मेरो Tweet

मेरो कुरा/ब्रेकिङ न्युज

    follow me on Twitter

    Users Stat

    Users Online.

    MD, VA, DC Tax Preparation


    युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?

    Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.

    कथा : आँपको रुख

    -दीपक जडित-

    ‘मैले उसलाई भुँडी बोकाउनै नहुने……’ हठात् दिमागमा यो कुरा उब्ज्यो जब म त्यो आँपको रुख भए ठाउँमा पुगेथें । र यसैगरि उब्ज्यो ।

    म यो कुरालाई सम्झँदा अलि ढँगले पनि सम्झन सक्थें । सोच्न सक्थें कि; ‘मैले उसलाई गर्भ बोकाउनै नहुने’ अथवा ‘मैले उसलाई गर्भवति बनाउनै नहुने’ । तर……… मैले त्यसैगरी सम्झिएँ । …………….

    जे होस् उ गर्भवति भएकि थिई र त्यसमा म जिम्मेवार हुनसक्ने ठाउँ थियो ।

    झण्डै १३ वर्षको अन्तराल पछि आज यहाँ आँपको रुख छैन । तर आह्रा लगाएर ढालिएको त्यसको ठुटो भने अझै रहेछ । फेदैदेखि दुई बराबर काण्डहरुमा बिभक्त भएर हुर्किएको त्यो आँपको रुखलाई यौटा अग्लो र अर्को अलिक होचो हुनेगरि ढालिएको थियो । दुबैमा समान रुपमा आह्राले समतल काटेको भाग र ढल्नेबेला मर्किएर लामो लामो छेस्का सहित रहेको उबडखाबड भाग थिए ।

    म होचो काटिएको ठुटोमाथि चढेँ र कुर्शीमा बसेझैं अग्लो काटिएको ठुटोमाथि बसें । बसें यस्तरी कि मानौं म भर्खरै एक जघन्य अपराधी घोषित भएको छु ।

    ‘हे! भगवान, किन अझैसम्म मलाई यहि कुराको अपराध बोध भैरहन्छ?’ यत्रो काल-अन्तरमा पनि यो कुरा मेरो मन मश्तिष्कबाट मेटिन सकेको छैन ।

    सहजै मेटिन सक्ने कुरा पनि त थिएन यो । हो कैले कैले धेरै दिनसम्म स्मृतिमा ओझेल परेर भने बस्छ । तर अनेकौं यस्ता घटनाक्रमहरु देखापर्छन् जिन्दगीमा जस्ले यो कुरालाई स्मृतिपटमा उघारिदिएर ताजा गराईदिन्छ र मलाई दुखि बनाएर राख्छ ।

    यसपटक त म स्वयं यहिँ छु जहाँ आजभन्दा बाह्रतेह्र वर्ष अगाडि मानवीले आत्महत्या गरेकि थिई । मानवीको आत्महत्याले मलाई त्यो बेला विक्षिप्तताको हदसम्म पुर्याएको थियो । एकैपल पनि उसको त्यो आँपको रुखमा झुण्डिइरहेको मृत शरिर मेरो आँखाबाट हट्दैनथियो । कैंयन रात म निदाउन सकेको थिइनं । निदाइहाले पनि सपनामा उसैलाई देखेर म आत्तिंदै ब्युझन्थें । उसको आत्महत्या पछिका धेरै दिनसम्म म बेहोसे भएको थिएँ । कहाँ छु? कतिबेला भयो? के गर्दैछु? केहि थाहा पाउँदिनथिएँ ।

    गाउँघरका सबैले म एकोहोरिने भएको थाहा पाएका थिए । म टोलाईरहने र अस्वभाविक कृयाकलाप समेत गर्ने थाहा पाएर कतिले मलाई झुण्डिएको लास देखेर त्यसको सातो उडेको छ भन्थे । कतिले त अझ बहुलाहा नै भयो भन्ठान्थे ।

    हुनपनि मानवीको झुण्डिरहेको मृत शरिर सबभन्दा पहिले मैले नै देखेको थिएँ । त्यसअघि धेरै पटक लाशहरु देखेको भएपनि यसरी रुखमा झुण्डिएर मृत्यूमा प्राप्त भएको शरिरलाई अह्ररो भएर झुण्डिरहेकै अवस्थामा त्यसभन्दा पहिले देखेको थिइनं । मेरो निम्ती त्यो बिभत्स र भयावह दृश्य थियो । म साँच्चै डराएको पनि थिएँ त्यसबखत । डरले शरिरका सारा रौं जुरुरु भएर ठाडो भएका थिए । अझै त्यो क्षण सम्झँदा पनि त्यहि बेला जस्तै सारा शरिर सिरिङ्ग भएर आउँछ ।

    त्यो बेलामा म बिहान बिहान अँध्यारैमा उठेर दौडन जाने गर्थें । लगभग चारपाँच किलोमिटर टाढा रहेको स्कूलसम्म दौडंदै जाने र त्याँहा भेला भएका अरु परिचित अपरिचितहरुसँग फूटबल खेल्ने गर्थें । बिहान छिट्टो उठ्ने भएकोले जोत्ने गोरुलाई बिहानको राति नै घाँस भए घाँस नत्र ढेडीबाट पराल थुतेर हाल्ने जिम्मा हुन्थ्यो मेरो ।

    त्यहि दैनिकि अनुशार त्यसदिन बिहान पनि म अँध्यारैमा पराल थुत्न ढेडीमा गएको थिएँ ।

    मेरो घरको पश्चिमपट्टि आँगनसँग जोडिएर गाईबस्तुको गोठ रहेको थियो । गोठको उत्तरपट्टी थियो परालको ढेडी । र यो आँपको रुख जहाँ अहिले म त्यसैको ठुटोमाथी बसेको छु, त्यस परालको ढेडी भन्दा पश्चिमतर्फ चालिस मिटर जत्तिको दुरीमा थियो ।

    पराल थुत्न ढेडीको पल्लो छेउपट्टि पुग्नासाथ मैले अँध्यारोमै झ्वास्स कुनै आकृति आँपको रुख मुनि हल्लिरहेको जस्तै देखें । त्यो आकृति देख्दा मेरो आङ्ग ढक्क फुलेर आएको थियो । अलिअलि डराउँदै म पराल थुत्ने उपक्रममा लागें तर ‘पहिले केहि नभएको ठाउँमा आज के हो त त्यस्तो आकृति?’ दिमाग त्यसैमा केन्द्रित रह्यो ।

    त्यसो त भुक्भुके उज्यालो पूर्व क्षितिजमा आइसकेको हुँदो हो त्यसबेलासम्म तर त्यो आँपको रुखको चारैतिर धर्तीमा खस्नै लागेको उज्यालोको पूर्व आभा छेक्नलाई केहि दुरीमा एकातिर बाँसको झ्याङ्ग र अर्कातिर केराघारी थियो । यस्तोमा त्यसबेला त्यो आकृति यहि हो भनेर ठम्याउन सकिन्नथियो ।

