- सीता अर्याल-
पूर्णिमाको साँझ टहटह जुन लागिरहेको थियो। धने र पाते भर्खर मेलाबाट फर्केर भान्सामा पसेका थिए। पाते च्याँख्ला भिजाउन थालि। धने चाहिँ दिउँसो खेतमा मारेर ल्याएको माछाको सिलबाट एक-एक गरि माछा झिक्दै पखालेर पोल्न थाल्यो। दुवै जोइ-पोइले एक-दुई एक-दुईवटा खाएर बाँकी तिहुनका लागि ठीक पारे। दिनभरि खेत रोप्न मेला गएकी पाते थकैले लखतराम थिई, त्यसैले गफ गर्ने जाँगर थिएन। भात भान्छामै व्यस्त थिई। बच्चा-बच्ची भएका थिएनन्। सासू-ससुरासँग छुट्टिएर वसिसकेका थिए। धने पनि त वाउसे गर्न मेला नै गएको थियो। त्यसैले उ पनि भोक र थकैले शिथिल भएको थियो। दाउरा हालेर च्याँख्ला र माछाको झोल छिटै तयार गरी। कप्ल्याक्र कुप्लुक् खाएर निद्रा देबीको शरणमा परे दुवै जना।
चन्द्रकोट-एउटा सुरभ्य गाउँ, तल भञ्ज्याङ्गबाट तरपायाँ-तरपायाँ उकालो लागे पञ्चात्र पुगिने रमणीय गाउँ। सफा-सुग्घर छ सवैका घर आंगन। कमेरो, गेरु र खोटोले सिंगारीएको छ अधिकांश घरहरू, त्यसमाथि कमेरो लगाएको ठाउँमा पुरेनी भरेर सिंगारीएको पिंडिका भित्ताहरू। लाग्दथ्यो प्रत्येक घर-घरमा सिद्धहस्त कलाकारहरू छन्। गाउँ नै कलाकारहरूको गाउँ हो। आँगनका डिलमा ढकमक्क मौसम अनुसारका फूलहरूले शोभा बढाएका छन्। एउटाका घरमा नयाँ किसिमको फूलका विज भएमा प्रायः वरिपरि सबैले बाँड्ने र बारीमा पाकेका फलहरू पनि बाँडेर नै खाने चलनले साह्रै सहृदयी गाउँले हुन् तिनीहरू भन्ने बुझ्न अप्ठ्यारो थिएन। त्यस्तै मध्येका पाते र धने पनि एक परिवार हुन्। धनेभन्दा पाते अत्यन्त जांगरिली, भित्री बारीमा सुन्तला, निवुवा आरु, आलुचा, आँप थोरै भएपनि लगाएकी थिई। लाहुरेसँग विवाह गरेर थुप्रै गहना लगाउने इच्छा हुँदाहुँदै धनेसँग उछिट्टिइ, तरै पनि ती फलफूलहरू बेचविखन गरेर वर्षको एक थरी गहना जोड्ने योजनामा छे ऊ।
पाते उठी, आफ्नो सुसेधन्दा छँदै थियो। छिटै खाना खाएर मेला जानु पनि थियो। केही क्षण पछि धने पनि उठ्यो र आफू सुतेका थाङ्ना- थरा, गुन्द्रीलाई मिलाएर सिकुवामा राख्यो। पाते चुड्का नाच्न ज्यादै सिपालु थिई। जव-जव चण्डीपूर्णिमा नजिकीन थाल्थ्यो उनीहरू चुट्कातिर निकै व्यस्त देखिन्थे। धने खैजडीको तालमा उफ्री-उफ्री गीत गाउन सिपालु थियो भने पाते कम्मर मर्काइ-मर्काई नाच्न निपुण थिई। सेरोफेरो गाउँका सबै लक्का जवानलाई लोभ्याएकी थिइ पातेले।
पाते पानी भर्न पँधेरो जाँदासमेत धने बाटो कुरेर बस्थ्यो। बजार जाँदा ल्याएको सुन्तला मिठाई, माला-मिठाईको पोको गाग्रीको मुखभरी राखी दिन्थ्यो। पाते रिसाएको नखरा त पार्र्थी तरै पनि मीठो मानेर ती मिठाइहरू खान्थ्यी। धने पातेलाई फकाउन तल्लिन थियो, पानी मुनि गए पनि नछोड्ने अठोट गरिसकेको थियो। बजारमा बेलाबेलामा लाग्ने रोपाइँजात्रा, बाघजात्रा, फूलपातीजात्रा आदिमा गाउँका तरुना, तन्देरीहरू हुलै बाँधेर जान्थे। ठिटाहरूको हातमा खैंचडी हुन्थ्यो। भोटो, कछाड, इष्टकोटमा तिनिहरू सजिएका हुन्थे। टोपिमा सिउरीने फूल प्रायः अप्राकृतिक हुन्थ्यो। ठिटीहरू चाहीँ चोलो, कालो गुन्यु, घलेक, हातभरि चुरा र चाँदीको काँडेवाला, गलामा हरियो र पहेंलो रंगका मुठीभरिको झुप्पा पोते, कानमा ढुङ्ग्री र सुन, नाकमा लाहरे फुली र पाते बुलाकी हुन्थ्यो। हातमा प्रायः आफैले बुनेको जाली रुमाल हुन्थ्यो। हुर्के बढेका छोरा छोरीले यी सामाग्रीहरू जसरी भएपनि जुटाएर राख्दथे र विभिन्न जात्राका अवसरमा पहिरिन्थे।
