यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

कथा : बद्‌लिएकी प्रिया

-उषा थपलिया-

” त्यो कार्यालयमा अविनाशको पहिलो दिन थियो। एक अग्रज नातेदारले उच्च मध्येकै एक पदका लागि प्रस्ताव गरेपछि उसले नाँई भन्न सकेन। हुनत उसलाई आफूसामुन्ने लडीलडी आएको प्रस्ताव सुरुमा स्वीकार गरुँ जस्तो लागेको थिएन। गैरनाफामुखी सामाजिक संस्थाको नामबाट चिनिएको त्यो कार्यालयमा काम गर्न न उसको शैक्षिक पृष्ठभूमि तथा विगत कामको अनुभवले साथ दिन्थ्यो, न त उभित्र त्यसप्रतिको कुनै प्रतिबद्धता र लगाव नै थियो। उसलाई दुनियाँको दुःख, पीरमर्का, न्याय, अन्यायसँग कुनै मतलब थिएन, जहाँ जे गरेर भएपनि आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुन्न भन्ने मात्र विचार पुर्‍याउने उसलाई त्यस क्षेत्रबाट आफ्नो लालच हासिल गर्नसकिने कुरामा शंका थियो। त्यसैले अवसरदाता ती नातेदार (जो स्वयं पनि सोही कार्यालयको निर्णायक तहमा आसिन थिए) को अगाडि प्रस्तावको तुरन्तै समर्थन नगरेर ऊ केही अन्यौलपूर्ण अवस्थामा प्रस्तुत भएको थियो। उसमा कायम अन्यौल हटाउन नातेदारले केही मानसिक कसरत गरे, अनि केही आश्वासन पनि। त्यसपछि ऊ तयार भएको थियो प्रस्ताव स्वीकार्न।

कार्यालय प्रवेशको सुरुकै दिन चिनापर्ची गर्न एक कोठमा सवै स्टाफहरु डाकिएका थिए। सवैसंग एकसरो परिचय लिनेदिने विधि अघि बढ्दै थियो। अविनाश भने स्टाफहरु सवैको चेहरातिर आफ्ना आँखाहरु दौडाइरहेको थियो। दौडिरहेका उसका आँखाहरु एकाएक एक चेहरामा पुगेर टक्क रोकिन्छन्। रोकिनु स्वभाविक पनि थियो किनभने त्यो आकृति अन्यभन्दा विल्कुल फरक थियो। अत्याधुकि पहिरन, अनेकौं श्रृंगारले बनिबनाउ चेहरा र लठ्ठ पार्ने हेराई। यसवाहेक कोठा नै मगमगाउने गरी आइरहेको अत्तरको सुगन्ध पनि उनकै शरीरबाट फैलिएको ठम्याउन उसलाई गार्‍हो परेन। उसलाई एकछिन त द्विविधा उत्पन्न भयो कि आफू कुन ठाउँमा आईपुगेँ भनेर। ऊ आएको थियो सामाजिक संस्थाभित्र तर स्टाफकै पंक्तिमा रहेकी उनको आवरण र हाउभाउ हेर्दा लाग्थ्यो कि ग्राहकहरुलाई आफ्नो सेवामा आकर्षित गर्न कुनै व्यवसायिक कम्पनीले ठूलै रकम खर्चिएर तयार गरिएकी पात्र हुन् उनी। सामाजिक संस्था भनेर त्यति प्रफुल्लित हुन नसकेको अविनाशको मन त्यो दृश्यपछि एकाएक रौसियो र मनमनै गम्यो “सवैखाले मान्छेहरु अटाउने क्षेत्र रहेछ यो म पनि आफ्नै सोचाई र चरित्रअनुसार म किन नअटाउँला र?” यस्तै गम्दै गर्दा उनी जुरुक्क उठिन् अनि चम्किला र मादक आँखा अविनाशतर्फ फाल्दै बोलिन्, म प्रिया…….। अविनाशको ध्यान केवल उसको नाममा मात्रै अल्झियो। नाम भन्दा पछि उनले के के भनेर आफ्नो थप परिचय दिइन्, केही हेक्कै रहेन उसलाई।

