) उत्तर भयो। हिँड्नको लागि हात नटेक्ने त चरा पनि छ नि होइन र? चराको पखेँटा र मान्छेको हात homologous organ होइनन् र? कुरा फेरि पनि त्यही हो – तार्किकताको आधार के, मान्छे किन जिज्ञासु हुन्छ, sympathy र empathy भन्ने कुरा मान्छेमा मात्र सीमित छैन। primate हरूमा, चराहरूमा र धेरैमा हुन्छ। अब प्राज्ञिक भन्ने शब्द झन अमूर्त भयो। के हो प्राज्ञिकता? यो कसरी सम्भव छ? यस्ता धेरै प्रश्न छन् जस्तो LCD खोज्नु पर्छ भन्ने मेरो आशय हो र अमूर्त सङ्केतन गर्ने क्षमता नै त्यसको आधारमा हुनुपर्दछ भनेर भनेको। भाषामा जस्तो दुई तहको सङ्केतन अरू कुनै प्राणीको सञ्चार प्रणालीमा अहिलेसम्म फेला परेको छैन।
“हामीले पढेको यूनिवर्सिटीको दूइ-तिन वटा फिजिक्स र केमेस्ट्रीको क्लासले Technician भएर काम गर्न अवस्य सजिलो गर्छ तर ब्रमांडको रहस्य dymistify गराउन सक्ने अवस्था छैन !”
ठीक छ, त्यो दुईतीनवटा क्लासले सकिँदैन मैले मानेँ। त्यसको मतलब demystify को प्रयास नै नगर्ने भन्ने यहाँको आसय हो? यसलाई रहस्यको रूपमै रहन दिएको भए सायद तपाईँ हामीले अहिले यसरी तथ्यगत बहस गर्न सक्ने अवस्था हुँदैनथ्यो होला – पृथ्वी चेप्टै हुन्थ्यो, सूर्यले यसको वरिपरि घुमिरहन्थ्यो, हामी स्वर्ग जान धर्मग्रन्थका संस्कारहरू अक्षरसः पालन गरिरहेका हुन्थ्यौँ आदित्यादि। विज्ञानको धर्म रहस्यलाई खोतल्ने हो। यहाँले भन्नुभो होइन र जिज्ञासुपन मान्छेको गुण हो भनेर? मेरो प्रश्न जिज्ञासाको structural form के हो भन्ने मात्र हो।
अनि नोम चोम्स्कीको अर्को एउटा लेख यहाँलाई सम्झाउन चाहन्छु – three factors in language design (2004)। David Hume का कुरा अनि भाषाको symbolicity को कुरा पनि त्यसमा पाउनु हुन्छ।
लामो लेखेँ। माफ गर्नुहोला।
तिहारको शुभकामनासहित!
मन परे हरियो, नपरे रातो
0
0
सँगै एउटा कुरा थपिहालुँ। चोम्स्कीको त्यही लेखले के पनि भन्छ भने, जुन चोम्स्कीले पहिलेदेखि नै भन्दै आएका थिए, language faculty विशिष्ट हो। सञ्चार यसको primary purpose होइन। त्यो language faulty को fucntional चरित्र साङ्केतिकता हो।
मन परे हरियो, नपरे रातो
0
0
यहाँले दिनुभएको लिङ्क हेरेपछि केही नलेखिरहन सकिन।
१. it is only human child who possesses the potential of acquiring ‘knowledge’. यो पोटेन्सियालिटीको form के होला?
२. Human perception, on the other hand, happens to have additional features also. In human perception, sensory data would interact not only with instinctive faculties, but also would interact with some additional features which are (i) psychological feelings and; (ii) theoretical propositions. अब मलाई बताउनुस्, त्यो theoretical proposition भनेको के हो र त्यस्को form कस्तो हुन्छ? अनि मस्तिष्कमा त्यसको representation कसरी हुन्छ?
