मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कथाः अदृश्य मूर्ति

    विन्दु सुवेदी

    जापान छोडेको यतिका वर्ष भइसक्दा पनि मलाई त्यो देश मानव विम्बहरूमा आइरहन्छ। त्यहाँ भेटेका मानिस र तिनका कथाहरू अहिले पनि पटकपटक क्षितिज जस्तै खुल्छन्। मैले अत्यन्त नजिकबाट चिनेको एउटी जापानी महिलाको जीवन कथा र तिनको कला र जीवनका नछुट्टिने रेखाहरू मेरो सामु विशेष सम्वेग बोकेर आइरहन्छन्।

    टोकियो सहरको मुटु हो गिन्जा। जापानीहरूको लागि गिन्जाको महत्त्व नै बेग्लै छ। गिन्जाका सडक नाप्ने पाइलाहरूको चाल नै अर्कै। संसारको सबैभन्दा महङ्गो सहर टोकियोको पनि सबैभन्दा महङ्गो बजार गिन्जा। यही गिन्जाको सहायक बाटोमा केही पुराना घरहरू पनि छन्। सय, डेढसय, दुई सय वर्ष पुराना। तिनैमध्ये एउटा घरको एउटा तलामा म पाठकलाई लिएर जाँदैछु।

    पुरानो तीनतले घरको दोस्रो तला। काठको भर्‍याङ उक्लिएपछि केही होचा दलिनहरू भएका लामा लामा दुई कोठा लिउन लगाएर चिल्लो पारिएका भेटिन्छन्। भित्ताहरू हलुका पँहेलो रङ्गले पोतिएका मुख्य सडकको चहलपहल र हल्लाबाट अलिक अलग वातावरण भएको शान्त कोठामा बग्ने हावासँगै मधुर सङ्गीत पनि खेलिरहेको मौन भित्ताहरूमा टाँगिएका थुप्रै चित्रकलाहरू। आधुनिक चित्रकलाभन्दा जेन शैलीका चित्रको बाहुल्य छ त्यहाँ। ढोकाभित्र पस्नासाथ देबे्रतिर एउटा काठको टेबल छ। टेबलमाथि साना–साना चाङ लगाएर राखिएका मिनिएचर चित्रकलाहरू छन्।

    टेबलसँगै एउटा अग्लो, सोझो ढाड पारेर अडेसा लाग्न हुने गोलो बस्ने चक्का भएको मेच छ। केही कुराहरू भनिरहे जस्तै, मनमा सुटुक्क बसे जस्तै, चुपचाप समयको हावा खेलिरहेको चित्रकलाहरूको उपत्यकामा कहिले मेचमा टुसुक्क बस्ने, कहिले जुरूक्क उठेर ग्यालरीको वल्लोछेउदेखि पल्लोछेउसम्म टहलिरहने, कति कति बेला टेबलका पोष्टकार्डहरू मिलाइरहने र एक डेढ घण्टाको फरकमा घडीको सुईमा आँखा पुर्‍याइरहने, अग्ली, गोरी, लामा–लामा कैला केश भएकी एउटी नारी छे। ऊ कायोको हो। पूरा नाम कायोको तावाता। यस ग्यालरीकी स्वामिनी।