    ‘कसैको बस्तुभाउ फुकेर आएको हुनसक्छ ।’ सम्भावना औंल्यायो दिमागले ।

    म पराल थुत्दै त्यहि आकृतितिर हेर्दैथिएँ ।

    ‘अहँ त्यो बस्तुभाउ फुकेर आएको हैन । फुक्का बस्तु त्यसरी एकैठाउँ उभिइरहँदैन ।’ म त्यो आकृति फुकेर आएको वस्तु हैन भन्ने निचोडमा पुगेँ । त्यसमाथि त्यो आकृतिलाई नियालिरहँदा मलाई कोहि मान्छे नै उभिइरहेको; अझ हातले ईशारा गरेर मलाई नै बोलाउँदै गरेको भान पर्यो ।

    मलाई झट्ट मानवीको याद आयो । यो पक्कै पनि मानवी नै हुनुपर्छ । उ सँग मेरो भेट भएको पछिल्लो पटक पनि राति एघार बजेसम्म मानवी मसंगै यहि आँपको रुखमुनि थिई । मैले कर गरेर उसलाई घर लिएर गएको थिएँ । उसको घरमा पुगेर मैले कति बोलाउँदा पनि उसको घरकाले सुनेको नसुन्यै गरेका थिए । उनिहरु उसको निम्ति घरको ढोका खोल्न सम्म तयार थिएनन् । अन्तत उसकि बैनि आएर चुपचाप ढोका खोलिदिएकि थिई ।

    यो आँपको रुख मानवीको ज्यादै प्रिय ठाउँ थियो । यहि रुखको फेदमा खेलेर हुर्किएकि थिई मानवी र म पनि । उमेरले मानवी म भन्दा पुरा पाँचवर्ष ठुलि थिई । र पनि हामी सानोमा यो आँपको रुख मुन्तिर भातपकाई, पूतलि या यस्तै अरुकेहि खेल्ने गर्थ्यौ ।

    ठ्ल्ठुला भैसकेर पनि हामी यो आँपको फेदमा घण्टौं बिताउंथ्यौं । आफ्ना हरेक खुसीहरु मानवी मलाई यहि आँपको रुखमुनि बोलाएर सुनाउंने गर्थी । दुखि हुँदा त झन यो आँपको रुख जति नजिकको साथी उसको कोहि हुँदैनथ्यो ।

    चैते खडेरीले खरो भएको ढेडीको पराल थुत्दा हातले समातेको मध्ये एकतिहाई मात्र निस्कन्थ्यो । मलाई यता पराल थुत्न जोड परिरहेको थियो भने उता मानवीको कुराले दिमागमा झन जोड पारिराखेको थियो । मैले पराल थुत्ने उपक्रमलाई निरन्तरता दिइरहें । म सायद गोरुलाई पराल हाल्ने काम सकेर मात्र आँपको रुखतिर जान्थें ।

    निक्कैदिन देखि मानवी तनावमा थिई । उ दुई जिउकि भएको कुरा उसले मलाई यहि आँपको फेदमा ल्याएर सुनाएकि थिई । भनेकि थिई, ‘दीपक, मैले भुँडी बोकेकि छु । अब के गर्ने होला?’

    त्यो कुरा उसले यति सहजताका साथ भनेकि थिई कि, मानौं उ मलाई ढाँटिरहेकि छे अथवा मलाई डर देखाएर उ मेरो प्रतिकृया बुझ्न चाहन्छे ।

    निश्चय नै त्यो मेरो लागी अप्रत्याशित कुरा थियो । हुनसक्छ म त्यो बेला अनुहारले नीलोकालो भएको थिएँ ।

    ‘के भनेकि मानवी तिमीले यो? त्यस्तो कसरी हुन्छ? तिमी त केहि पनि हुन्न भन्थ्यौ ।’ प्रतिक्रियामा बोलेथें म ।

    ‘खै? हुँदैन भन्ठान्थें म, तर हुँदोरहेछ । यि भयो त । मैले भुँडी बोकें । अझ घरमा सबैले थाहा पाएका छन् । कोहि बोल्दैनन् मसँग । बोल्नु पर्यो भने गाली मात्र हुन्छ उनिहरुसँग मेरोलागी ।’ केहि उदाश स्वरमा बोली उ ।

    म निशब्द थिएँ । के बोल्ने? के भन्ने ? केहि पत्तो थिएन । बरु डरले थरहरी भएर के के सोच्न थालेथें म ।
    ‘हरे! भगवान! यो के भयो? के यहि उमेरमा म बच्चाको बाउ हुने भएँ? अब मेरो भविश्य के होला? छरछिमेकले मलाई के के मात्र भन्दा हुन्? कुन दिनमा म यसरी फसेँ?………’

    मेरो सातोपुत्लो उडेको अनुहार उसले नियाँलिरहेको हुनुपर्छ । त्यसैले उसले भनि, ‘तिमीलाई के भयो नि? तिमी किन यसरि नीलोकालो भ’को? भुँडी बोकेकि मैले हुँ, तिमीले हैन ।’ विचरी उ उल्टै मलाई नै सम्झाउँला झैं गर्दै थिई तर उसको अनुहारमा अन्यौलको गहिरा रेखाहरु खिचिएको देखिरहेथें म ।

    ‘बोका’को त मैले होला नि…..’ काँपेको आवाजले यतिमात्र भनें मैले । म असाध्यै डराएको थिएँ । डरले कामुँला झैं भैरहेथ्यो मलाई ।

    ‘तिमीले होइन दीपक, नडराउ तिमी । तिमीसँग त्यस्तो गरेको त अस्ति भर्खर स्वस्थानीको साङ्गे हुने बेलातिर न हो । त्यो त कति भयो र? मैले यो पेट बोकेको त चार महिना भैसक्यो ।’ आफ्नो पेट छाम्दै बोलीथि मानवी, ‘फेरि तिमीले केहि गरेको पनि होइन मलाई; मैले नै बरु गरेकि हुँ…..।’

    मानवीको कुराले ठुलो राहत मिलेथ्यो मलाई । अचानक आकाश खसेर किच्नै लागेको बेला फेरि अचानकै आकाश जस्ताको तस्तै माथि गएझैं महसुस भएथ्यो ।

    ‘त्यसोभए कस्तो त?’ अलि सास आएझैं सोधें मैले ।

    ‘थाहा पाएर के गर्छौ? त्यो मान्छे छैन यहाँ ।’ उ एकाएक रुन्चे देखिई । भन्न नखोजे जस्तै उसले मुण्टो अर्कोतिर फर्काई तर उसको अनुहार हेर्दा लाग्थ्यो उ मसँग यहि कुरा बाँडेर हलुका हुन चाहन्छे ।

    एकछिन अगाडीसम्म आफैं फन्दामा परिसकेझैं अत्तालिइरहेको म त्यसबेला ढुक्क थिएँ र जान्न चाहन्थें कि, को हो त्यस्तो मान्छे जस्ले मानवीलाई गर्भ बोकायो र अहिले यहाँ छैन? अझ त्यसबेला त म मानवीलाई आवश्यक परामर्श दिनसक्ने समेत भएको ठान्दैथिएँ आफुलाई । दोहोर्याएर सोधें मैले, ‘र पनि भनन त को हो त्यो?’