अनि हार्वर्डको लिङ्कबाट – four novel components of human thought are the ability to combine and recombine different types of information and knowledge in order to gain new understanding; to apply the same “rule” or solution to one problem to a different and new situation; to create and easily understand symbolic representations of computation and sensory input; and to detach modes of thought from raw sensory and perceptual input.
अब मलाई बताउनुस्, यो लेखले मेरो कुरालाई समर्थन गर्यो कि के गर्यो? यी चारवटा अवयव (components) मा भएका केही शब्दहरू मात्र उल्लेख गर्न मन लाग्यो : combination and recombination, application of “rule”, symbolic representaion of computation and sensory input.
फेरि पनि धन्यवाद र तिहारको शुभकामना।
मन परे हरियो, नपरे रातो
0
0
## धन्यबाद लिंक को लागी र लामो उत्तरको लागी ! मेरो केही “जिज्ञासा” अझै येथावत छ !
==>> तपाईको यो “जिज्ञासा” अनंतसम्म रहीरहने छ यो नै पृथ्वीको प्राणीमा मान्छेको हुनुको LCD हो ! यो जिज्ञासाको state सांकेतिक Tool हरु बिनापनि चली रहनेछ ! आफै बिज्ञानको भित्रको एउटा ब्रांचको बिद्यार्थी भएको हुंदा बिज्ञान प्रति मेरो कुनै पुर्वाग्रह छैन ! खाली मेरो बुझाइ येती मात्र हो की बिज्ञानले ब्रमांडको जटीलताको “”abstration लाई मात्र”" आफ्नो सुबिधामा (comfort) अध्यन गर्छ ! मेरो आग्रह र बिग्रह बिनापनि बिज्ञान चली नै रहने छ जबसम्म मान्छेमा जिज्ञासा रहिरहने छ ! हरेक phenomenon हरुमा matter को connection खोज्नु बिज्ञानको धर्म हो ! धन्यबाद ! ह्यापी तिहार !!
मन परे हरियो, नपरे रातो
0
0
Sshaakya ज्यूले विज्ञानप्रति कुनै पूर्वाग्रह छैन भन्नु भएतापनि विज्ञानको सिमितताबारे उहाको अन्तिम टिप्पणीबाट म कस्तो भनक पाउँछु भने उहाँले विज्ञानलाई प्रविधीको परेवा-खोपो (pigeonhole ) मा राखिदिनुभएको छ ।
शाक्यज्यूले अलि विस्तारपूर्वक व्याख्या गर्नु भएमा यसबारे अलि स्पष्ट बहस हुन सक्थ्यो भन्छु ।
तैपनि अनुमानकै भरमा र अलिकति जोखिम मोलेर यति चाही भनिहाल्छु म: शाक्यज्यूले जेलाई विज्ञानको सिमितता भनिरहनु भएको छ, वास्तवमा त्यही नै विज्ञानको शक्ति र श्रेष्ठता हो ।
विज्ञानलाई, चाहे प्रश्नमा होस्, चाहे विधीमा होस्, चाहे प्रयोगमा होस्, चाहे व्याख्यामा होस्, चाहिने एकमात्र कुरा, हो- reliability.
Reliable हुनुपर्छ, कुनै पनि प्रश्न र कुनै पनि विधी विज्ञानको लागि अस्वीकार्य हुने कुरै छैन ।
त्यसो होईन, unreliable कुरा पनि विज्ञानले स्वीकार गर्नुपर्छ भन्ने भनाई हो भने (विज्ञानको सिमितताबारे मैले सुनेका सबै बहस अन्ततोगत्वा यसै आग्रहमा टुङ्गिएको देखेको छु, त्यससैले यस्तो दावी गरेको हुँ है), कुरै गर्न परेन ।
दुदुपापा
मन परे हरियो, नपरे रातो
0
0
प्रथमत यो बहसको सुरुवात बिज्ञान inferior छ भन्ने कुराकोलागी शुरू भएकै होइन !
