तपाईँहरु कोही जेल जानुभएको छ? ह्याभ यु एभर बिन टु जेल?
आधा विदेशीहरुले भरिएको दुई सय जतिको समूहलाई उनले एक्कासी प्रश्न राखे। केही सेकेन्डको मौनपछि एक पुरुष र एक महिलाले जेल त परेको छैन, तर जेल चाहिँ देखेको छु भने।
‘म पनि गएको छु। तपाईँहरुलाई थाहा होला, जेलमा सरकारले कैदीलाई अनेक सुविधा दिन्छ। त्यहाँ टिभी हेर्न पाइन्छ, पत्रपत्रिका-पुस्तक पढ्न पाइन्छ, बाहिरका मान्छे निश्चित समयमा भेट्न पाइन्छ। अझ घरेलु उद्योग गरेर पैसा आर्जन गर्ने अवसर समेत दिइन्छ,’ उनले अगाडि भने, ‘तर यहाँ तपाईँ त्यस्तो केही गर्न पाउनु हुन्न। यहाँको नियम र अनुशासन जेलको भन्दा कडा र कठिन छ। यदि तपाईँहरु नियम पालन गर्न सक्नुहुन्न भने अहिले नै फर्कँदा राम्रो, ढिलो भएको छैन, बस पाइन्छ। यहाँ बस्नुभयो भने यहाँको सीमा नाघेर जान पाउनु हुन्न। यु आर अल लाइक प्रिजनर्स विद्इन दिस कम्पाउन्ड‘
स्रोतादीर्घामा मौनता छायो। ‘कोही छ जान चाहने, हात उठाउनुस् !’ कसैको हात उठेन। उनीहरु सब स्वेच्छाले यो ‘धर्म कारावास’मा बन्दी बन्न आएका थिए एक साताभन्दा बढी समयको लागि। ती मध्ये एक म पनि थिएँ। चौथो पटक ‘बन्दी’ बन्न आएको। झण्डै दुई साता माइसंसारबाट मात्र हैन, पत्रपत्रिका, टेलिफोन, मोबाइल र सबैभन्दा महत्त्वपूर्ण इन्टरनेटको सम्पर्कबाट विच्छेद भएर बिताएका दिनहरुको अनुभव।
यसपटकको बूढानिलकण्ठस्थित विपश्यना ध्यान केन्द्र धम्मशृङ्गको यात्रा अनियोजित थियो। बिरामी परेकोले शिविर सुरु हुनु तीन दिन अघिमात्रै जाने निर्णय गरेको थिएँ। सोच्ने बित्तिकै अनलाइन फाराम भरेँ, भोलिपल्टै कन्फरमेसन आयो-
COURSE CONFIRMATION
COURSE CONFIRMATION # 67
Dear UMESH SHRESTHA,
YOU MUST HAVE CAREFULLY READ THE CODE OF DISCIPLINE AND INTRODUCTION, AND AGREE TO ABIDE BY IT.
Please bring 1 PASSPORT SIZE PHOTO on registration day,14-Mar-2012, at city office JYOTI BHAWAN.
Thank you for your application to attend a course at the Nepal Vipassana Centre,
Dhamma Shringa, Muhan Pokhari, Budhanilkantha, Kathmandu, Nepal.Your application has been received at city office JYOTI BHAWAN, Kantipath, Nepal.You have been accepted for the course beginning on the evening of Wed 14-Mar-2012 and concluding at 7:30am on Sun 25-Mar-2012.
You must arrive at JYOTI BHAWAN on registration day.Registration for the course will start at 11:00 a.m. for confirmed students and at 12:30 p.m. for wait-listed students at our City Office at Jyoti Bhawan, Kanthipath, Kathmandu, Phone Numbers [977] (1) 425 0581, [977] (1) 422 3968. Students have to report in person for the registration Please come accordingly.
There will be a bus service from the City Office to our meditation center, Dharmashringa.
Please be sure to arrive at the center no later than 4 pm if you are not using the transport provided.
A light supper will be served at the center before the course begins.LOCATION OF THE CENTER:
Dharmashringa is situated at the foothill of Shivapuri, Muhan Pokhari, Budhanilkantha, Kathmandu. The Centre is located at entrance of Shivapuri National Park, about 18 kilometers from the city center, and it takes 30-45 minutes to reach there.