नयाँ ठाउँ, नयाँ काम भएकोले भोलिपल्ट अलि छिटो अफिस पुगेको थियो अविनाश। ऊ आफ्नै चेम्बरमा बसेर आफ्नो दायरा बुझ्ने प्रयास गरिरहेको थियो। यसैबीच सुगन्धित अत्तरको वासना सुरुमै उसको नाकसम्म ठोक्किन आइपुग्यो, त्यसको केहीपछि मात्र चमकदार पहिरन र श्रृंगारमा सजिएकी प्रियाको शरीर अविनाशको सामुन्ने आएर ठडियो। अविनाशले आँखा उनीतर्फ सोझ्याउनेबित्तिकै प्रियाले “गुड मर्निङ् सर” भन्दै अभिवादन तेर्साई। उसले जवाफ फर्कायो। हिजैदेखि प्रिया नाम गहिरोसँग अविनाशको दिमागमा बसिसकेको भए पनि नाम याद नभएको बहानामा क्षमा माग्दै उसले पुनः नाम सोध्यो। हिजैको जस्तो हर्कत प्रस्तुत गर्दै प्रियाले आफ्नो नाम दोहोर्याई। यसलगत्तै पिरामिड आकारको आकर्षक रेशमी सुर्केनो थैलो अविनाशतर्फ अघि बढाउँदै भनि “सर हाम्रो कार्यालयमा आउनु भएकोमा यहाँलाई स्वागत छ। यस अवसरमा मेरो तर्फबाट यो सानो मायाको चिनो”। जवाफमा अबिनाशले भन्यो “यो जरुरी थियो र प्रिया जी?” अविनाशको त्यो औपचारिकताप्रति केही बोल्नु जरुरी नठानेर होला प्रियाले विषयान्तर गरेर अविनाशको बारेमा सामान्य जानकारी लिई अनि “सर अहिले म जान्छु हजुरलाई आगामी दिनको शुभकामना!” भनेर आफ्नो ठाउँतर्फ लागी। अविनाश भने रोमाञ्चित पाराले केही क्षण एक्लै मुस्कुराइरह्यो।

अविनाशलाई समाजसेवा वाहियातको विषय लाग्दथ्यो। त्यस क्षेत्रलाई आफु अनुकुल उपयोग गर्न सकिन्छ या सकिन्न त्यसकै परिक्षणकालागि मात्र थियो त्यहाँ उसको आगमन। त्यसैले कामबारे बुझ्नेभन्दा पनि आफ्नो क्षेत्राधिकार कसरी फैलाउँदै जाने अनि सवै कुरा आफुमा केन्द्रित गर्दै कसरी सर्वेसर्वा वन्ने भन्ने मात्र ध्याउन्न थियो उभित्र, जसकालागि हरेक दिन काममा चुर्लुम्म डुवेको शैलीमा घोरिईरहन्थ्यो उ। जव उसले त्यहाँभित्रको अन्तरवस्तु बुझ्नथाल्यो, उभित्र आशाको सकारात्मक संचार फैलदै गयो। गैरनाफामुखी सामाजिक संस्था भनिए पनि त्यो त नाफैनाफाको खानी रहेको बुझ्यो अविनाशले। नाफा कमाउने कम्पनीहरुले नाफा नोक्सान दुवैको चुनौती मोलेर आफ्नै लगानी नगरी सुख हुदैन, तर त्यहाँ त्यो खतरा मोल्नु आवश्यक थिएन। केवल अर्कैले ओईराईदिएको पैसामा विना मेहनत र परिश्रम नाफैनाफा असुल्न पाईने हजार बाटाहरु देखेर उ दङ्दास हुदै गयो र यसकालागि आवश्यक आफ्ना विश्वासपात्रहरु ति ठाउँहरुमा तैनाथ गर्न उसले एकरत्ति ढिला गरेन। तर अफिसभित्रका केहि समकक्षीहरु आफ्नो लालसा पुरा गर्ने क्रममा बाधक वन्न सक्ने ठम्यायो उसले, त्यसैले अनेक तिकडम रचेर ति समकक्षीहरुलाई काम छोडेरै हिड्नुपर्ने स्थिति ल्याउन उ सफल भयो। जसका कारण कर्मचारी अर्न्तगत सवैभन्दा उच्च पदमा पुग्न उसलाई कसैले रोक्न सकेन। रहँदावस्दा सवै कर्मचारीको नाडी छामिसकेको थियो उसले, उसको विरुद्धमा बोल्ने उनीहरुको साहस नै थिएन, आफ्नो जागिर वचाउकोलागि ति सारै निरीह थिए। संस्थाप्रमुखकै इच्छा बमोजिम अविनाश त्यहाँ भित्रिएको मात्रै नभएर उसलाई उनकातर्फबाट सधै आर्शिवाद छदैथियो। तर संचालक समितिका केहि व्यक्तिहरुसंग अविनाशको सम्वन्ध भने राम्रो हुन सकेको थिएन। उसको हठी, दम्भी र अरुलाई मान्छे नगन्ने स्वभावका कारण समितिका अन्य व्यक्तिहरु उसलाई खासै मनपराउदैनथे। तर उनीहरुका पनि आफ्नैखाले वाध्यता र लालसाहरु थिए। हेर्दा विशिष्ठ गुण भएका व्यक्तित्वहरु जस्तो देखिए पनि समितिमा रहेकामध्ये कोही प्लेन चढेर एकदुई जिल्ला घुम्न पाउदैमा दङ्ग पर्ने खालका थिए भने कोही कार्यपत्र प्रस्तुत गरेजस्तो गरेर केहि रकम कुम्ल्याउन पाउदै रम्ने प्रवृत्तिका थिए, त्यस्तै कोही कुनै कार्यक्रमहरु परेकाबेला तारे होटलमको लन्च र डिनर खाने अवसर जुटेमात्रै पनि आफुलाई धन्य सम्झने किसिमका थिए। तिनिहरुका यस्तै प्रवृत्तिहरु अविनाशले राम्ररी बुझेको थियो। त्यसैले आफ्ना योजनामा ति बाधक नहुन भन्नाको खातिर उनीहरुका ति स–साना आकांक्षाहरु पुरा गराई दिन उसलाई कुनै अप्ठेरो थिएन।

