Users Stat

Users Online.
Best VOIP MD, VA, DC Tax Preparation

युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

eXTReMe Tracker


Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

उखाने लामा

‘हैन हे, हस्पिटल नै लानुपर्ने गरी कुटाकुट पो भएछ त।’ थुम्कोका चियापसले शम्सेर दाइले तराजुमा ढक राख्दै मंगलेसामु चासो जाहेर गरे। खासमा कुरो साँध सिमानाको रहेछ। पाखाथोके कान्छो र साँइलोको गत शुक्रबार साँझ खेतको सिमानाको विषयमा हात हालाहालै भयो। देख्नेहरु भन्छन् , ‘दुवैले सकेसम्म एकअर्कालाई भकुरे। साँइलाले त कोदालाको बिँडले नै पो हान्यो रे त।’ पछि सरस्वती ग्राम प्राविका शिक्षक परशुराम यादव आएर छुट्याए रे। मंगले चिया सुरुप्प पार्दै बोल्छ, ‘हो शम्सेर दाइ, मैले पनि देखेको थिए माथी चौताराबाट। बोकाएरै लगेका छन् कान्छो काकालाई आज विहान अस्पताल। शुक्रबार कुटाकुट भाको, आज मंगलबारको दिन भो। केस ‘सिरेस’ होला जस्तो छ।’

टुप्लुक्क टुप्लुक्किए उखाने लामा। उखानतुक्का मिसाएर गफ हाल्न सिपालु सिंहबहादुर लामाको नाम कालान्तरमा उखाने लामा भो। ‘आ….’ पसलभित्र छिर्दानछिर्दै लेघ्रो तान्दै बोले उनी, ‘अंशको झगडा बंश भएसम्म।’ घेवा, अर्घो, छेवर, बिहेबर्तुन र अन्य सामाजिक अवसरमा गाउँमा जोसुकैका घरमा कहिल्यै कतै नछुटने यी ‘अजम्मरी बुढा’ डाँडोको यो पसलमा झुल्किएपछि डाँडाको ताल नै अर्कै हुन्छ। स्वादे गफमा गफिन सौखिन बुढाले नब्बे बशन्त काटिसके। तैपनि उस्तै तगडा। नौरंगी गफ गर्ने बुढाको सान र रवाफ बेग्लै। उखाने भन्छन् , ‘कौमदी पढेका बाहुनलाई समेत खान्छु भाषा साइत्तेमा। म तमाङ भनेर हुन्छ र?’ हुन पनि गाउँका कुनै पण्डितले समेत बुढालाई नसक्ने। यिनलाई देवकोटाका मुनामदन कण्ठस्थ थियो। भानुभक्तको रामायण आदीसरो आउँथ्यो। धम्मपद र त्रिपिटकका क्रृचाका ज्ञान भएका गुनिला यी लामा यतिखेर कुराको चुरो समात्दै बोल्छन् , ‘माने, मरेर के लानु छ र। के भएको यी पाखाथोकका दाजुभाइलाई?’

दिन विस्तारै ओइलाउँदो छ। शम्सेरको पसलको बाटो हुँदै मान्छेहरु उकालो लाग्ने क्रम बढ्दो छ। पसलमा चिया, मसला, चिउरा, नुनचिनी र अन्य खिच्रीमिच्री किन्नेहरु बढ्दो छन्। डाँडाको यो पसलले दुई दशकको चौडा इतिहास पार गरेको छ। सदावहार शम्सेर दाइको पसल। सधैँ सफेद पहिरनमा ठाँटिने हँसिला सबैका प्यारा ‘शम्सेर दाई।’ मिस्रीको डल्लो ढकमा राख्दै शम्सेर बोले, ‘खेतको आँठोको विचमा एउटा खर्सेताको बोट छ रे। हेर्नुस् है, मैले त यो कुरो चन्द्रदेव शुवेदी सरबाट सुनेको। दुवै भाइले खर्सेताको बोट मेरो भनेर दावी गर्दारहेछन्।’ झगडाको कारण एउटा बुटो रहेछ। उखानेले थपिहाले, ‘माने ..आँठोको गाँठो, के ल्याइस् लाठो?’