अहो, कति सजिलो भएछ विपश्यना जान पनि प्रविधिले। चार वर्षअघि पहिलो पटक जान खोज्दा कति धेरै तयारी गरेको थिएँ मैले। कति पटक क्यान्सिल गर्दै मिति सारेको थिएँ। यस पटक त अघिल्लो दिन जाने तय हुँदा पनि रातिसम्म लुगाफाटा मिलाएको थिइनँ। चौथो पटकको यात्रा भएकोले सबै प्रक्रिया थाहा भएकोले पनि साढे एक बजेतिर बल्ल पुगेँ। त्यहाँको अर्को स्वास्थ्य फाराम भरेँ। त्यसपछि मलाई आवास नम्बर दिइयो- पीआर थ्री। ‘एक्लै राखिदिएको छु है, राम्रोसँग साधना गर्नुहोला’ रजिस्ट्रेसनमा रहेका गुरुजीले भने। दुई पटक विपश्यनाको १० दिने शिविर म साथीहरुसित गएको थिएँ, त्यहाँ रहुन्जेल बोल्न त के, आँखा पनि नजुधाउने शर्तमा। तीनै पटक कोठामा एक जना साथी थिए। यस पटक भने मेरो लागि अलग्गै एउटा कोठा थियो। थाहा थियो काम धेरै गाह्रो छ। तर अठोट थियो जसरी पनि पूरा गर्ने। रजिस्ट्रेसनपछि सीधै त्यहीँ रहेको माइक्रोमा गएर बसेँ। विपश्यना ध्यान सिक्दाको, त्यहाँ बस्दा, खाँदाको मात्र हैन, त्यहाँसम्म पुग्नको लागि गाडीको व्यवस्था पनि केन्द्रले निःशुल्क गरिदिन्छ।
पहिलो गाडीमा नै बूढानिलकण्ठको त्यो रमाइलो ठाउँमा पुगियो। जानेबित्तिकै मोबाइल र पर्स बुझाइयो ११ दिनपछि पाउने गरी। कोठामा पुगेपछि लुगा चेन्ज गरेँ। अब ११ रात यही कोठामा बस्नु थियो। ट्वाइलेट, बाथरुम सब पर्फेक्ट रहेछ। साँझ पाँच बजेतिर एउटा ओरिएन्टेसन प्रोग्राम हुने गर्छ, जहाँ नयाँ विद्यार्थीहरुलाई एक पटक फेरि ‘तर्साउने’ गरिन्छ। नयाँलाई यसअघि नै कान्तिपथको ज्योति भवनमा नै यस्तो यस्तो नियम छ है, सकिन्छ भने मात्र जानू भनेर तर्साउनु तर्साइसकिएको हुन्छ। यहाँ त्यसैलाई फेरि दोहोर्याइन्छ। यस पटक शारदामान (नाम कन्फ्युज भएँ) गुरुजीको ओरिएन्टेसन शैलि फरक लाग्यो। यसअघिका तीन पटक अर्कै व्यक्ति एउटै शैलिमा प्रस्तुत भएका थिए। सब तयार थिए विपश्यनाको कठिन यात्राका लागि। राति आठ बजे ध्यान गर्ने मुख्य कोठा धम्महलमा प्रवेश गरेलगत्तै हाम्रा निकै ‘अधिकार’ खोसिए। अब हामीमा संविधानप्रदत्त वाक तथा अभिव्यक्ति स्वतन्त्रता रहेन, मुखले मात्र कहाँ हो र, इशाराले पनि बोल्न पाइन्न। शिविर क्षेत्र नाघेर जान पाइन्न र त्यहीँको नियममा जसरी पनि बाँधिएर बस्नु पर्छ। सिट दिइयो ‘डी वन’। अर्थात् अघिल्लो पंक्ति। यही नम्बरको चकटीमा १२ दिन बस्नुपर्नेछ।
एक्कासी बढेको ब्लडप्रेसर र अनेक थरि तनाव बोकेर गएको म पहिलो रात अबेरसम्म निदाउनै सकिनँ। थाहा थियो, भोलिपल्ट बिहानै चारै बजे उठ्नुछ। एक किसिमको भिक्षु जीवन जिउनु छ। अर्काले दिएको दानमा बाँच्नुछ। भिक्षुले भिक्षां देही भने जस्तै गरी लाम लागेर थालमा जे राखियो, त्यही खानुछ। म र मेरो भन्न लायक लुगाफाटा र केही सामान बाहेक अब मेरो केही पनि छैन। अहम्को भावलाई पग्लाउनु छ। १२ औँ दिनमा बल्ल यहाँबाट जान पाइनेछ।
बहिर्मुखी हैन अन्तर्मुखी