कार्यालयभित्र बढिरहेको अविनाशको प्रभुत्व निष्ठावान र कर्मयोगी कर्मचारीहरुकालागि भने टाउको दुखाईको विषय वनिरहेको थियो। कार्यालयका सवै ईकाईहरुमा उसले आफ्ना मान्छेहरु छिराईसकेको थियो जसले उसका प्रत्येक कदमको समर्थन गर्नुका साथै विरोध गर्नेहरुको विवरण उसकहाँ सजिलैसंग पुर्‍याईदिन्थे। उसलाई प्राप्त रिपोर्टको आधारमा जो उसको कार्यशैलीको विपक्षमा रहन्थ्यो, उसको दुर्दिन त्यहीँबाट सुरु हुन्थ्यो। अनेक हत्कन्ठा निकालेर पलपलमा पुर्‍याईने असजिलो र अपमानको सामना गरेर जागिरमा टिकिरहन जो पायो त्यहिलाई हम्मेहम्मे पर्दथ्यो। त्यसैले आफ्नो गरीमा गुमाई हदैसम्मको लाचार भएर वस्न वाध्य भन्दावाहेक अन्य उसका असन्तोषीहरुलाई उ आफैले कामबाट निकालीरहनु पर्ने अवस्थै आउदैनथ्यो। कार्यालयभित्र अविनाशको प्रभुत्व जसरी चरमचुलीमा पुगेको थियो त्यसैगरी उसको जीवनशैलीमा व्यापक फरकपना आइसकेको थियो। सुविधासम्पन्न गाडीहरुले शोभायमान बनाएको थियो उसले कार्यालय प्राङ्गण, जसलाई उसले मात्र हैन उसका परिवार र नातेदारहरुले समेत स्वाद फेरीफेरी उपभोग गर्न पाउँथे। त्यसैले मोटरसाइकल चढेर लड्दैपड्दै कार्यालय आउने उसका सुरुवाती दिनहरु उसको स्मृतिबाट पनि विलिन भइसकेको थियो। कार्पेटिङ, पार्केटिङ्, साजसज्जा, वातानुकुलित प्रविधी लगायतका सवै सुविधाले कार्यालय ओतप्रोत बनाइसकेको थियो उसले। कागजात र फुलबुट्टा भरिएका प्रतिवेदनहरु तयार गरेपछि दाताले दिएको रकम जसरी खर्च गरेपनि फरक नपर्ने अर्को प्रयोगले ऊ झनै हौसियो। त्यसैले उत्पीडित समुदायको उत्थानकोलागि आएको पैसा जहाँ खर्च भएपनि कागजमा भने ति तिनै समुदायकालागि खर्च भएको देखाउन ऊ माहिर भैसकेको थियो। अविनाशले लिने लाभको सिमा अफिसभित्रमात्र सिमित थिएन, उसको विगतलाई बुझ्ने जोकोहीले दिनप्रतिदिन बढिरहेको उसको वर्तमानको राजसीपनबाट सहजै ठम्याउन सक्थ्यो कि उसको कमाई स्वभाविक छँदैछैन भनेर।

