मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    माइसंसार पर्दापछाडिका केही कुरा

    “मैले यत्रो दुःख गरेको कसैले देख्दैन,” न्युयोर्कबाट प्रमेयले च्याटमा टाइप गरेको मार्मिक शब्द। हुन पनि तीन रात नसुती नसुती उसले माइसंसारलाई पुरानै अवस्थामा ल्याउन मरिमेटी लाग्यो। भोलिपल्ट उठी काममा जान सकेन। “किताब हेरी हेरी मिलाउनु पर्छ नजानेको कुरा”, ऊ भन्दै गइरहेको थियो। उसले किबोर्डमा टाइप गरिरहेको ‘कि’हरु गलत ठाउँमा थिए। गुगल च्याटमा उसको अनुहार देखिन्न। नत्र मैले देख्ने थिएँ ऊ पक्कै पनि भावुक भएको थियो। तिमीले गरेको दुःख कम्तिमा मलाई थाहा छ, मैले उसलाई सम्झाउन भनेँ।

    ठूला लगानीका साइटहरुभन्दा बढी भिजिटर भए पनि वास्तवमा यसमा सामाग्रीमा अपवादमा बाहेक म एक्लै खट्नुपर्छ। प्राविधिक विषय प्रमेयले हेर्छन्। धेरै वर्षअघि एउटा अश्लील कमेन्ट लेखेपछि उसको र मेरो भेट भएको थियो यस्तै च्याटमा। आज दाजुभाइ जस्तो बनेका छौँ। निस्वार्थ ऊ माइसंसारको लागि आफ्नो अमूल्य समय खर्च गरिरहेको हुन्छ अनिदो रात बिताउँदै।

    हो, त्यस्ता कति रात म पनि सुतेको छैन। तर बिहान सबेरै बाँच्नका लागि काममा जानु बाध्यता। आखिर मप्रति आश्रित परिवार पाल्नै पर्यो। लगातार काम गरेर थाकेर घर आयो। खाना खायो, अनि फेरि ब्लगको काम। शारीरिक कामभन्दा दिमागी काम निकै गाह्रो र थकाउने गलाउने हुने रहेछ। लेख्न विषय अनि शब्द फुराउनु पर्यो। फोटोहरु हाल्नुछ भने खिच्नु पर्यो, फोटोसपमा गएर इडिट गर्नुपर्यो, अनि अपलोड गर्नुपर्यो, त्यहाँबाट कोड लिएर ब्लगमा पेस्ट गर्नुपर्यो…भिडियोमा उस्तै झण्झट। क्याप्चर गर्यो, लोगो हाल्यो, कम्प्रेस गर्यो, अपलोड गर्यो…..यस्तै प्रक्रिया नै प्रक्रियामा जिन्दगी अल्झेको छ। अझ कोही साथीहरुले कमेन्ट नहेरिदिए आफैले कमेन्ट मोडरेसन गर्नुपर्छ। अश्लील गालीहरु पढ्यो, डिलिट गर्यो। यत्तिकैमा समय बितिरहेको हुन्छ।

    सबभन्दा दुःख त त्यतिबेला लाग्छ, जतिबेला म पुराना पत्रिकाहरु पल्टाउँछु र आफ्ना पुराना लेखाइहरु नियाल्छु। कति सिर्जनात्मक हुन्थेँ म। मेरो लेखाइ पढ्दा पनि म आफैलाई आनन्द आउँथ्यो। तर अहिले ? हतार हतार लेख अनि हतार हतार माथिका प्रक्रिया पुर्याऊ। प्रक्रियामा गयो समय, सिर्जनशीलता गुम्यो। कस्तो खत्तम भएको म ? झसंग हुन्छु।

    कति समय चोरेको छु मैले आफ्नो परिवारको। कहिलेकाहीँ फेरि झसंग हुन्छु। उनीहरुसँग समय बिताउन खोज्छु। तर फेरि उही कामले अत्याउँछ। धन्य, बुझ्ने परिवार पाएको छु। कहिले गुनासो गर्दैनन्।