एउटा मामुली घाँसको बुटो झगडाको कारण भइदिन्छ। त्यसमाथी उति पढेलेखेको पाखाथोके कान्छो। गाउँमै रहेरै पनि स्नातकसम्मको अध्ययन भ्याइसकेको कान्छोको कमाइ कुस्त छ। ठेकेदारी गर्छ। साइँलोलाई पनि नपुग्दो के छ? गाउँमा सडकबाटो आएपछि उसका पनि दिन फिरेका छन्। छोरी सरकारी जागिरे। बेमौसमी तरकारी खेती गरेरै वार्षिक लाख हाराहारी कमाउँछ। तर पनि आरिस र लोभ गंगाजस्तै नटुंगिने रहेछ। भाग र वण्डाको माम्लो नै महंगो। शायद यो मानविय प्रवृत्ति नै पो हो की? तर मानविय प्रवृत्ति नै यही हो भनेर पार पाउँछौँ र हामीजस्ता चेतनसिल प्राणीले?

जगत सबैको हो। त्यो आकाश भाग लाउन मिल्छ? चन्द्रमा कसको? बुध? मंगल? ती अनगिन्ती तारा? अनि सम्पुर्ण ब्रम्हाण्ड? यो हावा? यी आकाशमा वेपरवाह कावा खाने चराहरु कसको सम्पती? हामी हिड्ने बाटो कसको? तर पनि मान्छे छोटो अस्तित्वमा नै धेरै कुराहरु भाग लगाउन खोज्छ। एउटा खर्सेताको बुटो। ‘यी मेरा, यो मेरो। मेरोमा अरुको हकदावी र स्वामित्व हुनुहुन्न।’ यसले के गरेको छ? उही बैमन्यष्यता, द्धन्द्ध र हिंसा। ‘बसुधैव कुटुम्बकम्’को पुर्विय आह्वान कहिले सार्थक होला?
‘माने, ठ्याक्कै हो।’ केही सम्झझैँ गरी शम्सेरलाई चार कप चियाको जंगी उर्दी जारी गर्दै उखाने बोले, ‘यो संविधान बनाउने कुरो जो देशमा भइराछ, ठ्याक्कै त्यहि हो।’ बुढाले जतापटिबाट पनि राजनितीकै कुरा निकाल्छन् झैँ भावमा उपरखटि्ट लगाएर काठको मेचमा बसेका साहुजी शम्सेर मुसुक्क हाँसे। पसलबाहिर आइपुगेका रहेछन् चन्द्रदेव सुवेदी सर। सरस्वती प्रावीका चार दशकदेखीका शिक्षक।
‘उखाने दाईको गर्जन पारी डाँडाबाटै सुनेकोले यता आएको। के हो कुन्नी ‘ठ्याक्कै हो’ भन्दै हुनुहुन्थ्यो। कुरो के हो लौ भनिहाल्नुस्।’ चन्द्रदेब सरले ढाका टोपी फुकाल्दै बोले, ‘कस्तो गर्मी भो हँ।’ अब भने खास्सा भयो पसलको माहौल। कुरोमा ‘चाइन्जो’को फुँदो जोड्दै मंगले बोल्यो, ‘लौ भनिहाल्नोस ए उखाने बा। त्यो ‘ठ्याक्कै’ भन्या के हो त?’

उखाने बोले, ‘माने, देश बनाउनु र घर बनाउनु एकै हो हेर्। सबैका मत मिले पो मस्ताराम। अहिले संविधान बनाउने कुरो जो भइराछ देशमा, त्यसको कुरो पनि यहि हो। साइँला र कान्छाको जस्तै झगडामा छन् हामीले भोट हालेका पाटी र तिनका ‘मुख्खे’हरु अहिले। मेरा गोरुका बार्‍है टक्का गर्दैछन् तिनीहरु। उतीबेला हाम्ले त्यस्ता दुखले चुनाउमा जिताएर पठायौँ। दुक्खका कुरा।’ चिया आइपुग्यो। चियाको गिलास सम्ाात्दै मंगले बोल्यो, ‘अनि यो आँठो र सिमानका कुरा चाहीँ कहाँनिर आयो त ए उखाने बा?’