हुनपनि उसले सन्तानलाई महंगो स्कुलमा सारिसकेको थियो। सुविधासम्पन्न वंगलाकोसाथै व्यावसायिक प्रयोजनकालागि भव्यमहल पनि ठडिईसकेको थियो। गुहिणीको भूमिकामा मात्रै सिमित रहेकी श्रीमतीको इच्छापुर्तिकोलागि विलासी गाडी किनिदिने हैसियत बनाईसकेको थियो उसले। यी सवै हेर्दा लाग्थ्यो, भाग्यले जुराएको सामाजिक सेवा, उसकोलागि मात्र नभएर पुस्तौंलाई वसीवसी खानपुग्ने मेवा बनाउँन ऊ पुरा तन्मयकासाथ लागिरहेको छ। विभिन्न देशका दाताहरुसंग सम्पर्क सम्वन्ध स्थापित हुने नै भयो त्यसैले अव उसका दिनहरु देशभित्र भन्दा बढी विदेशका सभा, सम्मेलन, वैठक आदिमा उत्पीडित समुदायको उत्थानकोलागि सारगर्भित उपलब्धी र योजनाहरु प्रस्तुत गर्दै वित्न थालेका थिए।

आफ्नो चरित्र र प्रवृत्ति अनुसार नै समाजसेवामा व्यक्तित्व विकास गर्न सकेकोमा उ खुशी नहुने कुरै थिएन। अझ उसको त्यो खुशीयालीमा थप मधुरस भर्ने काम प्रियाले गरिरहेकी थिई। अविनाशको आगमनपछि प्रियाको रजगज पनि अस्वाभाविक तवरले बढिरहेको थियो। योग्यता र क्षमतामा अरु भन्दा सधै पछि रहेकी प्रियाको जिन्दगीमा समेत अविनाशले अवसरको बाढी नै ल्याईदिएको थियो। अवसरसंगै चुनौती र जिम्मेवारी बढ्नेहुनाले त्यो वेहोर्न प्रिया कहिल्यै तयार हुन्नथी, उसलाई त कुनै जिम्मेवारी नलिई टहलिएकै भरमा जागिरमा टिकिरहुँ भन्ने मात्र ध्याउन्न हुन्थ्यो। त्यसैले राम्रो जिम्मेवारी संगसंगै त्यस अर्न्तगत धेरै सहायकहरु जुटाईदिएर कामका हिसावले प्रियालाई कुनै तक्लिफ नहोस भन्नेमा अविनाश सधै सजग रहन्थ्यो। क्षमतावान् र योग्य व्यक्तिहरु वर्षौदेखि उहि पदमा चित्त बुझाएर वस्न वाध्य भएपनि हरेक पटकको पदोन्नतीमा प्रियाको नाम सधै अग्रपंत्तिमै हुन्थ्यो। हुन पनि प्रिया अविनाशको एकदमै ख्याल राख्थि, विभिन्न अवसरमा उपहारहरु अविनाशसमक्ष अर्पण गर्ने क्रममा झन् बढोत्तरी भैरहेकोथियो।

अफिसभित्र सवैभन्दा बढी वैठक र छलफल अविनाशको प्रियासंगै हुन्थ्यो, त्यसैले हातमा डायरी, कलम तथा केहि कागजात बोकेर प्रिया दिनको तीनचारपटक अविनाशको चेम्वरतिर धाउने गर्दथी। तर ती छलफलका विषयहरु बजारमा भित्रिएका व्राण्डेड सरसामान, बहुराष्टिय कम्पनीले खोलेका रेष्टुरेन्टहरुका खाद्य आइटमदेखि हिन्दी सिरियलका कथामाथिको समिक्षा भन्दा माथि कहिल्यै उठ्दैनथे। यस्तै विषयमा प्रियासँग घण्टौं विताउने अविनाश वास्तविक काम लिएर जाने अन्य कर्मचारीका कुरा भने दुई मिनेट सुन्ने धैर्य समेत गर्दैनथ्यो।