    पर्दापछाडिका यी दुःख आफैसँग मात्र सीमित हुन्छन्। ध्यानले मनलाई शान्त बनाउन खोज्छु। तर व्यस्त जीवनशैलिका बीच ध्यान पनि नियमित हुन सक्दो रहेनछ।

    धत् गुमाएको कुरा मात्र गर्ने ? साथी उत्तमले हकार्यो। पाएको कुरा पनि छ। मेरो पहिचान देशविदेशमा गराउने यही माइसंसार भएको छ। तर आज पुराना पत्रिकामा आफ्नो लेखाइ हेर्दा साँच्चै मैले आफू गुमाएको महसूस गरेँ। म त्यो उमेश रहिनँ अब। शब्द शिल्पले हैन टेक्नोलोजीले बढी प्रभाव पार्न थाल्यो मलाई। मानवीय सवेदना हरायो, प्राविधिक प्रभाव पलायो।

    गएको साता धेरै पटक माइसंसार बिग्रियो। भिजिटर बढेर सर्भरले धानेन। नयाँ सर्भरमा जानुपर्ने भयो, अब जस्तो पायो त्यस्तो सामान्य सर्भरले माइसंसार चल्दैन, प्रमेयले भन्यो। अब खर्चको चिन्ता। साइट चल्छ तर त्यसलाई ‘क्यास’ गर्न सकिएन। गुगल एड छ माइसंसारमा। तर नेपाली कन्टेन्ट भएकोले अग्रेजीमा जस्तो कमाइ नहुने रहेछ। अनि फेरि विज्ञापनमा पाठकले क्लिक नगरेसम्म त्यसबाट सुको पैसा पनि आउँदैन। अधिकांश पाठकलाई सामाग्री पढ्नुसँग बाहेक अरु सरोकार हुन्न। अरु विज्ञापन पनि राख्न सक्नु पर्ने हो। तर म एक्लो मान्छेले कहाँमात्र भ्याउने ? ब्लग लेख्ने कि जागिर खाने कि फोटो खिच्न जाने कि भिडियो खिच्न जाने कि विज्ञापन माग्न जाने कि विज्ञापन देऊ भनेर इमेलमा प्रपोजल माग्दै बस्ने ?

    तर गुनासो छैन सबै कुरामा। उतारचढाव आइरहन्छन् जीवनमा। यथाभूत ज्ञान दर्शन। यो कठिन समयलाई पनि म मात्र हेर्न र महसूस गर्न खोजिरहेको छु। महसूस गरिसकेपछि अगाडिको बाटो खुल्छ। र, यी विचारहरु त्यसैको एउटा लिपिवद्धता मात्र हो। कसैप्रति कुनै गुनासो हैन, आफैप्रति पनि।

    सबको मंगल होस्।

    No related posts.

    15 comments to माइसंसार पर्दापछाडिका केही कुरा

    • तपाई को प्रयास को प्रसंसा सबै ले गर्न पर्दछा जस्तो लाग्छ . आज बाट मा जतिपटक यो ब्लग खोल्छु तेती पटक बिज्ञापन पनि क्लिक गर्छु !

      तपाई को प्रयासको लागि आभारी रहनेछु .

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • subhash

      यहाँ सबैलाई लेख पढ्न को मात्र हतार छ राजनैतीक कुरा गर्दा कमेन्ट गर्ने सयौ हुन्छन अनी ब्लग लेख्दा को कथा सुनाउदा कमेन्ट गर्ने फुर्सद कसैको छैन ।
      कस्तो बिडम्बना !!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • P4R€€N1T4

