माघ १९ पछिको सबैभन्दा ठूलो सभा

२०६२ मंसिर १७ शुक्रबार

भीडलाई क्यामेराको एउटा फ्रेमले देखाउन अस‍ंभव थियो। त्यसैले झण्डै एकै समयमा खिचिएका पाँच तस्वीरको संयोजनबाट तपाईँलाई भीडको अनुमान गर्न सजिलो बनाउने प्रयास मैले गरेको छु। यसलाई ठूलो आकारमा हेर्न यहाँ क्लिक गर्नुस्।

आज एमालेको शक्ति प्रदर्शन छ भनेर हिजैदेखि जाने तयारी गरेको थिएँ। एमालेको शक्ति प्रदर्शन साँच्चिकै प्रभावशाली थियो। दलका पक्षमा पनि जनता छन् भनेर देखाउन यो कार्यक्रम सफल भएको थियो। काठमाडौंका विभिन्न १८ स्थानबाट निस्केका जुलुस डिल्लीबजारको मूल जुलुसमा मिसिएको थियो। साँच्चिकै मानवसागर थियो त्यो। मैले यति धेरै मान्छे जुलुसमा अहिलेसम्म देखेको थिइनँ। यस्तै हो भने अब नेपाल साँच्चिकै ऐतिहासिक परिवर्तनको संघारमा छ भन्नेमा मलाई त आज विश्वास लाग्यो।

कीर्तिपुरबाट र अरु केही ठाउँबाट निस्किएका जुलुस कालिमाटीमा भेला भई डिल्लीबजार पुग्ने रहेछन्। म त्यही जुलुससँगै हिँडेँ। यो जुलुसमा अधिकांश बुढा कार्यकर्ताहरु थिए। त्यति नारा लगाउँदैन थिए। कति पटक त चुप लागेर पनि अगाडि बढे। तर पनि केही चर्का नारा भने त्यो जुलुसले पनि लगाएको थियो।

यो जुलुसको अंश मूल जुलुस आउनुभन्दा अगाडि नै बानेश्वर पुग्यो। नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पश्चिम गेटनजिकै मञ्च बनाइएको थियो। म चाहिँ मूल जुलुस भेट्टाउन त्यहाँबाट डिल्लीबजारतिर हिँडेँ। त्यहाँ त बा-बा, मान्छे देखेर छक्क परेँ। यति धेरै मान्छे थिए कि स्वयंसेवकहरुलाई नियन्त्रणमा लिन धौ-धौ परिरहेको थियो। जुलुसको टाउको देखेँ, जीउ देखेँ तर पूच्छर भने देख्न सकिनँ। पूच्छर हेर्न बसेको भए पछाडि परेर अगाडिको सभा नै हेर्न नपाइने हुन्थ्यो होला।

मान्छे धेरै हुने भएर नै होला, निकै टाढासम्म स्पिकरहरु राखिएका थिए, अगाडिका नेताहरुले बोलेका कुरा सुनाउन। नयाँ बानेश्वरको त्यो चोक पूरै मानव सागरले भरिएको थियो। स्वयंसेवकहरुलाई उनीहरुलाई मिलाएर राख्न निकै गार्‍हो भइरहेको थियो। कति पटक हामी पत्रकार बसेको ठाउँछेउमा मानिसहरु चेपिएर हा-हू गरेका देखिन्थे। त्यहाँ बसिरहनेहरुलाई सार्‍है गार्‍हो भइरहेको जस्तो देखिन्थ्यो।

यति धेरै मान्छे आजै राजाको सवारी रोक्न अगाडि बढेका भए आजै देशमा आजै गणतन्त्र आउँछ कि क्या हो भनी भन्नेहरु पनि देखिए। तर एमाले महासचिव माधव नेपालका अनुसार यो रिहर्सल मात्र रे। साँच्चिकै जनआन्दोलनका लागि यो एक लाख रिहर्सल रे। अब ५-१० लाखको सुनामी उतार्छौं रे अनि त्यो सुनामीले निरंकुश राजतन्त्रलाई सखाप पारिदिन्छ रे। सभालाई सम्बोधन गर्दै नेपालले उपत्यकाबाहिरका कतिपय जिल्लामा यस्तै विशाल जनसभा भइसकेका र अब पनि हुन लागेको जानकारी दिँदै भन्नुभयो, वरिपरिका जिल्लाहरु तातिएपछि काठमाडौं उम्लिनेछ। उहाँले अब रत्नपार्क कब्जा गरेर सभा गर्ने पनि चेतावनी दिनुभयो।