राति अबेर कति बेला हो आँखा लागेछ। ट्वाङ्ग….ट्वाङ्ग….एकोहोरो घण्टी बजेको बज्यै। आवाजले बिउँझिएछु। घरमा भए कति दिन त ४ बजे बल्ल सुत्थेँ होला। यहाँ भने दिन सुरु भयो। त्यो पहिलो घण्टीको २० मिनेटपछि अर्को घण्टी बज्छ। त्यसपछि मुख धुने, दाँत माझ्ने, पानी पिउने र जिउ तन्काउने अनि हलमा गइहाल्ने। नत्र स्वयंसेवकहरु उठाउन आइपुग्छन्। पहिलो दिन भएर होला, साढे चार बज्न ५ मिनेट अघि नै हलमा जाँदा पनि अधिकांश आइसकेका थिए। आजदेखि तीन दिनसम्म हाम्रो एउटै काम हुन्थ्यो- सजग बन्ने। केमा सजग ? श्वासप्रश्वासमा। श्वास नाकबाट भित्र गएको र बाहिर गएको- मात्र यसैमा ध्यान दिने। ओशो रजनिसले एउटा प्रवचनमा भनेका छन्- मान्छेको दिमाग जटिल कामको लागि अभ्यस्त हुन्छ, त्यसैले श्वास प्रश्वासको यस्तो सामान्य काम गर्दा मान्छेलाई निकै गाह्रो महसूस हुन्छ। पक्कै पनि त्यस्तै हु्न्छ। श्वासलाई ध्यान दिँदादिँदै मन कहिले अमेरिकाको न्युयोर्कमा पुग्छ, कहिले न्युरोडमा। कहिले कता, कहिले कता कुनै ठेगानै हुँदैन। मनमा विचारका शृङ्खलाको यस्तो लहर चल्छ कि आफैलाई अचम्म लाग्छ।
यस पटकका आचार्य (गुरुजी) पूर्णप्रसाद ढकाल पनि अनुभवी प्रशिक्षक रहेछन्। तीन शिविर गर्दा पनि नसुनेको थर्काउँदो आवाज उनको मुखबाट समयसमयमा सुनिँदो रहेछ। श्वास हेर्न छाडेर मन कुन चाहिँ वाहियात काममा अल्झिरहँदा अचानक हलै थर्कने गरी उनको आर्मी शैलीको आवाज आउँछ- सजग ! अवेयर !! अनि फेरि केही क्षण मन श्वास प्रति सजग हुने पुरानै काममा फर्कन्छ। एकैछिनपछि फेरि उही चाला। तीन पटक शिविरमा अभ्यास गरिसकेको मेरो हालत त यस्तो छ भने, बिचरा नयाँहरुको हालत के होला ? कति न सिनियर भइटोपल्ने विचार पनि आउँदो रैछ कहिलेकाहीँ मनमा।
राजनीति र नेपालका अन्य दिक्कलाग्दा खबरहरु, पत्रपत्रिका, मिडिया, मोबाइल सबबाट छुटकारा। बाहिरी विश्वबाट पूर्ण सम्पर्क विच्छेद र आफूआफूमा कुराकानी गर्नसमेत नपाइने भएपछि मन के खाएर बहिर्मुखी हुन सक्नु, अब सुरु हुन्छ अन्तर्मुखी हुने काम। अहो, मान्छेले के के सोच्न सक्दो रहेछ। के के योजना बनाउन सक्दो रहेछ। कति कुरा मनले सोच्नै नभ्याएका हुने रहेछन्।
चार वर्षको हुँदा खाएको कुटाइसमेत सम्झिइयो
पहिलो दिन नयाँ नयाँ जोश र जाँगरले मनलाई अलि वशमा राख्न सकिएको भए पनि दोस्रो दिनमा त मेरो पनि उड्न थालिहाल्यो नि। आम्मामा…के के मात्र सोचिएन। माइसंसारमा अब यसो गर्ने, उसो गर्ने भनेर त यति विस्तृत कार्ययोजना बनाइयो कि अहो! परिवार र साथीभासँगका अनेक कुराहरु सम्झिइयो। दिवंगत बाका धेरै कुरा याद भए। सानोमा बाको बिझाउने दारीसँग खेलेकोदेखि वीर अस्पतालमा अचेत अवस्थामा देखेको अनि आर्यघाटमा देखेको अनुहार झल्झली सम्झिएँ। चार वर्षको छँदा ट्युसन पढ्न जाने ‘लङ्गडा बाज्या’ उपनामले चिनिने गुरुजीकोमा खै मैले के बिराएर खुट्टाले उनलाई छोएछु र बेस्कन उनले कुटेको समेत याद आयो। कान र जीउमा घाउ हुने गरी पिटेपछि माले अब पढ्न पठाउने कि नपठाउने भनेर सोध्दा बाले भन्नुभएको थियो- किन नपठाउने? त्यो पनि सम्झिएछु। ती पहिला गुरुजीले पढ्न मात्र सिकाउँथे, लेख्न त आफै सिक्छ भन्ने रहेछन्। स्कूलमा एकै पटक २ कक्षामा भर्ना हुँदा लेख्न नजानेर मलाई कम्ता दुःख भएको थिएन।
