यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि salokya@mysansar.com मा इमेल गर्नुहोला।

जगदीश दाइ र सम्झना

– बासु श्रेष्ठ –

बितेका केही दिनहरुमा अपरिचित व्यक्तिहरुको क्यान्सरबाट मृत्यु भएको समाचारबाट विचलित भइरहेको म अर्को मृत्युको खबरले झन् विचलित भएँ। भेटघाट भएर आत्मियताकासाथ सम्बन्ध कायम भइसकेको वरिष्ठ साहित्यकार जगदीश घिमिरेको निधनको समाचार एका बिहानै सुन्नुपर्यो। काममा जानकोलागी सदा झैँ नुहाएर बाथरुमबाट निस्केपछि श्रीमतिले यो खबर सुनाइन्। तिनले फेसबुकबाट थाहा पाइछिन्। म एकछिन स्तब्ध भएँ। बिरामी हुनुभएर अस्पतालमा राखिनुभएको समाचार पढेको थिएँ। अलि केहिदिनपछि जगदीश दाइ तँग्रीनुभएपछि फोनमै भलाकुसारी गरौँला भन्ने राखेको मेरो सोच पानीको फोका झैँ प्वाक्क फुट्यो। आफैंलाई धिक्कार्दै मनमनै “तैँले अस्तिनै फोन गर्नु पर्दैनथ्यो?” भनेर आफैँलाई गालीगर्दै दुःख मान्न थालेँ।

मेरो र जगदीश दाइको सम्बन्ध अलि अचम्म खालको छ भनेपनि हुन्छ । वहाँसँग ईमेलमार्फत सम्पर्क भएको चाहिँ सन् २००८ को सेप्टेम्बरको शुरु ताका हो। स्याटेलाईटको नामबाट लेखिएको एउटा ब्लग मैले माइसंसारमा पढेँ। त्यस ब्लगमा जगदीश घिमिरेको बारेमा र वहाँको रोग र निदान अनि समस्याहरुका बारेमा उल्लेख गरिएको थियो। र त्यसै ब्लगमा वहाँले “व्हिस्पर अफ द ब्लेड” भन्ने उपन्यास पढ्न चाहेरपनि नपाएको भन्ने उल्लेख थियो। मैले त्यो उपन्यास तत्काल वहाँलाई उपलब्ध गराउन चाहेँ र अमेरिकी बजारबाट किनेर वहाँकोलागी पठाएँपनि। वहाँको धन्यवाद सहितको ईमेल पाएपछि मलाई केहि सन्तोष मिलेको थियो। साहित्यकारप्रति श्रद्धा राख्ने मैले असाध्य रोगले च्यापेको एक साहित्यकारको सानो इच्छा पुरा गर्नसकेको थिएँ भलै कहिल्यै वहाँसँग नबोलेको वहाँलाई नदेखेको होस्। यसरी हाम्रो सम्बन्ध गाँसिएको थियो। यसबिच जगदीश दाइको एउटा राम्रो बानी उल्लेख गर्न चाहन्छु। त्यो के भने ईमेलको जवाफ लेख्न असाध्य ‘प्रम्प्ट’, अर्थात कहिल्यै ढिलो नगर्ने। ईमेलको तुरुन्त जवाफ लेख्ने वहाँको बानी थियो जसकालागी म कायल थिएँ।