    ‘अर्जुन’ उसले नाममात्र लिई र फेरि चुप भई ।

    मानवीले संगत गर्ने गरेको अर्जुन यौटै मात्र हुन सक्थ्यो जो उसकै क्याम्पसमा कहलिएको क्रान्तिकारी बिध्यार्थी नेता थियो र यतिबेला सेनाले समातेर बेपत्ता पारेको थियो । मानवी पनि क्रान्तिकारी संगठनको पछि लाग्ने; सम्भवत सदस्य समेत रहेकि हुँदा अर्जुन त्यहि हुन सक्थ्यो । मानवीको अर्जुनसँग त्यस्तो नजिकको उठबस भएको तर मलाई थाहा थिएन त्यसैले निश्चय गर्न सोधें, ‘त्यहि नेता अर्जुन?’

    उसले हो मा तलमाथि गरेर केहिबेर टाउको हल्लाईरहि । केहि बोलिन ।

    यदि त्यो गर्भ अर्जुनकै हो भने त बोल्नु पनि के थियो? अर्जुनलाई सेनाले बेपत्ता पारेको सबैलाई थाहा थियो । कतिपय त उसलाई सेनाले मारिसके भन्थे ।

    ‘कसरी? कैले भयो त त्यस्तो? तिमी अर्जुनसँग त्यति नजिक भएको पनि मैले त कहिले थाहा पाईंन ।’ मैले प्रष्टिकरण चाहेँ किनभने हुनसक्ने सम्भावना भएपनि मलाई कसरी भयो या कैले भयो भन्ने कुरामा सन्देह थियो ।

    ‘अब त्यो सबै थाहा पाएर के गर्छौ तिमी भनत?’ बिस्मित नजर पर पर फाल्दै बोलिथि उ, ‘क्यामपसको चुनाव हुनुभन्दा अगाडी भ’को । गल्ति गरेँ मैले । अब सुधार्न सकिँदैन । अर्जुन भएको भए कुरा अर्कै हुन्थ्यो । उ नै नभएपछि अब यो कुरा कोट्याएर पनि फाईदा छैन । झन दुखि हुनु मात्र हो ।’

    अर्जुन पक्षको कुरा यहाँ भन्दा सुनाउनु आवश्यक पनि थिएन उसले मलाई । उ अर्जुनको थप कुरा गर्न चाहन्नथि तर यो समस्याको निकास त चाहिएको थियो उसलाई ।

    एकछिन अगाडिसम्म यो सब आफ्नै कारणले भएको हो भनेर तिल्मिलाएको म आफ्नो कारणले होइन भन्ने हुँदा ढुक्क त थिएँ तर तत्काल फेरि मानवीको गर्भको दोश्रो जिम्मेवार ब्याक्ति जो बेपत्ता छ उहि निस्किएपछि अर्को छट्पटि भयो मलाई । मानवीले अब के गर्ने? यहि चिन्ता हुन थाल्यो ।

    ‘अनि, घरमा के भनेकि छौ नि? कस्को हो भन्यौ?’ सोधेको थिएँ मैले ।

    ‘जे हो, जस्को हो त्यहि भनेकि छु । अर्जुनकै हो भनेकि छु । त्यसैले त झन उग्र छन् घरमा सबै । लगेर जिम्मा लगाउने ठाउँ पनि राखिन भन्छन् ।’ वास्तवमै मानवीको मुद्दामा जिम्मालिने पात्र नै थिएन । उसको घरमा पनि कसरी जाने जब उ नै बेपत्ता छ ।

    ‘तिमीले बरु बेलैमा गर्भपतन गराउनु पर्ने त्यता किन सोचिनौ?’ समस्याको निकास त्यो पनि त हुनसक्थ्यो भन्ने अभिप्रायले सोधेथें मैले ।

    ‘त्यो आँट नै आएन पहिले; पछि घरका सबैले थाहा पाएपछि ग’कि हुँ । ढिलो भैसकेको रहेछ ।’ पिर्लिक्क उसका आँखाबाट आँसुका थोपा खसे । निकासको सम्भावनाको यो पाटो पनि समाप्त भैसकेको रहेछ ।

    ‘त्यसो भए अब म हुन्छु यो बच्चाको बाउ । तिमी पनि यो मेरै हो भन । अनि हामी बिहे गरेर अन्तै कतै गएर बसौंला ।’ मानवीको अगाडी अँध्यारो भविश्य मात्र देखेपछि म मा यो आँट त्यसै पलाएर आएथ्यो । उसको सुरक्षार्थ म उसको पेटको बच्चाको बाबु बन्न तयार थिएँ तर मैले अन्तै कतै गएर बसुंला भन्ने कुरालाई जोड दिएको थिएँ त्यसको मतलब हुन्थ्यो कि म यो समाजलाई ठाडो चुनौति दिन पनि डराउँथें ।

    ‘नाईं हुँदैन । तिमी म भन्दा ५ वर्ष सानो मान्छे कसरि मेरो लोग्ने हुने?’ ईन्कार गरिथि मानवीले ।

    ‘त्यो दिन त तिमीले मलाई ५ वर्ष सानो भनिनौ त?’ मानवीसँग सहवास गरेको दिनतर्फ थियो मेरो ईसारा । त्यसदिन जे भएको थियो त्यसको साक्षि पनि त्यहि आँपको रुख थियो ।

    गाउँकै यौटा घरमा स्वास्थानीको साङ्गे भएको रात मौका छोपेर मानवीले मलाई त्यो आँपको फेदमा लगेकि थिई र सम्भोग गर्ने प्रस्ताव राखेकि थिई । उसैले मलाई बिश्वास दिलाएकि थिई त्यसो गर्दा केहि बिग्रिदैन बरु सम्भोग गर्दाको आनन्दको अनुभव हुन्छ भनेर । मैले पेट बोक्यौ भने के गर्ने नि भन्दा समेत उसले एकपल्ट गर्दा के को पेट बोकिनु धेरै गर्दा पो बोकिन्छ त पेट भनेकि थिई । उसको हठको अगाडि प्राय हार्ने म त्यसरात पनि हारिदिएको थिएँ । कहिँ त म भित्र पनि सम्भोगको अनुभव हासिल गर्ने लोभ जागेर आएको हुनसक्छ त्यसरात । डराई डराई सुरु भएको त्यसरातको क्रिडा कल्पना भन्दा धेरै सुखद अन्त्यमा टुँगिएथ्यो बरु त्यसपछि भने परिणामको चिन्ताले केहिदिनसम्म खाएथ्यो मलाई र केहिदिन पछि त्यो पनि हटेर गएथ्यो ।

    ‘त्यो अर्कै कुरा हो दीपक, त्यो दिनको लागि तिमीले पश्चताप गर्नु पर्दैन ।’ उ अझै मानिन ।

    निक्कै प्रयास गरेर मैले उसलाई मनाएँ । उ ह्रदयले नै राजी भएकि थिइन तर उसको अगाडि अरु विकल्प नभएकोले हुन्छ भनिथि । त्यसैले मानवीको पेटको बच्चा मेरो हो भन्ने दाबि गर्दै म उसको घर गएथें ।

    तर परिस्थिती सोचे जसरि निस्किएन । उसका बाबा आमाले पहिले उसैलाई सोधे ‘यसैको हो त तेरो पेटको अवगाल?’