सानै छँदा एक पटक कसरी हो चल्दा कौसीबाट जस्ता खसालेछु। जस्ता बज्रियो दिदीको टाउकोमा। उनी बेहोस्। म कति पाइला टेकेर घरबाट टाप। अहो, दिदी मरिछिन् कि, अब मलाई कति पिट्ने होला घरमा…यस्तै सोचेर म कता भागेछु कता। घरबाटै भागेर कतै जाने सोच पनि आएको थियो मनमा। तर के भाग्न सक्थेँ र, साँझ परेपछि लुसुक्क घर छिरेँ। अहो, दिदी त जिउँदै रहिछिन्। श्वास आयो। खै किन हो, त्यो दिन पिटाइ खाइएन। तर जिन्दगीको सबैभन्दा ठूलो डर मैले त्यही दिन अनुभव गरेको थिएँ होला।
चार कक्षामा पढ्ने हुँदा ठूलो बाले मलाई के कुरामा रिस उठाउनु भएछ, मैले नि जिस्केर उनले खाइरहेको खानाको थालमा बालुवा राखेर भाग्न खोजेँ। केको भाग्न सक्थ्यो फुच्चे, पछाडिबाट कसैले मलाई जुरुक्क उचाल्यो र बुइँगलको भान्सामा रहेको काठको खम्बामा बेस्कन बजार्यो। ठूलो बाको त्यो आक्रमणबाट छटपटिएर लडेको थिएँ, एकैछिनमा मा पनि आएर बेस्कन कुट्न थाल्नु भो मलाई। त्यो दिन र रातभर यति पीडा भो कि मैले शायद जीवनमा सबैभन्दा बढी पीडा त्यही दिन अनुभव गरेको थिएँ। रातभर नसुती रोएको देखेर मलाई अस्पताल लगे। एक्सरे गरी हेर्दा मेरो बायाँ खुट्टा भाँच्चिएको रहेछ। प्लास्टर गर्नुपर्यो कति महिना। यस्ता कयौँ बिर्सिसकेका घटनाहरु फिल्मको रिल झैँ दिमागमा फनफन् घुमिरहेका थिए। आँखा खोल्न पाइन्न थियो ध्यान गर्दा। आँखा चिम्म गर्यो, फिल्म सुरु। कहिले के, कहिले के। पागलै जस्तो!

साँझको भिडियो प्रवचनमा गुरु एसएन गोयन्का भन्थे, मन मूलतः दुई विषयमा जान्छ- एक भूतकालमा, एक भविष्यकालमा। वर्तमानमा मनलाई राख्न निकै गाह्रो हुन्छ। मलाई भने लाग्यो मन यी दुई कालमा मात्र हैन, वास्तविक र काल्पनिक दुई विषयमा पनि जान्छ। मैले एक त यस्ता पुराना भूतकालका कुरा पनि सम्झिएँ, अर्को भविष्यका योजनाहरु पनि बुनेँ। त्यो बाहेक काल्पनिक कुरामा पनि मन गइरह्यो। जस्तो विमान दुर्घटनामा म आफू मरेको, गोली हानी मेरो हत्या गरिएको, हत्या भनेर समाचार छापिएको तर आर्यघाटमा पुगेसि त म फेरि ब्युँतिएको जस्ता वाहियात कल्पना पनि मनमा भए। पहिलो शिविरमा बस्दा त झन् अत्ति के- म मगध देशको राजकुमार रे पूर्व जन्ममा। युद्धमा मरेको रे।
वाहियात सपना बाहेक कामलाग्ने केही योजनाहरु मनमा आउँछन् भन्ने मलाई पहिलेको अनुभवले सिकाएको थियो। त्यसैले एउटा डटपेन पनि बोकेर गएको थिएँ। दसौँ दिन बोल्न दिइँदा सम्झिएका जति योजना कपीमा उतारेँ। त्यसमध्ये केही योजना माइसंसारका पनि छन्, त्यसलाई म केही दिनमा प्रयोग गर्दै जानेछु।