गाउँलेहरू मेला पर्बको लागि तल झप्रिफाँटमा झर्नु पर्दथ्यो। ठिटाहरू विभिन्न भाकामा पात बजाउँदै, बनेली पाखो रन्काउँदै वेसी झर्दथे। कसैले काँधमा हलो-जुवा त कसैले कोदाली राखेका हुन्थे। मेला जान नपरेको दिन काँधमा बन्चरो राखी कम्मरमा खुर्पिठ्याक भिरेर ओरालो लाग्दथे। ठिटीहरू चाहीँ छोटो तर कालो गुन्युचोलो र वुट्टे घलेक लगाउँथे। सुरिलो स्वरमा गीत रन्काउँदै ओरालो झर्दथे। साह्रै फुर्तिला हुन् ती ठिटा ठिटीहरू।
धने र पातेलाई आज नौविसे कुनामा बाहुनको खेतको रोपाईमा जानु छ। धनेको काँधमा कोदाली टल्केको छ। अरूभन्दा अलिक छिटो घरबाट निस्केका थिए। कोही पनि मेलामा आइनपुगेकोले आँपको बोटतिर दुवैलागे। असारको पनि अन्तिम भैसकेकोले पाकेको आँप भुइँमा पनि प्रसस्तै झरेका छन्। कस्तो मीठो आँप, धने तिमी पनि खाउ त। यस्तो मीठो आँपको विरुवा सार्ने र हुर्काउने मान्छे त सरासर स्वर्ग पुगे होलान् होइन त धने?
हो, हो ठीक भनिस् पाते, यी सवै आँपका रुखहरू तिनै राइटर वाजेले लगाएका रे। यस्ता गफहरू गर्दै एक झोला आँप बेलुका घरजाँदा लैजान पनि तयार बनाए। असारे गीतको सुरिलो भाकासंगै धानका विउहरू रोपेर मेलो समाप्त भयो। हिलो पखालीवरी सवैले टपरीभरी सिरौंला, अचार, तर्कारी खाँदै उकालो लागे। झमक्क साँझ परिसकेको थियो। छाम-छाम, छुम-छुम गर्दै घर पगे।
धने † असार पनि सकियो, रोपाईंको काम पनि अव त सवैको सकियो। साउनको महिनामा चाहिँ वारिको आँप र नास्पाती बेच्नु पर्छ, हामीलाई अरू काममा जाँन फुर्सद हुँदैन। तिमी मेला बोलौला नि फेरि। यसपटकको फलफुलले त जन्तर नवनाई हुँदैन।
वर्षै पिच्छे कति बनाउनु परेको गहना पनि?
नत्र म लाहुरे टिपेर लागुंला नि बाटो फेरी।
पातेसंग जे पायो त्यही बोल्न पनि नहुने भएको छ, मुखभरिको जवाफ लगाई हाल्छे। मायाँ नभएको त होइन, मायाँ पनि औधि गर्छे। तर च्वास्स-च्वास्स वचन पनि लाउँछे।
गोठमा गाईको टुंगो आउनै लाग्यो। धने र पातेलाई गाईको स्याहार बढि गर्नु पर्ने काम थपिएको छ। धने त्यतै गोठतिर कट्याकुटु काम गरिरह्यो। विहानको कुंडो पानी सकेर पाते चाहीँ घाँस निस्की।
उडि जानलाई चरिको पखेटै काटियो
यो मनले मागेको पाइन अर्कै साटियो
जाउँ कि क्या हो अझै नि नौडाँडा काटेर
लाउरे दाइसंग नै पिरती गाँसेर।
रुपसिङ भर्खर घर आएको इन्डीयाको लाउरे, काम विशेषले त्यही बाटो भएर बजार झरेको थियो। दोहोरी गीत गाउन खप्पीस पातेको गीतको जवाफ गीतैमा दिइहाल्यो उसले पनि। पातेलाई सपना हो कि विपना जस्तै लाग्यो। घाँसको भारी पुगिसकेकोले मजाले कस्सिएर निकै बेर दोहोरी खेले र भोली यही ठाउँमा भेट्ने वाचा र कसम् गीत मै व्यक्त गरेर दुवै आफ्ना-आफ्ना गन्तव्यतिर लागे।
रुपसिङको घरमा बुढी आमा मात्र थिइन्। उसलाई फर्केर फेरि जागिर खानका लागि जानै पर्दथ्यो। बुढी आमा एक्लैलाई छाडेर जान सकिरहेको थिएन। तीन वर्ष अगाडि इन्डियातर्फ लागेका थिए रुपसिंङको परिवार। उसले एउटा जघन्य अपराध गर्ने कुचेष्टा गरिरहेको थियो- आमाको लागि साथी स्वरुप अर्की विवाह गरी छाडेर जाने। उता स्वास्नीले दोस्रो बच्चा जन्माउने बेला हुन लागेकोले पनि ऊ अलि हतारो गरिरहेको थियो।