    कायोको ग्यालरीको रेखदेख गर्छे। बेलाबखत अमुक, चित्रकारहरूको कला प्रदर्शनी आयोजना गर्छे र अरू समयमा जापानी चित्रकारहरूका कला बिक्रीका लागि ग्यालरीमा सजाउँछे। उसकेा ग्यालरीमा देशी–विदेशी कलाप्रेमीहरू आइरहन्छन्। कोही कलाकृति अवलोकनको लागि मात्र आउँछन्। कोही किन्नको लागि पनि आउँछन्। कायोको मनमा एउटा खुसीको तरंग लिएर प्रत्येक आगन्तुकको स्वागत गर्छे। उसले आश गर्नु स्वाभाविक छ। ऊ आफैँ एक कलाकार हो। त्यही कलाको बिक्रीबाट जीवन चलाउनुपर्छ उसले। प्रत्येक आगन्तुकको भावना बुझ्न खोज्नु, चित्रप्रति मोह जगाउन प्रयास गर्नु उसको दैनिकी हो। तर त्यति हुँदाहुँदै पनि जब कुनै चित्रकलालाई भित्तोबाट उठाएर कागजका बाकसमा बन्द गर्ने समय हुन्छ, उसलाई कताकता नमिठो लाग्छ। बाँच्नु एउटा यथार्थ हो। बाँच्नु भनेको पनि एउटा जटिल कर्म हो। के मात्र गर्नु पर्दैन बाँच्नको लागि। जीवनप्रतिको मोहले हो वा जगत्प्रतिको तर मान्छेले आफूजस्तो परिस्थितिको सामना गरेर पनि बाँच्नुलाई नै त महŒव दिएको हुन्छ, दिनुपर्छ। धेरै नबोल्ने, थोरै हाँस्ने, मन उडाइरहने सुन्दरी कायोकोलाई पनि त एक दशकदेखि यो ग्यालरीको रूँगालो बस्नु परेको त्यही निर्मोही बाँच्ने मेाहले हो। बिहान सबेरै साइतामाबाट उसको यात्रा सुरू हुन्छ। कलाकारहरूलाई भेट्नु, ग्यालरी खोल्न आइपुग्नु, बेलुकी ग्यालरी बन्द गरेपछि किनमेल गर्नु र घर फर्कनु, आफैँ पनि केही समय स्टुडियोमा समय बिताउनु यस्तै छ उसको दिनचर्या। ग्यालरीमा आउने स्वदेशी–विदेशी कलाप्रेमीहरू कला हेर्छन्। आफू अनुसारको व्याख्या गर्छन्। केाही बुझेर किन्छन्। कोही नबुझिकनै किन्छन्। कुनै बेला उसका आफ्नै कृतिहरू बिक्री हुन्छन् र सबै रकम उसको आफ्नै हुन्छ तर अरू चित्रकारका कलाकृति बिक्री हुँदा उसले निश्चित रकम काटेर कलाकारलाई मूल्य बुझाउँछे। जुन कलाकारको कृति बिक्री हुन्छ उसलाई त्यो दिन ऊ रात्रिभोजनले स्वागत गर्छे कुनै रेष्टुराँमा। यस अर्थमा ऊ इमान्दार छे। उसको इमान्दारी र सौहार्द्रता देखेर नै कलाकारहरू उसको ग्यालरीमा आइपुग्छन्। थोरै बोले पनि ऊ कलाप्रेमीहरूको जिज्ञासालाई पूरा गर्न लागिपर्छे। सबैका सानातिना समस्याहरूमा पनि सहयोग गर्छे। उसका कतिपय ग्राहकहरू स्थायी छन्।

    समय बितिरहन्छ। आगन्तुकहरूको आउने र जाने क्रमसँगै भित्ताहरूमा टाँगिएका रङ र रेखाहरू बदलिँदै जान्छ। यसै क्रममा एकदिन एक विदेशी युवकले ग्यालरीमा प्रवेश गर्छ। ऊ आफ्नो झोला एक कुनामा बिसाउँछ र ब्रोसर लिएर चित्रहरू हेर्न थाल्छ। युवकका हाउभाउबाट कायोको थाहा पाउँछे ऊ कला पारखी हो। उसमा एउटा उत्साह र तरंग जागेर आउँछ। यो केटोले मेरो चित्र देखेर कस्तो प्रतिक्रिया देखाउँछ होला भन्ने कौतुहलले ऊ टहलिँदै केटेाछेउ पुग्छे। केटो चित्रको पछि पछि अर्को कोठामा पुग्छ र कायोको केटोको पछि पछि । युवक केही अप्ठ्यारो मान्छ र कायोकोलाई हेर्छ। कायोको उसलाई अप्ठ्यारो नपारेको स्वाङ गर्छे। एउटा चित्रमा पुगेर युवक निकैबेर उभिन्छ। कायोकोलाई त्यो कुरा चाख लाग्छ किनभने त्यो चित्र उसकै हुन्छ। कायोको युवकको प्रतिक्रिया थाहा पाउन उत्सुक भइरहेकै बेला अकस्मात् युवक प्रश्न गर्छ–

    “माफ गर्नुहोस्। मलाई त्यति धेरै जापानी भाषा आउँदैन। यो चित्रकारको नाम पढिदिनुहोस् त।” “कायोको, कायोको तावाता।”
    “म यो चित्र किन्न चाहन्छु तर यो किन्नु भन्दा पहिले म चित्रकारसँग एकपटक भेट्न चाहन्छु। कृपया तपाइँ मलाई मद्दत गरिदिनुहोस्।
    कायोकोले नसोचेको कुरा थियो त्यो। केहीबेर ऊ आफैँलाई के गरूँ, के गरूँ हुन्छ र भन्छे–
    “म नै कायोको हुँ। मैले यो चित्र बनाएकी हुँ तर यो चित्र बिक्रीमा छैन। यहाँ मेरा अरू पनि चित्रहरू छन्। तपाई अर्को लैजान सक्नुहुन्छ।”

    युवक कायोकोतिर फर्किन्छ। उसको बोली फुट्दैन। मुहारमा अनेक रङ्गहरू आउँछन्। आश्चर्यले आँखाहरू खुल्छन्। कायोकोलाई पनि के गरूँ, के भनूँ हुन्छ। ऊ सोध्छे–
    “किन? तपाईलाई म कलाकार जस्तो लागेन?”