[आजलाई यो अनुभव लामो भए जस्तो छ, बाँकी अर्को भागमा क्रमशः गर्नुपर्ला। आजभोलि छिटो सुत्ने बानी पनि लाग्या छ के। अझै गजबका अनुभव छन् ध्यान गरिरहँदा हल हाँसोले गुन्जिएको, एक जनाले मुख छाडेको, तीन जना कसरी निश्कासनमा परे आदि। यो बीचमा तपाईँलाई विपश्यनासम्बन्धी थप जानकारी पाउन मन भयो भने यहाँ क्लिक गर्नुहोला। अनलाइन फर्म भर्न चाहनुहुन्छ भने यो साइटमा आफूलाई पायक पर्ने मिति छान्नुहोला र दर्ता गर्नुहोला मेरो अनुपस्थितिमा ब्लग राखेर सहयोग गर्ने साथी कृष्ण ढुंगाना, जोसित म पहिलो पटक विपश्यना गएको थिएँ, उनलाई र तपाईँहरु सबैलाई धन्यवाद।]




उमेश जी, तपाई को अनुभव पढ्न रमाइलो लाग्दा लाग्दै सकियो, पुरा अनुभव पढ्न उत्सुक छु |
मन परे हरियो, नपरे रातो
2
0
यो पाली छुटीमा त जानै परो, मन को अपरेसन गर्ने पर्ने भयो | स धन्यवाद |
मन परे हरियो, नपरे रातो
4
0
उमेश जी योगा र बिप्यासनामा के फरक छ,
मन परे हरियो, नपरे रातो
1
0
ध्यान गर्ने र ब्यायाम गर्ने यी दुइ मा जे जति फरक छ त्यति नै मात्र हो
मन परे हरियो, नपरे रातो
0
0
उमेशजी ..
ध्यान बस्दाको मनको उडाई लेख्नु भएछ तर ध्यानको आनन्द त मनको घोडालाई बाधेपछि आउने कुरा हो ! नित्य अविरल चल्ने स्वासको मालामा ध्यान गर्दा हृदयमा आउने आनन्दको कुनै कुरै पढ्न पाइएन ! सत्चितानंद भनेको सत्य(वर्तमान) र चेतना को समाग्रम बाट आउने आनन्द हो ! ! अनि आफु भित्रको आनन्द अनुभब गर्न आफ्नो नित्य जीवनबाट भाग्नु पनि त पर्दैन ! मनको शान्ति त युद्ध भुमिमा पनि गर्न सकिने कुरा हो ! के तपाई दैनिकीका बन्धन बाट केहि दिन को लागि छुट्नको लागि केन्द्र को बन्धनमा बाधिन जानुभएको हो र ? चार पटक सिबिरमा गएर सेनिओर अनुभब भएको भन्नुहुन्छ तर जीवनको तनाब बाट एघार दिनको लागि भागेर स्वतन्त्रत्रा अनुभब गरेको बाहेक अरु केहि बुझिएन ! चार वर्ष हुदाको कुटाई सम्झन वा केहि योजना गर्न ध्यान बस्नु भएछ अचम्म लग्यो यो नया ध्यानपथको बारेमा पढ्न पाउदा !
जय सत्चितानंद !!!
मन परे हरियो, नपरे रातो
4
2
सचित जी, तपाई को कुरा ठिक हो, तर तपाई ले भनेको जस्तो ध्यान को लागि हाम्रो शास्त्र हरु ले भने अनुसार समय को सत् गुरु को शरण मा जानु आवस्यक छ, अनि गुरु कृपा पनि जरुरि छ. मन लाइ काबु मा राख्न प्रभु को अजप्या नाम जप्नु पर्छ जुन गुरु बाट ग्रहण गरिन्छ. नत्र त मन कुनै न कुनै योजना, कल्पना तिर पक्कै पनि जान्छ होला |
जय श्री सत्चित्तानन्द !!!
मन परे हरियो, नपरे रातो
1
0
तपाइको कुरा सुनेर त मलाई पनि एकचोटी जाउ जाउ जस्तो पो लाग्न थाल्यो त तर यहाँ बसुन्जेल त खै टाइम मिलाउनै गारो हुन्छ कि जस्तो लाग्छ …. नेपाल गएपछि चै समय मिलाएर एकचोटी जानु पर्ला
मन परे हरियो, नपरे रातो
0
0
मलाई पनि जाउ जाउ लग्यो है अब नेपाल आउदा जाने प्रयास गर्नु पर्ला .