‘हैन ए तैँले कति पढेको रे?’ चिया सुरुप्प पार्दै उखाने जंगिए, ‘कखरा नास्ती, गुरुबालाई सास्ती भनझैँ। मैले तलाई कतिचोटी भने ए। देशमा चलिरहेको संघियताको बहस जो छ , त्यो पनि यस्तै यस्तै भाग लाउने कुरा हो…। किन्तु योचाहीँ विकाशका लागी सजिलो पार्न र आफ्नोपनाका लागी देशलाई भिन्नभिन्न प्रदेश र प्रान्त बनाउने कुरा हो।’

‘लौ मनकै कुरो बोल्नु भो दाई। म बुढो मास्टर भइखाएर पनि यतातर्फ सोचेकै थिइन। यो संघियताको कुराले पनि कतै यि दुवै भाइको झगडाले झैँ देश फेरी बर्वाद हुने त होइन?’ , चन्द्रदेव सर बोले, ‘एउटा एकिकृत देश हुँदा त यो हंगामा छ। अनेक भागमा देशलाई बाँड्दा, कतै?’ यी दुई प्रौढको चासो र चिन्ता वास्तवमै अब्बल थियो।

बहसको विचमा थपिएको थियो हर्के। ठुस्स जाँड गनाएको उसलाई त्यो नसाले छ्वास्स छोएझैँ लाग्थ्यो। हल्का लर्बराउँदो स्वरमा माहौललाई विथोल्दै बोल्यो उ, ‘लौ भन्नुस् , त्यो जाबा चुनाबले हाम्लाई के दियो? भन् त मंगले, के दियो? के खान दिन्छ त्यो के के सभा रे? जे सुकै होस्। त्यो सभासभाले केही गर्दैन।’ उसले संविधानसभा भन्न खोजेको थियो। शम्सेर दाइले गौर गरेर आँखा तरेकाले हर्के चुप लाग्यो।

कायाले मात्र होइन, कर्मले समेत पाका उखानेसँग विवेकी तर्कको कमी थएन। अन्ततर्मनले बोलेको कुरा बाणीमा उतार्थे, ‘ माने, चन्द्र गुरुको कुरा सोर्‍है आना मनासिव। देशलाई भिन्नाभिन्नै प्रान्त र प्रदेश बनाउँदैमा सब ठाकठुक हुन्छ भन्ने कुरो त कसले मान्ला? त्यो त म पनि मान्दिन तर…’ बुढा रोकिए, ‘तर स्थानिय स्तरमा आफ्ना, सँस्कृति, पहिचान, श्रोत र साधनको परिचालन गर्न त्यहीँका मान्छेलाई विशेषाअधिकार दिइनुपर्छ भन्ने संघियतावादीहरुको कुरो भने मलाई मनासिव लाग्छ। यहाँलाई…..।’
यतिखेर भने अघिसम्म मौन शम्सेर दाई समेत बहसमा गम्भिर ढंगले सहभागी भए। शम्सेरका तर्क यस्ता थिए, ‘संविधान नभएकै कारण मात्रै हामी नेपाली गरिवीको सुचीमा अगाडी परेका हौइनौँ। बेलायतमा लिखित संविधान छैन। संघसंघ भाग नलागेकै कारण हामी विकाशमा ढिला भएका हौँ र? संघियता नभएका देश धेरै छन् विश्वमा। त्यसकारण यो मात्रै राजनितीकर्मीको जनता बराल्ने नारा हो। जनतालाई जे भए नि उस्तै, जो आए नि उस्तै।’
सरल शम्सेर केही उत्तेजित देखिए। वास्तवमा शम्सेरको तर्कमा केही दम अवश्य थियो, छ। तर पनि राजनितीप्रतिको उनको वितृष्णा र आवेगलाई त्यहीँ रहिरहन दिँदा पनि देश त बन्दैन, झनै भताभुंग हुन्छ। र, आजको नेपालको कुरा गर्ने हो भने जो कोही नेपाली पनि यो वास्तविकताबाट भाग्न मिल्दैन कि हाम्रै कुसलताले या अथवा अदक्षपनाले आजको स्थिती आइपुगेको हो। विश्वसँग प्रतिस्पर्धी देश बनाउन, विश्वनगारिकसँग कुममा कुम मिलाएर हिँड्ने नागरिक बन्न हामीले नै अब चितुवाको गति समात्नु छ। कमिलाको एकता, धैर्य र अठोट बोक्नु छ। संविधान बनाउनकै लागी नागरिकको उत्रो धन, ज्यान र परिश्रम खर्चिइएको छ। अब संविधान निर्माणको यो महायज्ञ सम्पन्न नगरी त कसले पो राहत पाउला?