मैले खसखस डट कम चलाएको एकवर्ष भैसकेको थियो। यसको पाहुनासँग खसखस भन्ने स्तम्भकोलागी म साहित्यकारहरुको नामावलीमा उचित व्यक्ति खोज्दैथिएँ। त्यतिबेला अन्तर्मनको यात्रा भर्खर बजारमा आएको थियो र यसले राम्रै हल्लाखल्ला मच्चाएको थियो। मेरो हातमा पनि परिसकेको थियो र पढिपनि सकेको थिएँ। बजारमा तातो तातो बहस चलिरहेको साहित्यकार र ईमेलमार्फत भएपनि सम्पर्कमा रहेको व्यक्ति जगदीश दाइलार्ई नै उचित व्यक्तिको रुपमा निर्क्यौल गरेँ र फोन र ईमेलमार्फत आफ्नो ईक्षा जाहेर गरेँ। वहाँले खुशी खुशी अनुमति दिनुभयो। त्यसपछि म वहाँका बारेमा जानकारीहरु बटुल्दै प्रश्नहरु तयार गर्ने क्रममा सोहि कृति मदन पुरस्कारले पुरस्कृत भएकोपनि सुखद समाचार पढ्न पाईयो। मलाई अझ थप प्रश्न गर्ने साधनहरु प्राप्त भएको अनुभव गरेँ अनि मनमनै व्यक्ति त साँच्चिकै राम्रै पो छानेछु भन्ने गर्व गरेँ। सो कुराकानीको लिँकः http://www.khasskhass.com/audio/Jagdish%20Ghimire.mp3 यहाँ छ।

जे होस् यसरी भएको हाम्रो सम्पर्कलाई मैले बेला बखत फोन या ईमेल गरेर क्रमिकता दिएको थिएँ। यसबिच मेरो अनुरोधमा खसखस डट कमकोलागी वहाँका रचनाहरुपनि प्राप्त भए। अब एउटै धोको थियो वहाँसँग भेटने। कहिले र कहाँ अनि कसरी भन्ने कुनै टुँगो लागेको थिएन। तर यसकोलागी साइत जुराईदिनुभयो कमल दाइ (कमलमणी दिक्षित) ले।

गत मे महिनामा नेपाल भएको समयमा मदन पुस्तकालय हेर्ने ईक्षा राखेर पाटन ढोका पुगेको थिएँ। कमलदाइसँग भेटघाट र भलाकुसारीपछि वहाँले सोध्नुभयो अब तपाईको कार्यक्रम के छ र कसकसलाई भेट्ने विचार छ भन्नुभयो। मैले सररर नाम लिएको मध्ये रमेश खकुरेललाई तुरुन्तै फोन गर्नुभयो तर उठेन। अनि लगत्तै मैले लिएको अर्काे नाम जगदीश घिमिरेलाई फोन गर्नुभयो र मलाइपनि कुरा गराउनु भयो। जगदीश दाइसँग मैले आफ्नो भेट्ने इक्षा व्यक्त गरेँ अनि वहाँले समय दिनुभयो। मैले हस् भनेर फोन राखेपछि हाम्रो वार्ता सुनेर बस्नुभएको कमलदाइले मलाई भन्नुभयो जगदीशजीकहाँ जान त्यति सजिलो छैन, तपाई जान सक्नुहुन्न। त्यसकारण म तपाईलाई लगीदिन्छु। तपाई भेटने दिन यहि ठाउँमा आउनोस हामी सँगै जाउँला।

मेरो मन हर्षले गद्गद भयो। मेरोलागी कमलदाइको प्रेम र सद्भाव पाएर आफैलाई धन्य सम्झेँ। साथमा श्रीमतिपनि थिइन् । हामी पर्सीपल्ट मे १० का दिन मदन पुस्तकालयमा पुग्यौँ र कमलदाइको गाडीमा बसेर लाग्यौँ किर्तिपुरतिर जगदीश दाइलाई भेट्न। बाटोमा एकछिनको ट्रफिक जाममा परेर जगदीश दाइको घरमा पुग्दा मलाई साच्चै अनुभव भयो म एक्लै आएको भए गाहारो नै हुने रहेछ। अनि मनमनै कमलदाइलाई धन्यवाद भन्दै जगदीश दाइको स्वागतमा घरभित्र पसियो। हामीलाई नै कुरेर बसी रहनुभएको रहेछ। दुर्गा भाउजुपनि काममा जान लाग्नुभएको मानिस हामी आउने थाहा पाएर काममै जानु भएनछ। यो हामीप्रतिको सद्भाव र प्रेम थियो। म साँच्चै फुलेल भएको थिएँ।