कति स्वार्थले लिप्त हुन्छन् लोग्नेमान्छे, आफू विवाहित हुँदँहुँदै पनि अर्कालाई फसाउन कसरी हाउभाउ, कटाक्ष घोल्दछन्। धेर थोर पैसा कमाउन सक्षम मान्छे, बरु मासिक यति रकम दिउँला मेरो आमाको हेरविचार गरिदेओ भनेको भए त्यस्ता मानिस पाइँदो हो नि। रुपसिंङले पातेलाई फकाउन थाल्यो। गाउँघरका मानिसहरू लाउरे भनेपछि हुरुक्कै हुन्छन त्यसमाथि उमेरका केटीहरू त मरिहत्ते नै हाल्छन्। कति ठूलो रैछ पैसाको शक्ति। कति उच्च रैछ गाउँघरमा लाउरेको इज्जत? ब्यक्तित्वको तुलना गर्ने हो भने त रुपसिङभन्दा धने नै निकै राम्रो लक्का जवान हो। बलिष्ठ पाखुरा पनि छ उस्को तर लाहुरेको जस्तो दर्जा र पैसा भने छैन उसंग।
विस्तारै पातेमा परिवर्तनका झलकहरू देखा पर्न थाले। धनेप्रतिको उस्को व्यवहारमा रुखोपन प्रतित हुन थाल्यो। एकातर्फ काममा दिलचस्पी कम हुनुको साथै गोठका चौपायाहरूको रेखदेख र स्याहार सम्भारमा हेलचक्र्याई गर्न थालीभने अर्को तर्फ रुपसिङ उसलाई प्रभाव पारेर सकेसम्म छिटो उछिट्याउन उद्यत देखिन्थ्यो। उस्ले दिनदिनै नयाँ चिजहरू ल्याएर दिने गरेको थियो। घाँस गएकी पातेलाई भेट्न मात्र भए पनि उ जंगल जाने गर्दथ्यो। भर्खरै वर्षा सकिएको थियो। चारैतिर सयपत्री गोदावरी फूल्न थालेका थिए। आकाशमा टहटह जुन र झलमल्ल तारा चम्कीन थालिसकेका थिए। नजिकैबाट दशैं मुस्कुराउने तरखरमा थियो।
रुपसिङले चित्ताकर्षणको लागि ल्याएका उपहारहरू दिन्थ्यो। घाँसको भारी पुर्याउन मद्दत गर्दथ्यो। वनावटी र देखावटी मायाँले क्रमश आफूप्रति सम्मोहित गर्न प्रायः सफल भैसकेको थियो। पातेले धनेलाई त्यागेर रुपसिङलाई अंगाल्ने बचन दिइसकेकी थिई। अचानक धनेलाई ज्वरोले आक्रमण गर्यो। वर्षाभरिको लछारोले होला सायद उ थलियो। पातेमा निकै परिवर्तन देखिन त पहिल्यै थालेको हो। अब त झन धनेलाई विरामी हुँदा राम्ररी हेरविचार, स्याहार र वास्तासम्म पनि नगर्न थाली। घरमा सवैतिर लथालिंग भताभुंग हुन थालिसकेको छ। कुनै पनि कार्यको लागि ठूलो कुरा मन रहेछ। जव मन मर्दै जान्छ, मायाँ पनि घट्दै र हराउँदै जाने रहेछ। जव माया घट्दै र हराउँदै जान थाले पछि सवै घर व्यवहार तहस नहस हुन वेर लाग्दैन। त्यस्तै भयो धनेको जीवनमा पनि। ओछ्यानमा थलिएको धनेलाई चटक्क छाडी पखेटा फिंजाएर डाँडो काटी पातेले। घाँस गएकी श्रीमती आउली र तातो पानी देली अनि घाँटी भिजाउँला भन्दा भन्दै घाम डाँडामा बस्ने बेला भईसक्यो।
विहानदेखि घाँसकुँडो नपाएर गाईवस्तु गोठमा कराएर दाम्लै चुंडालुला जस्तो गर्न थाले। पश्चिमतिरको डाँडोमा लागेको एकतमासको घामले धनेलाई झन भाउन्न बनायो। पक्कै निको चाल छैन भनेर लख काट्यो। केही समय पहिले देखि पातेको व्यवहार क्रमशः सम्झन थाल्यो। चारपाउ टेकेर भएपनि उठेर पातेको सबै सामानको निरीक्षण गर्यो। गतिला र राम्रा सामानहरू केही थिएनन्। पुश्चली, मेरो वसिसकेको घर भताभुङ्ग पारेर भागी, निष्ठूरी। शरिरमा ज्वरो बलेको छ। पेटमा चारो परेको छैन। हिंड्नै परे मलाई अलि ठीक भएपछि गएकी भए पनि हुन्थ्यो। कस्तो मन पापीनीको? धनेलाई सपना झैं लाग्यो। अव घर व्यवहार कसरी चलाउने? रोग माथी अर्को पिर थपियो। समयमै काखेचेलो भएको भएपनि छोडेर जान गाह्रै हुन्थ्यो कि, त्यो पनि भएन।