यो राजनैतिक मन्थनको माहौलामा हर्केको ‘आल्कोहालिक डिस्टब्यान्स’ बेलाबेला दोहोरिन्थ्यो।
‘ऐ शम्सेर , तँ मुला जन्मदा त म गोरु जोत्ने लाठो भइसकेको थिएँ। सुन कुरा।’ बुढाले संविधान निर्माणको बारेमा भट्याए , ‘ माने , कुनै पनि कुरालाई एकपक्षिय कोणबाट हेर्नु हुँदैन। हाम्रो गेम्मो डाँडाको गुम्बामा पनि त चार ढोका छन् नि। एउटा ढोकाबाट हेर्दा बुद्धको चेहरा, अर्कापटिबाट हेर्दा बुद्धको ढाड। सबैकुरा त्यहि हो। अहिलेसम्म इतिहासमै नेपाली जनताले आफ्नो संविधान कहिल्यै लेख्न पाएका थिए? थिएनन्। अहिले चानस मिल्या छ। एतिखेर जनताले आफैँले आफँैलाई सार्वभौम घोषणा गरे। संविधान बनाउने कुरो त्यही अधिकारको प्रयोग होइन? यो अनमोल प्राप्ति हो। हो संघियताको सवाल एउटा गम्भिर सवाल हो, त्यसमा त अझै छलफल हुनु जरुरी छ। ‘

चन्द्रदेवले थपे, ‘हो, तर समय घर्कन लागिसक्यो त। अब त कति नै महिना बाँकी छ र संविधान बनाउने म्याद सकिन? खोइ त यि दलहरु गम्भिर भएका? संघियताकै सवालमा यिनीहरु मतैक्य छैनन्। सवैका आआफ्ना डम्फु।’

पसलमा झुल्किए पर्शुराम यादव सर। बोले, ‘जयरामजीकी।’ उनैसँग कुरा राखे उखाने बुढाले, ‘लौ थपिदिनुस् मास्टर साप, यो संघियताको कुरो…।’ उनी अन्कनाए। ‘मैले यहाँहरुको जो गफै पुरा सुनेको छैन त कहाँबाट शुरु गरुँ? किन यस्तो फसादमा पारिदिनुहन्छ?’ अनि बोल्न थाले, ‘मलाई संघियताको कुरो सोध्नुहून्छ भने म केही कुरो राख्छु। सुन्नुस्। भारत पनि त संघिय मुलुक नै हो। म जन्मेको बारा जिल्ला जो छ, त्यसको सिमानामै जोडिएको देश हो भारत। तर के भारतका सबै संघ समृद्ध छन्? सम्पन्न छन्? त्यहाँ गरिवी छैन? त्यस्तो होइन। मैले नजिकै दखेको कुरो बोलेको। म पढाउने शिक्षक, मैले जानेको यत्ति हो। होलान् अरु देशहरु जसको भुगोल, जनशंख्या, जमिन जटिल र विशाल भएका कराण उनीहरुले संघिय व्यवस्था रोजे होलान्। तर म भनु? संघिय व्यवस्था सबै कुराको दवाई होइन। फेरी जातिय र क्षेत्रिय आधारमा संघ नभई नहुने खालका जो कुरा छन् , त्यो उति वान्छनिय लाग्दैन।’ यति भनेर टेबलमा रहेको करुवाको पानी सिनित्त पारे र पर्शुराम सर बोले, ‘लौ शम्सेर दाई, नास्ता बनाइहाल्नोस्।’