ईमेल र फोनमा सिमित जगदीश दाइ र मेरो परिचय अहिले आमुन्ने सामुन्ने विशाल भएर फैलिई रहेको थियो। के के न बोलौँला, के के न सोधौँला भन्ने लागेको मेरो मन त्यहाँपुगेपछि हर्षले ति सब हराए। आफ्नै शैली र मतापमा हाम्रा कुराकानी भए। कुनैपनि औपचारिकता थिएन। झन कमल दाइ र जगदीश दाइ त सम्धी सम्धी रे। कुन्नी कसरी हो वहाँहरु त्यो नातामा पर्नुभयो रे। कमलदाइले भन्नुभएको थियो। तर मैले अहिले बिर्सेँ। अनि मेरी श्रीमति वहाँको साली पर्ने रहेछ। कारण, अहिले सर्लाहीमा पर्ने वहाँको ससुराली गाउँ उतिखेर रौतहटमा पर्थ्यो। रौतहट मेरो श्रीमतिको माईत, मेरो ससुराली। यसरी कमलदाइले नाता गाँस्नुभएपछि त्यहाँ कुनै औपचारिकताको नामनिशान नै रहेन।

जगदीश दाइसँग भलाकुसारी, कुशलक्षेमका कुराकानी सकेपछि हामीले खाजा खायौँ। खाजापछि चिया खायौँ। खाजा खाँदै केहि तस्विरहरुपनि लियौँ।

एउटै ठुलो हलको एक छेउमा ठुलो डाईनिँग टेबल रहेछ। त्यसको सँगै एउटा ढोका रहेछ जुन भान्सातिर जाँदो रहेछ। त्यसै हलको अर्को छेउपट्टि जगदीश दाइको बस्ने, कुरा गर्ने, लेख्ने एउटा डेस्क रहेछ। त्यसको दाँयातर्फ वहाँको लाईब्रेरी जाने ढोका र त्यो ढोकासँग केहि सोफाहरु पाहुनाकोलागी राखिएको थियो। हामी त्यहि सोफामा र जगदीश दाइ आफ्नो डेस्कमा बसेर गफ तताएका थियौँ। अलि अगाडि शर्मिला खड्का दाहालव्दारा लिखित “जगदीश दाइले मलाई चिन्नुभएन” नामक एक लेख खसखस डट कममा प्रकाशित भएको थियो। यस लेखप्रति वहाँको आक्रोश सुन्न पर्ने हो कि भन्ने डर हुँदाहुँदैपनि वहाँको राय बुझ्न मैले त्यो प्रसँग उप्काएँ। मलाई लागेको थियो वहाँ रिसाउनु हुनेछ। तर यसको विपरित वहाँले सो लेख पढेको तर शर्मिला बहिनीले आफुप्रति गलत धारणा बनाएको भन्दै प्रष्टोक्ति दिनुभयो।

त्यसै भेटमा वहाँले मलाई हरियो साईकल देखाएर ‘यो पढेको छैन भने किनेर पढ्नोस्’ भनेर मलाई सल्लाह दिनुभयो। जुन अमेरिका आएपछि मगाएर पढेँ र आफुलाई मन परेको कृतिमा दरेको छु।

यसरी गफ चलेको एकघण्टा बितेको पत्तै पाईएन । जब कमलदाइको फोन बज्यो र अब हामी जानुपर्ने भयो भन्ने भान भयो अनि पो थाहा भयो समय गएको। त्यसमाथि जगदीश दाइको दैनिकी उपचारका कामहरुपनि गर्नुपर्ने बेला भईसकेको थियो। त्यसकारण जगदीश दाइ र भाउजुसँग विदावारी भएर कमलदाइ, मेरी श्रीमति र म फर्कियौँ।

बाटोभरी जगदीश दाइको सौम्यता र सरलता, भद्रता अनि सौहार्द्रताबाट प्रभावित भएको म बारम्बार सोच्न बाध्य भै रहेको थिएँ यस्ता व्यक्तिहरुलाई किन लाग्छ क्यान्सर जस्तो असाध्य रोग ? के सबैलाई प्यारो लाग्ने व्यक्तिलाई रोगलेपनि प्यारो मान्ने रहेछ ? आफुलाई प्यारो लागेको व्यक्ति हेरेर रमाउन दिनु नि मानिसहरुलाई ए रोगहरु भन्ने भावनामा म उर्लिँदै थिए।