मन परे हरियो, नपरे रातो
1
0
एदी तपाइँहरु लाइ पनि बिपसना ध्यान गर्नु मन छ तर विदेशमा हुनुहुन्छ भने पिर नमान्नु होस् | यो अवसर संसारको धेरै देशमा पाईन्छ, तलको लिंकमा गएर आफ्नो नजिकको बिपसना केन्द्रमा फर्म भर्नु होस् | विदेशमा पनि सबै निसुल्क हुदो रहेछ, म पनि गएको छैन तर जानु मन लग्यो यो लेख पढेपछी |
Link: http://www.dhamma.org/en/alphalist.shtml
धन्यवाद उमेशजी लाइ |
मन परे हरियो, नपरे रातो
1
0
मैले पनि एउटा सिविरको अनुभब संगालेको छु, अब दोश्रो मा जाने विचार गर्दै छु, समय मिलाउन अहिले सम्म सकेको छैन!!! सालोक्य जी ले अनुभब share गर्नु भयकोमा धन्यवाद छ…
मन परे हरियो, नपरे रातो
0
0
सरिर लाई स्वस्त राख्न सहि भोजन चाहिए जस्तै मन लै स्वस्त राख्न ध्यान अथवा गहन चिन्तन मनन को अबस्येकता पर्छ | नेपाल मा हुदा त एसको मुल्य नै बुझिएन तर विदेश आए पछि मनका तानाबाना ले तनाब बढाउदै जना थाल्यो |
भाग्येबस मेरो बशाई फिनल्याण्ड मा वाए पनि २००९ मा स्वीडेन मा १० दिन को विपस्सना गर्ने मौका मिल्यो| धेरै कुरा महसुस गरियो अनि बुझियो | १० दिन पछि ध्यान सिबिर बाट निस्किदा अर्कै संसार मा अवतरण भाको जस्तो लग्यो | १ वर्ष सम्म लगातार विपस्सना मेरो जीवन मा लागु भयो | मलाई पहिले लाग्दाथ्यो कि ध्यान वनेको बेबकुफ कुरा हो | किन बस्न पर्यो आखा चिम्लेर , तेस्ले के हुन्छ , ज्ञान वन्ने कुरा अर्का ले नदीकाना कसरि आफै बाट आउछ ? तर जब आफै ले ध्यान को अनुभब गरे धेरै कुरा बुझे जस्तो लाग्छ तर आज ती दिन हेर्दा लाग्छ महिले धेरै कम बुझेको रैचु | मलाई ध्यान भनेको के हो वनेर बुझ्न पुरै १ वर्ष लग्यो | ध्यान भनेको आखा चिम्लेर गर्ने कुरा मात्र होइन जस्तो लाग्छ | यो त जीवन जीउने कला पो हो | ध्यान न बुझ्ने लाई वन्द विश्वास न लाग्ला , म आखा खोलेर नै ध्यान गर्छु अचेल | ध्यान भनेको त हर समय सतर्क हुनु हो | मैले क गर्दै छु क सोच्दै छु भनेर आफैलाई आफै ले पहरा दिनु हो | अधिकंग्सा समय हामी ले अन्जन मा गल्ति गर्चम अनि पछि मात्रै झल्यास्स हुन्छौ | तर जब हर समय होस मा जयूना थाल्चम तेस्पचि हिजो देखिएको थाम, तेही मान्छेहरु आज भिन्न लग्न थाल्दछ | हिजो सम्म क समस्य आकस्मत आजै हराएको जस्तो लग्यो |
कतिपय कुरा एस्त हुन्छ जुन सब्द बाट व्यक्त गर्न सकिन्न | मलाई आचेल यो लाग्छ के ध्यान को अनुभब नगरि जान्न सकिन्न | जस्तै केताब पढेर मात्रै पौडी खेल्ने कसरि हो जान्न सकिन्न | पौडी सिक्न सीधै पानी मा नै हम्फालना पर्चा | विपस्सना सबै मानब जति लाई म अबस्येक ठान्दछु | कम से कम एक पटक गएर हेर्नु वनेर मा धेरै लाई सुझाब दिने गरेको छु |
आचेल हर वर्ष म विपस्सना मा जाने गरेको छु | वर्ष भरि थुपारिएका बिकर लाई धुन को लागि | जीवन मा आज सम्मै को ठुलो कुरा प्राप्ति भयो जस्तो लाग्छ | सदै जस्तो विपस्सना सिबिर मा ध्यान बस्दा मान्न भक्कनियेअ आउछ, आत्मा ग्लानी हुन्छ अनि मन नबिन मार्ग तिर लाग्छ |
मैले पहिले पनि भने यो जीवन जिउने कला हो तेसै ले यसलाई आफ्नो जीवन संग गास्न जरुरि लाग्छ | अझ योग पनि गर्ने हो भने सुन मा सुगंदा हुने राइछा | बिज्ञान को बिद्यार्थी हु बिस्वोबिध्यलाये मा सोध को कम गर्छु तर आचेल हाम्रा पर्चिन कुरा मा धेरै नै मान्न लग्न थालेको छ| तिनीहरु धेरै नै बैग्यन्निक छन् | साधारण स्वस्त भोजन , प्राकृतिक जीवन यापन , ध्यान अनि योग | बस अनि के चाहियो |