अल्छे मंगलेले लाज पचाएर बोल्यो, ‘पर्शुराम सर आउनु भो र नास्ता पाक्ने भो। लौ शम्सेर दाई , पर्शुराम सरकै तर्फबाट मलाई पनि नास्ता है।’ ‘आज पनि यो मंगलेले फेरी सित्तैमा खाने भो’ भन्ने भावमा देखिए पर्शुराम सर। बरा, प्रावी शिक्षक। त्यसमाथी कमाई एक्लै खान पाउनु होइन। एक छोरा र श्रीमतीलाई उता मधेसमा पनि पैसा पठाउनै पर्‍यो। फेरी सरको बानी कस्तो भने कसैले खाउँ भन्दा नाईँ भन्न नसक्ने।

खुइय सुसेल्दै उखाने बुढाले गफलाई गति दिए, ‘माने, दुवै सरको कुरा ठिक। तर कर्णालीजस्ता अंचल जो राज्यबाट सधैँ उपेक्षित छन् , तिनलाई भने यो संघिय व्यवस्थाले फाइदै गर्छ क्यार। तर..’ रोकिएर बुढा बोले, ‘संघियता चाहिने, नचाहिने, कस्तो खालको व्यवस्था ठिक हुने भन्ने कुरोको ठेगान पढेगुनेका र देश खाएकाहरुले लगाउने कुरो।’ अनि झल्याँस्स भएझै गरी बुढा बोले, ‘लौजा… के गर्न हिँडेको…गफैमा भुल्यो। उता भोलीको धान काट्ने मेलो छ। खेताला खोज्न हिँडेको वर्वादै भो। लौ म त हिँडे। जब पर्‍यो राती अनि बुढी ताती।’
हिँड्दाहिँड्दै बुढाले औँलो ठड्याए, ‘तर एउटा कुरो….अरुलाई जिस्काए नि जातलाई नजिस्काउनु भन्छन्। सयभन्दा बढि भाषा र जात भएको यो देशमा जातैपिच्छे राज्जे बनाउने कुराचाहीँ मलाई पनि नसुहाउँदो लाग्छ। बुझ्यौ?’। बुढाले घर फर्कने निधो गरे। घर फिर्न सल्लेभीरको छोटो ओरालो ओर्लनु पर्थ्यो। बाटामा गाईबाख्राका हुल र तिनका गोठाला, मेलाबाट फर्केका खेताला, घाँस र सोत्तर बोकेर उकालिएका घँसियाहरु भेटिन्थे। उता डाँडापारी डुब्नै लागेको घामको पृष्ठभुमीमा बरचौतारीका बोट अप्रतिम सुन्दर देखिन्थे।

सन्ध्याको सितलतामा बुढालो बाटामा एउटा युगल जोडीको स्वर सुने, ‘ङाला माया आरु आइन, म्हेन्दो राडबा, एभन्दा नक्कले खाना याङबा?’ (मेरो माया अरु होइन, फुलजस्तो, तिमीभन्दा नक्कले कहाँ पाउनु?) बुढाले मनमनै मायाको यो गीतलाई पनि देशसँगै जोडे। सोचे, ‘यो जोडीको प्रेमजस्तै मेरो देशमा रहेका सबै जातजातीका दाजुभाइदिदीबहिनी सधैँ हाँसिरहुन्।’ रौसै बुढालाई गीतले छोएछ क्यार, गुन्गुनाउन थाले, ‘ङाला माया आरु आइन् …’

Related posts:

  1. सन्तोष लामा बने नेपाली तारा
  2. कथाः कठिन यात्रा
  3. कथाः सिरक
  4. कथाः सिद्धान्तवादी
  5. अफगानिस्तानको कथाः द काइट रनर

16 comments to कथाः उखाने लामा

  • Ananta

    प्रकाशजी तपाइंको यो साह्रै राम्रो लेखलाई हृदयदेखि नै धन्यवाद / तपाइंको कलम नारोकियोस/
    अनन्त