      मुरी मुरी धन्यवाद मेरोसंसारलाई | १४०० फ्यानहरु मध्यमा म पनि पर्छु होला, शायद | कुरो आयो आर्थिक सहयोगको | फ्यानहरुलाई एडमिनले समेट्न सक्नु पर्यो कसैलाई बुइ बोक्ने र कसैलाई घिसार्दै लाने कोशिश गर्नु भएन | साइट निस्पक्ष हुनु पर्यो सबैको विचार विमर्शलाई स्थान दिनु पर्यो | कुनै एक पार्टीको एक पक्षीय साइट हुनु भएन | फ्यानहरुले आफ्नो विचार प्रफुस्ट रुपले राख्नु पाउनु पर्यो | फ्यानहरुको कमेन्टलाई काखा र पाखा गर्नु भएन | फ्यानहरुले विचार आदान प्रदान गर्ने क्रममा बिशिस्ट व्यक्तिको पगडी एउटालाई मात्र दिनु भएन | यो साईटमा बिशिस्ट व्यक्तिहरुको स्थान भए जस्तो मलाई आभास हुन्छ | हुन् त म यसबारे अनविज्ञ पनि हुन् सक्छु | तर वहाहरु यस साइटको अति नै बिशेष ब्यक्तित्वोहरुमा पर्नु हुन्छ भने, त्यसमा मेरो कोहि गुनासो छैन र क्षमा पनि चाहन्छु | किन भने नुनको सोझो त सबैले गर्नु नै पर्ने हुन्छ | अन्त्यमा यी सबैकुराहरुलाई एकातिर थाँती राखौं | सबैको आआफ्नै परिस्थिति र बाध्यता हुन्छन | जुन हाम्रो बसमा हुँदैनन् | तर पनि केहि हद सम्म फ्यानहरुलाई एकै छातामुनी ओगट्ने प्रयाश गर्नु भयो भने कसो होस्टे मा हैंसे नगर्लान र ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • सार्थक, दोहा-कतार

      साच्चै मार्मिक छ उमेश जी अनि प्रमेय जी तपाईहरुको वास्तविकता | म त धेरै पाहिलेदेखि नै तपाईहरुलाई सबै खाले सहयोग (ख़ास गरी आर्थिक सहयोग) गर्न तत्पर छु तर कसरी भन्ने कुराले नै अन्योलमा छु | आफुसंग Master Card, Visa Card वा अन्य यस्तै किसिमको डेबिट कार्डहरु छैन, अनि कुन माध्यमबाट सहयोग गर्ने ? म तपाईहरुको ब्लाग सञ्चालन लगायत स्रध्येय महाबीर पुन ज्यूको नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा बिस्तार गर्नका लागि $१ अभियानमा समेत सहयोग गर्न चाहन्छु | तर डेबिट कार्ड बिना यो कसरी संभव छ ? कसैले बताई दिनुस त |

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kamal bishwokarma

      खोई यार मित्र, हामीलाई पनि तपई ले भने झै पड़ने मात्रै ध्यान हुंचा| तर आज ता मैले सबै बिग्यापन हरु माँ क्लिक गारे नि, जे होस ……………….
      सच्चाई यो ब्लॉग ले ता हामीलाई चिया पसल वा चौतारी को झल्को मेटाई दिन्छा | एस का लागि नि हजुर ta धन्यवाद का पात्र हुनुहुन्छा |
      तपाई को काम फलोस फुलोस र फक्रियोस …………………

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Buddhama

      जीवनको ४ सत्य १.निस्वार्थ काम सम्भव नै छैन २.जस्तै काम बाट पनि बासना जागृत हुन्छा ३बसाना बदेपछी चेतना संग दोहरी पर्छ ४ यी सबको मात्र साक्षी रहन पनि सकिन्छ तर तेस्को लागि अलि बादी समय ध्यान अभाय्स मा लगाउनु पर्छ.

      सबको जय होस्.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Kiran

      पैले नै यो लेख लेख्नु पर्ने अलि ढिलो भएछ उमेश जी । ल हामी सबै मिलेर क्लिक गर्दिहाल्छौँ नि ! बरु विज्ञापनमा क्लिक गरेपछि मात्र भित्र छिर्ने बनाउन मिल्छ कि ? :)

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • Thanks dada, this made me feel content.