उ अचम्मकै उच्चप्रशासक थियो, कर्मचारीको अगाडि इमान्दारीता र कर्तव्यपरायणता सिकाउन त ऊ कहिल्यै पछि पर्दैनथ्यो तर दिलोज्यान लगाएर निष्ठापुर्वक काम गर्ने कर्मचारी उपहासका पात्र वन्थे उसको हेराईमा। इमान्दार व्यक्तिले सवैकुराको नियम खोज्छ, पारदर्शिता खोज्छ भन्ने उसलाई राम्रोसंग थाहा थियो त्यसैले त्यस्ता कर्मचारीहरु आफ्नालागि सधै खतराका घण्टी हुन्, जो जहिलेसुकै वज्न सक्छन् भन्ने मानसिकताबाट उ एकदमै ग्रस्त थियो। सेवालाई लाभमा रुपान्तरण गर्न खप्पीस भएपनि कामसम्वन्धी विषयगत ज्ञानको हिसावले अविनाश मठ्ठू नै थियो त्यसैले क्षमतावान कर्मचारीहरु उसको टाउको दुखाईको विषय वन्दथे। त्यसैले उनीहरुको मनोवल गिराउन उ कुनै कसर बाँकी राख्दैनथ्यो। कर्मचारीको छड्के गर्ने निहुँमा हरेकदिन कार्यालयभित्रको परिभ्रमणमा निक्लने अविनाशका पाईला प्रियाकै कार्यकक्षमा पुगेर रोकिन्थ्यो, जतिवेला उ निर्धक्क नेटमार्फत विदेशमा रहेका आफ्ना आफन्तहरुसंगको च्याटमा मस्ती मारिरहेकी हुन्थी भने कहिले इन्टरनेटभित्रको सामाजिक संजालभित्र हराईरहेकी हुन्थी, त्यस्तै कहिले आफ्नो बनिवनाउ चेहरामा मेकअप थप्न त, कहिले हेडफोन लगाएर चर्को स्वरमा गीत गाउदै फेशनका साईटहरु सर्च गर्नमा तल्लीन हुन्थी। उसका ति सवै दिनचर्याहरु अविनाशलाई असाध्यै मन पर्दथ्यो त्यसैले उसको आगमनमा पनि ति वन्द हुदैनथे, उल्टै केहि दिलचस्पी स्वरुप उ पनि प्रियासंगै त्यसैमा समाहित हुन पुग्दथ्यो तर अन्य कर्मचारीहरुले भने नेटमार्फत पत्रपत्रिकाहरु पढेको देखेमा पनि उसलाई खपिनसक्नुको रिस उठ्दथ्यो। प्रियाको टेवुलमा कामका कागजात भन्दा बढी श्रृङ्गारका साधन, मनोरञ्जनका साधन तथा खाद्यपेय पदार्थले भरिभराउ हुन्थ्यो। उनको लवाईखुवाई अविनाशलाई मन मर्ने मात्र हैन, उनका ति विशेषताहरुको सवैका सामु ऊ खुलेरै प्रसंशा गर्दथ्यो, प्रियाको अगाडी अफिसका अन्य महिलाहरु वेढंगी र पाखे लाग्दथ्यो अविनाशलाई। न तिनले कहिल्यै उपहार टक्य्राउँन जानेका थिए, न उसको विशेष किसिमले मानमनितो गर्न, न त आफु फेशनेवल हुन नै। त्यसैले कामकाम भनेर सधै मरिमेटे पनि उनीहरुको उन्नती ठप्पप्रायः थियो।

प्रियाको भने दिनदिनै बढिरहेको शानशौकतमाथि कसैको धावा बोल्ने आँट थिएन। अविनाश चढेको अफिसको गाडी प्रायः साझ विहान प्रियाको घर हुदै हुईकिन थालेको थियो। यसकासाथै आफ्नो विदेशयात्रालाई मनोरञ्जक बनाउन प्रिया पनि उसकै साथ रहने चाँजोपाँजो अविनाशले धेरै अगाडी मिलाईसकेको थियो। प्रियासंगको रोमाञ्चक विदेशयात्रापछि अविनाश जव कार्यालय फर्कन्थ्यो, त्यतिवेला उसको प्रमुख काम, आफुलाई मन नपरेका कर्मचारीको हुर्मत लिनबाट सुरु हुने गर्दथ्यो। प्रियासंग उसको सम्वन्धबारे कार्यालयमा व्यापक चर्चा हुनेगरेको उसका जासुसहरुले अवगत गराईरहन्थे। त्यसैले विदेशयात्राकोवेला पनि त्यस्तै चर्चा चलेको हुनुपर्छ भन्ने अनुमानका भरमासमेत अनेक वहाना निकालेर निरीह कर्मचारीहरुमाथि खनिने मात्रै हैन, आतंकको वातावरण बनाउन पनि उ पछि पर्दैनथ्यो । यी सवैबाट प्रिया भने गद्गद् थिई। आफ्नो विरुद्ध कसैले वोल्ननसक्ने व्यक्तित्व बनाउन सकेकोमा अविनाशप्रति निकै नै गर्व थियो उसलाई। सुरुमा गाँईगुँईमा सिमित अविनाश र प्रियाका अस्वाभाविक सम्वन्धका वान्कीहरु कालान्तरमा सवैसामू प्रष्टरुपमै छरपष्टिएका थिए। सामुहिक जमघटको बेलामा पनि उनीहरुका ति आयामहरु निसंकोच प्रस्तुत हुनु अनौठो हुन छोडिसकेको थियो। आफु र अविनाशको नाम जोडेर अन्य साथीहरुले गर्ने खासखुसलाई लिएर सुरुसुरुमा प्रिया केहि संकोच मान्ने गर्दथी तर अविनाशको अगाडि कसैको दाल नगल्ने रहेछ भन्ने निश्चित भईसकेपछि उभित्रको संकोचले दम्भको रुप धारण गरिसकेको थियो। त्यसैले अविनाशसँगको विदेशयात्रामा आफुले लगाउने गरेका छोटा पहिरन र रमाईलो घुमघामको अभिमानपुर्ण ढंगले साथीहरुमाझ फेहरिस्त लगाउँन समेत अव उसलाई कुनै हिच्किचाहट थिएन।