    “होइन, त्यसो भनेको होइन। तपाइँ धेरै राम्रो कलाकार हुनुहुन्छ। म तपाइँलाई धेरै पहिलादेखि चिन्छु। मेरो जन्मदेखि चिन्छु। मेरो घरमा तपाइँले बनाउनु भएका चित्रकलाहरू पनि छन्।”

    “कसरी? मेरो चित्रकला तपाइँको घरमा कसरी पुगे? कहाँ किन्नुभयो?”

    “त्यो मेरो बुबाको सङ्ग्रह हो। मेरो बुबाको नाम मार्क ज्याक्सन हो। उहाँ एक कलाकार र कला शिक्षक हुनुहुन्थ्यो।”

    कायोकोले टेकेको भूमि हल्लिन थाल्छ। युवकको वाक्यले आँखामा अन्धकार छाएजस्तो हुन्छ। निधारमा पसिना आउँछन्। नौ नाडी गलेको अनुभव हुन्छ। के गरूँ, कता जाऊँ हुन्छ। हुने भए उसलाई त्यहीँ बिलाउन मन लाग्छ। धेरैले किन्न चाहेको आफ्नो त्यो चित्र बिक्री नगरेर त्यहाँ राखेकोमा पनि कताकता पछुतो लाग्छ। यदि त्यो चित्र त्यहाँ नभइदिएको भए आज एउटा इतिहास उघ्रने थिएन, मुटु दुख्ने थिएन।

    केही समय दुवैजना मूर्तिवत् उभिरहन्छन्। युवकले आफू मार्कको छोरा भएको, अब तीन दिन टोकियोमा बस्ने र घर फर्किनु अगाडि कायोकोलाई फेरि भेटेर केही कुरा गर्न चाहेको बताउँछ र आफू बसेको ठाउँको फोन नम्बर दिन्छ। कायोकोको मानसिक अवस्थालाई विचार गरेर उसले तुरून्तै कुरा गर्न उचित ठान्दैन सायद। बिदा लिएर ऊ ग्यालरीबाट निस्कन्छ। कायोको केही बोल्न सक्दिन। अनौठो द्वन्द्वमा मन अल्भिन्छ उसको अनि ऊ गएर थ्याच्च मेचमा बस्छे। केही समयपछि उठ्छे र हतारहतार ग्यालरी बन्द गरेर रेल स्टेसनतिर लाग्छे।

    रेल साइतामा आइपुगिसकेछ। ऊ त्यहाँबाट सरासर कोठातिर जान्छे। ढोका खोलेर भित्र पस्नासाथ स्टुडियोतिर लाग्छे। यो घरमा बसेको दश बर्ष भयो तर यति छिट्टै घरफर्केको सम्झना छैन उसलाई। सधैं ढिलो आएर पनि रातिसम्म काम गर्न उत्सुक हुने मन आज अकस्मात् थकित भएको छ। अन्यमनस्क भावले कायोको मेचमा थ्याच्च बस्छे। आफ्नो अगाडि ठडिएको क्यान्भासमा आँखा पुग्छन्। क्यान्भासमा एउटा अधुरो चित्र छ। चित्रलाई निर्जीव कसरी भन्नु। मानिसको जस्तै चित्रको पनि त नियति हुँदोरहेछ। नियतिको तापमा नपरेको भए दुई बर्षसम्म त्यसले अधुरो भएर रहनुपर्ने थिएन होला। सम्झना पत्र जस्तै पल्टिँदै जान्छन्। चित्र बनाउँदै गर्दा एकदिन उसको बुवाको मृत्युको खबर आयो। ऊ सादो गई। आफूलाई हरेक दुःख र मानिसक तनावको समयमा प्रेरणा र उत्साह दिने बुबाको मृत्युले ऊ अत्यन्त शोक विह्वल भई। परम्परा अनुसार गर्नुपर्ने संस्कार सकिएपछि ऊ टोकियो फर्किई र आफ्नो काम फेरि गर्न थाली। तर त्यो क्यानभासले चाँहि कायोको फर्केको आभाष कहिल्यै पाउन सकेन। अहिले अकस्मात थाहै नपाइ उसको ध्यान त्यो अधुरो चित्रमा केन्द्रित भएको छ। सम्भि्कन्छे, अहो घर नगएको पनि दुई वर्ष भइसकेछ। हुनत अब घर जानु र नजानुको के अर्थ रह्यो र। आमाको मृत्यु सात वर्ष पहिले नै भइसकेको थियो। बुबा पनि नरहेपछि संसारमा ऊ एक मात्र सन्तान त थिई।