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • मल्ल

      सुन्य प्रतीकृया? 1400 साई संसारका फ्यान हरु कहाँ हुनुहुन्छ? आर्थीक सहयोग गर्न नसके पनी धन्यबाद त दिनसक्छौं अनी बिज्ञापनमा एकचोटी किल्क त गर्न सक्छौं

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • prem baniya

      ओ मेरो साथी,
      मलाइ गर्व छ यो कर्म संग, बढौ अघि बढौ, मेरो सुभकामना मन देखि

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Sheela

      The Mysansar Team:
      तपाइँहरुले यो देशलाइ सूचनाको क्षेत्रमा धेरै गुण लगाउनु भा’ को छ ! हामि नेपाल मा बस्नेले यो कुरा कहिले पनि बिर्सदैनौ…
      शीला, बाँसबारी काठमाडौँ, नेपाल

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • उत्तम बाबु श्रेष्ठ

      माइसन्सारको चौतारीमा गम खाँदा
      जब रहरहरु वाध्यतामा फेरिन्छन् सायद त्यहाँनेर गएर मान्छेको व्यक्तिगत जीवनको सकिएर सार्वजनिक जीवनको शुरुवात हुन्छ। मलाई लाग्छ, सायद उमेशको यो ब्लगको शुरुवात विल्कुल व्यक्तिगत रहर थियो होला, मनलागे गर्ने मन नलागे नगर्ने। अब त्यो उहाँको रहर मात्रै रहेन। दैनिक २९००० मान्छेहरुले देश देशावरबाट उनको रहर चियाउन थालेपछि अब त्यो रहर उनको वाध्यतामा बनिसकेकोछ। उनलाई ती पाठकहरुको समाचारको भोक मेट्नैपर्ने वाध्यता। कहिलेकांहि म पनि समय मै व्लग अपडेट हुन सकेन भने उनको व्यस्त स्टाटस मेसेजको पर्वाह नगरि सोधिदिन्छु खै त यो समाचार त हालेनौं त? सायद अन्य पाठकहरुको पनि यस्तै प्रश्न र गुनासाहरु आँउदो हो उसलाई। उ विरामी पनि हुनसक्छ वा उसको परिवारमा केहि समस्या पर्नसक्छ वा अन्य केहि कारणवाट उ केहि घण्टा पाठकहरुसँग अलप भएको हुन्छ। तर मेरो र उनको नाता सिर्फ उसले लेख्ने लेख वा समाचारसँग जोडिएको छ। त्यसकारण उसको व्यक्तिगत जीवनसँग म वा हामीलाई त्यसको पर्वाह हुँदैन। र सोधिदिन्छु मेलै तलव दिएर राखेको कर्मचारीलाई जस्तै तिमीले त यो काम गरेनौं नि वा आज यसको लागि ढिला भयौं नि। सायद यहि नै हो उमेशको वाध्यता। र, उमेशको व्यक्तिगत जीवनको समाप्तीको यात्रा।
      हुन त चारवर्ष भन्दा अगाडि माइसन्सारले जोडेको नाता यो चौतारी भन्दा पर एउटा धनिष्ठ पारिवारिक मित्रतामा प्रगाढ छ यतिखेर। नत्र बुबा विरामी भएर काठमाडौं अकस्मात झुल्किदँा थुप्रै पुराना साथीसंगी, पढाउने गुरुहरुसँग भेटन् समय अभाव हुँदा, हिमालयन जाभामा उमेश र कृष्णसँग केहि घण्टा समय विताउने कुरा मेरो प्राथमिकतामा पर्दैन थियो होला। जे होस् माइसन्सारले जोडेको यो नाता उमेशजीमा मात्रै सिमित रहेन, यसै व्लगका व्लगर दिपक अर्याल, स्याटेलाइट, कृष्ण ढुंगाना, दिपेश गौतम, रामकुमार श्रेष्ठ, दिपक भट्राई, देवेन्द्र भट्राई र अनलाइनखवरका धर्मराज भुषालसँग जोडिइसकेको छ, वाक्लो पातलो सम्वन्धको रुपमा। प्रमेय भण्डारी मेरा मित्रका छोरा भएपनि उनीसँग पनि यहि चौतारीमा साथीको साइनो लगाइयो।