सात दलको आयोजनामा ३० गते १ बजे गौशालाबाट जुलुस निकाली २ बजे सोही स्थानमा सभा गरिने र त्यस सभाबाट सात दलका आगामी कार्यक्रमको घोषणा गरिने जानकारी सभामा दिइयो। त्यसैगरी डिसेम्बर १० मानवअधिकार दिवसका दिन त्रिपुरेश्वरमा भेला भई रत्नपार्कमा विरोध प्रदर्शन गर्ने कार्यक्रम मानवअधिकारवादी समूह र नागरिक समाजले राखेको छ।

सभामा केपी अ‍ोली, झलनाथ खनाल र बंगलादेश, स्पेन, फिलिपिन्स र भारतबाट आएका किसान नेताहरुले पनि ऐक्यवध्दता व्यक्त गरेका थिए। स्पेन र फिलिपिन्सका नेताले निरंकुश राजतन्त्रको हैन, डब्लुटीअ‍ोको विरोध गरे। भारतका नेताले भने तपाईँहरुले फालेपछि हामीकहाँ ल्यानुस्, हामीकहाँ समुद्र छ, हामी समुद्रमा सेलाइदिउँला भनेर चर्का कुरा गरे। गलीगली मेँ शोर है, ****** चोर है भनीसमेत भने।

रुबिन गन्धर्वले गीत गाउँदै गर्दा भीड अनियन्त्रित भएर मञ्चतिर बढ्यो। मनोज गजुरेलको प्रस्तुतिपछि सभा समापन गरियो। प्रहरी घेराले फर्कन लागेकाहरुलाई रोकेनन्। उनीहरु त्यहीँबाट अगाडि बढे नयाँ बानेश्वरको मूल सडकमा जहाँ केही बेरपछि नै राजाको सवारी हुँदै थियो।

केही युवाहरु चर्का नारा लगाउँदै अगाडि बढ्दै थिए। उनीहरुलाई मण्डलेहरुले आक्रमण गरे रे भन्ने सुनियो। मैले भने देख्न पाइनँ। म त्यहाँ पुग्दासम्म ढुंगा हानाहान भइसकेको थियो प्रहरीलाई। आज पहिलो पटक ५१२ एमबीको मेमोरी कार्डसमेत फूल भयो। त्यहाँ ठूलै भिडन्त होला जस्तो देखिएकोले अघि सुरुमा खिचेका फोटो र भिडियोलाई डिलिट गरी ठाउँ खाली पारेँ। त्यतिञ्जेलमा त्यहाँ प्रहरीले कतिलाई मारसँग चुटिसकेको थियो।

यत्तिकैमा राजपरिवारको सवारी भयो। ढुंगा हानाहान हुँदै थियो कि बाटोबाट ठूलै पदका प्रहरीहरु कुददै आए। के रहेछ भन्दा त नम्बर प्लेटमा श्रीपेच भएको राजाको लागि गाडी आएको रहेछ। चारतिरबाट मोटरसाइकल चढेकाहरुले घेरिएको त्यो गाडी बेपत्तासँग कुद्‍यो। त्यो गाडीमाथि पनि ढुंगा हानियो। त्यहाँमात्रै हैन त्यहाँभन्दा अगाडि नै पनि ढुंगा हानिएको रहेछ।

त्यो गाडी कुदनेबित्तिकै एक हुल सशस्त्र प्रहरी मिनभवन क्याम्पसतिरको गल्लीमा रहेका प्रदर्शनकारीहरुलाई लखेट्न गए। त्यहाँको लाठीचार्जमा एक जना घाइते भयो रे। त्यहाँ त्यसरी हाहू हुँदा बिचरा राजाको स्वागत गर्न आएका भिक्षुहरु अलपत्र थिए। कता भागौं, कता भाग‍ौं भइरहेको थियो उनीहरुलाई। फेरि रिस उठेका प्रहरीहरुले आँखा देख्दैनन्, जसलाई पनि हानिहाल्छन्।