    कायोकोको ध्यान फेरि त्यो अधुरो चित्रमा जान्छ। जङ्गलमा मेपलका पातहरूले रङ्ग फेरेका छन्। राता, पहेला, छिरबिरे पातहरू हाँगाहरूबाट ओर्लिएर भुइँभरि फैलिएका छन्। एउटी युवती मेपलको एउटा पातलाई केही झुकेर उठाइरहेकी छे। त्यो पातको एक छेउ झुसिलकिराले खाइदिएको छ तर पनि बाँकि भागले सग्लो पातको जस्तै रंग सङ्गालेको छ। कायोकोका आँखाहरू युवतीका अङ्गहरूबाट चिप्लिदै जान्छन् र झुसिलकिराले खाएर खुँडे भएको भागमा अडिन्छन्। हेर्दा हेर्दै त्यो भागमा दुईवटा आँखा झुल्किन्छन्। आँखाका नानीहरू नीलो–नीलो हुँदै जँन्छन् र पातपछाडि एउटा अनुहार झुल्किन्छ। उसलाई त्यो अनुहार परिचित लाग्छ। हो त यो त मार्कको अनुहार हो। मार्क हो कि झुसिलकिरा हो? झुसिलकिरा हो कि मार्क? कायोको ठहर गर्छे त्यो दुवै हो। झुसिलकिरा मार्क हो र मार्क झुसिलकिरा हो, जसले उसको जीवनको एक खण्ड यसै गरी चपाइदिएको थियो। अनि ऊ त्यही मेपलको पात जस्तै अधुरो भएर रहेकी थिई।

    सादो टापुमा कलेजहरू छैनन्। त्यसैले सम्पन्न कृषक परिवारकी एकमात्र छोरी कायोको कलेज पढ्न टोकियो आइपुगी। टोकियोको कोलाहलपूर्ण सहरी वातावरणमा पहिले त उसको मन पटक्कै रमाएन। सादोको रमणीय वनजङ्गल, अग्लो होचो परेको जमीन, समुद्री किनार, उत्ताल छालहरू, समुद्री चराहरूको शानदार उडान, जलको तरङ्गमा लुकामारी खेलिरहेका सूर्यका किरणहरू, फुलका फाँटहरूमा गुनगुनाई रहेका भमराहरू र शान्त समुद्रमा तैरिरहने चन्द्रमाको छटालाई उसले बिर्सनै सकिन। त्यसैले उसले आफ्ना मनमा छाएर बसेका यिनै भावहरू व्यक्त गर्न सकिने कला विषय पढ्ने निधो गरी।

    कलेजमा पढ्दा पढ्दै विद्यार्थिहरूको कला शैक्षिक भ्रमणमा ऊ अमेरिका पुगेकि थिई। त्यहाँका एक विश्वविद्यालयका कला शिक्षक मार्कले उनीहरूलाई एक हप्ते कला प्रशिक्षण दिएका थिए। अध्ययन भ्रमण सकेर फर्केपछि सबै साथीहरू जस्तै उसले पनि अध्ययन जारी राखी र कलामा स्नातक गरी। सादोमा फर्केर केही काम पाउनु कठिन थियो। त्यसैले टोकियोकै एउटा विज्ञापन एजेन्सीमा ऊ काम गर्न थाली।

    विज्ञापन एजेन्सीको काम, साथीहरूसँगको भेटघाट र टोकियोको रमझममा उसका दिनहरू सजिलै बित्न थाले। एकदिन कोठा सफा गर्दा पुरानो डायरीबाट एउटा भिजिटिंग कार्ड खुत्रुक्क खस्यो। उसले उठाएर हेरी। लेखिएको थियो – मार्क ज्याक्सन, कलाकार।

    “को होला मार्क, कसरी यो कार्ड मसँग आयो” धेरै सम्झेपछि कायोकोले मार्क अमेरिकी विश्वविद्यालयको कलाको प्राध्यापक हो भन्ने पत्ता लगाई। मार्कले उसलाई ग्रेजुएट गरिसकेपछि अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्ने मन भए मद्दत गर्न सक्ने कुरा गरेको पनि सम्झी। मनमा एउटा सानो प्वाँख पलायो र उसले मार्कलाई चिी लेखी। हुन त मार्क मूर्तिकलाको शिक्षक थियो तर उसको आश्चर्यको सीमा रहेन जब मार्कले उसको चिीको जवाफ पठायो।

    विश्वविद्यालयमा भर्ना हुनको लागि आवश्यक प्रक्रियाहरू लेख्यो, फर्महरू पठायो र अरू चाहिएको सबै मद्दत गर्ने आश्वासन दियो। कायोको खुशीले गद्गद् भई। आवश्यक सबै प्रक्रिया पुरा गरेर आमाबाबुसँग बिदा भएर केही महिनामै ऊ अमेरिका पुगी। मार्कको मद्दतले छात्राबास र अन्य व्यवस्था सजिलै भयो। उसको कला अध्ययन सुरू भयो।