मान्छे अरु प्राणी भन्दा भिन्न हुनुमा भाषाको ability भन्दापनि अली मुनिको entities हरु (तार्किकता, जिज्ञासा, सम्बेदंशिलाता आदि ) मान्छेमा अन्तर्निहित छ त्यों entities हरुको epicenter भनेको human-conciousness हो की भन्ने मेरो बुझाई हो ! Human-Conciousness “झरल” वा “whole-sale” पसलको धारणा नहुनपनि सक्छ ! Human-conciousness को बारेमा “अब्बल नसल” भएका “Multi-disciplinary” बैज्ञानिकहरु लागेका छन भन्ने कुरा तलको Journal of Human Conciousness को लिंकलेपनि पुष्टि गर्दछ ! http://www.imprint.co.uk/jcs.html
जस्तो दार्शनिकहरु शून्य र अनंतमा ( infinity ) प्रश्न उठाउछान ! भाषाको ability लाई गुणात्मक रुपमा मान्छे र अरु प्राणी बिचको भिन्नता मान्दा म निम्न समस्या देख्छु ! त्यों भन्दा पहिला एउटा anecdote प्रस्तुत गर्न चाहन्छु ! हीरोसीमा र नागासाकीमा आणबिक बम खसाली सकेपछि पत्रकारहरु आइन्स्तैनको घर अगाडी जम्मा भये रे एक पत्रकारले प्रश्न गरे रे ” तेस्रो बिश्व युद्धको बारेमा तपाइको धारणा के छ ? ” जवाफमा आइन्स्तैनले भने रे ” तेस्रो बिश्व युद्धको बारेमा म भन्न सक्दिन तर चौथो बिश्व युद्ध चाही हुने वाला छैन !”
१) माथिको तेस्रो बिश्व युद्धको hypothetical scenario लाई अलीकती “relax” गरौ र मानौ एउटा मान्छे र केही अन्य प्राणीहरु बांचे ! त्यों अवस्थामा त्यों एक्लो मान्छेको अर्को आफु जस्तै मान्छेसंग संकेत/भाषा प्रयोग गर्न सकने अवस्था रहदैन र भाषाको existence हराउछ ! के त्यों मान्छे अब गुणात्मक रुपमा अरु प्राणीको catagory मा परिवर्तन हुन्छ त ? उ संग बांकी रहने LCD के के हुनेछ ????
२) म आफु पशुपति क्षेत्रको परिधि भित्र हुर्केको हूँ ! त्यों धार्मिक क्षेत्र भएकोले साधू देखि संत, गजड़ी देखि भिकारी र मानसिक रोगी त्यहा अरु ठाउमा भन्दा अली बढ़ी नै देखन पाइन्छ ! Worst Case मा मानसिक रोगले ग्रस्त भिकारीहरु फोहोरको container मा फ्याकियेको कुहियेको चीज़हरु खाने र लुगामा दिशा- पिशाप गर्ने पशु-तुल्य मान्छेहरु देखेको छू तर ति मान्छेहरु हामी मान्छेको भाषा सामान्य बोल्दै र बुझ्दै हिडिरहेका छन ! भाषा र संकेतको ज्ञान भएको ति मान्छेहरु किन गुणात्मक रुपमा पशु-तुल्य छन त ????
भाषा र संकेतलाइ मान्छे र अ-मान्छे बिचको गुणात्मक भेद मान्दा George Cantor को Set Theory को Universal Set को definition मा Burtend Russel ले “Russel Paradox” पत्ता लगायेको जस्तै हुन आउछ !
मेरा एक घनिष्ठ मित्र Molecular Biology मा NSU बाट Phd गरेर Stanford मा post-doctoral गर्दै थिए र करीब दूइ महिना जति अघि एक उच्च नसलका बैज्ञानिक Raymond Tallis को (The Explicit Animal : Defence of Human Conciousness ) पढ़न कोलागी आग्रह गर्दै थिए ! ब्यास्ताताको कारण मैले त मौका पाको छैन पढ़नलाइ, दुदुपापा ज्यूँलाइ interest लाग्न सक्ला की ?