अविनाशको कार्यशैलीले प्रिया र उसकालागि राम्रो भैरहेपनि समग्र कार्यालयको स्थिति भने डामाडोल हुदै गईरहेको थियो। निष्ठापुर्वक काम गर्ने कर्मचारीहरु शुन्यप्रायः भैसकेका थिए त्यहाँ। जो नयाँ आउथे, तिनीहरु कि अविनाशको भक्ती गाएर वस्नेखालका हुन्थे कि अर्को राम्रो अवसर नबनाईन्जेल आफु अनुकुल उपयोगकालागि मात्र आउने गर्दथे। संस्थाभित्र मौलाईरहेको अविनाशको तानाशाही प्रवृत्तिबाट आक्रान्त धेरै कर्मचारीहरुले संचालक समिति प्रमुखलाई वेलाबेलामा गुनासो पनि गर्दथे। तर आफुले केहि गर्न नसक्ने लाचारीपनभन्दा बाहेक ति प्रमुखको चेहरामा अरु केहि झल्कन्नथ्यो। सीमा नाघिसकेको अविनाशको प्रवृत्तिबारे उनी आफै पनि जानकार नहुने कुरै थिएन तर अविनाशको माखेसाङ्लोभित्र उनी यसरी जेलिएका थिए कि उसका जुनसुकै अप्रिय कदमहरुको चुपचाप अनुमोदन गर्नु उनको निर्विकल्प वाध्यता थियो। हुनत अविनाशको चरित्र र प्रवृत्तिबारे उनी वेखवर पहिला पनि थिएनन्। तर संस्थागत सवालमा आफ्नैआफ्नाहरुसंग चलिरहेको द्वन्द्वमा आफ्नो अस्तित्वलाई अविचलितरुपमा वचाईराख्न केहि मोलाहिजासहित उनैले अविनाशलाई आफ्नो संस्थाभित्र ल्याएकामात्र थिएनन् उसलाई सर्वेसर्वा बनाउँन महत्वपूर्ण भूमिका निर्वाहसमेत गरेका थिए। संस्थाले बोकेको वास्तविक उद्देश्यप्रतिको प्रतिबद्धता त प्रमुखमा पनि थिएन तर अविनाशको झै हदैसम्मको सीमा नाँघ्ने सामर्थ्यको भने उनमा अभाव थियो। आफ्नै अगाडी अविनाशले हासिल गरिरहेको व्यक्तिगत लाभ र भौतिक समृद्धिले पनि उनलाई वेचैन बनाउने गरेको थियो। न उनले त्यसमा नियन्त्रण गर्न सकेका थिए न त आफुलाई पनि मुनाफाको हिस्सेदार बनाउन नै। आखिर उनमा पनि आममान्छेमा हुने इर्ष्या, लोभ, हीनताबोध लगायतका संवेगहरु अवश्य थिए त्यसमाथि कर्मचारी र आफ्नै पदाधिकारीहरुको चर्को दवावको सामना गर्न उनलाई निकै असजिलो भइरहेको थियो। त्यस्तै प्रभावकारी उपलब्धी हासिल नभएको भन्दै कतिपय दाताहरुले आर्थिक सहयोग गर्नसमेत छोडिसकेको स्थितिले प्रमुखलाई आत्मग्लानीको धापतिर धकेल्दै लगिरह्यो। न उनी अविनाशलाई सहि मार्गमा हिडाउन सक्थे न त उठेका असन्तोषहरुको सम्वोधन गर्न नै। अविनाशको प्रत्येक गलत कदमको निरीह साक्षी वनिरहनुको पीडाबोधले उनी छट्पटिदै थिए। त्यसैले आफ्नो पदीय गरीमालाई अक्षुण राख्न उनले जसको सहारा लिएका थिए उनैको प्रतापको अगाडि टिक्न नसकेर आफ्नो भूमिकाबाट बाहिरिनु एकमात्र विकल्प वन्यो प्रमुखकोलागि।