मौका मिले एकपटक फेरी आउँछु भनेर विदावारी भएको त्यस भेटपछि एकपटकमात्र फोनमा कुरा गर्ने मौका पाएको थिएँ। फेरी भेट्ने समय त्यतिखेर त जुरेन भने अब त झन कुरै अर्को भईसक्यो। अब वहाँसँग कहिल्यै कुरा समेत गर्न पाउने छैन। भेट्ने त के कुरा ? आज विहान सुनेको, पढेको यो समाचारले मलाई विचलितमाथि विचलित बनाएको छ। दुर्गा भाउजुको हँसिलो मुहार मेरो आँखा अगाडि घुमीरहेको छ।

मृत्यु साश्वत हो भन्ने जान्दाजान्दैपनि मृत्युसँग दिनदिनै लडेर जतिदिन जगदीश दाइ बाँच्नु भयो त्यो वहाँको वीरता थियो। अवश्यम्भावी मृत्युलाई हामी टार्न खोज्छौँ। केहि हदसम्म हामी सफल त हुँदो रहेछौँ तर यो सफलता अनन्त भने नहुने रहेछ। मात्र बाँचुञ्जेल वीरताकासाथ जगदीश दाइले बाँचे जस्तो हामीलेपनि बाँच्न जान्नुपर्ने रहेछ।

अब जगदीश दाइ हाम्रो माझ हुनुहुन्न। तर वहाँको सम्झना, वहाँको सदाशयता, नम्रता, भद्रता, सौम्यता अनि वहाँका कृतिहरु लिलाम, सकस, बर्दि जस्ता उपन्यास र वहाँको अन्तर्मनको यात्रा हाम्रो सामु सदा रहिरहने छ।

जगदीश दाइको आत्माले चीर शान्ति पाओस्।

7 comments to जगदीश दाइ र सम्झना

  • गौतम "उदय"

    प्राय: अशल र सृजनशिल स्रस्टालाई किन छिटै चुँडछ कुन्नि दैबले ! निष्ठुरी!

    जगदिश दादाको आत्माले चीर शान्ति पाओस !

  • sajan

    मैले teen हुँदा प्रकाश कोबिद र यूधिर थापा को उपन्यास पढे पछि करिब पैतिस बर्स सम्म कुनै पनि नेपाली किताब पुरा पदना पाइन भनौ वा पधिना. करिब ३५ वर्ष पछि पढेको किताब मा अन्तर्मनको यात्रा, एक पटक पढे र करिब पाँच पटक जति औडियो मा सुने. तेस्पछि झमक घ्हिमिरेको “जीबन काँडा कि फूल” पढे यो पनि मुटु नै छुने भेटे.
    दुर्गा पोखरेल को श्यादो ओवर शग्रिला चाही अंग्रेजी मा पदने मौका पाको छु. तेस्तै बि पी को आत्मा वृतान्त औडियो मा अच्योत घ्हिमिरे को आवाज मा सुने. बि पी को vision , एक्शन प्लान जान्ने अवसर पयेः तेस्तौइ कर्ण सक्या को सबै किताब औडियो सुने. धराबासी को झोला सुने. सरुभक्त को पागल बस्ति सुने. बि पी कै सुम्म्निमा सुने. मैले के अनुभब गरे भने ये किताब पढेर अथवा सुनेर नेपाली लेख, कथा, उपन्यास, लेख्ने मानिस हेरुको लेख मार्मिक, करुणा महि, रोदन, प्रेरक, खालको भेटाए. तेस्मा पनि जगदीश घिमिरेको किताब अन्तर्मन को यात्रा अहिले सम्म सुनेको र पढेको मा एक नमबेर मा पर्छ.

