नेपाली राजनीतिलाई लामो समयसम्म सकारात्मक वा नकारात्मक जुनसुकै पक्षबाट भए पनि केन्द्रमा राख्न सफल गिरिजाप्रसाद कोइराला रोगले झन् झन् गल्दैछन्। उनका बारेमा नराम्रा हल्ला फैलिएको यति धेरै पटक भइसक्यो कि अब साँचो कुरा कसैले सुनाउँदा पनि नपत्याउने हो कि भन्ने भान भइसक्यो। पोहरपरार पनि उनी बिरामी हुन्थे। तर यस पटक मानसिक रुपमा पनि उनी कमजोर भइसकेका छन्। केही अघि राष्ट्रसंघीय उपमहासचिवसित भेट्दा उनले आफू जीवनको अन्तिम क्षणमा रहेको बताएका थिए। मानसिक रुपमा कमजोर हुनु चिन्ताको विषय हो।
उनलाई गत साता अस्पतालबाट घर फर्काइएको थियो। तर उनको स्वास्थ्य राम्रो भएर हैन, स्थितिमा केही सुधार आएको र उनले अस्पतालमा बस्न रुचि नदेखाएकोले उनलाई डिस्चार्ज गरिएको थियो। बिहीबार रातिदेखि अचानक उनको अवस्था गम्भीर भएको छ। अस्पताल जान नमानेकाले उनलाई घरैमा विशेष कक्षमा उपचार गराइएको छ। घरमा नै आईसीयुको जस्तो सुविधा दिने भनिएको छ। स्थिति अझ बिग्रिए उनलाई कृत्रिम श्वास प्रणालीमा राख्ने तयारी पनि गरिसकिएको छ। टेलिभिजनहरुले उनको घरअगाडिबाट राति अबेरसम्म उनको स्वास्थ्यबारे प्रत्यक्ष प्रसारण गरिरहेका छन्।
पहिले भए हल्ला हुँदा फोटो र भिडियो खिच्न दिइन्थ्यो। तर यस पटक उनी बसेको कोठामा त के, घरको गेटभित्र पनि पत्रकारहरुलाई पस्न दिइएको छैन। मन्त्रीहरुले समेत हिजो उनलाई भेट्न पाएनन्।
नेपालको राजनीति र शान्ति प्रक्रिया एक गम्भीर मोडमा पुगेको बेला अभिभावकीय अनुभवको आवश्यकता महसूस भइरहेको बेला उनी कमजोर बनेका छन्। तथापि उनको सक्रियता केही अघिसम्म पनि उच्चस्तरीय संयन्त्रका सयोजकका रुपमा रहिरहेको थियो।
चिकित्सकहरु भरमग्दुर प्रयास गरिरहेका छन्। चिकित्सा विज्ञानद्वारा संभव हरउपाय उनका लागि प्रयोग भइरहेका छन्। तीन चिकित्सकको निरन्तर निगरानीमा उनी छन्। तर पनि उमेरका कारण उनी दिनप्रतिदिन गल्दै गएका छन्।
उनको स्वास्थ्य लाभको कामना !
[यो ब्लगमा मानवीय संवेदनाविहीन प्रतिक्रिया आउन थालेकाले यसमा प्रतिक्रिया दिन बन्द गरिएको छ]
No related posts.









Recent Comments