संस्थाभित्र अर्को नयाँ प्रमुखको उदय भयो तर त्यो अविनाशकोलागि सुखद हुने कुरै भएन किनकी उनीसंग अविनाशको निकै ठूलो टसल थियो। अविनाशको परपीडनबाट ति नयाँ प्रमुख पटकपटक ज्यादै नै सताईएका थिए, त्यसैले अघिल्लो प्रमुखकोपालामा जस्तो सवै गतिविधिहरु अव नियन्त्रणमुक्त हुन्छन् र आफ्नो हैकम कायम रहन्छ भन्ने अविनाशमा छँदै थिएन। अविनाशलाई आफ्नै परिभाषा अर्न्तगतको समाजसेवाको लत राम्रोसंग लागिसकेको थियो त्यसैले त्यो क्षेत्रबाट आफु कहिल्यै अलग हुननसक्ने आशय प्रियासंग बारम्बार साटिरहन्थ्यो तर परिस्थितिले उसलाई एकाएक सोचमग्न बनायो। धेरै लामो समयसम्म कायम रहेको आफ्नो हैकमवादी वर्चस्व गुमाएर नयाँ प्रमुखको नियन्त्रणमा खुम्चिन उसको आत्मा तयार छँदै थिएन। पछिका दिनहरुमा आफ्ना कर्महरुको लेखाजोखा हुने हो कि भन्ने डरले पनि उसलाई धेरै नै सताउनथाल्यो। जति सोच्दा पनि उसले आफुअनुकुलको विकल्प फेला पार्न सकेन त्यसैले आफ्नै प्रमुखको पदमार्ग पछ्याउँदै राजीनामा गर्नु नै उचित उपाय ठान्यो उसले।

सामाजिक कम्पनीबाट पाईने सान र मोजमस्तीबाट विमुख हुनुको पीडानुभूति राम्रोसंग भए पनि भोली के गर्ने भन्ने चिन्ता उसलाई थिएन किनभने पुस्तौंलाई पुग्नेगरी उसले त्यसको राम्रै वन्दोवस्त गरिसकेको थियो। भाग्यले जुराएको वैभव एकाएक गुमाउनु पर्दा पनि प्रियालाई सम्झेर पूर्ण महसुस गरिरहेकोवेला उसलाई प्रियाको अवस्था के हुने हो भन्ने चिन्ताले सतायो। आफ्ना प्रत्येक कदममा साथ मात्रै हैन प्रोत्साहन र उक्साहट समेत जुटाउदै आएकी प्रियालाई आफ्नो अभावमा असजिलो हुनसक्ने सम्झैर ऊ केहि क्षण भावविहल पनि भयो। केहि दिन अघिदेखिको लगातार तनाव र सोचाईका कारण भनेजस्तो पाराले उसले प्रियासंग कुराकानी गर्न पाएको थिएन। राजीनामा बुझाईसकेकोले ऊ घरमै थियो, सोचाईका क्रम पनि केहि पातलिएका थिए। त्यसैले प्रियाको राय बुझ्नकोलागि उनको मोवाईलमा फोन गर्‍यो। तर दुईतिन पटकसम्म पुरा रिङ् बजाउदा पनि उठेन। उसले सोच्यो आफुले छोडेपछि प्रिया साहै मर्माहत भएकी छ। आफ्ना सवै लेनदेन सक्याउन भोली कार्यालय जाने र सोही बेला प्रियासंग वाहिर कतै भेट्ने योजना बनायो उसले। आफ्नो सवै वर्चस्व गुमिसकेकोले गेटभित्र प्रवेश गर्दा पनि उसलाई हुनसम्मको ग्लानी महसुस भएको थियो। केहि पुर्व कर्मचारीहरु भेट भए, जसलाई सताउन उसले पहिला कुनै कसर बाँकी राखेको थिएन तैपनि छुट्टिनेबेलाको सदासयताकोलागि तिनीहरुले उप्रति कुनै कन्जुस्याई गरेनन्, उनीहरुको त्यो व्यवहारले अविनाशलाई झनै पानी पानी बनायो। आफ्नो ठाउँमा अर्कै मान्छे हिजोदेखि मात्रै आउँन थालेको जानकारी पनि पायो उसले। सवै काम सक्याईसक्दा पनि उसले प्रियाको दर्शन भने पाएको थिएन, त्यसैले फर्किनेवेलामा कार्यालय प्राङ्गणमा वसेर प्रियाको मोवाइलमा एसएमएस पठायो जहाँ आफु त्यहीँ रहेको जनाउ दिदै वाहिर कतै भेटघाट गर्न अनुरोध गरिएको थियो। निकैवेर कुर्दा पनि एसएमएसको प्रतिउत्तर नआएर निराश भैसकेको उ प्रियालाई शोडषी हाउभाउमा आफ्नो कार्यकक्षबाट बाहिरिदै गरेको देखेर एकाएक उत्साहित भयो। तर वेवास्तापुर्ण तरीकाले फ्याँकिएको उनको विस्फारित हेराईमात्र आईपुग्यो अविनाशसमक्ष। उनका उत्साहित पाईला र मनमोहक चाल सरासर नयाँ हाकिमको कार्यकक्षतिर अघि बढ्यो। अविनाश भने जिन्दगीमा नसोचेको अपमानवोधले थिचिँदै प्रियाको मादक चाल र नयाँ हाकिमकालागि उनले च्यापेको उपहारको झिलमिल प्याकेटलाई एकटकले हेरिह्यो, हेरिह्यो।