      माइसन्सारले लगाइदिएको नाताको फेरो समातेर स्याटलाइटजी इराकबाट मसँग कितावहरु साटासाट गर्नु हुन्थ्यो। भर्खरै अमेरिका आँउदा पनि हामीलाई भेट्न उहाँ अटलान्टावाट वोष्टन आउनु भयो। कफि मात्रै खाने टाइम निकालेपनि पुग्छ सर काठमाडौंबाट स्याटेलाइटले काठमाडौंबाट उड्न अगाडि लेखेको शब्दहरु। तर यहाँ एकहप्ता हामीसँगै विताउनु भयो एउटा पुरानो धनिष्ट मित्रै झै। थुप्रै साथीहरु माइसन्सारको नाता लगाएर इमेल, फोन र व्यक्तिगत सर्म्पक गर्छन् देशदेशावरबाट। सायद माइसन्सारले जोडिदिएको नाता हो। तर उमेशजीलाई जस्तो वाध्यता मलाई छैन। मेरो लेखाइ विल्कुल मेरो मनको भावना हो जसलाई माइसन्सारको चौतारीमा विस्कुन लगाँउदा मलाई पिलो निचारेको जस्तो आनन्द आँउछ । पहिला भन्दा लेखाइमा र सोचाइ बदलिएको अभाष भएको छ र, सामाजिक दायित्ववोध बढि हुन थालेको छ।
      हुन त मैले माइसन्सारमा लेख्न कै निमित्त मेरो परिवार वा मेरो पढाइवाट निचोरेको समय त्यसैमा लगाएको भए व्यक्तिगत जीवनमा केहि प्रगति पनि हुन सक्थो यद्यपी त्यतिसमय मैले लगाएको छैन फुर्सद अनुसार लेखिन्छ। अक्सर साथीहरुबाट यस्ता सल्लाहहरु पनि पाँउछु। तर मलाई मैले नरोजेको सुख भन्दा मैले रोजेको दुख प्यारो छ यार भन्दै टारिदिन्छु। हामी आक्कल झुक्कल यहाँ झुल्किनेलाई यस्तो छ भने उमेशलाई झन् कस्तो होला। पारिवारिक छुटि्ट मनाउँदा पनि किन नहोस् उसले माइसन्सारको पाठकहरुको लागि कोशेली वोकेर ल्याएकै हुन्छ फोटो, भिडियो वा समाचारको रुपमा। काठमाडौंमा उसलाई भेट्दा उ ब्लगसामाग्री बटुल्ने हतारोमा थियो, मलाई लाग्यो यो मान्छे आफुसँगै सिंगो ब्लग वोकेर हिड्दो रहेछ।
      सामाजिक जीवन वा नेपालको संचार क्षेत्रमा माइसन्सारले गरेको योगदान करोडौं लगानीका संचारमाध्यामको भन्दा कम छैन भन्दा अतिसयोक्ति नहोला। जनआन्दोलन २ मा विदेशमा वस्ने नेपालीहरुलाई नेपालका आन्दोलनकारीको आवाजसँग जोड्न लागिपरेको माइसन्सार कहिले कोशी पिडितको आँसु पुछ्न हाम्रो सद्भावना दुत वनेर सुनसरीको वगरमा कुँदेको छ। जुलिको पढाइखर्च जुटाउन कम्मरकसेर लागेको छ, महावीर वा वाघवीरको कदमहरुसँग हातेमालो गर्न लम्केको छ, कर्ण शाक्यको सकारात्मक सोच बाड्न उठेको छ। थुप्रै उदाहरण छन् सकारात्मक कामको। मलाई जहिले पनि लाग्छ, हामीले आफुले गुमाएका मात्रै होइन, गरेका कामहरु (सानै भएपनि) प्रति गर्वानुभुती पनि गर्न सक्न ुपर्छ जसले हामीलाई खुशी भएर वाच्न सिकाउँछन्। मैले उमेशलाई यीनै कुराहरुले सझंाए।