मेरो पहिलो विपस्सना बशाई मा एकजना Swedish साधक ले सोधे ” तपैहरु को त आफ्नो हो नी ध्यान | होइन र ? अनि नेपाल को मान्छे यहाँ आएर ध्यान सिक्न पर्चा र ? तपाई हरु ले त सानै सदा सिकी सकेको हुनु हुन्ह्च होला जस्तो लगत्यो मलाई त “| यो कुरा सुनेर मलाई सारै नै लज्जा बोध भएर आयो | २१ सताब्दी को होडबाजी ले गर्दा हामी पस्चिम्मी संस्कृति तिर मात्र लम्किएका छौँ र आफ्नो गहना लाई कौडी सम्झदै छौँ | यस्ता अमुल्य गहनाहरु हामी ले युगौ युग सम्म हाम्रा सन्तति लै हस्तान्तरण गर्दै जना पर्चा जस्तो मलाई लाग्दछ |
इस्मरण रहोस : विपस्सना जादू को छाडी वने होइन | आज बस्यो १० दिन पछि सबै समस्या समाधान हुने | यो त बर्सौ वर्ष सम्म जीवन नसक्किये सम्म गर्न पर्चा , जीवन जीउने कला जो हो |
एकपटक १० दिने सिबिर मा गएर हेर्नु होला |
सलोक्ये जी संग क्रित्ग्न छु यो ब्लग इन्ट्री को लागि | आफ्नो पनि केहि कुरा राख्न पाएँ |
मन परे हरियो, नपरे रातो
10
0
I also want to participate in 10 days course. what is the course fee?
मन परे हरियो, नपरे रातो
1
0
read this blog, u will get answer.
मन परे हरियो, नपरे रातो
4
0
नेपाली नबुझेकोले अंग्रेजीमा लेख्नु भएको होला
माथिनै भनि सकेको छ नि:शुल्क भनेर
फेरी पढेर बुझ्ने कोशिश गर्नुस
सफलताको शुभकामना
मन परे हरियो, नपरे रातो
1
0
तपाईंको अनुभव एकदम रमाइलो लाग्यो / म पनि जान चाहिरहेको थिएँ तर तहाँको नीति नियम एकदम कडा भएकोले जाने आँट गर्न सकिरहेको छैन / यस्तो ध्यान घरमा पनि गर्न सकिन्छ कि सकिन्दैन / कसरी गर्ने हो त्यो पनि लेख्नु होला / जे होस् तपाईंको अनुभव चाँही लेख्दै गर्नु होला /
मन परे हरियो, नपरे रातो
4
0
नियम कडा भए पनि मन दरिलो बनाउने हो भने खासै गाह्रो काम भने हैन। विपश्यना सिक्नलाई कम्तिमा १० दिन अलग्गै बसेरै सिक्नुपर्छ भनिन्छ।
मन परे हरियो, नपरे रातो
3
0
उमेश दाई, जति पटक तपाइको विपश्यना अनुभव पढ्छु, आफू जना नपाएकोमा दुःखित हुन्छु . कहाँ बाट निकाल्ने होला यत्रो समय ? तपाइलाई चाहिं बधाई छ है फेरी पनि यो अवसर पाउनु भएकोमा .
मन परे हरियो, नपरे रातो
1
0
उमेश जी रक्सि को दुर्बेशन मा लागेको ५६ बर्ष को मानिस लै त्यहाँ ११ दिन को बिपस्यना ध्यान मा लैजान सकिन्छ होला नशा बाट मुक्ति को लागि/
मन परे हरियो, नपरे रातो
1
0
कुनै पनि दुर्व्यसन वा रोगबाट मुक्तिका लागि विपश्यना हैन भनेर गुरुहरुले भन्ने गर्छन्। यो खासमा मनको विकार निकाल्ने साधना हो। मनको विकार निकाल्न सकियो भने शरीरका विकार र दुर्व्यसन आफै हट्छ भनिन्छ र हटेका उदाहरण पनि छन्। यो दुर्व्यसन छुटाउने पुनर्स्थापना केन्द्र भने हैन ।
मन परे हरियो, नपरे रातो
4
0
I have been to a Vipassana Center few months ago but not in Nepal. Essentially, all the centers have similar rules. Your experience does describe my experience as well and this is something to do at least once in your lifetime. Very hard to finish with all the distractions from our restless mind but very peaceful and fruitful at the end.