    मानवीले भयपूर्ण आवाजले हो मात्र के भनिथि उसका बाबा आमा खनिए उसैमाथि, ‘हिँजोसम्म यौटाको हो भन्दैथिई, आज अर्कैको हो भन्छे । यो रण्डि कतिजनासँग सुतिसकि? लाजशरम भन्ने त कुरा त फिट्टिक्कै पो रहेन ए । भोली फेरि अर्कैलाई देखाएर यस्को हो भन्लि । यौटाको पाप बोकेर क-कस्लाई मुस्छेस् हँ? यस्ता वेश्याहरु त गर्भैमा तुहिएर जानु नि यो दिन देखाउनलाई किन बाँचेका हुन्?……………’

    चट्याङ्ग सहितको साउनको कालो मेघजस्तै उनिहरु एकोहोरो वर्षिरहे मानवीमाथि । उसको बचाउ गर्दै मैले भनें, ‘यो मेरै बच्चा हो । हामि बिहे गर्छौं । बरु हामि टाढा कतै गएर बस्छौं ।’

    मानवीका बाबा आमा मतिरै खनिए, ‘तँ नाथे छुसि! हामिले हगेको मुला! हिँजोको चल्ला, बडो आएछ यो वेश्यालाई बचाउन । निस्किहाल्, तँ यहाँबाट गैहाल् । ओठमा दुध मरिसकेको छैन; बडो आएको बच्चाको बाउ हुन ।’ उनिहरुले मलाई त्याँहाबाट लखलखे लाएर खेदे ।

    मानवीको घरबाट खेदिएपनि मैले उसलाई बिहे गर्ने र उसको पेटको बच्चाको बाबु बनेर उसलाई साहारा दिने प्रण नै गरेको थिएँ तर नियतिलाई सायद त्यो मञ्जुर थिएन । मलाई मनवीको घरतिर ढिम्किनै दिंदैनथिए उसका बाबा आमाले । उ पनि मेरो घरतिर आईन । मैले केहि दिनसम्म रातबिरात पनि आँपको रुखमा उसको प्रतिक्षा गरेँ तर अहँ उ घरमा बन्दि थिई या के थियो उ बेखबर भई । बरु उसको बदनामीको हल्ला भने आगोजस्तै गाउँभरि फैलिएथ्यो साथमा अर्जुनको नाम जोडिएर ।

    अरु केहि दिन यसरी नै बितेका थिए । मानवीको चिन्ता लिए पनि मैले केहि गर्न सकिराखेको थिईनं । म आफ्नो नियमित दैनिकिमा उसैगरि चलिरहेथें जस्तो कि यस्तो कुनै अवस्था सिर्जना नभएको बेलामा चल्थें । त्यहि केहि दिनपछिको अवस्था थियो मैले पराल थुत्दै गर्दा आँपको रुखमा त्यो आकृति देखेको ।

    गोरुलाई पुग्नेगरि थुतिसकेको परालको थुप्रो त्यहिँ छोडेर म आँपको रुखतिर लागेँ । मानवी हो भने म पहिले उसलाई लिएर आउँछु र आजै उसँग भागेर कतै जान्छु भन्ने सोच्दैथिएँ म त्यो बेला । अँध्यारो अझै छँदैथियो तथापि त्यस आकृतिको नजिक पुग्दा नपुग्दै म चिसो भएँ । आकृतिको अवस्था र आकृति के हो बुझ्न मलाई बेर लागेन ।

    त्यो मानवी नै थिई तर मलाई पर्खिरहेकि मानवी थिईन त्यहाँ । त्यहाँ त म लगायत सबैसँग सदबिदा भैसकेकि मानवी थिई ।

    हो, मानवी झुण्डेर मरिसकेकि थिई, त्यहि उसको प्रिय ठाउँमा, त्यहि उसको प्रिय रुखमा, डोरिको पासो लाएर झुण्डिएकि मानवीलाई त्यसरी फेला पारेथें मैले त्यो बिहानको राती ।

    होचोहोचै हाँगामा झुण्डिएकि मानवीको यौटा खुट्टा तन्किएर भुँई छुन कोसिस गरेझैं र अर्को खुटा चैं अलि खुम्च्याए जस्तो थियो । खुल्ला छोडेको उसको कैलो कैलो केशहरु अनुहारतिर छरिएको थियो । दुबैहातहरु लुत्रुङ्ग झुण्डिएका थिए । मैले झम्टेर गएर उसलाई समातें तर उ अह्ररो र चिसो भैसकेकि थिई ।

    त्यसक्षण मेरो मुखबाट राम! राम! निस्किएथ्यो । तत्क्षण नै म एकदम बिचलित भएको थिएँ यद्दपि मैले त्यसबेला ठस्स गुहूको दुर्गन्ध थाहा पाएको थिएँ । सम्भवत प्राणपखेरु उड्दा कष्ट परेर मानवीको मलद्वारबाट दिसा निस्किएको हुनुपर्छ ।

    एकाएक मलाई चारैतिरबाट डरले घेरेर ल्यायो । म चिच्याउँदै रुँदै अझ लड्खडाउँदै पराल ढेडीतिर भागें र आफैंले थुतेर थुपारेको परालको थुप्रोमा अल्झिएर लडें । मलाई पछाडिबाट कालले लखेटिरहेझैं भएको थियो त्यतिबेला ।

    म चिच्याएको सुनेर सबैभन्दा पहिले आख्खुम दाइ आउनुभयो । त्यसपछि आमाबाबा लगायत घरका सबै आईपुगे । सबैलाई मलाई सर्पले डस्यो भन्ने परेको रहेछ । परालमा प्राणै जान लागेझैं लम्पसार परिरहेको ममाथि टर्चलाईट लाउँदै आख्खुम दाइ सोध्नुहुँदैथियो, ‘खै कहाँ टोक्यो?’

    बाबा ‘ए डोरी ल्यावो झट्टै, बाँध्नुपर्छ।’ भन्नुहुँदैथियो ।

    मैले मुश्किलले सर्पले टोकेको हैन भन्न सकें तर अगाडि केहि बोल्न सकेको थिईनं ।

    ‘के भयो त के?’ उनिहरु सबै एकमुखले सोध्दै थिए । आख्खुमदाइ स्थितीको जाँच गर्न वरपर टर्चलाईट लाउनुहुँदैथियो । खास नाम रत्न भएका आख्खुम दाइ हाम्रोमा खनजोत गर्ने काम गर्नुहुन्थ्यो र हाम्रै घरमा बस्नुहुन्थ्यो । जतिबेला पनि खोके जस्तै आख्खुम आख्खुम् गरिरहने आदत भएर वहाँको नाम आख्खुम रहेको थियो । वहाँले नै हात दिएर मलाई उठाउनुभयो ।

    सबैजना वरिपरी भएपछि मलाई निक्कै साहारा भएको भएपनि म काँपिरहेकै थिएँ । मैले हातको ईशाराले आँपको रुखतिर देखाउँदै अस्पस्ट बोलेँ, ‘मानवी…………आँपको रुखमा…………’