      तर आर्थिक रुपमा जब चेप्दै लान्छ, उमेशलाई उ विचलित हुन थाल्दछ। आफुले रोपेको हुकाईएको यो चौतारो ढल्ने पो हो कि? मलाई पनि लाग्दैन जब कुनै प्रोजेक्ट आर्थिक रुपमा सवल र व्यवस्थापकिय हिसावले व्यवस्थापन गर्नसक्ने हुनसक्दैन त्यो दिर्घजिवी हुनै सक्दैन्। हामीले धेरै पटक यस विषयमा छलफल गरेका छौं तर वाटो निस्केको छैन्। मैले चिनेको उ एउटा सिर्जनात्मक पत्रकार वा लेखक हो, उ व्यवस्थापक कदापी हुनैसक्दैन। गाह्रो परेको वेलामा पाठकसँग अनुरोध गर्छ उसले रोपेको चौतारोमा एउटा इट्टा हाल्नको लागि। म सोच्छु, पत्रकारितामा स्नातकोत्तर उ डुकुभात खानै कै लागि वा परिवार पाल्न कै लागि दुनियँाको वचनवाण सहदै सहयोगको याचना गरिरहेको होला त? धेरै पटक मैले उसलाई रातीको ३ ४ वज्दासम्म इटाटसमा विजी राखेर माइसन्सारको लागि केहि गरिरहेको भेटेको छु। उसलाई पनि मलाई जस्तै लाग्दो हो मैले नरोजेको सुख भन्दा मैले रोजेको दुख प्यारो छ ।

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Anjin Chhetri

      सबैको संसार एस्तै छ माईसंसार मात्र होइन. केहि पाउन को लागि केहि त गुमाउनै पर्यो नि!
      तैपनि तपैहरुले गर्नु भएको परिश्रम प्रति मा आभार ब्यक्त गर्दछु. महान छ, निरन्तरता दिइरहनु होला, जस्तो सुकै कठिनाई परे पनि…. अन्धकारै अन्धकार को रात पछी नै सुनौलो बिहानी आउछ….

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • anita

      tapahi haru le kama gareko dehari dehari ramro kama ho. tapahi haru kasari matari samaya nikale garanu hunacha believe garanai garo cha. tapahi हरु गरेर नै dherai नै कुरा जान्न payako chu. tesako lagi dherai dherai thanks.
      ma tapahi ko website nakhole din नै chaina. hareko bihana 6 baje aagadi नै kholachu. tapahi kama ko lagi dherai dherai thanks. kama garada garo namanus, kasahile nadekhe pani god le dekhacha. je huncha ramro नै huncha.

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • बीर

      उमेशजी र प्रमेयजीलाइ म के भन्न चाहन्छु भने, हरेश नखानुस, जीवन एउटा संघर्ष हो, कोशिस मात्रै गर्दै जानुस एकदिन तपाईहरुको कोसिस र मेहनतको फल अबश्य मिल्ने छ | तपाइहरुले गर्नु भएको सहयोगको आह्वानलाइ कसै कसैले Negative comment गरेता पनि त्यसमा दुख नमान्नु होला, किनकि सबैको सोचाई एकै खाले हुदैन र सबैलाई खुशी कसैले पनि पार्न सक्दैन, तर यदि तपाईहरुले बहुमत पाठकहरुलाइ खुशी पार्न सक्नु भयो भने त्यहिँ नै सफलता हो, त्यसैमा तपाईहरु संतोष हुनु पर्दछ | साथै कुनै कुनै साथीहरुले माइ संसारलाई अलिक माओबादीतिर झुकाव भएको भन्ने गुनासो गरेको देखियो, मलाई पनि कहिले काँही त्यस्तो महसुस नभएको त होइन, तर यो हाम्रो भ्रम मात्र पनि हुन सक्छ, यदि त्यसो हो भने कृपया त्यसो नगरिदिनु होला भन्ने अनुरोध गर्दछु | किनकि त्यस्तो भएमा तपाइको ब्लगले माओबादी समर्थकहरुको सहानुभूति त पाउला तर अन्य पाठकहरु पलायन हुनेछन् जुन कुरा माइ संसारको लागि राम्रो होइन | अन्तमा माइ संसारले सदा निष्पक्ष र तटस्थ रही उत्तरोत्तर प्रगति गरोस, यहि मेरो शुभकामना |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    eXTReMe Tracker