मन परे हरियो, नपरे रातो
1
0
लामो समय देखि मेरो पनि विपस्यना ध्यानको लागि जाने सोचेको छु/ समय मिले मा नेपाल जाने बेलामा जाने छु /मेरो आमा ले विपस्यना अनुभव खुब सुनाउनु हुन्थ्यो ,अब उहा हुनुहुन्न तर उहाले सुनाउनु भयको अनुभव ताजा छ /उमेश जी बाकी अनुभव पनि लेख्नु होश है /
मन परे हरियो, नपरे रातो
1
0
ध्यान गर्दा को अनुभव रक्नुस है आर्को चोटी …अनि कसरि कसरि ध्यान गर्न सकिदो रैछ त्यो पनि राख्नु होला.
मन परे हरियो, नपरे रातो
4
0
धेरै पटक जाने यत्न गर्दा गर्दै तुहिएको मेरो प्रयत्नलाइ उमेशजीले झन् तर्साईदियो / अब यहि तर्साईलाइ चुनौती ठान्दै नेपाल जाँदा ४ दिने वालामा जाने छु /
जानकारीको लागि धन्यबाद !
मन परे हरियो, नपरे रातो
2
1
एकै पटक तपाईँलाई चार दिनेमा बस्न दिइँदैन। पहिले १० दिने नगरी हुन्न। अमेरिका मै पनि प्रशस्त ठाउँ छन् तपाईँले चाहनु भए
http://www.dhamma.org/en/alphalist.shtml
अमेरिकामा टेक्ससकोलाई सबैभन्दा राम्रो मान्दा रहेछन्
मन परे हरियो, नपरे रातो
0
0
उमेश जी, धेरै धेरै धन्यवाद. तपाई मात्रै के, यो पढ्दै गर्दा हामी पनि कल्पनामा कता कता हराए जस्तो पो लाग्दो रहेछ, बाँकि अनुभव पनि सुनाउदै जानु होला. एकपटक विपस्यना गर्ने साह्रै रहर लागेको छ.
मन परे हरियो, नपरे रातो
4
1
चाखलाग्दो अनुभव सुनाउनु भयो शालोक्य जी, अरु पनि लेख्नु होला | लामो समय देखि मैले पनि विपस्यना ध्यानको लागि जाने सोचेको छु, तर कि त परिवारलाई मनाउन नसकेर कि त समय मिलाउन नसकेर जान पाएको छैन | कुनै दिन गए भने तपाईंको अनुभव पढेकाले तयार बनाउला मलाई |
मन परे हरियो, नपरे रातो
3
0
हार्दिक स्वागत छ सालोक्यजी पुनरागमनको लागि हाम्रो आफ्नै संसारमा/ साचै अहिले त बसन्त ऋतुमा रौनक पनि छाएको छ है / हो,मानव जीवनका तिता मिठा अनुभव ,स्मृतिका भग्नावशेषहरु एवम् अप्रत्यासित घटनाहरुको तानाबाना र नया जीवन भोगाईलाइ हास्यब्येंग्यात्मक पारामा लेखिएकोले यो रचना यादगार बनेको छ / विराट मन अचम्मै छ नि / my संसार फेरी जीवन्त बनेको छ /
मन परे हरियो, नपरे रातो
4
0
लेख लामो होइन पढ्दै जादा छोटो छोटो लाग्दै गयो,बिपस्यना को बारेमा अरु पनि अनुभब सुन्न/पढ्न पाए हुने थियो………………
आसिश
स्विस
मन परे हरियो, नपरे रातो
4
0
तपाइको सिर्सक ले झुक्कायो यार ,यता त् पाई हराउनु ,उता एस्तो सिर्सक आउनु |खैर हेर्दा हेर्दै २ चोटी ध्यान गरेर आइसक्नु भो ,हाम्रो पालो कहिले आउने हो कुन्नि |
मन परे हरियो, नपरे रातो
2
1
गए भैगोनि| कास्ले रोक्य छ र| ठेगाना माथि छ दै छ| पालो कुर्ने पर्दैन नि|
मन परे हरियो, नपरे रातो
2
2
उमेशजी
म पनि करिव दशवर्ष अगाडी गएको थिए । पहिलो अनुभव त मङ्ग पनि छ तर त्यो अनुभव तपाईको जस्तै हो त्यति फरक छैन होला । मलाई पनि दोहोराएर जान मन छ तर समय मिलाउनै सकेको छैन । हेरौ भविष्यमा कुनै दिन
आउछ कि?
मन परे हरियो, नपरे रातो
4
0