  • शशांक लामा

    जगदीश घिमिरे सादा र सरल हुनुहुन्थ्यो भन्ने कुरा उनको साहित्यले स्पष्ट पार्छ | अनि बासुजिले आफ्नो संस्मरणमा लेख्नु भएको कुरोले त उनको सादापन झन् छर्लंगिन्छ|

  • jeevan verma

    म पनि उहाको बारेमा पदने गर्थें | उहा मेरो मन परेको साहित्यकार | उहाँका रचना मलाई सार्है मन पर्छ | त्यस्तै उहा समाज को लागि पनि केहि दिउ भन्ने व्यक्ति | मैले बुझे सम्म NGO खोलेर पनि उहाले लुट्ने मात्र काम गर्नु भएन |

    उहा cancer बाट थालिए पछि पनि उहाको बारेमा पढी रहे | तपाई ले भने जस्तै cancer लागेर मरेको धेरै राम्रा व्यक्ति हरु( Randy Poush , Steve Jobs ) को जस्तै उहाको बारेमा पनि सोच्ने गर्थे |

    सबै जनामा एउटा बिशेषता के छ भने उनि हरु को कार्य वा कृति अबिस्मरनिया छन्
    Randy Poush
    http://www.youtube.com/watch?v=6PaS3hnV4gc

    Steve Jobs
    http://www.youtube.com/watch?v=D1R-jKKp3NA

    र जगदीश घिमिरे

    http://www.ekantipur.com/np/2070/7/16/full-story/378507.html

    यी सबै मलाई असाध्यै मन पर्ने व्यक्ति हरु हुन् र सबै नै cancer लगेर नै गए तर संसार लाई केहि दिएर गए र आज पनि लाखौ लाई प्रेरित गरि रहेछन |

    • jeevan verma

      माथि मैले एउटा छुटाउन नहुने नाम छुटाएछु – cancer रोग बाट पिडित र भर्खरै दिगम्बत हुनु भएका डा.चित्रप्रसाद वाग्ले | समाज प्रति अलि कति मात्र पनि जिम्मे बारी सम्झने व्यक्तिहरु यस्ता व्यक्ति प्रति कृतज्ञ हुने पर्छ र हुन्छा पनि |

      व्यक्ति गत रुपमा भन्नु पर्दा मैले मेरो आमा लाई पनि यसै रोग बाट गुमाएको हु |

  • jeevan verma

    मा पनि उहाको बारेमा पदने गर्थें | उहा मेरो मन परेको साहित्य कार | उहाँका रचना मलाई सार्है मन पर्छ | त्यस्तै उहा समाज को लागि पनि केहि दिउ भन्ने व्यक्ति | NGO खोलेर पनि उहाले लुट्ने मात्र कम गर्नु भनें मैले बुझे सम्म |

    उहा cancer बाट थालिए पछि पनि उहाको बारेमा पढी रहे | तपाई ले भने जस्तै cancer मरेको धेरै राम्रा व्यक्ति हरु( Randy Poush , Steve Jobs ) को जस्तै उहाको बारेमा पनि सोच्ने गर्थे |

    सबै जना मा एउटा के बिशेषता छ भने उनि हरु को कार्य वा कृति अबिस्मरनिया छन्
    Randy Poush
    http://www.youtube.com/watch?v=6PaS3hnV4gc

    Steve Jobs
    http://www.youtube.com/watch?v=D1R-jKKp3NA

    र जगदीश घिमिरे

    http://www.ekantipur.com/np/2070/7/16/full-story/378507.html

    यी सबै मलाई असाध्यै मन पर्ने व्यक्ति हरु हुन् र सबै नै cancer लगेर नै गए तर संसार लै केरी सिकेर गए र आज पनि लाखौ लाई प्ररित गरि रहेछन |

    • bishwa acharya

      मैले पढेको किताब मधे अन्तेर्मन को यात्रा पड्दा धेरे चोटी रोयको थिय, अतिनै मार्मिक,भाबुक,ज्ञानबर्द्धक र जीवन को यथार्थ उल्लेख गरेको पाय. एक पटक सबैजना ले यो किताब पदन योग्य छ.