रुपसिङ डाँडाको ठूलो आँपको फेदमा एकाविहानै कुरेर बसेको थियो। खुब प्रतिक्षारत थियो अर्काको घर भंडुवा। एकमन त उस्लाई पनि नलागेको होइन -म पापी हुँ मेरो आफ्नो स्वार्थसिद्ध गर्नका खातिर मैले एउटी सोझी आइमाइ र सोझो, इमान्दार ठिटोको जिन्दगी तहस नहस गरेर उनीहरूको सपना चकनाचर पारिदिएँ। कति राम्रो चट्ट मिलेको जोडी थियो उनीहरूको। अरूले चौतारो चिन्छन्, मैले बनिसकेको चौतारो पनि बिगारेँँ।
पाते खुवै सुरिलो स्वरले गाउँथी, पात बजाउँथी, नाच्थी र रूपमा पनि अब्बल थिई। तर बुद्धिमा कमजोर देखिई। के-कस्तो बुझ्दै नबुझी बत्तिमा पुतली होम्मीए झैँ होम्मीइ रुपसिङका समिपमा। माथि भर्ज्याङ्गबाट पात बजाउँदै झरि पाते, रुपसिङ प्रफूल्ल भयो। दुवैजना खड्ग देवीको मन्दिरमा गएर जिन्दगी भर नछुट्टीने कसम खाए र केही दिनको लागि पोखरातिर लागे।
आफ्ना पौरखले खेतभरी धान झुलेका थिए। वारिभरी खेती-बाली पाकेका थिए। देवता स्वर्गबाट सोझै त्यहीं झर्छन कि जस्तै दैलो अगाडि फूल फुलेका थिए। एकतर्फ पहैलपुर पाकेका वेलौतीमा चराको राज चलेको छ, उता भर्खरका लाउरे बोटका सुन्तलाहरू रछायाँ-रछायाँ हुन थालेका छन्। आफ्ना हातले चरिको दुध खोजे पनि पाइएला जस्तो वनाएकी थिई। कस्तो उँडुवा मन, कसरी चटक्कै छोडेर जान सकेकी होली, त्यस्तो चन्चलाश्री पनि।
पोखराबाट फर्केको रात अचानक पातेको पेटमा बच्चा चल्यो। उ झसंग भई, पर नसरेको चार-पाँच महिना भैसकेको थियो। पर सरेको बेलामा बार्ने, चोखो नीतो गर्ने संस्कार भएको भए सवैलाई थाहा हुन्थ्यो। यस्तो किसिमको चलन नभएकोले उसैलाई पत्तो भएन, थाहै भएन। उ भागेको यतिका दिनपछि धनेलाई सम्झी, धेरै बेर टोलाएर बसी, सबै कुराको क्रमशः याद गरी। छानोको बलो-बलो समेतको याद गरी। धनेको घर र अहिले आफूले छानेर, मनपराएर आएको लाहुरेको घर तुलना गरी। रुपसिङको घरमा बुढी आमाले व्यवहार गरेको खाने जीविका बाहेक अरु केही थिएन। पानीले पखालेको जस्तो थियो तर धनेको घरमा लाहुरेपद र पैसा बाहेक चन्चलाश्री थियो। भकारी भरी अन्न थियो। खेतभरी, बारी भरि जाँगर झुलेका थिए।
भोलिपल्ट बिहान पातेको आँखा एउटा तस्विरमा पर्यो अचानक। त्यो तस्विरमा रुपसिङ र एउटी राम्री आइमाइ खुब प्रसन्न मुद्रामा मुस्कुराइ रहेका थिए। कुममा कुम मिलाएर खिचिएको तस्विर — ‘रुपसिङको त जेठी छ कि क्या हो ! पातेको मनमा चसक्क शंकाको तरंगले प्रवेश गर्यो। केही बेरसम्म आफ्नै मन भित्र शंकाले उथल-पुथल मचाइ रह्यो। हात गोडा सल्याङ सुलुङ भए। मैले अन्जानमै ठूलो रहमा त हाम फालिन? धनेलाई त्यत्रो ठूलो धोका दिएँ मैले। कतै पाप धुरीबाट कराउने त होइन? मनमा कुरा खेलाउनुको साटो उसंगै सोध्छु भनेर पाते रुपसिङको नजिक गई र सोध्ने जमर्को गरी। हम्मेसी सोध्ने साहस पनि आएन। रुपसिङ झोलामा सामान प्याकिङ गर्न ब्यस्त थियो। बुढीआमा फलैंचामा बसेर छाती समाउँदै खोकिरहेकी थिइन।