    परिस्थिती बुझ्न त्यहाँ भएका कसैलाई पनि मैले स्पस्ट बोलिरहनु पर्ने आवश्यकतै परेन । मानवीले भोगिरहेको तनावसंग सबै परिचित थिए । मेरि आमाले त पहिल्यै अनुमान गर्नुभएको थियो । भन्नुहुन्थ्यो ‘कसै न कसैको त साहारा चाहिन्छ त्यसलाई । के भ’का यो घरका मान्छेहरु? कुनदिन घरभित्रै पासो लाएर मर्छे अनि थाहा पाउँछन् ।’
    त्यसबेला उपयुक्त मौका ठानेर मैले आमालाई भनेथें, ‘त्यै त, उसलाई बुझ्ने कोहि भएनन् । कि म बिहे गरुँ आमा? उसको पेटको बच्चाको म जिम्मा लिउँ?’ भित्रभित्रै मानवीलाई बिहे गर्न तयार भैसकेको अवस्था भएपनि त्यो मौका घरको; अझ आमाको प्रतिक्रिया बुझ्न उपयुक्त ठानेको थिएँ मैले र कतै आमाको तर्फबाट सकारात्मक जवाफ पाईहाल्छु कि भन्ने आसा पनि थियो मेरो ।

    ‘हैन के भन्छ यो?’ आमाले मेरो टिप्पा उडाउंदै भन्नुभएथ्यो, ‘साथी हो भन्दैमा त्यो कस्को कस्को गलपासो आफ्नो घाँटीमा झुण्ड्याउने कुरा गर्छस्? भएन त्यो तेरि दिदी भन्न सुहाउँछे । मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ ।’ ज्यादै कठोर नजरले हेर्नुभएथ्यो आमाले त्यसबखत मलाई ।

    मैले ईशारा गरेतिर आख्खुमदाइले आफ्नो छ ब्याट्री जाने ठुलो टाउको भएको टर्चलाईट लगाउनुभयो । त्यसको उज्यालो आँपको रुखमा झुण्डिइरहेको मानवीको मुर्दा शरिरलाई देखाउन प्रयाप्त थियो ।

    मेरो झैं सबैको मुखबाट एकसाथ राम! राम! निस्कियो । त्यसपछि त के? कोहि रुन लागे, कोहि चिच्याउन । ठुलै हल्लिखल्लि भयो । वल्लोघर पल्लोघरका छरछिमेकिहरु पनि एकएक गर्दै हल्लिखल्लिमा समेल हुन हाजिर हुँदै गए । मानवीका घरबाट पनि सबै आए र मुर्छा पर्दै रुन लागे । हिँजोसम्म त्यत्रो मानसिक कष्ट सहिरहेकि त्यहि मानवीलाई उसका घरका कसैले कठै! सम्म भनेका थिएनन् । अहिले त्यसरी मुर्छा पर्दै रुँदै गरेको देख्दा मलाई लोकलाजको कतिसम्म पाईंन हुनेरहेछ त भन्ने लागेको थियो ।

    उज्यालो भैसक्दा सम्म त्यहाँ मानिसहरुको मेला लागिसकेको थियो । तमासेहरुको भीड देख्दा लाग्थ्यो त्यहाँ कुनै राजनैतिक दलको आमसभा भैरहेछ ।

    तमाशा हेर्न आउनेहरु प्राय सबै जना लासको नजिक गएर धित मरुञ्जेल हेर्थे र ‘यस्तो अगति परेर मर्नेलाई पनि के हेर्नु? थुक्क!’ भन्दै अर्कोतिर लाग्थे । उनिहरु मरिसकेकि मानवी र उसलाई गर्भ बोकाउने, बेपत्ता भएको अर्जुनलाई ‘छि! छि! र थू! थू!’ गरिरहेथे ।

    अहो! कति कठोर बन्न सकेको हाम्रो समाज? कारण जे सुकै होस्; प्रकृति जस्तो सुकै होस् तर मृत्यु त आँखिर मृत्यु नै हो । त्यहि मृत्युमा मानिसहरु किन यति निर्दयि हुन सकेका? कतिसम्म संवेदनाहीन रहेछ हाम्रो समाज त्यो दिन बुझेथें मैले ।

    तमाशेको हुलमा मरेकि मानवीसँग जोडिएर अर्जुन पनि बदनाम भैरहँदा मैले मनमनै भनेथें, ‘हे भगवान! धन्न मानवीले मेरो पेट बोकिनछ । नत्रभने आज मेरो के हविगत हुनेथियो? यत्रा मान्छेको सामुन्ने म कसरी मुख देखाउँथें होला?’ र तत्काल तुलना गरेथें मैले भर्खरै संवेदनाहीन भनेका तमाशेहरुलाई र आफु घानमा नपरेर भित्रभित्र एक प्रकारको खुशी मनाईरहेको स्वयँलाई ।

    ‘छि! छि! हरेक मान्छे स्वयँमा कति निर्लज्ज र स्वार्थी हुँदोरहेछ?’ आफुलाई ति तमाशेहरु भन्दा अझ तल गिरेको पाएथें मैले ।

    प्रहरीहरु आए । घटनास्थल र लाशको प्रकृति मुचुल्का उठाए । मृतकका आफन्तहरु, केहि छरछिमेकीहरु र लाशलाई सबभन्दा पहिले देखेको नाताले मेरो पनि बयान टिपे र लाश झिकेर पोष्ट मार्टमको निम्ती जिल्ला पठाए । प्रहरीहरुले मृतकले कतै कुनै चिठ्ठी लेखेर छोडेको छ कि भनेर लाशमा साथै मानवीको कोठामा समेत खान तलासी गरे तर केहि फेला परेन ।

    प्रहरीहरुले त्यसरी धुँईपाताल लाएर मृतकले चिठ्ठी लेखेको छ कि भनेर खोजिगर्दा मलाई मानवीले चिठ्ठी लेखेकि थिई भने लुकाएर राख्न सक्ने त्यहि आँपको रुखमा यौटा ठाउँ भएको सम्झना भयो तर त्यसबखत म त्यहाँ गएर त्यो चिठ्ठी छ होला भन्न पनि सक्दिनथिएँ र गएर खोज्न पनि सक्दिनथिएँ । सानैदेखि चढेर हाँगाहाँगा नाच्ने गरेको त्यो आँपको रुखमा यौटा गोप्य टोड्को पत्ता लगाएका थियौं मानवी र मैले । हामी सानोमा के के कुराहरु लुकाएर राख्ने पनि गर्थ्यौं त्यो टोड्कोमा । मलाई त्यो टोड्कोमा गएर हेर्ने छट्पटि भैरह्यो र म उपयुक्त अवसरको ताकमा बस्न थालेँ ।

    मानवीको सदगत भैसकेपछिको केहिदिनमा मानवीका बाबाले त्यो आँपको रुख ढाल्ने निर्णय गरे । कोरामा बस्नेलाई राती रुङ्न आउने छिमेकिहरुले पनि त्यस्तै सल्लाह दिएका थिए । त्यो आँपको रुख मेरो घरको नजिक भएपनि मानवीकै बारीमा पर्थ्यो । डरले गर्दा त्यो आँपको रुखमा गएर टोड्कोमा केहि छ कि हेर्न सकिरहेको थिईनं तर त्यसलाई ढाल्ने कुरा उठेपछि मैले अबिलम्ब त्यो टोड्कोमा हेर्नैपर्छ भन्ने सोचेको थिएँ ।