हामी Computer Science का बिद्धार्थीहरु entities भित्र entities भित्र entities भित्र entities ( गणीतको भाषामा – Higher order of logic) खोजने प्रब्रिती हुन्छ शायेद मान्छेको qualitative uniqueness को बारेमा मेरो tendency त्येतई गाको होला !
म बिज्ञानको पुर्बग्रही कसरी हुन सक्छु र ? खाली मेरो बुझाई येतीमात्र हो की हाम्रो बुबाहरुले पढ्दा जस्तो बिज्ञानको अध्यन uni-approch होइन की multidisciplinary-approch भइसक्यो र हिजोको दिनमा झरल भन्ने कुराहरु आज complimentary हुन आइरहेको छ ! येती भन्दै यो बहसलाई मेरो तर्फाट अब धेरै नतन्काउने प्रण गर्दै येही बिट मार्न चाहन्छु ! धन्यबाद ! फेरी, भोलीको हैप्पी भाईटिका !!
मन परे हरियो, नपरे रातो
0
0
हाई, शाक्यजी! यहाँको दुईवटा तर्कको लागि मात्र। १. त्यो एक्लो मान्छेले कुरा गर्न पाएन भन्दैमा त्यसको symbolic क्षमता छैन भन्ने हो र? मैले माथि अलिकति सङ्केत गरेको थिएँ कि सञ्चार language faculty को secondary goal हो भनेर। यस अर्थमा एक्लो भएकोले अर्को व्यक्तिसँग सञ्चार गर्न नपाए पनि परिस्थिति जायजा लिनको लागि उसले गर्ने तर्क वितर्क आदि कुरा अझै पनि सङ्केतद्वारा नै व्यक्त हुन्छन् जस्तो लाग्छ मलाई। यस्तो वृहत् उदाहरण भन्दा पनि हामी कोही एक्लै बसेको बेलाकै कुरा सम्झ्यूँ न! रबिन्सन क्रुसोलाई सम्झे पनि हुन्छ। मलाई यहाँको त्यो उदाहरणले यहाँको तर्कलाई बल प्रदान गर्यो जस्तो लागेन।
२. यो जीवनशैलीले बाइलोजीलाई इङ्गित गर्यो र? खान नपाउने, भोकमरी आदिको समस्याबाट गुज्रने मानिस पनि प्रशस्तै छन् नि। यहाँको भावुकता हो यो। यहाँ त चेतनाकै कुरा गर्दा पनि कुकुर र मान्छेको प्रतिस्पर्धा देख्दा मान्छेमा चेतनाको, तर्क गर्ने क्षमता पनि गुम भएको देखिएन र?
जे होस्, यहाँसँगको सम्वाद शिक्षाप्रद रह्यो मेरो लागि। म एउटा सामान्य (र गैर-विज्ञान विषयको) मान्छे हुँ। मसँग त्यस्तो विशेष ज्ञान र सूचना पक्कै पनि छैन र नेपालको वातावरणमा मैले जति जान्न सकेँ मेरो सीमा त्यति नै हो। विदेशी र “उच्च नश्ल” का मान्छेको सङ्गत पनि मेरो छैन नै।
माइसन्सारमा यो लेखको पेज पनि अगाडि बढिसक्यो, कुरा जति गरे पनि सक्किने होइन। मेरो तर्फबाट बिट मारिसकेकै थिएँ। फेरि एउटा सानो कुरा थप्न मन लागेर मात्र हो। यो अध्याय समाप्त नै भयो भनौँ अब। धन्यवाद।
मन परे हरियो, नपरे रातो
0
0
पुष्पजी,
लामो लेखको लागि मसँग माफी माग्नुवाहेक अरू चारा छैन। तर मलाई के लाग्छ भने पढ्नु भएको भए तपाईँको टिप्पणी अर्कै हुन्थ्यो होला।
मन परे हरियो, नपरे रातो
0
0