पाते आफ्नै मनसंग धेरै सवाल, जवाफ गर्न थालेकी थिई। पहिलेभन्दा परिस्थितिले पनि ज्यादै गम्भिर वनाउँदै ल्याएको थियो। यथास्थितीवाट वेग्लै धरातलमा फड्केकी बाइफालेलाई धनेकै गर्भले पोल्न थालेको थियो। कतै रुपसिङले थाहा पाएर छोडिदियो भने म घरको न घाटको पो हुने हो की भन्ने तर्क वितर्क मनमा आउनु पनि अस्वभाविक होइन। त्यसैले पातेको दिल भित्र डाहै-डाहले छट्पटी पार्दै ल्याएको थियो। गलामा प्राण बोकेर वसेकी नयाँ सासू अहिल्यै हुरुक्क हुने हुन् कि? अर्को बेग्लै संभावित भवितव्यले सशंकित बनाउन थालेको थियो। रुपसिङसंगको मिलन दुई दिनको रामछायाँ हो कि भन्ने पनि लाग्यो। त्यसैले उ धेरै गम्भिर हुन थाली।
भोलिपल्ट विहानै रुपसिंङ फर्कने तर्खर गर्न थाल्यो। यो त कपटी पो रैछ, रातभरी केही पनि भनेन, विहान उठेर त जाने पो भन्छ। पहिल्यै मलाई भनेको भए पनि मैले के भन्थे र? मनमा कुरा खेलाउँदै रुपसिङ नजिकै गएर पातेले भनी। खै त मेरो त केही पनि ठीक पारेको छैन नि, आजै जाने हो र?
म मात्र जाने अहिले, तिमी जाने कहाँ हो र? म पछि लिन आउँछु नि। अहिले आमा र तिमी यही बस्ने।
‘चौटा खान आएकी बुढी झोलमा डुबी’ भनेजस्तै भयो। पातेको मनभरी भुईंचालो आइरह्यो। एकछिन पछि झुण्ड्याई राखेको जेठी र रुपसिङको तस्विर पातेले झिकेर ल्याई र सोधी– यो आइमाई को हो? कि जेठी छ? रुपसिङ सुनेर पनि नसुनेको झैं गर्न बाध्य भयो। अब ऊ यो जटिल समयबाट कसरी उम्कने भन्ने मात्र सोच्न थाल्यो।
टाढा पुग्नुछ, बस र रेलबाट जानु पर्छ। समय परिस्थित ठीक नभएको बेला, शुभसाइतको बेलामा मलाई नअल्मल्याउ, तिमी मेरी सर्वश्व हौ। अन्यथा नसोच। जेठी हुनुमा र नहुनुमा केही फरक छैन। बरु मलाई चाँडै विदा देऊ। पातेलाई सम्झाउँदै थियो, फस्ल्याङ-फुस्लुङ पार्दै थियो। कपट र छल केही नभएकी सोझी आमाले थालीमा रातो टीका र फूल लिएर स्याँ-स्याँ गर्दै आइन।
‘लौ बाबु म डाँडामाथिकी जुन भैसकेँ, चाडै आएस् ! उता बच्चा हुने बित्तिकै हामीलाई खबर गरेस्। जे भए पनि पकाएर ख्वाउने कान्छी ल्याइदिएको छस्, यसलाई पनि हेर विचार पुर्याएस्। बूढी आमाले यथार्थ कुरा केही मनमा नराखी सबै उकलिन्। अब सबै छर्लङ्ग भयो पातेलाई। दौडेर गई धनेलाई अंगालो हालेर माफी मागौं कि जस्तो लाग्यो। ग्लानी र पश्चातापले निथ्रुक्कै भिजायो। धनेलाई लात मारेको पाप धुरीबाट कति छिटै कुर्लियोजस्तो भयो। बुढ्यौलीले छिप्पिएका आफ्ना हात कमाउँदै आमाले रुपसिंङलाई टीका र फूल लगाइदिइन्। धन्दै-धन्दै दृष्टी गुमाउने बेला भैसकेका नयनबाट बलिन्द्रधारा आँसु चुहाइन् , टाटनको सप्कोले आँसु पुछिन् र लुसुक्क भित्र पसिन्।
सुख काट्न लाहुरेको दौराको फेर समाएर आएकी पाते, रुपसिङले छाडेर गएको पैसा भइन्जेल त रासन पानी वबसाएर खाई, केही समय आराम गरी। पैसा सकियो, भकारीमा अन्नको गेडो छैन, लाहुरबाट पैसा आएको छैन। अत्यन्त अप्ठ्यारोमा परी। जहाँ गए पनि उही दुःखले छाडेन। उता दुःख गर्दा-गर्दा जमिसकेको घरबार आफैले भताभुङ्ग पारेर यता आई, फेरि जरैबाट सुरु गर्नु पर्यो। पैसा पठाउनु भनेर कैयों चिठी लेखी। न पैसा आयो न चिठी आयो, न त मान्छे नै आयो।