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • bakhane

    आफुले र आफ्नो जातले मात्र खान पाउदा र अरुलाई नेपाली सरह पनि नगनेर
    यतिका बर्षहरु पाखा लगाउदा नेपाल फुटाएको थाहा पाएर पनि वास्ता नगर्ने र अहिले आएर जनजातीले आफ्नो समान अधिकार लिन खोज्दा देश विभाजन भो रे|

    माने,
    आफुले मात्र खान पाउदा मेरो देश,
    अरु संग मिलि जुली खान पर्दा पार्ने भो शेष|

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • naresh

    राजनीति गर्ने म नेता कमाउनु छ मानु,
    जात जातीलाई न उठाए कसरी खानु !
    देस को माया मैले किन गर्नु छ र ,
    तेसैले त नाम पनि राखेको छु प्रचण्ड!
    उखाने बुडा जस्ता को गयो जमाना,
    देस कसरी भाड्ने भन्ने गर्दै छु ताना बाना!
    लेखमा मन पर्ने पात्र रैछ यौटा हर्के
    मैले पनि जन्मा को छु तेस्तै यौटा प्रकाशे!
    — प्रचण्ड

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 2

  • गोबिन्द

    १००० योग्य र विद्वान व्यक्त्ति को मृत्यु ले देशलाई केहि घाटा हुदैन तर एउटा अयोग्य व्यक्त्ति ले शान सत्ता सन्चालन गरेमा देश डुबाउछ…र हाम्रो देश मा यहि हुदैछ… दिनको दोगुना रातको चौउगुना देश डुबी राखेको छ ..|

    मन परे हरियो, नपरे रातोः Thumb up 4 Thumb down 0

  • सुरज श्रेष्ठ

    धेरै लामो लेख !
    सुरज श्रेष्ठ

    मन परे हरियो, नपरे रातोः Thumb up 1 Thumb down 1

  • Ananta

    धेरै धेरै धन्यवाद प्रकाशजीलाई. समसामयिक र चोटिलो संदेश मुलक कथा लेख्नुभएकोमा , कथाका मुख्य पात्र उखाने लामाका भावनाहरु मीडिया र भाषन्हरुमा धेरै धेरै आइरहुन. यो राम्रो विचार सबै नेपालीहरुमा पुगोस सबैले मनन गरौँ अनि त जनताले बल्ल दुस्ट हरुको प्रतिकार गर्ने छन्. हामी भडकिलो नारामा उत्तेजित हुनु पर्थेन जसमा नेपालीको स्वार्थ होइन अरुकै स्वार्थ लुकेको हुन्छ आज लेख पढेर भएपनि सितल महशुश भयो.उत्तेजित लेखहरुले पनि हामीलाई नया के दिएका थिए र?
    Ananta

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 0

  • Binodbikash/UK

    आर्को एउटा सान्धर्विक लेख आस्थाजी ! धेरै राम्रो छ !

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 0

  • Sundar

    mysansar team became very lazy to update news on these days .

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 1

  • Raj

    नेताहरुले चरित्र सुधारेमा देश सुध्रिन्छ – नत्र भने जस्तो बनाएपनि अहँ…बन्दैन

    मन परे हरियो, नपरे रातोः Thumb up 0 Thumb down 2

  • दुर्गा प्रसाद खनाल पांचथर

    उखाने लामा को भनाइ सापट लिन सान्दर्विक लागो ” तर एउटा कुरो….अरुलाई जिस्काए नि जातलाई नजिस्काउनु भन्छन्। सयभन्दा बढि भाषा र जात भएको यो देशमा जातैपिच्छे राज्जे बनाउने कुराचाहीँ मलाई पनि नसुहाउँदो लाग्छ। बुझ्यौ? ”
    उखाने लामा जस्ता विचार भएका नेपाली को खाचो नेपाल मा छ ! हिजो को लेख मा डाक्टर लाल जातिको वकालत गर्दै हुनुहुन्थेयो ! आज प्रकाश सर को यो लेख कता कता हिजो को लेख लाई झापड या सुजाब हुन सक्छ!
    साथै लेखक पनि नेपाल को यो परिस्थिति देखी चिन्तित भएको प्रस्ट छ ! घुमाउरो सब्द मा ब्यक्त यो लेख मार्मिक छ तर एक पटक पड्दा मैले चै बुजिन र २ पटक पढे अनि यो कमेन्ट लेखेको हो ! “संघियता” को अर्थ फरक फरक लगाउनु नै यो परिस्थिति आउनु हो यदि “संघियता” को उचित अर्थ मा लिने हो भने “संघियता” नेपाल मा राम्रो हुन्छ तर जातियता मा होइन भूगोल को आधार मा गर्नु पर्छ ! जातियता मा दिदा पनि जुन जाति को बहुलयता छ उसको हालीमुहाली हुन्छ र साना अल्पसंख्यक जाति समस्या मा पर्छन या भुटान मा जस्तो हुन सक्छ !
    अन्त्य मा “ङाला माया आरु आइन, म्हेन्दो राडबा, एभन्दा नक्कले खाना याङबा “