    कायोकोले दुई वर्षे चित्रकला अध्ययन पूरा गरी। उसले रङ्गहरूसँग साइनो जोडी तर यतिबेलासम्ममा मार्कसँगको भेटले पनि एउटा रङ्ग ल्याइसकेको थियो। कायोको र मार्कको सम्बन्धले एउटा नयाँ आयाम सिर्जना गरिसकेको थियो जसमा चित्रकला र जीवनका रङ्गहरू छुट्टिन छाडेका थिए। क्यानभास जति फैलदै गयो, जीवनका रङ्गहरू पनि इन्द्रेणी पर्दै गए। विद्यार्थी शब्दको विशेषणले विश्राम लिएकै भोलिपल्टदेखि उनीहरू एउटा नयाँ डेरा लिएर नयाँ जीवनको सुरूवाततिर लागे। मार्कको लागि यो व्यवस्था कुनै नौलो कुरा थिएन। तर कायोकोलाई भने आफ्नो आमाबाबुको स्वीकृति आवश्यक थियो। परम्परा र संस्कृतिको बीज कतै बाँकी थियो। आधुनिक जमाना, एउटी छोरी। कायोकोका बाबुआमाले स्वीकृतिको टाउको हल्लाउनु भन्दा अरू उपाय देखेनन्।

    जीवनको आधा दशक सजिलै बित्यो। यसबीच मार्कको एकपटक मूर्तिकलाको प्रदर्शन भयो भने कायोकोको चित्रकलाको तीनपटक। मूर्तिकला र चित्रकलाको प्रदर्शनबाट उनीहरूले मनग्ये आर्थिक लाभ पनि पाए। जीवनका पाँच वर्षहरू बितेको पत्तै भएन। यसैबीच एकपटक दुवैजना सादो आए र आमाबाबुलाई भेटे। ताबाता दम्पतीका छोरीले अमेरिकीसँग विवाह गरेको प्रसङ्गलाई लिएर गाउँघर, टोलछिमेक, इष्टमित्र सबैले प्रतिष्ठित भएको अनुभव गरे।

    क्यानभास बदलियो। रङ्गहरूको मिश्रण ठीक रहेन। कायोकोको चौथो चित्रकला प्रदर्शनीको मिति पक्का त भयो तर चित्रहरू रम्न सकेनन्। रङ्गहरू सुके, क्यानभास खुम्चिए। उसको मात्र हैन, मार्कका पनि छिना र घनहरूमा खिया लाग्न थाले। यहाँ लेखेरै खुलाउनु पर्ने जस्तो त कुनै समस्या थिएन तर पनि उनीहरूबीच काँडा तेर्सिए। यतातिर पनि कति सम्बन्धहरू काँडाकै वृत्त वरिपरि घुमिरहन्छन् तर यो मामला अमेरिकाको पर्‍यो। मार्क उतै छुट्यो। कायोको आफ्नै देश फर्की। मार्कको साथ र रङ्गहरूको सिँढी चढेर उँचाइमा पुग्ने महŒवाकाङ्क्षा राखेकी कायोको ओइलाएको फूल जस्तै भई। दिन बिते, महिना बिते र वर्षहरू बिते। आमाबाबु चिन्तित हुन थाले। इष्टमित्रले कुरा काट्न थाले र साथीभाइले खिसी उडाउन थाले। कायोको आफैंले पनि अकस्मात् अनुभव गरी ऊ आफूप्रति र परिवारप्रति अन्याय गरिरहेकी छे।

    उसले घर छोडी र साइतामामा आएर बस्न थाली। त्यहाँ ऊ एउटा प्राइमरी स्कुलमा काम गर्न थाली। उसको कला र त्यसप्रतिको रूचि देखेर स्कुलका प्रिन्सिपलले ग्यालरी खोल्ने सल्लाह दिए। प्रिन्सिपल ताकेशीले गिञ्जामा कोठा पनि खोजिदिए र केही रकम सापट पनि दिए। उसले आफूसँग भएका चित्रहरू भित्तामा सजाई। साथीहरूको मद्दतले अरू चित्रकारहरूको चित्रकला पनि सङ्कलन गरी र प्रदर्शनीमा राखी। ग्यालरी उद्घाटन भयो। चित्रहरू बिक्री हुन थाले। त्यसले उसमा उत्साह थपियो। उसले आफू बसेको घरमा अर्को पनि कोठा लिई र त्यसलाई स्टुडियोमा परिणत गरी। कायोको रङ्गहरूको संसारमा पुनः फर्किई। ऊ महिनामा एकपटक आमाबाबु भेट्न सादो जानथाली। साथीहरूको जमात पनि निकै बढिसेकेको थियो। केही केटा साथीहरूले विवाहको प्रस्ताव पनि राखेका थिए तर उसलाई अब फेरि विवाह गरेर बस्ने मन भएन।