यत्तिकैमा फेरि अर्को सवारी आयो। युवराज पारसको सवारी रहेछ। त्यो गाडीमा पनि ढुंगा हाने रे। मैले भने देखिनँ। त्यो पनि बेपत्तासँग कुदेको थियो।

मिनभवन क्याम्पसभित्रका गल्लीबाट प्रदर्शनकारीलाई बाहिर आउन नदिन प्रहरीले कयौं घेरा बनाएर बसेका थिए।
अब फेरि नयाँ बानेश्वर चोकतिर जानुपर्‍यो भनेर जान्छु त अब त नेपालका झण्डा बोकेकाहरु टन्नै देखिन्थे त्यहाँ। त्यत्रो एक लाखको भीड हराइसकेको थियो।

बरु त्यहाँ हेर्दै डरलाग्दा मण्डले गुण्डाहरु टन्नै देखिए। अब मात्र हानोस् न काट दिने हो …..हरुलाई भन्दै थिए। “फुच्चाफुच्चेहरु राजाको गाडीलाई ढुंगा हान्ने ? ” भन्दै कुर्लँदै थिए। यसो उनीहरुको पनि भिडियो खिचौं कि भनेको उनीहरुले उल्टै आफूलाई चुट्ला भन्ने डर !

सुनिए अनुसार एक जना ढुंगा हान्नेलाई आर्मीले लगेको छ रे। राजाको गाडीमा ढुंगा र काठको फल्याकले हानिएको थियो रे।

अघि सभा भएको ठाउँनिर धेरै मान्छे छन् कि जस्तो लाग्यो। पारिपट्टीबाट हेर्दा प्रहरीले बाटो छेकेर बसेकोले त्यस्तै लाग्थ्यो। त्यसैले अर्को ठाउँबाट घुमेर त्यहाँ पुग्दा त अघिका मान्छेहरु थिएनन्। केही मान्छेमात्र थिए त्यहाँ।

सडकमा अब सुरक्षाकर्मीहरुले नियन्त्रण कायम गरिसकेका थिए। हिँड्नसम्म दिइएको थिएन। त्यसैले अनामनगरतिर जाने बाटोबाट घरतर्फ लागेँ। घरमा ६ बजे पुगेँ। आज दिनभर यस्तैमा बित्यो। भोलि रातिसम्ममा मैले एउटा अत्यन्त जरुरी ट्रान्सलेसनको आउटसोर्सिङ प्रोजेक्ट सकाउनुछ। भोलि एक दिनभरमा कसरी सकाउने होला चिन्ता लागिसक्यो। ब्लगले दानापानी आउने वैकल्पिक काम पनि भगाउँछ कि भन्ने चिन्ता भइसक्यो। भोलि फेरि च्याने तारिख पनि धाउनुछ (च्यानल नेपालले एक पटक १० हजार रुपैया दिएपछि अब भोलि चार हप्ता हुन्छ बाँकी पैसा दिने भनेको। तीन हप्तादेखि झुलाएको झुलायै छ। शनिबार दिने भनी अस्ति भनेका थिए। त्यसैले एक पटक त्यहाँ पनि जानुछ) भिडियो ब्लगहरु चाहिँ म काम सकिनेबित्तिकै गर्नेछु। फोटोहरु भने समय पाए भोलि थप्नेछु।

अगाडिको ब्लगः
एमालेको शक्तिप्रदर्शन र जनसभा सकाएर अहिले भर्खरै साँझ ६ बजे घर पुगेको छु। मान्छे त बा-बा, कति हो कति, एक लाख त थिए होलान्। जता हेरे पनि मान्छे ! मानव सागर भनेको यस्तो हुँदो रहेछ। यति धेरै मान्छे मैले पहिलो पटक देखेको हुँ। सभा सकेपछि प्रहरी घेरालाई तोड्दै अगाडि बढेको केही तात्तिएका युवाहरुले राजाको स्वागतका लागि एयरपोर्ट जान हिँडेका राजपरिवारको गाडीमा पनि ढुंगा हाने। अनि त टियरग्यास…लाठी चार्ज। विस्तृत विवरण म अहिले एकछिनमा राख्नेछु। भिडियो पनि धेरै नै खिचेको छु आज मैले। त्यो पनि राख्नेछु। कृपया प्रतीक्षा गर्नुहोला। केही घण्टा लाग्नसक्नेछ। (615 pm NST)
भित्र अरु दुईवटा फोटो (7 pm NST)