    त्यहिरात म मौका पारेर आँपको रुखमा गएँ । त्यसैपनि मानवीको झुण्डिरहेको शरिर आँखा अगाडी हरबखत झुलिरहन्थ्यो र मलाई भित्रदेखि डर लागेर आउँथ्यो । मानवीको आत्मा त्यहि रुखमा बसेको भए भूत बनेर मलाई मार्न आउने हो कि भन्ने ठुलो त्रास हुँदाहुँदै पनि म खै कस्तो आँटले त्यो रुखमा चढेर अँध्यारोमै टोड्कोमा हात छिराएँ । नभन्दै टोड्कोमा मैले पट्याएर राखेको यौटा कागज फेला पारें । यो मानवीले नै राखेको हो र चिठ्ठी नै लेखेर राखेको हो भन्ने कुरामा मलाई कुनै शंका थिएन । सायद उसले मर्नु अगाडी मलाई नभेटेका बेलामा भएका कुराहरु लेखेकि छे या हुनसक्छ कुनैदिन अर्जुन फर्किएर आएछ भने उ म मार्फत अर्जुनलाई कुनै खबर् छोड्न चाहन्छे । त्यो कागज बोकेर घर आउँदा सम्म म त्यसमा लेखिएको हुनसक्ने कुराहरु अनुमान गर्दैथिएँ ।

    त्यसरात बाबा मानवीकै घरमा कोरामा बस्नेलाई रुङ्न जानुभएको थियो । घरमा बाँकि रहेका सबै निदाईसकेका भएपनि मैले श्वास दबाएर पढेको थिएँ त्यो चिठ्ठी । त्यहि चिठ्ठीले त मलाई बिक्षिप्त बनाएको थियो । लगभग पागल भएको थिएँ म । र घरमा बस्न नसकेर मानवी मरेको महिनादिन नबित्दै घर छोडेर हिँडेको थिएँ । भलै हिंड्नलाई पढ्न जाने बाहाना थियो तर कारण मानवीकै आत्महत्या थियो र आज तेह्र वर्षपछि बल्ल फर्केको थिएँ यो ठाउँमा म । त्यसबेला त्यो चिठ्ठी पढेर म आफैंले पनि झण्डै आत्महत्या गरेको थिएँ । त्यस चिठ्ठीमा लेखिएको थियो –

    दीपक,

    तिमीले दिएको त्यत्रो आड भरोसाले पनि मैले आफुलाई भोलीको दिनमा खुसी देख्न सकिंन । आफ्नै जन्मदिने बाबाआमाले समेत बात बातमा यस्ता त मर्नु नि बरु भनेको सुन्दा सुन्दा मलाई अब मर्नुभन्दा अर्को बिकल्प छ जस्तो लाग्दैन । मैले तिमीसँग बिहे नै गरेँ भनेपनि म बाँच्न त सकुँला तर जिन्दगी खुसी भएर बिताउन गाह्रो हुन्छ । हामी कहाँ जान्छौ? के गर्छौ? घरमा कहिले पनि हाम्रो बिहे स्वीकार्य हुँदैन । यस्ता कुराहरु सम्झँदा म जिन्दगीमा कतै पनि उज्यालो देख्दिनँ । त्यसैपनि तिमी म भन्दा पाँच वर्ष कान्छो मान्छेलाई आफ्नो लोग्नेको रुपमा कल्पना सम्म गर्न सक्दिंन म नत्रभने आफुले गरेको गल्तिमा बिनाबित्थामा अर्जुनलाई मुछ्दै झुठा कहानी किन रच्नु पर्थ्यो?

    हो दीपक, अर्जुनको कहानी मैले त्यसै रचेको काल्पनिक कहानी थियो । मेरो पेटमा त तिम्रै बच्चा हुर्किंदैथियो तर हेरन मलाई यो कुरा तिमीलाई पहिले नै भनेर या घरका मान्छेलाई तिम्रो हो भनेर तिमीलाई तकलिफमा पार्न कत्ति पनि मन भएन । बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्………..साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त…………. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

    मेरो साथी, तिमीले मेरो मृत्युमा शोक नगर्नु ल? यो सब मेरै कारणले भएको हो । यो सब हुनुमा म एक्लै जिम्मेवार छु र जे भोग्न गैरहेकि छु त्यसको योग्य हकदार पनि म एक्लै हुँ । यतिबेला मलाई तिम्रो बाहेक अरु कसैको पनि माया लागेको छैन । आफ्नै पनि माया लागेको छैन ।

    तिमी सुखी रहनु ल मेरो साथी । मलाई बिदा देउ ।

    सदबिदा
    मानवी

    (साभारः दीपक जडितको मेरो साहित्य संसार र विविध)

    No related posts.

    39 comments to कथा : आँपको रुख

    • लेखक दीपक जडितको पहिलो कथा "माथिल्लो घर को ढिकी"

      लेखक दीपक जडितको पहिलो कथा “माथिल्लो घर को ढिकी” पछिको यो कथा उतिकै राम्रो लागे पनि अघिल्लो कथाले जति सशक्त रुप लिन भने नसकेको भान हुन्छ। कथाका घटना क्रमहरु पढ्दा कथाको अन्त कसरी हुन्छ भन्ने पूर्वानुमान् लगाउन सकिन्छ। कथाको बिषयबस्तु यौन् आकङ्क्ष र यौनको प्राक्रितिक् आव्श्यक्तको सेरोफेरो मै सिमित राखेर लेखकले यसलाई सभ्य भाषामा पाठक माझ पस्कनसक्नु लेखकको सफल र सवल पक्ष देखिन्छ।
      यस कथामा खड्किएका केही पक्ष भनेको मानबको गर्भधारणबाट जन्मनुपर्ने बच्चा प्रतिको मानविय सम्बेधनशीलता, दया, माया र सहनुभूति सम्बोधन नहुनु हो।
      समग्रमा भन्नु पर्दा यो कथालाई सफल नै मान्नु पर्दछ। कथाकारका भावी लेख-रचनाहरुको प्रतिक्षाका साथ लेखकको सफलताको लागि शुभकामना।

      आङ दावा जाङबु शेर्पा “सलाका”
      हाल: न्यूमन, पश्चिम अष्ट्रेलिया

      मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

    • RAMESH ADHIKARI

      समग्रमा यो कथा नेपाली आधुनिक कथाको उत्क्रिस्ठ कथा भित्र पर्दछ तर बीच मा एउटा अलि सानो कमजोरी देखियो साएद उमेरको कुरालाई मुख्य समस्या मध्ये मा राख्नु हुन्न जस्तो लाग्छ,र सुइकार्ने मान्छे हुदाहुदै मानबी को परिवारले तेसरी पात्रलाई गाली गरेको सन्दर्भ अलि असुहौदो होकी ??????जे भएपनि कथा अतिनै राम्रो छ …..
      (ठट्टा:दीपकजी त्यो रुखको टोड्कामा चिट्ठी सिट्ठी राख्नु साटो ………राखेको भए त्यो स्थीति आउने थेनहोला नि )

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • Madan, USA

      कथा राम्रो छ ! लेखन शैली र घटना क्रमको बहावमा उचित तालमेल छ ! तर यति हुँदा हुँदै पनि कथामा अस्वाभाविक देखिएको कमजोरीहरु निम्न देखिन आउँछ ! १. मानबीलाई जब कथाको प्रथम पात्रले भविष्यमा सहारा दिने भैसकेपछि पनि आत्महत्या गरेको देखाइएको छ जुन अशान्दर्भिक देखिन आउँछ ! कि त् मानबी कमजोर वा हतास मानशिक रोगबाट ग्रषित हुनु पर्यो ! अर्को कुरा पाँचै बर्ष कान्छो संग जीवन बिताउन नखोज्नु पनि पाठकको दिमागमा खट्किन जान्छ ! २. जस्तै भए पनि आमा बाबुलाई छोरा छोरीको माया ममता र चिन्ता हुन्छ ! जब कसैले उनीहरुको छोरीको अपराध स्वीकार गरि उसलाई जीवन वा खुसि दिन समर्पित हुन्छ तब किन संकोच वा अनर्गल लान्छना ! ३. कहिले आफ्नो गरेको कर्तुत त् आफ्नो पोल्टामा लिन नखोज्ने व्यक्ति कसरि एकाएक परिवार र समाज संग बिद्रोह गर्न लागि परेर मनाबीलाई स्वीकार्न खोज्छ ! अन्तमा, जे भएता पनि कथा लेख्ने गार्हो काम नै हो ! कथामा श्रुजनशिलता छ ! प्रयास अविरल रहोस !