    मन परे हरियो, नपरे रातोः Thumb up 13 Thumb down 4

  • palpali mgr-Tara

    खोइ त बर्ष दिन बित्नै लाग्यो भाईहरु फुटेर जुट्ननसकेको ए होला होला भन्दा भन्दै अब संबिधान बनाउने भन्नेकिरा पनि चुहिनै लागि सक्यो हामी सबै मिल्नु पर्छ गर्नु पर्छ त भनिन्छ खोइ त………………………………..

    मन परे हरियो, नपरे रातोः Thumb up 3 Thumb down 2

  • sanjaya

    “भाई फुटे गवार लुटे” त्यहिँ हो सबै मिल्नु पर्छ देशको हितको निम्ति र त्याग गर्न सक्नु पर्छ, व्यक्तिगत स्वार्थमा देशको सौदा नहोस /

    मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 22 Thumb down 2

  • Bikram

    कथा एकदम समसामहिक छ, बिषय बस्तु को छनौट र प्रवाहको तालमेल देखिन्छ | लेखक लाई धेरै धन्यबाद |

    विक्रम
    थाइलेडं

    मन परे हरियो, नपरे रातोः Thumb up 7 Thumb down 4

  • सार्थक, दोहा-कतार

    प्रकाश आस्था जी,

    तपाइको कथामा नेपाल प्रतिबिम्बित छ | उखाने बुढाले गुनगुनाएको गीत जस्तै होस् मेरो मातृभूमि, मेरो देश नेपाल:

    “ङाला माया आरु आइन, म्हेन्दो राडबा, एभन्दा नक्कले खाना याङबा”

    गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 13 Thumb down 5

  • BIBAS GHIMIRE

    good , thankx for your write

    मन परे हरियो, नपरे रातोः Thumb up 2 Thumb down 9

  • sujan

    मेरो बिचार “संघियता” बिकट पाखारेखा मा दृष्‍टि पुर्याउने आँखा हो। “उखाने लामा” ले भनेझै एउटा ढोकाबाट हेर्दा बुद्धको चेहरा, अर्कापटिबाट हेर्दा बुद्धको ढाड त देखिन्छ नै तर पनि समानुपतिक बिकास को लागि यो नै उत्तम बाटो हो। जसरी एउटै बगैचा मा धेरै फुलहरु फुलेर बगैचामा सुन्दरत तथा सुगन्द छर्छन, त्यसरी नै हामी सारा नेपाली जाती, धर्म, लिङ्ग, भाषा, भेसभुसा, पेशा आदी लाई दोन्दात्मक पर्तिस्पदा नगरिकन सास्कृतिक तथा ब्यबसाहिक पर्तिस्पद गर्ने हो भने अबश्यनै “संघियता” लाभदायक हुनेछ। तर, उखाने लामाकै शब्द मा “अरुलाई जिस्काए नि जातलाई नजिस्काउनु भन्छन्। सयभन्दा बढि भाषा र जात भएको यो देशमा जातैपिच्छे राज्जे बनाउने कुराचाहीँ मलाई पनि नसुहाउँदो लाग्छ।”

    मन परे हरियो, नपरे रातोः Thumb up 11 Thumb down 5

Get Adobe Flash playerPlugin by wpburn.com wordpress themes