    घत्राकघुत्रुक आवाज आयो र तुरून्तै एउटा प्रकाशको रेखाले उसको झ्यालबाट चियायो। ऊ झसंग भई। पारिपट्टि कोठाको केटी आइसकिछे। कायोकोले उठेर झ्यालबाट हेरी। रात परिसकेको थियो। उसले फेरिपारिपट्टि कोठामा आँखा पुर्‍याई। केटीले कोठामा यताउता गरेकेा झल्याकझुलुक देखियो। एक दुईपटक त्यो केटीसँग उसले कुरा गरेकी थिई। त्यो केटी तोशिवा कम्पनीको टोकियो अफिसमा काम गर्छे। राति ढिलो घर फर्किन्छे। कायोकोलाई लाग्छ–त्यो केटी एउटा मेसिनले बनेकी हो। उसको शरीरमा ज्यान नै छैन। त्यसको पनि कुनै कथा होला सायद। कोयोकोका आँखाहरू आफ्नो दायाँपट्टिको कोठातिरको झ्यालमा पुग्छन्। त्यो झ्याल अझै अँध्यारो छ। त्यो कोठामा एउटा अधवँैसे मानिस बस्छ। त्यो मानिस बिहान सात बजे कोठाबाट निस्केर गएपछि राति बार्‍ह नबजी आजसम्म कहिल्यै फर्केको छैन। त्यो मानिस कहाँ काम गर्छ, उसलाई थाहा छैन तर राति कोठामा फर्केपछि निकैबेरसम्म ऊ बर्बराइरहन्छ। मातेको स्वरले ऊ कहिले कसैलाई गाली गरिरहेको हुन्छ र कहिले आफैंलाई। कहिले त त्यो मानिस यति धेरै बोलिरहन्छ कि कायोको ध्यानमग्न भएर चित्र बनाउँनै सक्दिन। कहिले त उसलाई पुलिसलाई फोन गरेर उजुर गरिदिउँ कि जस्तो पनि लाग्छ तर मन बाँडिन्छ। सबैको जीवन त्यस्तै त हो। त्यो मानिस पनि प्रेमिका पीडित हुनसक्छ अथवा पत्नीबाट परित्याग गरिएको अथवा अरू नै समस्याबाट ग्रसित पनि हुनसक्छ।

    रात धेरै बितिसक्छ। भोक लागेको थाहा हुन्छ। कायोको फ्रिज खोल्छे। केही खानेकुरा झिकेर खान्छे र सुत्ने तरखरमा लाग्छे। ओछ्यानमा पल्टेपछि उसको सोचमा पिटर देखापर्छ। पिटरले एक दुई दिनमा ऊसँग भेट्न आउँछु भनेको छ। उसले मार्कको के सन्देश लिएर आउने होला। अहँ, म ऊसँग केही गरे पनि भेट्दिन। म फेरि ती दिनहरू सम्झन चाहन्न। मार्कसँग अलग भइसकेको आफ्नो अस्तित्वलाई म फेरि झकझकाउन दिन्न। बरू म पिटरलाई भेट्दै भेट्दिन। ग्यालरी नै बन्द गरिदिन्छु केही दिन। यस्तै कुराहरू सोचेर कायोको निदाउँछे। नभन्दै ऊ तीन दिनसम्म ग्यालरी खोल्न जान्न।, त्यसको सट्टा कामोगावा पुग्छे र समुद्री किनारमा नीलो जल र चराहरू हेरेर बिताउँछे।

    चौथो दिन कायोको ग्यालरी खोल्न आउँछे। ढोकामा एउटा खाम अल्भि्कएको देख्छे। ऊ त्यो लिएर हेर्छे। पिटरले छोडेको रहेछ। ढुक्क हुन्छे पिटर फर्केको सम्झेर। झ्यालहरू खोलेर ठिक गरिसकेपछि मेचमा आएर बस्छे। त्यतिबेला उसलाई पिटरलाई उसको बाबु र आफ्नो सम्बन्धको अर्थ अब छैन भन्ने जनाउ दिएँ भन्ने घमण्ड पनि पलाउँछ मनमा। ऊ खामबाट पत्र निकालेर पढ्न थाल्छे।