यता आएको पाँच महिनामै धुतुमुने छोरो जन्मियो। छोराको पहिलो दर्शन पाउने बित्तिकै पाते झसंग भई। किनकी उस्को अनुहार काटीकुटी धनेको जस्तै थियो। क्रमशः ओझेलमा पर्न लागेको विगत् फेरि सामुन्ने आईदियो। रुपसिङले पैसा पठाउँदै पठाएन। यता घरमा न खानलाई अन्न छ न नङ्ग्रा खियाउन जमिन। भित्र बाहिर गर्न पनि असमर्थ सासू, काखमा अत्यन्त सानो दुधे बालक, यो भन्दा अप्ठ्यारो जिन्दगी कस्को होला सायद। पातेले निवेकै गरेर तीन प्राण धान्न थाली। उस्को आँखा कहिल्यै ओभानो भएन।
काम गर्न जस्ले बोलायो उसैको खेतवारीमा दिनभरी काम गरेर केही पैसा लिएर घर आउँथी। आवश्यक परेका सामाग्री किनमेल गर्दथी र छाक टार्दथी।
बाहुनको ठूलो खेतको रोपाई, असारको अन्तिम भैसकेको थियो। मुसलधारे पानीले मेलोमेसो दिएको थिएन। आफ्नो पिठ्युँमा बच्चा बोकेर त्यही रोपाईंमा पाते हिंडेकी थिई। एकसुरले गइरहेकी थिई। मनभरि पीडै पीडा, सोचाइका तरंगहरू वेग्लै थिए। आफ्ना सामुन्नेबाट कोही पार भयो भने पनि पत्तो नै नपाउने गरी सोचाइका भंगालाहरू एक पछि अर्कोले पछ्याइरहेका थिए। त्यत्तिकैमा धने उस्को सामुन्नेमा आइपुग्छ। एकपटक देख्न पाए हुन्थ्यो भन्ने दुवैको अभिलाषा भएपनि देखभेट भए पछि कुनै बोलचाल भने भएन। दुवैको मन ढक्क फुल्यो। धनेले पातेलाई भन्दा छोरोलाई एकोहोरो हेरिरह्यो।
उसलाई लाग्यो- त्यो पक्कै मेरो वंश हो, मैले पाए राम्ररी पाल्ने थिएं, मलाई दिए पनि हुन्थ्यो। म त काम लागिन उसलाई भने मेरो वंशको के काम? म सँगै बसिरहेकी भए यति सानो बच्चा च्यापेर मेलापात गर्नु पर्दथ्यो होला त? कति स्याहार पुर्याएर पाल्थें मैले? उसको त्यति भरिलो शरीर पनि त सुकेर आधा भइसकेछ। धने मलाई स्वीकार गर् , म तँसँगै बस्छुँ भनेर फेरि आए पनि म सहर्ष स्वीकार गर्ने थिएँ क्यारे। कहिलेकाहीँ बुद्धि बिग्रन्छ नै, मैले पनि त अर्की ल्याएको छैन। सँधै उसैलाई सम्झेर दिन-रात काटिरहेको छु।
धने पनि कसैको मेला जान आएको थियो। पाते ओझेल हुने बित्तिकै थचक्क त्यहीँ बस्यो। हुनसक्छ उसलाई पातेप्रतिको गढूवा मायाले गाँज्यो या उस्लाई छोडेर भागेकी पाँचै महिनामा जन्मिएको शिशुमा दुरुस्त आफ्नो छवि देख्यो। मसक्क आँट गर्यो र पातेको पछि-पछि दौडेर गयो।
पातेको दाहिने पाखुरामा टपक्क समात्यो। पाते तँ मसंग हिंड्। आजदेखि तैंले यतिबिघ्न दुःख गर्नु पर्ने छैन। हिँड् ,मलाई गाउँलेको हेला- हाँसोको पनि मतलब छैन। दुवै मिलेर छोरा हुर्काउँ। हाम्रो गृहस्थी अगाडि बढाउँ। घर तँलाई नै पर्खिरहेछ। पाते निःशब्द थिई, आँखा धमिला भए। अबोध शिशुलाई काखैमा लिएर त्यहीं चिसो भुइँमा बसी। आमाको मातृत्व चुस्ने आशामा मुखतिर हेर्दै आँ-आँ गर्दै थियो छोरो। पातेले आफ्नो स्वर्णिम विगत् सम्झी र वर्तमान पनि केलाई। आफूले गरेको अक्षम्य गल्तीलाई पनि क्षमा दिएकोमा धनेसंग अत्यन्त कृतकृत्य भई र आफूले गरेको गल्ती आँसुले पखालेरै जान्छ कि जस्तै गरेर रोइरही। धनेको पालो टपक्क छोरो टिपेर घरतिर बाटो ततायो। पाते किंकर्तव्यविमुढ भएर हेरिरही। आखिर ममताको धागोले पातेलाई पनि डोर्याइहाल्यो। बिचरी, रुपसिंङकी आमा आधिरात घिर्कदासम्म पनि आफ्नो जीर्ण शरीर लिइ पातेलाई पर्खिरहेकी थिइन्।
No related posts.