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Suman Gurung (UK)

      अहिले को क्रान्तिकारी युग मा महिला आफै यौन क्रिडा मा अग्रसर हुन खोज्दाको समयमा कालपरिवेश चाहि अलि पुरानो जोडेको जस्तो लाग्यो.क्याम्पस पढ्ने केटि लाइ मैले गर्वधारण गरेको छु भन्ने थाहा चार महिना पछी हुनु, अस्थाई साधन को छ्याप्छ्याप्ती जमाना मा र यौन सम्पर्क पछी गर्व रहेको नरहेको जाच गर्ने साधन हरु को उपलब्धता लाइ नजर अन्दाज गर्नु यो कथा को कमजोरी हो.येसो भन्दै मा कथा नराम्रो होइन, कथा सुन्दर छ र उत्तिकै मार्मिक पनि.

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 2

    • Hari Smith

      मुटु छुने कथा, अझै पनि बारीको घास काट्न जादा …पदेरिमा पानी लिन जादा ….अनि टौवा मुनि लुकेर …खुसु खुसु ..माया लाउने हरु धरै छन हाम्रो समाजमा …एती हो कि अझ भोलि ढाल छ सर्बसुलब … अनि गर्व पतान पनि….

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 0

    • manoj

      लाग्छ कसै को जिन्दगी मा घटेको घटना हो.धेरै मार्मिक छ.

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 17 Thumb down 0

    • योगेश आदी, न्यूयोर्क

      यो कथा नेपाली समाज र परिवेश अनुसार विभिन्न पात्रहरूले भोग्नु परेको नियतिको दर्पण हो/
      हुनत; समाज आफ्नै सामाजिक मान्यतामा अडिएको हुन्छ तापनि मान्यतामा अमान्य भएपछी यस्ता कथा जन्मने गर्दछ /
      दीपकजीको कथाकारिता मनपर्यो !!

      मन परे हरियो, नपरे रातो Thumb up 6 Thumb down 0

    • sam

      धेरै भो दुखद ending हुने कथाहरु, अलि रमाईला कथाहरु पनि आउनु पर्यो. यो पधिसकेपछी मन नै भरि हुने कथा कति पढ्नु हो, बिजुली छैन, पेट्रोल छैन, महंगी बढेको बढेकै छ, सबथोक को अभाब मा जिन्दगि उसै पनि उदासिन छ, यी यस्ता लेखहरु त अलि रमाईला छाप्नु नि हो

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 3

    • dev

      लेख padirahadaa यक किसिम को दुख लागिरहियो, बस्ताबिक कथा माँ आधारित बिसयबस्तु लाइ आत्मकथा जस्तै खुलायर लेखीय पनी कथा को बास्ताबिकता कही न कही लुकायको महसूस गरे मैले किनकी जहा गाउको परिबेस, १३ years back र पुजाको प्रसंगाका साथ घटना क्रम अगाडी बदेको देखिन्छ तेहिका नारी बाट सेक्स प्रस्ताब भयको भंनेकुरा यका यक झूठा लाग्यो मलाई र अर्को कुरा जहा सम्म मानाबिले गर्ब कसको हो भन्ने कुरा नाखुलौदा सम्म डरले निलो र कालो भयको लेखक अर्जुनको गर्ब हो भन्ने था पाय पछि ढुक्क हुने मान्छे कुन आट लियर मनाबिको बुबा आमा संग गयर बच्चा को दबी गर्न सक्छ
      यो लेख त मलाई तेती बेला लेखे जस्तो लग्ग्यो जब सच्चाई आपको रुख ढालदा झै ढालिय

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 2

    • कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया  

      यो कथाको मोरल :- सचेत हौ, कंडम लाऊ !

      मन परे हरियो, नपरे रातो Thumb up 14 Thumb down 1

    • Rajan

      It’s really heart touching story.

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 1

    • anita

      एकदम राम्रो अनि मन छुने कथा लाग्यो। केटी मान्छे भएकोले आफ्नो मात्र गल्ती देखेर आफ्नो साथीलाई बचाउन ज्यानै गुमाउन पुगेको मानवीको प्रेम खै के भन्ने? शब्द नै पाइन।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 25 Thumb down 0

    • manoj

      दिपकजीलाई सलाम | यस्तै मन छुने कथाहरु फेरी पनि पढ्न पाइयोस |

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • rasik

      कस्तो राम्रो कथा… I love it

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 1

    • Soyag

      राम्रो लग्यो ! सबै स्त्री जातिलाई येस्तई केस हुन्छा भन्ने छैन / यो त खाली बिरलै हुने घटना हुन् समाजमा / हाम्रो समाजले कथम्कदाचित हुने येस्ता केस हरुको समाधान खोज्नै पर्छा / समाजले मान्छे लाइ बच्ने अधिकार सुरछित गर्ने पर्दछ / आउदा दिनमा नया गोरेटो पहिल्यौनै पर्छ अनि बल्ल हाम्रा कविताहरुले शक्तिसाली युवती ( जो आफ्नो जिन्दगि को निर्णय आफै गर्नेछिन्, जो परि आउदा एक्लै पनि बच्ने शाहस गर्न सक्छिन) पाउने छन् / अबका कथाहरु आत्महत्या मा नतुन्गिउन् मेरो सुभकामना यो समाजलाई अनि मेरो कामना साहित्यकारहरुलाई जसले तेस्तो पत्र हरु भेतोस यो समाजमा!

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Nirmal

      उत्तम..अति उत्तम..आमा ले भनेको कुरा “मायादया पलायो भन्दैमा सारा संसार थाम्न खोज्नु हुँदैन त केटा, आफुले थाम्नसक्ने मात्र थाम्नुपर्छ” खुब मन पर्यो..कथा हो कि साचिकै घटना..ठम्याउन नै गारो..

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • keru(sweden)

      एकदम मन छुने कथा .धेरै राम्रो लाग्यो

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • It touch my heart ……..great job deepak ji,keep it up
      SYD

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • shiva hari

      आसु नै आयो

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • दिपकजी, कथा अति मार्मिक छ र धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Binod karki

      सारै मन छुने कथा को लागि दिपक जी लाइ धेरै धेरै धन्यवाद !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • Laxmi

      कथा रियल लगिओ. हरेक पढनेहरुको मन छुन छ . कथाको सिर्सक ठिक छ किनकि आपको रुख पनि यो कथाको पात्र हो. आपको रुखलाई पनि येथातार्थ थाहा छ. म आफै पनि कथा भित्र नै हराए र यो एकदम सस्पेन्स छ. यो कथालाई नेपाली फिल्म को कहानी संग दाज्न मिल्दैन किनकि कथाको अन्तिमतिर एथार्थ खुल्दा मात्र अर्जुन निर्दोष छ भन्ने थाहा दिन छ. बधाई छ लेखक लाइ.