    “मैले तिम्रो फोनको खुबै आशा गरेँ। दुई दिनदेखि यो ग्यालरीको बन्द ढोकाले मलाई निराश पारेको छ तर पनि म अर्को पटक तिमीलाई भेट्न आउनेछु भन्ने आशा लिएर फर्कदैछु। तिमी मेरो प्रिय बुबाकी पत्नी हौ। क्यान्सरबाट पीडित मेरा बुबाले अन्तिम समयमा तिम्रो खुबै सम्झना गरेको सम्झन्छु। मेरी आमाले उनलाई छोडिसकेकी थिइन्। थाहा छैन किन मेरो बुबाको साथमा अन्त्यमा कुनै पत्नी भएनन्। सायद उनीहरूलाई मेरो बुबाको कलाकार व्यक्तित्व, भावना, मन र संवेदनाभन्दा पनि भँैतिक सुखको बढी चाहना थियो होला। म उनको छोरा हुँ। मलाई मेरो बुबाको नसानसामा बगेको कलाकारकेा संवेदनाका लहरहरूले सदा सुमसुम्याइरहन्छन्। उनका औंलाहरूले मेरो मनको तालको पानीमा सधैँ लहरहरू चलाइरहे। म मेरो बुबालाई जीवनमा कहिलै पनि बिर्सन सक्दिन। मेरी आमाले उनलाई छोडेको कुरालाई म बिर्सन सक्छु तर तिमीले किन मेरो बुबालाई कहिल्यै सम्झना गरिनौँ? तिमीसँग भेटेपछि यो प्रश्नले मेरो मनमा एउटा हलचल ल्याइदिएको छ। तिमीलाई भेटेपछि म रातभर निदाउन सकिनँ। मेरो बुबाको आँखामा उर्लिएको पीडाको लहरले तिम्रा आँखाका किनारलाई पनि त छोएको रहेछ।

    म फेरि आउनेछु। आशा छ त्यतिबेला मेरो निम्ति यो ढोका खुला रहनेछ। मेरो बुबाले जीवनको अन्तिम क्षणमा तिम्रै सम्झना गरेका थिए। मलाई लाग्छ उनका नीला आँखामा फैलने गरेका लहरहरूमा तिमी नै बगिरहेकी हुन्थ्यौं । यो मेरो केवल भावुकता होइन। उनले तिमीलाई समर्पण गरेर बनाएको तिम्रो मूर्ति अहिले पनि मसँग सुरक्षित छ। उनले भनेका पनि थिए– जीवनको कुनै मोडमा तिमीसँग भेट भयो भने त्यो मूर्ति दिनु र तिमीलाई उनले कहिल्यै बिर्सन सकेनन् भनिदिनु। यो ठूलो सहरमा मैले तिमीलाई भेट्नेछु भन्ने चिताएको थिइँन , लाग्छ, भगवान् सर्वव्यापी छन् र प्रेमको पुकार सुन्छन्।

    मेरो ठेगाना र फोन नम्बर यहीँ लखेको छु। सम्पर्क हुन्छ भन्ने पूर्ण विश्वासमा छु। —पिटर।
    चिठी पढिसकेपछि कायोकोलाई फेरि एकपटक ग्यालरी बन्द गरेर कतै एकान्तमा भागूँभागूँ जस्तो लाग्छ। ऊ एकछिन आँखा चिम्म गरेर बस्छे र कल्पना गर्छे मार्कले बनाएको उसको त्यो अदृश्य मूर्ति कस्तो होला? आँखा खोल्दा दिनको उज्यालो मलिन भइसकेको हुन्छ। हत्तपत्त ऊ कागज कलम लिएर पिटरलाई चिठी लेख्न बस्छे। – भाउबाट साभार

    No related posts.

    16 comments to कथाः अदृश्य मूर्ति

    • Pramesh Neupane

      सायद जीन्दगी भन्नु नै यहि हो कि ????? दुख, सुख, आसु, हाँसो !!!!!! एउटा कलाकारले आफ्नो वास्तविक तथा काल्पनिक बिचारलाई एउटा धरातलमा प्रस्तुत गरिदिन्छ तर हामी पब्लिक हरु भोगेको यथार्थलाई कुल्चेर अगाडी हिड्छौ!!! धेरै पछी पढेको यो कथाले आज मेरो छोएको छ, मनका संवेगहरु लाइ रसाइदिएको छ, पुन एउटा साहित्यिक मनमा बदलियाको छ !!!!!!!!!!!!!!!!!!!!!!!!

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • धेरै राम्रो लाग्यो!

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • subedi

      कथाकार बिन्दु सुबेदी लाई मैले पहिलो पटक पढ्दैछु ,तर कथा जिबन का धेरै यथार्थता नियालेर लेखिएको र कतिपय कुरा हरु जति पढे पनि फेरी सब्द हरु दोहोराई तेहराई पढु पढु लाग्ने गरि लेखिएका छन् ,कथा utkrista छ. फेरी फेरी पनि उहाका कथा हरु पढ्न पाइयोस. .

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 0

      • Luna

        भाउबाट साभार ,
        भनेर लेखिएको छ कथा सिद्द्दिए पछी , भाउ भनेको को हुन् ? भाउपंथी या बिन्दु सुबेदी जी ?

        मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • बाँच्नु एउटा यथार्थ हो l बाँच्नु भनेको पनि एउटा जटिल कर्म हो ………………………….l
      जापानका नारीहरु गृहणी हुन्छन् भन्ने सुनेको मात्र थिएं तर यो लेखले मलाई साँच्चिने गृहणी हुंदारहेछन भन्ने लाग्यो l कती कुराहरु सुनेकै भरमा पनि बिस्वास गर्नुपर्दों रहेछ l

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • Luna

      कथा पढीसिध्यौदा आशुले आखा डबडब्यायो – -
      हिर्दय छुने कथा .