मलाई यो कथाको नायक लाहुरे जस्तो लग्यो/ उसको आमा प्रति को प्रेम राम्रो छ/ धने सहायक नायक हो भने पाते चाही खलनायिका जस्तो लग्यो / पैसा को पछी लाग्ने, आफ्नो true love नचिन्ने / .
मन परे हरियो, नपरे रातोः
1
0
कथा निकै नै राम्रो लग्यो. सामाजिक परिवेशलाइ निकै मिठो भाषा शैली मा प्रस्तुत गर्नुभएको छ. अझै यस्तै कथाहरुको प्रतिक्षाया मा. शुभकामना!
Hiranyaman जोशी जी,
जहाँ सम्म मैले साहित्यकारको रुपमा सिता जी लाइ चिन्छु, उहा पनि बन्दीपुर कै हुनुहुन्छ .
sufal
मन परे हरियो, नपरे रातोः
2
0
गल्ति सबैको हुन्छा तर पातेले यहाँ २ वटा गल्ति गरिछन , लाउरेको त कुरी नगरु उ गल्ति कै प्रति रुप देखियो ( फेरी सब लुरे यस्तै हुदैनान्नी )
पातेको दोश्रो गल्ति चै लाहुरेकी आमालाई पनि नभनी फेरी धने संग आउनु ,बिचारी बुढी आमा …………………….
जे होस् राम्रो छ अलिक छोटो भाको भए झनै राम्रो हुने थियो
धन्यवाद
मन परे हरियो, नपरे रातोः
3
0
सीता अर्याल नानी लाई धेरै -धेरै धन्यवाद ,कथा अति राम्रो and मिठो लाग्यो . त्यसमा पनि म आफै बन्दीपुरे भएको नाताले अनि झप्री फाँट, नौबिसे कुना आफ्नो बच्चाको बेला खेली हिडेको ठाउँ भएको नाताले यो मन कति छोयो होला. बाघ जात्रा वा संस्कृति का कुरा,मौसम अनुसारका फल-फुल का कुरा कथामा अनि भेस-bhusa का कुरा नाच गानका कुरा पाउदा अझ बढी रमाइलो अनि खुशी लाग्यो.अरु पनि यस्तै कथाहरु पढ्न पाइयोस. यहि शुभ-कामना नानी लाई.तर अर्याल हरु त बन्दीपुर मा थिएनन्.
मन परे हरियो, नपरे रातोः
1
0
कथा राम्रो लाग्यो .
निरन्तरताको शुभकामना हिर्दय देखि नै .
मन परे हरियो, नपरे रातोः
6
2
may be she is not a professional writer !!! it was ok but not good enough
मन परे हरियो, नपरे रातोः
1
10
why don’t u try urself. u don’t ve any right to underestimate anyone. mind it.
मन परे हरियो, नपरे रातोः
4
0
कथा राम्रो लाग्यो | गाउ पहाड़ को झझल्को ले च्वासा बिझ्यो अझै हाम्रो पहाडको सम्झना ,लाई लेखकले अति रोमान्चित रुपमा सबैलाई बिउतौन्खोजेकोमा ध्नेबाद |
मन परे हरियो, नपरे रातोः
4
1
Bashain uppanyash jastai……..copy .
मन परे हरियो, नपरे रातोः
2
1
कति राम्रो कथा हो ! कथा लाई बस्ताबिकता मै डुबेर पढ़े, अन्तिममा त आंसु पो आयो त हो धनेको क्षमादान शक्ति देखेर !!
मन परे हरियो, नपरे रातोः
4
1
कथा मा वियोगान्त संयोगान्त दुइ वटै छ तेसैले कथा राम्रो छ l
मन परे हरियो, नपरे रातोः
3
1
कथा राम्रो छ ,गाउ घरको संस्कृति झलका याको छ !d
मन परे हरियो, नपरे रातोः
5
1
keep on
मन परे हरियो, नपरे रातोः
6
2
कथा लामो भए पनि राम्रो लाग्यो ………..