8 comments to कथा : बद्‌लिएकी प्रिया

  • Yamuna

    कथाको बिषयबस्तु त राम्रो हो तर कथाको बगाई अलि मन छुनी भएन , कुनै कुराको बिबरण सुनाए जस्तो . तर परयास राम्रो छ .

  • subash

    कथाको शीर्षक झैँ कथामा प्रिया बदलिएको देखिनदैन, बरु प्रिया त जहिले पनि आफ्नो हाकिमलाई खुशी पार्ने खालको देखिन्छ.

  • sandesh

    कथाको बिसयबस्तु त ठिकै हो तर अति नै लम्बएको जस्तो लग्यो !!!

  • krishak, sydney

    कथा ठिकै मात्र लाग्यो / पढदै जादा केहि नपुगेको वा केहि नमिलेको जस्तो चै लाग्यो है/ कता कता शिर्षक सार्थक भएनकी झैँ लाग्यो/

  • Neelu

    कथा अली लामो जस्तो लाग्यो। चहिने योग्यता नभएकाहरुको जागिर टिकाउनका लागि गरिने प्रिया प्रब्रिती माथि ब्यङ्य गरिएको राम्रो लाग्यो। अनेकन तिक्डम गरेर आफ्नो दुनो सोझ्याउने र राम्रा कार्यकर्ता हरुको हरिबिजोग बनाउने पारिपाटिको ज्वलन्त उदाहरण् प्रस्तुत् गरिएको छ। जे होस प्रयास राम्रो छ।

  • B. Adhikari

    मेरो बिचार

    कथाको विषय वस्तु राम्रो लाग्यो। तर कतै कतै विषयका क्रमहरु भने टुटे जस्तो लाग्यो। कथा नसिकए सम्म पढि रहौ जस्त लाग्ने विषेशता भने यस कथामा रहेको पाएँ। कथामा, कम शब्दमा धेरै अर्थहरु खुलाउने विषेशता हुनु पर्दछ। आगामी कथाहरुमा त्यसतिर ध्यान दिनु होला जस्तो लाग्छ। शुभ कामना।

    बी अधिकारी

  • kedar

    खानै पर्ने गोता खुवाएको कथा ठिकै त हो तर तिनै कुरालाई धेर घुमाएर पढ्दै जाँदा बीच तिर पुग्दा पढ्नै झ्याउ लाग्ने | हिन्दि फिलीम जस्तो सुरु हुँदा नहुँदै अन्ते था हुने | अघिल्ला कथाहरु जस्तो नयापन नै ठिक |

    • Bishnu Adhikari

      कथाको लागि धन्यवाद
      कथा लामो भए पनि सार तत्व छोटो छ
      keep writing
      बिष्णु अधिकारी