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • krish

      मार्कसँगको भेटले पनि एउटा रङ्ग ल्याइसकेको थियो। कायोको र मार्कको सम्बन्धले एउटा नयाँ आयाम सिर्जना गरिसकेको थियो …….रङ्गहरू सुके, क्यानभास खुम्चिए,,,,,,उनीहरूबीच काँडा तेर्सिए….मार्कको साथ र रङ्गहरूको सिँढी चढेर उँचाइमा पुग्ने महŒवाकाङ्क्षा राखेकी कायोको ओइलाएको फूल जस्तै भई…..मेरो बुबाको आँखामा उर्लिएको पीडाको लहरले तिम्रा आँखाका किनारलाई पनि त छोएको रहेछ।…….मान्छे को जिन्दगि नै येस्तई छ भन्नु पर्यो ..कहिले हासो त कहिले रोदन …..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • krish

      लेख धेरै राम्रो लाग्यो ..फेरी फेरी येस्तई लेख पदने आस मा ..

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • devdas subedi , tokyo

      राम्रो लेख रहेछ अझ लेख्ने सैलिमा मिठास पन भएमा उत्तम हुने
      थियो कि ???

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • mahendra k. shahi doha qatar

      “त्यो केटी एउटा मेसिनले बनेकी हो। उसको शरीरमा ज्यान नै छैन।………………..त्यो कोठामा एउटा अधवँैसे मानिस बस्छ। त्यो मानिस बिहान सात बजे कोठाबाट निस्केर गएपछि राति बार्‍ह नबजी आजसम्म कहिल्यै फर्केको छैन। …….. ऊ कहिले कसैलाई गाली गरिरहेको हुन्छ र कहिले आफैंलाई।”….. साएद येस्तै छ जिन्दगी केहि गर्छु भनेर विदेशिने हामी नेपालीहरुको पनि ……

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • shamba

      सुन्दर बिम्ब हरुको प्रयोग भएको एउटी नारीको एकांकी जीवन र मनोभावना हरु लाई चित्रण गरिएको राम्रो कथा जसले मनलाई निकैबेर सोचनीय बनायो
      सुन्दर साहित्य थप रचनाको अपेक्षा छ

      मन परे हरियो, नपरे रातो Thumb up 9 Thumb down 0

    • जीवन को रुप रेखा, पाटाहरु देखिएको छ, एकदम राम्रो लाग्यो / हरेक मानिसको आफ्नो आफ्नो कथा ब्यथा हुन्छ /

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • bim

      लामो समय पछी मार्मिक र यथार्थवादी कथा पढ्न पाएकोमा मेरो संसारलाई मुरी मुरी धन्यबाद छ / मानिसको जीबनमा नसोचेको र नचिताएको अतित कहिले र कसरि बल्झिन पुग्छ भन्ने कुरा कसैलाई पनि थाहा हुदैन / यसैलाई भन्छन जीवनको भोगाइ /

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • Gyanendra Niraula

      This is a very good story written by Bindu Subedi….Hope some new and interesting stories will be written by the author.

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • DIL Chauhan

      “त्यो केटी एउटा मेसिनले बनेकी हो। उसको शरीरमा ज्यान नै छैन।………………..त्यो कोठामा एउटा अधवँैसे मानिस बस्छ। त्यो मानिस बिहान सात बजे कोठाबाट निस्केर गएपछि राति बार्‍ह नबजी आजसम्म कहिल्यै फर्केको छैन। …….. ऊ कहिले कसैलाई गाली गरिरहेको हुन्छ र कहिले आफैंलाई।”….. साएद येस्तै छ जिन्दगी केहि गर्छु भनेर विदेशिने हामी नेपालीहरुको पनि ……

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • कथा धेरै राम्रो लाग्यो| मिठो कथा पस्किनु भएको मा कथाकारलाई धन्यबाद| उमेश जी पनि कथा चयनमा त माहिर नै हो |
      “… एकछिन आँखा चिम्म गरेर बस्छे र कल्पना गर्छे मार्कले बनाएको उसको त्यो अदृश्य मूर्ति कस्तो होला?..” कथाकी पात्रा बदलीई |
      बिचलित र टुटेको बिगत बाट आहत भएकी पात्रा कायोको को मार्क प्रतिको बित्रिस्ना र घृणामा अब पुनर्विचार होला जस्तो लाग्यो| किनभने प्रसंसाका सधै प्यासी नारीहरु को मनोविज्ञान बुज्न के सजिलो होला र ! कायोको ले कस्तो भाबको चिठी लेख्ली , यस्तो खुल्दुलीले पाठकको मन हैरान पार्नु कथाकारको खुबी हो |

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    eXTReMe Tracker