मन परे हरियो, नपरे रातोः
1
0
कथा राम्रो छ !
मन परे हरियो, नपरे रातोः
8
1
कथा धेरै राम्रो लाग्यो, अलि संक्षिप्त र भाषिक शुद्दता मा ध्यान दिनु भए अझै राम्रो हुने थियो कि
मन परे हरियो, नपरे रातोः
2
0
राम्रो तर अलि लामो, नचाहिने गाउको बर्णन अलि धेरै भयो जस्तो लाग्यो.. तर राम्रै छ है.
मन परे हरियो, नपरे रातोः
5
2
कथा राम्रो लग्यो , अरु पनि लेख्दै जानु होला /
मन परे हरियो, नपरे रातोः
11
1
नितान्त नेपाली गाउँले परिवेशमा लेखिएको मौलिक कथा । ग्रामिण भाषालाई शिष्ट र सुन्दर पाराले पस्किएर वास्तविक प्रेमलाई कलात्मक ढंगले प्रस्तुत गर्नु भएकोमा कथाकारलाई धन्यवाद !
मन परे हरियो, नपरे रातोः
14
1
कथा को bhasa shaili एकदम सरल र मिठो लाग्यो.
मन परे हरियो, नपरे रातोः
9
1
निस्कपट प्रेम गाउको परिबेश लाहुरेको धनको धुवास……………. । समग्रमा कथा लामो भएपनि हाम्रो पुरानो गाउघर र सस्क्रिती झल्काएको छ मेहनतले पाखुरा बजाएर मया-प्रेम सँग डोरिएको जीवन आफैमा निच्छल र सङ्लो देखिन्छ।
मन परे हरियो, नपरे रातोः
7
1
के यो दुनिया, यो संसार या भनौ यो धर्ति तरुनी तन्नेरी का लागि मात्र बनेको रहेछ, ति बुढी आमाको के गल्ति थियो र मर्ने बेलामा १ घुड्को पानि पनि पिउन पाइनन, के रुपसिंङकी आमाले रुपसिंङलाइ जन्म दिनुको सझाया हो त यो……….तेसैले समग्रमा मलाई यो लेख मलाई मन परेन, धने र पाटे को मिलन भयपनी आमा लाइ मध्ये नजर गर्दा बियोगान्त नै भन्नु पर्छ मैले…….
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
12
8
कथा राम्रो लागो |
मन परे हरियो, नपरे रातोः
7
1
कथा राम्रो हो तर अलि लामो भयो
मन परे हरियो, नपरे रातोः
6
1
राजनीतिले खज्बजिएको दिमागमा एकै छिन भएपनी भिन्न प्रकारको कथाले मनै आनन्दित भयो, कथामा प्रयोग भएका परिद्रिस्य र शब्द हरुले आफ्नै गाउघरको याद आयो, प्रकृति, गाउले जीबन, माया पिरती,मानिसमा पैसाको प्रभाब र अंतमा सन्तान र स्वभाविक माया अनि सरल जिबन मा पुनर्गमन , अत्यन्तै मर्मस्पर्सी छन.
मायाका धनि संसारका गरीब सदा हासेर जिउछान.
कथा अलिक लामो र भिन्न बिषय भएकोले माइ संसारका पाठकहरुको रोजाइमा भने पर्दैन.
मन परे हरियो, नपरे रातोः
8
5
किन रोजाईमा पर्दैन? मज्जाले पर्छ.
मन परे हरियो, नपरे रातोः
7
0
किन सर नेट चलाउने ले गाऊ लाई मन परौदैनन र?आहिले नेपाल माँ दूध,भैसी,बखरा नेट बाट नै बेछंन…mind it .
मन परे हरियो, नपरे रातोः
4
1
मलाई कथा राम्रो लग्यो | सीताजी तपाइंको रचना अरुपनि आइरहुन |
Ananta
मन परे हरियो, नपरे रातोः
11
1
कथा धेरै लामो भएर मैले त् पढ्दै पढिन |
गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ?
15
17
यो कथामा सच्चा प्रेम , धोका र पश्चाताप को राम्रो समिश्रण गरिएको छ . धने यो कथाको नायक हो भने रुपसिंह ठुलो धोकेबाज हो . पाते यो कथाको ज्यान हो.कथा सारै चाख लाग्दो छ .
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
15
1
जिबन दुख सुख को सम्मिलन हो सिता जी तपाइको लेख ले कसैको पनि मुटु नछुने कुरा नै छैना बडो मार्मिक छ यथार्थ छ, येसरी तपाइको लेखी हरु जरिरहोस यहाँ को प्रगतिले सगरमाथालाई चुमोस यहि कामना पनि गर्छु.
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि:
24
1