      मन परे हरियो, नपरे रातो Thumb up 3 Thumb down 0

    • यो कथाले दिन खोजेको संदेशले के लाई संकेत गर्दै छ ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

    • kiran Shrestha

      कथा सार्है मन पर्यो, फेरी पढौं कि जस्तो लग्यो, अझ भनौ भने मानवी को अन्तिम चिठी पढिसके पछि त मलाई नि के गरौ – के गरौ झैं भयो,यो लेख पढ्दै गर्दा दैनिक काम गर्ने क्रम मा छु, अहिले पढी सक्दा त काम -साम छाडेर खोला को बगर तिर बरालिन जाउँ जस्तो पो भयो …. लेखक ज्यु को लेखाइ मा दम छ, धन्न्यबाद छ !!!
      आरुंग्खोला,

      मन परे हरियो, नपरे रातो Thumb up 4 Thumb down 0

    • कृष्ण भारद्वाज, सिडनी अस्ट्रेलिया  

      सुरुमा फितलो लाग्यो, बिच्मा अंग नै  सिरिंग भो, अंतिम मा नरमाइलो लाग्यो, पढी सके पंछी  खुसी लाग्यो राम्रो कथा पढन  पाएकोमा……………….लेखक लाई धन्यबाद !!

      मन परे हरियो, नपरे रातो Thumb up 5 Thumb down 0

    • सार्है मन छुने कथा पढ्न पाइयो,खुसि पनि लाग्यो दुख पनि लाग्यो,कथा पढ्दा कसैको बास्तबिक घटना जस्तो लाग्यो तर यो त हाम्रो टोल टोल मा हुने प्रतिनिधि घटना मध्ये को एक हो,
      लेखक लाइ धेरै धेरै धन्यबाद,…………..

      मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0

    • kedar

      साएद यो लेखकको बास्तबिकता नै हुन सक्छ | तर हाम्रो समाजमा जडता अलिक धेर त छदैछ | नौटंकी त भन्नै पर्दैन | घर र समाजको हेला र बेवास्ता गरेका कारण कतिको ज्यान गयो गयो र अझै कति जान्छ | जे हुनु भै त सको, जुन अब सुधार्न सकिदैन, तेस्लाई सम्हालेर अगाडी किन किन नसक्ने हामी | कती पशु भएका हामी !

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 2

    • raju

      समय अनुसार को प्रगतिसिल कथा हो यो | पढ़िसके पछी आसु आयो |
      प्रगतिसिल एस मानेमाकी ,केटि ले नै यौन प्रस्ताब राख्नु , आफै माथि बाट सक्रिय हुनु ले
      युगै देखि दबाइएका महिला जगत हरु एक चोटी जाग्छन , क्रान्ति आउछ ,नब पिढी ले पढ्नै पर्ने कथा हो यो |
      कथा को बीच मा अलि अलि गन्हायो पनि ,यो झुन्डेर मोरेपछी फोहोर निस्कने प्रसंग किन जोड्न पर्थ्यो ?

      मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1

    • द्रोण

      समय अनुसार को प्रगतिसिल कथा हो यो | पढ़िसके पछी आसु आयो |
      प्रगतिसिल एस मानेमाकी ,केटि ले नै यौन प्रस्ताब राख्नु , आफै माथि बाट सक्रिय हुनु ले
      युगै देखि दबाइएका महिला जगत हरु एक चोटी जाग्छन , क्रान्ति आउछ ,नब पिढी ले पढ्नै पर्ने कथा हो यो |
      कथा को बीच मा अलि अलि गन्हायो पनि ,यो झुन्डेर मोरेपछी फोहोर निस्कने प्रसंग किन जोड्न पर्थ्यो ?

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 29 Thumb down 2

      • वास्तविकता को नजिक पुग्न , वरिपरिको बातावरण ले पनि हिला जस्तो भान हुन्, साथी साहित्यकार हरु त्यसै सिर्जनसिल तथा कल्पनासिल हुदैनन् किनभने यदि मानिस अस्वाभाविक म्र्त्युमा मा प्राप्त भयो भने त्यस किसिमको फोहोरहरु निस्कन्छ अरे प्राण बायु जादा

        मन परे हरियो, नपरे रातो Thumb up 0 Thumb down 0

      • कथा राम्रो रहेछ. मानवी र दीपकले कण्डम बेलैमा प्रयोग गरेको भए हुन्थ्यो.

        मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • anrup

      धेरै राम्रो छ कथा

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • कथा मिठो छ अनि घत लाग्दो पनि ! तर शिर्षक चाँही किन आँपको रुख राखिएको हो कुरा बुझिएन …!!

      गरमागरम बहस। तपाईँ के भन्नुहुन्छ? Thumb up 2 Thumb down 19

    • Uttam k. Gautam (London)

      दीपक जडित (लेखक ) जी लाइ धेरै धन्यवाद राम्रो कथा लेख्नु भएको मा ……

      बदनाम त म जसै गरेपनि भैसकेकि थिएँ तिमीलाई पनि किन बदनामीको कालो दाग लगाउनु भन्ने लाग्यो मलाई । त्यसैले धेरैदिन सोचेर मैले बेपत्ता भएको अर्जुनलाई दोष लगाएँ । बिचरा! उ जिउँदो छ कि मरिसक्यो त्यो पनि थाहा छैन । मरिसकेको रहेछ भने उसको आत्माले मेरो मजबुरि बुझेर मलाई माफ देवोस्………..साँच्चि त म पनि मरिसकेको हुनेछु त्यसबेला त…………. उसको आत्माले मेरो आत्मालाई माफी देवोस् । यदि उ जिउँदै रहेछ र कुनैदिन फर्केर आएछ भने उसलाई मैले बदनाम बनाउनु परेको यो कथा तिमीले सुनाएर सम्झाईदिनु उसलाई ।

      मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 19 Thumb down 0

    • Nawaraj Bhandari

      कति कठोर बन्न सकेको हाम्रो समाज?

      मन परे हरियो, नपरे रातो Thumb up 7 Thumb down 0

    • राजु

      ओ हो… सोच्दै नसोचेको अन्त्य कथा को तथा मानबी को पनि ! लूट फिल्म को लास्ट को सस्पेन्स र यो उस्तै लाग्यो, फरक यत्ति हो फिल्मको सस्पेन्स रमाइलो थियो भने यो कथामा दु:ख !

      मन परे हरियो, नपरे रातो Thumb up 11 Thumb down 0

    • Anup Khanal (Norway, Trondheim )

      कथाले मन छोयो …..दीपक जी का कथा हरु सधैं सुन्दर नै हुन्छन .

      मन परे हरियो, नपरे रातो Thumb up 10 Thumb down 1

    • Deepen

      What a story…. Love it.

      मन परे हरियो, नपरे रातो Thumb up 8 Thumb down 2

    Leave a Reply

      

      

      

    Enable Google Transliteration.(To type in English, press Ctrl+g)
    eXTReMe Tracker